Author: Vishwanews.com

  • उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

    उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

    काठमाडौं । मंगलबार नेपालमा पछिल्लो दुई साता यताकै सर्वाधिक कोरोना संक्रमित बिरामी भेटिए । यस दिन २४ घण्टाको अवधिमा कुल ३ सय ११ जनामा कोरोनाका बिरामी थपिए । यसमध्ये काठमाडौंमा ४८ सहित उपत्यकामा मात्र ५३ जनाका कोरोना भाइरसको संक्रमण भेटिएको छ । यसले मुलुकका अन्य भेगमा भन्दा अब कोरोनाको ज्वरो काठमाडौं उपत्यका भित्र चर्कने संकेत गरेको छ ।

    खासगरी लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा छिर्ने मानिसको अधिक भीड छ । तर, उनीहरुलाई काठमाडौं आइसकेपछि उचित सुरक्षा प्रवन्धसहित व्यवस्थापनको तयारी भने छैन । महानगरपालिका र सरकारले भवितब्यबारे कुनै योजना बनाएको पाइदैन । पछिल्लो केही दिनयता बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं आउने कम भएका छन् । तर, उपत्यकामा संक्रमणको ग्राफ भने उकालो लागिसक्यो ।

    यसले केही दिन भित्रै भयाभहको अवस्था सिर्जना गर्ने चेतावनी विज्ञहरुले दिएका छन् । त्यस अवस्थामा काठमाडौं उपत्यकाको संकट टार्न निकै मुस्किल हुने निश्चित छ । सरकारले काठमाडौं महानगरभित्र भारत तथा तेस्रो मुलुकबाट आएका मानिसलाई समेत १४ दिन क्‍वारेन्टाइनमा राख्‍न सकेको छैन । त्यसका लागि क्‍वारेन्टाइन नै छैनन् ।

    त्यसमाथि उपत्यका छिर्ने अन्य जिल्लाका मानिसलाई क्वारेन्टाइनमा राख्न सक्ने त कल्पना बाहिरको विषय भयो । यसले काठमाडौंलाई अब कोरोनाको इपिसेन्टर बनाउने जोखिम बढेको छ । अहिले काठमाडौं आउने मानिुलाई स्थानीय निकाय वा जिल्ला प्रशासनले सहजै सिफारिस दिन्छन् । यसले काठमाडौं आउने मानिसको चाप ह्वात्तै बढेको छ ।

  • विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

    विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

    सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा दुखदः घटना घटेको छ । जाजरकोटमा विषालु च्याउ सेवनबाट एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका चार जनाको निधन भएको हो । एक जना बालिकाको सोमबार घरमै निधन भएको र अन्य तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार ज्यान गएको बताइएको छ ।

    ९ साउनमा उनीहरुले जंगलबाट च्याउ ल्याएर तरकारी खाएका थिए । तर, च्याउ जंगली विषालु परेको हो । टेकबहादुर चलाउनेको परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । प्रहरीका अनुसार बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र तीन वर्षिय छोरी अन्जता तथा ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार सुर्खेत पठाएको थियो । बिरामीमध्ये अझै एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । तीनजनाको अवस्था सामान्य छ । अस्पताल ल्याउन ढिला भएको र त्यसक्रममा शरीरमा विषले प्रभाव पारिसकेका कारण किशोरीहरुलाई चाउन नसकिएको अस्पतालको भनाई छ । टेकबहादुर स्वयमः उनका ३० वर्षीय छोरा ललित, ३० वर्षीया बुहारी कल्पना र अर्को एक छोरीको उपचार भइरहेको छ ।

  • कांग्रेस प्रवेश गरे सुनील थापा

    कांग्रेस प्रवेश गरे सुनील थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पुत्र सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई मंगलबार नेपाली कांग्रेसमा प्रवेश गराइएको हो ।

    कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका छन् । धनकुटा कांग्रेसका संस्थापक सभापति स्व. सूर्यबहादुर थापाकै पहलमा पछि राप्रपा गठन भएको थियो । तर, राप्रपाले सूर्यबहादुर थापाको बिचारलाई आत्मसाथ गर्न नसकेको भन्दै पुत्र सुनील कग्रेसमा प्रवेश गरेका हुन् ।

