Author: Vishwanews.com

  • न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

    न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

    न्युयोर्क

    विश्वको सर्वोच्च शिखर सगरमाथामाथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्षदेखि न्युयोर्कको राजधानी आल्बानिमा समेत मनाईने भएको छ ।
    उक्त निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन । हाल अमेरिकामा रहेका साठी जना आरोहीहरुलाई सम्मानपत्र र यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवक हरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
    हिम आरोही शेर्पाहरुको अदम्य साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन लागिएको प्रमुख वक्ता जेनिफर राजकुमारले बताईन् । नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले सगरमाथा दिवसलाई न्युयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष देखि सगरमाथा दिवस मनाउन न्युयोर्क स्टेट् एसेम्ब्लीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले हिमआरोहीहरुका लागि गरिएको यो सम्मान प्रति आफु अत्यन्त आभारी रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डा. सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर नबराज केसी, सामाजिक अभियन्ता तथा एडवान् नेपालका संस्थापक बिष्णुमाया परियार, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायन लगायत उपस्थित बिदेशी पाहुनाहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    नेपाल सरकारले मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day) को रुपमा मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आई रहेका थिए । विगतका वर्षहरुमा न्युयोर्कमा पनि यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आईरहेको कुरा यु एस क्लाइम्बर्स् एसोसिएशनका महासचिब मिङ्मार लामाले बताए ।

    मीस् नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवालीद्वारा संचालित कार्यक्रममा विविध नेपाली सँस्कृति झल्कने कार्यक्रमहरुका साथमा भने स्व. तेन्जिङ् नोर्गे शेर्पा र एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी र नोर्बु तेन्जिङ् शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएका थिए ।

  • स्वास्थ्य सामाग्री हस्तान्तरण

    स्वास्थ्य सामाग्री हस्तान्तरण

    सरस्वती न्यौपाने, रसुवा

    रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका भित्र रहेका आठ वटा स्वास्थ्य संस्थाहरूलाई असोज १६ गते एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

    रसुवा ट्रेक एण्ड एक्पिडिसनको पहलमा अमेरिकी संस्था डाईरेक्ट रिलिफ एवम् माउन्टेन हट नेपालको सहयोगमा करिब १६ लाख रूपैयाँ बराबरको सामान रसुवा ट्रेकका प्रवन्ध निर्देशक बलराम न्यौपाने (दुर्गानाथ) ले कोभिड लगायत अन्य कारणले विरामीलाई अक्सिजन अभाव हुन नदिन र बिरामीहरूलाई सहज होस भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सनट्रेटर ८ थान, भोल्टेज रेगुलेटर ८ थान, पिपि सेट १५ वटा, अक्सि मिटर ८ वटा नौकुण्ड गाउँपालिकाकोवडा नम्बर ६ का वडा अध्यक्ष धर्म बहादुर थोक्रालाई हस्तान्तरण गर्नुभएको हो।
    प्रवन्ध निर्देशक न्यौपानेबाट हस्तान्तरित सामग्री बुझ्दै वडा अध्यक्ष धर्म बहादुर थोक्राले तीन ओटा स्वास्थ्य चौकी र अरू ५ वटा सामुदायिक स्वास्थ्य ईकाईलाई दाताले तोके बमोजिम सम्बन्धित स्वास्थ्य संस्थामा ती सामग्री पठाउने बताउनु भयो । स्वास्थ्य प्रमुख बसन्त चालिसे, सहायक प्रमुख जिल्ला अधिकारी, दुर्गा थापा, सम्बन्धि स्वास्थ्य चौकिका ईन्चार्जहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।
    उपलब्ध भएको सामग्रीले श्वासप्रश्वास भएका बिरामीलाई उपचारमा सहजता पार्ने वातावरण तयार भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरे। आगामी दिनहरूमा पनि यस्तै सहयोग पाइरहने अपेक्षा उनीहरूले राखेका थिए।
    उपचारका सामग्री उपलब्ध गराई स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पारी दिने दाता संस्था लगायत पहल कदमी गरि गाउँवासीको हितमा अह्रोरात्र खट्ने सामाजिक अभियानता बलराम न्यौपाने धन्यवादको पात्र भएको सरस्यु स्वास्थ्य ईकाई प्रमुख निरन्जन तामाङले बताउनु भयो।

    पीपीई सेट र अक्सिमिटर प्रारम्भ सामाजिक संस्थाबाट प्राप्त भएको वताईएको छ ।

  • रमाइलो छ न्युयोर्कको डम्बो

    रमाइलो छ न्युयोर्कको डम्बो

    कुमार न्यौपाने, न्युयोर्क

    पहिलो पल्ट सुन्दा अनौठो लागेको थियो यो नाउँ – डम्बो !
    प्रत्येक ठाँउको नाउँको पछाडि केही न केही अर्थ लुकेको हुन्छ । “Down Under the Manhattan Bridge Overpass” को छोटकरीलाई ‘डम्बो’ भन्ने थाहा पाएपछि त्यहाँ पुगौं भन्ने भयो । अर्को तथ्य त्यहाँ पुगेपछि थाहा भयो कि हात्तीको छावा, गणेश जस्तो देखिने रवर र कपडाको फुच्चे हात्तीको (कान र पेट साविकभन्दा अलि ठुलो बनाई दिईएको उपनाम) प्रतीक बर्षको एकपल्ट आकाशबाट खसाल्ने उत्सव नै हुने रहेछ । पहिलो पल्ट खोज्दै डम्बो पुगेको मलाई बिस्तारै बिस्तारै त्यहाँको बिशेषताले निकैपल्ट तानेको छ । ‘टु ब्रिजेज’ भन्ने उपनाम पाएको म्यानह्याटन पट्टिे फराकिलो हुदै ब्रुकलिन पुग्दा सांघुरिएर झण्डै जोडिन पुग्ने दुई पुलहरुको बीचबीचै पर्ने न्युयोर्केली र पर्यटकहरुको जमघट हुने ठाँउ डम्बोमा रमाइलो लाग्ने चिजविजहरु निकै छन । विश्व प्रशिद्घ ब्रुकलिन पुल, म्यानह्याटन र ब्रुकलिन जोड्ने सबैभन्दा लामो म्यानह्याटन पुलको बीच भागबाट एम्पायर स्टेट बिल्डिङ्गदेखि वान वर्लट्रेडसम्मको दृष्यपान गर्न सकिने भएकोले न्युर्योक सहरको पुग्नै पर्ने ठाँउमा पर्ने डम्बो मन रमाउने ठाँउमा पर्दछ । डम्बोको केही सडकहरुमा युरोपीय सहरहरुको सडकहरुमा देखिने बेल्जियन ब्लक्स पनि भनिने कबल स्टोनहरु (चारपाटे आकारमा काटिएको ढुङ्गा) ओछ्याएका छन । डम्बोको मुख्य बाटो वाशिङ्गटन स्ट्रिटबाट सिधा उत्तर पश्चिमपट्टि हेर्दा देखिने म्यानह्याटन पुलको दुई खम्वाहरु र त्यसको खाली भागबाट देखिने एम्पाएर स्टेट बिल्डीङ्गको दृष्य लोभलाग्दो हुन्छ, विषेश गरी साँझपख र राति अझ दृष्य मनमोहक हुने गर्छ । त्यही ठाँउमा तरुनातन्नेरीहरुको भावभङ्गी सहितको फोटो खिच्न तछाडमछाड नै हुन्छ । कयौं पटक पालो कुर्नु परेको मेरो नै अनुभव छ । सडकका चहकिलो पहेंला बत्तिको प्रकाश सडकमा ओछ्याईएका सफा ढुङ्गाहरुमा पर्दाको दृष्यसंगै म्यानह्याटन पुल र वरपरको तेलीय इट्टाको घरहरुको समिश्रणले जो कोहीलाई पनि तान्दछ ।

    डम्बोबाट देखिने म्यानह्याटन डाउनटाउनको दृष्य


    निकै सिनेमाहरुमा डम्बोको साँझको दृष्य देख्न पाईन्छ । खोज्द्रै जाँदा थाहालाग्यो, केही बर्ष अगाडि नै सुनेको नेपाली गायक सज्जनराज बैद्यको मानिस र समय अथवा उमेरसंगै कसरी मानिसको समय उम्किन्छ भन्ने भावको निकै चर्चित गीत “फुत्केर गयो यो उमेर नि” भन्ने गीतको कभर फोटो त्यही डम्बोको रहेछ । दैनिक धेरै फोटोहरु क्यामेरामा कैद हुने, नवबिवाहित जोडिहरुको विहेपछिको फोटो लिने गन्तव्य, बिभिन्न गीतहरुको म्युजिक भिडियोहरु, द फ्रेन्च कनेक्सन, भ्यानिला स्काई जस्तो थुप्रै चर्चित सिनेमाहरुको छायंकन स्थल पनि हो – डम्बो । प्रमुख रुपमा इटालियन तर सबैजसो स्वादका खानेकुराहरु पाईने रेष्टुराँहरु, साँझ, बिहान बृद्घबृद्घाहरुको लागी बगैचासहितको सुस्ताउने ठाँउ, तरुनातन्नेरीहरुको लागी खानपिन सहितको भेटघाट र बिभिन्न शेल्फिस्पटहरु, बालबालिकाहरुकोलागी घोडा वा माछाहरुको आकारमा बनाइएको झिलीमिली घुम्ने खेलौना आदि आकर्षणहरु भएकोले यो ठाँउ सबैको रोजाईमा पर्दछ । यस स्थानमा घुम्ति व्यापारीहरु पनि विभिन्न खानाका परिकार बोकेर बसेका हुन्छन् । न्युर्योक सहरमा नेपालीहरुको ‘मःम’लाई बिभिन्न नाउँले चिनिन्छ । चिन, थाइल्याण्ड, ताइवानी, तिब्वती, भारतीय, कोरीयनहरु आ­आफ्नो नाउँमा मःमको व्यापार गर्न व्यस्त छन । चर्को व्यवसायी होडबाजीमा नेपाली नाउँ र स्वाद कुन कुनातिर धकेलिने त हैन । यस्तै सोच्दै एकमनमा लाग्यो, सबै देशका स्वादहरुको परीकार पाइने ठाँउमा हाम्रो नेपाली स्वादको फास्टफुड मानिने मःमको भिन्नै स्वाद पनि सबैलाई चखाउन पाए कस्तो हुँदो हो ।
    ब्रुकलिन पुलको केही दक्षिण पट्टिबाट बु्रकलिन ब्रिज पार्क शुरु हुन्छ, बेलुकाको सुर्यास्तको आनन्द लिन सकिने न्युर्योक सहरको अव्वल ठाँउको पार्कले ब्रुकलिन हाईट्सलाई बोर्ड बाक भनेर चिनिने काठको पुलले जोड्दछ । काठले बनाईएको नागबेली पुलको हिडाईको अनुभव कयौंलाइ नौलो लाग्न सक्छ । लामो समयसम्मको सुर्यास्तको दृष्य, म्यानह्याटनको स्काइलाइन र दुई पुलहरुको अबस्थितिले डम्बो र त्यो वरपरको ठाँउहरु बिशेष बन्दै गएका छन ।

    डम्बोको प्रख्यात फोटोस्पट


    प्रोफेसनल बक्सिङ्ग ट्रेनिङ्ग सेन्टरहरु प्रशस्त रहेको डम्बोले बक्सिङ्गका महारथी मानिने मोहम्मद अलि र माइक टाइसनलाई समेत उबेलादेखि नै आर्कषित गरेको रहेछ । उनिहरु आफ्नो महत्वपुर्ण म्याच हुनुअघि तयारी तालिमहरु प्रायजसो डम्बो मै हुनेगरेको प्रमाण जुलियाना रेष्टुराँका भित्ताहरुले बताउँछ । त्यसै भएर होला आजसम्म पनि बिहान वा बेलुका तिर पुग्नेहरुले थुप्रै व्यवसायीक बक्सिङ्ग खेलाडिहरु खुल्ला चौर वा नदि किनारमा अभ्यास गर्दै गरेको देख्न सकिन्छ ।
    त्यहाँ पुग्नको लागी म्यानह्याटनबाट न्युर्योक कै सबैभन्दा पुरानो फेरी स्टेसन फुल्टनमा वा ट्रेनबाट हाइ स्ट्रिट र योर्क स्ट्रिटमा र बिभिन्न एम टि ए बसबाट नजिकैको स्टेसनमा झरी केहि मिनेटको हिडाइमा पुग्न सकिने डम्बो बिशेष गरी बु्रकलिन ब्रिज या म्यानह्याटन ब्रिजबाट पैदलयात्रा गरी जादाँ भने अर्कै रमाइलो अनुभुत गर्न सकिन्छ । पर्यटकहरु बीच पैदलयात्राको लागी ख्याति कमाएको ब्रुकलिन ब्रिज संसार कै सबैभन्दा धेरै तस्विर खिचिएको मानव निर्मीत आकर्षण मध्येमा पर्दछ । कुनैबेला ब्रुकलिन कै सम्भ्रान्तहरु बस्ने डम्बो अचेल न्युर्योक सहरको रम्ने (ह्याङ्ग आउट) ठाँउमा अग्रपङ्गतिमा छ । आकर्षक मुराल्सहरुको संग्रह नै हेर्न सकिने डम्बो पर्खालको बिशेषता भिन्नै छ । संगीतमय रेष्टुराँहरु र बेलाबेला भइरहने आउटडोर कन्सर्टले संगीतप्रेमीहरुलाई मनोरन्जन दिन्छ । डम्बोको फोटोभिलमा हरेक बर्ष सेप्टेम्बर, अक्टोवरमा हुने गरेको चित्रकला प्रदर्शनिले कलाप्रेमिहरुका लागी नयाँ उत्साह र अवसर ल्याउने गर्छ, त्यस्तै कथाबाचन श्रृङ्गखलाहरु, श्रष्टाहरुको संवादको श्रृङ्गखलाहरु र सहासीक खेलको रुपमा चिनिने रक क्लाइम्बिङ्ग पनि त्यहाँको अर्को अकर्षण हो ।
    समग्र अकर्षण र गतिबिधिहरुले डम्बोलाई चलायमान बनाएको छ । पछिल्लो समय हामीलाई फोटोग्राफि तालिमको दुईदिन छोटो सिकाइको क्रममा एक दिन डम्बो नै लगिएको थियो । दैनिकरुपमा फोटो कै लागी भनि हजारौं मानिसहरु पुग्ने डम्बोको बेलुकाको म्यानह्याटन पुलमुनिको खम्बाहरुबीचबाट देखिने एम्पायर स्टेट बिल्डिङ्गको फोटो सर्वाधिक चर्चित छ । त्यही फोटो लिन कै लागी तिन पटकसम्म पुगेको छु । छ्याङ्ग उघ्रेको साँझको सुर्यास्तले म्यानह्याटनका अग्ला घरहरुलाई छाँया पारी ल्याउने लालीमा इष्टरीभरको ब्रुकलिन किनारबाट हेर्दा अद्भुत लाग्छ । ब्रुकलिन र म्यानह्याटन ब्रिजबाट हिंड्दाको आनन्द र चहलपहलको कारण होला जतिपल्ट डम्बो पुगें म हिडेर नै पुगें । धेरै कुराहरु बिना दस्तुर नै आनन्द लिन सकिने भएतापनि डम्बोका रेष्टुराँका खानेकुराहरु सामान्य न्युर्योकको रेष्टुराँहरु भन्दा केही महंगो छ । सकेसम्म पिउने पानी साथैमा बोकेमा प्यास लाग्ने बित्तिकै चर्को भाउको पानी किन्न दौडिनु पर्दैन । दरभाउको फरकपनको कारण कतिपय ठाँउमा आफ्नो खल्ती अनुसार घुम्ने योजना बनाउँदा राम्रो होला ।
    आजकलका मोवाइलहरुमा गज्जबको क्यामेराको सुबिधा भएपनि क्यानन वा नाइकनको नयाँ भर्सनको क्यामेराहरु या लेन्सहरुले जस्तो पर्फेक्ट र न्वाइजलेस फोटोहरु पटक्कै खिच्न सकिदैन, बिहान र साँझको मन लाभ्याउने दृश्यहरु कैद गर्न, संग्रह गर्न वा व्यबसायिकरुपमा फोटोग्राफी गर्नेहरु सबैका लागी यस्ता बिशेष ठाँउहरु घुम्दा सकेसम्म बिशेष क्यामेरा बोकेमा पछि फोटो हेर्दै पछुताउन नपर्ला !

    फोटो: लेखक

  • आनन्दका दश मुक्तक

    आनन्दका दश मुक्तक

    मुक्तक १
    अँध्यारोमा हिड्नुपर्दा बाटो नाप्ने कति-कति !
    सित्थै बाँड्ने भेटिएमा दुई हात थाप्ने कति-कति !
    जुन स्वार्थले आगो बल्छ दोबाटो या चौबाटोमा
    थरी- थरी घ्यू हालेर आगो ताप्ने कति-कति !

    मुक्तक २
    आजकल बिना दलका मान्छे बन्न मुस्किल मुस्किल छ
    अझ बढी चामलबाट भुस निफन्न मुस्किल मुस्किल छ
    चुच्चे नक्सा छाप्नेबाटै उक्त नक्सा मेटिएपछि भने
    अब जस कसैलाई राष्ट्रवादी भन्न मुस्किल मुस्किल छ।

    मुक्तक ३
    व्यापारी नै सबै दलको शिकार भएपछि
    भ्रष्टकै झन् ठूलाठूला निधार भएपछि
    के सप्रन्थ्यो खेतीपाती सुख्खा जमीनमाथि
    सेवा हुने राजनीति नै व्यापार भएपछि।

    मुक्तक ४
    हिजोभन्दा अझ बढी खुल्दै आए हुन्छ
    बगैँचाको गुलाफ जस्तै फुल्दै आए हुन्छ
    दिनमा भन्दा रातमा भेट्न मजा लाग्छ भने
    बाटो भुले जस्तै गरी डुल्दै आए हुन्छ।

    मुक्तक ५
    मान्छे न हो, सानै कुराले पनि मन फाट्न सक्छ
    न कसैले कसैसँग आफ्नो जीवन साट्न सक्छ
    फ्यॉकिएको भनी हेला नगरिबक्स्योस् ए हजुर !
    पऱ्यो भने भुत्ते खुकुरीले पनि त गर्दन काट्न सक्छ।

    मुक्तक ६
    सुख जो सबैको साथ हुँदैन
    धर्तीमा सधैं नै रात हुँदैन
    मात्तिए मान्छे सच्चिए हुन्छ
    दु:खले नछुने जात हुँदैन।

    मुक्तक ७
    देवता सम्झनुपर्छ, भगवान सम्झनुपर्छ
    भगवानले दिईरहेको वरदान सम्झनुपर्छ
    मायामा डुब्ने मन त नभएको कहॉ हो र !
    माता पिता भएपछि सन्तान सम्झनुपर्छ।

    मुक्तक ८
    मर्ने अनेकौं बहाना हुन सक्छन्, जिउने अनेक बहाना हुन सक्छन्
    बिरूद्धमा कसै कसैको पूरापूर यो संसार, यो जमाना हुन सक्छन्
    यौटै धर्तीमा कतै रात परिरहँदा कतै दिनको उज्यालो हुन्छ भने
    बस्, जीवन नबुझ्नेले खोज्नुपर्छ, रमाउने अनेकौं ठेगाना हुन सक्छन्।

    मुक्तक ९
    देशभित्रै रही भ्रष्ट बन्दै नबन्ने सोंच कस कसमा बदलियो ?
    बदलियो, कुष्ट कमाऊ र राजनीति गर भन्ने सोंच हर जसमा बदलियो
    आमूल परिवर्तनको आशमा रहेका जनता के भन्छन् भने
    बदलियो त कुर्सीमा बसेपछि, मात्र ऑखा अघिको चस्मा बदलियो।

    मुक्तक १०
    तिम्लाई मुटु दिएर त बॉचिरहेछु अहिलेसम्म
    तिमीलाई सम्झिएर त बॉचिरहेछु अहिलेसम्म
    अन्तिम भेटमा पानी पानी बनाएर गएदेखि
    पानी मात्र पिएर त बॉचिरहेछु अहिलेसम्म।

    आनन्द श्रेष्ठ
    काठमाण्डौं, सामाखुशी-२६
    हाल : न्यूयोर्क

  • अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन

    अब फेरी एकपटक कीर्तिपुर हाकुपटासीमा चिनियुन

    प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’

