Author: Vishwanews.com

  • अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत र श्रीमतीलाई कोरोना

    अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत र श्रीमतीलाई कोरोना

    काठमाडौं । अमेरिकामा रहेका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता महतलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् । महत स्वयमःले यसको पुष्टी गरेका छन् ।

    लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी गराएका हुन् । उनले घरको एक एक कोठामा आइसोलेशनमा बसेको जानकारी गराएका छन् । कोरोना सङ्क्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदी भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।

  • रियल म्याड्रिड र युभेन्टस च्याम्पियन्स लिगबाट आउट

    रियल म्याड्रिड र युभेन्टस च्याम्पियन्स लिगबाट आउट

    काडमाडौं । दुई ठूला क्लव रियल म्याड्रिड र युभेन्टस च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएका छन् । शुक्रबार राती सम्पन्न खेलमा म्यान्चेष्टर सिटीले रियल म्याड्रिडलाई हरायो । उता, युभेन्टसलाई भने लियोनले हराएको हो । सिटी र लियोन भने जारी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

    युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि अवे गोलका आधारमा जीत निकाल्दै लियोनले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । दोस्रो लेगको खेलमा लियोनले समेत दुई गोल गरेको थियो । उता, म्यानचेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोलअन्तरले हराउन सफल भयो ।

    सिटीका लागि रहिम स्ट्रेलिङ र ग्याब्रियल जेससले गोल गरे । मड्रिडका लागि करिम बेञ्जेमाले सान्त्वना गोल पनि त्यो जीता लागि पर्याप्त भएन् । आज रातीसमेत दुई खेल हुँदैछन् । जसमा अर्को स्पेनिस क्लव बार्सिलोनाको परीक्षा इटालियन क्लव नेपोलीसँग हुनेछ ।

  • प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

    प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको सचिवालयका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिएको थियो । शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा आएका प्रधानमन्त्री ओलीसहित सबैको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो ।

    प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको समेत नजिता नेगेटिभ आएको छ ।

    यसअघि प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीको कोरोना नेगेटिभ रहेको भन्दै बिहीबार नै संचरमाध्यमलाई समाचार लेखाएका थिए । तर, स्वाव संकलन भने शुक्रबार मात्र भएको छ ।

  • रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

    रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

    बुटवल । रुपन्देहीमा कार दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा तीन जनाको ज्यान गएको छ । एक जना घाइते छन् । लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका ४ मा दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतक अन्यको सनाखत भइसकेको छैन ।

    दुर्घटनामा चार जना घाइते थिए । त्यसमध्ये तीन जनाको ज्यान गएको हो । दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते रहेको प्रहरीको भनाई छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकबाट १० मिटर तल खसेको भेटिएको छ । दुर्घटनापछि सबैलाई उपचारको लागि भिम अस्पताल भैरहवा पुर्याइएको थियो । प्रहरीले तिब्र गतिमा रहेका कारण दुर्घटनाको आंका गरेको छ ।

  • केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

    केरला हवाई दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं । भारतको केरलामा भएको हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या १७ पुगेको छ । दुई पाइलटसहित १७ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । दुबईबाट आएको एयर इन्डिया एक्स्प्रेसको जहाज धावनमार्गमा अवतरणका क्रममा दूर्घटनामा परेको थियो । क्याबिन क्रुका चार जना सदस्य भने सकुशल रहे ।

    जहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको छ अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा संचारमाध्यमले जनाएका छन् ।

    हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । त्यसमध्ये १० जना बच्चा थिए । दुर्घटनामा घाइते भएका १२३ जना यात्रुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुमध्ये पनि २० जना घाइते गम्भीर रहेको बताइएको छ । विभिन्न कारणले दुबई पुगेका यात्रु भारत फर्केका थिए । सोही जहाज दुर्घटनामा परेको हो । केरला पछिल्लो केही दिनयता प्राकृतिक विपत्तिको अवस्थामा समेत छ । शुक्रबार मात्र यहाँ पहिरोले १५ जनाको मृत्यु भएको थियो ।

  • काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

    काठमाडौंमा सटडाउन, लकडाउनसँग के फरक हुन्छ ?

    काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसलाई सरकारले सटडाउन भनेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    जिल्ला प्रशासन कार्यलयका अनुसार यसलाई सटडाउन भनिएको हो । यसले निजी क्षेत्रलाई कुनै प्रभाव भने पार्ने छैन । निजी क्षेत्रबारे कुनै निर्णय लिनु परेमा भने उपप्रधानमन्त्रीको अध्यक्षमा रहेको उच्चस्तरीय समितिबाटै निर्णय हुनेछ । त्यसलाई मन्त्रिपरिषद्ले समेत अनुमोदन गर्नुपर्छ । तर, काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्यालयमा हुने भिडभाडले जोखिम अझ बढाउने भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नियमित सेवा बन्द गरिएको हो ।

    तर, अत्यावश्यक सेवाका काम भने जारी रहने भएको छ । बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता पत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द भएको छ ।

    आम नागरिकका दैनिकीसँग जोडिने धेरै विषय जिल्ला प्रशासन कार्यालयमा आएर जोडिन्छ । तर, शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने नियमित सञ्चालनमा रहने छ । अर्कोतर्फ काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँ भने सिल हुनेछन् । लकडाउनमा सबै क्षेत्रलाई एकै साथ बन्द गरिन्छ ।

    तर, सटडाउनमा निश्चित क्षेत्र सील गर्ने र त्यहाँ कोरोना रोकथामका उपायमा केन्द्रित भई काम गरिन्छ । सरकारले अब देशव्यापी लकडाउन नहुने स्पष्ट पारेको छ । तर, जोखिमपूर्ण क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

  • भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते

    भारतको केरलामा जहाज दूर्घटना, दुबै पाइलटको मृत्यु, दर्जनौं घाइते

    केरला । दुबईबाट आएको एक यात्रुबाहक जहाज भारतमा दूर्घटनामा परेको छ । भारतको केरलामा जहाज धावनमार्गमै चिल्पिएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा २ जनाको ज्यान गइसकेको छ । ४० भन्दा बढी घाइते छन् ।

    दुबईबाट १७४ यात्रु बोकेर आएको जहाज कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । दुर्घटनामा दुबै जना पाइलटको ज्यान गएको हो । अहिले उद्दारको काम जारी रहेको संचारमाध्यमले जनाएका छन् ।

  • काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

    काभ्रेमा क्वारेन्टिनमा एक युवतीबाट आत्महत्या, स्थानीय आक्रोसित

    काभ्रे । विदेशबाट फर्किएर क्वारेन्टिनमा बसिरहेकी एक युवतीले काभ्रेमा आत्महत्या गरेकी छिन् । क्वारेन्टाइन स्थलमै उनले आत्महत्या गरेकी हुन् । शुक्रबार काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थायी घर भएकी २१ वर्षिय युवती गाउँपालिकाकै क्वारेन्टाइनमा बसेकी थिइन् । उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    काभ्रे प्रहरीका अनुसार साउन १६ मा दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी युवतीले गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा आत्महत्या गरेकी हुन् । क्वारेन्टिनमै युवतीले आत्महत्या गरेपछि गाउँले भने आक्रोसित बनेका छन् ।

    उनीहरुले प्रहरी र स्वास्थ्यकर्मीमाथि समेत आक्रमण गरेका छन् । क्वारेन्टाइन व्यवस्थापनको लापरबाहीले यस्तो घटना भएको उनीहरुको दावि छ । युवतीका आफन्त तथा गाउँलेले प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।

  • कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत

    कोरोना महामारीका बीच श्रीलंकामा आम निर्वाचन, राजपाक्षको पार्टीलाई बहुमत

    कोलम्बो । कोरोना महामारीका बीच श्रीलंकामा संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) लाई स्पष्ट बहुमत प्राप्त भएको छ । निर्वाचन अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । नतिजा अनुसार कुल २२५ सीटमा भएको निर्वाचनमा एसएलपीपीले १४५ सिटमा जित प्राप्त गरेको छ ।

    निर्वाचनमा ७५ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेका छन् । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले ५४ सिटमा जित प्राप्त गरेको हो । अब प्रधानमन्त्री महिन्दा राजपाक्षले सोही पदको लागि आफ्नै भाइबाट शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीका भाइ गोटाभाय राजपाक्ष श्रीलंकाका राष्ट्रपति छन् ।