    मंगलबार आयोजित कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिस्टबाट प्रजातन्त्र खतरामा रहेको भन्दै त्यसका सचेत हुनुपर्ने ताए । अहिलेको सरकारले सबैतिर कन्ट्रोल गर्न खोजेको सभापति देउवाको भनाई छ । मिडिया, फोन ट्यापिङ गरी प्रजातन्त्र कमजोर बनाउने प्रयास भइरहेको उनको भनाई छ ।

    सभापति देउवाले राप्रपाबाट आएका थापालगायत कसैलाई पनि भेदभाव नगरिने बताए । सुनीलबहादुर थापा मिहेनती नेता भएको उनको भनाई छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले संविधानले आत्मसाथ गरेको व्यवस्थालाई अझैसम्म स्वीकार गर्न नसकेको उल्लेख गरे ।

    उपभापति विमलेन्द्र निधिले सुनीलबहादुर थापाको कांग्रेस प्रवेशले प्रजातान्त्रिक शक्तिलाई बलियो बनाएको उल्लेख गरे । प्रधानमन्त्री केपी ओलीका गतिविधिले प्रजातन्त्र खतरामा परेको उनको भनाई छ ।

    कांग्रेसको सदस्यता लिएका नेता सुनीलबहादुर थापाले आफ्नो परिवारमा कांग्रेससँग ६५ वर्षअघिको सम्बन्ध रहेको स्मरण गरे । उनका बुबा स्व. सूर्यबहादुर थापा २०१० सालमा कांग्रेस धनकुटाको सभापति थिए ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतको संख्या ४९ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतको संख्या ४९ पुग्यो

    काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार कोरोना संक्रमणबाट बझाङको बुगल गाउँपालिका- ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    उनी भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए । उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो ।

    यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । सोमबार मात्र स्वास्थ्य मन्त्रालयले ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो।

  • काठमाडौंका ४८ सहित  उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

    काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ९ जना, ललितपुरका एक जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका एक जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

    नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको। नमुना परिक्षण गरिएकोमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५पुगेको छ।

    कुल संक्रमितमध्ये ४८ जनाको मृत्यु भएको छ।

  • बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता

    बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता

    काठमाडौं । मनसुन शुरु भएसँगै (जेठ ३० गतेदेखि साउन ११ गतेसम्म) नेपालमा १४७ जनाको मृत्यु भएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परी करिब डेढ महिनाको अवधिमा १४७ जनाको मृत्यु र ५१ जनाको बेपत्ता भएका छन् ।

    पहिरोबाट सवैभन्दा धेरै १२७ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा लगायत जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

    विभिन्न स्थानमा पहिरोमा परी ४५ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

    पहिरोमै परी ११४ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मनसुन शुरु भएपछि बाढिबाट ३ जनाको मृत्यु, ६ जना बेपत्ता र १ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। गएको २४ घण्टामा मात्रै पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

    प्राधिकरणका अनुसार,सोमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पानबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।

    जल तथा मौसम विज्ञान विभागले न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको बताएको छ । विभागको अनुसार अझै तीनदिन सम्म अविरल वर्षाको संभावना रहेकाले सचेत रहन आग्रह गरेको छ। केही स्थानमा वर्षा भइरहेको र वर्षाको संभावना कायमै रहेकाले सचेत रहन विभागले विज्ञप्ति मार्फत् आग्रह गरेको छ।

  • प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् ।

    संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी डीआईजी एवं प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए।

    यसअघि आइतबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।

  • नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

    नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

    मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।

    पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाइएको छ ।

    असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौंपटक स्थगित गर्दै १३ साउनसम्म धकेलिएको थियो ।

  • बाग्लुङमा बाढी र पहिरोमा चार जनाको मृत्यु

    बाग्लुङमा बाढी र पहिरोमा चार जनाको मृत्यु

    काठमाडौं  । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

    साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।

    पहिरोमा परि पालबहादुरकी श्रमती होमकुमारी गम्भीर घाइते भएकी छिन । निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिंदा पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • अमेरिकामा कोरोनाविरुद्धको खोपको बृहत् परीक्षण शुरु, ३० हजार स्वयंसेवकले सहभागिता जनाउँदै