    कीर्तिपुरको चिलम्हो विहारमा एक जोडी आए । महिला मिसालं र हाकुपटासीमा गुटमुटिइन भने पुरुष तपालं र सुरुवालमा । केटोले बाँसुरी फुके भने केटीचाँहि राधिका बनेर फुर्किइन । कीर्तिपुरको माटोको त्यो एक टुक्रा, एकक्षणको लागि बृन्दावन भयो । त्यो रमाइलोलाई क्यामरामा कैद गरी सामाजिक सञ्जालमा हालेर छुट्टै मजा लिइरहेका छन् यहाँका युवाहरु । वडा नं १० को सहयोगमा ‘सृजनशील महिला समूहले’ व्यवस्थित गरेको हाकुपटासी, तपालं, मिसालँ र सुरुवाल लगाउन आज कैयन मानिसहरु ओइरिएका छन् । नेवार पोशाकको महत्व, पोशाकमै गुटुमुटिँदा मात्र बोध हुन्छ । कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती रिजाल ‘खडका’ पनि हाकुपटासीमा गुटमुटिन् र प्रतिक्रिया दिइन–हाकुपटासी लगाउनुको आनन्दै बेग्लै !
    सुनेको छु,
    नारायण गोपालको एक गीत छ
    ‘तान चलाउनु चर्खा काटनु’
    सबैलाई स्वाभिमान सिकाउने यो गीत श्यामदास बैष्णवले कीर्तिपुर आउँदा, कीर्तिपुरको श्रमजिवी तस्वीर हेरी लेखेको थियो रे ! उहिलेको कीर्तिपुर र तान पर्याय जस्तो थियो । हाकुपटासी तानमै बुनिन्थ्यो । कीर्तिपुरबाट कैयन कपडा बाहिर जान्थ्यो । देशका कैयन महिलाहरु कीर्तिपुरले बुनेका पोशाक लगाउँथे । कीर्तिपुर पोशाकको लागि निकै लोकप्रिय थियो । कीर्तिपुरको कपडाको आफ्नै पहिचान थियो ।
    हाकुपटासी कीर्तिपुरको सान हो । केही दशकअघिसम्म कीर्तिपुरमा महिलाहरु चाडपर्वमा हाकुपटासीमै सजिएर पुजापाठमा हिँडेको देखिन्थ्यो । कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीको लागि पनि हाकुपटासी विशेष मनप्रिय पोशाक थियो । हाकुपटासीमा कालो रंगमा रातो रंगको घेरा लगाएको हुन्छ । यो रंग संयोजनको आफ्नै संदेश छ । जो कोही महिला पनि हाकुपटासीमा सजिँदा बिछट्टै सुन्दर देखिन्छिन् । यो यस पोशाकको विशेषता हो । नेवार महिलाको यो परम्परागत पोशाकले कुर्कुच्चा भने छोपिँदैन । महिलाले कुर्कुृृच्चा छोप्नैपर्छ भन्ने उहिलेको कट्टर समयमा नेवार महिलाहरुको कुर्कुच्चा भने खुला हुन्थ्यो । यसले नेवार शम्यता त्यो बेला नै कति आधुनिक र महिलाप्रति उदारवादी थियो भने देखाउँछ । विवाहको समयमा पनि ससुरोले छोरोलाई दुलही हेर्न जाँदा, लाज मानेर पुरै मुख पछयौरीले छोपी आउने बुहारीको कुर्कच्चा हेरी ‘ल तेरी श्रीमती गोरी छे, कुर्कुच्चा गोरो छ’ भनेर घरमा छोरोलाई सुनाउने गथ्र्यो रे ! हाकुपटासीमा देखिने महिलाको कुर्कुच्चा धेरै कुराहरुको विम्व हो, नेवार महिलाको ।
    नेपालको प्रायजसो शहरको आआफ्नो पहिचान छ । भोजपुर खुकुरीको लागि प्रचलित भए जस्तो, एकताका कीर्तिपुर कपडाको शहरको रुपमा चिनिन्थ्यो । विस्तारै त्यो पहिचानमा खिया लाग्दै गयो । साँझपख संगीतमय आवाजमा सुनिने तानको ‘ताकतुक’ आवाज पनि सुन्य भयो । कपडाकै शहरको रुपले चिनिएको कीर्तिपुरले हाकुपटासीसम्म भक्तपुरबाट आयात गर्नुपर्ने अवस्था आयो । तान नै लोप भइसकेको अवस्थामा कीर्तिपुर नगरपालिकाका सम्पदाप्रेमी मेयर रमेश महर्जनले फेरि कीर्तिपुरमा तान ब्युँझाउने प्रयत्न गर्नु भएको छ । तीन दशकपछि कीर्तिपुरमा फेरि तानले गुनगुनाएर ‘तान’ लिने भएको छ । यसको लागि कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा, वडा नं २ को पहलमा कीर्तिपुरका महिला समूहबाट प्रतिनिधित्व गर्ने, धेरै महिलालाई तालिमको सुरुवात गरिसकेको छ । विशेषतः अधवैंशे युवतीहरु आकर्षित हुने तानबुनाइले, शारीरिक श्रमको काम पनि गर्न नसक्ने र बृद्धभता पनि उमेरको कमिले नपाइरहेका महिलाहरुलाई आर्थिक लाभ हुने मेयर साहेवको भनाइ छ । यो सीपले परम्परागत पेशाको मात्र जर्गेना नभई, छोराबुहारीमा हात थाप्नुपर्ने अवस्थामा कमि आउँछ ।
    तानमा हामी धेरैको स्मृति पनि गुटमुटिएर बसेको छ । तान चलाउँदै गरेकी आमाको काखमा हामी गएर बसेका छौँ । तानबाट निस्किने मीठो धुनले हाम्रो बाल्यकाल निकै संगीतमय बनाएको थियो । तानमा खेल्ने आमाका श्रमजिवी हातहरुले हामीलाई विश्वविद्यालयले दिन नसक्ने, श्रमको पाठ सिकाइदिएको छ । कपडामा बुन्ने धागोले जीवनको एकलयताको पाठ सिकाएको छ । विकाससँगसँगै शभ्यतालाई उत्खनन गर्नु विकासको सुगन्ध हो, मीठास हो । यस्को लागि हामी सबैले सम्पदा र संस्कृतिप्रेमी मेयर साहेवलाई हार्दिक धन्यवाद दिनैपर्छ ।
    यो वाहेक, कीर्तिपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएसँगै महिला समूहहरु निकै जुरमुराए । एक्लाएक्लै भएका महिलाहरु संगठित भए । कीर्तिपुर नगरपालिकाले पनि तालिम दिँदै महिलालाई स्वरोजगार बनाउँदै गए । कीर्तिपुरमा आज महिलाहरु कोही बेकरी तालिम लिएर केक बनाउँदै गरेको देखिन्छ भने कोही अचार तालिम लिएर अचार ।
    साबुन पनि समूहले नै बनाउँदै गरेको देखिन्छ भने प्लाष्टिकको गिलास पनि । मरमसला त आज वडा वडामा उत्पादन हुन्छ । बाहिरबाट आयात गर्नुपर्ने अवस्था लगभग नियन्त्रित भइसकेको छ । आज कीर्तिपुरमा श्रमजिवी कोही महिलाको हात खालि बस्नु परेको छैन ।
    सयौं तालिमको क्रममा तानबुनाइ र सिकाइसम्म पुग्दा, लाग्न थालेको छ कि, अव फेरि एकपटक कीर्तिपुर कपडाको शहरको रुपमा चिनिनेछ । यहाँका महिलाहरु विशेष चाडपर्वमा हाकुपटासीमा गुटमुटिनेछन् र सांकेतिक आवाजमा बोल्नेछन् कि हाकुपटासी हाम्रो समूदायको हो, हाम्रो हो । नेपालको झण्डा सिम्रिक रंगमा नीलो घेराले चिनिए जस्तो, कीर्तिपुर हाकुपटासीको कालो रंगमा रातो घेराले चिनिनेछ । तान गुनगुनाउनेछन् भने साँझपख आमाका चुराहरु खित्खिताउनेछन् । युगानुसारको विकासलाई काँधमा बोकेर इतिहास दोहरिनेछ ।

  • ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

    ज्ञान सनातन : पार्वणश्राद्ध के हो ?

    सुरेशराज पौडेल
    उप्रा वाल्मीकि विद्यापीठ

    सनातन वैदिक धर्म प्राचीन ऋषिमहर्षिद्वारा संस्कार गरिएको उत्कृष्ट धर्म हो । मानिस जन्मेपछि मर्दछ । जीवन रहेसम्म राम्रा काम गरेमा पूण्य र नराम्रो गरे पाप भोग्नुपर्दछ भन्ने पुराण र स्मृतिहरूमा उल्लेख पाइन्छ । मानिस जन्मँदा होस् या मर्दा विधिपूर्वक संस्कार गरिन्छ । असल संस्कार गरेर मात्र मनिस सुसंस्कृत हुने गर्दछ जुन कुरा आजीवन उसमा रहनुपर्छ ।
    मानिस मरेपछि पनि और्ध्वदेहिक क्रिया (दहनदेखि सपिण्डीकरण) तेह्रौं दिनमा उत्तरपाथेय श्राद्ध सम्पन्न भएपछि वर्षदिनसम्मका मासिक श्राद्धहरू गरेर वर्ष दिनको वार्षिक श्राद्ध पूरा भएपछि पूर्णरूपमा प्रेतत्त्व निवृत्त भई मृतकले पितृलोकको यात्रा गर्दछ र आफ्ना पूर्व पितृहरूसँग गएर बस्न पाउँछ त्यसरी पितृपद प्राप्त गरेका पितृहरूले मात्र कर्ताले प्रदान गरेका कव्यवस्तुको भोग गर्न पाउँछ्न् र त्यही परम्परामा प्रत्येक मरेतिथिमा (क्षयाह) र पर्वमा श्राद्ध गरेर दिवंगत पितृहरूलाई खुसी पारिन्छ ।

    श्राद्ध के हो ?

    आफ्ना दिवंगत पितृहरूको सम्झनामा श्रद्धापूर्वक अन्न, जल, फूल, वस्त्रलगायतका विशिष्ट वस्तुहरू उचित समयमा सत्पात्रमा प्रदान गर्नु नै श्राद्ध हो । जसमा संस्कार गरिएका शुद्ध सात्त्विक व्यञ्जन, पक्वान्न, दूध, दही, घ्यु, फलफूल आदि वस्तुहरू पितृहरूको सम्झना गर्दै ब्राह्मणलाई दान गरिन्छ ।
    संस्कृतव्यञ्जनाद्यं च पयोदधिघृतान्वितम् ।श्रद्धया दीयते यस्मात् श्राद्धं तेन प्रकीर्तितम् ।।

    महामहोपाध्याय श्रीरुद्रधर पण्डितका अनुसार वेदोक्त मन्त्रद्वारा पात्रालम्भनपूर्वक ( तयार पारिएका विविध खाद्यपदार्थलाई छोएर )
    पित्रादि देवताहरूको उद्देश्यका लागि द्रव्यत्याग विशेष कर्म नै श्राद्ध हो ।

    श्राद्धं नाम वेदबोधितपात्रालम्भनपूर्वकप्रमीतपित्रादि उद्देश्यको द्रव्यत्यागविशेष : इति। (श्राद्धविवेक)

    पार्वणश्राद्ध

    पर्वणि यत् क्रियते तत् पार्वणम् अर्थात् औँसी वा पर्वको दिनमा गरिने श्राद्ध जसमा पिता, पितामह, प्रपितामह तथा मातामह, प्रमातामह,बृद्धप्रमातामह सपत्निकलाई पिण्ड दिइन्छ । यसमा पर्व भनेर चतुर्दशी, अष्टमी,औँसी र पूर्णिमा वा संक्रान्तिलाई लिइएको छ । महालय श्राद्धका छ वटा भेद रहेका छन् । तिथिनिर्णयअनुसार आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म १६ दिन गरिने, आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ दिन गरिने,पञ्चमी देखि चतुर्दशीलाई छोडेर औंसीसम्म दस दिन गरिने, अष्टमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म सात दिन गरिने, दशमीदेखि चतुर्दशीलाई छोडेर औंसीसम्म पाँचदिन गरिने, चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिका दिन गरिने गरी महालय श्राद्धका छ भेद बताइएको पाइन्छ । त्यसैगरी एकपार्वणक, द्विपार्वणक र त्रिपार्वणक गरी पार्वणश्राद्धका अन्य तीन भेदको पनि उल्लेख गरिएको छ । पितृहरूको मरण तिथिमा गरिने प्रतिसांवत्सरिक एकपार्वण, औँसी आदि ९६ श्राद्ध र नित्य श्राद्धहरू महालय अन्वष्टभिन्न श्राद्धहरू द्विपार्वणक, यिनीहरूमा सपत्निक पित्रादि तीनपुस्ता र सपत्निक मतामहादि तीनपुस्तासहित अन्वष्टका त्रिपार्णणक श्राद्ध हुन्छन्।

    यावच्च कन्यातुलयोःक्रमादास्ते दिवाकरः।
    शून्यं प्रेतपुरं तावत् वृश्चिकं यावदागतः।।(नि.सि.तृ. प.)

    कन्या र तुला राशिमा सूर्य रहेको महालयमा सम्पूर्ण पितृहरू कर्ताका पितालाई अघि लगाई पितृलोक नै शून्य पारी आ आफ्ना तिथिका दिन सन्ततिहरूले पिण्डपानी दिन्छ्न् भनी बडो खुसी र उल्लाससाथ सन्ततिहरू बसेका घरवरपर तर्पण र पिण्डको आश गरेर घुमिरहन्छन् जब दुई दिनअगाडि कर्ताले पवित्र भएर ब्राह्मण निमन्त्रणा गर्दछ तिनै ब्राह्मणका शरीरमा प्रवेश गरी पितृहरू श्राद्धभूमिमा पुगी कर्ताले दिएको तर्पणको जल र पिण्ड प्राप्त गरेर तृप्त हुन्छ्न् र आशीर्वाद दिएर विदा हुन्छ्न् ।

    आयु : प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
    प्रयच्छ्न्तु तथा राज्यं पितर: श्राद्धतर्पिता: ।।( मार्कण्डेयपुराण)

    अर्थात् पितृहरू तृप्त भई खुसी भए भने आयु , असल सन्तान, ऐश्वर्य, विद्या, स्वर्ग , मोक्ष , सुख , र उचित भूमि प्रदान गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ ।
    पर्व श्राद्ध अर्थात् पार्वण (सोह्र श्राद्ध, महालय श्राद्ध) श्राद्धमा विश्वेदेवको महत्वपूर्ण स्थान छ । दक्षकी पुत्री विश्वाका गर्भबाट उत्पन्न दश देवताको एक गण नै विश्वेदेवहरू हुन् । भिन्न भिन्न श्राद्धमा यिनको भिन्न भिन्न नामले पूजा हुन्छ ।

    पुरुरवाद्रवौ चैव पार्वणे समुदाहृतौ । (निर्णयसिन्धु) पार्वणश्राद्धमा पुरुरव र आद्रव नाम गरेका विश्वेदेवको पूजा गरिन्छ । वसु,रुद्र र आदित्य पितृश्राद्धका देवता हुन् (वसुरुद्रादितिसुता पितरः श्राद्धदेवताः) भनी याज्ञवल्क्यस्मृतिमा उल्लेख गरिएको छ ।

    चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा लोकप्रचलनको भाषामा सोह्र श्राद्ध भनिन्छ। किनभने एक पक्षमा १५ तिथि हुने भए पनि तिथिको घडीपला घटबढ हँदा भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिको समूहलाई महालय भनिन्छ । यही महालयमा गरिने श्राद्ध भएकाले यस श्राद्धलाई महालय श्राद्ध र बोलचालको भाषामा सोह्र श्राद्ध भनिएको हो। विशेषत: कन्यायां अर्क:, कन्या राशिमा (आश्विन महिनामा सूर्य प्रवेश गरेको) सूर्य संक्रमण भएको आश्विन कृष्ण पक्षमा गरिने श्राद्ध नै महालय श्राद्ध हो ।कन्या राशिले युक्त पक्ष अत्यन्त पूण्य मानिएको छ । य कन्यकान्वित पक्ष सोत्यन्तं पूण्यमुच्यते । । आफ्ना पितादेखि माथिका तीन पुरुष अर्थात् पितृ, पितामह, प्रपितामह (बुवा, हजुरबुवा बुढाहजुरबुवा ) र मावलीतर्फका मातामह , प्रमातामह र वृद्धप्रमातामह (हजुरबुवा बुढाहजुरबुवा र जिजुबुवा ) को उदेश्य गरेर गरिने श्राद्ध पार्वण श्राद्ध हो । (त्रिपुरुषोद्देशेन यत्कृयते तत्पार्वणम्)
    त्रीनुद्दिश्य तु यत्तद्धि पार्वणं मुनयी विदु : । (कालमाधवीय शातातपको वचन)
    यसैगरी देवतालाई स्वाहापूर्वक वस्तु अर्पण गरिन्छ भने पितृलाई स्वधाको वचन प्रयोग गरिन्छ । यसैगरी देवकार्यमा भावको प्रधानता हुन्छ भने पितृकार्यमा वचनको प्रधानता रहने गर्दछ । त्यसैले पितृकार्यका निम्ति वचनमा विशेष ख्याल राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

    अक्ष्ययासनयोः षष्ठी द्वितीयावाहने तथा ।
    अन्नदाने चतुर्थी स्यात् शेषा सम्बुद्धयस्मृता ।।

    अर्थात् पितृलाई अक्षयोदक र आसन प्रदान गर्दा षष्ठी विभक्तिको प्रयोग गर्नु पर्दछ । यसैगरी पितृलाई आवाहन गर्दा द्वितीया विभक्तिको प्रयोग गर्नुपर्दछ । अन्नदान अर्थात् सिदा दान गर्दा चतुर्थी विभक्तिको प्रयोग गरिन्छ भने अन्य कार्यमा सम्बोधनको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ ।

    श्राद्धाधिकारी

    जुन व्यक्तिको मरण हुन्छ उसका मरणपछिका प्रत्येक एकोदिष्ट र पार्वणश्राद्ध औरस ( सवर्ण विवाहित स्त्रीको पुत्र) पुत्रले सत्कार र समन्त्रक गर्नुपर्दछ ।
    मातु : पितु : प्रकुर्वीत संस्थितस्यौरस : सुत : (नि.सि.तृ.प. पृ.५७० )पुत्रेषु विद्यमानेषु नान्यं वै कारयेत् स्वधाम् । (धर्मसिन्धु तृ.प.उ.) औरसपुत्रका अभावमा, नाति,पनाति,पुत्रिकापुत्र(छोरीको छोरो) पत्नी, दाजुभाइ, भतिज, पिता, माता, बुहारी, बहिनी, भान्जा, सपिण्ड दाजुभाइ, सगोत्र दाजुभाइ,समानोदक दाजुभाइ,सवर्ण सगोत्रमध्ये पहिलाका अभावमा क्रमशः पछिपछिका कर्तालाई श्राद्ध गर्ने अधिकार हुन्छ भनिएको छ ।

    श्राद्धकर्ता र ब्राह्मण

    अक्रोधनै: शौचपरै: सततं ब्रह्मवादिभि: ।
    भवितव्यं भवद्भिश्च मया मया च श्राद्धकर्मभिः

    कुनै पनि देव र पितृकार्यमा धार्मिक नियम र अनुशासनको पालना मुख्य मानिन्छ । आचारमा रहेर गरिएको कार्य सफल पनि हुन्छ श्राद्धमा पनि नियमको महत्त्वपूर्ण भूमिका रहन्छ ।श्राद्ध कर्ता आफ्ना पितृको श्राद्धभन्दा अगिल्लो दिन नङ् कपालदारी काटेर स्नान गरेर एकभक्त बस्नुपर्दछ ।भूमिमा सुत्नु , सत्य बोल्नु अभक्ष वस्तु भक्षण नगर्नु , तेल नघस्नु , र शौचाचारमारमा रहनु, क्रोध नगर्नु ब्रह्मवादी बन्नु, ब्रह्मचर्यमा रहनुपर्दछ । कुन उपायले पितृहरूलाई तृप्त पार्न सकिन्छ भनेर चिन्तन गर्नुपर्दछ । श्राद्धमा कस्ता ब्राह्मण पुज्ने वा कस्ता ब्राह्मणलाई दान दिने भन्ने कुरा पनि बुझ्न जरुरी छ । शास्त्रमा विशिष्ट गुण भएका ब्राह्मणहरू श्राद्धमा बोलाई श्राद्ध गराउनुपर्ने र दान गर्नुपर्ने उल्लेख छ।

    अग्र्य : सर्वेषु वेदेषु श्रोत्रियो ब्रह्मविद्युवा
    वेदार्थविज्ज्येष्टसामा त्रिमधुस्त्रिसुपर्णक : ।।
    स्वस्रीयऋत्विग्जामातातृयाज्यश्वशुरमातुला :
    त्रिणाचिकेतदौहित्रशिष्यसंबन्धिबान्धवा : ।।
    कर्मनिष्ठास्तपोनिष्ठा : पञ्चाग्निर्ब्रह्मचारिण :
    पितृमातृपराश्चैव ब्राह्मणा : श्राद्धसंपद : ।। (याज्ञवल्क्यस्मृति : आचाराध्याय२१९- २२१

    श्राद्धकाल

    मानव जीवनमा समयको महत्त्वपूर्ण भूमिका छ ।गर्भाधानदेखि अन्त्य क्रियासम्मका हाम्रा हरेक कर्महरूमा आ-आफ्नो महत्त्व रहन्छ ।कुनै पनि कार्य गर्दा समयको सुक्ष्मदेखि स्थुल अवस्थाको ख्याल गरेर गरिएको कर्मले नै सार्थकता दिन्छ । हाम्रा ऋषिमहर्षिहरूले शास्त्रमा श्राद्ध गर्ने कालको उचित किसिमले वर्णन गरेका छन् । त्यसैले कुन श्राद्ध कुन समयमा गर्ने भन्ने कुरा स्मृतिहरूमा स्पष्ट उल्लेख पाइन्छ ।
    आमश्राद्ध र वृद्धिश्राद्ध पूर्वाह्ण वा प्रात : कालमा , एकोदिष्ट र सपिण्डीकरण श्राद्ध मध्याह्न कालमा अनि पार्वणश्राद्ध (सोह्र श्राद्ध) अपराह्ण कालमा गर्नुपर्ने कुरा शास्त्रीय मान्यता छ । त्यसैले एकोदिष्ट मध्याह्नमा गर्नुपर्ने र पार्वण अपराह्णमा नै गर्नुपर्ने देखिन्छ । आमश्राद्धं तु पूर्वाह्ने एकोदिष्टं तु मध्यत : ।
    पार्वणं चापराह्ने तु प्रातर्वृद्धिनिमित्तकम् । (हारित )
    पूर्वाह्ने मातृकं श्राद्धमपराह्ने तु पैतृकम् ।
    एकोदिष्टं तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।( कात्यायन परिशिष्ट )
    महालयश्राद्धस्य षोडशदिन करणासंभवे कार्तिकदर्शे कार्यम् ।( प्रयोगपारिजात )
    तत्राप्यसंभवे वृश्चिकसंक्रान्ते : प्रागेव कर्तव्यम् । (प्रमाणभाष्कर )
    आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न सकिएन भने गाईतिहारे औंसीमा पितृश्राद्ध गर्ने विधान रहेको पाइन्छ । यदि यो समयमा पनि अबरुद्ध भएमा मङ्सिर संक्रान्तिसम्ममा तिथि र योग जुराएर गर्नुपर्दछ ।

    निष्कर्ष;

    त्यसैले देवता दिन्छन् पितृ हर्छन् भन्ने हाम्रो समाजमा प्रचलित भनाइ पनि छ । तसर्थ आफ्नो क्षमताअनुसार आफ्ना दिवंगत पितृहरूलाई खुसी पार्नु प्रत्येक सन्ततिहरूको परम कर्तव्य हो । आफ्ना पूर्वजहरूको योगदानको सम्झना गर्दै र हामीलाई सत्कर्मपथमा हिँडाउन प्रत्यक्ष र परोक्ष रूपमा गरेको सत्प्रेरणाको सम्मान गर्दै यथा काल, वस्तु, मनवचन र कर्मले श्रद्धापूर्वक पार्वणश्राद्ध अवश्य गर्नुपर्दछ । “श्रद्धया दीयते यत् तच्छ्राद्धम्” विना श्रद्धा श्राद्ध हुँदैन ।श्रद्धा नराखी गरिएको कर्मको कुनै फल हुँदैन ।

  • न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

    न्यूह्यामसायर खुला टेनिसको उपाधि हुमागाईँ र गुरुङ द्वयलाई

    म्यानचेस्टर

    न्यूह्यामसायर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता (सिंगल्स)को उपाधि किरण हुमागाईँले जितेका छन् । आइतबार राज्यको म्यानचेस्टर स्थित वाटरफोर्ड टेनिस कोर्टमा सम्पन्न फाइनलमा ओम बस्नेतलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गर्दै हुमागाईँले उपाधि हात पारेका हुन् ।

    यस्तै डबल्स तर्फको उपाधि गोविन्द गुरुङ र दिनेश गुरुङले जितेका छन् । मनिष हुमागाईँ र ओम बस्नेतको जोडीलाई ६–३ र ६–४ को सेटमा हराउँदै उनीहरु विजयी भएका हुन् । विजेता खेलाडीहरुलाई फाइनल खेलपछि आयोजित समारोहमा समाजकी अध्यक्ष शान्ता विष्टले ट्रफी हस्तान्तरण गरिन् ।

    कार्यक्रममा न्यूह्यामसायरको नेपाली समुदायमा टेनिस प्रवर्धनका लागि निरन्तर योगदान गर्ने रोविन थापा, किरण हुमागाईँ एवं वीर शाहलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । भुटानका पूर्व राष्ट्रिय टेनिस च्याम्पियन हुमागाईँ पछिल्लो दुई दशक देखि न्यूह्यामसायरमा बसेर नयाँ पुस्तालाई टेनिस सिकाउन सकृय छन् । उनकै प्रेरणामा टेनिस खेल्न थालेको तन्नेरी नेपाली पुस्ताले आज राज्य स्तरमा आयोजना हुने अन्य प्रतियोजितामा समेत प्रभाव छोड्न थालेको छ । न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका थापा नेपाली समुदायमा सबैजसो खेलकुद प्रवर्धनका लागि अघि सर्दै आएका छन् । यस्तै शाह पनि खेलकुदप्रति झुकाव राख्ने पुस्तालाई सहयोग गर्न हमेसा तप्पर रहन्छन् ।

    कार्यक्रममा प्रतियोगिता संयोजक एवं न्यूह्यामसायर नेपाली समाजका महासचिव माधव गुरुङले टेनिस प्रति बढ्दो लोकप्रियतालाई मलजल गर्न युवा पुस्ता तयार भइ सकेको बताए । समाजकी अध्यक्ष विष्टले खेलको माध्यमबाट भइ रहेको भाइचारा अभिवृद्धि आफूहरुको मुख्य पूँजी रहेको बताइन् । साथै पछिल्लो समय राज्यमा बसोबास गर्ने नेपाली महिलाहरुमा समेत टेनिस सिक्ने जाँगर बढेको भन्दै यो खेल समाजको सबै तप्कालाई जोड्ने सेतुको रुपमा विकास भइ रहेको उनको भनाइ थियो । समाजले बर्षेनी टेनिस प्रतियोगिता आयोजना गर्दै आएको छ । एक सातासम्म चलेको यस पटकको प्रतियोगितामा सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ सात जोडी प्रतियोगी सहभागी थिए ।

