Author: Vishwanews.com

  • मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

    मलेसियामा सेक्युरिटी गार्डलाई कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

    काठमाडौं। मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको छ ।

    गएको शुक्रबार सामाजिक सञ्जालमा आएको एकजना सुरक्षा गार्डलाई कुट्दै गरेको भिडियोमा कुटाइ खाने र कुट्ने दुवै जना नेपाली नागरिक नै भएको मलेसियामा रहेको नेपाली दूतावासले प्रष्ट पारेको छ ।

    सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।

    दूतावासले ३० जुलाईको राति भिडियो दूतावासमा आउना साथ त्यहाँको सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता सङ्गठन पीआईकेएमलाई अनुरोध गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो ।

    उक्त घटनामा कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    मलेसियाको अध्यागमन कानुन अनुसार दुवै अवैधानिक भएर बसेको दूतावासले जनाएको छ ।

    राम गोपाल आज आफैं प्रहरी समक्ष उपस्थित भएको र क्वालालम्पुरको वाङसाषतजुमा रहेको प्रहरीचौकीले यसबारे थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।

  • नेकपा विवाद मिलाउन आज पनि छलफल

    नेकपा विवाद मिलाउन आज पनि छलफल

    काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद समाधानमा आज पनि छलफल जारी रहने भएको छ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार समेत छलफलले निरन्तरता पाउने नेकपाका नेताहरुले बताएका छन् । यसअघि आइतबार करीव ३ घण्टाका छलफलमा पनि कुनै निष्कर्ष निस्किएन । दुबै नेता आफ्नो अडानमा टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

    दुबै नेताबीचको कैयौं पटकको छलफल निष्कर्षमा नपुग्दा पार्टी पंक्तिमा निरासा छाएको छ । यता, सरकारले पनि आफ्नो प्राथमिकता अनुसारका काममा भन्दा बढी सरकार बचाउमा केन्द्रित हुँदा मुख्य कामहरु प्रभावित बनेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा हिजो झण्डै ३ घण्टासम्म दुई नेताबीच छलफल भएको थियो । सोमबार केही ठोस निष्कर्ष निस्कने अपेक्षा नेताहरुले गरेका छन् । साउन १३ गते स्थायी कमिटी बैठक स्थगित भएयता दुई अध्यक्ष बीच सम्बन्ध झनै चिसिएको छ ।

  • नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

    नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो ।

    ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड १९ लागेर रोगलाई जितिसकेका मानिसलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन आव्हान गरेको थियो । सोहीक्रममा दाताबाट रगत प्राप्त भएको थियो । त्यसको परीक्षण नै सफल भएपछि चिकित्सक भने उत्साहित छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अहिले देशभर २० हजार ४ सय हाराहारी संक्रमित छन् । उनीहरुमध्ये १४ हजार ६०३ जना निको भइसकेका छन् । एनएचआरसीले ती निको भएका व्यक्तिबाट स्वछिक रुपमा प्लाज्मा दान गर्न आग्रह गरेको हो । आइतबारसम्म ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन इच्छुक १२ जना इच्छुक देखिएका छन् । उनीहरुले एनएचआरसीमा नाम लेखाएका छन् ।

    दाताको प्लाज्मा स्क्रिनिङ गर्दा मिल्ने भएमा गम्भीर विरामीलाई दिइने भएको छ । प्लाज्मा थेरापीबारे थप अनुसन्धान भइरहेको समेत चिकित्सकको भनाई छ । लक्षण नभएका वा गम्भीर विरामी बाहेक र १८ वर्ष भन्दा कम उमेरका संक्रमितमा भने प्लाज्मा थेरापी विधि प्रयोग गरिने छैन । सकेसम्म आफ्नै क्षमताले कोरोना जितेको बिरामीलाई राम्रो मानिन्छ ।