    राष्ट्रपति गोटाभय राजपाक्षले सामाजिक सञ्जाल ट्वीटरमार्फत निर्वाचनमा आफ्नो समृद्धिको योजनालाई आगामी दिनमा वास्ताविकतामा ढाल्न सक्ने विश्वासका साथमा मतदान भएको बताएका छन् । उता, आलोचकले भने राजपाक्ष दाजुभाइले अहिले पाएको अधिकार दुरुपयोग गर्दै प्रहरी र न्यायालयलाई पनि आफ्नो हातमा लिन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरुले राष्ट्रपतीय कार्यकालमाथिको अंकुश पनि हटाउन सक्ने आशंका गरेका छन्

  • पर्साका तीन  सहित कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

    पर्साका तीन सहित कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

    काठमाडौं  । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक- एक जना को कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते, पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको गौतमले बताए ।

    पर्साका विरगन्जमा ७९ साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

    पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु थियो । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी भएको गौतमले पुष्टि गरे ।

    सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।

    गौतमका अनुसार अहिले कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी अन्य तीनजना संक्रमितलाई भेन्टिलेटरमै राख्‍नु परेको छ।

    गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताए। जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको छ।

    अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले बताए। उनले ३६ वटा अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने बताउँदै ११५ वटा कोभिड-१९ क्लिनिक पनि सञ्‍चालनमा रहेको बताएका छन्।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

  • काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ जना कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ जना कोरोना संक्रमित

    काठमाडौं। काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यो उपत्यकामा थपिएका अहिलेसम्मकै धेरै संख्या हो ।

    प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका १४ जना, ललितपुरका ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, काठमाडौंका ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै ललितपुरका ३ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ , भक्तपुरका १, ललितपुरका २ जना, विर अस्पतालमा काठमाडौंका ४ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जना, बिआइडिएच ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ जना, काठमाडौंका २ जना ह्याम्स अस्पतालका गरिएको परिक्षणमा काठमाडौंका ४ जना, नेपाल कोरिया मैत्री काठमाडौंका १ जना, भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

    नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ९ सय २६ नमुना परिक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । छ ।

    पछिल्लो २४ घण्टामा ४ सय २५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ।

    कुल संक्रमितमध्ये ७० जनाको मृत्यु भएको छ।

  • उपत्यकामा  कोरोना जोखिम कम गर्न आइतबारदेखि १५ दिन ‘सट डाउन

    उपत्यकामा कोरोना जोखिम कम गर्न आइतबारदेखि १५ दिन ‘सट डाउन

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम कम गर्नका लागि १५ दिन अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ ।

    उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि लागु हुनेगरी बन्द गर्ने निर्णय गरेका हुन् ।

    शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकलेबाट उक्त निर्णय भएको स्रोतले जनाएको छ ।

    उक्त अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने छ ।

    बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि भएको जनाइएको छ ।

    काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

  • नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड

    नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ ।

    शुक्रबारको लागि छापावाल सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । तेजावी सुन एक लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ तोकेको छ ।

    यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

    शुक्रबारका लागि तोकिएको सुनको खरिद बिक्री मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

  • ट्रम्पका खरो आलोचक डा. फाउचीलाई ज्यान मार्ने धम्की

    ट्रम्पका खरो आलोचक डा. फाउचीलाई ज्यान मार्ने धम्की

    वासिंटन डिसी । अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउची ट्रम्प प्रशासनका खरो आलोचक हुन् । अर्कोतर्फ उनी सत्य बोल्छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले असत्य र अप्रमाणित विषय बोल्दा फेसबुकले समेत स्टाटस हटाइसकेको अवस्थामा कोरोना भाइरसका सम्बन्धमा वास्तविकता बाहिर ल्याउने फाउचीले आफुमाथि ज्यान मार्ने धम्की आएको जानकारी गराएका छन् ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार कोरोना नियन्त्रणमा ट्रम्प प्रशासनका काम र गतिविधिको आलोचना गरेका उनीमाथि ज्यान मार्ने धम्की आएको हो । उनले कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकै कारण आफूलाई ज्यान मार्ने धम्की आएको तथा छोरीलाई अनाहकमा दुःख दिइएको उनले सार्वजनिक रुपमै जानकारी गराएका छन् ।

    ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका उनले सीएनएनसँगको अन्तरर्वार्तामा यस्तो खुलासा गरेका हुन् । उद्दपी धम्की कहाँबाट आएको छ भन्नेबारे उनी खुल्न चाहन्न् ।

  • आज विभिन्न स्थानमा वर्षा, सचेत रहन आह्वान

    आज विभिन्न स्थानमा वर्षा, सचेत रहन आह्वान

    काठमाडौं । आज देशभर विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ । अहिले पनि कतिपय जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ । विभागका अनुसार मनसुनी न्यून चापीय रेखा अहिले नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

