Author: Vishwanews.com

  • न्यूयोर्कका नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान सम्पन्न

    न्यूयोर्कका नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान सम्पन्न

    न्युयोर्क

    मानवीय सेवामा केही बर्षदेखि सक्रिय नेपाली लायन्स क्लवहरु Lions Club of Queens Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा “Mission Lions Club: Blood Drive Event” यही मार्च ६ तारिखमा क्विन्स काउण्टीको ज्याक्सन हाइट्समा बृहद रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।

    क्विन्स र लंग आइल्यान्डमा रहेका नेपाली तथा अन्य बिभिन्न समुदायका ब्यक्तिहरू, दुवै क्लबका लायन्स पदाधिकारी र सदश्यहरू लगायतका सामाजिक ब्यक्तित्वहरूले कार्यक्रममा रक्तदान गरेका थिए । न्यूयोर्क ब्लड सेन्टरसंगको प्राबिधिक सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुवै क्लबका लायनहरूले स्वयंसेवी भई रक्तदाताहरूलाई आवश्यक सहयोग गरेका थिए ।

    लायन्स इन्टरनेशनल स्पेशल्टी संयोजक लायन कृष्ण आचार्य र डिस्ट्रिक्ट २०-१के का जोन चेयर लायन अर्जुन गौडेलको बिशेष उपस्थिति सहित उहाँहरूले गर्नुभएको रक्तदानले पनि रक्तदाताहरूमा थप उत्साह र प्रेरणा जगाएको थियो भने नेपालस्थित हेटौंडाको लायन्स क्लबमा हालै प्रेसिडेंट भै कार्य गर्नुभएकि लायन राधिका श्रेष्ठले समेत यो कार्यक्रममा स्वयंसेवी भै देखाउनुभएको लायन्सप्रतिको समर्पणले “Global Lionism” मा आवद्ध सबै लायनहरूको विश्व एकताको भावनाको तथ्य प्रकट भएको थियो ।

    दुवै लायन्स क्लबका संयोजकद्वय लायन हजुरी शाह र लायन शिवजी खड्काको संयोजकत्वमा दुवै क्लवका बरिष्ठ लायन्स सदश्य तथा बोर्ड सदश्यहरूबाट भएका ब्यवस्थापकीय र अन्य गतिबिधिहरू अत्यन्त प्रभावकारी रहेको थियो भने कार्यक्रम संचालनमा दुवै क्लबका लायन्स सदश्यहरूको सहभगिता र सक्रियतालाई दृष्टिगत गर्दा अब नेपाली डायस्पोराका लायन्स क्लबहरूमापनि नेतृत्व क्षमता क्रमश बिकास हुँदै गइरहेको प्रष्ट देखिन्थ्यो ।

    उक्त रक्तदान कार्यक्रममा कुल ४५ जनाले आफ्नो नाम दर्ता गरेतापनि प्रारम्भिक स्वास्थ्य परीक्षणबाट कुल ३५ जनाले मात्र रक्तदान गर्न छनौट भएका थिए । रक्तदान अवधिभर क्लब अध्यक्षद्वय लायन रीमाया नेपाली – Queens Buddha र लायन अशोक कार्की – Queens KTM ले सबै रक्तदाताहरूलाई प्रमाणपत्र बितरण गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो । कोभिड शुरू भएदेखि नै यी दुई लायन्स क्लबहरूले नियमित रुपमा कम्तिमा प्रत्येक ३-३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।

  • युक्रेनसँगको युद्धले एक्लियो रुस

    युक्रेनसँगको युद्धले एक्लियो रुस

    बीके नेवा, न्युयोर्क

    युक्रेनसँगको युद्धले विश्वबाट रुस एक्लिएको छ । युक्रेनमाथिको रुसी सैन्य कारबाहीको विश्वव्यापी विरोध भएको छ । अमेरिका, बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपली संघ, नेटोलगायतले रुसमाथि नाकाबन्दी लगाएका छन् । अमेरिकी राष्ट्रपति जोए बाइडेनले रुसलाई पटक पटक युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिए । तर रुसले मानेन । यो आक्रमणले रुस विश्वमाझ नांगिएको छ ।
    रुसको प्रतिकार गर्न युक्रेनमा नेटो सैनिक पठाउने हो भने युरोपभरि नै युद्ध फैलिने साथै रुस र अमेरिकाबीच नै युद्ध हुने आकलन गरी बाइडेनले नेटो सेना पठाउन मानेनन् । उनको यो राजनीतिक सुझबुझले जारी युद्ध रुस र युक्रेनबीच सीमित रहने छ । तत्काल दुवै पक्षबीच वार्ता गरी युद्ध अन्त्य गर्नुपर्नेमा बाइडेनको जोड छ ।
    दुई छिमेकी रुस र युक्रेनबीच युद्ध जारी छ । यसलाई दोस्रो विश्वयुद्धपछिको ठूलो युद्ध मानिएको छ । युद्धको सुरुवात रुसले गर्यो । रुसले एकतर्फीरुपमा युक्रेनका दुई विद्रोही क्षेत्र डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दियो । त्यहाँ शान्ति स्थापनाको नाममा आफ्ना सेना पठाएलगत्तै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही सुरु भएको घोषणा गर्यो ।
    वर्षौदेखिको रुस–युक्रेन विवाद अन्त्यमा युद्धमा परिणत भयो । रुसी राष्ट्रपति राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनेत्स्क र लुहान्स्कलाई फेबु्रअरी २१ स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरे । फेबु्रअरी २२ मा ती दुवै राज्यमा शान्ति स्थापना गर्ने भन्दै रुसी सेना प्रवेश गरे । फेब्रुअरी २३ मा युक्रेनले मुलुकभर सङ्कटकाल घोषणा गर्दै सैनिक कानुन लागू गर्यो । सोही दिन अमेरिका, बेलायतलगायत ३२ देशले रुसविरुद्ध नाकाबन्दी लगाए ।
    फेबु्रअरी २४ मा रुसी राष्ट्रपति पुटिनले औपचारिक रुपमा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु भएको घोषणा गरे । सो घोषणालगत्तै रुसी सेना युक्रेन प्रवेश गरी आक्रमण गर्न थाले । रुसी सेनाले युक्रेनको राजधानी किभलगायतका सहरमा क्षेप्यास्त्र आक्रमण गरे । युक्रेनको चेर्नोविल आणविक भट्टीमाथि रुसले कब्जा जमायो । रुसी सेना दुई दिनमै राजधानी किभ प्रवेश गर्यो ।
    फेबु्रअरी २६ मा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युक्रेन प्रस्तावमाथि रुसले भिटो प्रयोग गर्यो । फेबु्रअरी २७ मा अमेरिकाले देश छाड्न भने पनि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अस्वीकार गरे । सोही दिन युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि रुसी आक्रमण सुरु भयो । फेबु्रअरी २८ मा बेलारुसले रुसलाई सहयोग गर्न सेना पठाउने निर्णय गर्यो । सोही दिन युरोपेली सङ्घले युक्रेनलाई हतियार दिने र रुसमाथि हवाई प्रतिबन्ध लगाउने निर्णय गर्यो । रुसले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आत्मसमर्पण गर्न भन्यो । तर उनले अस्वीकार गरे ।
    रुससँग नौ लाख सेनासहित अत्याधुनिक हतियार छ भने युक्रेनमात्र दुई लाख पचास हजार सेना र सीमित हतियार छ । सानो राष्ट्र युक्रेन ठूलो राष्ट्र रुससँग कति दिन युद्ध गर्नसक्छ ? नेटो सेना युक्रेनको पक्षमा नलडेकाले यो युद्ध धेरै दिन नलम्बिने सम्भावना छ ।
    रुसले स्वतन्त्र राज्यको मान्यता दिएका दुई क्षेत्रमा विद्रोहीहरुले खुसियाली मनाउँदै रुसी कदमको स्वागत गरे । ती दुवै क्षेत्र रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् । उनीहरू युक्रेनको सेनासँग सन् २०१४ देखि लडिरहेका छन् । हालसम्म त्यहाँ १४ हजार मानिस मारिएका छन् ।
    अमेरिकालगायत पश्चिमा देशले अघिल्लो महिनादेखि नै रुसले सीमा क्षेत्रमा सैन्य बल तैनाथ गरेसँगै कुनै पनि बेला युक्रेनमाथि सैनिक कारबाही गर्नसक्ने भन्दै रुसी तयारीको विरोध गर्दै आएका थिए । तर रुसले भने युक्रनमाथि आक्रमणको योजना नभएको बताएको थियो जुन गलत सावित भयो । रुसले युक्रेनको विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्दै सेना पठाउनु अन्तर्राष्ट्रिय कानुनविपरीतको कदम हो । विद्रोही क्षेत्रबाट आक्रमण सुरु गरेको रुसी सैन्यबल राजधानी किभ पुगेर केन्द्रीय सत्ता कब्जा गर्न युद्ध गरिरहेको छ ।
    युद्ध सुरु हुनुअघि रुस र युक्रेनबीच संवाद गराई विवाद मिलाउन गरिएको अन्तर्राष्ट्रिय प्रयास सफल हुन सकेन । फ्रान्सले शान्तिवार्ताका लागि प्रयास गरेको थियो । तर रुस आफ्नो अभियानबाट पछि हटेन । युद्ध सुरु भएपछि पनि रुस र युक्रेनबीच वार्ता भए पनि सहमति भएन ।
    युक्रेनविरुद्ध रुसले गरेको सैन्य कारबाही सर्वत्र विरोध भएको छ । अमेरिकी राष्ट्रपति जोए बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी हस्तक्षेपको निन्दा गरे । संयुक्त राष्ट्रसङ्घ, युरोपली सङ्घ((ईयू) र उत्तर एटलान्टिक सन्धि सङ्गठन(नेटो)ले पनि रुसको घोषणा अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै सो घोषणा फिर्ता गर्न रुसी नेतृत्वलाई आग्रह गरे ।
    युक्रेनले आफ्नो सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भन्दै रुसी कदमको विरोध गर्यो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले र रुसी हस्तक्षेप अस्वीकार्य भएको बताउँदै रुससँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरे ।
    उता अमेरिकी बाइडेनले युक्रेनको विद्रोही क्षेत्रको नेतृत्व र रुसी अधिकारीविरुद्ध थप प्रतिबन्ध लगाउने आदेश जारी गरे । उनले सैनिक हस्तक्षेप बन्द गर्न रुसलाई थप चेतावनी दिए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भन्दै निर्णय फिर्ता गर्न आग्रह गरे ।
    सन् २०१४ मा युक्रेनको क्रिमिया प्रायद्विपलाई रुसले बलपूर्वक आफूमा विलय गराएको थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको हो । युक्रेनविरुद्ध लड्दैआएका ती क्षेत्रलाई पुटिनले युक्रेनसँग शत्रुता बढेसँगै नयाँ स्वतन्त्र राज्य भएको घोषणा गरेका हुन् अर्काको भूमिलाई यसरी स्वतन्त्र राज्य घोषणा गर्नु न्याय संगत होइन बल मिच्याइँ हो । रुसको आक्रमणले गम्भीर प्रश्न खडा भएको छ ।
    युक्रेनले नेटोको सदस्यता लिने तयारी गरेको छ । जुन कुरा रुसलाई स्वीकार्य छैन । रुसले सो कदमबाट आफ्नो सुरक्षा खतरामा पर्ने भन्दै विरोध गर्दै आएको छ ।
    पश्चिमा देशसँग युक्रेन​ कहिले पनि नेटोको सदस्य नहोस् भन्ने उसको माग छ । पूर्वी युरोपमा नेटोले उसका गतिविधि नगरोस् भन्ने चाहना रुसको छ । पूर्वी युरोपमा नेटो विस्तार रुसलाई सह्य छैन । उसले यस कदमलाई रोक्न हदैसम्मको बल प्रयोग गर्ने बताउँदै आएको छ ।
    सन् २०२४ सम्म ईयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ । अहिले युक्रेनमा आफ्नो पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन । युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्नेछ । रुस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ । युक्रेनी नेतृत्व विरोधी भए रुसको सुरक्षा खतरामा पर्ने रुसी अधिकारीको चिन्ता छ । रुसको यो चिन्ता सम्बोधन गरी युक्रेनसँगको युद्ध अन्त्य गर्नुपर्छ । युद्ध लम्बिए युक्रेनको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना प्रबल छ ।

  • ब्याजदर वृद्धि र शेयर बजारको सम्बन्ध

    ब्याजदर वृद्धि र शेयर बजारको सम्बन्ध

    सरोज सिग्देल, टक्सस

    अमेरिकाको शेयर बजारलाई हेर्दा जनवरी महिनामा सन् २००९ पश्चात सर्वाधिक गिरावट आएको देखिन्छ । यो सँगै विश्वव्यापि ब्याजदर वृद्धिका कारण अबको शेयर बजार र अर्थतन्त्रले कस्तो रुप लिन्छ भन्ने कुराले तरंगित बजारलाई रसिया र युक्रेनबीचको विवाद, अमेरिकी सरकारद्वारा निकट भविष्यमा नै ब्याजदरमा वृद्धिको संकेत र उच्च मुद्रास्फीतिसँगै शेयरबजार ओरालो लागिरहेको छ र कुन विन्दुबाट फर्कन्छ भन्ने कुरा अन्योल रहेकाले आफू, आफ्नो परिवार र आफ्नो आर्थिक दृष्टिकोणप्रति सजक रहनु पर्ने भएको छ ।
    हालै रसियाद्वारा युक्रेनमाथि गरिएको आक्रमणसँगै विश्व अर्थतन्त्रका साथै अमेरिकी अर्थब्यवस्थामा पनि अन्योलको अवस्था सिर्जना भएको छ । रसिया संसारकै सर्वाधिक पेट्रोलियम पदार्थको उत्पादन गर्ने मुलुक हो र अमेरिकाको लागि दोस्रो ठूलो निर्यातकर्ता जसका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन जान्छ भन्ने कुरा बजारले देखाइ सकेको छ । प्रतिब्यारेल १०० डलरको वृद्धि हुँदा बजारमा पेट्रोलियमको मुल्य प्रति ग्यालन ३ रुपैयाँ ५० पैसा (अमेरिकी डलर) पुगिसकेको छ I जेपि मोर्गनका इन्भेसमेन्टका अनुसार यो मूल्य प्रतिब्यारेल १२० रुपैयाँ वृद्धि भएको खण्डमा प्रति ग्यालन ( १ ग्यालन = ३.७८ लिटर) ३ रुपैयाँ ९० पैसा र अझै १५० रुपियाँ प्रतिब्यारेल वृद्धि हुन गएमा पेट्रोलियमको मूल्य प्रति ग्यालन ४ रुपैयाँ ४० वा सो भन्दा पनि माथि जान सक्ने अनुमान गरेको छI पेट्रोलियम पदार्थको मूल्यसँगै मुद्रास्फीति दर ७.५ रहेको जुन सन् १९८२ पछि उच्च मुद्रास्फीति हो ।पेट्रोलिम पदार्थको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तुहरूको ढुवानि भाडा वृद्धि हुन गई उपभोग्य सामानहरूको मूल्य अत्याधिक वृद्धि हुने र सोको असर हामीजस्ता उपभोक्ताले नै व्यहोर्नु पर्दछ ।