    तर, पछिल्लो दिनमा नेपालमा पनि लक्षणसहितका बिरामी देखिन थालेका हुन् । विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागेको छैन । यस अवस्थामा गम्भीर बनेर उपचार गराइरहेका बिरामीका लागि प्लाज्मा थेरापी उपयुक्त बन्ने देखिएको छ ।

  • आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

    आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

    काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ ।

    गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने प्रचलन रहेको छ । यो दिन ब्राह्मण, क्षत्री र वैश्य तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् ।

    तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने प्रचलन रहेको छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको छ । यसै दिन दिदीबहिनीले दाजु भाईको हातमा राखी बाधिदिने गर्छन् ।

    यसले दिदिबहिनी र दाजुभाइ बीचको सम्बन्ध प्रगाढ हुने विश्वास गरिन्छ । यो दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन समेत रहेको छ । क्वाटी स्वास्थ्यवद्र्धक खाद्य पदार्थ हो । यसवर्ष घरघर डुलेर रक्षाबन्धन नगर्न र धार्मिक स्थलमा समेत भिडभाड नगर्न सरकारले आह्वान गरेको छ ।

  • मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

    मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिँदा ८ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार एकजनालाई प्रहरीले उद्धार गरेको छ । यहाँ कभर्ड हल निर्माण भइरहेको थियो । उक्त काममा खटिएका कामदार गएराति गएको पहिरोा पुरिएको प्रहरीले जनाएको छ । रातको करिब दुई बजेतिर पहिरो झरेको थियो । घटनापछि प्रहरी उद्धारमा खटिएको हो । सो क्रममा एक जना भारतीय नागरिकको भने जीवितै उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    आठ जना मजदुर भने पहिरोमा पुरिएका छन् । उनीरुको उद्धार हुन सकेको छैन । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । सिन्धुपाल्चोक सबैभन्दा संवेदनशिल जिल्ला बन्दै गएको छ । यसअघि असार २४ मा सिन्धुपाल्चोककै भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझै भेटिएका छैनन् ।

  • अमिताभले जिते कोरोना

    अमिताभले जिते कोरोना

    मुम्बई । बलिवुड सुपरस्टार अमिताभ बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनी कोरोनामुक्त भई घर फर्किएका हुन् । आइतबारको कोराना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    अघिल्लो महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका हुन् । अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबैले कोरोनालाई जित्न सफल भएका छन् ।

  • सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

    सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् ।

    दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात गरेका थिए । हातपातबाट सन्जेल सामान्य घाइते भएका थिए । ती कर्मचारीले हाकिमको व्यवहारबाट असन्तुष्ट भई हातपात गरेको बताएका छन् । सन्जेल भने सुशासन र भष्ट्राचार विरोधी अभियानका अभियन्ता मानिन्छन् ।

  • वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

    वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

    काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार वृद्धवृद्धा र बालबालिकालाई सकेसम्म घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६० वर्षभन्दा माथि र साना बालबालिकामा कोरोना भाइरसको उच्च जोखिम रहने भन्दै सकेसम्म घर बाहिर नजाने आग्रह गरे । कोरोना सामाजिक दूरी कायम गरेमा संक्रमणबाट बच्न सकिने रोग हो । नेपालमा शहरी इलाकामा कोरोना भाइरसको संक्रमणले भयाभह अवस्था सिर्जना गर्न सक्ने जोखिम देखिएको छ । भित्रभित्रै भुसको आगो सरह फैलिएको कोरोना छिट्टै विष्फोटनको अवस्था आउन सक्ने भन्दै विज्ञहरुले सरकारलाई भने पुनः कडा लकडाउनमा जान सुझाव दिइरहेका छन् ।

    सरकारले भने पहिलो चरणमा जोरविजोर प्रणाीलाई पुनः ब्यूताएर भीड नियन्त्रणबारे योजना बनाइरहेको छ । अवस्था जटिल बन्दै जाँदा लकडाउनसम्मको तयारी सरकारले गरेको हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबारमात्र काठमाडौंमा ३१ जनामा कोरोना भाइरस परीक्षण देखिएको छ । देशभर भने पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। अब देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ। आइतबार एक सय ११ जना डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ६ सय ३ रहेको छ । ५७ जनाको भने मृत्यु भएको छ ।

  • भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पुष्टी

    भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित शाहमा कोरोना पुष्टी

    नयाँ दिल्ली । भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी स्वयमले यसको पुष्टी गरेका छन् । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ ।

    उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन लागेको समेत बताएका छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि सुझाव दिएका छन् । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण उच्च दरले अगाडी बढेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

    काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो ।

    ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता  गौतमले बताए ।

    स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।

  • आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । सरकारले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पताललाई निर्देशन दिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।

    यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो।

    पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द गर्न विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए भने यसका लागि विभिन्न आन्दोलन समेत भएका थिए।

  • नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ११ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

    कुल संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ।

  • पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण

    पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मेयर सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

    नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा पर्सामा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

    संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १ , १ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

  • कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

    कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रीस्तरीय निर्णय गरेर पीसीआर परीक्षणको दायरा बढाएको हो ।

    मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो ।

    यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।

    परिवर्तित मापदण्ड अनुसार अग्रपंक्तिमा रहेर काम गरेका व्यक्ति, ज्वरो, खोकी, सास फेर्न कठिनाइ भएका, स्वाद तथा गन्ध थाहा पाउन नसक्ने बिरामीको पनि परीक्षण गरिने छ ।

    त्यस्तै संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, विदेशबाट आएका सबै मानिस, अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू, विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू, आइसियुमा रहेका सबै बिरामीलाई पनि परीक्षणको दायरामा ल्याइने भएको छ ।

    यस्तो छ परीक्षणकाे नयाँ मापदण्ड :

    दीर्घरोगीहरू, चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामी पनि पीसीआर परीक्षणको दायरा भित्र परेका छन् ।

    -ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखालासहितको लक्षण देखिएका सबै बिरामी

    -अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, चालक, फोहरमैलाका कर्मचारीलाई प्राथमिकता दिएर परीक्षण गरिने छ ।

    -सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू

    -गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई) का बिरामीहरू

    -विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)

    – १४ दिन अगाडि कोरोना फैलिएको क्षेत्रबाट फर्किएका सबै

    -आइसियुमा रहेका सबै बिरामीहरू

    -दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू)

    – चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने)

    – चिकित्सकीय मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड–१९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण रिपोर्ट नचाहिने ।

  • विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

    विदेशमा अड्किएका १८ वटा शव आज नेपाल ल्याइयो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणयता करीव २ सय ५० हाराहारी शव विदेशमा अड्किएका थिए । नेपालीहरुको उद्धार उडानका दौरान शव ल्याउने क्रम पनि शुरु भएको हो । यसैक्रममा आइतबार बिहान एकै पटक १८ वटा शव काठमाडौं ल्याइएको छ । नेपाल एयरलाइन्सको जहाजबाट दुई गन्तब्यमा रहेका १८ वटा शव आज काठमाडौं ल्याइएको हो ।

    मलेशियाबाट नेपाल एयरलायन्सको जहाजले २५२ जना नेपालीलाई स्वदेश ल्यायो । यो जहाजमा १४ जनाको शव समेत ल्याइएको हो । उता, कतारबाट नेपाल एयरलायन्स कै जहाजले १५३ जना नेपालीलाई घर ल्यायो । यो जहाजमा ४ वटा शव नेपाल ल्याइएको छ ।अहिले चौथो चरणको उद्धार उडान जारी छ । सम्भवतः यो उद्धार उडान अन्तिम हुनेछ । त्यसपछि अन्त्यन्तै संकटमा रहेका नेपालीलाई सरकारले आफ्नै खर्चमा नेपाल ल्याउने छ । अरुका लागि भने व्यवसायिक उडान खुला गरिनेछ ।

