Author: Vishwanews.com

  • सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक

    सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक

    काठमाडौं । सुनको मूल्य लगातार बढ्दै गएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको हो ।

    महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८ सय कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ पुगेको छ ।

  • रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

    रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

    काठमाडौं । रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने भएको छ।

    सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएका हुन् ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो ।

    सरकारी वकिलको कार्यालयले सोही फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो । तीन जनाको इजलासले उक्त फैसलामाथि पुनः सुनुवाइ हुने अनुमति दिएको हो।

    राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा जाँच गर्नेछ।

  • ब्राजिलका राष्ट्रपतिले जिते कोरोना

    ब्राजिलका राष्ट्रपतिले जिते कोरोना

    काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना जित्न सफल भएका छन् । ट्वीट गर्दै राष्ट्रपति बोलसोनारोले आफु कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । यसअघि उनको लगातार दुई पटकको परीक्षणमा भने कोरोना पोजेटिभ देखिएको थियो ।

    बोलसोनारो कोरोना भाइरसलाई गम्भीर रुपमा नलिने राष्ट्रप्रमुखमध्ये एक हुन् । उनले यस भाइरसलाई सामान्य फ्लू मान्छन् । तर, संसारमा धेरै ानिसको ज्यान गुमाउने र संक्रमित हुने देशमध्ये ब्राजिल अगाडी नै रहेको छ । विश्वमा अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । ब्राजिलमा अहिलेसम्म २३ लाखभन्दा बढी संक्रमित रहेका छन् । उनीहरुमध्ये ८६ हजार भन्दा धेरैको मृत्यु भइसकेको तथ्यांक रहेको छ ।

  • काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

    काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

    काठमाडौं । काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य पृथ्वी राजमार्गको अवरोध ६ दिनपछि खुलेको छ । नौबिसे-मुग्लिङ सडकखण्डको बीचमा पर्ने मौवाखोलामा पुल बाढीले बढाएपछि सडक अवरुद्ध भएको थियो । सडक मर्मत भएपछि गएरातीबाट दुईतर्फी गाडी चल्न थालेको प्रहरीले जनाएको छ । मौवाखोलाको पुल मर्मतको काम सकिएको छ ।

    पुल बगेपछि यो सडकखण्ड ५ साउनमा बन्द भएको थियो । उता, पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड भने दुई साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा ठूलो पहिरो खसेर यो सडक अवरुद्ध बनाएको छ । यहाँ बेलिब्रिज समेत बगेको छ । देशका अन्य विभिन्न दुई दर्जन स्थानका सडक अवरुद्ध छन् ।

    पछिल्लो तीन दिन यता मौसम केही अनुकुल भएपनि सोमबारबाट मनसुन पुनः सक्रिय हुने मौसम विज्ञान विभागले जनाएको छ । पहिरोका कारण साँफेबगर-मार्तडी सडकखण्ड १६ दिनदेखि बन्द छ । पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ समेत बन्द नै रहेको छ । एक सातायता बेशी शहर-चामे सडकखण्ड समेत संचलनमा आउन सकेको छैन । डुम्रे-बन्दीपुर सडकखण्ड र गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड समेत बन्द छन् ।

  • कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

    कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

    काठाडौं । पत्नी हत्या गरी अपराध लुकाउन जंगलमा लगी शव जलाएको प्रमाणित भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई जेलबाट छुटाउने सर्वोच्च अदालतको फैसला उपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुँदैछ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट गरी फैसला भएको थियो । उनी कारागारबाट छूटिसकेका छन् । यस फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चा पुनरावेदनका लागि निवेदन दर्ता गरेको छ । उक्त निवेदनउपर आज सुनुवाइ हुन लागेको हो ।

    श्रीमतीको हत्यामा दोषी ठहर कोइरालाको सजाय घटाउने गरी सर्वोच्चको अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार पुनरावलोकनको निवेदन दर्ता गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भएको भन्दै पुनरावलोकनको माग गरेको छ ।

    फैसलामा गल्ती भएको ठानेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिन सक्ने प्रावधान रहेको छ । तर, अनुमति नदिएको अवस्थामा भने फैसलाले वैधानिकता पाउनेछ भने मुद्दाको औचित्य समाप्त हुनेछ । पुनरावलोकन मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ । कुनै मुद्दाको पुनरावलोकन माग गरिए पहिले फैसला वा अन्तिम आदेश गर्ने न्यायाधीश बाहेक अन्य न्यायाधिषले इजलास हेर्ने प्रचलन रहेको छ ।