    यसका साथै रसियालो अमेरिकाकालागि गहुँ र पेडेलियम धातुको निर्यातमा पनि ठूलै हिस्सा ओगटेको छ । गहुँको मूल्य वृद्धिसँगै अमेरिकी साधारण जनताको भान्सा घरको बजेटमा गम्भीर असर पार्दछ भने पेडेलियम धातु सवारीका पार्टपुर्जा निर्माण, गहना र मानिसको दाँत बनाउने काममा अत्यधिक प्रयोग गरिन्छI यो धातुको मूल्यमा तिव्र रूपमा वृद्धि भइरहेको छ । सन् २००९ मा प्रतिऔंस १९० डलर रहेको धागो हाल प्रतिऔंस ३००० डलर पुगिसकेको छ र यसको मूल्यमा अझै २५ प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।

    फेडेरल बैंक अमेरिकाका प्रमूख जेरमी पावेलको पछिल्लो वक्तव्यमा प्रयोग गरिएको “वर्षको पहिलो ब्याजदर वृद्धि” भन्ने शब्दले शेयर बजारका साथै अर्थतन्त्रमा नै तरंग ल्याएको छ । अब अर्थ निकट भविष्यमा पटक पटक ब्याजदर वृद्धि हुन सक्ने अनुमान अर्थशास्त्रका पण्डितहरूले रहेका छन् । ब्याजदर वृद्धिले शेयर बजारमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्दछI अर्थात ब्याजदरमा भएको वृद्धिसँगै सेयर बजारलाई ओरालोको गति समाउन बाध्य बनाउँछ I सामान्यतया उच्च विन्दुबाट १० देखि २० प्रतिशतसम्म गिरावटलाई करेक्सन मान्ने गरिन्छ भने सो भन्दा माथिलाई बियरिस संकेत भनिन्छ । हाल १० प्रतिशतको करेक्सन भइसकेको छ भने अब कुन विन्दुबाट फर्कने हो कसैलाई कुनै सुइँको छैनI जेरमी ग्रान्थम अनुसार यो बजारले ४३ प्रतिशतसम्म करेक्सन दिनसक्ने दावा गरेका छन्I कोरोना कहरको प्रारम्भमा पनि ३२ प्रतिशतले आएको गिरावट केही महिनामा नै आफ्नो गति सामान आउन सफल भएको थियो तसर्थ केही अर्थविद्हरूले यसलाई खरिदको अवसरको रूपमा पनि लिनुपर्ने व्याख्या गरिरहेका छन् ।

    यस्तो अन्य अवस्थामा अपनाउनु पर्ने रणनीति हो, “इलियट वेभ थ्योरी” । यसमा मानिसहरुको समूह (Group of People) ले कसरी प्रतिकृया गर्दछ भन्ने कुराको विस्तृत व्याख्या गरिन्छ । यसले सेयर लगानीकर्ताहरु कसरी निराशाको स्टेटबाट आशावादी बन्छन भन्ने कुराको विश्लेषण गर्दछ । सेयर बजारको उतार चढावको क्रममा बन्ने प्याटर्नहरु दोहोरिने गर्दछन । ति दोहोरिइरहने प्याटर्नको बारेमा विस्तृत व्याख्या गर्दै एलियटले आफ्नो सिद्धान्त प्रतिपादन गरेका छन । सेयर बजारमा लगानीकर्ताहरुको बदलिइरहने मनोविज्ञान प्राइस मुभमेन्टको रुपमा रेकर्ड भएर बस्ने गर्दछ। लगानीकर्ताहरुले प्राइसमा बन्ने प्याटर्नहरुलाई समयमै पहिचान गर्न सकेमा भविष्यमा मूल्य कता जाँदैछ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
    शेयरबजार जहिले पनि जे पनि हुन सक्ने हुँदा उचित ज्ञान, तालिम, पुँजी र धैर्यताका साथ अगाडि बढेमा अवश्य पनि सफलता हसिल गर्न सकिन्छ ।

  • राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमतिको अधिवेशन सम्पन्न

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमतिको अधिवेशन सम्पन्न

    चितवन फागुन १४ ।

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका कोषाध्यक्ष निर्मला भुजेलज्यूको विशेष अतिथ्यमा भद्रेनी जंगल रिसोर्ट, चितवन सौराहमा सम्पन्न भएको हो ।


    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सचिव नानु थामीज्यु, विशेष अतिथिमा याक्खा महिला समाज केन्द्रीय समितिका अध्क्षय इन्दिरा जिमी याक्खाज्यू, अतिथीमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नुवाकोट जिल्ला समन्वय परिषदका अध्यक्ष सर्मिला थापा मगरज्यू, अतिथीमा दराई महिला संघका अध्यक्ष लक्ष्मी दराईज्यू त्यसै गरि अतिथीमा चितवन जिल्लाका वडा सदस्य बिन्दु दराईज्यू र मकवानपुरका अतिथी सुशिला माँझीज्यू लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाहरुबाट १३ जातीय संस्थाका महिला दिदीबहिनीहरूको उपस्थिति थियो ।

    राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमति प्रदेशको प्रथम अधिवेशनले छिरिङ डोल्मा शेर्पाको अध्यक्षतामा ९ सदस्सीय प्रदेश समन्वय परिषद चयन गरेको छ ।

    बिजयी हुने पदाधिकारीका नामावाली :

    छिरिङ डोल्मा शेर्पा – अध्यक्ष
    अमिता नगरकोटी – उपाध्यक्ष
    देवी माया देवान – सचिव
    प्रतिकक्षा माँझी – सह-सचिव
    रोशनी भुजेल – कोषाध्यक्ष
    जानकी चौधरी – सदस्य
    राम कुमारी थामी – सदस्य
    लक्ष्मी दराई – सदस्य
    कान्छी तामाङ योल्मोपा – सदस्य

  • सगरमाथाजस्तै परिचय छ शेर्पाहरूको

    सगरमाथाजस्तै परिचय छ शेर्पाहरूको

    पासाङ शेर्पा, न्युयोर्क

    जीवन स्मृतिको खात रहेछ । धेरै कुरा र प्रसंगहरुको अचेल सम्झना गर्न थालेको छु । धेरै स्मृतिहरुको लहरमा यो एउटा घटना पनि बिर्सन नसक्ने गरी मनमा बसिरहेको छ मेरो ।
    सन् १९९८ तिरको कुरा हो । युरोप भ्रमणको क्रममा म स्वीजरल्याण्डको ठूलो शहर जुरिचबाट करिब ९ घण्टाको रेल यात्रापछि अस्ट्रियाको बेडआउसी पुगेको थिएँ । सानो तर पुरानो शहर रहेछ बेडआउसी ।
    त्यहाँ मेरा अस्ट्रियन मित्र मार्कुस परिवारका साथ बस्ने गर्थे । उनलाई भेट्न भनेरै म त्यहाँ गएको थिएँ । रेलबाट उत्रिनासाथ साथी मार्कुसलाई देखेँ । मार्कुस र म करिब एक वर्ष पहिला नेपालमा संगै ट्रेकिङ गरेका थियौं । त्यो समयमा निकै रमाइलो भएको थियो। उनीहरुको देशमा फेरि भेट्दा निकै खुसी, आनन्द र हर्ष लाग्यो ।
    हामी दुवै भेट्न निकै इच्छुक पनि थियौं । उनी मलाई नै कुरेर बसेका रहेछन् । साँझ पर्न लागिसकेको थियो । हामी उनका घरमा गयौँ । गाडीमा जाँदै गर्दा साथीले ‘मिस्टर शेर्पा, तिमी रिफ्रेस हुनु । हामी एउटा पार्टीमा जानुपर्छ है । मेरो परिवारहरु सबै नै अघि नै गइसके । आजको डिनर पनि उतै हुन्छ ।’ भने ।
    उनीसँग भेटे लगत्तै त्यसरी निम्तो पाउँदा अत्यन्तै खुसी पनि लाग्यो मलाई । किनभने नयाँ समाज, नयाँ संस्कृतिसँग परिचित हुन पाइयो भनेर । म उनको घरमा पुगेर नुहाईधुहाई सकेर फ्रेस भएँ । त्यसपछि हामी पार्टीमा गयौंँ । पार्टी खुल्ला चौरमा गरिएको रहेछ ।
    छेउछाउमा दुईवटा सानो, ठूलो टहरा भएको, फराकिलो चौरमा अनेकौँ रंगीविरंगी लुगामा मान्छेहरुको आत्मीक चहलपहल थियो । मान्छेहरु भेला हुने र हाइ, हेल्लो गर्ने क्रम पनि जारी नै थियो । टेबुल, कुर्सीहरु राखेर म्युजिक सिस्टमँगै ठूलो प्रोजेक्टर स्क्रिनमा टीभी देखाइरहेको थियो । कुनै ठूलो समारोहजस्तो अनुभव झ्वाट्टै भइहाल्यो मलाई ।
    त्यो माहौल देखेर अघिल्ला दिनका थकाइहरु मेटिए मेरा । त्यहाँ नाचगान चलिरहेको थियो । युवायुवतीहरु कोही समूहमा त कोही एक्लै–एक्लै भए पनि रमाएर गप्फिँदै थिए । गफ, हाँसो र रमाइलो बढिरहेको थियो । विभिन्न परम्परागत खानाहरुका स्टलहरु थिए । केटाहरुले धेरै जसो परम्परागत पोसाक बमेरियन र केटीहरुले डिर्नडल लगाएका थिए । बमेरियन छालाको पाइन्ट तर पाइन्ट भने घुँडासम्म मात्रै हुँदो रहेछ । निकै आकर्षक खालको त्यो लुगा र जुत्ताले बेडआउसी र अल्ताउसी वरपरका स्थानीय युवाहरु झनै सुन्दर देखिन्थे ।
    त्यस्तै गोरा ज्यानका युवतीहरुलाई त्यो पोशाक निकै राम्रो देखिन्थ्यो । पुरुषहरु बमेरियन सँगै उनीको मोजाले घुँडासम्म छोपेर लगाउने गर्दा रहेछन् । टोपी पनि परम्परागत टोपीमा पहिरिएका थिए । एक छेउमा चराको प्वाँखजस्तो सिँगरिएको थियो । त्यस्तै महिलाहरु परम्परागत भेष डिर्नडलमा चिटिक्क सजिएको देखिन्थे। डिर्नडल– लामो–लामो जामाजस्तो विभिन्न कलरका थिए । त्यस्तै कपाल पनि त्यसरी नै मिलाएर बनाएका थिए । पोशाक अनुसारको कपालहरु पनि मिलाएका थिए ।
    म हरेक कुरा ध्यान दिएर हेरिरहेको थिएँ । उनीहरुका लुगा लगाइ, कपाल वा जुत्ता परस्पर मिल्दा थिए । त्यहाँको माहोल निकै रमाइलो थियो । त्यहाँ उपस्थित मान्छेहरु धेरै जना आफू–आफूमा गप्फिइरहेका देखिन्थे ।
    मार्कुसले मलाई उनको परिवारसँग भेटघाट गराए । मैले नमस्कार गरेँ र गालामा चुम्बन गरेर एक–अर्कोमा अभिवादन गर्यौँ । युरोपेली समाजमा म निकै आत्मीकसँग प्रस्तुत भइरहेथेँ । चिनेका केटा–केटाहरु भेट्दा हग गर्ने, हात मिलाउने र केटा–केटी भेट्दा गालामा चुम्बन गर्ने चलन प्रायः पश्चिमी सभ्यतामा चलिआएको छ । गाला–गाला जोडेर चुम्बन गर्नु सामान्य चलनको रुपमा लिइन्छ । त्यहाँ पनि त्यस्तै गरिन्थ्यो । सुरुसुरुमा मलाई त्यसरी केटीहरुको गालामा चुम्बन गर्न अलि असहज महसुस हुन्थ्यो । तर पछि सबैले गरेको देखेपछि मैले पनि सहज रुपमै लिएँ । यो उनीहरुको अत्यन्तै श्रद्धा, आदर र प्रेमको संस्कार हो । योबाटै उनीहरुको संस्कृति र सभ्यताले उचाइ पाएको लाग्थ्यो ।
    युवा केटाकेटीहरु आफ्नै उमेरका साथीहरुसँग रमाइला बातचित गरिरहेका देखिन्थे । झुरुप्प–झुरुप्प भेला भएर गफ गर्नेहरु देखिन्थे । बडो रमाइलो वातावरण देखिन्थ्यो । चौरको एक छेउमा भएको प्रोजेक्टरको ठूलो स्क्रिनमा फुटबल गेमका कमनटेटरहरुले फुटबल खेलको बारेमा बोलिरहेका थिए ।
    परम्परागत चाडपर्व जस्तै भए पनि संयोगवस दिन त्यस दिन वल्र्ड कप– १९९८ को फाइनल म्याच पनि ब्राजिल र फ्रान्स बीच थियो । कसैका आँखा स्क्रिनतिर भए पनि हात र खुट्टाका चाल चलिरहेकै थिए । उनीहरु गफसँग हाँसोमा रमाइरहेका देखिन्थे । खेल कस्तो होला भन्ने धेरैको चाहनामा थियो । त्यसैले त्यहाँ भएकाहरु खेल सुरु हुनेको प्रतीक्षामा थिए ।
    चौरको एउटा कुनामा बार चलिरहेको थियो । मैले सरर्र त्यता हेरेँ । वातावरण निकै गर्मिलो देखिन्थ्यो । अत्यन्तै खुसी दिने परिवेश थियो । युरोपमा कुनै किसिमको पार्टी अथवा कार्यक्रममा स्थानीय सरकारबाट अनुमति लिएर बाहिरै बार बनाएर मादक पदार्थ बेच्न र पिउन मिल्छ । बियर पिउँदै, रक्सीको चुस्की लिदै युवायुवतीहरु आ–आफ्नै दुनियाँमा हराइरहेका देखिन्थे ।

    गफ र कुराकानीसँगै गफ चम्किरहेको थियो । वातावरण ज्यादै आकर्षक भइरहेको थियो । त्यहाँ विभिन्न किसिमका खानाका परिकारहरु र ड्रिंकहरु पनि राखिएको थियो । मैले साथीको परिवारसँगै बसेर धेरै परिकारको खानाहरु चाखेँ । परिकारहरु निकै स्वादिला थिए । हाम्रोभन्दा युरोपेली खानाहरु पूर्णरुपमा फरक हुन्छन् । हाम्रा मसला बढी भएको तर युरोपेलीहरुका खाना सादा र मसला कम भएका हुन्छन् ।