  • नुभिवको न्यायको लागि दीप प्रज्वलन

    नुभिवको न्यायको लागि दीप प्रज्वलन

    काठमाडौं

    पोखरामा हत्या गरिएका युवा १८ बर्षीय नुभिव उप्रेतीको हत्या प्रकरणका बारेमा माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन तथा दिप प्रज्वलन गरिएको छ । गत २०७८ बैशाख ४ गते नुभिवको सब बिहान ६:४५ मा पोखरास्थित ताल वाराही मन्दिरअगाडि तैरिरहेको अवस्थामा फेला परेको भनि मृतककी आमा भिमा मैनाली उप्रेतीलाई करिव ७ बजे पोखरा प्रहरीले फोन मार्फत जानकारी गरेका थिए
    । रातिसम्म घर नआएपछि यसरी कहिल्यै बिना खवर घर बाहिर नगएकाले परिवारले जावलाखेल प्रहरी मार्फत हुलिया टिपाई उनी हराएको जानकारी गराएका थिए । निकै ठूलो सम्भावना बोकेका बिभिन्न टेलिचलचित्रमा बाल कलाकारका रुपमा समेत अब्बल भुमिका निर्वाह गरेका तथा गायन, लेखन र बाध्यबाधनमा निकै राम्रो दख्खल भएका नुभिव बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए । ऊनले भुकम्पका समयमा समेत युवाहरुका लागि सचेतना मुलक काममा सक्रिय रही हालको कोभिड १९ को माहामारीमा पनि आफू जस्तै युवाहरुका लागि आवाज दिदै आएका थिए ।


    रेडीयो, टेलिकाष्ट र गित संगितबाट आवाज दिने तथा योग ध्यानका कक्षा संचालन गर्दै आएका ऊनले आरम्भ नेपाल तथा युवा जस्ता सामाजिक संस्था मार्फत आफूजस्ता युवालाई सचेत गराऊन सक्रिय थिए । सानो उमेरमा समाजिकीकरण भै सकेका सक्रिय एक युवक यसरी उदाऊनै नपाई रहस्यमय तरिकाले हत्या हुनुले सतमाजमा मानवता हराएको हो त ? भन्ने आशंका पलाएको छ ।

    पहिले प्रहरीले अत्महत्या भनी लुकाएको यो घटनामा हाल पोखराको लेकसाइर्डस्थित सडकहरुमा पटक पटक दागाँधर्दै लखेटी लखेटी मरन्नासन्न गरी कुटेको सि.सि. टी.भी. फुटेज प्रहरीले अनुसन्धानको क्रममा पुनर जाहेरी पश्चात् प्रहरीले भेटेपछि हाल घटनामा संलग्न ३ जनालाई पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले थुनामा राखेको छ तर सि.सि.टि.भि.मै देखिएका अन्य शंकास्पद् व्यक्तिलाई खोज्न तथा तथा मृतकको लास जाचँ मुचुल्का गरीसकेपछि पनि मृतकको फोनबाट फोन गर्ने व्यक्ति र ऊनले प्रयोग गरेको फोन सेट तथा ऊनले बिल तिरेको पोखरास्थित ट्रेजर लाउन्ज सि.सि.टि.भि.फुटेज लुकाईनु तथा लेकसाईड स्थित मृतक संलग्न बिभिन्न ठाऊँमा सि.सि.टि.भि. जडान भएका ठाँऊबाट स्पष्ट रुपमा प्रहरी समेत प्रत्यक्षदर्शी हुदा हुदै एक भविष्यका कर्णधार,एक कुशल युवा कलाकारको रहस्यमय हत्या भएकाले सोह्र श्राद्धको पञ्चमी तिथि पारी कलाकार संघका अध्यक्ष श्री रविन्द्र खड्का, उपाध्यक्ष श्री मोहन निरौला, कलाकार तथा समाजसेवी विश्व वस्नेत, कलाकार अभय बराल, ममता, लेखक कलाकार जयाँ ओझा, भक्त पोखरेल,रुपेन्द्र शिवाकोटी,यादव अधिकारी समाजसेवी गोमा खनाल तथा समाजसेवी तथा चलचित्रकर्मी सरिता राजोपाध्याय, शिक्षकहरु,पत्रकारहरु, व्यवसायी, मृतकका परिवारहरु, साथीहरु तथा बिभिन्न पेशा व्यवसायीहरुको सक्रियतामा शान्तिपूर्ण आन्दोलन तथा मृतकको आत्माको चीर शान्तिका लागि दीप प्रज्वलन गरिएको थियो ।

  • नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

    नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

    सुपेन्द्र बस्नेत, बोष्टन

    संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने उद्देश्यले सेप्टेम्बर २५ र २६ तारिखका दिन आयोजना गरेको दुई दिने घुम्ती कन्सुलर शिविर सम्पन्न गरेको हो।

    कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो । आफ्ना सेवाग्राहीहरुलाई राजदूतावासको कन्सुलर सेवाहरु हरसम्भव सहज रुपमा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको ‘घुम्ति कन्सुलर शिविर सेवा’ निकै प्रभावकारी भएको उहाँको ठम्याइ छ। ‘घुम्ति कन्सुलर शिविर निकै प्रभावकारी भएको पाँए। यस्ता सेवाहरुको संख्या बढाएर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने महसुस भएको छ ।’

    सिमित साधन र श्रोतका कारण यस्ता सेवाहरु प्राथमिकतामा रहदा रहदै पनि पर्याप्त संख्यामा सञ्चालन गर्न नसकिएको तथ्य स्विकार गर्दै खतिवडाले भन्नु भयो ‘ भविष्यमा वर्षमा सके दुई पटक, नसके कम्तिमा एक पटक भएपनि, यस्तो कार्यक्रम प्राथमिकताका साथ आयोजना गर्न राजदूतावासले हरसम्मभव प्रयास गर्ने छ ।’ स्थानीय आयोजक संस्थाहरु बीचको सहकार्य र महत्वपूर्ण भूमिकाका कारण राजदूतावासको कार्यक्रम सफलताका साथ सम्पन्न गरी गर्व गर्न पाएकोमा सहयोगी स्थानीय आयोजक संस्थाहरुप्रति खतिवडाले आभार प्रकट गर्नु भयो। उहाँले भन्नु भयो ‘हामीलाई निकै गर्व लागेको छ। यहाँहरुले देखाउनु भएको एकता, सहकार्य र समाजसेवी भावनाले थप उत्प्रेरित र उत्साहित बनाएको छ।”
    आयोजकले दिएको जानकारी अनुसार दुई दिने घुम्ति शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने दुई सय भन्दा बढी सेवाग्राहीहरु लाभान्वित भएका छन्।


    शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document) र पर्यटक भिषा (Tourist Visa) सेवाहरु प्रदान गरिएको नियोग उपप्रमुख कुमारराज खरेलले जानकारी दिनु भयो। कोरोना कहरको अवस्था सुधार भए पश्चात् विभिन्न राज्यहरुमा सात वटा घुम्ति शिविर सम्पन्न गरिसकिएको र बोष्टनमा सम्पन्न भएको आठौं घुम्ती शिविर पनि सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले खुशी व्यक्त गर्नु भयो। स्थानीय आयोजक संस्थाहरुको सक्रिय भूमिकाका कारण सोचे भन्दा बढी सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै खरेलले भन्नु भयो ‘सोचे भन्दा बढी सेवाग्राहीहरुलाई सक्दो गुणस्तरी सेवाहरु प्रदान गर्न सकेकोमा हामी सारै खुशी छौं। महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानीय आयोजक संस्थाहरुलाई धन्यवाद छ ।’
    घुम्ती शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुको प्रवाह हेर्दा लक्षित समुदायहरु सेवा लिन निकै लालायित भएको देखिन्थ्यो। सेवा लिने सेवाग्राहीहरुको घुइचोले, दुई दिने शिविर अपर्याप्त रहेको पुष्टि गरेको थियो। प्राविधिक सेवामा केही समस्याहरु भोग्नु परेको बाहेक समग्रमा घुम्ती सेवा फलदायी र प्रभावकारी रहेको सेवाग्राहीहरुले प्रतिक्रिया दिएका थिए। म्याद गुज्रिएको आफ्नो पासपोर्ट नविकरणका लागि छोरीसंग शिविरमा आउनु भएकी ५५ वर्षिया लक्ष्मी भट्टराईले सहज, छिटो र छरितो सेवा प्राप्त गर्न पाएकोमा निकै खुशी व्यक्त गर्नु भयो। भट्टराईकी ३५ वर्षिया छोरी नितु गौतमले पनि केही प्राविधिक समस्याहरु बाहेक समग्रमा सेवा प्रसंशनीय रहेको प्रतिक्रिया दिनु भयो। अधिकृत वारेसनामा बनाउन आउनु भएका भाष्कर ज्ञवालीले पनि शिविरमा प्रदान गरिएका सेवाहरु गुणस्तरीय नै रहेको जिकिर थियो। आफ्नी छोरीको पासपोर्ट बनाउन आउनु भएकी लक्ष्मी लम्सालको प्रतिक्रिया पनि उस्तै थियो ।अक्टोबरको पहिलो साता सपरिवार नेपाल जाने तयारी गर्दै गर्नु भएका हरि पौडेलले पनि सेवा गुणस्तरीय नै प्राप्त गरेको भन्दै स्थानीय आयोजक संस्थाहरु र राजदूतावासको खुलेरै प्रशंसा गर्नु भयो ।


    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएकोमा आयोजक संस्था एनआरएनए म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले खुशी व्यक्त गर्नु भएको छ। प्राथमिकता दिएर कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुने राजदूत युवराज खतिवडा र स्थानीय स्तरमै आएर नेपाली समुदायलाई आफ्ना अमुल्य सेवाहरु सहज रुपमा प्रदान गरिदिने राजदूतावासका कर्मचारीहरुप्रति तामाङले आभार प्रकट गर्नु भयो। ‘प्राथमिकताका साथ अमुल्य समय दिएर कार्यक्रममा सहभागी भइदिनु हुने राजदूत ज्यू र अहोरात्र खटेर सामुदायलाई गुणस्तरीय सेवा प्रदान गर्नु हुने राजदूतावासका कर्मचारीहरुप्रति आभार प्रकट गर्दछु।’ तामाङले भन्नु भयो,’कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रतक्ष्य अमुल्य सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्णलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गर्दछु।’
    यसैबिच, घुम्ती शिविर सोचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले पनि प्रतिक्रिया दिनु भएको छ।
    ‘कार्यक्रम सोचे भन्दा बढी सफल भएको मेरो बुझाइ छ।हरसम्भव सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने हाम्रो प्रयास रह्यो।’कार्कीले भन्नु भयो,’यो कार्यक्रम हाम्रा लागी पाठ सिकाइको अवसर पनि रह्यो। भावी दिनमा यस कार्यक्रममा भोगेका समस्याहरुलाई न्यूनिकरण गरेर थप गुणस्तरीय सेवा प्रदान गर्ने छौं’।सेवाग्राहीहरुको प्रतिक्रिया र कार्यक्रमको समग्र उपलव्धिको मुल्याङ्कन गर्दा, कार्यक्रम निकै प्रभावकारी र उपलव्धिमूलक भएको भन्दै कार्कीले कार्यक्रमलाई निरन्तरता दिन नेपाली समुदायका तर्फबाट राजदूतावासलाई अनुरोध समेत गर्नु भएको छ।
    दुरी,समय, खर्च र यस भेगमा बसोवास गर्ने झण्डै २५ हजार नेपाली समुदायहरुलाई छिटी, छरितो, चुस्त-दुरुस्त र किफायती हिसावले गुणस्तरीय कन्सुलर सेवाहरु प्रदान गर्न राजदूतावासले यस किसिमको घुम्ती सेवाहरुलाई प्राथमिकताका साथ निरन्तरता दिदै आवश्यक संख्यामा आयोजना गर्नु पर्ने देखिन्छ।यसका लागि यस भेगका नेपाली समुदायले कार्यक्रमको दौरानमा राजदूतावासंग जोडदार माग समेत गरेका छन्।

  • रसुवा जिल्लाको संक्षिप्त चर्चा

    रसुवा जिल्लाको संक्षिप्त चर्चा

    सरस्वती न्यौपाने, रसुवा

    बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ ।

    भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता रहेको यस जिल्लाको क्षेत्रफल १५१२ वर्ग किमि रहेको छ । करिव २० वटा जलविद्युत आयोजना कम्पनीहरू संचालन तथा निर्माणाधिन रहेको यो जिल्ला हाईड्रो हवको रूपमा समेत परिचित छ ।

    पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासंग जोडिएको यस जिल्लाको सबैभन्दा होचो स्थान बेत्रावति (६१४ मि) र अग्लो स्थान लाङटाङ हिमाल (७,२३४ मि) रहेको छ । यसको सदरमुकाम धुन्चे (१९५० मि) उचाईमा अवस्थित छ।जिल्लाको आन्तरिक राजनैतिक विभाजनको रुपमा आमाछोदिङमो, उत्तरगया, कालिका, गोसाइकुण्ड र नौकुण्ड गरी ५ गाउँपालिकाहरू रहेका छन।

    रसुवा जिल्ला धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले धनि जिल्ला हो ।

    १. गोसाईकुण्ड
    समुन्द्री सतहवाट ४ हजार ३ सय ८० मिटरमा अवस्थित रामसार सुचिमा सुचिकृत गोसाईकुण्ड हिन्दु र बौद्व, वोन्पो धर्मावलम्बीहरूको साझा धार्मिक आस्थाको केन्द्र हो । यस क्षेत्रमा साना ठुला गरी १ सय ८ कुण्डहरू रहेका छन् ।

    २. रसुवागढी

    बि. सं. १९१२ सालमा निर्मित रसुवागढी नेपाल-चीन सिमानामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको गढी हो ।

    ३.गत्लाङ गाउँ

    समुन्द्री सतहदेखि २३०० मिटरको उचाईमा अवस्थित गत्लाङ गाउँ एक सुन्दर पर्यटकीय स्थल हो । परम्परागत रूपमा काठले मात्र छाईने घरका छानाहरू कालो देखिने भएकाले यो गाउँ ब्ल्याक गाउँले पनि चिनिन्छ ।

    विशुद्ध तामाङ जातिको बसोबास रहेको यस गाउँमा करिव ५०० घरधुरी रहेका छन । भुकम्प पछिको पुनर्निर्माणले यस गाउँको ऐतिहासिक पहिचान संकटमा परेको छ ।

    ४. क्यान्जिन उपत्यका

    लाङटाङ हिमालको काखमा रहेको समुन्द्र सतहवाट ३,८५० मिटर उचाईमा अवस्थित क्यान्जिन उपत्यका हिमाली दृष्यावलोकनका लागि एक रमणीय स्थल हो ।

    ५. उत्तरगया-धाम

    पवित्र उत्तरगयाधाम काठमाडौंबाट उत्तरतर्फ करिब ८० किलोमिटरको दुरिमा नुवाकोट र रसुवा जिल्लाको सिमाक्षेत्र वेत्रावतिमा अवस्थित बेत्रगंगा र त्रिशूली गंगाको संगम स्थल हो । नेपाल र तिब्बतबीच विं. स.१८४९ असोज १७ गते बेत्रावति सन्धि भएकोले यस स्थानको ऐतिहासिक महत्त्व समेत रहेको छ ।

    ६ .पार्वती कुण्ड
    रसुवाको सदरमुकाम धुन्चेदेखि उत्तर करिव ३५ किमिको दुरिमा आमा छोदिङमो गाउँपालिका ३ मा अवस्थित समुन्द्र सतहबाट करिव २५०० मिटरको उचाईमा रहेको एक महत्त्वपूर्ण धार्मिक स्थल हो । गोसाईकुण्ड पुगेका शिवको खोजी गर्ने क्रममा पार्वतीले यस कुण्डमा स्नान गरेको तथा यस कुण्डमा स्नान गर्दा वर तथा सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।

    ७. अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू

    चिलिमे, तातोपानी, सान्जेन भ्याली, गोल्जुङ, तामाङ सम्पदा पद मार्ग, भाङगे खोलाको झरना, भुमेस्थान थान, घलेगढी, कालिका माई मन्दिर, लोकिल- सानो आहली, ठुलो आहली जुरेढुङगा गोसाईकुण्ड पदमार्ग, नीलकण्ठ महादेव मन्दिर, नागथली, रेडपाण्डा पार्क, मिनी गोसाईकुण्ड, शंङखपार्क, लार्च्याङटार, जुरे ढुङ्गा, बिजुली ढुङ्गा, नौकुण्ड, सातधारे हिमाल, दुधकुण्ड लगायतका थुप्रै रहेका छन् ।

  • साइनाई प्रायद्वीपमाथिको खिचातानि

    साइनाई प्रायद्वीपमाथिको खिचातानि

    कुमार न्यौपाने, न्युयोर्क

    अमेरिकीहरु मध्येपनि न्युयोर्कबासीले साइनाई वा माउन्ट साइनाई सुन्ने बित्तिकै एक सुबिधा सम्पन्न अस्पताल भनिहाल्छन । झट्ट सुन्दा माउन्ट फुजी जस्तै लाग्ने यो नाउँ जापानीज हो कि जस्तो पनि लाग्छ । तर इजरायलीहरुमा पनि जुइसहरुले न्युयोर्कमा आफुहरुलाई उपचारको मामलामा तत्कालीन समयको राज्य र समाजले अन्याय गरेको ठानेर स्थापना गरेको अस्पताल हो ‘माउन्ट साइनाई’ । यो त अस्पतालसंग जोडिएको बिषय भयो, तर साइनाई पर्वत र साइनाई प्रायद्घिप बाइबलकालको कथासंग जोडिएको ठाँउ (प्राचिन र हाल इजिप्टको सिमाना भित्र पर्ने सबैभन्दा अग्लो भु­भाग) हो, जहाँ मोसेस गुरुले दश कमाण्डमेन्ट् (मन्त्रहरु) प्राप्त गरेको ठाँउ भनेर बाईबलको कथनले भन्छ, त्यसैले जुइसहरु यो भु­भाग वा पर्वतलाई आफ्नो धर्म र संस्कारसंग जोडिएको पबित्र भूमी मान्दछन् । त्यसैले होला, यो भूभाग भौगोलिक रुपमा इजिप्टको भएतापनि इजराइलीहरुले न्युर्योकमा यो नाँउलाई आफ्नो पहिचान बनाएका छन ।
    उत्तर अफ्रिकी मुलुक इजिप्टको एसियामा पर्ने उच्च पर्वतीय भु­भाग साइनाई प्रायद्वीप इजरायलीहरुका लागि धार्मिक आस्था संगसंगै किन राजनीतिक र सामरिक रुपमा महत्वपुर्ण छ भन्ने कुरा अहम हो । प्राचिन इजिप्ट, रोमन, अट्टोमान, बेलायत र इजराइलको कब्जामा रहदै हुदै पुर्ववर्ति मुलुकमै गाभिन पुगेको भूभागको नाउँ किन न्युयोर्कमा र जुईस समाजमा चर्चित छ भनि हेर्दा धर्म र धार्मिक आस्था बलियो देखिन्छ । यस भु­भागलाई थुप्रै मुलुकहरुले सयौं बर्षसम्म कब्जा गरे तर सबैभन्दा कम समय कब्जा गर्ने इजराइलको नै यस नाउँमा किन प्रभुत्व भयो ? पक्कै पनि त्यो थियो धार्मिक आस्था… बाईबल, मोसेस र साईनाइ प्रायद्घिप ।
    इजिप्टको नासेरले स्वेज नहरलाई राष्ट्रियकरण गरेपछि उत्पन्न विवाद र संघर्षमा बेलायत, फ्रान्सलाई नजिकबाट सैनिक सहयोग गर्ने इजरायलको सेनाले ६ दिने युद्घ मै इजिप्टलाई हराई प्रायजसो प्रायद्घिपमा कब्जा गर्छ । प्रायद्घिप पट्टिको नहरको भाग र महत्वपुर्ण भुभाग इजराइलको हातमा गएतापनि इजिप्ट अन्ततः सन्धि मार्फत युद्घमा गुमाएको सम्पुर्ण भूभाग फिर्ता लिन सक्षम हुन्छ । युद्घको तत्काल अन्त्य भएतापनि इजराइल र इजिप्टलाई स्वेज नहर, भु­मध्यसागर र लाल सागरको पानीमा कसरी आफ्नो प्रभुत्व राख्ने भन्ने चाहानाले सधैं पच्छ्याइरहेको देखिन्छ । एकले प्राचिन कालदेखिको भोगको हिसाव निकाल्छ भने अर्कोले हाम्रो धार्मिक पवित्र भूमी भन्छ । बास्तवमा साइनाई प्रायद्घिपको अधिपत्यको मुल कुरा धार्मिक आस्था संगसंगै स्वेज नहर, नहर मार्फत हुने व्यापार र त्यस क्षेत्रमा आफ्नो शक्ति स्थापीत कसरी गर्न सकिन्छ भन्ने होड नै हो । इजराइल भु­मध्यसागरलाई कसरी मृतसागरमा जोड्ने र अर्को नयाँ नहर मार्फत अकावाको खाडी हुदै लालसागर छिर्न र हिन्दमहासागरमा आर्लने बाटो खोज्दैछ । यो बाटो भनेको स्वेज नहरको बिकल्प हो जसले त्यस भेगको पानीमा इजिप्टको एकल प्रभुत्वलाई धावा बोल्छ । इजिप्टसंगको इजरायली बेमेलको गुह्य कुरा यसै साइनाई प्रायद्घिपको माउन्ट साइनाई क्षेत्र (जुन स्वेजनहरसंग पनि जोडिन्छ) र यस क्षेत्रमा रहेको खनिजहरु पनि हुन ।
    विश्वमा विगतका केही सताब्दी जमिनको लागि संर्घष भयो, त्यसपछि सुन लगायतका धातुहरु, तेल, प्राकृतिक ग्याँस (हालसम्म कायमै छ) र केही दशकदेखिको संघर्ष सामुन्द्रिक पानी, नहर (जलमार्ग) हरुमा भयो, हुदैछ र जलवायु परिवर्तनसंगै पानीको चक्रीय प्रणालीमा आएको उतारचढावले स्वच्छ पिउने पानी नै अबको चरम संर्घषको युग हुने देखिन्छ । यसरी हेर्दा पृथ्वीको भु­भागको दुइतिहाई भागमा पानी भएतापनि बिभिन्न तहमा पानी मै यत्रो संर्घष भइरहेको छ र हुदैछ ।
    यी त भए प्रायद्घिपमा प्रत्यक्ष देखिएका र दावी गरीएका देशहरुको खरो स्थिति र कारणहरु । तर साईनाइ प्रायद्घिपमा पछिल्लो समय आँखा गाड्ने तेश्रो पक्ष पनि छ, त्यो हो आई एस आई, इस्लामिक ब्रदरहुड आदि । एकातिर इजिप्टको मुख्य भु­भागबाट स्वेज नहरले छुट्ट्याएको यस प्रायद्घिपसंग इजिप्टको सस्ंथापन पक्षको विगतको कमजोर उपस्थिति र प्रायद्घिप बिवादपछिको शान्ती सम्झौता अनुसार सन्तुलनमा आएको इजरायल एक हिसावले थन्किएको मौका छोपि विश्वमा इस्लामको बलियो धार्मिक राज्य बनाउन उग्ररुपमा आइरहेको आई एस आईको इराक, अफगानिस्तान र सिरीयामाथिको प्रयासपछि यस त्रिकोणीय भुभागमा आँखा गडेको छ । यसै मौकामा यस त्रिभुज आकारको भूमीमा त्रिपक्षीय द्घन्द देख्न सकिन्छ । इस्लामिक उग्रवादीको उपद्रो र हस्तक्षेपलाई तह लगाउन इजिप्ट उक्त प्रायद्घिपमा सैनिक संख्या र ट्याङ्करहरु थप्न खोज्छ तर स् गर्न इजरायलको चर्को बिरोध खप्नु परिरहेको छ । साइनाई प्रायद्घिपको बिवाद समाधानको लागि गरिएको शान्ति सम्झौताले इजिप्टलाई त्यहाँ थप सैन्यकरण गर्न रोक्छ । तर यी दुई देशको बिवाद र सन्धिको प्रावधानहरुले गर्दा आई एस आईले बीचमा खेल्दै आफ्नो प्रभाव बढाउदै लगेको देखिन्छ । स्पष्टरुपमा भन्दा सन्धिले दुबै देशहरुलाई सैनिक गतिविधि गर्न रोकेको छ ।
    नेपाल र भारतको बिषयवस्तु दुरुस्तै नभएपनि आफ्नो भूभाग प्रतिको बेवास्ता र कमजोर उपस्थितिले कालापानीको बिषय चोटिलो बन्दै गएको छ । देशको छिमेकीहरुको चरित्रहरुको कुरा गर्दा यथेस्ठ प्रमाण हुदाहुँदै पनि नेपाल कालापानीको भूमीबाट पाखा लागिरहेको अवस्था देखिएको छ । कुनै समयको अफ्ठ्यारो परिस्थिति बुझि मित्र ठानेर आफ्नो भूमी नै अरुलाई दिंदा अथवा राष्ट्रको सिमानासंग खेलाची गर्दाको पाठ नेपालले कालापानीबाट सिक्दैछ । चीनसंगको युद्घ, नेपालसंगको मित्रता तर आज चीनसंगको सहकार्यमा उ बेलाको मित्र नेपालको सहयोगलाई दुत्कार्दै त्यही मित्रको भूमी हस्तक्षेप गर्नपछि नपर्ने छिमेकीहरु खोज्न टाठा जानै पर्दैन । यस्तै यस्तै घटनाहरु र बिवादहरुले विश्वका अधिकांस देशहरुबीच बैमनस्यता कायमै छ । युरोप, अमेरिकीहरु भने केही दशकदेखि भूभाग हडप्ने युद्घभन्दा अर्थको लडाईं लड्न उद्दत छ । आजको बिश्वमा जोसंग पैसा छ, उसैको प्रभुत्व देखिन्छ । मध्यपुर्व, दक्षिण एसियाका देशहरु भने अझैपनि भु­भागलाई महत्व दिइरहेका छन । विश्वको दोश्रो आर्थिक शक्ति चीनको पहिलो प्राथमिकता अर्थ नै भएतापनि भारतसंगको भुमी बिवाद भने छिट्टै टुङ्गयाउने पक्षमा देखिदैन । तिव्वत, हङ्गकङ्ग, मकाउ हुदै ताइवानसंगै दक्षिण चीन सागर र बिस्तारै हिन्दमहासागरमा पुगेको चीन आर्थिक, सामाजिक र सामरिक हिसावले सबल बन्दै सबै आफ्नो पक्षमा पार्ने दाउमा छ ।
    मानव आफुलाई जैविक प्राणी हुँ भन्ने सत्यलाई मान्न तयार छैन जस्तो लाग्दैछ । आफुलाई सच्याई, आफैद्वारा सिर्जीत प्रदुषण रोक्न र जलवायु परिवर्तनले भविष्यमा पार्ने पिउने पानीको चरम समस्यासंग जुध्नुको सट्टा मंगल र शनिग्रहतिर पानी खोज्दै भौतारिंदै हिंड्नु मुर्खता सिवाय के होला र ?
    न्युयोर्कको माउन्ट साइनाई अस्पतालदेखि साइनाई प्रायद्घिप हुदै भारत, पाकिस्तानको कश्मीर र चिनको उइघुर इलाकाहरु पुग्दासम्मका बिषयहरु कतै न कतैबाट धर्म संगसंगै जोडिएको छ । हाल मेरो छिमेकमा रहेको माउन्ट साइनाई अस्पताल जुन परिस्थितिमा स्थापना भएतापनि आज गोरो, कालो, यो जात, त्यो धर्म नभनि मानवको उपचारमा तल्लिन छ, त्यसरी नै साइनाई प्रायद्वीप लगायतका तमाम सिमानाहरुको मामलो मिलोस । बिभिन्न धर्महरुको उद्गम उद्देश्यहरुलाई हेर्ने हो भने सबै स्वच्छ र चोखो पाउछौं । धर्म त एक उत्तम संस्कार न हो, यसलाई धमिल्याइ आफ्नो स्वार्थसिद्घ गर्नेहरु प्रति सबै सधैं सजग रहौं ।