    पुनरावलोकन आएको मुद्दामा यसअघि मुद्दा हेरिसकेका न्यायाधिश बाहेक अन्य न्यायाधीशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्छन् । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मलता माथेमा, मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लले हेरेका कारण उनीहरुले यस निवेदनमाथि सुनुवाइ र निर्णय गर्न पाउदैनन् ।

  • कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

    कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो एक सातामा विदेशमा एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले संकलन गरेको विवरण अनुसार एक सातामा नेपाल बाहिर एक जना नेपालीको ज्यान गएको हो एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एक जना नेपालीले ज्यान गुमाउनु परेको छ ।

    एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या १ सय ६१ पुगेको छ । नेपालमा अहिलेसम्म ४५ जनाको ज्यान गएको छ । यसरी हेर्दा कोरोनाका कारण विश्वभर नेपालीको मृत्यु संख्या २०६ पुगेको हो । एनआरएनएको स्वास्थ्य समितिका अनुसार ३६ मुलुकमा २९ हजार २ सय ४३ जना नेपाली कोरोना संक्रमणमुक्त बनेका छन् ।

    अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएका थिए । तर, यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । नेपालमा समेत पछिल्लो ४ दिन संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ । अहिले नेपालमा लक्षणसहितका बिरामी भेटिन थालेका छन् । यसले जोखिम समेत बढाएको छ ।

  • सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

    सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

    काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानन्त्री स्व. सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित करीव तीन दर्जन नेताले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रभावशाली नेता तथा पूर्वमन्त्री थापानै बाहिरिएपछि राप्रपालाई भने ठूलो धक्का लागेको छ । धनकुटाबाट उनीसहित ३१ जना नेताले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

    उनीहरुले कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराका नाममा संयुक्त राजिनामा पत्र बुझाएका हुन् । सूर्य बहादुर थापाको बिचारलाई बिर्सेर नेतृत्वले ढुलमुले नीति लिएको र सोहीकारण राप्रपाप्रति जन आकर्षण घटिरहेको निष्कर्ष यी नेताले निकालेका छन् । नेपालमा प्रजातन्त्र स्थापनापछि पूर्वपंचहरु संगठित भएर राप्रपा गठन गरेका थिए ।

    राप्रपाका संस्थापक नेता तथा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासहितका नेताले यो पार्टी स्थापनामा ठूलो योगदान गरेका थिए । उनका पुत्र सुनिलसँगै विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र पदमबहादुर बस्‍नेतसमेतले पार्टी परित्याग गरेका हुन । स्रोतका अनुसार सुनिल कांग्रेस प्रवेशको तयारीमा छन् । उनलाई सभापति देउवाले राम्रो पदसहित भित्राउने तयारी गरेका छन् ।

  • पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

    पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेस अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो । निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी पार्टीबाट ५ वर्षका लागि निस्काशनमा परेका छन् ।

    उता, पूर्वमन्त्री तथा कैलालीका महासमिति सदस्य ओझा समेत ५ वर्षका लागि पार्टीबाट निस्काशनमा परेका छन् । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

    यता, डडेलधुरा कांग्रेस कार्यालय सचिव विष्ट समेत तीन वर्षका लागि निस्काशनमा परेका छन् । अनुशासन समितिले सोधेको स्पष्टीकरण चिक्तबुझ्दो नभएको भन्दै पार्टीले निस्कासनको निर्णय लिएको अनुशासन समितिले जनाएको छ । तर, समितिको निर्णयप्रति भने कतिपय नेताले विरोध जनाएका छन् ।

  • साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र १८१ को मृत्यु

    साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र १८१ को मृत्यु

    काठमाडौं । २०७७ साल शुरु भएयताको साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र करीव २ सय जनाको ज्यान गएको छ । वैशाखयता बाढी, पहिरो र चट्याङका कारण १८१ जनाले ज्यान गुमाइसकेको सरकारी तथ्यांकले देखाएको छ । यी विपत्तिमा परी अझै ५१ बेपत्ता रहेको तथ्यांक छ । यी घटनामा २७८ जना घाइते भएको पाइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनसार पहिरोले १२८ जनाको ज्यान गएको छ । पहिरोमा परेर ४४ जना बेपत्ता रहेका छन्। पहिरोले ११४ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । बाढीबाट यस अवधिमा ६ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तीन जना घाइते भएका छन् । साढे तीन महिनामा चट्याङ लागेर ४७ जनाको ज्यान गएको छ । १६१ जना घाइते छन् ।