    ड्रिंकमा बियर हिष्कीसगै पाइन सिटबाट बनाएको एक किसिमको रातो रंगको गुलियो ड्रिंक रहेछ । पिउँदा गुलियो थियो । मैले पनि अलि–अलि गर्दै एक गिलास पिएँ । मीठो थियो । तर झुम्म भएको थियो । नपत्याउँदो शैलीमा म ड्रिंकको प्रभावमा परिरहेको रहेछु । यताउता घुम्दै सबै कुरा निहालिरहेको थिएँ ।
    एकै छिनपछि फुटबल पनि शुरू भयो । सबै जना एककट्टा भएर फुटबल हेरिरहेका थिए । साथसाथै मधुरो संगीतको तालमा बियर, रक्सीको चुस्कीसँगै झुमिरहेका देखिन्थे । कति जना रोनल्डोको फ्यानहरु थिए, कति जना जिदेनको फ्यान । त्यस्तै अन्य खेलाडीहरुको फ्यानहरु पनि उनीहरुको खुट्टमा बल पुग्ने बितिक्कै चिच्याउने, कराउने गर्थे । बलसँगै आवाज पनि चर्किन्थ्यो । मान्छेहरु रमाएर, उत्तेजित भएर कराउँदा वातावरण खुबै मोहक लाग्थ्यो । यसरी ९० मिनेटको खेल सकिएको पत्तै पनि पाइएन ।
    ब्राजिलको तुलनात्मक हिसाबमा खेल अलि कम्जोर थियो । फ्रान्सले जिरोको विरुद्ध तीन गोल गरेर जीत हासिल ग¥यो । फ्रान्स जित्नुमा जिदानको ठूलो हात थियो । अरु खेलाडीहरुको भन्दा उनको हाइट् राम्रो भएकोले उनले हेड गोलहरु गर्न सफल भएका थिए । म्यान अप दि म्याच भए उनी । म पनि अरुसँगै रमाइरहेको थिएँ । गोलबारे खुबै बहस समेत ठाउँ–ठाउँमा भइरहेथ्यो । त्यस्तै गोल्डेन बुटबाट रोनाल्डोलाई सम्मानित गरेर ब्राजिल र रोनाल्डोको निराश डाइहर्ट फ्यानहरुलाई पनि सान्त्वना मिलेको थियो । उनीहरु भावुक भएर खेल, खेलाडी, एम्पायरबारे कुरा गर्थे । म पनि कतिपय ठाउँमा आफ्ना कुरा र प्रतिक्रिया राखिरहेको थिएँ ।
    गेम सकिएपछि पनि हामी राति अबेरसम्म रमाइलो गरेर बस्यौं । हाँसोठट्टा, खानपान, नाचगान र गफ चलिरह्यो । धेरैबेरसम्म रमाइलो भइरह्यो ।
    अर्को दिन बिहान उठेर साथीले भने– ‘पासाङ, तिमी आउँछौँ भनेर मैले छुट्टी दुई–तीन दिन नै लिएको छु । त्यसैले आज हामी हिमालतिर जानुपर्छ है ।’ मैले पनि ‘हुन्छ’ भनेँ ।
    त्यसपछि ब्रेकफास्ट गरेर उसको अरु चार–पाँच जना साथीहरुसहित हामी सबै मिलेर एउटा ठूलो पहाड चढ्न गयौं । मैले सोचेको थिएँ– हिमाल निकै अप्ठेरो होला । भीर, अग्लो र हिउँ नै हिउँको खात होला भन्ने ठानेँ मैले । हिमालका रमाइला चुचुरा होलान् भन्ने कल्पना मेरो दिमागमा आइहाल्थ्यो । हिमाल भनेपछि हिउँ त टन्न होला सम्झेको थिएँ तर त्यस्तो थिएन । गाईवस्तु चराउने पहाडी जङ्गल पो रहेछ । स–साना पोथ्रा थिए । चौर र पाखो डाँडो थियो । केही होचा रुखपात थिए । मसिना झाडीले भरिएको पखेरो थियो । मैले उसलाई बोलाउँदै भनेँ, यसलाई पनि हिमाल भन्छ र ? हाम्रो देशमा त हिमाल भनेको हिउँ नै हिउँ भएको पहाडलाई पो भनिन्छ ।’ यसोभन्दा ऊ पनि हा… हा… गर्दै हाँसेको थियो ।
    मेरा कुराले उसलाई छोएछ । हुन त ऊ मेरो बारेमा मात्रै होइन, नेपालसँगै परिचित थियो । उसलाई नेपालको बारेमा राम्रै जानकारी थियो । दुई दिनसम्मको हिमालको बसाइ रमाइलो नै भयो । मैल मर्कुसलाई ’धेरै धन्यवाद । रमाइलो भयो ।’ भनेँ ।
    म आफ्ना घरछेउ खुम्बुका ‘कोङदे पिक’ चुचुरा हेरेर मनमनै मुस्काएको थिएँ ।
    उसले भनेको थियो– ‘दिन राम्रो भयो भने फेरि अर्को दिन कतै हिमालतिरै जानु पर्छ ।’ त्यहाँका मान्छेहरुको लाइफ स्टाइल देख्दा लोभलाग्दो थियो । काम पनि तोडले नै गर्ने रहेछन् । साथसाथै रमाइलो पनि । रमाइलो र काम दुवै बीचको सन्तुलन निकै गज्जबको देखिन्थ्यो ।
    त्यसैले त्यहाँको जीवनस्तर त्यति राम्रो भएको हुनु पर्छ । सानो शहर थियो म पुगेको ठाउँ । प्रायः एक अर्कालाई चिन्ने रहेछन् । बाटोमा भेट्दा पनि एकछिन रोकेर कुरा गर्ने, हग गर्ने, गालामा चुम्बन गरेर अभिवादन गर्ने गर्थे । दिन राम्रो हुनेबित्तिकै कामै छोडेर कि हिमालतिर ट्रेकिङ गर्न निस्किरहेका हुन्थे, कि अल्टासेको लेकमा पौडी खेल्न र बर्बीक्यु गर्न निस्किहाल्थे । अनि बेलुकी साना–साना बारहरुमा गएर रमाइलो गर्ने हाउस पार्टीहरु पनि त्यतिकै भइरहेको हुन्थे । म त्यहाँ बसुन्जेल दुई–तीनवटा पार्टी त मैले नै भ्याएको थिएँ ।
    अरु बेला घरमा खासै तातो खानाहरु कम पकाउने रहेछ । धेरै जसो ब्रेडसँग सलामी र अन्य रेडिमेट सुख्खा मासुहरु त्यस्तै विभिन्न परिकारका चिज खाने चलन रहेछन् ।

    त्यतिबेला एउटा बिर्सनै नसक्ने एउटा घटना पनि भएको थियो । एक दिन दिनभरि घुम्न गएर साँझतिर घरमा पुग्यौं। त्यो साँझमा हाम्रो कतै जाने योजना थिएन । घरमा पुगेपछि साथीले किचेनमा छिरेर चियाको लागि पानी तताउनु भयो। चियासंगै सुख्खा ब्रेड र सलामी र चिजहरु डाइनिङ टेबुलमा ल्याएर दिएका थिए । ऊ भोक लाग्यो भन्दै मज्जाले खादै थियो। मैले अलि अलि मात्रै खाएको थिएँ। उसले मलाई मिस्टर शेर्पा ‘भोक लागेको छैन ? खानु है खानु’ भनेका थिए । भोक लागेकोले अलि–अलि त मैले पनि खाएँ । तर धेरै खान नै सकिनँ । मैले सोचेको थिएँ । अब डिनर हुन्छ होला,, डिनरमा मज्जाले खाउला । एकछिनपछि त ’ल म त थाकेँ, अब सुत्छु है। तिमी पनि सुत्न गए हुन्छ । भोलि फेरि बिहानै निस्किनु पर्छ ।’ भनेर भने । अनि साथी त कोठातिर गए । म त एकछिन छक्क परेँ ।
    ‘यति छिटै सुत्न जाने ? डिनरको कुरै गर्दैन त ?’ मनमनै कुरा खेले । खैर ठिकै छ भनेर म एकछिन टिभी हेर्न थालेँ । एकछिनपछि म पनि कोठातिर लागेँ । कोठामा सुत्न खोज्छु निद्रा नै लाग्दैन । भोक मेटिएकै छैन । मैले त डिनर पनि हुन्छ होला भनेर ब्रेड पनि कमै मात्र खाएको थिएँ । तर त्यो ब्रेड नै डिनर रहेछ । बिचरा, उसले त ब्रेड काटेर दिउँ भनेर दुई तीन चोटि नै सोधेको नै थियो । मैले नै आदरभाव पूर्ण सानो स्वरमा ’नो थ्याङ्क यु’ भेनेको थिएँ ।
    नेपालमा, अझ शेर्पा समुदायमा खानु–पिउनु मन नै भए पनि एकै चोटि हुन्छ खान्छु–पिउछु भन्ने चलन हुदैन । यसो गर्दा आदर नगरेको ठहर हुन्छ । एक–दुई चोटि त जसले पनि पर्दैन “थुचे“ नै भन्ने चलन हुन्छ ।
    खुवाउनेले पनि एक चोटि ’पर्दैन। थुचे’ भन्दैमा रोक्दैन । अलि कर नै गरेर खुवाउने चलन आजको दिनसम्म पनि यथावत छ । यो पनि एक किसिमको एक अर्कोलाई गरिने सत्कार भित्रै पर्छन् । तर बिचरा, मार्कुसलाई यसबारे के थाहा । उनीहरुको ’नो’ भनेपछि फेरि कर गर्ने चलन नै हुदैन । खान मन नभएरै भनेको होला भन्ने उनीहरुको बुझाई हुदोरहेछ । पछि बल्ल पो थाहा पाइयो । नेपालमा दिनमा दुई छाक तातो–तातो भात खाने बानी भएको म,त्यो एक सुख्खा ब्रेडले र चिजले के पुग्नु । पेट कटकट काट्न थाल्यो । भोकले त रात कटाउनु नै मुस्किल होला जस्तो भएको थियो ।

    त्यसपछि, हुँदै भएन भनेर म अरुहरुले थाहा नपाउने गरेर कोठाबाट सुटुक्क निक्लेर रेस्टुरेन्ट खोज्दै हिडेँ । रातको दस बजिसकेको थियो । धेरैवटा रेष्टुरेन्ट त बन्द भैसकेको थियो । बल्लतल्ल दस मिनेट जतिको हिँडाइपछि एउटा रेष्टुरेन्ट खुला देखेँ । धन्न रेष्टुरेन्ट खुलै थियो । मज्जाले खाना अर्डर गरेर खाएँ । अनि बल्ल घरमा आएर सुतेँ । रातमा निद्रा पनि मज्जाले लाग्यो ।
    भोलि पल्ट बिहान साथीले सोधे– ‘पासाङ तिमीले त हिजो पनि ब्रेड राम्रोसंग खाएका पनि थिएनौ । भोक लागेको होला है ?’
    मलाई मनमनै हाँस उठ्यो । र मुसुक्क हाँस्दै ‘ठिकै छ । त्यस्तो भोग लागेको छैन ।’ भनेको थिएँ । त्यो कुरा संझिदा आज पनि हाँस उठेर आउँछ ।

    छोटो समय भए पनि व्यवस्थित थियो । सबै काम, रमाइलोसँगै आफ्नो ब्यस्ततामा लागेको देखिरहेथेँ म । साथीले एकपछि अर्को हिमालतिर जाने योजना बनाउँदै गर्दा मैले उसलाई ठट्यौली पारामा भनेको थिएँ– ‘म त हिमालबाटै आएको मान्छे । हिमाल त हाम्रै देशमा कति–कति छन् । बरु मलाई शहर घुमाऊ न । भयो भने ठूल्ठूला क्लब , मलतिर पनि घुम्न जाने मन छ ।’ मैले त मुखै फोरेँ ।
    किनभने उसले म हिमालकै फेदीको मान्छे भएकाले हिमालको चाहना बढ्ता गर्छु कि भन्ने ठानेको हुँदो हो । धेरै हिमाल मात्र हेर्दा ‘वनै पिडालु, घरै पिडालु, ससुराली जाँदा बाह्र हाते पिडालु’ जस्तो लागेर मैले क्लबको कुरा गरेको थिएँ । हुन पनि विदेश जाने भनेपछि ठूला ठूला शहरमा घुम्ने, गगनचुम्बी बिल्डिङहरुका अगाडि बसेर फोटो खिच्ने, शहरको अन्य दृश्यहरु अवलोकन गर्ने जस्ता क्रियाकलापहरु गर्ने सपना बोकेरै गएको हुन्थेँ म ।
    युवा अवस्थाको चाहानाहरु पनि यस्तै यस्तै हुन्थ्यो। यो अनौठो पनि त थिएन । नेपालमा त्यो वातावरण बनिसकेको थिएन । त्यहाँका मान्छेहरु ठूलो शहरतिर घुम्न जान त्यति रुचाउदैन रहेछन् । तर पनि मेरो कुरा काट्न नसकेर, साथीले पनि हाँस्दै ’हुन्छ त्यसो हो भने पर्सितिर जाउँला नि, तर ठूलठूला क्लबहरु त ठूलो शहरमा मात्रै हुन्छ ।’ भन्यो ।
    उसले मलाई आत्मीयतापूर्ण लैजाने निर्णय सुनायो । म पनि उसको कुराले प्रसन्न भएँ । ‘त्यहाँसम्म पुग्न तीन–चार घण्टाको ड्राइभ नै लाग्छ, त्यसकारण हामी अलि नजिकको शहरमा घुम्न जाउँला र बेलुकीतिर क्लबतिर जाउँला’ भन्यो । मैले पनि हुन्छ भनेँ ।
    जसरी ऊ नेपालमा आउँदा उसले इच्छाएको ठाउँमा हामी घुमाउँथ्यौँ, त्यसरी नै उसले पनि सोचेर होला मेरो प्रस्तावमा नाइँनास्ती गरेन । उसको भावनाको सम्मान हामीले गरेका थियौं । उसले पनि सहजै मेरो मनको इच्छालाई कदर गरेको थियो । सहजै मेरो रहर पूरा गर्ने दृढ भावना देखायो साथीले ।
    त्यसपछि हामी अर्कोदिन मेरो इच्छाअनुसार नजिकैको बीस मिनेट जतिको ड्राइभमा पुग्ने शहरमा घुम्न निस्कियौँ । दिउँसो दिनभरि शहरमा घुम्यौं । मलतिर गएर किनमेल गर्यौं । पार्कतिर पुग्यौं । नुन खानी भएको ठाउँतिर गयौं । त्यसपछि बेलुकीतिर हल्का डिनर गरेर हामी नजिकैको क्लबमा छिर्यौँ ।
    क्लब ठूलै रहेछ । मान्छेहरु पनि खचाखच नै थियो । रमाइलो भइरहेको थियो । नाच्ने, गाउने क्रम भइरहेथ्यो । एक–अर्कालाई समातेर रमाएर नाच्ने र हग गर्नेहरु थुप्रै थिए । बिजुलीको झिलिमिलि थियो । वातावरण अत्यन्तै रमाइलो थियो । बडो कलात्मक हिसाबले क्लब बनेको थियो । युवा युवतीको भीड चर्कै थियो । मेरो साथी मार्कुस, अर्को साथी कार्ल, अनि दुईजना नयाँ साथी गरेर हामी जम्मा पाँच जनाको समूहमा गएको थियौँ । म्युजिक चलिरहेको थियो । डान्स फ्लोरमा नाच्ने नाचिरहेका थिए । छेउ–छेउमा कतै सोफा, कतै टेबुल कुर्सी राखिएको थियो ।
    प्रायः सबै भरिभराउ थिए । अनेक खालका पपले गर्दा क्लबको माहौल बडो लोभलाग्दो थियो । नाच्ने, रमाउने, झुम्ने र रमाइलो गर्नेहरु हरेक मिनेट–मिनेटको उपभोग गरिरहेथे ।

    छोटो छोटो पहिरनमा युवती वेटरहरु ग्राहकहरुलाई बियर, रक्सी पुर्याउनु भ्याई नभ्याई थियो । जोडी–जोडी बनाएर नाचिरहेका देखिन्थे । कुनै–कुनै जोडीहरु टेबुलमै बसेर चुम्माचाटी गरिरहेका दृश्यहरु देखिन्थे भने कोही एक्लाएक्लै पनि आएर साथीको खोजीमा भएजस्तो देखिन्थे । उनीहरुका आँखाले, शरीरले र बोली व्यवहारले त्यसको संकेत गरेको देखिन्थ्यो । म यी सबै कुरालाई निहालिरहेको थिएँ ।
    एक्लो थिएँ, कोही साथी पाएँ नाच्थेँ भन्ने पनि मनमा नभएको होइन मेरो । हामी पनि छेउको एउटा सोफामा बस्यौं । मैले पनि अलि–अलि बियर पिउन सिकिसकेको थिएँ । साथीहरुको समूहमा कसले छिटो बियरको गिलास रित्याउने भन्नेमा कम्पिटिसन जस्तै भएको थियो ।
    ग्लास भर्ने र रित्याउने क्रम तीब्र रुपमा चलिरहेथ्यो । हुँदाहुँदा मलाई पनि अलि–अलि लाग्न थालेछ । साथीहरु पनि त्यस्तै–त्यस्तै हालतमा थिए । एकछिनपछि त साथीहरु पनि कोही कता, कोही कता गरेर सबै हराए । सोफामा म एक्लै थिएँ । बियरको चुस्की लिएर बसिरहेको थिएँ ।