  • न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

    न्यूह्यामसायरमा ‘मिनी मेथा’, वाङ्ग्याल छिरिङ भए च्याम्पियन

    म्यानचेस्टर

    मनाङबाट प्रवर्धित खेल धनुषबाण (मेथा) प्रतियोगिता न्यूह्यामसायरमा हालै सम्पन्न भएको छ । राज्यको लाउडन टाउन स्थित एक ‘भ्याकेसन हाउस’मा कंकर्ड म्यानचेस्टर हातेमालो समाजले प्रतियोगिता आयोजना गरेको हो ।

    तीन दिनसम्म चलेको प्रतियोगितामा वाङ्ग्याल छिरिङ (डिङ्गो) प्रथम, मुखिया घले (दबङ) दोस्रो र सोनाम फुन्जो (जनम) तेस्रो भएका छन् । १२ प्रतियोगिलाई पछि पार्दै विजेता बनेका खेलाडीलाई नगद पुरस्कार सहित ट्रफी वितरण गरिएको थियो ।

    स्थानीय भाषामा मेथा भनिने धनुषबाण मनाङमा सदियौँ देखि प्रचलनमा रहेको जानकारहरु बताउँछन् । परापुर्व कालमा शिकार गर्न एवं घरपालुवा पशुपंक्षी रक्षाको लागि यसको उपयोग गरिन्थ्यो । त्यस बाहेक स्थानीय देवी देवतालाई धनुषबाण चढाएर खुसी बनाइने गरेको बुढापाकाहरु सुनाउँछन् । विस्तारै यसले जीवन यापनको साधनबाट खेलको रुप लिएको हो ।

    मनाङबाट अमेरिका आएर बसोबास गर्ने जुझारुहरुको पहलमा यो खेल यहाँ पनि सुरु भएको हो । न्यूयोर्क स्थित मनाङ समाजले बर्षेनी भव्य कार्यक्रमका साथ मेथा प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही कारण न्यूह्यामसायरमा आयोजित प्रतियोगितालाई मिनी मेथा भनिएको मनाङ स्थायी घर भइ हाल न्यूह्यामसायरमा व्यवसाय गर्दै आएका कर्मा गोम्पोले जानकारी दिए ।

    न्यूह्यामसायरमा अघिल्लो बर्षको तुलनामा यसपाली सहभागितामा बृद्धि भएको एवं मनाङबाहेक अन्य क्षेत्रबाट अमेरिका आएर बसेका साथीभाइहरुले पनि चासो राख्न थालेको उनको भनाइ छ । ‘मेथाले विस्तारै अन्य समुदायमा पनि परिचय स्थापित गर्न थालेको छ, उनले भने- यसपाली मेथा हेर्न न्यूह्यामसायरमा बसोबास गर्ने सबैजसो नेपाली समुदायको उपस्थिती रह्यो, यसले हामीलाई थप उत्साह दिएको छ ।’ प्रतियोगितामा भाग लिन न्यूयोर्क लगायत स्थानबाट खेलाडीहरु न्यूह्यामसायर आएका थिए ।

  • तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

    तेक्वान्दो खेलाडी राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

    न्युयोर्क

    नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरीडामा यही सेप्टेम्बर ११-१२ तारिखमा मा सम्पन्न “फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय खुल्ला अनलाइन तेक्वाण्दो प्रतिस्पर्धा २०२१” मा स्वर्ण पदक जित्न सफल भएका छन्
    उनले पुरुष ४० वर्ष माथिको उमेर समुहमा अमेरिका, फ़्रान्स, अष्ट्रेलिया, स्विट्ज़रलैंड, फ़िलीपीन्स, स्लोभेनिया लगायत अन्य ७ राष्ट्रका खेलाडीहरुलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

    त्यसैगरी उक्त स्पर्धामा नेपाली तेक्वान्दो खेलाडीद्वयकल्पना कार्की र कृशा कार्कीले अमेरिका, अष्ट्रालिया र स्विटजरल्यान्डका खेलाडीहरुलाई हराउँदै रजत पदक हात पारेका छन् । कल्पना कार्की र कृशा कार्की आमा छोरी हुन् ।

    मास्टर राजु नगरकोटी तिन दशकदेखि निरन्तर रुपमा नेपाल, मकाऊ र अमेरिकामा खेलाडी, प्रशिक्षक र निर्णायकको भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

  • नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह

    नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह

    न्युयोर्क

    नेवा गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक प्रमुख अतिथी बीके नेवाले पानसमा बत्ति बाली कार्यक्रम शुभारम्भ गरेका थिए ।
    कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गरेका थिए भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गरे ।
    कार्यक्रममा पूर्वअध्यक्षहरु आदित्य महर्जन, समीर महर्जन, धर्मेन्द्र गोपाली, संस्थापक उपाध्यक्ष न्हुच्छेनारायण डंगोल, मीन नकर्मी, प्रकाशधर तुलाधरले नेवा गठीको अवश्यकता र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँहरुले नेपालमा सरकारले नेवाहरुको कला संस्कृति मास्ने काम गरेकोमा आपत्ति जनाउँदै नेवाहरुको कला र संस्कृति जोगाउन देश विदेशमा रहेका सम्पूर्ण नेवाहरुलाई एकजुट हुन आह्वान गर्नुभयो ।


    अध्यक्ष निर्मल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले आफूले गरेका कामबारे प्रकाश पार्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै नयाँ कार्यसमितिको सफलताको कामना गर्नुभयो ।
    उहाँले कार्यक्रम सफलताको लागि विभिन्न सामग्री लगायत खानाको व्यवस्था गर्ने नेपा फेसन हाउस, समीर महर्जन, सूर्य महर्जन, नेपाल आदिवासी जनजाति महासंघलाई धन्यवाद दिनुभएको थियो ।
    नयाँ कार्यसमितिको अध्यक्षका लागि विजयमान सिंह र सुवर्णकुमार शाक्यले उम्मेदवारी दिएका थिए । नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रमुख हुनुभएका पूर्वअध्यक्ष समीर महर्जनले प्रजातान्त्रिक तरिकाले निर्वाचन गराएका थिए ।
    निर्वाचनमा विजयमान सिंह अध्यक्षमा विजयी भए भने कार्यसमितिका अन्य सबै पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका छन् ।


    कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा अतिथिहरुलाई नेवारी परम्परा अनुसार उसिनेको अण्डा, माछा र रक्सीको सगुनसहित टीका र खादा प्रदान गरिएको थियो ।
    महिलाहरुको विशेष भूमिका रहेको सो कार्यक्रमको सञ्चालन सुवर्णकुमार शाक्यले गर्नुभएको थियो ।
    महाधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा विजयमान सिंह, उपाध्यक्षमा राजेन्द्र महर्जन र राजन कर्माचार्य, महासचिवमा सन्तोष महर्जन, सचिवमा रामकृष्ण महर्जन, कोषाध्यक्षमा हृदय तुलाधार चयन हुनुभएको छ भने सदस्यहरुमा मीनलाल नकर्मी, राजेन्द्र महर्जन, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सरिता श्रेष्ठ, वीरेन्द्र मानन्धर र कविना महर्जन रहनुभएको छ ।

  • म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने

    म्यासाच्यूसेट्समा नेपाली राजदूतावासले घुम्ती शिविर गर्ने

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली राजदूतावासले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी म्यासाच्यूसेट्स राज्यको बोस्टनमा दुइ दिने घुम्ति कन्सुलर सेवा शिविर गर्ने भएको छ। उक्त शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आफ्नो सेवा प्रदान गर्न लागेको हो । त्यसका लागि नेपाली राजदूतावास, बोस्टनस्थित एनआरएनए(NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए न्यु ह्याम्सायर च्याप्टरको संयुक्त आयोजनामा यही सेप्टेम्बर २५ तारिख शनिवार र २६ तारिख आइतवारका दिन हुनगइरहेको उक्त घुम्ती शिविर, म्यासाच्यूसेट्स राज्यको Arlington city को 15 Winslow Street, स्थित Columbus club of Arlington मा हुने आयोजक संस्था एनआरएनए (NRNA)म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो। तामाङले दिनु भएको जानकारी अनुसार कन्सुलर सेवा शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)।
    र पर्यटक भिषा(Tourist Visa)
    सेवाहरु प्राप्त गर्न सक्ने छन्।चाहेर पनि कोरोना कहरका कारण नेपाली समुदायलाई यस प्रकारको सेवा प्रादान गर्ने व्यवस्था गर्न नसकिएको तर अहिले स्थिति सहज भएकाले घुम्ति शिविर सञ्चालन गर्न लागिएको तामाङले बताउनु भयो। घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु लिन वासिङटन डिसीसम्म पुग्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरबाटै सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले गरिएको प्रयासबाट बढि भन्दा बढी सेवाग्राहीहरु लाभान्वित हुने आयोजकलाई विश्वास छ । दैलोमै आइपुगेको यस घुम्ती शिविरबाट बढी भन्दा बढी सेवा लिइ लाभान्वित हुन सेवाग्राहीहरुलाई अनुरोध गर्दै तामाङ भन्नु हुन्छ ” दैलोमै सेवा लिने यो सुवर्ण अवसर हो। यो मौकामा आवश्यक परेका सेवाहरु लिएर लाभान्वित हुन सबैलाई अनुरोध गर्दछु ।”
    घुम्ती शिविरलाई बढी भन्दा प्रभावकारी र फलदायी बनाउन आयोजक संस्थाहरु कार्यविभाजन गरी आवश्यक तयारीमा जुटिसकेको आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका उपाध्यक्ष परशुराम फुयालले जानकारी दिनु भयो ।
    ” हामी कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटिसकेका छौं । घु्ती शिविरलाई बढी भन्दा बढी प्रभावकारी र उपलब्धिमूलक बनाउन, व्यापक प्रचार प्रसारको खाँचो छ । त्यसैले अहिले अन्य तयारीसंगै प्रचार प्रसारलाई बढी जोड दिइरहेका छौं । ” फूयालले भन्नु भयो ” सेवाग्राहीहरुसम्म सूचना पुर्याउन आवश्यक प्रभावकारी प्रचार प्रसारका लागि सहयोग पुर्याउन सबैलाई अनुरोध गर्दछौं ।”उपाध्यक्ष फुयालले शिविर सफलता पूर्वक सम्पन्न हुनेमा समेत विश्वास व्यक्त गर्नु भयो। उहाँका अनुसार अमेरिका लागि नेपाली राजदूत युवराज खतिवडाको समुपस्थितिमा हुने
    उक्त शिविरबाट करिब दुइ सय जना सेवाग्राहीहरुले सेवा लिने आयोजकले अनुमान गरेको छ । राजदूतावासले घुम्ती शिविरबाट प्रदान गर्न लागिएका सेवाहरु प्राप्त गर्नका लागि आवश्यक कागजात, शुल्क र प्रक्रियाबारेमा विस्तृत जानकारीको लागि राजदूतावासको आधिकारिक वेबसाइडमा हेर्न अनुरोध गरेको छ ।
    कोभिड-19 का कारण स्वास्थ्य सुरक्षार्थ आफूलाई चाहिएको सेवाका लागि चाहिने आवश्य पूरा विवरण खुल्ने गरी अग्रिम आफ्नो नाम दर्ता गर्न सेवाग्राहीहरुलाई अनुरोध समेत गरेको छ ।

  • कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

    कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?

    सरोज सिग्देल, अमेरिका

    निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९ बिन्दुलाई चुम्दै नयाँ कृतिमान बनाएको थियो भने लगानि कर्ताहरूको उच्च मनोबल र उत्साहित हुँदा कारोबार रकम २१ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको थियो जुन रकमले कीर्तिमानी कारोबार रकम २१ अर्ब ५३ करोड रुपैयाँ लागि पछ्याइ रहेको थियो । बुलिस बजारमा कीर्तिमान कायम गर्नु स्वभाविक नै हो तर बजार एकोहोरो हिसाबले बढ्दै जानु भन्दा केही करेक्सनहरु हुँदैअघि बढ्ने बढ्ने क्रम सुरक्षित र स्थायी हुने हुनाले करेक्सनको अनुमान गरिएको थियो। कारोबार रकमका साथै नेप्से परिसुचकमा आएको निरन्तर वृद्धिका कारण अबको शेयर बजार कुन तरिकाले अगाडि बढ्ला र आफुले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा योजनाहरु बनाइरहेका थिए ।
    यसैबीच नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आयो र बजार ठूलो करेक्सनमा गयो l केही समय अगाडि मात्रै नेपाल धितोपत्र बोर्डले पनि जोखिमपूर्ण लगानि भन्दै ५१ कम्पनीहरूको नाम सार्वजनिक पश्चातको करेक्सनबाट नयाँ कृतिमान बनाउने क्रममा सचेत लगानीकर्ताहरुले आफ्नो मुनाफा सुरक्षित गरिसकेकाले करेक्सनको प्रतिक्षामा पनि थिए l तत्पश्चात बजारमा निकै उतार चढाव आउँदा एकै दिनमा १०० अङ्कसम्म बढ्ने अथवा घट्ने अवस्था पनि सृजना भयो र बजारको दिशाप्रति प्रश्नवाचक चिन्ह सुरु हुन थाल्यो । राष्ट्र बैँकले पनि अहिले लगानीयोग्य रकम (तरलता) को अभावका कारण ब्याजदर बढ्न सक्ने सम्भावना व्यक्त गरे सँगै बजारमा डेड क्याट बाउन्स भएकै त हैन भने चिन्ता चिन्ता पनि व्यक्त गर्न थालिएको छ l

    राष्ट्र बैंकले मूल्य बृद्धि, आर्थिक बृद्धि, लगानीयोग्य रकम (तरलता)को स्थितिलगायत हेरेर नै आर्थिक वर्षको मौद्रिक नीति ल्याउने गर्दछ l कतिपय जलविद्युत कम्पनी र विकास बैंकहरुको शेयर त १५० देखि २०० प्रतिशतसम्म बढेको थियो l सन् २०१२ देखि २०१६ को बजारलाई हेर्ने हो भने तीन महिनामा २० प्रतिशत सम्मको करेक्सन भएको हुनाले अहिले बजारमा आत्तिहाल्नु पर्ने अवस्था छैन l पछिल्लो १ वर्ष देखि १० प्रतिशत सम्मको पनि ‘करेक्सन’ नदेखिएको र करेक्सन भए पनि ‘रिकोभर’ छिटो छिटो भइहाल्ने कारणले अत्याधिक हौसिएका लगानीकर्ताहरुले २-३ महिनामा नै कमाउँछु भन्नका लागि बजारमा लगानि गर्दा सोच्नु पर्ने बेला आएको छ । अबको समय शेयर बजारमा छोटो समयको लागि लगानी गर्नु केही जोखिम (रिक्स) हो कि भन्ने पाठ पनि सिकाएको छ।

    राष्ट्र बैंकले सीमित व्यक्तिको हातबाट ४० लाखभन्दा धेरै लगानीकर्ताको हातमा पुर्याउन लिएको सकारात्मक कदम हो जसले बजारमा स्थायित्व ल्याउनमा मद्दत गर्दछ l
    यदि तपाई लामो समयका लागि लगानि गर्ने हो भने त त्यसका लागि चिन्ता गर्नु पर्ने अवस्था छैन किनकि हामी ‘बुल’ मार्केट मै छौं। करेक्सनको फाइदा लिँदै ‘हाइ बिट स्टक’ बाट ‘लो बिट स्टक’ मा सिफ्ट गर्ने सबैभन्दा उपयुक्त समय हो । बुल बजारमा कम्पनीहरुको शेयर मूल्य उच्च विन्दुमा रहने हुनाले आम लगानीकर्ताले सकेसम्म मजबुत वित्तीय सूचकहरु भएका, लाभांश क्षमता राम्रो भएको, विगतको नाफा, भविष्यमा व्यापार विस्तारको सम्भावना अनि सञ्चालक र व्यवस्थापन पक्षलाई समेत ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ अझै इपीएस, पीई, नेटवर्थ, रिजर्भ जस्ता महत्वपूर्ण सूचकहरु पनि हेर्ने गर्नुपर्छ ।

    अब बजारले खरिदको मौका दिँदैछ तसर्थ बजारमा लगानी सुरक्षा, शेयरको सस्तो भाउ र औसत प्रतिफलको हिसाब गर्दा बाणिज्य बैंकहरुको सेयरमा लगानि अहिले सबैभन्दा सुरक्षित देखिएको छ । पर्याप्त लगानि, जोखिम ब्यवस्थापनको बन्दोबस्ति, राष्ट्र बैंकको कडा नियमन, संस्थागत सुशासन, बलियो जगेडा कोष जस्ता सूचकहरु हेर्र्दा अहिले बाणिज्य बैंकको सेयरमा लगानि गर्नु उपयुक्त छ ।

    बैंक तथा बित्तिय समूह लगानीका फाइदाहरु :
    १) कम मूल्य भएकाले धेरै शेयर कित्ता किन्न सकिन्छ ।
    २) बैंकहरुले गरेका प्रगतिको कारणले लाभको प्रतिशत बढ्दै जानसक्छ ।
    ३) बाणिज्य बैंकहरूले मर्ज वा एक्विजिशनमा गर्दा राम्रो स्वाप अनुपात पाउँदा नसोचको फाईदा पाउन ।
    ४) औसत १८० दिने मूल्य अनुसार धेरै कर्जा (७० प्रतिशतसम्म) प्राप्त हुन्छ ।
    ५) बजारमा गिरावट आयो भने पनि ठूलो अन्तरले मूल्य झरेर बैंकबाट माार्जिन कल आउने संभावना कम हुन्छ सकिन्छ ।
    ६) बैंकबाट लिएको कर्जाको ब्याज तिर्ने रकम सेयर वापत प्राप्त हुने लाभांशले नै धान्न सक्दछ ।
    ७) वाणिज्य बैंकमा शेयरहरु खेलाडीको खेलाडीको सूचीमा नपर्ने हुँदा पम्प एण्ड डम्पको जोखिम कम रहन्छ ।
    ८) समस्याको संकेत देखिएमा राष्ट्र बैंकले व्यवस्थापनआफ्नो जिम्मामा लिने गर्दछ ।
    ९) तुलनात्मक रुपमा सफल र लामो इतिहास भएको क्षेत्र हो ।
    १०) गत वर्षको लाभांस पनि सुरक्षित गर्ने अवसर हो l

    शेयरबजार गतिशील रहने हुँदा सधै एकै खालको अवस्था रहदैन, अहिले सेयरको मूल्य तिब्र गतिमा उतारचढाव भइरहेकोले जोखिम ब्यवस्थापन र नाफा सुरक्षित गर्न चुक्यो भने हात्ती आयो हात्ती आयो फुस्सा होला । शेयर बजारमा शेयरको मूल्य कुन बेलासम्म बढ्छ र घट्न थाल्छ भन्ने कुरा कुनै पूर्वानुमान गर्न सकिन्न। त्यो अनिश्चियको भूमरीमा फस्नु भन्दा पहिले नै आफु निस्केर सुरक्षित कम्पनीमा लगानी सार्ने नै सफल लगानिकर्ता हो । अहिले बजारबाट ठूलो रकम बाहिर निस्कने संभावना देखिदैछ एउटा क्षेत्रको कम्पनीबाट अर्को क्षेत्रको कम्पनीमा लगानि घुमिरहेको यही चक्रमा नै लगानीकर्ताले सुझबुझ पूर्ण लगानि गर्नुपर्छ । क्युमुलेटिभ एडी लाइन हिजोभन्दा ६ जुन र ५ सेप्टेम्बर, २०२१ को -३७२ को लेभलभन्दा माथि रहेको छ। क्युमुलेटिभ एडी लाइन र भोल्युमको विश्लेषण गर्दा नेप्सेले आफ्नो डाउनसाइड मोमेन्टमको संकेत गर्छ।

    अन्त्यमा: सस्तो मूल्यका शेयरबाट प्रवेश गर्न चाहने र नयाँ लगानीकर्ताको प्रबेशले खराब कम्पनीहरुको सेयर मूल्य पनि उच्च रुपले बढेका छन् । जगेडा कोष रित्ता र निस्क्रिय कर्जा अनुपात उच्च भएका, ऋणात्मक नेटवर्थका कम्पनीहरुको सेयर मूल्य पनि आकासिएर गएका छन् । बजारमा हकप्रदको हल्लाले प्रभाव पार्दा खराब वित्तीय अवस्था भएका कम्पनी र पानी नै नभएको हाईड्रोहरुमा झुम्मिने क्रम बढेको हो । मैले बुझ्न नसकेको कुरा यस्ता कम्पनीहरुको शेयर धितो राखेर न बैंकबाट कर्जा लिन सकिन्छ न त लाभांशको नै आधार हुन्छ । बजार घट्यो भने सबैभन्दा पहिला र धेरै घट्ने कम्पनी पनि यिनै हुन् ? तसर्थ सोचेर विचार गरेर दीर्घकालीन फाइदा दिन सक्ने कम्पनि पछ्याउने लगानीकर्ताहरु नै लामो समयसम्म बजारमा टिकी रहन्छन् र स्थापित पनि हुन्छन् ।