    मनसुन शुरु भएपछि बढी मानिसको ज्यान गएको हो । बेपत्ताको खोजी भइरहेको प्राधिकरणले जनाएको छ । मनसुन शुरु भएपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा बढी मानवीय क्षति भएको छ । तराई भेगमा अझै डुबानले मानवीय क्षति भएको छ्रैन । तर, पहाडी भेगमा भने पहिरोले बढी क्षति पुर्याएको छ ।

  • शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

    शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

    काठमाडौं । नेपालमा शनिबार १ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ४ हजार ७५ नमुना परीक्षणबाट यो संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । अब नेपालमा १८ हजार ४८३ जनामा कोरोना पुष्टी भएको छ । सरकारले देशभर लकडाउन खुला गरेको छ । यसले पुनः संक्रमणको डिग्राी भने उकालो लाग्न थालेको संकेत देखाएको छ ।

    नेपालमा शनिबारसम्म ४५ जनाको मृत्यु भइसकेको छ । देशभरबाट १३ हजार ५३ जनाले कोरोनालाई पराजित गर्न सफल भएका छन् । शनिबार डोटीमा सबैभन्दा बढी १३ जना संक्रमित थप भएका छन् । सुर्खेत र सप्तरीमा ११\११ जना कोरोना पुष्टी भएको छ । पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६\ ६ जना र दाङमा ५ जनामा कोरोना देखिएको छ ।

    रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४\४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३\ ३ जनामा कोरोना देखिएको छ । काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २\ २ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एक\एक जना कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी

    निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी

    कंचनपुर । कंचनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको आज दुई वर्ष पुरा भएको छ । तर, यसअवधिमा समेत अपराधी पत्ता लगाउन नसकेको प्रहरी प्रशासनविरुद्ध भने जनताको प्रश्न अझै कायम छ । आखिर किन प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन ? प्रहरीले यसअघि दोषि किटान गरेका व्यक्तको डीएनए नमिलेको भन्दै छाडेपछि कुनै पनि व्यक्तिलाई अपराधीका रुपमा पत्ता लगाउन सकेको छैन ।

    १० साउन २०७५ मा हराएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको शव भोपिल्ट ११ साउन २०७५ मा भीमदत्त नगरपालिका २ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीले उल्लेख गरेको थियो । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकसय भन्दा बढीलाई केरकार गरेर छोडेको थियो ।

    स्थानीय दिलीपसिंह विष्टलाई प्रारम्भमा दोषी ठहर गरेको प्रहरीले घटना भएको २४ औं दिन ४ भदौ २०७५ मा प्रहरीले विष्टलाई मुख्य अभियुक्त भनी सार्वजनिक गरेको थियो । तर, उनी अपराधी नभएको भन्दै समुदायमा आन्दोलन भयो । त्यसबेला आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली नै चलायो । सो क्रममा भीमदत्त नगरपालिका १८ का १४ ववर्षिय किशोर सन्नी खुनाको ज्यान गएको थियो ।

    डीएनएसमेत नमिलेपछि प्रहरीले विष्टलाई छाडेको थियो । प्रहरीले यस घटनाको अनुसन्धानमा त्रुटी रहेको स्वीकार गरेको छ । यद्दपी घटना भने अझै पनि रहस्यमय बनेको छ । घटनापछि प्रहरीको नेतृत्वमै दुइ पटक परिवर्तन भइसकेको छ । सबैको प्रतिवद्धता निर्मला पन्तको हत्यारा पत्ता लगाउने भन्ने नै रहेको छ । तर, अपराधी भने खुलेआम हिडिरहेको छ ।

  • यो वर्ष नहुने भयो गोसाइकुण्ड मेला

    यो वर्ष नहुने भयो गोसाइकुण्ड मेला

    रसुवा । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यस वर्ष चर्चित गोसाइकुण्ड मेला संचालन नहुने भएको छ । नेपालको चर्चित धाममध्ये एक रसुवाको गोसाइकुण्ड मेला संचालन नगर्ने निर्णय भएको हो ।