    सोहीकारण प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । प्रदेश १ र २ का विभिन्न ११ जिल्लामा राति देखि नै लगातार वर्षा भइरहेको विभागको भनाई छ । विभागको बाढी सूचना केन्द्रका अनुसार सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र आसपास हल्का देखि मध्यम बर्षा भइरहेको छ । धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपास पनि मध्यम बर्षा भईरहेको छ ।

    शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ । शनिबार दिउँसोबाट भने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थनमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोहीकारण नदी किनार र पहिरोका जोखिम हुने क्षेत्रमा सचेत रहन विभागले आह्वान समेत गरेको छ ।

  • विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, १ भदौबाट प्रशिक्षण

    विश्वकप छनोटको तयारीमा नेपाली खेलाडी, १ भदौबाट प्रशिक्षण

    काठमाडौं । चैतयता ठप्प रहेको खेलकुद गतिविधि अब बिस्तारै शुरु गर्ने तयारीमा नेपाल छ । यसैक्रममा अब राष्ट्रिय फुटबल टोली विश्वकप छनोट प्रतियोगिताको छनोटका लागि तयारीमा जुटेको छ । अहिले खेलाडीहरु क्वारेन्टिनमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १ भदौबाट खेलाडीलाई प्रशिक्षणका लागि मैदानमा उतार्ने तयारी रहेको छ । तर, त्यस अगाडी नै सबै खेलाडीको कोरोना परीक्षण गरिने भएको छ । सबै खेलाडीको पिसिआर परीक्षण गर्ने र त्यहाँ नेगेटिभ आएका खेलाडीलाई मात्र प्रशिक्षणको अनुमति मिल्नेछ ।

    एन्फाका अनुसार अहिले प्रशिक्षणको प्रयोजनका लागि ३४ जना खेलाडीलाई १४ दिने क्वरेण्टीनमा राखिएको छ । उनीहरु आइतबारदेखि क्वरेण्टीनमा बसेका हुन् । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा संचालन हुनेछ । एन्फाले प्रशिक्षणका दौरान मापदण्ड समेत बनाएको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीले त्यसको पालना गर्नु पर्नेछ । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने छ । अभ्यासका दौरान बाहिरी मानिसलाई मैदानमा प्रवेश गर्न दिइदैन । खाना सामूहिक रुपमा खान नपाइने र व्यक्तिगत दूरी कायम गरी खाना खानुपर्ने गरी नियम बनाइएको छ ।

    प्रशिक्षणका क्रमा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउने छन् । अभ्यास स्थललाई नियमित निर्मलीकरण गरिने भएको छ । सबै खेलाडीले एकै पटकमा अभ्यासमा उत्रन समेत पाउने छैनन् । ३४ खेलाडीलाई ३ समुहमा विभाजन गरेर अभ्यास गराइने भएको छ । नेपाल फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीमा जुटेको हो ।

    कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आउँदो अक्टोबर र नोभेम्बरमा गराउने प्रस्ताव एशियाली फुटबल महासङ्घले राखेको छ । स्थगित भएका खेल अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराइने छ । नेपालले प्रतियोगिताका तीन खेल खेल्न बाँकी छ । सबै खेल नेपालको घरेलु मैदानमा हुनेछन् । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम छ ।

  • कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने

    कांग्रेसले क्रियासिल सदस्य दोब्बर पार्ने

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य दोब्बर पार्ने भएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको हो । यसअघि ५० प्रतिशत मात्र सदस्य थप्न सकिने प्रावधान रहेको थियो । सदस्यता थप्ने भनिए पनि छानबिन समिति गठनमा भने विवाद छ ।

    क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत बनेका संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा विभाजित बनेका हुन् । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्नेछ । यसलाई अधिकतम सीमा मानेर क्रियासिल सदस्यता बढाइने भएको छ ।

    एकता प्रक्रियामा आएकालाई केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बारे विवाद कायम छ । देउवा पक्षले केन्द्रबाटै सदस्यता दिन चाहन्छ, तर रामचन्द्र पौडेल पक्षले वडा तहबाट सिफारिस भएर आएपछि मात्र केन्द्रले दिनुपर्ने शर्तमा अडान छन् । अर्कोतर्फ वितरण गरिएको क्रियाशील सदस्यताबारे छानबिन गर्ने समितिमा समेत दुई पक्षबीच विवाद रहेको छ ।