  • हार्वड हेर्ने रहर

    हार्वड हेर्ने रहर

    कुमार न्यौपाने, न्युयोर्क

    कुरा बुझ्ने भएपछि पनि निकै पछि सुनेको हो अक्सफोर्ड, क्याम्ब्रीज र हार्वडका नाम । बुवा आमाको ‘पढ्नु पर्छ’ भन्ने वचनले होला, पढे जस्तो गर्दै बिश्वबिद्यालयको भित्ता छुन, त्यहाँको हावासंग घुलिन अझै बढी प्राध्यापक चैतन्य मिश्र र अभि सुवेदीजस्ता गुरुहरुलाई सुन्नका लागि त्रिभुवन बिश्वबिद्यालयको आँगनमा पुग्दा भिन्नै अनुभुति हुन्थ्यो । गुरुहरु भन्नुहुन्थ्यो, कानुनका बिद्यार्थीहरु कताकताबाट समाजशास्त्र र राजनीतिशास्त्रसंग जोडिन आइपुग्दा रहेछन । संसार कै अनुभव हेर्ने हो भने देखिन्छ कि कानुन र राजनीति नङ्ग र मासु हुन । त्रिभुवन बिश्वबिद्यालयको कक्षा कोठा र उनै गुरुले लोकतन्त्र र समाजलाइ जोडेर गरिएका राजनैतिक ब्याख्याहरु मष्तिस्कमा बोकि आजको राजनीतिज्ञहरुका ब्यवहार सम्झिदा चैं सबै गुण र सिद्घान्तहरु बिश्वबिद्यालयका गहनाहरु हुन, प्राध्यापकहरुका मन्त्रणाहरु मात्र हुन । हार्वडको अध्ययन र व्यवहारको त कुरै छाडौं ।
    ३८५ बर्ष पुरानो बिश्वबिद्यालयको नाउँ नै काफी भने झैं यो पटक वास्तवमा हार्वड हेर्ने रहरले नै बोस्टन यात्राको निधो भएको हो । बोस्टन भन्ने बित्तिकै हार्वड त आइहाल्छ, त्यसपछि एम आई टि अनि अन्य आकर्षणहरु । न्युयोर्कबाट झण्डै ४ घण्टाको ट्रेन वा बसको यात्रामा पुगिने बोस्टन प्राय हिँउ पर्ने बेलाको तस्विरहरु मनमा गडेकोले या केही उत्तरपुर्वमा पर्ने भएकोले पनि होला धेरै जसो बेला हिँउले ढाकिएको हुन्छ भन्ने भ्रममा थिँए । हिँउ नभएपनि निकै चिसो होला भन्ने अर्को भ्रम पनि तोडियो जव बसबाट ओर्लदा हप्प तातो हावाले हान्यो । जलवायु परिवर्तनको मारमा परेको अमेरिकाको मध्य गर्मीयामको सहरमा कहाँ पाउनु हिँउ ! अब हिँउको भ्रम टुट्यो ।


    चार्ल्स नदी तरेर पुगिने क्याम्ब्रिज भन्ने ठाँउमा रहेको हार्वड पहिलो पल्ट पुग्नेहरुलाई यही कुरा अनौठो लाग्न सक्छ । क्याम्ब्रिजमा हार्वड ? बेलायती उपनिबेश ताका अमेरिकी उत्तर­पुर्वी भागहरुको नाउँ दुरुस्तै बेलायत झैं राखेका रहेछन । आज पनि प्राय ठाँउका नाउँहरु उतै कै जस्तो छ । हार्वर सिटीको रुपमा परिचित बोस्टन उत्तरपुर्वको आन्द्रमहासागरको भागलाई ह्वेल पाइने क्षेत्रको रुपमा लिइन्छ त्यसैले ह्वेल हेर्ने प्रमुख गन्तव्यको रुपमा पनि परिचित यस ठाँउलाई हार्वड, एम आइ टि पछि ह्वेलले चिनाउँदो रहेछ । बिकन हिल, क्वीन्सी बजार, बंकर हिल मोनुमेन्ट, बोस्टन हार्वरका साना ठुला टापुहरुको आकर्षणहरुले यो सहर सुसज्जित छ । यी जति पनि हेर्नुपर्ने, घुम्नुपर्ने सूचिहरुको पहिलो नम्वरमा परेको हार्वडको हुटहुटी अलि बेग्लै थियो । न्यु जर्सीको प्रिन्सटन, कनेक्टिकटको येल, न्युयोर्कको कोलम्वीया र न्युयोर्क बिश्वबिद्यालयको कानुनी बिभाग घुमिसकेपछि सबैभन्दा प्रख्यात अमेरिकी बिश्वबिद्यालयको कानुन अध्यापन गराइने बिभाग पुग्दा आफ्नै अनुभुति गरायो । अमेरिकी दोश्रो राष्ट्रपतिदेखि बाराक ओवामासम्म र विश्वका दर्जनौं राष्ट्रपतिहरु, प्रधानमन्त्रीहरु, कयौं प्रधानन्यायाधिशहरु, प्रोफेसरहरु, बिख्यात कलाकारहरु जन्माएको विश्वबिद्यालयको अन्य फ्याकल्टीहरुको बारेमा चर्चा नहुने त कुरै भएन ।


    आफ्ना थुप्रै रहरमध्येका एक हार्वड बिश्वबिद्यालयको घुमाइको क्रममा मुख्य भवन हेर्ने अभिलाषा कसलाई नहोला । निकै ठुलो भूभागमा फैलिएको यस विश्वविद्यायालयको झण्डै दुइ घण्टासम्मको घुमाइ र खोजाइ अनि सोधाइको क्रममा कसैले पनि भनेनन कि हार्वडको अन्य प्रख्यात बिश्वबिद्यालयको जस्तो कलात्मक भव्य भवन छ भनेर । अन्तिममा थाहा भयो कि हार्वडको बिषयगत बिभागै पिच्छेको भवनहरु उस्तै उस्तै छन तर हाम्रो एकोहोरो खोजाइ थियो उही बेलायती अक्सफोर्ड र क्याम्ब्रिज वा अन्य अमेरीकी बिश्वबिद्यालयको झैं भब्य भवन । यो कुराले एकछिन रनभुल्लमा पनि पार्यो । किन यत्रो प्रख्यात बिश्वबिद्यालयको त्यस्तो खालको भवन नभएको होला ।


    यसबाट त्यही बुझियो कि भब्य भवनले मात्र उत्कृष्ट अध्ययन, अध्यापन र ख्याति पाउने होइन रहेछ ।
    झण्डै महिना दिन अघिको खवर मिस नेपाल २०१८ श्रृङ्खला खतिवडा स्कलरसिपमा हार्वड पढ्न आइन रे । नेपालका कयौं राष्ट्रिय संचारमाध्यमहरुले यसलाई चर्चा नै गरे । सामाजिक संजालमा छलफल कै विषय बन्यो । कतिले भने देशमा महामारी छ, भद्रगोल छ, सानो सानो अवसर नपाउने कैयन छन, मिस नेपालको हार्वडको यात्रालाई लिएर किन यतिबिधि हल्लाखल्ला ? एक मन त हो जस्तो पनि लाग्यो । चुहिएका छानामुनि किताव भिज्नबाट कसरी जोगाउने भन्ने पिरबीच पढ्न बाध्य कयौं बालबालिकाहरु भएको मुलुकमा किन एक अवसर नै अवसरबीच बाँचेका मान्छेको यो चर्चा ? तर सकारात्मक भएर सोच्ने हो भने यो चर्चाले नेपाली जनजनमा पुगेको एउटा नाम जसले गरेको मेहेनतले बिश्वको उत्कृष्ट विश्वबिद्यालयमा छात्रबृत्तिको अवसर पाउँदो रहेछ न कि उसको आर्थिक र सामाजिक अवस्थाले भन्ने चै सावित गर्यो। मेहेनत गरेमा आज चुहिने छानामुनि संर्घष गर्दै गरेकाहरु नै भोली कुनै बिख्यात बिश्वबिद्यालयमा शोधपत्र पो बुझाउदै हुन्छन कि ! विगतमा कयौं नेपालीहरुले अध्ययन गरिसकेको ठाँउमा पढ्न गइरहेकी श्रृङ्खला खतिवडा कै यतिबिधि चर्चा किन भन्ने प्रश्न उठ्नु जायज पनि हो । नेपाली समाजमा चर्चा बटुलीसकेर या भनौं मिस वल्र्डको ताजको अन्तिम खुड्किलोसम्म पुग्न सफल भएर पनि हुन सक्छ, उनको हार्वड यात्रालाई बिशेष बनायो ।
    जीवनमा रहर पाल्नुपर्छ । तँ आँट म पुर्याउँछु भन्ने नेपाली उखानलाई समयसान्दर्भिक मान्दै बिचार गर्ने हो भने हरेक मानिस आशावादी हुनुपर्छ । आफुलाई मनपर्ने पुस्तक पढ्न पाए झैं, मनपर्ने कलाकारसंग भेट गरे झैं, मनले खाएको र उम्दा बिश्वबिद्यालयमा पढ्न पाउनु वा सामिप्यमा रही अध्ययन गर्न पाउँ भन्ने हरकोहीको सपना हुन्छ । कसैको यी र यस्ता सबै चाहाना पुरा नहुन सक्छ तर ति सपना र चहाना पुरा गर्नको लागी अवसर सबैलाई बरावर उपलब्ध हुन्छन भनि आज सबै मुलुकका मौलिकहकहरुले बोलेका छन । मेरो हार्वड हेर्ने रहर केही नौलो, अनौठो र बिष्मयका साथ पुरा भए पनि यी र यस्ता बिश्वबिद्यालय अध्ययन गर्न चाहने बिद्यार्थीहरुको रहर सहजै पुरा हुनुपर्छ चाहे त्यो स्कलरशिपमा होस या स्वलगानिमा ।
    अन्तमा श्रृङ्खलाको हार्वडको यात्राले दुरदराजका नेपाली बिद्यार्थीहरुले प्रेरणा मिल्न सकोस् ।

  • नराम्रो सपना

    नराम्रो सपना

    लक्ष्मी श्रेष्ठ, न्युयोर्क

    मध्य रातमा ऊ ब्युझिन्छ
    देब्रे छाति छाम्छ, ढुकढुकी
    एकनासले बढी रहन्छ
    पसीना पसीनाले उसको शरिर
    निथ्रुक्क भिजिसकेछ!
    साईडको बट्टाबाट टिस्यु झिक्छ
    निधार र घाँटीको पसीना पुच्छ
    साईडको ग्लासको पानी
    एक्कै स्वासमा घुट्क्याउँछ
    सिरानीमा अडेस लगाएर बस्दै
    लामो लामो स्वास फेर्छ!

    उसले एउटा डरलाग्दो सपना पो देखेछ
    सपनामा – मुखुण्डो लगाएका
    राक्षसहरुले उसको आमालाई
    जबरजस्ति घिच्याउँदै रहेछन्
    राक्षसहरुबाट बचाउन ऊ बल लगाएर
    आमाको फरियामा झुण्डिएर आफुतिर तान्दोरहेछ
    राक्षसहरुले लुच्छ्दा-लुच्छ्दा शरिरमा
    करंग मात्रै बाँकी रहेकी,
    रुँदा-रुँदै आँखा भित्र गढेकी
    आफुलाई बेसहारा महसुस गर्दै
    थकित गलित उसकी आमा,
    कपाल फिंजाएर चिच्याउँदै, कराउँदै
    आफ्नो ज्यानको भिख माग्दै गर्दा पनि
    ती मुखुण्डोधारीहरुले
    आमालाई घिच्याउन नछोडेको देख्दा
    उ रुँदै-कराउँदै गुहार माग्दैरहेछ!

    मुखुण्डोधारीहरुले जबरजस्ति
    उसको मुख बन्द गरिदिएछन्
    आँखामा धारिलो सुईराले घोचिदिएछन्
    सम्पूर्ण शरिरमा फलामका डण्डाहरु बज्रिएछन्
    आमाको दशा देखेर उसको मन
    छियाछिया भएछ
    ऊ आफुलाई बिल्कुल निरीह ठान्दा-ठान्दै पनि
    ‘मेरी आमालाई कसैको हातमा नबेच’ भन्दै
    आफ्नो घुँडा जमिनमा धसेर
    रगताम्य हात जोड्दै
    आँखाबाट बलिन्द्रधारा रगतको
    आँसु खसाल्दै,
    मुखुण्डोधारीहरुसँग
    आमाको अस्तित्वको भिख माग्दै रहेछ
    आमाको अस्मिताको भिख माग्दै रहेछ
    आमाको स्वाधिनताको भिख माग्दै रहेछ !!

  • एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता

    एमसिसी निर्णय, राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यता

    सुपेन्द्र बस्नेत, बोष्टन

    केही दिन यता नेपालमा सडकदेखि सदनसम्म चर्का चर्की बहसको विषय बनेको छ -एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)।लामो समयदेखि कार्यान्वयनको विभिन्न चरणहरु पार गरिसकेको, तर गुमराहमा राखिएको एमसिसी अहिले एकाएक छताछुल्ल भएको छ।
    नेपाल र दातृराष्ट्र अमेरिकाको वैधानिक सरकारी निकाय एमसिसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन)बीचको यो ‘मिलेनियम च्यालेन्ज संझौता’ लाई अन्तिम वैधानिक मान्यता दिन संसदबाट अनुमोदन गराउनका लागि आवश्यक माहोल बनाउन अमेरिकाबाट एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली नेपाल दौडाहमा रहिरहेका बेला, नेपाल सरकारले पनि कदममा कदम मिलाएर सक्रियता बढाएपछि यस उपरको बहस छताछुल्ल भएको हो। कोही पक्षमा त कोही विपक्षमा उभिएर बहस गर्दै छन्। कोही मौनता साँधी रहेका छन्। जनता पनि यस विषय उपर निकै चासो र चिन्ता देखाउदै बहसमा उत्रिरहेका छन्। कतिले यसको मूल मर्मको गहन अध्ययन गरेर त, कतिले लही लहीमा लागेर यसको पक्ष वा विपक्षमा आफ्नो मत जारी गरिरहेका छन् भने , कति विविध कारणले अझै मौन नै छन्। यस संझौताको विपक्षीहरु बहस र विरोधका लागि सदनदेखि सडकसम्म अनिष्ट हुने संकेतसहित प्रस्तुत भैरहेका छन्। अर्कोतिर अमेरिकाको भन्ने बित्तिकै सास पनि दुर्गन्ध मान्ने जाने दुस्मनहरु र अमेरिकाको भने पछि दिसा पनि सुगन्ध मान्ने अन्धभक्तहरुका बिचको जुँगाको लडाईले अवस्थालाई थप जटिलतातिर धकेलिरहेको छ। यस्तो अवस्थामा देशी विदेशी नेपाल विरोधी शक्तिहरुले आफ्नो स्वार्थपूर्तिका लागि आ-आफ्ना पक्षधरहरुलाई उग्र बनाउन मलजल गरिरहेका छन्। कोठा, सडक हुदै सदनसम्म छिरेको जनसरोकारको यस विषयलाई राष्ट्रियकरण गरिनुको सट्टा, राजनितिकरण गरेर दलीय स्वार्थ अनुसार व्याख्या र विश्लेषण गरिनु र विद्धत वर्गहरुमा पनि व्यक्तिगत स्वार्थका कारण मतैक्यता नहुनु , नेपाल र नेपालीका लागि दुर्भाग्य हो। साच्चै भन्नु पर्दा देशलाई यतिबेला ठूलोधर्मसंकट परिरहेको छ।आजको प्रतिस्पर्धि र विश्वव्यापिकरणको युगमा राष्ट्रियता, देशभक्ति, स्वाधिनता र स्वाभिमानका नाममा अरुसंग सहकार्य नै नगरी अघि बढ्न खोज्नु मुर्खता हुन सक्छ। त्यसमाथि पनि नेपाल जस्तो सानो र भूपरिवेष्टिक राष्ट्रलाई त झन निकै गाह्रो छ । चलायमान विश्वको एउटा कुनामा परेको कुनै पनि प्रभाव, अन्य कुनै पनि कुनामा धेर थोर पर्छ नै। त्यसैले एक आपसमा सद्भावना, ससम्मान, सहअस्तित्व र स्वाधिनतासहितको पारसपरिक सहयोग आदानप्रदान अपरिहार्य नै छ । तर, राष्ट्रियताको सबालमा कुनै पनि राष्ट्रले सहयोग स्विकार गर्दा दिनेको सहयोगमा अन्तरनिहित स्वार्थलाई गहन अध्ययन गरी दुरगामी प्रभावको शुक्ष्म विश्लेषण जो कोहीले गरेएकै हुन्छ। जो नेपालले पनि गर्न जरुरी छ। कुनै पनि सहयोग कसैले लगाएको हाउगुजीको लही लहीमा लागेर न त अस्विकार गर्नु हुन्छ, न त लोभलालच र डरत्रासमा परेर स्विकार गर्नु नै हुन्छ। दातृराष्ट्र वा दातृनिकायहरुको दान, अनुदान,ऋण वा कुनै पनि प्रकारको सहयोग स्विकार गर्नु पूर्व राष्ट्रिया, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई सर्वोपरी ठानी दुरगामी विश्लेषण गरिनु अपरिहार्य छ। यसो गर्दा देशको मेरुदण्डको रुपमा रहेको पञ्चशील सिद्धान्त १)क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान २) आन्तरिक मामलामा अहस्तक्षेप ३) शान्तिपूर्ण सहअस्तित्व ४)अनाक्रमण
    र ५) समानता र पारस्परिक लाभ) र असंलग्नतालाई मुल मन्त्र बनाउनु अपरिहार्य छ।जो वर्तमानमा नेपालका लागि ‘निर्वकल्प ‘सुत्र’ हो। जसले नेपालमा इतिहासदेखि नै निरन्तरता पाउदै आइरहेको छ । र, सोही मुताबिक राष्ट्रिय तथा अन्तराष्ट्रिय भौगोलिक, आर्थिक, राजनितिक, राजनितिक, शैक्षिक लगायत बिषयहरुलाई मध्यनजर गर्दै पञ्चशीलको सिद्धान्त र असंलग्नतालाई प्राथमिकताका साथ समेटेर देशले परराष्ट्र निति पनि बनाउदै आइएको छ। नेपालको पछिल्लो परराष्ट्र नीति २०७७ ले पनि पञ्चशीलको सिद्धान्त र असंलग्नतालाई प्राथमिकता दिदै आफ्नो मार्गदर्शक सिद्धान्त र मान्यताहरु तय गरेको छ। ”समृद्ध नेपाल, सुखी नेपाली ”को राष्ट्रिय आकांक्षा पुरा गर्न तयार पारिएको परराष्ट्र निति २०७७ मा , यि मार्गदर्शक सिद्धान्त र मान्यताहरु समेटिएका छन् ।
    १) नेपालको स्वतन्त्रता , सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवम् राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि ।
    २) सार्वभौमिक समानता ।
    ३) पञ्चशीलको सिद्धान्त ।
    ४) संयुक्त राष्ट्रसंघको बडापत्रको भावना ।
    ५) असंलग्नता ।
    ६) पारस्परिक सम्मान र लाभ ।
    ७) अन्तराष्ट्रिय कानून र विश्वशान्तिको मान्यता ।
    ८) विवादको शान्तिपूर्ण समाधान ।
    ९) अन्तराष्ट्रिय सहयोग ।
    १०) न्याय, समानता र जवाफदेहीता ।
    ११) पारस्परिक मित्रता, सहयोग र सहकार्य ।
    १२) लोकतन्त्र, मानवअधिकार र विधिको शासन ।
    १३) आर्थिक समुन्नति र समृद्धि ।
    १४) पर्यावरणीय सन्तुलन, मानव जातिको सुरक्षा र पृथ्वीको संरक्षण।

    संसारका जो कोहीसंग सहयोग र सहकार्यका लागि हात बढाउदा, यिनै देशको मार्गदर्शक सिद्धान्त र मान्यताहरुलाई आत्मसात् गरेर अघि बढ्नु अपरिहार्य छ । जो नेपालको संविधानको भावना र मर्ममा आधारित छन् ।
    विविध कारणले वर्तमान विश्व परिवेषमा नेपालका लागि भारतको विकल्प चीन वा चीनको विकल्प भारत वा यि दुबैको विकल्प पश्चिमा वा अमेरिका, अमेरिकाको वा पश्चिमाको विकल्प यि दुईमा कुनै एक वा दुबै वा यिनीहरु भन्दा अर्को कुनै हुनै सक्दैन।हरेकको आ-आफ्नै विशिष्ट महत्व छ र सोही अनुसार सबैसंग नेपालको दौत्य सम्बन्ध पनि स्थापित छ।जसलाई राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानी भावी दिनमा पनि देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै समृद्धि भेटाउन अझै जीवन्त र सशक्त बनाई सबैसंगको सम्बन्ध र ब्यवहार सन्तुलित राख्नु अनिवार्य छ। नेपाली जनता यस अभियानमा जुट्न चुक्नु हुदैन । अहिले सर्वत्र मुलतः एमसिसी(मिलेनियम च्यालेन्ज)संझौता, मित्र राष्ट्र अमेरिका, भारत, चीन र युरोपियन युनियनको भूमिकाका सवालमा यिनै पेरिफेरीमा रहेर चिन्तन, मनन र बहस भै रहेका छन्। बहस र आफ्नो अभिमत राख्ने क्रममा देशभक्तिका नाममा जानेर वा अन्जानमा, निर्देशित भएर वा स्वस्फूर्त भएर उक्त मार्गदर्शक सिद्धान्त र मान्यताको खिलापमा लक्ष्मण रेखा पार गरी व्यक्त केही मत र गरिएका केही हर्कतहरु पक्कै पनि दुःखद, चिन्ताजनक र राष्ट्रहीत बिपरित छन् नै।आवेग र उत्तेजनामा आएर मित्रराष्ट्रहरुका विरुद्ध ओकलिएको आगोले उनीहरुलाई भन्दा नेपालीहरुलाई नै बढी पोल्छ भन्ने कुरा विगतका तिता अनुभवहरुले पुष्टि गर्दछ। यस्तो तरल अवस्थाको मौका छोपी धमिलो पानीमा माछा मार्ने दाउमा रहेकाहरुप्रति देश भक्त जनता सचेत र संवेदनशील हुनु जरुरी छ । यस्ता अप्रिय घटनाहरुको मुख्य जिम्मेवार भने सरकार र सरोकारवालाहरु नै हुन्। यस मामलामा अहिले अरु विषयहरु भन्दा एमसिसी चर्चाको सबैभन्दा अग्रपंक्तिमा रहेको छ । राष्ट्रिय सरोकारको महत्वपूर्ण यस विषयलाई गुमराहमा राख्नु र समयमा नै जनस्तरमा चलेको बहस र जनताले देखाएको जिज्ञासा, चासो र चिन्तालाई स्पष्ट हुने गरी सम्बोधन नगरिनुको परिणाम नै हाल देखिएका अप्रिय घटनाहरु हुन्। यस्तो चिन्ताजनक अवस्थामा एमसिसिका बारेमा सडकदेखि सदनसम्म विभिन्न कोणले उठिरहेका आवाजहरु सम्बोधन नगरी र उर्लिरहेका विरोधका छालहरुलाई साम्य नपारी अघि बढ्न खोज्नु, स्थितिलाई थप जटिलतातिर धकेलेर अप्रिय दुर्घटना निम्त्याउनु हो । जो न त नेपालका लागि हितकर हुन्छ, न त अमेरिकाकै लागि । तसर्थ, यसप्रति नेपाल र अमेरिका दुबै सचेत र संवेदनशील हुन जरुरी छ । जनताको जिज्ञासा , चासो , चिन्ता, अभिव्यक्त विचार र प्रदर्शित प्रतिक्रियाहरुलाई राज्यले सकारात्मक रुपमा लिनै पर्दछ। जो एक सचेत देशभक्त जिम्मेवार लोकतन्त्रवादी नागरिकको संविधान प्रदत्त अधिकार र कर्तव्य पनि हो। जसले राष्ट्रिय हितार्थ सही निर्णय गर्नमा महत्वपूर्ण योगदान पुर्याउदछ। र, उनीहरुलाई निर्णयको जस्तो सुकै परिणाम आए पनि जिम्मेवार र हिस्सेदार बनाउछ । राष्ट्रियता, देशभक्ति, स्वाधिनता, सार्वभौमिकता र अखण्डतालाई लिएर जो कोही देशका देशभक्त जनताले चासो, चिन्ता, चिन्तन मनन र बहस गर्दछन् । अमेरिकी जनताले पनि गर्छन् नै । त्यसैले, यस विषयलाई लिएर अमेरिका जस्तो लोकतान्त्रिक, विश्व शक्ति र नेपालको एक हितैसी मित्र राष्ट्रले नेपाली जनस्तरबाट उठेका यस्ता प्रतिक्रियाहरुलाई आफ्नो विरोध वा बिरुद्धको गतिविध संझनु कदाचित हुदैन। बरु नेपाली जनताको जिज्ञासा, चिन्ता, चासो र परिस्थितिलाई मनन गर्दै उनीहरुलाई स्पष्ट पार्न र उनीहरुको भावनालाई सम्बोधन गर्न आवश्य भूमिका निर्वाह गर्नु पर्दछ ।