    हरेक वर्ष जनैपूर्णिमाको अवसरमा यहाँ ठूलो मेला यो वर्ष नहुने भएको हो । मेला व्यवस्थापनको जिम्मा पाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा रहेका होटल पूर्णरूपमा सञ्चालनमा नआएको लगायत कारणले यो वर्ष मेला संचालन गर्न नसकिएको बताएको छ ।

    गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्छ । तर, यो वर्ष गङ्गादशहरामा मेला समेत लाग्ने छैन । कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला समेत स्थगित भएका कारण गोसाइकुण्ड दर्शन यो वर्ष अधुरै रहने भएको हो ।

  • विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख

    विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख

    काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको हो । कुल संक्रमित मध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर संक्रमण मुक्त हुनेको संख्या ९७ लाख १५ हजार ९८३ छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्ला दिनमा संक्रमितको दर कम भएपनि जोखिम भने झनै बढेको छ । किनकी नेपालमा सरकारले लकडाउन खोलेको छ ।

  • फ्रेन्च कपको उपाधी पिएसजीले जित्यो

    फ्रेन्च कपको उपाधी पिएसजीले जित्यो

    काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधी पेरिस सेन्ट जर्मेन पिएसजीले जितेको छ । गत राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराएको पिएसजीले उपाधीमाथि कब्जा जमाएको हो । पिएसजीको जितमा खेलको १४ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारले गरेको गोल नै निर्णायक बनेको हो । पिएसजी ३१ औं मिनेटमा १० खेलाडीमा सिमिति भएको थियो ।

    पेरिनले रातो कार्ड पाएका थिए । पिएसजीले १३ औं‌ पटक फ्रेन्च कपको उपाधि उचालेको हो । यस खेलका लागि रङ्गशालामा केही दर्शकलाई उपस्थितको अनुमति मिलेको थियो । फ्रान्समा सामाजिक दूरी राखेर खेलाडीलाई प्रवेशको अनुमति दिइएको छ । गत अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो । चोटग्रस्त बनेका फ्रान्सेली स्टार केलियन एमबाप्पेले रुँदै मैदान छाडेका थिए । एजेन्सी

  • सुनको मूल्य तोलामा एक लाख नजिकै

    सुनको मूल्य तोलामा एक लाख नजिकै

    काठमाडौं । नेपालमा सुनको मूल्यले हरेक दिन कीर्तिमान राखिरहेको छ । अब प्रतितोला एक लाख नजिकै रहेर अहिले कारोबार भइरहेको छ । शुक्रबारसम्म लगातार तीन दिन सुनको मूल्य उकालो लाग्यो । शुक्रबार मात्र १३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भयो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो म्मूल्य नेपालमा अहिलेसम्मकै उच्च हो । तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ। चाँदीको मुल्यमा पनि बढेको छ । चाँदीमा प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भएको छ ।

    सुनको मूल्य बढेपनि बजारमा कारोबारमा भने मन्दी छाएको छ । तीज सुनको खपत हुने मूख्य सिजन हो । तर, यसपटक अत्यधिक मूल्यका कारण सुन खरीद गर्ने भन्दा बेच्ने मानिस बढी रहेको महासंघको भनाई छ । त्यसकारण पनि सुनको कारोवार सुस्ताएको छ ।

  • आज नागपञ्चमी, नागको पूजाआजा गरेर मनाइदै

    आज नागपञ्चमी, नागको पूजाआजा गरेर मनाइदै

    काठमाडौं । आज देशभर नागपञ्चमी पर्व मनाइदैछ । श्रावण शुक्ल पञ्चमीका दिन हरेक वर्ष हिन्दु धर्मावलम्बीले नाग पञ्चमी मनाउँछन् । यस दिन नागको पूजा गरिन्छ भने नागको फोटो दैलोमा टास्ने प्रचलन समेत रहेको छ । यसो गर्दा नागराजा प्रसन्न भएर मानिसलाई हानी नगर्ने विश्वास लिइन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकाल परम्परा रहेको छ ।

    अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता समेत रहेको छ ।

    घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर नाग, सर्प र बिच्छीलगायत जीवको जोखिम नहुने र अग्नि, मेघ तथा चट्याङबाट समेत बच्न सकिने धार्मिक विश्वास रहिआएको छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागराजाको पूजा गरिन्छ ।

  • कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

    कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

    वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा आजबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । अब अत्यावश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । वीरगन्जमा समुदायस्तरमा कोरोना फैलिएको छ । पछिल्लो तीन दिनयता कोरोना भाइरसका कारण यहाँ तीन जनाको ज्यान गइसकेको छ । जसले गर्दा स्थानीयमा चिन्ता बढेको छ ।

    भारतबाट मानिसहरु अनाधिकृत प्रवेश गरेको र उनीहरुमा कोरोना पुष्टी भएपछि यहाँ समुदायस्तरमा कोरोना फैलिएको पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेको थियो । त्यसपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो । निषेधाज्ञा जारी भएको समयमा वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको छ ।

    महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द भएका छन् । वीरगञ्जमा अन्य जिल्ला र भारतबाट आउन पूर्णप्रतिबन्ध लगाइएको छ । बिहारमा बढ्दो संक्रमणका बीच वीरगन्जमा जोखिम बढेको हो । निषेधाज्ञा लगाइएको समयमा मास टे्रस्टिङको काम समेत गरिने भएको छ । संक्रमितको सम्पर्कमा आएकालाई प्राथमिकतामा राखेर जोखिमपूर्ण स्थानमा पिसिआर गरिने भएको छ ।

  • नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

    नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

    वीरगन्ज । नेपालको बारा र पर्सा जिल्ला कोरोनाका इपिसेन्टर बनेको छ । पछिल्लो दुई दिनमा यहाँ कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ । कोरोना विशेष अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

    नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । आज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मृतक युवतीसहित नौ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी युवतीको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो ।

    त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भएको हो । उक्त टेस्टमा पोजेटिभ पाइएपछि उनको पिसिआर परीक्षण गरिएको हो । आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा उनलाई बिहीबार गण्डक कोभिड अस्थायी अस्पताल ल्याएर भर्ना गरिएको हो । शुक्रबार उनको मृत्यु भयो ।

  • सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

    सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

    झापा । झापाको पूर्वी नाका काँकडभिट्टास्थित सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षण गर्न नमुना संकलन गरी धरान पठाइएको थियो। उनीहरुमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत प्रहरी हुन् । संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी सीमा नाकासँगै बनाइएको क्वारेन्टाइनमा समेत खटिएका थिए। संक्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठ गाउँ स्थित कोभिड अस्पतालमा पठाइएको छ ।

    झापामा प्रहरीका १८ कर्मचारीसहित २५ जना कोरोना संक्रमित थप भएको हो । शुक्रबार १८ जना सशस्त्रसहित बाह्रदशी गाउँपालिकामा तीन, झापा गाउँपालिका तीन र बिर्तामोड नगरपालिकाका एक जनामा संक्रमित बिरामी भेटिएको जनाइएको छ ।

  • काठमाडौंमा थप १० जनामा कोरोना संक्रमण

    काठमाडौंमा थप १० जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्सा जिल्ला वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

    वीरगन्जको नारायणी कोभिड अस्पतालको आइशोलेनशमा उपचारको क्रममा शुक्रकार बिहान उनको मृत्यु भएको हो ।

    ती महिलामा मुटु रोग र निमानियाको समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

  • नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण, १ सय ७ जना डिस्चार्ज

    नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण, १ सय ७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ वटा नमुना परिक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जनामा पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

    कुल संक्रमितमध्ये ४३ जनाको मृत्यु भएको छ।

  • युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक

    युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक

    काठमाडौं । २२ वर्षीया युवतीलाई एसिड आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरी प्रहरी सार्वजनिक गरेको छ ।

    काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो ।

    घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ परेका छन् ।

  • क्षतिपूर्तिको माग दाबी गर्दै साम्राज्ञीविरुद्ध भुवनले गरे मुद्दा दायर

    क्षतिपूर्तिको माग दाबी गर्दै साम्राज्ञीविरुद्ध भुवनले गरे मुद्दा दायर

    काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद उत्कर्षमा पुगेको छ ।

    सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको विवाद जिल्ला अदालत काठमाडौंमा समक्ष पुगेको हो । केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् ।

    साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप लगाएकी थिइन् । भुवनले आफूमाथि नायिका साम्राज्ञीले बेइज्जती गरेको रिटमा जिकिर गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै अभिनेत्री शाहलाई कारबाही गर्न माग गरेका छन्।