    कांग्रेसले नेता नरहरि आचार्यको संयोजकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने सहमति जुटाएको थियो । यसमा संस्थापनबाट ३, पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जना राख्ने सहमति जुटेको थियो । तर स्वास्थ्यका कारण आचार्यले समितिमा नबस्ने जानकारी गराएका छन् ।

    सभापति देउवाले उनको स्थानमा रमेश लेखकलाई संयोजक बनाउन चाहेको बताइएको छ । यसको पौडेल र सिटौला पक्षको विरोध छ । उनीहरुले संयोजक ७ सदस्यबाटै हुने भन्दै सभापतिले संयोजक तोक्न नपाउने तर्कमा छन् ।

  • सवारी पास वितरणमा कडाई, एकै दिनमा नपाइने

    सवारी पास वितरणमा कडाई, एकै दिनमा नपाइने

    काठमाडौं । प्रशासनले अब अत्यावश्यक कामका लागि भन्दै लिइने सवारी पास वितरणमा अझै कडाई गरेको छ । अब एकै दिनमा सवारी पास पाइने छैन । सरकारले काठमाडौं उपत्यका र २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टी भएका जिल्लामा जोर विजोर प्रणाली शुरु गरेको छ । एक जिल्लाबाट अकोए जिल्ला जान निषेध छ । तर, सरकारले वितरण गरेको सवारी पास लिएर भने जान पाइन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसरी वितवरण हुने सवारी पासका सम्बन्धमा नयाँ नियम ल्याएको हो ।

    कार्यालय परिसरमा मानिसको अत्यधिक भिड भएको र सार्वजनिक निकायका व्यक्तिमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दुरी कायम गर्न नयाँ व्यवस्था गरिएको बताइएको छ । अब अत्यावश्यक काम परेर गाडीको पास चाहिए काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अघिल्लो दिन निवेदन दिएर फर्कनु पर्छ । त्यसको भोलिपल्ट मात्रै पास लिन जानु पर्ने गरी नियम बनाइएको छ ।

    निवेदन दिएर त्यही दिन पास लिन कुर्दा कार्यालय परिसरमा मानिसको भिडभाड बढ्ने गर्छ । अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेदेखि पास वितरण थालिने भएको छ । त्यसका लागि गेटमै निवेदन दिने र त्यही स्थानबाट पास लिने व्यवस्था मिलाइएको छ । अहिले शहरी इलाकामा कोरोना भाइरसको जोखिम बढेको छ । जसले गर्दा सरकारले कडाई थालेको छ ।

  • लेबनानमा रहेका नेपाली सुरक्षित

    लेबनानमा रहेका नेपाली सुरक्षित

    काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक विष्फोटमा कुनै पनि नेपाली नागरिक नपरेको सरकारले स्पष्ट पारेको छ । बेरुतस्थित एक विष्फोटक पदार्थ भण्डारण गृहमा भएको विस्फोटमा १३५ जनाको ज्यान गइसकेको छ । ४ हजारभन्दा बढी घाइते छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिक प्रभावित भएको सम्बन्धमा कुनै पनि जानकारी आएको छैन ।

    बेरुतस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघबाट समेत नेपाली नागरिक प्रभावित भएको सबन्धमा कुनै जानकारी नआएको मन्त्रालयको भनाई छ । लेबनानलाई कायरोस्थित नेपाली राजदूतावासले हेर्ने गर्छ । घटनाबारे नेपालले भने दुख व्यक्त गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले एक समवेदन सन्देश पठाउँदै घटनाबाट नेपालको तर्फबाट दुख व्यक्त गरेकी छिन् ।

    उनले मृतकको चीर शान्ती र परिवारमा समवेदन प्रकट गरेकी छिन् । घाइतको सिघ्र स्वास्थ्य लाभको कामना समेत राष्ट्रपतिले गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समेत विस्फोटबाट भएको धनजनको क्षतिले मर्माहत बनाएको बताएका छन् । उनले मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । यो मुलुकमा करीव १२ हजारको संख्यामा नेपाली नागरिक रहेको अनुमान छ ।

  • पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

    पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

    काठमाडौं । अब नेपालले पूर्ण लकडाउन थेग्न नसक्ने निष्कर्षमा सरकार पुगेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अहिले तत्कालै नेपाल ११ चैतको जस्तै पूर्ण तथा देशव्यापी लकडाउनको सोचमा नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्का गत सोमबार भएका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ण लकडाउनबारे कुनै पनि प्रकारको योजना नरहेको स्पष्ट पारे ।