    अतः अहिलेको समय,काल,परिस्थिति यस्तो भै सक्यो कि मानिस सामान्य आफ्नै कर्तब्य पालना गर्दा पनि ‘खुन’नै बगाएर ‘गुन’लगाएको झै गरी साँवा, ब्याज र ब्याजको स्याज समेत उठौतिका लागि घुँडा धसेर लाग्छ।आफ्नै छायाँले मौका पाउदा लुकामारी खेल्छ।फाइदा र घाटको हिसाब किताब गर्छ।दुनियाको नजरमा भगवानकै नाममा ‘दानै’ दिनेले त सकेसम्म दिएको ‘दान’ भन्दा अधिक धन उठाउने, नसके पनि मान-सम्मान’को भोक मेटाउन ‘दानको बदला नाम ‘को अपेक्षा राख्दै सके लिखितै नसके अलिखित सम्झौंता गर्ने गर्छ भने अनुदानको त झन के कुरा भो र? जसमा अन्तरनिहित स्वार्थ पारदर्शी रुपमा नै कुनै न कुनै रुपमा संझौतामै समेटिएकै हुन्छ नै। जो एमसिसमा पनि छ। बस त्यसलाई बुझ्नु, गहन अध्ययन गर्नु र मनन गर्नु जरुरी छ। त्यति मात्र नभएर, अमेरिकाले दिएको चासो, प्राथमिकता, अनुरोध, बेला बखतका स्पष्टिकरणहरु र क्रियाकलापहरुले पनि बुझ्नलाई थप सहजिकरण गरेकै छ । तसर्थ, कुरा स्पस्ट छ कि , राष्ट्रिय स्वार्थ मिले र राष्ट्रिय भलो रहेको देखिए अघि बढ्ने, नमिले नबढ्ने।यस सम्बन्धमा अब नेपालले आफ्नो राष्ट्रिय मार्गदर्शक सिद्धान्त र मान्यताहरुलाई अक्षरस पालना गर्दै अमेरिकासंग खुलेर छलफल गरी निकास निकाल्न विलम्ब गर्नु हुदैन ।

  • अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण

    अमेरिकामा सम्पन्न पुम्से प्रतियोगितामा नेपालीलाई स्वर्ण

    न्युयोर्क

    फ्लोरिडा ओपन तेक्वान्दो प्रतियोगिताको १४औं संस्करण अन्तर्गत फ्लोरिडा ओपन अनलाईन तेक्वान्दो प्रतियोगिता – २०२१ सेप्टेम्बर ११-१२ मा अमेरिकाको फ्लोरिडामा सम्पन्न भएको छ । ओङ तेक्वान्दो स्कुलको (Ong’s Taekowndo Academy) आयोजनामा अमेरिकाको फ्लोरिडामा सम्पन्न प्रतियोगितामा नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड, फ्रान्स, फिलिपिन्स , स्लोभेनियाको सहभागिता थियो । पुम्से भर्चुअल स्पायरिडङ, स्पिड किकीड:, ब्रेकिङ, विपन्स र पाराको विघाहरुमा प्रतिस्पर्धा भएको थियो ।

    नेपाली खेलाडी सन्जिव नेपालीले पुम्से पुरूष ३०-४० ऊमेर समुहमा ६.००० अंक सहित स्वर्ण पदक जित्न सफल, ४.९३४ अंकले अमेरिकाका क्लेभ कोलाडो रजत र त्यसैगरी पुरूष ४०-५० उमेर समुहमा प्रेमकुमार दर्नालले ट्रेडीस्नल पुम्सेमा ५.७०० अंक सहित स्वर्ण पदक जितेका छन भने स्पोर्ट पुम्से तर्फ ५.८१७ अंकका साथ रजत पदक जिते भने स्विट्जरल्याण्डका डी फ्रेईता फ्रान्कोले ६.५१७ अंक लिई स्वर्ण जितेका छन् ।

    महिला ट्रेडीसनल पुम्से १८-३० ऊमेर समुहमा सन्दिपा अमगाई ५.४३३ अंक सहित रजत पदक जितिन भने फिलिपिन्सकी श्यन्लर सेडो ले ५.७०० ले स्वर्ण पदक जितेका छन् । त्यसैगरी सन्दीपाले स्पोर्टस पुम्से तर्फ ५.४५० अंक लिदै कास्य पदक जितिन भने अमेरिकाकी नतालीया मुनटोन ६.९६७ स्वर्ण पदक, फ्रान्सकी जाट्कोभीक टमाराले ६.१५० अंक सहित रजत पदक जितेका छन्
    ।

  • एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

    एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

    विश्वसन्देश संवाददाता

    नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले मताधिकारसहितका प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० आँै विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेट्स राख्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडि नबढाउन माग गरिएको थियो । त्यसैको आधारमा आइसिसीलाई मन्त्रालयले पत्राचार गरेर निर्देशन दिएको हो ।
    विभिन्न २५ देशका अध्यक्षलगायत प्रतिनिधिहरुको नाम संलग्न गरि गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरु उल्लेख गरिएको थियो । एनआरएनए आइसिसी पूर्व सचिव जानकी गुरुङ, कतारबाट मानार्थ सदस्य नवराज ओली (शनि) र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेलले सो उजुरी दिएका थिए । मन्त्रालयले सो उजुरीलाई आधार मान्दै तत्काल निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन र मतदाता नामावली छानवीन गर्न समेत एनआरएनए आइसिसीलाई निर्देशन दिएको छ ।

    परराष्ट्रको उक्त निर्देशनपछी आफु निवेदकहरुलगायत विश्वमा रहेका अन्यायमा परेका गैरआवासीय नेपालीहरुले केही भने पनि न्याय पाएको निवेदक वेद खरेलले बताए । खरेलले परराष्ट्रको निर्देशन तुरुन्त पालना गर्नुपर्ने बताए ।
    एनआरएनए आइसिसीको आइतबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयले पठाएको पत्रका बारेमा बृहत छलफल गरिएको एक पदाधिकारीले बताएका छन् । उक्त बैठकमा उपाध्यक्ष बद्री केसी र महासचिब हेमराज शर्माले परराष्ट्र मन्त्रालयविरुद्ध अदालत जानुपर्ने आवाज उठाएका थिए । उनीहरुले राजनीतिक हस्तक्षेप गरिएको भन्दै कानुनी लडाई लड्नुपर्नेमा जोड दिएका हुन् । आइतबारको बैठकमा केसी र शर्माले मन्त्रालयले कुनै राजनीतिक पार्टीको दबाबमा सो पत्र पठाएको पनि आरोप लगाएको एक पदाधिकारीले विश्वसन्देशलाई बताए । तर, बैठकमा संघका उपाध्यक्ष सोनाम लामा, मन केसी, सहकोषाध्यक्ष लोक दाहाललगायतले नियमनकारी निकाय परराष्ट्र मन्त्रालयको निर्देशन मानेर अगाडि बढनुपर्ने बताए । उपाध्यक्ष मन केसीले पहिलेदेखि नै संघमा मोनोपोली भएकोले यो अबस्था आएको र तत्काल धैर्यतापुर्वक तवरले अहिलेको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।
    अध्यक्ष कुमार पन्तले बैठकमा परराष्ट्रको पत्र पढेर मात्रै सुनाएका थिए । उनले पत्र अन्य पदाधिकारीलाई दिंदा बाहिर सार्बजनिक हुने डरले पढेर मात्रै सुनाएको बैठकमा बताएका थिए । पन्तले तुरुन्तै नेपाल आएर परराष्ट्र मन्त्रालयसँग छलफल गरेर अगाडि बढ़ने बताएका छन । यता परराष्ट्र मन्त्रालयका सहसचिब भरतकुमार रेग्मीले एनआरएनएका बारेमा उजुरी परेपछि छानबिन समितिले प्रतिनिधि विवाद नटुङ्गिदासम्म निर्वाचन प्रकृया अगाडि नवढाउन निर्देशन दिएको बताए ।
    नेपाल सरकारको गैरआवासीय नेपाली संबन्धि निमवाली २०६६ को नियम ५ को ब्यबस्था १ र २ मा संघ संचालन हुन नसके बिघटन हुने ब्यबस्था समेत रहेको छ । ५ को नियम २ को उपनियम १ मा परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अनुगमन गर्नसक्ने ब्यबस्था छ । उपनियम २ को २ मा यस्तो अनुगमन गर्दा संघको काम कारबाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्नेछ भनिएको छ । सोहि खण्डको उपनियम २ को ३ मा दिएको निर्देशन पालना गर्नु संघको कर्तब्य हुनेछ भनिएको छ ।
    एनआरएनए विवादमा मिसियो परराष्ट्र मन्त्रालय ः गोलचक्कर प्रश्नको वर्षा !
    गैरआवासीय नेपाली संघको (एनआरएनए) महाधिवेशनलाई लिएर त्रिपक्षीय पत्राचार सुरु भएको छ । विभिन्न देशमा देखिएको प्रतिनिधि छनोट सम्बन्धी विवादमा परराष्ट्र मन्त्रालय पनि मिसिएको छ । महाधिवेशनका बारेमा मन्त्रालयले एनआरएनए आइसिसीलाई पत्राचार गरेर विवादमा चासो व्यक्त गरेको छ । आइसिसीलाई पत्राचार गरेर मन्त्रालयले आगामी निर्वाचन निष्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउने आधार माग गरेको मन्त्रालयका एक कर्मचारीले विश्वसन्देशलाई जानकारी दिए । परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार शर्माले हस्ताक्षर गरेको पत्राचारमा पाँच दिनको समय दिइएको छ । आइसिसीलाई मन्त्रालयले पत्राचार गरेपछि वर्तमान महासचिव डा.हेमराज शर्मासहितको टोली असन्तुष्ट बनेको छ । महासचिव शर्माले छिट्टै पत्रको जवाफ दिने बताएका छन् ।
    एनआरएनए जापानको निर्वाचनका क्रममा देखिएको अनियमिततामा टेकेर मन्त्रालयले केन्द्रीय निर्वाचनका विषयमा प्रश्न उठाएको छ । त्यसो त एनआरएनए आइसिसीलाई चुनावको निष्पक्षतामा प्रश्न उठाएर पत्राचार गरिएको यो पहिलो घटना हो । पत्रमा महाधिवेशनमा मतदान गर्न पाउने प्रतिनिधिका विषयमासमेत प्रश्न गरिएपछि वर्तमान उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा. बद्री केसी समूहले असन्तुष्टि जनाएको छ । मन्त्रालयले मन्त्रालयमा प्राप्त गुनासोलाई पनि पत्रमा उल्लेख गरेको छ । मन्त्रालयको पत्र प्राप्त गरेपछि डा. केसीले केही व्यक्तिले नेतालाई गुहार्दा समस्या भएको प्रतिक्रिया दिएका छन् । महासचिव डा. शर्माले मन्त्रालयको भूमिकाप्रति प्रतिप्रश्न उठाएका छन् । उनले विभिन्न देशमा आन्तरिक कानून मान्ने एनसिसीमा मन्त्रालयको चासोले राम्रो नगरेको बताए । महासचिव शर्माले अनलाइन निर्वाचन प्रणालीमा केही समस्या आउने कुरामा आफूहरु सजग भएको बताएका छन् ।
    परराष्ट्र मन्त्रालयको पत्राचारलाई अध्यक्षका प्रत्यासी एवं पूर्वउपाध्यक्ष कुल आचार्य समूहले सकरात्मकरुपमा लिएको छ भने केसी समूहले नकरात्मकरुपमा लिएको छ । आचार्य समूहले मन्त्रालयको पत्रलाई स्वभाविकरुपमा लिनुपर्नेमा जोड दिएको छ । आचार्य समूहले प्रविधिको दुरुपयोग गर्दै एनसिसी जापानमा धाँधली गरेको कुरा पुष्टि भएकाले केसी समूहले आइसिसीको चुनावमा पनि त्यस्तै गर्नसक्ने आशंका व्यक्त गरेको छ । तर, महासचिव शर्मासहितका नेताहरुले भने नेपालमा कांग्रेसको नेतृत्वमा सरकार बनेको र त्यसको दुरुपयोग आचार्य समूहले गरेको आरोप लगाएका छन् । बेलायत, पोर्चुगल, साइप्रसलगायतका देशमा पनि छानबिन हुनुपर्नेमा केसी समूहको जोड रहेको छ ।
    प्रतिनिधिको विवाद उत्कर्षमा, अधिवेशन हुनेमा शंका ?
    एनआरएनए आइसिसीको प्रतिनिधि छनोटमा पनि तीब्र विवाद भएको छ । मंगलबार राति प्रतिनिधिको नाम सार्वजनिक भएपछि आचार्य समूहले संसारभरका एनसिसीमा एकाएक प्रतिनिधि परिवर्तन भएको, धाँधली गरिएको आरोप लगाएको छ । आचार्य निकट व्यक्तिहरुले परराष्ट्र मन्त्रालयमा थप उजुरी दिएर विवाद समाधान नभएसम्म महाधिवेशन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् । युरोपका विभिन्न देशमा केसी समूहले धाँधली गरेको आरोप लगाइएको छ । सदस्यता थपिएको, प्रतिनिधिको हेरफेर गरिएको, आफू अनुकूल नभएका व्यक्तिलाई हटाइएको, कुनै देशमा एउटा र अर्को देशमा अर्कै मापदण्डमा प्रतिनिधि छनोटमा दबाब दिइएको लगायतका आरोप आचार्य समूहले लगाएको छ ।
    विभिन्न प्रकारका आरोप लगाएर परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि महासचिव शर्माले सबै प्रश्नको जवाफ दिनका लागि आफू तयार रहेको बताएका छन् । उनले झुटा आरोप र विधानमा हुँदै नभएका कुरा उल्लेख गर्दै परराष्ट्रको ढोका घचघचाउनु एनआरएन अभियानकै लागि ठूलो धक्का भएको प्रतिक्रिया दिएका छन् । आफूहरुले विधानलाई फलो गरेकाले नियम नमान्ने व्यक्तिहरुले परराष्ट्र मन्त्रालयमा उजुरी हालेको उनको भनाइ छ । तर, आरोपहरुको एक एक गरेर जवाफ दिनका लागि आफू तयार रहेको शर्माले बताएका छन् । जुलाई ३१ मा अन्तिम सदस्यको सूची तयार हुनुपर्नेमा केही ठाउँमा समस्या देखिएकाले एमआईएसमा इन्ट्री हुन छुटका धेरै मेम्बरलाई थप गरिएको उनको प्रष्टिकरण छ ।
    आचार्य समूहले परराष्ट्रमा दर्ता गरेको उजुरीमा १९ प्रश्न
    १.केन्द्रीय महाधिवेशनका लागि छनौट गरिएको भनिएका प्रतिनिधिको नाम प्रकाशन गर्नु पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषद्को कूनै पनि बैठक नबसी छलफलसमेत नगरी नामावली प्रकाशित गरिएको ।
    २.अष्ट्रियाको वर्तमान कार्यसमितिका अध्यक्ष ,पूर्वकार्यसमितिका महासचिवलाई समेत प्रतिनिधि बन्नबाट बञ्चित गरिएको छ ।
    ३. ६५% प्रतिनिधि चयन प्रकृयामा चेक रिपब्लिकका संस्थापक अध्यक्ष जितेन्द्र रायमाझीलाई महाधिवेशन प्रतिनिधि चयन प्रकृयामा सहभागी नगराई एकतर्फि तवरबाट महाधिवेशन प्रतिनिधिको सिफारिसश गरिएको ।
    ४. समग्र राष्ट्रिय समन्वय परिषद्हरूमा ६५ र २५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्ने प्रकृया विधान विपरीत बाहालवाला कार्यसमितिका पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा निवार्चनलाई प्रभावित पार्ने गरी छनोट प्रकृयामा सहभागी भएको ।
    ५. २५% को व्यवस्थालाई अपव्याख्या र संस्थागत अनुरुप विभिन्न देशमा विभिन्न प्रकारले छनौट ।
    ६. अमेरिका, बेलायत, अस्ट्रेलिया निर्वाचित समितिले पठाएको ६५% र २५% लाई मान्यता विनाकारण विधान विपरीत दिइएन ।
    ७. नेदरल्याण्डमा ६५% र २५% नामवली नराखी नामावली प्रकाशित गरिएको छ ।
    ८. रसियाको हकमा, सदस्यता बितरण मिति ३१ जुलाई कायम रहेको र त्यो मितिभित्र एमआईएसमा नामावली आएको हुनु पर्नेमा जम्मा ४७४ इन्ट्री भएको र पछिको मितिमा ८८९ को पैसा तिरिएको देखाएर थप डेलिगेट इन्ट्री गरेर थप गरिएको ।
    ९. लक्जेम्बरगमा जम्मा ६० सदस्य रहेकोमा २६५ बनाएरे थप डेलिगेट बनाइको छ ।
    १०. न्युजिल्याण्डमा ५३८ सदस्य रहेकोमा हाल ७२० सदस्य कायम गरी एमआईएसमा थप गरी तथा ८८९ जम्मा गरी पैसा तिरेको आधार देखाएर ९२ जना डेलिगेट बनाइएको छ ।
    ११. कोस्टारिका, मेक्सिको, रुवाण्डा , टर्की जस्ता देश जसको गठन यो वर्ष भएको र जसको अधिवेशन गठन भएको ६ महिना पनि नभएको हुनाले र विधानमा दुई वर्ष पहिला नै हुनु पर्ने र सोअनुसार नगरिएकोले उक्त देशहरुका डेलिगेट्सले भाग लिन नपाउने हुनु पर्दछ ।
    १२. हरेक रिजनको आरसीको सुपरविजन र सहमतिमा प्रतिनिधि कायम गर्नु पर्ने भनिएको मा युरोप रिजनका आरसी नारायण आचार्यलाई बेवास्ता गर्दै उनको क्षेत्र युरोपमा व्यापक धाँधली गरिएको छ ।
    १३. साइप्रसको ६५% मा थोरै संख्या पठाएकोमा नया कार्य समितिले नयाँ कार्यसमितिको नाम थपी ६५% पु¥याएर पठाएको तथा २५% मा नया नामहरू मनोनयन गरेर पठाएकोमा नया कार्य समितिले पठाएको कुनै कुरा सुनवाइ नभएको ।
    १४. आएरल्याण्डको २५% लिस्ट राखिएन, ६५% मा सहमति गरी पठाएकोमा नाम नराखी ‘इलिजिवेल ‘मानिसहरूको नामावली राखी ६५% प्रकाशित गरिएको छ । उक्त नामावली प्रकासन गर्दा एकपटक पनि एनसीसीमा न बसेका व्यक्तिहरू राखिएको छ । त्यसै गरी सभापतिले ६ पटकसम्म इमेल पठाउँदा पनि कुनै रेस्पोन्स नगरिएको, ६४२ जनाको ४२ हुनुपर्ने मा ४९ जना प्रतिनिधि बनाएर पठाएको ।
    १५. जापानको निर्वाचनमा एमआईएस सिस्टममा र निर्वाचनमा व्यापक धाँधली भएको प्रतिवेदन पेस भैसकेपछि त्यसमा छानबिन नै नगरी नामावली एकलौटी रूपमा प्रकाशन गरिएको छ ।
    १६. ६५% प्रतिनिधिमा नया कार्यसमितिलाई समेटिने भन्ने कुरा विधानमा वर्तमान कार्यसमिति भएकोमा त्यसलाई पालना नगरी आफ्नो अनुसार मनोमानि गरिएको । कति देशमा राखिएको कति देशमा जानी जानी फालिएको छ ।
    १७) एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको नाम निवर्तमान कार्य समितिले ६५ प्रतिशत सूचीमा समावेश गरेन। यहाँ सम्मकी नवनिर्वाचित अध्यक्ष गीता शर्मा खनालको नामपनि उक्त सूचीमा जानी जानी छुटाइएको छ ।
    १८) महासचिव हेमराज शर्मा, सचिव गौरी राज जोशीको मातहतमा रहेको केन्द्रीय सचिवालयले युके, अमेरिका, अस्ट्रेलिया जस्ता ठूला राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुलाई जानी जानी दुःख दिने काम गरिरहेको छ ।
    १९) बहराइनमा प्रतिनिधि छनौटको कुनै पनि वैधानिक कुरा पूरा न गरिएको । आफू खुसी आईसीसीमा नामावली पठाएको र आरसीसँग कुनै समन्वय नगरेको ।

  • छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ शेर्पाजद्वारा राहत बितरण

    छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ शेर्पाजद्वारा राहत बितरण

    दोलखा, भाद्र २४

    छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाजको संयुक्त आयोजनामा लपिलाङ -५, कालिन्चोव्क दोलखाका पहिरो पीडितलाई राहत वितरण गरेका छन् । कालिन्ङचोक गापा लापिलाङ वडा ४, इकाई इन्चार्ज सहदेव खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष शेर्पाले राहत प्रदान गरेका हुन् ।

    पहिरो पिडितहरुलाई ३५६ ब्लाकेन्ट, १०८ ऊनी सुइटर, ४००० पिस मास्क र ४००० लिटर स्यानिटाइजर बितरण गरेका छन् । कार्यक्रममा बोल्दै शेर्पाले; “फाउण्डेसनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने” बताएका छन्।

  • नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

    नेकोन नेपाली विद्यालयको दीक्षान्त समारोह सम्पन्न

    कनेक्टिकट, अमेरिका

    कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा संचालित गृष्मकालीन नेपाली विद्यालयको दीक्षान्त समारोह गत अगस्ट २८ तारिख शनिवार वेस्ट हार्टफोर्डमा सम्पन्न भयो। वेस्ट हार्टफोर्ड पब्लिक स्कूलका सहायक सुपरिटेण्डेन्ट पाउल भिकिसनको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमका साथ् ३५ जना छात्र-छात्रा दीक्षित भए ।

    अमेरिकामा रहेर पनि नेपाली भाषा, कला साहित्य र संस्कृतिको विस्तार र प्रवर्धन गर्ने उदेश्यले विगतको वर्षहरुमा झैँ यस वर्ष पनि नेकोनले गत जुलाई १० तारिख देखि गृष्मकालीन नेपाली भाषा विद्यालय संचालन गरेको थियो । नेपाली र अमेरिकी राष्ट्रिय गीतबाट शुरुवात गरिएको दिक्षान्त समारोहका प्रमुख आकर्षणका रुपमा विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुको सांगीतिक प्रस्तुति रहेको थियो । जसको संयोजन संगीत प्रशिक्षक केशब शर्मा दाहालले गर्नु भएको थियो । समारोहमा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले दिनु भएको थियो भने विद्यालय र कार्यक्रमका बारेमा विद्यालयका संयोजक दिपेश भट्टले प्रकाश पार्नु भएको थियो ।