    सरकारले १ भदौबाट उडान खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज घर फर्कनेछन् । आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपबाट नेपालीहरु घर आउन लागेका हुन् । आज युएईको अबुधाबीबाट हिमालय एयरलायन्सले १५४ जना नेपालीलाई ल्याएर अवतरण गरिसकेको छ । आज मलेशियाबाट मालिन्दो एयर आउँदैछ । युएईबाट दुइ वटा कतार एयरवेजका जहाजसमेत आजै काठमाडौं आउनेछन् । यी उडानमा अमेरिका, युरोप र कतारमा रहेका झण्डै ४ सय हाराहारी नेपाली घर फर्कनेछन् ।

  • सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

    सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

    सर्लाही । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार ठोक्किएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र ज. १ म. २३३ नम्बरको मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहले ज्यान गुमाएका छन् । गम्भीर घाइते भएको अवस्थामा उनीहरुलाई उपचार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    दुर्घटनामा एक जना घाइते छन् । ज १ म २३३ नम्बरको मोटरसाइकलको पछाडि बसेका श्याम साह घाइते रहेको र उनको धनुषामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । रातको समयमा तिब्र गतिमा रहेका दुई मोटरसाइकल ठोक्किएको बताइएको छ ।

  • सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

    सभामुख, परिवार र सचिवालयका कर्मचारीमा कोरोना नेगेटिभ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिंगमा नेटिभ रिर्पोट आएको छ । त्यसक्रममा स्वयमः सभामुख, उनको परिवार र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । साथै सुरक्षामा खटिने सुरक्षाकर्मीको समेत कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

    शनिबार राति अबेर रिपोर्ट आएको छ । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक एक प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो समय प्रहरीमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको समेत नमुना संकलन तथा परीक्षण गरिएको हो । किनकी उनी पनि प्रहरी हेडक्वार्टरमा बस्ने कर्मचारी हुन् ।

  • आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

    आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

    वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमण र मृत्युको इपिसेन्टर बनेको पर्सामा आइतबार थप ४५ नयाँ संक्रमित देखिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणबाट १४ महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको हो । उनीको शनिबार संकलन गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा सम्भावित स्थानमा मास टेष्टिङ शुरु भएको छ । सोही क्रममा एकसाथ ठूलो संख्यामा संक्रमित देखिएका छन् । पर्सामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण पैलिसकेको छ ।

    डाक्टरहरुका अनुसार कोरोना पुष्टी भएका व्यक्तिले ढाँट्ने, समुदायमा निस्कने, बजार पसलमा पुग्ने प्रवृत्तिका कारण समेत यहाँ कोरोनाले जटिल रुप लिने अवस्था आएको छ । पर्सामा मात्र पछिल्लो ११ दिनमा १० जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । पछिल्लो रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका हुन् । त्यसबाहेक सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो

    । यस परीक्षणमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको परिवारका दुई सदस्यसहित ६ जनामा रिपोर्ट पोजेटिभ आएको छ । उनले भेटेका मानिसहरुको अहिले कन्ट्याक्ट ट्रेसिंगको काम शुरु भएको छ ।

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

    फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

    काठमाडौं । नेपालमा पेट्रोलिय पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा यथावत राखिएको छ ।

    अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जनाएको छ । जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको बताइएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा एक रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको निधन

    नेपालमा कोरोनाबाट थप एक जनाको निधन

    वीरगञ्ज । नेपालमा कोरोनाबाट थप एक जनाको निधन भएको छ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५० वर्षिय महिलाको ज्यान गएको हो । पछिल्लो १० दिनमा पर्सा जिल्लामा मात्र १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यसले पर्सा जिल्लालाई सबैभन्दा संवेदनसिल अवस्थामा पुर्याएको हो । नारायणी वयोधा अस्पतालमा उनको ज्यान गएको हो ।