    घरी–घरी झुम्मबाट निस्कन खोजे पनि त्यसले झन्–झन् गहिरोसँग मलाई लगिरहेको लाग्यो । मातको संकेत पनि पाउँथेँ बेला–बेलामा म । हामी बसेको सोफा सँगैको अर्को सोफामा तीन–चार जना केटीहरु र दुई जना केटाहरु बियर पिउँदै रमाइलो गरिरहेको जस्तो लागेको थियो ।
    तर एकछिनपछि ती तीन जना केटीहरु मेरो सोफामा आएर मलाई सोधे– ‘तिमी एक्लै हौ ? हामीसँग जोइन्ट गर्ने हो ?’ उनीहरुले हामीसँग नाच्न, रमाइलो गर्न खोजेजस्तो प्रस्ट देखिन्थ्यो । मैले परिस्थिति आफुअनुकूल भएको हो कि भनेर भित्रभित्रै रमाएँ पनि ।
    तैपनि ‘म एक्लै त होइन, मेरो साथीहरु नाच्न गएकोछन् । बस्नु न’ भनेर म अलि सरेर उनीहरुलाई बस्ने ठाउँ खाली गरिदिएँ । ती केटीहरुले पनि पालैपालो आफ्नो परिचय दिए ।
    तिनीहरु मध्येमा एक जनाको नाम सोफिया थियो । अरुहरुको नाम खासै याद गर्न सकिनँ मैले । मैले पनि आफ्नो नाम बताएँ । सामान्य चिनाजानीपछि हाँसो, कुराकानी, ठट्टा, गीत, नाचबारे चर्चा चल्न थाल्यो ।

    सबै जना खुलेर कुरा गर्न थाले । उनीहरुले हतारिएर ‘ड्रिंक थप्ने होइन म तिमीलाई अफर गर्छु’ भनेर सोधे । मेरो पनि गिलास रित्तिइसकेको थियो त्यसैले ‘हुन्छ, धन्यवाद’ भने । सोफियाले वेटरलाई बोलाएर ड्रिक अर्डर गरिन् । त्यहाँको चलनमा ‘ड्रिंक टुगेदर पे सेपरेट’ हुन्थ्यो ।
    मलाई त्यो पनि अलिक अनौठो नै लाग्ने गरेको थियो । किनकि नेपालमा हामी एक–अर्कोमा कसले अफर गर्ने भन्ने हुन्थ्यो । कुनै–कुनै बेलामा त बिल तिर्नमा समेत हानथाप जस्तै हुन्थ्यो । ‘तँ होइन, म यस पालि’ भन्दै हतपत खल्तीबाट पैैसा झिकेर दिन्थ्यौँ । यहाँ पनि ड्रिंक थप्ने कुरामा त्यस्तै होडबाजी जस्तै भयो । मैले पनि नयाँ ठाउँका साथीहरुको प्रेम र आतिथ्यलाई स्वीकारेँ ।
    त्यो क्लबभित्र भएको मध्येमा कालो कपाल, गहुँगोरो वर्णको म मात्रै थिएँ । सबै गोरा र खैरो कपाल भएका त्यहाँका स्थानीय मान्छेहरु मात्रै थिए । बाहिर देशबाट घुम्न आउने टुरिष्टहरू कमै मात्र देखिन्थे । त्यसैले पनि सबैको नजर ममाथि परेको हुन सक्छ । हुन पनि कागको बथानमा बक्कुलो जस्तै भइरहेको थिएँ म । कपाल र अनुहारले मेरो फरकपन प्रस्ट छुट्टिएथ्यो । नजिकबाट ख्याल गर्नेले मेरो बोलीबाट समेत म अर्कै देशको हुँ भन्ने प्रस्ट थाहा पाइसकेका हुँदा हुन् ।
    ड्रिक पिउदै थिएँ । उनीहरु अब नाच्नु पर्छ भनेर फ्लोरतिर जान लागे र मलाई पनि सँगै नाचौँ भनेर बोलाए । उनीहरु पनि मेरै उमेरको भएकोले मलाई उनीहरुसँग खुल्नुमा त्यति गाह्रो भएन । सँगै नाचेँ, कपल डान्स गरेँ । मलाई पनि एकदम रमाइलो भइरहेको थियो । उनीहरु पनि धेरै रमाइलो मानिरहेका थिए । निकै रमाइलोसँग अनेक खालका नाचहरु भए । हामी अब झनै नजिक भएका थियौँ । हाम्रो व्यवहार अब झनै खुल्ला हुँदै गयो । एकछिन नाच्ने, बस्ने, फेरि नाच्ने क्रम भइरहेथ्यो । त्यसरी गरी सोफामा बस्ने गरि नाच्ने गरेर उनीहरुसंगको घुलमिल राम्रैसंग भएको थियो ।
    कहिलेकाहीँ मेरो साथीहरु म भएतिर आएर ’आर यु ओके, मिस्टर शेर्पा ?’ भनेर सोध्ने गर्थे । म पनि ‘स्योर, थ्यांक यु ।’ भन्ने गर्थें । उनीहरु पनि मसँग मज्जाले नजिकिएका थिए । म पनि त्यो वातावरणमा घुलमिल भएर रमाइलो गरिरहेको थिएँ । उनीहरुको मात्रै खाएर भएन भनेर मैले पनि ती तिनै जना केटीहरुको लागि भनेर तीनवटा बियर अर्डर गरेँ । उनीहरु पनि खुसी भए । यसरी हामी रमाइलो गरिरहेका थियौँ ।
    त्यतिकैमा दुई जना केटा आँटी नआँटी म बसेको सोफामा बस्न आएका थिए । ती केटाहरु पहिले ती केटीहरुसंगै बसिरहेकोहरु देखिएका थिए । उनीहरु नजानिँदो पारामा पछिल्लो हाम्रो समूहसँग घुसेको लाग्थ्यो । मैले सोचेँ, ती केटीका साथीहरु नै होलान् । त्यसैले हाइ–हेलो ! गर्दै भनेँ, बस्नुस् ।
    ‘बरु तपाईंहरु पनि ड्रिंक लिनु हुन्छ ?’ भनेर सोधेको मात्रै के थिएँ, उनीहरु म माथि रिस पो देखाउन थाले । एकजनाले त भन्नै भ्याए, ‘तिमीलाई अघिदेखि निहालिरहेको छु म । तिमी हिरो नबन है ।’ भनेर मलाई निहुँ खोज्न पो थाल्यो, बा ! ‘अलिक धेरै रमाइलो गर्न खोजेको म देखिरहेको छु । के हो तिम्रो नियत ?’ मैले कल्पनै नगर्ने खालका प्रश्नहरु ती केटाहरुबाट सुन्न थालेँ ।
    मैले केटीहरुतिर आँखा डुलाएँ । केटी साथीहरुले मलाई आँखाको इसारा गर्दै ‘छोडिदिनु’ भन्दै थिए । नजिकै रहेको अर्को केटीलाई खुसुक्क सोधेँ– ‘उनीहरु तपाईंका साथीहरु होइन ?’ ’नो, हामीले उनीहरुलाई चिन्दा पनि चिनेका छैनौं । अघिदेखि हामीलाई लाइन मार्न खोजिरहेका थिए । हामी तपाईसँग बसेको र नाचेर रमाइलो गरेकोले उनीहरुलाई डाह लागेको हो, छोड्दिनुस् ।’ भने । केटीहरुले मलाई नै सघाए । तर केटाहरुले प्रतिशोधपूर्ण व्यवहार गर्न थालेको मैले थाहा पाइहालेँ ।
    धेरै गनगन गरेको देखेपछि ती मेरा नयाँ साथीहरुले पनि मेरो पक्ष लिएर उनीहरुकै भाषामा के के भनेर विवाद गर्दै थिए । जति गर्दा पनि उनीहरु संयम हुने नामै लिदैनन् । मलाई पनि रिस उठिसकेको थियो । सहनुको पनि सीमा हुन्छ नि ।

    अलि–अलि बियरले पनि काम गरेको थियो । फेरि मेरो गल्तीविनै उनीहरु आफैँ झम्टी–झम्टी मसँग निहुँ खोजिरहेका थिए । ती केटाहरुको गनगनले मलाई इरिटेड नै भइसकेकोले मैले पनि प्रतिकार गर्न खोजेँ । मैले केही प्रतिवाद नगरी नहुने स्थिति भयो । ‘आखिर तिमीहरुलाई के चाहिएको हो ? म तिमीहरुलाई चिन्दा पनि चिन्दिनँ । उता जाउ मलाई बोर नगर ।’ भन्दै ज्याकेट खोलेर सोफामा फ्याक्दै जुरुक्क उठेँ म ।
    त्यहाँ हल्लीखल्ली भयो । मैले आफ्नो चुरीफुरी देखाएर भगाउन खोजेको थिएँ । हात हाल्नुअघि अलिक पूmर्तिलो पाराले पनि भगाउन सकिन्छ कि भन्ने थियो । तर वातावरण झनै गम्भीर भयो । केटाहरु त मसँग झगडै गर्न तम्सिरहेका थिए । बिनाकारण हेप्न खोज्दा मेरो रिसको पनि सीमा नाघेको थियो । जे पर्ला पर्ला जस्तो भएको थियो । तँ–तँ, म–म को अवस्था भयो । मैले आफ्नो स्वाभिमान गुमेको ठानेँ र त्यसरी आफ्नो अलिक कडा देखाउनु परिरहेको थियो । मेरो अस्मितामाथि धावा बोलेकाले मलाई सनक चढेको थियो ।
    त्यतिकैमा मेरो झगडा पर्न लागेको मेरो साथीले देखेछन् । र उताबाट चिच्याउँदै ‘मिस्टर शेर्पा ! स्टप–स्टप ।’ भन्दै हामी भएको ठाउँतिर आइपुगे । उनी दगुरेर आई माहौल शान्त पार्न खोजे । उनी अलिक चर्कैसँग बोलेका थिए । त्यो सुनेर, एक्कासी ती मसँग झगडा गर्न तम्सेका केटाहरु एक–अर्कोलाई हेराहेर गर्दै मलाई सोध्न पुगे– ‘आर यु मिस्टर शेर्पा ? माउन्ट एभरेस्ट ? ओ माइ गड ।’
    ‘हामीले सोचेका थियौँ कि तिमी त मिडिल इष्टबाट आएको कोही होला । सरी, वी आर इष्ट्रिम्ली सरी । वी आर बिग फ्यान अफ शेर्पा । मेरो बाबा–आमा बर्षैपिच्छे नेपालमा घुम्न जान्छन् ।’ यति फटाफट भनेर माफ माग्यो ।
    एकै छिनअघि आगो भएका गोरे केटाहरु अब घाममा सुकेको हरियो सागको मूठाजस्तै लथ्य्राकलुथ्रुक भएका थिए । उनीहरु पूरै शान्त भएका थिए । म पनि छक्क परेँ । हन के हुँदै छ यो ? अलमलमा परेँ म । म साँच्चै अनौठो मानेर वरिपरि हेर्न थालेँ ।
    ‘कतै यो नाटक त होइन ?’ प्रश्न पनि गरेँ आफैलाई । अनि मैले पनि ‘इट्स ओके’ भनेर उनीहरुलाई मित्रताको हात बढाएँ । केटीहरु पनि हे¥याहेरै भए । उनीहरु एकअर्कालाई हेरेर मुखामुख गर्न थाले । अघिसम्मको आँधीहुरी एकाएक साम्य भयो । केही अघिसम्म चट्याङ बर्सिरहेको वातावरण अचानक शान्त भएको थियो । परिस्थितिमा बिल्कुल फरक भयो ।
    ‘हामी पनि जोइन्ट गर्न सक्छौँ’ भनेर सोध्यो अघिको निहु खोजाहा केटाले । मैले पनि ‘ह्वाई नट’ भनेर म अलि उता सरेँ । अनि उनीहरुलाई आरामसँग बस्न दिएँ । ड्रिंकको लागि सोध्दै थियो तर मैले गिलास देखाउँदै ‘पर्दैन, हाम्रो बाँकी छ’ भनेँ । बरु ‘तपाईहरु अर्डर गर्नु न’ भनेर आग्रह गरेँ । त्यसपछि उनीहरु पनि बियर अर्डर गरेर हामीसंगै रमाइलो गरेको थियौँ ।
    अब अघिको घृणा प्रेममा बदलियो । अघिको रिस अहिले स्नेहमा बदलियो । माहौल पूरै भिन्न भयो । अन्त्यमा मैले मगाएको ड्रिंकको बिल पनि उनीहरुले नै तिरेर फेरि पनि ‘सरी’ माग्दै त्यहाँबाट निस्के । हाम्रो पार्टी जारी रह्यो । अब वातावरण झन् आत्मीय र प्रेमपूर्ण भयो । माहौल झनै उदार, प्रेममय र हार्दिक भयो । तीन जना केटीहरु र हामी मध्यरातसम्म रमाइलो गरेर बस्याँै ।
    बियर अरु थपिए, नाच अरु पनि भए, खानेकुरा अरु पनि मगाइए । हामी सबै पालैपालो नाच्दै, रमाइलो गर्दै समय कटायौँ । यसरी मेरो लास्ट नाम ‘शेर्पा’ भएकै कारण त्यहाँ ठूलो समस्या हुनबाट जोगियो ।
    त्यतिबेलाको समयमा युरोपको कतिपय ठाउँमा ‘नेपाल’ भन्दा पनि हिमालयको देश, माउन्ट एभरेस्टको देश अथवा शेर्पा, गोर्खा भनेपछि चिन्ने अवस्था थियो । नेपाल अन्तर्राष्ट्रिय रुपमा शेर्पा, हिमाल, याक, विशेषतः एभरेष्टकै नाउँले स्थापित थियो । सगरमाथासँग गाँसिएको शेर्पा नाउँले नै युरोपभरि सम्मान, इज्जत र आदर पाएको थियो ।