    उक्त विद्यालयमा सफल छात्र-छात्रालाई प्रमुख अतिथि सहायक सुपरिडेण्टेण्ड पाउल विकिसन जुनियर तथा संस्थाका अध्यक्ष नारायण पौडेलले संयुक्त रुपमा दीक्षित गर्नु भयो । नेपाली राष्ट्रिय टोपीमा सजिएका पाउलले हामी जहाँ भए पनि आफ्नो भाषा, ईतिहाँस, कला संस्कृतिको संरक्षण गर्नु पर्ने बताउँदै नेपाली विद्यालय संचालनको लागि नेकोनलाई विशेष धन्यवाद दिनु भयो । साथै वहाँले नेपाली समुदायको शैक्षिक विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

    समारोहका सभापति एवं संसाथाका अध्यक्ष नारायण पौडेलले विद्यालय संचालनमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरुमा पनि नेपाली विद्यालय संचालन गर्ने जानकारी दिनु भयो । कार्यक्रमका समिक्षा समालोचक एवं समिक्षक वक्ता प्रो. डा. केशव आचार्यले गर्नु भयो भने प्रमुख सल्लाहकार कृष्ण अधिकारीले दीक्षित भाई बहिनीहरुको उज्वल भविष्यको कामना गर्नु भयो । कार्यक्रमको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो भने शिक्षक प्रतिनिधिको रुपमा सानुमाया महर्जन, अभिभावक प्रतिनिधिको रुपमा डा. देवेन्द्र के.सी तथा विद्यार्थी प्रतिनिधिको रुपमा स्वस्तिक पन्तले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । दुई महिनाको लागि संचालित गृष्मकालीन नेपाली भाषा विद्यालयमा ३६ जना विद्यार्थी भाइबहिनीहरुको सहभागिता थियो ।

  • साइकल स्वस्थ जीवनको पर्याय

    साइकल स्वस्थ जीवनको पर्याय

    कुमार न्यौपाने, न्युयोर्क

    सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।


    जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
    केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।


    साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
    लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
    आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
    साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
    सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
    भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस ।

  • तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

    तीज मनाउँदै तरकारी बारीमा रमाउँदै सुवेदी परिवार

    सुपेन्द्र बस्नेत, बोष्टन

    चाहे नेपालमा हुन् या नेपाल बाहिर यतिबेला नेपाली नारीहरुलाई हरितालिका तीजका कारण भ्याइनभ्याइ छ । नेपाली महिलाहरुको महान चाडका रुपमा चिरपरिचित यो चाड नजिकिएका कारण नारीहरु आफ्नो अनुकूल मिलाउदै उत्साहका साथ चाड मनाउदै छन् । मुलत: हिन्दू धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरुमा आधारित भएतापनि लामो समयदेखि यो चाडलाई बहूआयामिक रुपमा मनाउदै आइरहिएको छ । जस अन्तरगत हुने जमघट, मिष्ठान्न भोजन र नाँचगान जस्ता क्रियाकलापहरुले, यो चाडको अझ रौनक थप्न, महत्व बढाउन र हर्षोल्लासमय बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ । तीज मनाउने क्रममा केही दिन अघिदेखि नै नारीहरु रातो पहिरन र सौभाग्यका आभूषणहरुले सुसज्जित भएर जमघट हुने, दर खाने र नाँचगान गरी मनोरञ्जन गर्ने कार्यक्रमहरुमा सहभागी हुन व्यस्त छन् । जसमा पुरुषहरुको पनि प्रतक्ष्य अप्रतक्ष्य साथ सहयोग र सहभागिता रहेको छ । यसबाट अछुतो हुनुहुन्न – उषा खड्का सुबेदी र उहाँको परिवार । नेपालको हेटौंडा जन्मथलो भएकी सुबेदी अमेरिकाको न्यू हेम्पसायरमा बस्नु हुन्छ । १५ वर्षअघि सपरिवार अमेरिका छिर्नु भएकी यि नारी एक सशक्त कदरयोग्य परिचय बनाउन सफल व्यक्तित्व हुनुहुन्छ। नेपालमा रहदा प्रजातन्त्रको पुनर्स्थापनासंगै राजनीतिमा होमिनु भएकी सुबेदीले नेपाल महिलासंघ, मकवानपुरकी जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दा , राजनीतिक र महिला शसक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । सामाजिक क्रियाकलापहरुमा पनि त्यतिनै सक्रिय रहनु हुने उहाँ एक कृषि व्यवसायी पनि हो। झण्डै २० वर्ष अघि कुखुरा पालन व्यवसाय गरेर जिल्लाकै एक सफल व्यवसायीको परिचय बनाउदै मनग्य दाम र नाम कमाउन पनि सफल हुनु भएको थियो । जुन कर्म अरुका लागि पनि प्रेरणादायी बनेको थियो ।


    विवाह पश्चात मकवानपुर छोड्न बाध्य हुनु भएकी सुबेदीलाई परिस्थितिले परदेशको यात्रा गरायो । र सपरिवार अमेरिका भित्रिनु भयो । अमेरिका छिरेपछि पारिवारिक जिम्मेवारीका कारण राजनीतिलाई निरन्तरता दिन सक्नु भएन । तर, सामाजिक क्रियाकलापहरुमा भने आफूलाई सकभर सक्रिय बनाउन चुक्नु भएको छैन । जसले गर्दा उहाँ न्यु हेम्पसायरमा बसोबास गर्ने नेपाली समुदायबीच चिरपरिचित हुनुहुन्छ । नेपाली भाषा, धर्म, भेष भुषा, संस्कृति , परम्परा, रितिरिवाज, पहिचानको संरक्षण तथा संबर्धनमा उहाँ र उहाँको परिवारको अमुल्य योगदान रहदै आएको छ । यसै सिलसिलामा नेपालीहरुको महान चाड हरितालिका तीजलाई समय तथा अवस्था अनुसार भरसक उल्लासमय र यादगार बनाउनमा सक्रिय रह्यो यो सुवेदी परिवार । गत वर्ष कोरोनाको कहरका कारण एकान्तवासबाटै तीजलाई बिदाइ गर्नु परेको थियो । यस पटक भने गत वर्षको भन्दा अवस्था केही सहज भएकाले अमेरिकाको मजदुर दिवसको बिदाको मौका छोपी आफ्नै निवासमा नजिकका साथीसंगीहरु जमघट गरेर ‘दर’ खाने कार्यक्रम गरिएको सुबेदीले बताउनु भयो। हरितालिका तीजका सम्बन्धमा थप जिज्ञासा राख्दा अलग धारमा कुरा गर्दै यस पटकको ‘तीज’ नारी र करेसाबारी बिचको समिश्रण स्मरण योग्य रहेको बिचार व्यक्त गर्नु भयो । यस पटकको ‘दर’ लाई आफ्नै करेसाबारीको तरकारीले स्वस्थ्य , स्वादिष्ट र भरसक अर्ग्यानिक बनाउने कोसिस गरिएको उहाँले जिकिर गर्नु भयो । हरेक वर्ष झै यस वर्ष पनि उहाँ र उहाँको परिवारको कडाँ मेहनतले करेसाबारीमा लोभै लाग्दा विभिन्न प्रकारका तरकारीहरुले भरिभराउ भएका छन् । सुबेदी भन्नु हुन्छ ‘ यसपालीको तीजको ‘दर’ आफ्नै करेसाबारीको तरकारीले स्वस्थ्य , स्वादिष्ट र भरसक अर्ग्यानिक बनाउने कोसिस गरियो । पाहुनाहरुले प्रसंशा गरिदिएका कारण खुसीले सारै गदगद छु । दर खाने निम्तो मान्न आएका पाहुनाहरु स्वादिष्ट दर खादै जिब्रो पड्काउदै धित मर्ने गरी नाँचगान समेत गरेर रमेका थिए ।
    केही दिन यता कोरोना संक्रमण बढेकाका कारण ठूलो संख्यामा जमघट हुन पावन्दी लागेका कारण घरघरमा ससानै जमघट गरेर भएपनि नारीहरु वर्ष दिनको चाड मनाउन भने चुकेका छैनन् ।


    करेसाबारीमा तरकारी गत वर्षको भन्दा पनि सप्रिएको र पर्याप्त भएको सुबेदीले बताउनु भयो । सुबेदी परिवारले हरेक वर्ष गर्मी मौसम प्रारम्भ भएसंगै करेसाबारीमा तरकारी खेति गर्ने, त्यही तरकारीले आफ्नो भान्सा रमाइलो र स्वादिष्ट बनाउने, छरछिमेकीहरुलाई पनि बाँड्ने र बाँकी रहेको तरकारीहरुलाई जाडो महिनाका लागि संचित गरेर राख्ने गर्दै आएको छ । यस पटक भने तीजको अवसर पारेर ‘दर’ खाने कार्यक्रम मार्फत आफ्नै करेसाबारीको तरकारी आफैले पकाएर दर खाने निम्तो मान्न आएका पाहुनाहरुलाई खुवाउन पाँउदा खुसीको छुट्टै अनुभूति भएको सुबेदीको भनाइ छ । मेरो अहोभाग्य रहेछ । यस पटकको तीजमा आफ्नै घरमा आफ्नै करेसाबारीको तरकारी सदुपयोग गरेर पाहुनाहरुलाई ‘दर’ खुवाउन पाँए। उहाँ भन्नु हुन्छ दर त हरेक वर्ष खाएकै हो । खुवाएकै हो । तर , यस वर्ष भने नेपाली पहिचान बोकेका परिकारहरुका साथमा आफ्नै करेसाबारीको तरकारी सदुपयोग गरेर ‘दर’ खान र खुवाउन पाएकोमा छुट्टै खुशीको अनुभूति भइरहेको छ।”
    झट्ट सुन्दा सामान्य बिषय जस्तो लागे तापनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाको सन्दर्भमा भने, करेसाबारीमा तरकारी खेति र ‘दर’ खाने कार्यक्रमा त्यसले पुर्याएको महत्वपूर्ण योगदान निकै महत्वपूर्ण , कदरयोग्य, प्रेरणादायी र अर्थपूर्ण रहेको छ । फलेका बोडी, लौका, काउली, खुर्सानी , घिरौला, फर्सी, आलु, चिप्लीभेडा, भन्टा , गोलभेडा , लसुन , प्याज , हरिया सागपात लगायत अर्ग्यानिक तकारीहरु लटरम्मै फलेको करेसाबारीबाट उत्प्रेरित हुदै पाहुनाहरुले करेसाबारीको सुन्दरता र दरको स्वादको खुलेर प्रशंसा गरिदिदा आफूमा थप उत्साह र उत्प्रेरणा जागेको सुबेदी बताउनु हुन्छ । दर खाने कार्यक्रममा सहभागी हुनु हुने गीता भट्टराईले सुबेदी परिवारको प्रशंसा गर्दै कार्यक्रम निकै रमाइलो भएको प्रतिकृया दिनु भयो । दरलाई करेसाबारीका ताजा तरकारीहरुको साथले स्वादिष्ट बनाएको उहाँको भनाइ थियो । करेसाबारी साह्रै लोभलाग्दो रहेको भनी प्रशंसा गर्दै उहाँले भन्नु भयो ,हामीले त करेसाबारीको अवलोकन पनि गर्यौ , तस्बिर पनि खिच्यौं, खायौ र नाँचगान गरेर रमाइलो पनि गर्यौं ।
    अमेरिकामा महिनौ अघिदेखि टिपेर चिसोमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न विवस जिन्दगीमा , आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य तरकारी टिपेर भान्सा मिठो र रमाईलो बनाउन पाँउनु अमेरिकाबासी नेपालीका लागि अत्यन्त खुसी र आनन्दको कुरा हो । आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठूलो खर्चमा निकै कटौति गरिरहेको सुबेदी परिवारको जिकिर छ ।
    करेसाबारी लोभलाग्दो तरकारीहरुले भरिभराउ हुनुमा उहाँका श्रीमान घनश्याम सुबेदीको पनि महत्वपूर्ण योगदान छ । फुर्सद मिल्ने बितिकै करेसाबारीतिर टहलिन मनपराउने घनश्याम, त्यसको रेखदेखमा पनि त्यतिनै खटिने गर्नु हुन्छ । जाँगरिलो छोरा बबी सुबेदी र छोरी सूचना सबेदीको सहयोगी भूमिकाले पनि करेसाबारी मौलाउनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ भनेर खुसी व्यक्त गर्न चुक्नु भएन सुबेदी । उहाँका अनुसार समग्रमा सपरिवारको योगदानको परिणाम हो, लटरम्मै तरकारी फलेको लोभलाग्दो करेसाबारी । अमेरिकामा आफ्नै घर भएका अधिकांश नेपालीहरुले सुबेदी परिवारले जस्तै धेरथोर करेसाबारीमा तरकारी लगाउने गरेका छन् । जसले आत्मसन्तुष्टि लिन , टहलिएर थकान मेटाउन , स्वस्थ र ताजा अर्ग्यानिक तरकारी खान , तकारी खरिदमा हुने खर्च कटौति गर्न र बालबालिकाहरुलाई कृषि सम्बन्धि सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप प्रदान गर्नमा यस्ता करेसाबारीले महत्वपूर्ण योगदान पुर्याइरहेको छ। अर्को कुरा करेसाबारीले नेपालीपन, पहिचान र बिशेषताहरुको प्रदर्शन, संरक्षण र संबर्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको तथ्यमा दुइमत छैन।

  • अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    पुष्कर बराल, न्यूयोर्क

    उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।
    न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
    १७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन, सुमन टि लिम्बु रहेका थिए । सोहि असररमा नवनिर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको सपथग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

    नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ, चिनिया लाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

    अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवि साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिति थियो ।
    नेपाली अमेरिकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्दत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् ।

  • महान् पर्व तीज र यसको महत्व

    महान् पर्व तीज र यसको महत्व

    सुरेशराज पौडेल
    (उप. प्राध्यापक)
    वाल्मीकि विद्यापीठ , काठमाडौं

    हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड, व्रत, उत्सव, उपसना र उपवास हाम्रा प्राण हुन् । साथै यी कुराहरु हाम्रो संस्कृति बनेर जनजन र मनमनमा रहेका छन् । नेपाल र भारतलगायत जुन जुन ठाउँमा नेपालीहरुको बासेबास रहेको छ ती ती ठाउँमा सनातन धर्म र संस्कार पुगेको छ । सबै सनातन धर्मावलम्बीहरुले उल्लासका साथ यी पर्वहरु मनाउँदै आएका छन् । यिनै तमाम हाम्रा धर्म र संस्कारहरूमध्येको एक महत्वपूर्ण चाडका रुपमा प्रचलित तिज नारीप्रधान चाड हो । प्रत्येक वर्षको वर्षा ऋतुमा पर्ने भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्मका ४ दिनलाई तिजपर्वका रुपमा धुमधामसँग मनाइन्छ । तिज के हो र यसको महत्व के हो भन्ने विषयमा यो लेखमा छोटो र सान्दर्भिक विवेचना गरिन्छ ।

    तिज भन्नाले नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्मपराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने भाद्र शुक्ल तृतीयालाई बुझिन्छ । यस दिनलाई हरितालिका पनि भनिन्छ । तथापि नेपाली समाजमा दर खाने दिन अर्थात् भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्मका दिनलाई बोलिचालीमा तिज भनेर बुझिन्छ । तिजको पहिलो दिन अर्थात द्वितीयाका दिन आधारात पछि नारीहरुले आफ्नो माइतीघर र आफन्त इष्टमिमत्रहरुका घरमा गई उनीहरुले पकाएको , आत्मीय प्रेमले भरिपूर्ण भएको मीठो खाना अर्थात दर खाने चलन छ । दर भन्नाले विशेष प्रकारको दरिलो र आडिलो खाना भन्ने बुझिन्छ । यस खानामा घ्यू राखेर बनाएको लट्टे, खिर, ढकनि र विभिन्न तरकारीहरु पर्दछन् । भोलिपल्ट अर्थात तृतीयाका दिनभर उपवास बस्नुपर्ने भएकोले अघिल्लो रात त्यस्तै आडिलो खाना वा दर खाने गरिन्छ । यसरी दर खाएपछि भोली दिनभर केही पनि खाना पर्दैन र अघिल्लो दिन खाएको खानाका कारणबाट शरीरमा हुन सक्ने अफ्ठ्यारोलाई व्रतका प्रभावले शरीरलाई आाराम पनि हुन जान्छ । दर खाने दिनमा टाढा वा नजिक भएका आफ्ना दिदी बहिनी , फुपू , सानिआमा, ठुलीआमालाई बोलाएर माइतीघरको भान्सामा हाँस्दै रमाउँदै दर खाइन्छ र आँगनमा आएर गीतका भाकामा आफूले भोगेको पीडालाई अभिव्यक्त गरिन्छ । यस्ता गीतलाई तिज गीत भनिन्छ । यस पर्वले टाढिएका मनलाई आफन्तसँग जोड्ने गर्दछ र साामजिक प्राणी भई दुःख सुखमा बाँच्न सिकाउँछ । त्यसैले यो चाडलाई सामाजिक सद्भावको र मिलनको चाडका रुपमा लिन सकिन्छ ।

    सकेसम्म हस्ता नक्षत्रले युक्त चतुर्थी वा चतुर्थी तिथिले जतिखेर तृतीया स्पर्श गरेको हुन्छ त्यही भाद्र शुक्ल तृतीयालाई हरितालिका वा तिज भनिन्छ ।त्यसदिनमा विहान सबेरै उठेर सबै दिदीबहिनी एक आपसमा शिवपार्वतीको गुणगान गर्दै नदी किनार , खोला , कुवा , धारा आदिमा गएर दतिवनले दात माझेर, अमलाको बोक्रा, माटो र खरानी दलेर स्नान गर्ने गर्दछन् । त्यसपछि घरमा आई नयाँ तथा सौभाग्य झल्किने राता कपडा, सिन्दूर, चुरा, पोते पहिरेर शिव मन्दिर, खुल्ला चौर, नदी किनार वा अन्य मन्दिर र पवित्र स्थानमा गएर यज्ञमण्डप निर्माण गरेर बालुवाको गौरीसहित शिवलिङ्ग बनाएर आफ्नो कूल परम्पराअनुसार गृहसूत्रका विधिले प्राणप्रतिष्ठा गरेर सङ्कल्पपूर्वक यथाशक्य सङ्कलन गरिएका सामग्रीहरूले श्रद्धापूर्वक पूजा गरिन्छ । पूजापश्चात नाचगान गरेर रातभर जाग्राम बसिन्छ । यसरी व्रत बसेर पूजा गर्नाले आफ्नो पतिको आयु र आरोग्य बढ्छ । साथै आफ्ना सन्ततिको प्रगति र उन्नति हुन्छ र आफ्नो पनि सम्वृद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ । यस दिन महिलाहरू दिनभर निराहार बस्छन् र चतुर्थीले छोएको तृतीयाको पवित्र समयमा पूजा गरेपछि आफ्नो पतिबाट आशीर्वाद लिन्छन् ।

    हरितालिका तिजको व्रतको बारेमा पौराणिक कथा सुन्ने चलन छ । तृतीयाकै दिन गौरी र शिवको पूजा गरेपछि हरितालिका व्रतकथा श्रवण गरिन्छ । जसअनुसार भगवानले शिवलाई आफ्नी प्राण प्यारी पार्वतीले कुन दान , व्रत र धर्म गर्नाले अनादिअनन्त हजुरजस्तो परममेश्वरलाई पाएँ त्यो सबै बिस्तारपूर्वक सुन्न चाहन्छु भन्दा शिवजी स्वय‌ंले पार्वतीलाई सबै वृतान्त सुनाउनुहुन्छ । हिमालय पर्वतको छोरीका रुपमा जन्मिएकी पार्वतीले अघिल्लो जन्ममा दक्षप्रजापतिकी छोरी सतीदेवीको रुप धारण गरेर जन्मे पनि आफ्ना पिता दक्षले शिवको निन्दा गरेको सुनेर यज्ञ कुण्डमा शिव शिव भन्दै हामफालेर प्राण त्याग गरेकी थिइन् । त्यस जन्ममा शिवसँग यथायोग्य काल सतीले जिउन पाइनन् । अर्को जन्म शिवकै अर्धाङ्गिनी भएर जन्मन पाऊँ भन्ने उनको अन्तिम इच्छा थियो । सोही अनुसार हिमालय पर्वत र मेनकाका गर्भबाट उनको जन्म भएको थियो । बालककालदेखि नै शिवलाई नै पति पाऊँ भनी पार्वतीले घोर तपस्या गरेकी थिइन् । त्यसैले दिव्य बाह्र वर्षसम्म अधोमुख गरी धुवाँ पान गरेर तपस्या गरिन् । ६४ वर्षसम्म सुकेको घाँस पात खाएर तपस्या गरिन् । यस्तो देखेर हिमालय पर्वत अत्यन्त दुःखी भए । यी कन्या म कसलाई दिऊँ भन्ने सोचेको बखतमा भगवान् विष्णुले नारदलाई पार्वती विवाह गर्ने कुरा लिएर आएपछि हिमालय अत्यन्त खुसी भए र भने, “भगवान् वासुदेव स्वयं मेरो पुत्री हात माग्न आउनुहुन्छ भने छोरी दिन तयार छु ।” यो कुरा नारदले भगवान् विष्णुलाई सुनाए ।

    योग्यं योग्याय दातव्यं कन्यारत्नमिदं त्वया ।।
    वसुदेव समाेनास्ति व्रह्मविष्णुशिवादिषु ।।

    (भविष्योत्तर पुराण)

    पिता हिमालयका कुरा सुनेर आफ्ना पितामातालाई पनि थाहै नदिई हिंस्रक सिंह , बाघहरू भएको अनकन्टार वनमा लुकिन् । आफ्ना साथीहरुले किन यस्तो गरेकी भनेर सोध्दा मैले अघिल्लो जन्ममा नै आउने जन्ममा शिवलाई पति पाऊँ भनेर संकल्प गरेकी थिएँ । अहिले मेरा मातापिताले भगवान् विष्णुलाई विवाह गरेर दिने कुरा गरेकाले म लुक्न आएकी हुँ भनेपछि साथीहरुले सबै कुरा बुझेर हामी तिमीलाई कसैले पनि नदेख्ने र नभेट्ने ठाउँमा लगेर लुकाउँछौँ भनी लुकाउन लगे । सखी अर्थात् आलिहरुले हरित अर्थात् हरण गरेर लगेका अवस्थामा पार्वतीले व्रत गरी शिवको पूजा गरेको हुनाले यसै दिनलाई हरितालिका भनिएको हो र आज सम्म पनि यस दिनलाई हरितालिका तिज भनेर व्रत उपासना र शिवको पूजा गर्ने गरिन्छ ।

    नामस्य व्रतराजस्य श्रृणु देवि ! यथाभवम् ।
    आलिभिर्हरिता यस्मात्तस्मात्त्सा हरितालिका ।।

    (भविष्येत्तोरपुराण हरितालिका व्रत कथा ५२)

    यो पर्व आविवाहित नारीहरुले असल पति पाउनका लागि व्रत गर्नुपर्छ भन्ने बुझिन्छ भने विवाहित महिलाहरू आफ्ना पतिको दयालु स्वभाव र लामो तथा आफ्ना सन्ततिको उत्तरोत्तर प्रगति र दीर्घ आयु होओस् भन्ने कामनाले व्रत गर्दछन् । यसले पति र पत्नीबीचको सुमधुर सम्बन्ध कायम गर्दछ साथै सन्ततिहरू असल मार्गमा हिँड्दछन् भन्ने मान्यताले महिलाहरु यो व्रत र उपासना गर्ने गर्दछन् । तिज वा हरितालिका व्रत आफैमा अत्यन्त शुद्ध पवित्र चाड हो। आजकाल यस चाडलाई मानिसहरुले नै भड्किलो बनाएको देखिन्छ । र तिजलाइ बदनाम गर्ने काम पनि भइरहेका छन् । हिन्दु धर्ममा रहेको तिज त्यसमाथि कतिपय धर्म विरोधी चरित्र भएका मानिसहरूले यो चाडलाई बहिष्कार गर्ने र नकारात्मक भाव फैलाउने गरेको देखिन्छ । पुरुषका निम्ति महिला व्रत किन बस्नु भन्नेजस्ता कुराहरू आजकल बजारमा सुनिन्छन् । यसरी शास्त्रीय महत्वको तिज र हरितालिकाको गीतलाई नबुझ्नेहरूलाई एक पटक शास्त्र पढ्न पनि अनुरोध गरिन्छ । आफ्नो पति पत्नीबीच सुमधुर सम्वन्ध कायम राख्न पतिले आफ्नी पत्नीलाई पनि सदा खुसी राख्नु , मिष्ठान्न भोजन , मीठो बोली, सत्कार सम्मान गर्नु , गाली नगर्नु, अलंकार आदिले सदा भरिपूर्ण बनाउनु साथै पत्नीले युक्त भएर हरितालिकाको व्रत र पूजा गर्दा पतिलाई अझै राम्रो हुने कुरा शास्त्रहरूमा वर्णन गरिएको छ ।