    तीन वटा फिल्म छायांकनका क्रममा र जापानमा भएको अवार्ड कार्यक्रममा अभिनेता केसीले आफूलाई दुर्व्यवहार गरेको आरोप अभिनेत्री शाहको छ।

    अभिनेता भुवनले भने अभिनेत्री शाहले लगाएको आरोप अस्वीकार गर्दै आएका छन्।

  • बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

    बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय संचालनमा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशनहरुको पालना गर्दै कार्यालय र सेवा संचालनमा ल्याउन निर्देशन दिएको हो । यस्तो कार्यालयमा भीडभाड नहुने तथा दूरी कायम गरेर सेवा दिनु पर्नेछ । साथै ‘सिफ्ट सिस्टम समेत हटाउनु पर्ने गरी निर्देशन आएको छ ।

    अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा संचालनमा ल्याउनु पर्छ । कोरोना सङ्क्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए । तर, सरकारले नेपालमा लकडाउन पूर्ण रुपमा अन्त्य गरेको छ । अब लामो दूरीका यातायात र हवाई सेवाबाहेक अन्य सबै सेवा सूचारु भइसकेको छ ।

  • पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

    पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

    वीरगन्ज । पर्सामा समुदायस्तरमा कोरोना फैलिएको आंशकाका बीच थप ३२ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ५ जना थुनुवासमेत रहेका छन् । थुनुवामध्ये पनि ४ जना भने भारतीय नागरिक हुन् । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार भएको पीसीआर परीक्षणबाट उनीहरुको नतिजा पोजेटिभ आएको छ ।

    वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्ष ५ जनामा कोरोना देखिएको छ । यसले समुदायमा कोरोना रहेको देखाएको छ । यी पाँच मध्ये ४ जना भारतीय हुन्। भारतको बिहारका ३ जना र उत्तर प्रदेशका एक जना थुनुवामा कोरोना देखिएको हो । अवैध तरिकाले नेपाल छिरेका उनीहरुलाई प्रहरीले समातेर हिरासतमा राखेको थियो ।

    ती व्यक्तिमा कोरोना पुष्टी भएसँगै तराई क्षेत्रमा कोरोनाको अझ डरलाग्दो रुप हुन सक्ने देखिएको छ । यता, वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघ पर्साले आकस्मिक बाहेकका सेवा बन्द गर्न समेत माग गरेको छ ।

  • काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

    काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार भएको थियो । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेको प्रहरीले जानकारी दिएको घ ।

    घटना भएका दुई घण्टा भित्र उनीहरु पक्राउ पर्न सफल भएका छन् । आलमको आदेशमा उनका कामदार मुन्नाले युवतीको अनुहारमा एसिड छ्यापेको खुलेको छ । राजधानीको एक तारे होटेलमा काम गर्ने युवती र आलमबीच भने चिनजान भएको बताइएको छ । युवतीले आलम दाई जस्तो मान्ने गरेको भएपनि आलमले उनलाई मन पराउने गरेका थिए । युवतीले आफुलाई मन नपराएपछि उनलाई एसिड छ्यापेको बयान आलमले दिएका छन् ।

    घरबाट दही किन्न बजार निस्किएकी उनलाई आलमले नै मोटरसाइकलमा राखेर पसलसम्म पुर्याएको खुलेको छ । त्यसपछि उनले योजना अनुसार आफ्ना कामदारलाई युवती फर्कदा एसिड छ्याप्न लगाएका थिए । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो ।

    घटना हुनअगाडी आलमको मोवाइलबाट युवतिको मोवाइलमा दर्जनौं मिसकल आएको र सोही आधारमा प्रहरीले अनुसन्धान पनि उनीतर्फ नै मोडेको थियो । त्यसमा सिसिटिभी फुटेजको भिडियो उपयोगी सावित भएको हो । मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेका थिए । आफुले बोतलमा एसिड छ भन्ने पत्तै नपाएको बयान मुन्नाले दिएका छन् । आफ्नो हातमा समेत एसिड झरेर पोलेपछि मात्र एसिड भएको पत्ता पाएको उनले बताए ।