    उनका अनुसार कोरोना भाइरसको जोखिम मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबाट भने लकडाउनबारे निर्णय हुनेछ । अर्थातः बढी जोखिमपूर्ण क्षेत्रलाई सिल गर्न भने सकिनेछ । अहिले पनि कतिपय महानगरपालिका तथा स्थानीय तहहरुमा कोरोना देखिनासाथ सिल गर्ने गरिन्छ । यसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने गरेको छ ।

    संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएमा कडा गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे । उनका अनुसार लकडाउनबाट अर्थतन्त्रमा परेको प्रभाव बारे विश्लेषणको काम जारी रहेको छ । सरकारले १ भदौबाट लामो दूरीको सार्वजनिक यातायात र हवाई यातायात खोल्ने निर्णय लिएको छ । तर, संक्रमण बढेपछि यसमा पुनर्विचार गर्नुपर्ने राय पनि उत्तिकै रहेको छ ।

  • गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

    गैरआवासीय नेपालीले पनि तत्काल अनअराइभल भिसा नपाउने

    काठमाडौं । सरकारले तत्काल विदेशी नागरिक र गैरआवासीय नेपालीलाई समेत अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा यस्तो सहमति भएको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले १ भदौबाट व्यवसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेको छ ।

    त्यसपछि नेपाल आउन चाहने नेपालीले स्वास्थ्य प्रोटोकल पुरा गरेपछि नेपाल आउन सक्छन् । तर, विदेशी नागरिक र गैरआवासीय नेपालीले भने नेपाली दूतावासमै पुगेर भिसा लिनुपर्छ । यद्दपी भिसा कसरी दिने, के के मापदण्ड पुरा गर्ने भन्ने सम्बन्धमा भने नेपाल सरकार अझै निष्कर्षमा पुग्न सकेको छैन ।

    बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलमा अनअराइभल भिसा भने नदिने सहमति जुटेको बताइएको छ । अब स्वास्थ्य मन्त्रालयले विदेशी तथा स्वदेशी नागरिकलाई कसरी आउने दिने र कति दिन क्वारेन्टिनमा राख्ने भन्ने सम्बन्धमा सुझाव दिनेछ । सोही सुझावका आधारमा पर्यटन र परराष्ट्र मन्त्रालयले थप निर्णय लिनेछन् ।

    सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान संचालनको निर्णय गरेको थियो । तर, पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमणका कारण उडान अन्यौलमा परेको हो ।

  • नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  जागेश्‍वर गौतमको अनुसार  सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको हो ।

    उनका अनुसा मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो । मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ ।

    धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो । उनको साउन १७ बिहान ३: ४८ बजे उनको निधन भएको हो ।

    सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ ।

    हालसम्म कुल कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको काठमाडौंको ७६, ललितपुरको १० र भक्तपुरको १ जनामा कोरोना पृष्टि भएको हो ।

    योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८७८ पुगेको छ।

    बुधबार देशभर ३६० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ७ सय ५० पुगेको छ।

  • नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ६ सय २२ नमुना परिक्षणमा ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।

    कुल संक्रमितमध्ये ६५ जनाको मृत्यु भएको छ।

  • प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

    नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।

    बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

    प्रचण्ड सचिवालय स्रोतका अनुसार परिवारका कुनै सदस्य र पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन ।

  • लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती

    लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती

    काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता होटेल तथा रेष्टुरेन्टले बढी कर्मचारी कटौती गरेको पाइएको छ । देशभर २२ दशमलव ५ प्रतिशत कर्मचारी तथा कामदारको जागिर गएको पाइएको छ । यसमा बढी होटेल र रेष्टुरेन्टका कर्मचारी रहेका छन् । नेपाल राष्ट्र बैंकले कोरोना र त्यसपछि भएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार उद्योग व्यवसाय नचलेपछि त्यसको असर कर्मचारीको रोजगारीमा देखिएको हो ।