    उनी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । उनी बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी थिइन् । उनको शुक्रबार स्वाबको नमुना संकलन गरीएको थियो । पीसीआर परीक्षणको रिपोर्ट नआउँदै उनको ज्यान गएको थियो । शुक्रबार अबेर मात्र रिपोर्ट पोजेटिभ आएको हो । उनमा चिनिरोगको समस्या रहेको बताइएको छ । नेपालमा २० हजारमा कोरोना भाइरसको संक्रमण पुग्दा ५७ जनाको ज्यान गएको छ ।

  • नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

    नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार लकडाउन खुलेसँगै पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमणको दरसमेत उकालो लागेको छ ।

    सोहीक्रममा पछिल्लो एक सातायता शनिबार सर्वाधिक ३ सय १५ जनामा कोरोना पुष्टी भएको छ । अहिले रौटहत र कैलाली जिल्ला ५ सय भन्दा बढी सक्रिय सक्रमित भएको जिल्ला हुन् । रसुवा, भोजपुरलगायतका जिल्ला भने अहिले शुन्य संक्रमणमा रहेका छन् । यसैबीच सरकारले अत्यावश्यक काम नपरेसम्म घर बाहिर ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न र भिडभाडमा नजान सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।

  • नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ।

    कुल संक्रमितमध्ये ५६ जनाको मृत्यु भएको छ।

  • अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए

    अफगानिस्तानमा रकेट आक्रमण, १५ मारिए

    कान्दहार । आत्मघाती कार बम विस्फोटमा दर्जनौं हताहती भएको भोलीपल्टै अफगानिस्तानमा थप १५ जना सर्वसाधारणको हत्या भएको छ । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमणमा कम्तीमा १५ आम नागरिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ७० जना भन्दा बढी घाइते रहेको सरकारी अधिकारीले जनाएका छन् ।

    त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मी बीच गत बिहीबारदेखि झडप भइरहेको र यस भिडन्तमा सर्वसाधारण बढी हताहती भएको जनाइएको छ । अहिले भिडन्त शान्त भइसकेको छ । अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरे बताइएको छ । सोही आक्रमणमा १५ सर्वसाधारणले ज्यान गुमाउन पुगेका हुन् । घाइतेमध्ये २८ को अवस्था गम्भीर छ ।

    उनीहरुको कान्दहार प्रान्तको राजधानीस्थित मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । भिडन्तमा परी पाकिस्तान र अफगानिस्तानतर्फका कति जना सुरक्षाकर्मीको ज्यान गयो भन्ने सम्बन्धमा भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । सो क्षेत्रमा दुबै पक्ष पूर्ण तयारीमा रहेका कारण जुनसुकै बेला अझ ठूलो भिडन्त हुने आंशकामा आम सर्वसाधारणमा भने त्रास छाएको छ ।

  • भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

    भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षै हातपात भएको छ । शनिबार बिहान ११ बजेको समयमा उनको कार्यकक्षमा छिरेका दुई कर्मचारीले उनीमाथि दुब्र्यवहार गरेको प्रहरीले जनाएको छ । उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् ।

    प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइराला नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ ।

  • भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित

    भारतमा एकै दिन थपिए करीव ६० हजार संक्रमित

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण यतिबेला उचाईमा छ । दैनिक संक्रमणको दर अत्यन्तै तिब्र गतिमा रहेको छ । विश्वमा कोरोना भाइरसबाट तेश्रो धेरै प्रभावित मुलुक बनिसकेको भरतमा एक दिनमै करीव ६० हजार मानिसमा कोरोना संक्रमण भएको छ । वर्ल्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ४ संक्रमित थपिएका छन्।

    यो भारतमा एकैदिन फेला परेका आजसम्मकै धेरै संक्रमित संख्या हो। २४ घण्टामा ७ सय २४ बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै भारतमा संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ। कोरोनाबाट मृत्यु हुने संख्या ३६ हजार ५ सय ५१ भएको छ। भारतमा आन्द्र प्रदेश, कर्नाटका, पश्चिम बंगाल र उत्तर प्रदेशमा संक्रमणका नयाँ क्षेत्र बढ्न थालेको छ। अहिले महाराष्ट्र, दिल्ली र तमिलनाडुबाट भने संक्रमण कम भइरहेको छ ।

  • संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

    संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

    वीरगन्ज । संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरसको संक्तमण पुष्टी भएको छ । उनीसहित पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स समेत रहेको बताइएको छ । यादव पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् ।

    शनिबार थपिएका संक्रमितमा बाराका एक र रौतहटका दुई जना रहेका छन् । यसरी वीरगन्जमा भएको परीक्षणमा शनिबार कुल ६४ जनामा संक्रमण पुष्टी भएको हो । नारायणी अस्पतालका अनुसार संक्रमित १५ देखि ६८ वर्ष समूहका छन् । त्यसमा तीनजना महिला रहेका छन् । पर्साका संक्रमित वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का हुन् । नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका अनुसार केही संक्रमितमा भने कोरोनाका लक्षण नै देखिएको छ ।

    कोरोनाको लक्षण देखिएका बिरामी बढी जोखिममा रहेका छन्। कोभिड अस्पतालको आइसोलेसन भने अहिले फुल भइसकेको छ । पछिल्ला दिनमा पर्सामा अत्यधिक कोरोना संक्रमित देखिएका छन् । यहाँ मृत्युदरसमेत उच्च रहेको छ । लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राखिने भएको छ । होम आइसोलेसनमा राखिएका संक्रमित घरबाहिर जान पाउने छैनन् ।

  • आज इस्लाम धर्मावलम्बी बकर इद मनाउँदै, मस्जिदमा नजान आग्रह

    आज इस्लाम धर्मावलम्बी बकर इद मनाउँदै, मस्जिदमा नजान आग्रह

    काठमाडौं । कोरोना भाइरसको महामारीका बीच आज इस्लाम धर्मावलम्बी बकर इद मनाउँदैछन् । मस्जिदमा भेला भई नमाज पढ्ने परम्परा भएपनि यस पटक घरमै नमाज पढेर चाड मनाउन राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आह्वान गरेको छ । मस्जिदमा सामाजिक दूरी कायम नहुने र यसले कोरोना भाइरसको संक्रमणको डर हुने भन्दै घरमै नमाज पढ्न आयोगल आग्रह गरेको हो ।

    इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । यो पर्वलाई बलिदानीको पर्वका रुपमा मनाइन्छ । बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिनमा पर्छ ।

    हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनास्वरुप यो पर्व मनाउने गरिएको हो । नमाज पढिसकेपछि घरमा बली दिने र एकापसमा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ । यस पर्वको उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्षसहित उच्च पदस्थ अधिकारीले शुभकामना प्रदान गरेका छन् ।

  • कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

    कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धमा निर्देशिक बनाएको छ । सोहीअनुसार हुने शव व्यवस्थापनमा स्थानीयबाट हुने अवरोध र प्रशासनले स्थानीयलाई आश्वस्त पार्न नसक्दा शव व्यवस्थापनमा हरेक पटक किचलो उत्पन्न हुने गरेको छ । यो देशभर देखिएको समस्या हो ।

    पछिल्लो समय पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय अवरोध गरेका छन् । सो क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । स्थानीयको अवरोध हुँदाहुँदै पनि प्रशासनले संक्रमितको शव भने व्यवस्थापन गरेको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको छ ।

    शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको हो । ७ जना प्रहरी सामान्य घाइते रहेको पर्सा प्रहरीले जनाएको छ । शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

    त्यसपछि अवस्था तनावग्रस्त बनेको हो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास हानेको थियो । गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको स्थानीयको भनाई छ । १५ साउनमा वीरगञ्जमा कोरोना भाइरसका कारण तीन जनाको ज्यान गएको थियो । उनीहरु सबैको शव शुक्रबार राती व्यवस्थापन गरिएको हो ।

  • गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

    गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

    गुल्मी । गुल्मीमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको छ । अविरल वर्षा र त्यसपछि आएको पहिलोले घरमाथि ढुंगा खस्दा दूर्घटना भएको हो । घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी र उनका सन्तानको ज्यान गएको हो । उनका दुई छोरा ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति करिब साढे सात बजे भएको थियो ।

    बीनाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा रहेको छ । घटनास्थलमा राती नै स्थानीय र प्रहरी उद्दारमा खटिएका थिए ।

  • फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

    फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

    काठमाडौं । नेपाल प्रहरी अनियमिताका अनेक काण्डमा फसिएको छ । त्यसमा सुन एउटा प्रकरण हो । प्रहरी फेरी अर्को सुन काण्डमा फसिएको छ । मंगलबार १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको समाचार सार्वजनिक गर्यो । समाचार लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन आयोजना गरे । उनले पत्रकार सम्मेलनमा भने बरामद भएको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन रहेको र बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको उल्लेख गरे ।

    सो सामान पानीपोखरी नजिकै रहेको कृष्ण पाउरोटी चोकबाट बरामद भएको र बा६च ५५१९ नम्बरको स्कोर्पियो गाडीबाट सामान फ्याँकेर गाडी फरार भएको जानकारी प्रहरीले गराएको थियो । यो सामानसहित दुई थान पेस्तोलसमेत बरामद भएको थियो । यो घटना रहस्यमय बनेपछि बुधबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरियो ।

    सुरुमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिए पनि पछि थापालाई संयोजकबाट हटाइयो र महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवको संयोजकत्वमा समिति गठन भयो । प्रहरीले पत्रकार सम्मेलनमा दिएको नम्बर झुटो सावित भयो । स्कार्पियो उपत्यकाबाटै पक्राउ पर्यो । यसको नम्बर प्रहरीले नै झुटो दिएपछि अपराधीलाई लुकाउन खोजेको आंशका प्रहरीमाथि पुग्यो । उता, नवलपरासीबाट तीन जना व्यक्ति पक्राउ परे, जसले सुनसहित उक्त धातु फ्याँकेका थिए ।

    प्रहरीले भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिकलाई पनि नियन्त्रणमा लिएको छ । ती जना व्यक्ति भारततर्फ भाग्न प्रयोग गरेको ट्याक्सीका चालकलाई सेत प्रहरीले नियन्त्रणमा लिएको छ । यता, सुन फ्याँकेर भागेको भनिएको स्कोर्पियो गाडी भने ललितपुरमा भेटिएको छ । उक्त गाडीको समेत स्वरुप परिवर्तन गरिएको छ । प्रहरीका अनुसार यो गाडी बाराका इन्साद हुसिनको नाममा रहेको छ ।

    उता, शुक्रबार नै अनुसन्धानका दौरान प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट प्रहरीले एक किलो पहँलो धातु फेला पारेको छ । उनी यस काण्डमा संलग्न रहेका प्रहरी हुन् । महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रशन्नको बुढानीलकण्ठस्थित डेराबाट उक्त धातु बरामद भएको प्रहरीले जनाएको छ । यससँगै यो काण्डमा समेत प्रहरीले षडयन्त्रपूर्वक घटनालाई दवाउन खोजेको भेटिएको छ । प्रहरीकै मिलेमतो घटना घटाइएको र अपराधीलाई भगाउन प्रहरीले नै सहयोग गरेको खेखिएको छ ।

    अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो प्रकरणको स्थान समेत प्रहरीले नक्कली बताएको पुष्टी भइसकेको छ । सोहीकारण महानगरीय प्रहरी बृत्त, दरबारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षक रञ्जन दाहाललाई यतिबेला केन्द्रमा राखेर अनुसन्धान भइरहेको छ । उनले माथिल्लो तहलाई ढाँटेर घटनाको विवरण सार्वजनिक गरेको खुलेको छ ।