    शेर्पा भनेपछि इज्जत दिन्थे । सम्मान गर्थे । जे होस्, हाम्रा पुर्खाहरुले त्यस किसिमको इज्जतिलो काम गरेका छन् । इमानदारिता देखाएका छन्, त्यसैले हामी विश्वमा शेर्पा भनेर चिन्ने मौका मिलेको छ । शिर ठाडो बनाएर हिँड्ने वातावरण बनेको छ । यही शेर्पा परिचयले संसारका धेरै ठाउँमा एउटा विशिष्ट मान, कदर र प्रतिष्ठा पाएको इतिहासलाई आजका दिनमा हामीले नजोगाएर भएकै छैन । इज्जत पाउनु ठूलो कुरा होइन जोगाउनु र बचाउनु ठूलो कुरा हो । यो तथ्यलाई हामीले आज त झनै ख्याल गर्नुपर्ने स्थिति आएको छ । हामी शेर्पाहरु धेरै कुराले संसारका आँखामा परेका छौं । उनीहरुको बुझाइ, हेराइ र मनन गराइ निकै नै महत्वपूर्ण छन् ।
    शेर्पा एउटा जाति मात्र होइन । यो त देश र संस्कृतिको विशेष परिचय हो । हाम्रो बेग्लै पहिचान स्थपित छ । फेरि पनि हामीले यस किसिमको निष्ठा, इमानदारिता देखाएर हाम्रा भावी सन्ततिहरुलाई पनि यही किसिमको पहिचान दिलाउने दायित्व हाम्रो काँधमा छ ।
    आज आएर संसारका धेरै ठाउँमा शेर्पाहरु कतै शिक्षा, कतै रोजगारी, कतै व्यापार वा कतै पर्वतारोहणकै क्रममा गए पनि आफ्नो मातृभूमि र पितृथलोसँग गाँसिएको गौरवशाली प्रतिष्ठा जोगाउनु आवश्यक छ । पुर्खाले हिजोका दिनमा जसरी अनुशासन, मिहिनेत र पसिना बगाउने कर्मठ जातिको रुपमा शेर्पाको शिर ठाडो पारेका थिए– अब त्यो जिम्मेवारी आज हामी सामु आएको छ । संसारले सधैँ जानोस्– सगरमाथाको शिर ठाडो भएझैँ शेर्पा पनि त्यस्तै कर्मठ छन्, मिहिनेती छन्, समर्पित छन् र आत्मगौरवले समृद्ध छन् ।

  • वरिष्ठ लोक गायक रामप्रसाद खनालको “बग्ने पानीले…” लोकभाका ट्रेण्डिङ्मा

    वरिष्ठ लोक गायक रामप्रसाद खनालको “बग्ने पानीले…” लोकभाका ट्रेण्डिङ्मा

    काठमाडौं

    लोकभाकाको लोकप्रियता चुँलिदै गइरहदाँ बिदेशमा बस्ने कलाकारहरुले पनि थप योगदान पुर्याएका छन् । यसैबीच वरिष्ठ लोक गायक रामप्रसाद खनालको गीत – बग्ने पानीले.. यतिबेला लोकभाका ट्रेण्डिङ्मा परेको छ ।

    गतसाता म्युजिक भिडियो सहित सार्वजनिक भएको उक्त गीतमा सर्जक स्वयम् चर्चित नायिका रजनी केसीसँग कम्मर मर्काउँदै नाच्दै गर्दा खनालका सहयात्री कलाकार निर्मल शर्मा नाचिरहेकै स्थलमा आइ पुग्छन् र भन्छन् – “ओहो मित्र, तपाईँलाई त नसकिने भो बा, उमेर पचपनका दिल सधैँ बचपनका ! ल बधाई छ !!” यस्तै सम्वादले गर्दापनि गीत राम्रो बनेको छ ।

    रामप्रसाद खनालको बाउन्नौँ गीति एल्बम “बग्ने पानीले” मा समावेश यो गीत र यसको म्युजिक भिडियो खनालले भर्खरै अमेरिकाबाट रिलिज गरेका हुन । दुई महिना यता ४ गीत रिलिज गरी सकेका खनालको यो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । जब खनाल नेपाल पुग्छन् उनले नयाँ नयाँ गीत गाउने र एल्बमहरू प्रकाशित गर्ने गर्छन् । अमेरिकाबाट पनि गीत, कविता, गजल मात्र होइन लेख रचना प्रकाशित गर्ने खनाल नेपाल बाहिर सक्रिय र अग्रणी नेपालीहरू मध्ये अग्र पङ्तिमा पर्दछन् ।

    “बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले” यो लोकगीत खनालले एउटा विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो भनेर भनेका छन् । लोकका विभिन्न पिँडा र वास्तविकतालाई गीत कविता र गजलमा उतार्ने खनालले यस पटक मनोरञ्जन दिने फरक शैली अपनाएका छन् नायिका रजनी केसीसँग म्युजिक भिडियोमा । खनाल आफैले रजनी केसी सँग मोडलिङ गरेका छन् । निर्मल शर्माको निर्देशन, सङ्गम बिस्टको कोरियो ग्राफ, राजु केसीको छायाङ्कन रहेको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको हो ।

    यो गीतका बारेमा खनाल भन्छन् – “मैले जिन्दगीमा धेरै गीत गाएँ । विभिन्न किसिमका गीत गाएँ । लोकगीत, दोहोरी गीत, तीजका गीत, राष्ट्रिय गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, भजन सबै प्रकारका गीत गाएँ तर यो विशुद्ध मनोरञ्जनात्मक लोकगीत हो । जिन्दगीमा मनोरञ्जनको पनि त्यत्तिकै आवश्यकता छ र हुनुपर्छ त्यसैले यस पटक मैले मनोरञ्जनात्मक लोक गीत गाएँ । दर्शक र श्रोताले पक्कै फरक स्वाद ग्रहण गर्नुहुने नै छ मलाई विश्वास छ “

    पछिल्लो समयमा चलचित्रका नायक नायिकाहरू पनि लोकगीत, दोहोरी गीतका म्युजिक भिडियो हरुवा अभिनय गर्न थालेकै बेला परदेशी चलचित्रकी चर्चित नायिका राजनले पनि खनालको यो लोकगीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन । उनले पनि गीत दर्शकहरूले मन पराउने मा आशा बादी छिन ।

    स्मरण रहोस् दुई महिना यता रिलिज भएका खनालका ४ गीत मध्ये यो चौथो गीत हो । यस अघि खनालले हे कृष्ण, हे राम भजन, तिम्री आमा मेरी आमा सामाजिक पारिवारिक गीत, एउटा ढुकुर उडिगयो सेन्टिमेन्टल दोहोरी रिलिज गरिसकेका छन् भने अरू ३ वटा गीत रेकर्ड भई सकेका छन् । लोक दोहोरी क्षेत्रका धरोहर, लोक दोहोरी क्षेत्रलाई यहाँ सम्म ल्याइ पुर्‍याउन अभिभाबकिय भूमिका निर्वाह गरेका खनालका हाल सम्म बाउन्न वटा एल्बम प्रकाशित भैसकेका छन् भने उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च को अध्यक्ष को रूपमा कला क्षेत्रको नेतृत्व गरिरहेका छन् ।

  • अमेरिकामा राजनैतिक अधिकार प्राप्त जनसम्पर्क समिति दर्ता

    अमेरिकामा राजनैतिक अधिकार प्राप्त जनसम्पर्क समिति दर्ता

    क्यालिफोर्निया
    अमेरिकामा नेपाली कांग्रेस अधिनस्त निकायको रुपमा काम गर्ने गरी सुभाष घिमिरेको नेतृत्वमा राजनैतिक अधिकार प्राप्त नेपाली जनसम्पर्क समिति अमेरिका दर्ता भएको छ । क्यालिफोर्निया राज्यमा दर्ता भएको उक्त सस्था अमेरिकी कानून अनुसार ५०१ सि ४ अन्तर्गत बैधानिक रूपले दर्ता भएको सुचना प्राप्त भएको छ ।
    यस अघि गठित आनन्द बिष्ट नेतृत्वको जनसम्पर्क समितिले अमेरिकामा बस्ने नेपाली कांग्रेसमा आबद्द सबै नेपालीलाई समेट्न नसकेको, सँस्थालाई सात बर्षदेखि अधिवेसन नगरी अबैधानिक बनाएको, आफू पार्टीको आमन्त्रित केन्द्रीय सदस्य भएर पनि जनसम्पर्क समितिको सभापतिमा अवैधानिक रूपले कायमै रहेका थिए ‘जुन नेपाली कांग्रेसको विधान बिपरित हो । स्मरण रहोस ‘नेपाली कांग्रेसको बिधान अनुसार पार्टीको कुनै तल्लो निकायमा रहेको ब्यक्ति माथिल्लो निकायको लागि उम्मेदवार बनेमा मात्र पनि कायम रहेको पद स्वत: खारेज हुन्छ तर उनले पार्टीका केही नेताको संरक्षणमा बिधान बिपरित गतिविधि गर्दै आएका थिए । बिष्ट नेतृत्वको जनसम्पर्क समितिले नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा अमेरिकी नागरिकलाई महाधिवेसन प्रतिनिधि बनाइ भोट् समेत हाल्न लगाइ नेपालको कानुन बिपरित काम गर्नुका साथै अन्य अवैध कामहरु समेत गर्दै आएको जानकारी प्राप्त भएको छ । उनको कार्यसमिति बिभिन्न कान्डहरुमा मुछिंदै आएको छ ।

    महामानव वि पि कोइरालाले परिकल्पना गरे अनुसार अमेरिकामा बस्ने सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरुलाई एकताबद्द बनाइ नेपाली कांग्रेसको विधान ’नीति र नियमलाई अक्षरस पालना गर्ने र सस्थालाई बैधानिक बाटोमा हिडाउने गरी नवगठित जनसम्पर्क समिति अमेरिकाले काम गर्ने संस्थाका उपसभापति एवम् संगठन बिभाग प्रमुख ईन्द्र सिटौलाले बताउनु भयो । उहाँले नेपाली कांग्रेसप्रति आस्थावान र नेपालको प्रजातान्त्रिक ब्यवस्थाप्रति सहयोग गर्ने र सद्भाव राख्ने सबैलाई समेट्दै जाने र संस्थालाई एउटा स्वच्छ र सबैले गर्व गर्न लायक संस्थाको रुपमा बिस्तारित गरिने जनाएका छन् । हाल यस संस्थाले २७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय सल्लाहकार समिति घोषणा गर्नुका साथै संगठन बिभाग ‘महिला बिभाग‘ ‘विज्ञ बिभाग’ ‘युवा बिभाग‘ सुचना तथा संचार बिभाग ‘स्वास्थ्य बिभाग र आर्थिक बिभाग गठन गरिसकेको छ । त्यस्तै हालै मात्र टेक्सासको मार्बल फल्समामा ७७ सदस्यीय कार्यसमिति र ५ जना सल्लाहकार समितिको गठन पनि गरेको छ । नबगठित जनसम्पर्क समितिको केन्द्रीय कार्यसमिति यस प्रकार रहेका छन्:

  • पण्डित पीपलमणि एनआरएनए अमेरिकाको सँस्कृति संरक्षण तथा संवर्द्धन समितिको संयोजकमा नियुक्त

    पण्डित पीपलमणि एनआरएनए अमेरिकाको सँस्कृति संरक्षण तथा संवर्द्धन समितिको संयोजकमा नियुक्त

    न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाको नेपाली सँस्कृति संरक्षण तथा संवर्द्धन समितिको प्रथम बैठकको प्रस्ताव अनुसार समितिको संरक्षकमा पण्डित पीपलमणि सिग्देललाई नियुक्त गरिएको छ । समितले प्रवासमा नेपाली सँस्कृति, भाषा, कला, परम्परा तथा साहित्यको संरक्षण र संवर्द्धनमा एनरएनएको भूमिका र महत्व टड्कारो रहेको जनाइएको छ ।

    संयोजक पीपलमणि सिग्देलले नेपाली सँस्कृति, भाषा, कला, परम्परा तथा साहित्यको संरक्षण र संवर्द्धनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयोजक सिग्देलले एनआरएनए एनसीसी अमेरिकाका पूर्व उपाध्यक्ष एवं समितिका पूर्व संयोजक, साहित्यकार सर्वज्ञ वाग्ले, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त, उपाध्यक्ष दीक्षा वस्नेत, उपाध्यक्ष गोपेन्द्र भट्टराई, महासचिव अन्जन चौंलागाईं, सचिव अनुप खनाल, सहकोषाध्यक्ष अग्नि ढकाल, प्रवक्ता तोया दाहाल, पूर्व उपाध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ डाइरेक्टर विश्वराज वास्तोला,
    प्रथम बैठकमा महत्वपूर्ण विचार व्यक्त गर्ने राजेन्द्र प्रसाद अर्याल, कृष्ण गिरि, परशुराम भण्डारी, डिनार श्रेष्ठ, रेवती अधिकारी, चुडामणि पाठक, प्रकाश पाण्डे, मेनका पराजुली, रीतादेवि प्रधान, गीता बजगाई, अनार सिंह वस्नेत, विना लामा, सौरभ कँडेल, भावना खतिवडा, लोचना सुवेदी, रुद्र भण्डारी, शान्ता घिमिरे अधिकारी,
    बैठक पूर्व नै शुभेच्छा एवं विचार राख्नुहुने निरजमान श्रेष्ठ, यादव दाहाल, लक्ष्मण पन्थी, राजु कोइराला, आयुष रिजाल, कृष्णहरि कोइराला, टुल्को उर्गेन लामा, हेमन्त सिंह, शरद ढकाल, अग्नि पराजुली, प्राविधिक सहयोगका लागि परशुराम भण्डारी लगायत सबैप्रति आभार व्यक्त गरेका छन् ।

  • हिन्दू धर्मको मर्मलाई सार्थक तुल्याउन धार्मिक ‘आस्था’ जगाउनु अपरिहार्य

    हिन्दू धर्मको मर्मलाई सार्थक तुल्याउन धार्मिक ‘आस्था’ जगाउनु अपरिहार्य

    सुपेन्द्र बस्नेत, बोष्टन

    कहिले काँही लाग्छ सर्वोत्तम चेतनशील प्राणी मानिएको ‘मानव’ नै निकै अप्राकृतिक, भ्रम र अर्थहीन जीवनयापन गरिरहेको छ। हालसम्म खोजले दिलाएका प्रमाणहरु अध्ययन गर्दा जगत सृष्टिको विन्दुदेखि २१ औं सताब्दिसम्म आइपुग्दा आकास जमिन भिन्नता भएको देखिन्छ। जुन भिन्नतालाई मानव आफ्नो सभ्यताको विकास क्रमको उच्चतम विन्दु ठान्दछ। तर, यो उच्चतम बिन्दुमा रहेका मानवको अवस्थालाई गहन चिन्तन मनन गर्दा, मानव प्राकृतिक, सत्य र सार्थक जीवन जिउन असमर्थ छ भन्ने निस्कर्षमा पुग्न भने गाह्रो छैन। यही रफ्तारमा मानव अघि बढ्दै जाने हो भने केही पुस्तामै सृष्टि ध्वस्त हुने लक्षणहरु प्रसस्तै देखिन्छन्।