    सर्वेक्षणमा सहभागी उद्योग व्यवसायले झण्डै एक चौथाइ कर्मचारी, कामदार कटौती गरेको बताएका छन् । यसबीचमा कर्मचारीको तलवमा समेत उत्तिकै कटौती भएको छ । औसतमा १८.२ प्रतिशतले तलब र सेवा सुविधा काटिएको छ । कोरोना भाइरसका कारण परेको असरको सर्वेक्षण गर्न राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेकलाई १३ क्षेत्रमा सर्वेक्षण गरिएको थियो । यो सर्वेक्षण जेठ २६ देखि असार १० गतेसम्म गरिएको अध्ययनमा आधारित हो ।

    सर्वेक्षणमा ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीलाई सहभागिता गराइएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणमा प्रदेश १ बाट २७.९, वाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७.१ र कर्णाली प्रदेशबाट १.२ प्रतिशत नमूना सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लकडाउनका बेला विभिन्न क्षेत्रका उद्योग÷व्यवसायको उत्पादन\कारोबारमा आएको कमी, रोजगारी कटौती, लकडाउनपछिको योजना लगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    यस अवधिमा ३९ प्रतिशत उद्योग, व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा छन् । ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द रहेका थिए । लकडाउनमा ९६.७ प्रतिशत उद्योग व्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको समेत प्रतिवेदनले देखाएको छ । लकडाउनमा कर्मचारीको तलव काट्ने पनि होटल तथा रेस्टुरेन्ट, यातायात, शिक्षा क्षेत्र हुन् ।

    सर्वेक्षणबाट अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै ९ महिना लाग्ने देखिएको छ । सरकारले चैत ११ बाट लकडाउन थालेको थियो । लकडाउन साउन ६ मा सकियो । तर, कोरोना भाइरसको प्रभाव अझै रहेका कारण यसले अर्थतन्त्रमा भने गहिरो प्रभाव पार्ने देखिएको छ ।

  • आजबाट सवारी साधन चलाउन जोरविजोर प्रणाली, रातीमा हिँडडुल गर्न रोक

    आजबाट सवारी साधन चलाउन जोरविजोर प्रणाली, रातीमा हिँडडुल गर्न रोक

    काठमाडौं । सरकारले आजबाट काठमाडौं उपत्यका सहित कोरोना भाइरसको संक्रमण बढेका जिल्लामा सवारी साधन चलाउन जोर विजोर प्रणाली शुरु गरेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंका उपत्यकाका तीन जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू भएको हो ।

    अब जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्नेछ । यो निर्णय कडाईका साथ लागु हुने सरकारको भनाई छ । उता, आजबाटै राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो र अब अत्यावश्यक नपरेसम्म रातमा बाहिर जान पाइने छैन । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको ग्राफले पुनः जनजीवन प्रभावित पारेको छ ।

  • लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५

    लेबनान विस्फोटमा ज्यान गुमाउनेको संख्या १३५

    बेरुत । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा ज्यान गुमाउने मानिसको संख्या १ सय ३५ पुगेको छ । यो घटनामा चार हजारभन्दा बढी घाइते छन् । ७० जनाको घटनास्थलमै मृत्यु भएको थियो । इतिहासकै ठूलो गैरआणविक विष्फोट मानिएको यो घटनामा कैयौं मानिस घाइते भएका कारण हताहती अझै बढ्न सक्ने बताइएको छ ।

    राजधानीमा असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन हुँदा लेवनानले ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको छ । घटनाको अनुसन्धान शुरु भएको सरकारले जनाएको छ । यो बन्दरगाहका केही अधिकारीलाई निवासमै नजरबन्दमा राखिएको छ । विष्फोटले बेरुतमा भूकम्प ल्याएको थियो । सोधकर्ताले यो विष्फोट जापानमा ७० वर्ष अगाडी खसालिएको आणविक बमको १० भागको एक भाग क्षमताको भएको बताएका छन् ।

    https://test.hamrocompany.com/archives/13960

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीमा मृत्यु भएका तीन जनामा कोरोना आंशका गरिएको थियो । त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका थिए ।

    होम क्वारेन्टिनमै बसेका उनलाई मंगलबार साँझ अधिक ज्वरो आएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । सो क्रममा उनको बाटोमै मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

    उता, सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ का ७४ बर्षीय र राजगढ गाउँपालिकाका ७१ बर्षीय बृद्धमा भने कोरोना नेगेटिभ आएको हो । अब कोरोना संक्रमणबाट सप्तरीमा मृत्यु हुनेको संख्या २ पुगेको छ । देशभर मृत्यु हुनेको संख्या ६४ पुगेको छ । यसअघि बुधबार मात्र ५ जनाको कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गएको थियो ।