  • राजधानीमै युवतीमाथि एसिड प्रहार

    राजधानीमै युवतीमाथि एसिड प्रहार

    काठमाडौं । राजधानी काठमाडौंमै बिहीबार साँझ एक युवतीमाथि एसिड प्रहार भएको छ । सीतापाइलामा युवतीमथि एसिड प्रहार भएको हो । प्रहरीका अनुसार ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार हो । घरबाट सामान किन्न बजार निस्किएको बेला उनीमाथि एसिड हानिएको हो ।

    एसिड हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको अनुहारमा एसिड प्ररेको छ । उनको कीर्तिपुरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । राजधानीमै युवतीमाथि भएको एसिड प्रहारले प्रशासनको सुरक्षा र महिलामाथि भइरहेको हिंसाको प्रश्नलाई पुनः एक पटक जगाएको छ ।

  • ‘न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन’

    ‘न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन’

    काठमाडौं । आज सर्वोच्चको एक फैसला कार्यान्वयनप्रति आम मानिस संतुष्ट छैनन् । सामाजिक संजालदेखि चिया पसलसम्म न्यायालयमाथि प्रश्न उठ्ने गरी सर्वोच्चबाट भएको एक फैसला कार्यान्वयनमा आएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रन्जन कोइरालालाई सर्वोच्चले सजाय छूट दिएको छ । उनी बिहीबार नै रिहा भएका छन् ।

    किशोर अवस्था पार गरिसकेका छोराहरुको हेरविचार गर्नु पर्ने भन्दै रिहा गरिएको उनलाई लिन छोराहरु नभएर कोइरालाकी प्रेमिका कारागार परिसर पुगेपछि अझ यो फैसलाको नियतमाथि प्रश्न उठेको हो । प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेपछि उनी बिहीबार छुटेका छन् ।

    उनीमाथिको सजाय माफीले समाजमा अपराध कर्मले प्रशय पाउने तथा न्यायालयप्रतिको जनताको विश्वास कम हुनु हो की भन्ने चिन्तासमेत समाजमा बढेको छ । आज दिनभर सामाजिक संजालमा न्यायमूर्तिको फैसलामा प्रश्न उठ्दै लाखौ मानिसले प्रश्न उठाएका छन् । सांसद रामकुमारी झाँक्रीले यस फैसलाउपर न्यायिक पुनरावलोकनको आवश्यकता औल्याएकी छिन् ।
    यसैबीच बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको छ ।

    महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको हो । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको छ । सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने प्रावधान रहेको छ ।

    फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन सकिन्छ । न्यायिक पुनरावलोकनबाट फैसला उल्ट्याउने वा यथावत राख्ने भन्ने अधिकार भने सर्वोच्चसँग नै रहेको छ । अब सर्वोच्चले जनताप्रतिको भरोसा कायम राख्न कस्तो फैसला गर्छ, त्यो भने हेर्न बाँकि छ ।

    न्यायाधीशले फैसला गरे उनैले पुनरावलोकन निवेदनमाथि सुनुवाई गर्न भने पाउने छैनन् । कोइरालाले ८ वर्ष अगाडी पत्नी गीता ढकाल कोइरालालाई घरमै मारेर बोरामा राखी मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । सोही हत्याकाण्डमा जोडिएकी प्रेमीका तारा रेग्मीले उनलाई कारागारबाट कारमा राखेर घर लगेकी छिन् । आफ्ना आमाका हत्यारा बाउलाई दिन छोराहरु भने कारागार पुगेनन् ।

  • उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

    उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ ।

    बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

    सरकारले हाल लकडाउन हटेको घोषणा गरे पनि अझै केही क्षेत्रमा बन्देज कायमै राखेको छ । साथै, सभा, भोज, भतेर लगायतका भीडभाड हुने कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन् रोक लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    गत सोमबारको मन्त्रिपरिषदको बैठकले लकडाउन हटाउने निर्णय गरेपनि महासंघको निर्वाचन अनुमति दिने विषयमा केहीपनि निर्णय गरेको थिएन । सरकारले भदौं १ देखि लामो दुरीको सवारी साधन तथा हवाई उडान समेत खोल्ने निर्णय गरेको छ । तर २५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस, क्लब, सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध छ ।

    महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । कोरोना भाइरसको कारण निर्धारित मितिमा महासंघको निर्वाचन हुन सकेको छैन । महासंघको साधारणसभापछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष चुनिनेछन् । बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर निर्वाचन लड्ने घोषणा गरेका छन् । गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको थियो ।