    अमेरिकामा कोरोनाविरुद्धको खोपको बृहत् परीक्षण शुरु, ३० हजार स्वयंसेवकले सहभागिता जनाउँदै

    एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । परीक्षणमा तीस हजार मानिसले सहभागिता जनाउँदैछन् । नेशलन इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउछ भन्ने निश्चित भने भैसकेको छैन ।

    स्वयंसेवकलाई दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर पत्ता लगाउने बताइएको छ । अमेरिकाले बनाइरहेको खोपको यो अन्तिम चरणको परीक्षण हो । एक स्वयंसेवकलाई २८ दिनको अन्तरमा दुई मात्रा दिने तयारी छ ।

    दुई मात्रा दिएपछि यसले कोरोनाबाट बचाउँछ कि बचाउँदैन भन्ने हेर्नका लागि खोपको परीक्षण गर्न लागिएको हो । यसले कति समयसम्म काम गर्छ भन्ने पनि परीक्षण गर्न लागिएको बताइएको छ ।

    यसअघिका परीक्षणमा खोप सुरक्षित देखिएको थियो । नोभेम्बरसम्म यसको परिणाम आएमा आउँदो वर्ष २०२१ को शुरुवातमै यो खोप तयार हुने बताइएको छ ।

  • ऐश्वर्या र आरध्याले जिते कोरोना

    ऐश्वर्या र आरध्याले जिते कोरोना

    मुम्बई। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनले कोरोनालाई जित्न सफल भएका छन् । करिब तीन साताको अस्पताल बसाईपछि उनिहरु सोमबार नानावती अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    अभिषेक बच्चनले यसको जानकारी गराएका छन् । सामाजिक संजालमा उनले भनेका छन्, ‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।’

    अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमणदेखिएपछि उनिहरुलाई पनि १३ जुलाईमै संक्रमण देखिसकेको थियो । अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

  • मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

    मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

    काठमाडौं । मौद्रिक नीतिमा उल्लेख नीतिहरुको कार्यान्वयन शुरु गर्न नेपाल राष्ट्र बैंकले सोमबार विभिन्न प्रकारका निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्था कार्यान्वयन गर्न त्यस्ता निर्देशनहरु जारी गरेको हो । बैंकको ऋण तिर्ने समय पर सार्ने देखि विभिन्न प्रकारका व्यवसाय संचालन गर्न लिन सकिने सहुलियतपूर्ण ऋणको समेत व्यवस्था गरिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण भएका र २०७६ पुस मसान्तपछि प्रवाह भएका कर्जालाई २०७७ असार मसान्तसम्म असल वर्गमा वर्गीकरण गर्न छुट दिइएको छ । कोभिड १९ का कारण विगतमा कायम गरिएको ग्रेस अवधिभित्र उद्योग वा परियोजना निर्माण सम्पन्न तथा सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन, सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैक वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्म ग्रेस अवधि थप्न सक्ने भएका छन् । यो प्रावधान शर्तसहित आएको छ ।

    कोभिड १९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई एक बर्ष, मध्यम प्रवाहितलाई ९ महिना तथा न्यून प्रवाहितलाई ६ महिनाको समय थपन गर्न सकिने सुविधा दिइएको छ । सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ बर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने भएको छ। यसबाट नेपाल राष्ट्र बैंकले होटेल क्षेत्रलाई अति प्रभावित क्षेत्रका रुपमा परिभाषित गरिएको छ ।

    कोभिड १९ बाट अति प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जामा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङ्कन गरी ऋणीको लिखित कार्ययोजना हेरेर निकट भविस्यमा उद्योग सञ्चालनमा ल्याई ऋण चुक्ता हुन सक्ने विषयमा बैंक वित्तीय संस्था आश्वस्त भए पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने गरी सुविधा प्रदान गरिएको छ ।