    मानव सभ्यताको विकास क्रमलाई अध्ययन गर्दा मध्य युग मानव जातिको स्वर्णिम काल रहेको देखिन्छ। जति बेला मानवले प्राकृतिक, सत्य र सार्थक जीवन जीउन महत्वपूर्ण अभ्यास गर्यो। र, यही अभ्यासका क्रममा सैध्दान्तिक धार्मिक बिचारहरुको जन्म पनि भयो। त्यही विचारका आधारमा धार्मिक ग्रन्थहरु लिपिबध्द भए। यही जगमा टेकेर मानिस शक्ति, सत्य र ज्ञानको भक्तिमा लीन हुदै प्राकृतिक, सत्य र सार्थक जीवन जीउन अभ्यस्त रहे। यस व्यवहारिक अभ्यासले दिलाएको खुसी, आराम, ज्ञान, आनन्दका आधारमा सुनियत राखी धर्मको संरक्षण, संवर्धन र प्रचार प्रसार व्यवस्थित रुपमा गरिन सुरु गरियो। जब विज्ञानको विकासले औद्योगिक क्रान्ति ल्यायो। तब, त्यसले धर्मलाई सारथीको रुपमा टेको लागिदिनुको सट्टा, दरार पैदा गराउनतिर उद्दत रह्यो। दिन प्रतिदिन धार्मिक सिद्धान्त, सोच र व्यवहारले आफ्नो वा अरुका कारण लिक छोड्दै गयो। फलस्वरुप आज विश्व अप्राकृतिक, असत्य र अज्ञानी अभ्यासहरुले आक्रान्त भैरहेको छ। यद्यपि, मानव यही अभ्यासमा लिप्त भएर पनि सार्थक जीवन जिउने दुस्साहस भने गरिनै रहेको छ। अहिले संसारमा मुख्य गरी हिन्दू, क्रिश्चियन, मुस्लिम, बौध्द, जेन आदि धर्महरुको प्रभाव छ। हरेकका आ-आफ्नै इष्ट देवी/देवताहरु, धार्मिक ग्रन्थहरु, धार्मिक चाडपर्व र क्रियाकलापहरु छन्। सबैको ‘धार्मिक सैद्धान्तिक सार’ त जगत भलो र सार्थक जीवन व्यतित गर्नु नै छ। यस अर्थमा सबै धर्मका बीचमा भाइचारा, सहअस्तित्व र सहकार्यले प्राथमिकता पाउनु पर्ने हो। तर, व्यवहारत: अस्तित्व, वर्चश्व र नियन्त्रणको कुनियतका कारण एक धर्मले अर्को धर्मसंग दुश्मनि साँधि रहेका छन्। आफ्नो दुर्गति हुनुमा आफ्नो कमी कम्जोरी पहिचान गर्नु र त्यसलाई समयानुकुल सुधार गर्नतिर केन्द्रित हुनुको सट्टा अरु धर्म माथि दोष थुपारेर आफू चोखिने र सन्चो मान्ने प्रवृति हावि हुदै गइरहेको छ। यस प्रवृतिको संक्रमणले हिन्दू धर्मलाई दिन प्रतिदिन कम्जोर बनाउदै गइरहेको छ। जसको प्रभाव नेपालका हिन्दू धर्मावलम्बीहरुमा निकै परिरहेको छ। जब २०६२/०६३ को जनआन्दोलन पछि भएको राजनीतिक परिवर्तनले हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्रमा परिणत गर्यो। तब हिन्दु धर्मको सैद्धान्तिक र व्यवहारिक सबल पक्षहरु थप कम्जोर बन्न पुग्यो। धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न अस्त्रको रुपमा दुरुपयोग गर्ने क्रियाकलापहरुले हिन्दू धर्मलाई थप कम्जोर तुल्यायो। यसले हिन्दू धर्मप्रतिको आस्थामा नै प्रहार गर्यो। र, हिन्दू धर्मको मर्मलाई नराम्ररी आघात पुर्यायो। जसले गर्दा आज नेपालको हिन्दू धर्म निकै तरल, नाजुक र चिन्ताजनक अवस्थामा छ। हिन्दू धर्मको आस्थामा प्रहार हुने क्रियाकलापहरु जानि नजानि हिन्दू धर्मावलम्बीहरु बाटै भैरहेको छ। त्यस्ता क्रियाकलापहरु देख्दा निकै सामान्य लागे पनि त्यसले पार्ने नकारात्मक प्रभावहरु भने निकै खतर्नाक हुन्छन्। जसप्रति हिन्दू धर्मावलम्बीहरुको ध्यान नै पुगिरहेको छैन। ध्यान पुगे पनि चिन्तन मनन नै गर्ने गरिन्न। यस सन्दर्भमा सुन्दा सामान्य लाग्ने तर मेरो मनमा निकै गडेको एउटा घटना यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु।

    २०६९ सालको कुरा हो। जति बेला म कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा जिड्ब्लुपी/सेभ द चिल्ड्रेनले सञ्चालन गरेको कार्यक्रममा कार्यरत थिएँ। दाताले काठमाण्डौंस्थित मल्ल होटलमा आफ्ना सहकर्मी संस्थाहरुकाबीच ३ दिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो। म हाम्रो परियोजनाको प्रतिनिधित्व गर्दै नेपागन्जबाट काठमाडौं मल्ल होटल पुगेको थिएँ। उक्त कार्यशाला गोष्ठी हाम्रो कार्क्रमका लागि निकै महत्वपूर्ण थियो। गोष्ठीमा सहजकर्ता विदेशी थिएँ। गोष्ठीको पहिलो दिन लन्च लिएपछि समय बाँकी भएकाले केही सहभागीहरु होटलको अगाडि पट्टी खुल्ला मैदानमा ग्राहकहरुलाई खानपीन गराउने उद्देश्यले तयार पारिएको ठूलो छाताजडित टेबलसंगै रहेको कुर्सीमा आराम गर्न पुग्यौं। गफिदै गर्दा मेरो नजर त्यस टेबलमा राखिएको घण्टा (हिन्दू धर्मावलम्बीहरुले भगवानको पूजा, अर्चना, प्रार्थना र आरति गर्दा बजाउने आकार/प्रकारको) मा पर्र्यो। त्यो घण्टा अन्य सहभागीहरुले पनि देखेका थिएँ। लन्च ब्रेकको समय सकिएकाले हामी हलतिर लाग्यौं। त्यो घण्टालाई मेरो मस्तिष्कले त्यही छोडेन। आफूसंगै लिएर हलतिर आयो। छलफलका क्रममा मेरो मानस्पटलमा त्यो घण्टा बजी नै रह्यो। केही समयपछि फेरी टि/कफी ब्रेक भयो। र, कफी लिएर केही सहभागीहरु त्यहीँ स्थानमा बस्न पुग्यौं। कफी खादै गफिदै गर्दा मैले त्यस घण्टाका बारेमा कुरा कोट्याएँ। घण्टासंगै कार्डबोडले बनेको मदिराको स्टान्ड प्रचार सामग्री रहेको थियो। घण्टा र यो प्रचार सामग्री अन्य टेबलहरुमा पनि राखिएको थियो। त्यस सम्बन्धमा हामीबीच निकै तर्क बितर्कहरु भए। यथार्थ उद्देश्य बुझ्न मैले नजिकै हिड्दै गरेका वेटरलाई बोलाएँ। र, घण्टा राख्नुको उद्देश्य सोधें। वेटरले बताए अनुसार ग्राहकले त्यो घण्टा बजाएर वेटर वा होटलका प्रतिनिधिलाई बोलाउने गर्दा रहेछन्। अनि त्यो घण्टा चाहिँ होटललाई मदिरा बिक्रेताले प्रदान गरेको रहेछ। त्यो दिन त्यतिकै भयो। साथीहरुले उक्त जुक्ति बुद्धिको खुलेरै तारिफ गरे। तर, मलाई भने निकै असहजताको अनुभूति भैरहेको थियो। त्यो असहजतालाई मैले त्यहीँ अलपत्र छोड्न सकिन। र, साथै लिएर बासस्थानतिर लागें। मनमा गम्भीर प्रश्नहरु जन्मिए। व्यवसायिक दृष्टिकोणले हेर्दा त्यो जुक्ति बुद्धि पृथक, आकर्षक र प्रभावकारी नै थियो। तर, हिन्दू धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले त्यो जुक्ति बुद्धिलाई मेरो मनले भयावह नै ठान्यो। बास बस्दाका समयमा पनि थप कौतुहलता जाग्यो। उकुसमुकुस भयो। र, यस विषयमा होटल व्यवस्थापनसंग थप बहस गर्ने निश्कर्षमा पुगें।

    दोश्रो दिन फुर्सदका बेला व्यवस्थापनसंग सम्पर्क गरेर त्यस बिषयमा छलफल गरें। हिन्दू धर्मको अत्यन्त महत्वपूर्ण धार्मिक सामग्री ‘घण्टा’ राखिएको स्थान र मदिरासंग जोडिएको सम्बन्ध उपयुक्त नभएको जाहेरी गरें। होटलका कर्मचारीहरुले त्यस कार्यलाई सामान्य रुपमा लिएको र त्यस दृष्टिकोणबाट नसोचिएको बताए। लामो समयदेखि उक्त घण्टा प्रयोगमा ल्याइरहेको भएतापनि कुनै ग्राहकले त्यतिबेलासम्म प्रश्न वा जिज्ञासा नराखेको उनले बताए। त्यस विषयमा व्यवस्थापकसंग थप कुराकानी गर्ने इच्छा जाहेर गरेकाले उनीहरुले व्यवस्थापकलाई जानकारी गराउने बचन दिए। तेश्रो दिन फुर्सदको समयमा म पुनः त्यस विषयमा कुरा गर्न व्यवस्थापकलाई भेट्न गएँ। व्यवस्थापकले पनि आफू पनि हिन्दू धर्मावलम्बी भएतापनि त्यस विषयमा घण्टाको धार्मिक तथा साँस्कृतिक महत्वका दृष्टिकोणबाट चिन्तन मनन नगरिएको र मदिरा बिक्रेताले उपलब्ध गराएकाले राखिदिएको बताए।
    जब मैले आफूले जाने बुझे जति घण्टाको धार्मिक तथा साँस्कृतिक महत्व, मान सम्मान, इज्जत र उपयोग दर्शाएँ। तब, उनी पनि मेरो कुरामा सहमत भएँ।र, अन्जानमा गल्ति भएको स्विकार गरें। त्यस विषयमा ‘घण्टा’ उपलब्ध गराउने, राख्ने र प्रयोग गर्ने कसैले पनि त्यस कोणबाट सोचेर नियतै खराब राखिएको भने मैले पाइन। हुन त म पनि कुनै धार्मिक अगुवा वा अभियानता त थिइन। तर, बस हिन्दू धर्मावलम्बी भएका नाताले धर्मप्रति ‘आस्था’ भने पक्कै थियो नै। त्यसैले मैले त्यस विषयलाई महत्वपूर्ण र संवेदनशील ठानें। र, गहिराइसम्म पुग्ने प्रयास गरें। व्यवस्थापकका अनुसार विदेशी ग्राहकहरुले वेटरलाई बोलाउन घण्टा बजाउदा रमाइलो र खुसी मान्ने गरेका थिए रे। हिन्दू धर्म माथि हिन्दू धर्मावलम्बीहरुबाटै अन्जानमै प्रहार भइरहेका हजारौं घातक प्रहारहरु मध्यको यो त एउटा प्रतिनिधि घटना मात्र हो।

    जानि जानि सामान्य त हो नि भनेर बेवास्ता गरी गरिएका व्यवहारहरुले हिन्दू धर्म माथि पुर्याएका अदृष्य आघातहरु त कति छन् कति।
    मैले आफ्नो आजसम्मको जीवन यात्राका क्रममा योगी नरहरिनाथ, नारायणप्रसाद पोखरेल र दीनबन्धु पोखरेलसम्मलाई खास महत्व दिएर हेर्ने, सुन्ने, र बुझ्ने मौका पाएँ। हिन्दू धर्मका संरक्षक, संवर्धक, प्रचारक र प्रवर्धकका दृष्टिकोणले निकै चर्चित यि तीन व्यक्तित्वहरुका बिचमा तात्विक भिन्न विशेषता खोजी गर्दा, योगी नरहरिनाथ समयानुकूल धार्मिक दर्शन र व्यवहारका बिचमा सामन्जस्यता ल्याएर हिन्दू धर्मलाई स्थापित गराउने अभियानमा लागेका अभियान्ता, नारायणप्रसाद पोखरेल धार्मिक दर्शनमा जोड दिएर हिन्दू धर्म स्थापित गराउने अभियानका अभियान्ता र दीनबन्धु पोखरेल अर्थ संकलनमा जोड दिएर हिन्दू धर्म स्थापित गराउने अभियानमा लागेका अभियान्ताका रुपमा बुझें।हिन्दू धार्मिक अभियानमा यि तिनैको योगदानहरु आआफ्नो ठाँउमा निकै महत्वपूर्ण छन्। तर, उनीहरुले चलाएका अभियानका क्रममा जानी नजानी भएका कमी कम्जोरीहरुले पारेका नकारात्मक प्राभवहरु पनि निकै मनन योग्य नै छन्। योगी नरहरिनाथदेखि नारायणप्रसाद पोखरेल हुदै दीनबन्धु पोखरेलसम्मको पुस्तासम्म आइपुग्दा, हिन्दू धर्मको यथार्थ अवस्था कुन बेला कस्तो रह्यो भन्ने कुरा जग जाहेर नै छ। धर्मका नाममा हुने गरेका कथित प्रवचन, दुराचारी तथा विभेदी व्यवहार, दान, आर्थिक संकल, सम्मान, परिचालन, राजनिति आदिले हिन्दू धर्म माथि गरिएको अदृश्य घातक प्रहारको सत्य तथ्यहरुलाई नजरअन्दाज गरिनु हुन्न।आज हिन्दू धर्मको यो हविगत हुनुमा प्रमुख कारक स्वयम् हिन्दू धर्मका अभियान्ता र हिन्दू धर्मावलम्बीहरु नै हुन् भन्नमा कुनै संकोच छैन। जसले धार्मिक दर्शनको मर्मलाई आत्मसात् गरेर समयानुकूल व्यवहारमा उतार्न सकिरहेका छैनन्। नाम, दाम र चर्चा कमाउने लालसामा धार्मिक दर्शनको मर्मलाई नै तोडमोड गरेर आफ्नो स्वार्थ अनुकूल व्याख्या र व्यवहारहरु गरिरहेका छन्। धर्मलाई हतियार बनाएर व्यापार गरिरहेका छन्। पवित्र उद्देश्य राखी धार्मिक मठमन्दिरको संरक्षण, संवर्धन र प्रवर्धनका लागि व्यवस्था गरिएको गुठी / सञ्चालक समितिमा नियत खराब भएका व्यक्तिहरुको वर्चश्व, हालिमुहाली र निन्दनीय व्यवहारहरु बढ्दै गइरहेका छन्। जसले गर्दा धार्मिक क्रियाकलापहरु ‘धार्मिक आस्था’ जगाउने अभियानमा भन्दा पनि आर्थिक संकल गर्ने अभियानमा केन्द्रिकृत हुँदै गइरहेका छन्। खासमा हिन्दू अनुयायीहरु धार्मिक आस्थामा यतिसम्म समर्पित हुन्छन् कि यत्र तत्र त्यसै अलपत्र रहेको ढुंगालाई पनि कसैले देवता मानि स्थापित गरिदियो भने, त्यसमा भगवानको अवतारदेखेर भक्तिभावले समर्पित हुन्छन्। यस्तो अवस्थामा पनि ठूला ठूला भवन तथा मन्दिर बनाएर निकै आकर्षक कलात्मक मूर्तिहरु स्थापित गरिएका स्थानहरुमा पनि धर्मावलम्बीहरु किन आकर्षित भैरहेका छैन त ?यो सरोकारवालाहरुका लागि अत्यन्त चिन्तन मननको बिषय हो। र, हुनु पर्दछ। साँचो अर्थमा मानिसहरुलाई हिन्दू धर्मप्रति आकर्षित र समर्पित गराउनु छ भने, सबै भन्दा पहिलो कुरा उनीहरुमा धर्मप्रति ‘आस्था’ जगाउन सक्नु पर्दछ। जब साँचो अर्थमा मानिसमा अन्तरहृदयदेखि नै धर्मप्रति ‘आस्था’ जाग्दछ। तब, ऊ मठ मन्दिरतिर आकर्षित हुन्छ। धार्मिक क्रियाकलापहरुमा सक्रिय सहभागी हुन्छ। अनि प्राकृतिक, सत्य र सार्थक जीवन जीउनतिर उद्धत हुन्छ। र, उसलाई सार्थक जीवन जीउन मार्ग प्रसस्त हुन्छ। ‘आस्था’ जगाउने प्रमुख महत्वपूर्ण शुत्र धार्मिक दार्शनिक प्रवचन नै हो। जसको सैद्धान्तिक ज्ञानले मानिसको मन निर्मल बनाएर उसले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न उत्प्रेरित गर्दछ। र, त्यहीँ दर्शनका आधारमा क्रियाकलापहरु र व्यवहारहरु गर्दछ। तसर्थ, हिन्दू धर्मका गुरुहरु, अभियन्ताहरु, अनुयायीहरु र धर्मावलम्बीहरुले हिन्दू धार्मिक मर्म अनुसार हिन्दू धर्मको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सबैभन्दा पहिले धार्मिक तथा साँस्कृतिक ‘आस्था’ जगाउने अभियानमा केन्द्रिकृत हुनु पर्दछ। सुक्ष्म रुपमा हिन्दू धर्ममा रहेका सबल पक्षहरु र कम्जोर पक्षहरुको पहिचान गरेर पहिचान गरिएका सबल पक्षहरुलाई निरन्तरता दिदै थप सबल बनाउन आवश्यक कसी लगाउनु पर्छ ।र, कम्जोर पक्षहरुलाई समयमै सुधार गर्नु अपरिहार्य छ। तब मात्र हिन्दू धर्मको मर्मले सार्थकता पाउन सक्दछ। नत्र त्यहीँ हिन्दू शास्त्र नै हिन्दूलाई सिध्याउने अस्त्र बन्दछ।