    आलापैः सरसैः नित्यं तोषयेत् तां शपेन्न च ।
    भोजनाच्छादनैर्वस्त्रं भूषणाद्यैः निजस्त्रीयाम् ।।
    (स्कन्दपुराण)

    भने सदाचारले युक्त कुलीन घरानकी छोरी विवाहित भएर आफ्नो पतिको घरमा गएर पनि सोही किसिमका आचरणहरू गर्दछिन् । पत्नी नै घरकी देवी, घरकी संरक्षक र सिर्जना भर्ने शक्ति भएकोले आफ्नो पतिलाई आरोग्य , सदाचारी र ऐश्वर्यवान् बनाउन नारीको ठूलो भूमिका हुन्छ । त्यसैले जमाना फेरियो भन्दैमा घर बिगार्ने काम गर्नुहुँदैन । आफूलाई पति र पत्नीप्रति श्रद्धा छ भने पतिका गोडाको जल खानु अनुचित होइन, यसले समाज र घर बिगार्दैन । समाजमा नचाहिने कुरा गरेर महिलालाई उचालेर पुरुषभन्दा के कम भन्ने मानिसहरूबाट सिकेर समाज आज बडो दुर्दशामा पुगेको छ । पति, पत्नीको वशमा छैनन् , पत्नी पतिको वशमा छैनन् जसले गर्दा समाजमा विकृतिको भयानक जालो फैलिँदै गएको कुरा आजकाल प्रत्येक दिन सामाजिक सञ्जाल र सञ्चार मामध्यमबाट सुनिँदै र देखिँदै आइएको छ ।
    यसरी तिज हाम्रो परमपरागत पौराणिक र सांस्कृतिक पर्व भएकाले शास्त्रले बताएअनुसार विधिपूर्वक यसको उपसना र व्रत गर्नाले घर, समाज र राष्ट्रलाई राम्रो असर छाड्न सक्छ । यो पर्वमा धुमधाम खर्च गर, देखावटी गर, नभएको पनि जसरी तसरी मनाऊ भनेर शास्त्रले भनेको छैन । श्रद्धा , आस्था र विश्वास नै यस चाडको मौलिक तत्त्व हो । यस पर्वलाई श्रद्धा र विश्वासले युक्त भएर व्रत, उपासना र पूजा गर्नुपर्दछ भन्ने मूल आशय हो ।

  • रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

    रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

    सरस्वती न्यौपाने, रसुवा

    गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ ।

    फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने भएको छ, उनले भने ।
    बागमति प्रदेशबाट ५० प्रतिशत र समूहबाट ५० प्रतिशत गरी करिब १३ करोड २० लाख रुपैयाँको लगानीमा स्याउ रोपेको हो, उनले भने, ‘त्यसमध्ये कोही मरे, कोहीमा फलेन र सप्रिएको बिरुवाबाट ४ किलोसम्म फल्ने छ ।’

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ब्रावालमा सामूहिक रूपमा चिराइतो खेति गर्ने गाउँ भनेर चिनिएको ठाउँ अबका दिनमा स्याउ फल्ने गाउँ भनेर पनि चिनिनेछ, डिन्डुपले भने । स्थानीय जातका स्याउ लगाउँदा ५ वर्षपछि मात्र उत्पादन हुने गरेको तर फुजि र वाला स्याउले एक वर्षमै आम्दानि दिन थालेपछि स्थानीय कृषकहरू यसप्रति आकर्षित हुँदै गएको छ ।

    पाखो र भिरालो जमिनलाई पनि स्याउ उत्पादन गरेर आम्दानिको स्रोत बनाएकोमा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले खुसी व्यक्त गरे ।

    ठुलो स्याफ्रु हुँदै लाङटाङ तथा गोसाईंकुण्ड यहीँ पदमार्ग हुँदै जाने भएकाले स्याउ फल्ने समयमा आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्न सकिने गोसाईंकुण्ड गापा वडा नं ५ का वडाध्यक्ष सिङगेडिण्डुव तामाङको भनाइ छ ।
    रसुवाको माथिल्लो भेग बिस्तारै स्याउ खेतिको लागि प्रख्यात हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

  • विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने

    विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने

    न्युयोर्क

    सोलिड्यारिटी फोर डा. केसी अलाइन्सले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।
    आयोजकका अनुसार कार्यक्रम यही २० र २१ सेप्टेम्बर २०२१ का दिन बिहान ९ बजेदेखि ४ बजेसम्म विश्व शान्ति, सद्भाव र समानताका लागि गर्न लागिएको हो ।

    कार्यक्रमलाई लक्षित गर्दै सत्याग्रह अभियन्ता डा. गोविन्द केसीले सबै समक्ष अपील गरेका छन् । अनुरोधको पूर्णपाठ;

    “हामी एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेको विदितै छ । हाम्रो सत्याग्रह आन्दोलनमा नागरिक समाजका सदस्यहरुको पनि सहयोग र सद्भाव रहदैं आएको छ । सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा न्यायोचित पहुँच सुनिश्चित गर्नु नै हाम्रो आन्दोलनको उदेश्य रहेको छ । नेपालका पछिल्ला सरकारहरुबाट भएका अनेक अवरोध र धोखापूर्ण कार्यका बावजुद पनि हाम्रो सत्याग्रह मार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रहरुमा केही महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न देश सक्षम भएको कुरा म निवेदन गर्न चाहन्छु ।

    यसै क्रममा १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु परेको थियो । नेपालको समग्र स्वास्थ्य शिक्षा तथा सेवाको सुधारका अभियानलाई निरन्तरता दिदैं विगत दुई दशकदेखि विश्वका अन्य धेरै देशहरुमा भएका प्राकृतिक र मानव निर्मित प्रकोपका बेला मानवीय राहत कार्यमा पनि म निरन्तर संलग्न रहदै आएको कुरा पनि म स्मरण गराउन चाहन्छु ।

    यसै क्रममा युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएर भर्खरै फर्किएको छु । म्यानमारबाट विस्तापित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सन् २०१९-२०२० मा सेवा गर्ने अवसर पनि पाएँ । सन् २०१९ अफ्रिकाको मोजाम्विकमा आएको साइक्लोन इदाइका पीडित जनतालाई एक महिना राहत-सेवा पुर्याउने अवसर पाएँ । भारतको बद्रीकेदार बाढीपहिरो (सन् २०१३) पीडितको सेवामा रहँदा मृत्युको मुखबाट बच्न सफल भएँ । अन्य मानवीय कार्यमा फिलिपिन्सको टाक्लोबानको टाइफुन हैयान (सन् २०१३), हेटीको विनाशकारी भूकम्प (सन् २०१०) भारत गुजरातको महाभूकम्प (सन् २००१), पाकिस्तान नियन्त्रित कास्मिरको महाभूकम्प (सन् २००५), वर्माको आँधिबेरी साइक्लोन नर्गिस (सन् २००८) र पाकिस्तानको बाढीको विपद् (सन् २०११)का बेला पनि मानवसेवा-धर्म गर्नु मेरो कर्तव्य ठाने।
    यो पनि स्मरण रहोस्, नेपाल आफैंले एक दशक लामो सशस्त्र संघर्षको सामना गर्नुपरेको थियो । जसमा हजारौं मानिस मारिए, धेरै घाइते र लाखौं विस्थापित भए । त्यो दुर्दान्त सयममा पनि घाइतेहरुको उपचारमा म संलग्न भएको कुरा पनि विदितै छ भन्ने लागेको छ ।

    विश्वमा घटेका कहालिलाग्दा त्रादस घटनाको प्रत्यक्षदर्शी बन्नुले मानविय द्वन्दका कुरुपतासँगै दैवीय विनाश र त्यसबाट सृजित पीडा, निराशा र भयावहताको नजिकबाट अनुभव गर्ने मौका पाएँ । यस्तै बेलमा हामीले अनुपम मानवीय करुणा, माया र आशाको दीयो बाल्नु पर्छ भन्ने ठानेर देश–देशावर पुगेँ ।

    मैले नेपालका सुगममात्र हैन अनेक दूर्गम ठाउमा बसोवास गर्ने निसहाय जनताको सेवाका लागि पटकपटक भ्रमण गरेँ । राहत-सेवा र अध्ययन भ्रमणका क्रममा संसारमा भएको वातावरणीय विनाश र जलवायु संकटको प्रभावलाई पनि नजिकबाट नियाल्ने मौका पाएँ । संसारका सम्पूर्ण मावन तथा पशुप्राणीका लागि विनाशक बन्दै गएको जलवायु विनाशको यो विश्वव्यापी समस्याको सबैभन्दा बढी कष्ठ गरीवीमा बाँच्न वाध्य मानिसले नै भोग्नु परेको अनुभव गरेँ ।

    म यहाँ अर्को एउटा कुरा पनि ध्यानाकृष्ट गराउँन चाहन्छु- म आफैं पनि ‘कोभिड निमोनिया’ संक्रमित भएको थिएँ । आज म जस्तै धेरै डाक्टर, स्वास्थकर्मी र सर्वसाधरण मृत्युवरण गर्न वाध्य भए । यसको प्रमुख कारण खोपको अभाव नै थियो । अहिले पनि विकासशील देशहरुमा ९०% भन्दा बढी मानिस अझै पनि कोभिड खोपको पहुँचबाट वञ्चित छन् । यो निराशाजक अवस्थामा विकसित देशहरु आफ्ना नागरिकका लागी ‘बूस्टर जाब’ तिर लागेका छन् । खोप वितरण प्रणालीको यो असमानतालाई अन्याय मात्र हैन रंगभेदको रूपमा पनि तुलना गर्न सकिन्छ ।

    आज संसार एक ग्लोबल गाउँमा परिणत भएको छ । संसारको एक कुनामा जे भए पनि त्यसले हरेक कुनामा सबैलाई प्रभावित गर्छ । यो कुरा पनि कोभिड–१९ले पनि प्रमाणित गरेका छ तर मानवीय र प्राकृतिक साधन-स्रोतको वितरणमा निराशा लाग्दो असमानता छ ।

    आज विश्वभरिका मानिसहरु द्वन्दको अन्त्य, जलवायु कार्य, जलवायु न्याय, स्वास्थ्य र सबैका लागी शिक्षा तथा कोभिड खोपका लागि वकालत गर्दै आएका छन् । मलाई विश्वास छ- हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ ।

    आज हामीले देशव्यापीभन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले केही गर्न जरुरी ठानेको छु । त्यसैले नेपालमा मात्र हैन यी मुद्दाहरु ग्लोबल फोरममा उठाउनु हाम्रो पनि दायित्व हो भन्ने लाग्छ ।

    अत: २१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस हो । यसै समयमा संयुक्त राष्ट्र संघको महासभा पनि बस्दै छ । विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन म अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगतरूपमा हार्दिक अपील गर्छु ।

    यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु ।
    प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड-१९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाईसंग पालन गर्नेछौं ।
    प्रदर्शनका विषयहरुः

    • जलवायु कार्य र जलवायु न्याय
    • सबैका लागि कोभिड खोप सहित सबैका लागि स्वास्थ्य र शिक्षा
    • यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने ।
    • म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडान लगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने ।
      अन्त्यमा, विगतका सत्याग्रह तथा आन्दोलनमा भएको यहाँहरूको सक्रिय सहभागित, विश्वास, समर्थन र एकताका लागि सबैप्रति सादर धन्यवाद भन्न चाहन्छु”।

    सम्पर्कका लागि;
    सोलिड्यारिटी फोर डा. केसी अलाइन्स
    डा. गोविन्द केसी
    Ph: 984-009-6711
    Email: [email protected]
    सम्पर्क- शिव प्रकाश (अमेरिका)
    Ph: 781-325-2242
    Email: [email protected]

  • बास्फरस क्षेत्र र इस्तानवुल नहर

    बास्फरस क्षेत्र र इस्तानवुल नहर

    कुमार न्यौपाने, न्युयोर्क

    फेब्रुवरी २०२१, काठमाण्डौंदेखि न्युर्योकसम्मको यात्रामा इस्तानवुलको ६ घण्टे ट्रान्जिट, हवाइअड्डाको सोफामा अर्को जहाज कुर्दै गर्दा इस्तानवुल नहरको समाचारले ध्यान तान्छ र मनमा खुल्दुली बढ्छ । विगतका घटनाहरु र हालसालैको टर्किस सरकारको नहर सम्बन्धी योजनाबिच यसका सम्बन्धित पक्षहरु माझको राजनिती तातिएको देखिन्छ । त्यसैले सम्बन्धित देशमा रहँदाको बखत कोट्याइएको सम्बन्धित देशकै समाचारले आज केही हरफहरु लेख्न लगायो ।

    उहिलेको रोमन कन्स्टान्टोनोपल;

    आजको इस्तानवुल, टर्किको सबैभन्दा ठुलो सहर जुन युरेसीया अर्थात दुइ महादेशमा फैलिएको छ । युरोपेली र एसियाली भुमी बीचबीचै पश्चिमतिरबाट मारमरा समुन्द्रको पानी छिरेर कृष्णसागरमा मिल्छ, त्यही पानी र तटीय जमिनको भागलाई बास्फरस क्षेत्र मानिन्छ । आठ सय बर्षको अट्टोमान साम्राज्यको पतनसंगै भु­मध्यसागरको मुख जिब्राल्टारदेखि कृष्णसागरसम्मको जलशक्ति जलमार्गमा कसले र कसरी प्रभाव पार्ने भन्ने होड सुरु हुन्छ । त्यो होडमा भौगोलिक रुपमा निकै पर रहेतापनि बेलायत सबैभन्दा बढी चनाखो देखिन्छ । जव बिशाल अट्टोमान साम्राज्य खुम्चीएर सग्लो टर्की देश बन्छ तब उ थुप्रै आन्तरिक समस्याहरुसंग जुध्दै हुन्छ । सामुन्द्रिक सामरिकता र राजनीतिको तालमेल मिलाउन नसक्दा त्यस क्षेत्रमा बेलायत, फ्रान्स र तत्कालीन सोभियत संघको सुरक्षा चासो बढ्दै हुन्छ ।
    बास्फरस र वरपरको जल क्षेत्रमा कसको अधिकार भन्ने होडबीच उत्पन्न समस्याको समाधान खोज्न सन १९३६ मा स्वीजरल्याण्डको मोन्ट्रेक्स सम्मेलन हुन्छ । बेलायत, फ्रान्स, सोभियत संघ, युगोस्लाभिया, जापान, जर्मनी लगायतको उपस्थितिमा भएको सम्मेलनले बास्फरसको अधिकार, सुरक्षा र संचालनको अधिकार टर्कीलाई नै दियो । टर्कीले सबै अधिकार पाए संगै केही शर्तहरु पनि पाउँछ । प्रमुख शर्तले टर्किले बास्फरस जलक्षेत्रबाट वारपार हुने जहाजहरुमा कर लगाउन नपाउने भयो र कृष्णसागर तटीय देशहरुको सामान्य प्रयोजनका जहाजहरु बाहेकका युद्घपोतहरु, युद्घसामग्री बोकेका जहाजहरु र तोकिएको वजन र आकार भन्दा ठुला जहाजहरुमा प्रतिबन्ध लाग्यो । यस सन्धिले खासगरी सोभियत संघलाइ भु­मध्यसागरमा हालीमुहाली गर्न रोक्ने बेलायती रणनीति थियो । त्यसबेला अमेरीकाले आफ्नो पर्यबेक्षक मात्र पठायो तर भु­मध्यसागर तटीय देश इटाली आफ्नो साम्राज्य बिस्तारको मनस्थितिमा नै भएकोले सम्मेलनको हिस्सा बनेन, जर्मनीले सम्मेलनमा भाग लिएर पनि सहि गरेन र जापानले शर्त सहितको सहमति जनाएर सन्धि भयो । इटली, जर्मनी र जापानको उक्त निर्णयहरुले के देखाउँछ भने १९३९ मा शुरु भएको दोश्रो बिश्वयुद्घको तयारी यसै गरी निकै पहिलादेखि भइरहेको थियो भन्न सकिन्छ ।

    Turkey will be the most important logistics centre of the world. (PRNewsfoto/The Canal Istanbul)(Photo from Google)


    त्यस सन्धिको प्रभाव हालसम्म पनि कायमै रहेको बेला बास्फरस भन्दा केही उत्तर इस्तानवुल एयरपोर्टसंगै बन्न लागेको ४५ कि.मी. लामो नहरले सबै शक्ति राष्ट्रहरुको ध्यान तानेको छ । यस योजनाले बास्परस जलमार्गको अत्याधिक चापलाई घटाउँछ र सन्धिले बाँधिएको टर्कि बन्धनबाट मुक्त हुन्छ भन्ने एकथरीको भनाइ छ । एकातिर टर्किका महत्वाकांक्षी राष्ट्रपतिको पटकपटकको चुनावी नारा बन्ने गरेको उक्त महत्वकांक्षी नहरको आयोजनाले तीनको राजनैतिक भविष्य निर्धारण गर्ला नगर्ला तर त्यस क्षेत्रको आर्थिक बिकासमा टेवा दिने देखिन्छ । अर्कोतिर पहिलेदेखि नै रुसको बास्फरस जलक्षेत्र कव्जा गर्ने नीति बेलायतीहरुले सफल हुन नदिएपछि अझै केही गर्न सकिन्छ कि भन्दै दाउ खोज्दै आँखा गाडिरहेकै छ । पछिल्लो समय जब टर्किले अमेरीकी हतियारको सट्टा रुसी हतियार खरीद गर्यो तब अमेरीका र बेलायतसंग टर्किको खासै न्यानो सम्बन्ध नभएको मौका छोपी यस नहरमार्फत रुस उसको नौसैनिक गतिबिधि र जहाजहरुको प्रभाव क्षेत्र बृद्घि गर्नमा पक्कै लागी पर्नेछ तर त्यो कुन रुपमा हुन्छ, टर्कि र रुसबीच हुन सक्ने आगामी सन्धि सम्झौताका दफाहरुले बताउला । उसले सोचेको जस्तो हुनसक्ने कम सम्भावना देखेको रुसलाई आफ्नो शक्तिलाई फैलाउनु भन्दापनि नेटोको युद्घपोतहरुको कृष्णसागरमा हुनसक्ने सहज प्रवेशले पिरोलेको छ । उ बेला बेलायत लगायतहरुले भु­मध्यसागरमा सोभियतको प्रबेश रोक्न गरेको राजनीति र हाल रुसले कृष्णसागरमा नेटोलाई रोक्न उक्त नहर निर्माणमा गरेको बिरोध उही प्रकृतिको देखिन्छ । रुस, टर्किस विपक्षी पार्टी र टर्किस पुर्व सैनिक जनरलहरु यो नहरको पक्षमा देखिदैनन । यही बिषयले अमेरीका, बेलायत र फ्रान्स लगायत भु­मध्यसागर तटिय देशहरु र उत्तर अफ्रीकी देशहरुको ध्यान तानेको छ । टर्की नेटोको भरपर्दो सदस्य हो तर हाल टर्किसंगको अमेरीकी सम्बन्ध चिसीएको भएतापनि सामरीक चासो भने उत्तिकै छ । रुसले उसैको छिमेकी युक्रेनप्रति गर्दै आएको व्यवहार, क्राइमियामा भएको सैनिक हस्तक्षेप, मध्यपुर्वको सीरीयामा गर्दै आएको गतिबिधिले पश्चिमा शक्ति निकै सशंकित छ । रुसी सैनिक बिमानहरुले बेला बेला ईंगलीस च्यानलको जलक्षेत्र उल्लंघन गर्ने गरेको र यही जुन २३ मा बेलायती एच एम एस युद्घजहाजले क्रिमिया तटको १२ माइल परबाट नियमित यात्रा गर्ने क्रममा रुसले गरेको आक्रमणको धम्कीबाट कुनै असामान्य दुर्घटना त हुन्न भन्ने भय रहिरहेको छ र यस्ता शक्ति राष्ट्रहरु बिच बेलाबेला भइरहने आमने सामनेले विश्वमा नै सैनिक गतिबिधि बढ्दै जाने र निशस्त्रीकरणको बिषय अझै पेचिलो बन्ने देखिन्छ ।
    कृष्णसागर क्षेत्रलाई निशस्त्रीकरण गर्नु पर्छ भन्ने सोच भएका साना राष्ट्रहरुको विचारलाई टर्कीको क्षेत्रीय शक्ति हुने चाहाना, मस्कोको आफ्नो सुरक्षा चासो र पश्चिमाहरुको युक्रेन र क्राइमीयाप्रतिको रुस बिरोधी दृष्टीकोणले पनि यो नहरको निर्माणको विषय तातो रोटी भएको छ । टर्की ठुला ठुला एयरपोर्टहरु, नहरहरु, सुरुङ्गमार्ग र पुलहरुको निर्माण गरी आफुलाई हालको सम्बृद्घिको परिभाषा भित्र राख्न चाहन्छ । उसको भुगोल भित्र उसले आफ्नो देशको आवश्यकता बमोजिम बिकास निर्माण गर्न पाउने पहिलो अधिकार नै हो तर विगतमा बिश्वमा भएका यस्ता विकास निर्माणको चरण र इतिहास हेर्दा के चैं प्रष्ट हुन्छ भने विश्व राजनीति, शक्ति देशहरुको आफ्नो शक्तिको प्रभाव, विश्व व्यापारमा आफ्नो प्रभुत्व जस्ता बिषयहरुले मुख्य भुमिका खेलेको देखिन्छ । पानामा नहरमा फ्रेन्च र अमेरीकी संलग्नता, स्वेज नहरमा फ्रेन्च, बेलायती, अमेरीकी र इजरायली हस्तक्षेप र चासो, मलाक्का जलमार्गमा चिनीयाँ चासोहरुको इतिहासले इस्तानबुल नहर पनि बिश्व राजनितीबाट चोखो रहन सक्ने देखिदैन ।
    बिषय जब चोटिलो बन्छ तब त्यो विकाश निर्माण र समृद्घीको मात्र हैन, सैनिक र सामरिक बिषय बनाइन्छ । देशहरु बीचको पैसा र शक्तिको प्रतिष्पर्धाले एकले अर्कोको सम्प्रभुता माथि धावा बोल्ने गरेको देखिन्छ । बिश्वमा यस्ता गतिबिधिहरु ठुला शक्ति राष्ट्रहरुले निर्वाधरुपमा गर्ने गरेका छन र त्यस्ता राष्ट्रहरुको आडमा स्वघोषित क्षेत्रीय शक्तिहरुले कमजोर देशहरु प्रति गर्ने व्यवहार झन अमानवीय छन । नेपाल लगायत अधिकांश देशहरुका बीचमा शक्तिको प्रभावले असमान सन्धीहरु गरी आफुलाइ लाभ र कमजोरलाई हानी गर्ने गरी कामहरु भएको पाइन्छ । यस्तै लाभ हानि र शक्तिको टकरावको बिषयले बास्फरस र इस्तानवुल नहरको योजना तातिदैछ तर पहिलो प्राथमिकता भनेको टर्कीले आफ्नो भु­भाग भित्र राष्ट्र र जनताको हितमा कुनै पनि बिकास निर्माण गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । नेपालले सिक्टा सिंचाइ र तामाकोसी बिद्युत आयोजना बनाए झैं टर्किले नहर बनाउन पाओस् ।