  • राखेपमा रमेश सिलवाल पुनः नियुक्त

    राखेपमा रमेश सिलवाल पुनः नियुक्त

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वमा रमेशकुमार सिलवाल पुनः आइपुगेका छन् । खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुसार तीन साताअघि पदमुक्त भएका उनी नयाँ प्रक्रिया पार गर्दै पुनः आगाी चार वर्षका लागि नियुक्त बनेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो ।

    उता, उपाध्यक्षमा शिव कोइराला नियुक्त भए । यसअघि सिलवाल २३ असार २०७६ मा पहिलो पटक सदस्य सचिव बनेका थिए । सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि १८ असारमा पद मुक्त भएका हुन् । सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट हुन सफल भएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका मानिन्छन् ।

    युवा तथा खेलकुद मन्त्रालय मातहतको सिफरिस समितिले एक महिलासहित ३ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । समितिले सिलवालसहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो। सदस्य सचिव बन्न २७ जनाले आवेदन दिएका थिए।

  • फैसलामाथि भएको आलोचनाप्रति सर्वोच्च असन्तुष्ट

    फैसलामाथि भएको आलोचनाप्रति सर्वोच्च असन्तुष्ट

    काठमाडौं । आफ्नो फैसलामाथि भएको सार्वजनिक टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको भन्दै सर्वोच्च अदालतले असन्तुष्टी व्यक्त गरेको छ । खासगरी रन्जन कोइरालामाथिको फैसलामा चित्त नबुझाई आम मानिसले सर्वोच्चको फैसलामाथि चर्को आलोचना गरिरहेका छन् । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकोमा सर्वोच्च अदालतले भने असन्तुष्टि रहेको देखिएको छ ।

    न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको हो । त्यसो त पत्नी हत्या प्रमाणित भई जेलमा रहेका कोइरालाको सजाय छोट्याउने फैसला त्रुटीपूर्ण रहेको स्वयमः अदालतले स्वीकार गरिसकेको छ । सर्वोच्चले उक्त मुद्दाको पुनरावलोकन निवेदन अगाडी बढाएको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामा काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्न अनुरोध गरेका हुन् । सर्वोच्चको अर्को फैसला महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश समेत विवादित भएको छ । पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको वेञ्चबाट भएको हो ।

  • सरिता गिरीको स्थानमा लीलादेवी सिटौला बनिन् सांसद

    सरिता गिरीको स्थानमा लीलादेवी सिटौला बनिन् सांसद

    काठमाडौं । नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन सम्बन्धी विधेयकको विरोध गरेपछि पार्टीको कारवाहीमा परी सांसद पद गुमाएकी सरिता गिरीको स्थानमा लीलादेवी सिटौला सांसद घोषित भएकी छिन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।

    समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको अनुसार उनलाई निर्वाचित भएको घोषणा गरिएको हो । गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको आरोपमा कारवाहीमा परेकी हुन् । अब सिटौलालाई सांसदको रुपमा प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गराइने भएको छ । संविधान संशोधनको विपक्षमा उभिएपछि सांसद गिरीको भने चर्को आलोचना भएको थियो ।

  • नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, एकजना भारतीय नागरिक

    नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, एकजना भारतीय नागरिक

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

    पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी थिए । त्रिवि शिक्षण अस्पतालमा मृत्य भएका बाराका ६० वर्षीय वृद्ध निमोनीया, मष्तिष्कघात र मृगौलासम्बन्धी रोगबाट ग्रसित थिए ।

    धनुषाका पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि बीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गौतमले बताए ।

    योसँगै नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

  • नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ डिस्चार्ज

    नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको. नमुना परिक्षण गरिएकोमा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप ६ सय २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ।

    कुल संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको छ।

  • नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?

    नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?