  • शुक्रबार साँझ न्युयोर्कमा गोली चल्दा दुई प्रहरीको मृत्यु

    शुक्रबार साँझ न्युयोर्कमा गोली चल्दा दुई प्रहरीको मृत्यु

    न्युयोर्क

    शुक्रबार राति न्युयोर्कस्थित हार्लमको एक अपार्टमेण्ट बिल्डिङमा गोली चल्दा दुई प्रहरीको मृत्‍यु भएको छ । एकको घटनास्थमा र अर्को प्रहरीको उपचारको क्रममा मृत्यु भएको हो ।
    घटनामा सन्धिग्द अपराधिलाई तेश्रो प्रहरीले गोली हान्दा घाईते अवस्थामा रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ६ बजेर १५ मिनेट जाँदा एक महिलाले आफ्नो छोरासँग झगडा परेपछि ९११ मा कल गरेर प्रहरी सहायता मागेकी थिईन् । सहयोग गर्न पुगेको प्रहरी माथि सन्धिग्दले गोली चलाएका थिए । घटनामा २२ वर्षीय जेसन रिभेरा र २७ वर्षीय विल्बर्ट मोरा
    नामका प्रहरीको मृत्‍यु भएको छ । ४७ वर्षीय लस्वन म्यक्निल नामका सन्धिग्दले प्रहरी माथि गोली चलाएको प्रहरीको दाबी छ ।

  • चर्चित हलिउड स्टार आर्नोण्ड गम्भिर सडक दुर्घटनामा

    चर्चित हलिउड स्टार आर्नोण्ड गम्भिर सडक दुर्घटनामा

    न्युयोर्क

    चर्चित हलिउड स्टार आर्नोण्ड स्वार्जनेगर शुक्रबार राति लस एन्जलसस्थित गम्भिर सडक दुर्घटनामा परेका छन् । लस एन्जलसको सडकमा गाडी देब्रे पट्टी टर्न गर्न खोज्दा आर्नोण्डको एस् यु भि अर्को तर्फबाट टर्न गर्न खोजेको गाडीसँग ठोक्किएको टि एम जे न्युजले लेखेको छ ।

    आर्नोल्डले देब्रे जाने हरियो एरो संकेत नबल्दै, रातो एरोमा देब्रे जाँन खोज्दा बिपरित दिशाबाट टर्न गर्दै गरेको अर्क्रो गाडीसँग ठोकिएको प्रहरी अधिकारीलाई हवाला दिदै टि एम जेले लेखेको छ । दुर्घटनामा हलिउड स्टार आर्नोण्डलाई सामान्य चोट लागेको छ भने अर्को गाडी चालक एक महिला भने गम्भिर घाईते भएकी छिन् ।

    तस्बिर श्रोत : टी एम जे न्युज


    ७४ वर्षीय हलिउड स्टार आर्नोण्डको एस यु भि अर्को प्रियस कारको छतमा नै चढेको तस्बिर संचार माध्यमहरुले सार्वजनिक गरेका छन् भने दुर्घटनाका प्रत्यक्षदर्शीहरुले दुर्घटना कुनै मुभी छायांकन जस्तो देखिएको प्रतिकृया दिएका छन् ।

    आर्नोण्ड कलाकार बाहेक चर्चित बडी बिल्डर, ब्यापारी, फिल्म निर्माता र क्यालिफोर्नियाका ३८ औं गभर्नर पनि हुन् ।

  • अमेरिकाको मेरिल्याण्डमा एक ब्यक्तिको घर भित्र सर्पैसर्प; साथमा घर मालिक मृतक फेला

    अमेरिकाको मेरिल्याण्डमा एक ब्यक्तिको घर भित्र सर्पैसर्प; साथमा घर मालिक मृतक फेला

    मेरिल्याण्ड

    अमेरिकाको मेरिल्याण्ड राज्यस्थित एउटा घर भित्र एक मृत ब्यक्तिको साथमा १ सय २४ वटा जिउँदा सर्पहरु पालेको अवस्थामा फेला परेका छन् । पालिएका १ सय २४ वटा सर्पहरु मध्ये कतिपय कानुनले वर्जित गरेका विषालु सर्पहरु समेत रहेका छन् । सर्पहरुलाई अत्यन्त राम्रोसँग पिंजडा भित्र राखेर पालिएको राज्यका अधिकारीहरुले संचार माध्यमहरुलाई बताएका छन् । गत बुधबार छिमेकीहरुको अनुरोधमा राज्यका अधिकारीहरुले घर जाँच गर्दा मृत ब्यक्ति र सर्पहरु फेला परेका हुन । पालिएका ति सबै सर्पहरुलाई जनाबर बिज्ञहरुले बिहीबार उद्धार गरेर निकालेका छन् ।

    Picture : (AFP via Getty Images )

    ति १ सय २४ वटा सर्पहरुमा रेटल स्नेक्स, कोब्रा, ब्ल्याक मम्बाज लगायत १४ फिट लम्बाईको जात नखुलेको सर्प समेत भेटिएको मेरिल्याण्डस्थित अधिकारीहरुले जनाएका छन । मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीस्थित एक घर भित्र त्यति ठुलो संख्यामा गैर कानुनीरुपमा सर्प पालन गरिएको कुरा छर छिमेक र टोलबासी समेत अनभिज्ञ भएको बताईएको छ भने सर्पहरुलाई सुरक्षित रुपमा उद्धार गरेर स्थानान्नतरण गरिएको हुँदा सुरक्षा खतरा नभएको जनाईएको छ । सर्प पालक ति ब्यक्तिको मृत्‍युको कारण हालसम्म नखुले पनि जनावरले टोकेर वा बाह्य आक्रमणबाट भने भए जस्तो नदेखिएको बिभिन्न सरकारी अधिकारीहरुको हवाला दिदै संचार माध्यमहरुले जनाएका छन् ।

  • अग्रज पत्रकार नकुल काजीको सम्मान तथा गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण सम्पन्न

    अग्रज पत्रकार नकुल काजीको सम्मान तथा गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण सम्पन्न

    झापा

    साहित्यकार एवम् पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा प्रकाशित गोपीकृष्ण खनाल स्मृति ग्रन्थको एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

    गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित खनाल सेवा समितिका अध्यक्ष हेमप्रसाद खनाल, आमन्त्रित शिक्षासेवी गणेशप्रसाद खनालले स्मृति ग्रन्थको लोकार्पण गरेका थिए । प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत प्रष्तिष्ठानकी उपाध्यक्ष नैनकलला भट्टराईले गरेकी थिइन् ।

    प्रतिष्ठानका सचिव एवम् स्मृति ग्रन्थका प्रधान सम्पादक डा. पुण्यप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिजय बरालद्वारा निर्मित बिञ्जु मिडिया कर्नरद्वारा छायांकन गरिएको स्व. खनालको जीवनवृत्त समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

    पछिल्लो समय झापालाई कर्मथलो बनाइ नेपाली साहित्य र पत्रकारिता क्षेत्रको सेवा गर्दै आएका गोपीकृष्ण खनालको गत २०७५ साल साउनमा सवारी दुर्घटनामा परी अकल्पनीय निधन भएको थियो ।

    भारत पश्चिम बंगालको शिलगढीमा रहँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचना मासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना लगायतका साहित्यक एवम् साप्ताहिक समाचारमा सम्वद्ध रहेर सेवा गरेका थिए ।

    सामाजिक सेवाका क्षेत्रमा ममेत सक्रिय खनाल वीरता जेसीजका संस्थापक सदस्य, सनातन धर्म सेवा समितिका सभापति, अर्जुनधारा जलेश्वर धाम, नेपाल विद्वत परिषद्, साहित्यिक पत्रकार संघ, विश्व हिन्दू महासंघ लगायत दर्जनौं संघ–संस्थामा आवद्ध थिए । स्व. खनालको स्मृतिमा प्रकाशन गरिएको ग्रन्थको लोकार्पण समारोहमा साहित्यकार कोमलप्रसाद पोखरेल, मातृका संग्रौला, चिन्तामणि दाहाल लगायतले बोलेका थिए ।

    नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको सोही कार्यक्रममा कमल भट्टराई र नरेन्द्र पराजुलीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

    प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार पहिलोपटक सोही समारोहकाबीच अग्रज पत्रकार नकुल काजीलार्ई प्रदान गरिएको थियो । पचास हजार रुपैयाँ राशिको सो पुरस्कार प्रतिष्ठानकी संरक्षक तथा खनालकी धर्मपत्नी रुपादेवी खनाल, प्रमुख आमन्त्रित व्यक्तित्व लगायतले समर्पण गरेका थिए ।

  • न्युयोर्कमा खुम्बु पासाङल्हामु शेर्पा समाज युएसए गठन

    न्युयोर्कमा खुम्बु पासाङल्हामु शेर्पा समाज युएसए गठन

    पासाङ शेर्पा, न्युयोर्क

    सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा आसपासका क्षेत्रबाट अमेरिकाको न्युयोर्क तथा अन्य सहरहरुमा बसोबास गर्दै आएका शेर्पाहरुको गत शनिबार जनवरी ८ तारिख २०२२ मा प्रथम भेला भएको छ ।
    न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सुम्निमा रेष्टुरेण्टमा सम्पन्न भेलामा महामारी कोरोना प्रकोपको त्रास र कामको व्यस्तताका बाबजुद पनि करिव ५० जनाले सहभागिता जनाएका छन् । उक्त भेलाले खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट यहाँ बसोबास गर्ने सम्पूर्ण गाउँबासीहरुलाई संगठित गरेर आफ्नो मौलिक रीतिरिवाज, भाषा, धर्म र संस्कृति जोगाउने उदेश्यका साथ ङवाङ शेर्पा गर्जा, ठमोको अध्यक्षतामा “खुम्बु पासाङल्हामु शेर्पा समाज यु एस ए” गठन भएको छ।

    भेलामा सहभागीहरुको सर्वसम्मतिले चुनिएका १२ सदस्यीय कार्यसमितिको कार्यकाल आगामी दुई बर्षको लागि हुने छ। उक्त नवगठित कार्यसमितिको अन्य पदाधिकारीहरुमा क्रमशः उपाध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पा लुक्ला, महासचिव आङ ग्याल्जेन शेर्पा, सचिवमा छिङ्ग नुरु शेर्पा खुम्जुङ, कोषाध्यक्षमा आङ छेची शेर्पा, सहकोषाध्यक्षमा लाक्पा नुरु शेर्पा चयन भएका छन। त्यसैगरी कार्यसमितिको सदस्यहरुमा ल्हक्पा नुरु शेर्पा, हिलाज्युङ पासाङ् दिकी शेर्पा, थामे पासाङ दावा शेर्पा सुर्के,पासाङ दावा शेर्पा लुक्ला, मिङ्मा छेम्जी शेर्पा पाङगोम र मिङ्मा नुरु शेर्पा पैँया, चयन गरेको छन्।

    त्यसैगरी संगठनको नवगठित कार्यसमितिको सल्लाहकारमा क्रमशः शेर्वी रिक्स्युङ लोप्टाका धर्म गुरु लोपेन ग्युर्मे छोड्राक, खुम्जुङ समाजसेवी एवं व्यावसायी पासाङ नुरु शेर्पा, मुसे र समाजसेवी आङ छोङ्बा शेर्पा,बुम्बुरी चयन हुनुभएको छ।

    समाजको विभिन्न व्यक्तित्वहरु सहभागी भएको उक्त भेलामा “शेर्पा किदुक अमेरिका”का बोर्ड् अफ ट्रस्टीका कोअर्डिनेटर पेम्बा ग्याल्जेन शेर्पा, लाक्पा नुरु शेर्पा, पासाङ् नुरु शेर्पा, पासाङ दावा शेर्पा, आङ छेची शेर्पा, आङ ग्याल्जेन शेर्पा, निमा याङ्जी शेर्पा, मिङ्मा छेम्जी शेर्पा, ङवाङ छेतेन शेर्पा, मिङ्मा दोर्जी शेर्पा, आङ निमा शेर्पा, ङवाङ शेर्पा गर्जा, छिङ्ग नुरु शेर्पा, नोर्बु शेर्पा, पोमु दिकी शेर्पा, फुर्वा ग्याल्जेन शेर्पा, पासाङ छिरी शेर्पा, लाक्पा नुरु शेर्पा, आङ छिरी शेर्पा लगायतका वक्ताहरुले संस्थाको महत्वको र उदेश्यको बारेमा चर्चा गरेर सुरुवात गरेको कार्यक्रमलाई नवगठित कार्यसमितिकोको सदस्यहरुलाई खादा माला लगाएर बधाई अनि शुभकामना दिएर कार्यक्रमलाई समापन गर्नु भएको थियो।

    भेलाको आयोजना तथा संचालन न्युयोर्कका चर्चित मोडेल तथा डि जे लाक्पा जाङ्बु शेर्पाले गरेका थिए ।