    काठमाडौं । नेपालमा सरकारले १ भदौबाट भर्ना अभियान संचालनको तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि १० चैतयता सबै विद्यालय तथा विश्वविद्यालय बन्द छन् । अनलाइनमाध्यमबाट केही पठनपाठन प्रारम्भ गरिएको भएपनि विद्यालयमा भने विद्यार्थी बोलाइएको छैन । शिक्षा मन्त्रालयका अनुसार १ भदौपछिको १५ दिनको अवस्था विश्लेषण गरी विद्यालय खोल्नेबारे तयारी भइरहेको छ ।

    कोरोना भाइरसको संक्रमण सामान्य भएमा १५ भदौबाट नै पठनपाठन सूचारु गर्न सकिने सम्भावना छ । यद्दपी सरकारले भर्ना खोलेको १५ दिन भने परिस्थितिको मूल्यांकन गर्ने बताएको छ । विद्यालय ५ महिना बन्द हुँदा अधिकांश परीक्षा प्रभावित भएका छन् । यसमध्ये सरकारले एसइइ र कक्षा ११ को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिने व्यवस्था मिलाइसकेको छ ।

    कक्षा १२ र अन्य परीक्षा भने नियमित संचालनको तयारी गरिएको छ । उता, विश्वविद्यालयहरुले समेत प्राध्यापकहरुलाई हाजिर हुन आग्रह गरिसकेका छन् । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलाइएको छ । त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा तयारी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

  • १ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

    १ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको ग्राफ हरेक दिन उकालो लाग्ने क्रममा छ । ३१ डिसेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टी भएको यो भाइरसको नियन्त्रणका लागि खर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, भाइरस नियन्त्रणमा विश्वका सबैजसो देश असफल भएका छन् । सोमबार बिहानसम्म विश्वभर १ करोड ६४ लाख १२ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसले आक्रमण गरिसकेको छ ।

    पछिल्लो २४ घण्टामा मात्र संसारभर २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । संसारभर कोरोनालाई जित्ने मानिसको संख्या भने १ करोड ४२ हजार २१० रहेको तथ्यां छ । उता, मृत्युदर समेत थामिने संकेत देखिएको छैन । २४ घण्टामा नेपालमा २ जनाको निधन भयो । संसारभर २४ घण्टामा ४ हजार १०४ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् ।

    अब संसारभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३३ पुगेको छ । तथ्यांक अनुसार कोरोना भाइरसबाट युरोपियन मुलुकमा २ लाख १ हजार ४३६ जनाको मृत्यु भएको छ । २७ लाख ७८ हजार ७५ जना संक्रमित भए । त्यसमध्ये १६ लाख ७० हजार ६९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । अहिले यूरोपमा भने कोरोनाको तिब्र लहर थामिएको छ ।

    उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ८ हजार २६० जनाले ज्यान गुमाएका छन् । यी भेगमा संक्रमितको संख्या ५१ लाख २३ हजार २०३ पुगेको छ । एसियाली मुलुकमा ८९ हजार ९६९ जनाको मृत्यु भइसकेको छ । यसमा भारत र चीनको हिस्सा ठूलो छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३४ हजार ९ जनाको मृत्यु भएको छ । यसमा संयुक्त राज्य अमेरिकामा बढी मानवीय क्षति भएको छ । अफ्रिकी मुलुकमा १७ हजार ८०८ जनाको ज्यान गएको छ ।

  • कोरोना जोखिमपछि विराटनगरमा लकडाउन कडा

    कोरोना जोखिमपछि विराटनगरमा लकडाउन कडा

    विराटनगर । विराटनगर महानगरपालिकामा लकडाउन कडा गरिएको छ । कोरोना भाइरसको संक्रमणको डरसँगै विराटनगरमा लकडाउन कडाई थालिएको हो । अब बिराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ । खासगरी सीमावर्ती भारतमा तिब्र रुपमा फैलिएको कोरोना र जवजस्र्ती नेपाल छिर्ने भारतीय नागरिकका कारण अहिले नेपालमा कोरोनाको जोखिम बढेको छ ।

    भारतमा करीव दैनिक एक लाखको दरले संक्रमित बढिरहेका छन् । विहार राज्य बढी प्रभावितमध्ये एकमा परिसकेको छ । यस अवस्थामा नेपालका सीमावर्ती शहरमा जोखिम बढेको हो । विराटनगरमा नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवा दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय भएको छ ।

    भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा कडाइ, सिटी रिक्सामा सामाजिक दूरी कायम गर्ने तथा चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसाय सकेसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ । पीसीआर परीक्षणको दायरा बढाउन पहल गर्ने, क्वरेण्टीन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने, सभासमारोह गर्न नदिने लगायत निर्णय समेत महानगरले गरेको छ ।

  • आजबाट फेरी मनसुन, जोखिम बढ्ने

    आजबाट फेरी मनसुन, जोखिम बढ्ने

    काठमाडौं । नेपालमा आजबाट पुनः मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारबाट शुक्रबारसम्म मनसुन सक्रिय हुनेछ । मनसुनका कारण कतिपय स्थानमा भारती वर्षातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहा ठूलो वर्षाको सम्भावना रहेको छ ।

    चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायत जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको महाशाखाले उल्लेख गरेको छ । जसले गर्दा लम्जुङ, पर्वत र आसपासका जिल्ला भई बग्ने मोदीखोलालगायत साना नदीमा आकस्मिक बहाबको सम्भावना छ ।

    बुटवलमा तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको बताइएको छ । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा घटेको छ । नदी किनारमा रहेका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । सोमबार र मंगलबारको तुलनामा बुधबार बढी वर्षाको सम्भावना छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुनेछ ।

  • नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

    नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

    वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । आइतबार थप दुई जनामा कोरोनाका कारण ज्यान गएको पुष्टी भएको हो । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनी मधुमेह र मुटुका रोगी भएको बताईएको छ । शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको उनको आइतबार बिहान ज्यान गएको हो । उता, धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गरिएपछि लैजादै गर्दा बाटोमै मृत्यु भएका युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

    ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । उनको आइतबार साँझ कोरोना परीक्षणको रिपोर्ट आएको हो ।

    रिपोर्टबाट उनमा कोरोना पोजेटिभ देखिएको छ । यससँगै अब नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यद्दपी यसको घोषणा मन्त्रालयबाट हुन भने बाँकि रहेको छ ।

  • उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल

    उत्तर कोरियालाई समेत अब कोरोनाको डर, नाका भए सिल

    सियोल । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण भित्रिएको आंशका गर्दै सिमा नाका बन्द गरेको छ । एक जनामा कोभिड – १९ सङ्क्रमणको आशङ्का गरिएपछि उत्तर कोरियाले दक्षिण कोरियाको सीमानाका सिल गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । दक्षिण कोरियासँग सीमा जोडिएको केसङ्ग सहरको सीमा सिल गरिएको हो ।

    उत्तर कोरियाली नेता किम जोङ उनले देशमा सङ्कटकाल समेत घोषणा गरेका छन् । उनले आपतकालिन रुपमा पोलिट ब्युरो बैठक आह्वान गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनका अनुसार किम जोङ उनले विषालु भाइरस आफ्नो मुलुकमा समेत प्रवेश गरेको बताएका छन् । उनका अनुसार यदि सङ्क्रमणको आशङ्का गरिएका मानिसमा कोरोना पुष्टि भए यो आधिकारिक रुपमा उत्तर कोरियामा पहिलो सङ्क्रमण हुने बताइएको छ ।

    किनकी उत्तर कोरियाले अहिलेसम्म कोरोनाबाट सुरक्षित रहेको दावि गर्दै आएको छ । तर पश्चिमा मुलुक भने उत्तरको यो दावि स्वीकार गर्ने पक्षमा छैनन् । चीन र दक्षिण कोरियाको नजिक रहेको मुलुक कोरोनाबाट सुरक्षित रहन असम्भव भएको बताउने गरेका छन् । उता, दक्षिण कोरियामा समेत कोरोनाले महामारीको रुप नलिएका कारण उत्तरको दावि सही हो भन्ने जनमत समेत देखिन्छ ।

  • एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

    एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पास गर्न भएको ढिलाईका सम्बन्धमा अमेरिकाले चासो राखेको छ । अमेरिकी राजदूत रेण्डी बेरी आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्रालयका अनुसार भेटमा अमेरिकी राजदूतले एमसीसीका सम्बन्धमा भइरहेको प्रक्रियाबारेमा जानकारी लिएका थिए ।

    एमसिसी पास गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल नेकपा भित्र दुई तर्क रहेको छ । प्रतिपक्षी दल कांग्रेस भने एमसीसी पास गर्नेपर्ने पक्षमा रहेको छ । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नुपर्ने एमसीसी अहिले भने अन्यौलमा छ । तोकिएको समयमा पारित हुन नसकेको यस परियोजनाका सम्बन्धमा नेपालले गरिरहेको तयारीबारे राजदूत बेरीले चासो राखेका छन् ।

    यस भेटमा बेरीले यो परियोजना विश्वका अन्य देशहरुबाट माग भइरहेको समेत जानकारी गराएका थिए । रक्षामन्त्री पोखरेलले भने यस सम्बन्धमा गहन छलफल भइरहेको जानकारी गराएका थिए । बेरीले कोरोना भाइरसको नियन्त्रणमा भइरहेका कामबारे समेत चासो राखेका थिए । भारतमा बढ्दो संक्रमणका बीच नेपालमा समेत जोखिम बढेको भन्दै उनले सचेत हुनुपर्ने धारणा समेत राखेका छन् ।

  • एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार

    एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार

    काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ खर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । यद्दपी एक वर्षयता व्यापार घाटा सुधारोन्मुख भने देखियो । गत आर्थिक वर्ष २०७६\ ७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको हो । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

    विभागका अनुसार आर्थिक वर्ष २०७५\ ७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटा सुधार १६.७१ प्रतिशत रहेको छ । यसलाई व्यापारविद्हरु उल्लेख्य सुधार मान्दछन् । खासगरी आयातलाई शुरुदेखि नै कडाई गरिएका कारण यो वर्ष आयातको हिस्सा बढी खस्किएको छ । त्यसले समग्रा व्यापार घाटा घटाउन भूमिका खेलेको हो ।

    यो वर्ष निर्यातलाई समेत कोरोना भाइरसले असर गर्यो । जसले गर्दा १ खर्ब रुपैयाँको निर्यात पुर्याउने अभियान भने प्रभावित बनेको छ । आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै विदेशबाट वस्तु आयात घटेको हो । गत आर्थिक वर्ष २०७६,७७ मा कुल आयात आर्थिक वर्ष २०७५\७६ को तुलनामा १५.६३ प्रतिशत कम भएको छ । नेपालले १ सय ५५ मुलुकसँग वैदेशिक व्यापार गरेको तथ्यांक छ । यसमा सबैभन्दा ठूलो हिस्सा भने भारतको रहेको छ ।

    भारतबाट सबैभन्दा बढी वस्तु आयात भएको छ । भारतबाट ७ खर्ब ३५ अर्बको सामान आएको छ । नेपालबाट भने ६९ अर्ब ८ करोड रुपैयाँको मात्र वस्तु भारततर्फ निर्यात भएको छ । चीनबाट १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ आयात भएको छ । चीनतर्फ १ अर्ब १८ करोडको वस्तु निर्यात भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । एक वर्षमा नेपालको वैदेशिक व्यापारको आकार भने करिब १३ खर्ब रुपैयाँ रहेको छ ।

    भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६\७७ मा कुल १२ खर्ब ९२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष भन्दा १४.६९ प्रतिशत कम कम हो । आर्थिक वर्ष २०७५\७६ मा कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड थियो ।

  • काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको हो ।

    योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ४ सय १५ पुगेको छ जसमा काठमाडौंको २ सय ८४, ललितपुरको ८२ र भक्तपुरको ४९ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

  • नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षण गरिएकोमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप ७५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा निको हुनेको दर ७०. ५ प्रतिशत रहेको गौतमले बताए।

    कुल संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको छ।

  • सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक

    सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक

    काठमाडौं । सुनको मूल्य लगातार बढ्दै गएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको हो ।

    महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८ सय कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ पुगेको छ ।

  • रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

    रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

    काठमाडौं । रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने भएको छ।

    सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएका हुन् ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो ।

    सरकारी वकिलको कार्यालयले सोही फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो । तीन जनाको इजलासले उक्त फैसलामाथि पुनः सुनुवाइ हुने अनुमति दिएको हो।

    राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा जाँच गर्नेछ।