  • बौद्ध धर्मदर्शनको यात्रा

    बौद्ध धर्मदर्शनको यात्रा

    आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क

    आज विश्वमा मौलाएको बौद्ध धर्मको स्थापना गौतम बुद्धले गर्नुभएको हो । बौद्धहरूको विश्वासअनुसार शाक्य–मुनि अन्तिम बुद्ध हुनुहुन्छ । अनेक जन्मसम्म पारमिताहरूको अध्ययन गरेर उहा“ले ज्ञान प्राप्त गर्नुभएको मानिन्छ । बौद्धहरूको विचारमा उहा“भन्दा पहिले करिब २३ जना बुद्धहरूले बुद्ध धर्मको भिन्न–भिन्न कालमा प्रचारप्रसार गरेका थिए । नेपालको प्राचीन कौशल जनपदको मुख्य नगर कपिलवस्तुमा शाक्यहरूको गणराज्यमा बुद्धको जन्म भएको हो । ५०५ वि.पू. वैशाख पूर्णिमाको दिन जन्मिएपछि बुद्धको आमाको मृत्यु भयो । बुद्धको लालनपालन सौतेनी आमाले गरिन् । १९ वर्षको उमेरमा यशोधरासँग विवाह भयो र राहुल नामक पुत्र जन्मियो । राजसी भोगमा रहँदा शिद्धार्थको चित्त वैराग्यतर्फ उन्मुख भयो । घुम्न गएको बेलामा देखिएका वृद्ध, मृतक, रोगी र सन्यासी देखी शिद्धार्थले गृहत्याग गर्नुभयो ।
    शिद्धार्थको मस्तिष्कमा मानिस किन वृद्ध हुन्छ, किन रोगी हुन्छ र किन मृत्यु प्राप्त गर्दछ, के यो दुःखबाट मुक्ति सम्भव छैन भनेर सोच्न थाल्नुभयो । अन्त्यमा उहाँको वैराग्यता बढ्न थाल्यो र ज्ञानको खोजीमा गृहत्याग गर्नुभयो । त्यसपछि ६ वर्षसम्म कौशल तथा मगधका जंगलमा उपयुक्त गुरूको खोजीमा घुम्न थाल्नुभयो । त्यसै क्रममा आराडकलाम र उद्दकरामपुत्त नाम गरेका विद्वानसँग साक्षात्कार हुन गयो । पछि केही ज्ञान लिएर सिद्धार्थ तपस्यामा लाग्न थाल्नुभयो । लामो समयसम्म आहार–विहार त्याग गर्दा उहाँको शरीर अत्यन्त क्षीण भयो तर ज्ञान प्राप्त भएन । त्यसपछि शिद्धार्थले त्यो मार्गलाई छोडेर आहार गर्दै चिन्तन मनन गर्न थाल्नुभयो । त्यसै क्रममा उहाँले गयाको उरूबेला नाम गरेको स्थानमा सत्यको साक्षात्कार गर्नुभयो । त्यस दिनदेखि उहाँलाई बुद्ध भन्न थालियो । आध्यात्मिक जगतको यो महत्वपूर्ण घटना ४७१ वि.पू. वैशाख पूर्णिमाको दिन भएको हो । त्यतिबेला सिद्धार्थ ३५ वर्षको हुनुहुन्थ्यो । त्यसपछि त्यसै वर्ष आषाढ पूर्णिमाको दिन काशी नजिकै सारनाथ भन्ने स्थानमा गएर कौण्डिन्य आदि पञ्चवर्गीय भिक्षुहरूलाई आफूले प्राप्त गरेको ज्ञानको प्रथम उपदेश दिनुभयो । यसैलाई बौद्ध साहित्य र परम्परामा प्रथम धर्मचक्रप्रवर्तन भनिन्छ ।
    बुद्धले बोधि प्राप्त गर्नुभन्दा अगाडि तपस्या गर्दा साथ दिएका पाँच जना ब्राम्हणहरूलाई बुद्धले आफूले जानेको ज्ञान सर्वप्रथम दिनुभएको थियो । त्यसैले भिक्षु संघ गठन हुँदा सबभन्दा पहिला संघको सदस्यहरू यिनीहरू नै थिए ।
    बुद्धको उपदेशबाट सर्वप्रथम ज्ञान प्राप्त गर्ने कौडिन्य थिए । सारनाथमा बुद्धले धर्म सिकाउन सुरु गरेपछि यी पाँचै जनाले ज्ञान प्राप्त गरेका थिए । त्यसपछि यिनीहरूले बुद्धका उपदेशहरूको प्रचार–प्रसार गर्दै भिक्षु संघलाई फैल्याउँदै गए ।
    कामवासनाको रसमा लाग्नु हीन कर्म हो र मुर्खमानिसहरूको काम हो । यसलाई श्रेष्ठ मान्ने व्यक्ति अनर्थ दुःख कष्टबाट घेरिन्छ । यो कार्य ब्रह्मचर्यका लागि पनि हुँदैन र वैराग्यका लागि पनि हुँदैन । दुःख निरोध गर्न र दिव्यज्ञान प्राप्त गर्नमा यसले असहयोग गर्दछ । सम्बोधि र निर्वाण प्राप्तिमा पनि यसले असहयोग गर्दछ ।
    अर्को आङ्खनो कार्यलाई अत्यन्त पीडा दिनु पनि हो । यो कार्य पनि दुःखदायक छ । अनर्थले युक्त छ । यस जन्ममा दुःख दिनाले यसको फल अर्को जन्ममा दुःख नै प्राप्त हुन्छ । त्यसैले तथागत बुद्धले मध्यम प्रतिपदले युक्त धर्मको उपदेश गर्नुभएको हो । जसमा सम्यक कर्म, सम्यक आजीवन, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि समाविष्ट गरिएका छन् ।
    आर्य अष्टाङ्गिक मार्गका बोधक सम्यक सम्बुद्ध भगवानले प्रतिपादन गर्नुभएको मार्गको नाम “मध्यम प्रतिपद” या मध्यम मार्ग ( त्जभ mष्ममभि उबतज० हो । भगवान बुद्ध जुन धर्मचक्रप्रवर्तन गर्नुभयो या जुन मार्गको उपदेश दिनुभयो त्यो नै मध्यम मार्ग हो । परस्पर दुई वटा अति र अन्तको निषेध गरेर भगवान् बुद्धले यसको उपदेश गर्नुभएको हो । मनुष्यको चञ्चल स्वभाव अनुसार ऊ कुनै अन्तमा पतित हुन्छ र त्यसलाई आङ्खनो आग्रह बनाएर त्यसप्रति आग्रहशील हुन्छ । यही आग्रहशीलता नै सम्पूर्ण मानवीय विभेद, संघर्ष र दुःखहरूको मूल हो । मध्यम प्रतिपद यी सबै दुःखहरूबाट पार पाउने सर्वोत्तम राजपथ हो । यसद्वारा नै मानिस दुःखबाट मुक्त भई निर्वाण प्राप्त गर्दछ । राजनीतिक, ऐतिहासिक र आर्थिक क्षेत्रमा पनि यसले ठूलो भूमिका खेल्न सक्छ । अति सुखसयल पूर्वक जीवन बिताउनु एउटा अन्त हो । जसलाई “काम सरवल्लिकानुयोगः” भनिन्छ । कष्टदायक जीवन बिताउनु अर्को अन्त हो जसलाई “आत्मकलमथानुयोगः” भनिन्छ । भगवान बुद्धले मध्यममार्गको सहायताबाट निर्वाण प्राप्त गर्नुभएको थियो । यसै मार्गको कारणले बौद्धमत विश्व जगतमा अधिक प्रसिद्ध पनि छ ।
    भगवान बुद्धले दुःख निरोधगामी मार्गमा नियम बताउनुभएको छ । त्यस नियमलाई अष्टाङ्गिकमार्ग भनिन्छ, ती मार्गहरू यस प्रकार छन् ।
    १) सम्यक संकल्प २) सम्यक दृष्टि ३) सम्यक आजीव ४) सम्यक समाधि ५) सम्यक श्रुति ६) सम्यक स्मृति ७) सम्यक कर्मान्त ८) सम्यक ज्ञान
    बुद्धको उपदेशमा हिंसाको विरोध छ । बुद्धको विचारमा प्राणी त्रिताप बाट बच्नुपर्छ । त्यसै गरी आस्तेय ( चोरी नगर्नु ) को पनि उपदेश छ । यसरी बुद्धको समग्र सिद्धान्तलाई विचार गर्दा उहा महामानव देखिनुहुन्छ र यसलाई अनुशरण गर्ने व्यक्ति मानवतावादी र प्राणी हितकारी बन्न सक्छन् । क्लेशहरू निभ्नु नै निर्वाण हो । क्लेशहरू भन्नाले रोग, द्वेष, मोह भन्ने बुझिन्छ । यी क्लेशहरू नाश भएको वा निभेको अवस्था नै निर्वाण हो । क्लेशको ज्वरो शान्त अवस्था नै निर्वाण हो । निर्वाण अमृत पद हो । तर्कले यसको पूर्ण वर्णन गर्न सकिन्न । साधनबाट व्यक्तिले निर्वाणपदको अनुभव गर्न सक्छ । सम्बोधिको सन्दर्भमा निर्वाणलाई अतकर्य धर्म भनिएको छ र यसलाई सर्व संस्कार समर्थ, सर्वोपाधिप्रति निस्सर्ग, तृष्णा, क्षय, विराग, निरोध भन्ने गरीन्छ । यसरी विषय प्रतिपादन गर्दै बौद्ध धर्मदर्शन अघि बढेको पाइन्छ ।

  • न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

    न्यूह्यामसायरमा आचार्यको उपन्यास ‘मोचन’ मन्थन

    कंकर्ड

    युवा साहित्यकार डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचन माथिको समिक्षात्मक छलफल न्यूह्यामसायरमा सम्पन्न भएको छ । राज्यको राजधानी कंकर्डमा शनिबार सम्पन्न छलफलमा साहित्यकार महेश्वर पन्त एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका (अनेसास) केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा लगायतले कृति माथि समिक्षा गरेका थिए ।

    पन्तले उपन्यासले नेपाली मध्यम वर्गीय युवा पुस्ताको प्रतिनिधित्व गरेको बताए । किताबमा लेखकको गहिरो अध्ययन र मेहनत छचल्किएको उनको भनाइ थियो । किताबमा प्रस्तुत त्रिकोणात्मक प्रेम सम्बन्धले वर्तमान समय र समाजलाई प्रतिनिधित्व गर्ने समेत उनले बताए ।

    साहित्यकार पूजा उपन्यासले नारीमाथि गहिरो सम्मान दर्शाएको एवं समकालिन नेपाली लेखनमा आचार्यले फरक पहिचान स्थापित गरेको बताए । उपन्यास बौद्धिक एवं भाषाशैली सरल रहेको कारण सबै वर्गका पाठकलाई प्रभाव पार्ने उनको भनाइ थियो । समयअनुकुल जति आधुनिक बन्न खोजेपनि अन्त्यमा अध्यात्मलाई अनुशरण गर्ने मानवीय यथार्थ पनि उपन्यासमा प्रतिबिम्बित रहेको उनले उल्लेख गरे । ‘सुखान्त कथा रहेको उपन्यासले नेपाली आख्यान विधामा नयाँ इँटा थपेको छ’ उनले भने ।

    लेखक आचार्यले अग्रज साहित्यकारहरुको सुझाव र टिप्पणीले आफुलाई भावी लेखनमा सुधारको प्रेरणा मिलेको बताए । ‘हामीले बाँचेको समय गुरु प्रसाद मैनालीको परालोको आगोको युग होइन जहाँ एक महिलाले मुखमा पानी हालेपछि घर भित्रका सारा झै झगडा अन्त्य हुन्छन्, उनले प्रष्ट्याए- अहिले नारीले मुखमा पानी हालेर बस्ने होइन कुन तहको विद्रोह गर्न सक्छन् भनेर कितावमा देखाउन खोजेको छु ।’ आचार्यले आफ्नो उपन्यास एमाजोनमा समेत उपलब्ध रहेको जानकारी दिए ।

    अमेरिकामा विद्यावारिधी गरेर नेपाल फर्किएपछि आचार्यले आफ्नो पहिलो उपन्यासको रुपमा मोचन प्रकाशित गरेका थिए । मोचन मन्थनमा अनेसास न्यूह्यासायर च्याप्टरका प्रधान सम्पादक इश्वरी भट्ट, साहित्य अनुरागी राम भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व अनेसास न्यूह्यामसायर च्याप्टरका अध्यक्ष हरिमाया खतिवडाले गरेकी थिइन् ।

  • बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे

    बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे

    सरस्वती न्यौपाने, रसुवा

    रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा पौष शुक्ल औंशीको अवसर पारेर ३० हजार भन्दा बढी श्रद्धालूहरूले श्राद्ध गरेका छन । देशका विभिन्न स्थानहरु; जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा लगाएका टाढा/टाढाको मानिसहरू समेत यस पवित्र भुमिमा आफ्नो दिवङगतहरूको सम्झनामा पितृहरुको नाममा तर्पण दिएको स्थानीय समाजसेवी शशी डंगोलले बताएका छन् ।

    चार-धाम मध्येको एकधाम वेत्रावति हिन्दु धर्मावलम्बीको पुराण अनुसार भगवान शिवले कालकुट विष पिई त्यसको राप शान्त पार्न भौतारिएर हिडेका अवस्थामा त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदि र महादेवले नै बेतको लौरोले खोपेर उत्पति भएको वेत्रगंगास्थित फलाखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भुमिका रूपमा परिचित छ ।

    पुस १८ गते श्राद्व गर्न आएका एक श्रद्वालु शुन्दर श्रेष्ठ बताउनुहुन्छ। चारगया मध्ये एक गयाको रूपमा परिचित उतरगया एक पवित्रभुमी गोसाईकुण्ड, सलाखु, फलाखु, त्रिशूली गंगा मिसिएको ठाउँ सफा स्वास्थ आफ्नो दिवङगतहरूको सम्झनामा श्राद्व गरि पिण्ड सेलाउन पाउँदा स्वर्गमा बास हुने विश्वासले नै हाम्रो धर्म संस्कार,संस्कृति परम्परा ले गर्दा नै हामी मानिस मानिस भएर बाचेका छौ।

    यस पवित्रभुमी उतरगयाधाममा २०४९ सालमा योगी नरहरीनाथले कोटी होम लगाएपछि झनै बेत्रावतिको धार्मिक महत्त्व बढेको हो ।

    उतरगया क्षेत्रको ईतिहास

    नेपाल र तिब्बतबीच १८४९ सालमा भएको ऐतिहासिक बेत्रावति सन्धि पनि यही ठाउँमा भएको तथ्य छ । सिगात्सेसम्म नेपाली गोर्खाली सेना चिनको छिङ महाराजाको ठुलो संख्यामा आएका सेनासंग पछि हट्न बाध्य भएका नेपाली गोर्खाली सेना र चिनियाँ सेनाको लडाइँ रसुवा र नुवाकोटको सिमाना वेत्रावतिमा भएपछि दुवैले ठुलो क्षति व्यहोरे पछि नेपाल- तिव्वत- चीनबीच सन १७९२ अक्टोबर ५ मा सन्धि गरेका थिए ।

    धार्मिक आस्था बोकेको उतरगया

    बेत्रावति सन्धिलाई विजय उत्सवको रूपमा मनाउन गोरू जुधाई परम्परा सुरू भएको धार्मिक मान्यता समेत रहेको छ । यस उतरगयाधाममा हरेक जात जातिले पितृकार्य गर्ने स्थल, पौषे औशीमा श्राद्व, गाईजात्रामा लाखे नाच, ठुलो एकादशीमा फुलको डोली ल्याउने र भजन किर्तन गरी नदी तार्ने, माघेसंक्रातिमा गोरू जुधाई गरिने, फागुमा सामुहिक होली, रामनवमी पर्व तथा कृष्ण जन्माष्टमीमा विषेश मेला लाग्ने गर्दछ ।

  • बीपीको मेलमिलाप र राष्ट्रिय संकट

    बीपीको मेलमिलाप र राष्ट्रिय संकट

    बीके नेवा, न्युयोर्क

    पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालालाई विर्सेको छ । बीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ तर काँग्रेस बीपीको बाटोमा हिँडेन । जसले गर्दा आज मुलुक अप्ठेरो अवस्थामा छ । राजाविनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजाले मुलुक चलाउन नसक्ने बीपीको विचार थियो । राजा र दलहरु मिलेर शासन गरे मात्र नेपाल सुरक्षित हुने र विदेशीले आँखा लगाउन नसक्ने बीपीको धारणालाई बीपीकै भाइ गिरिजाप्रसाद कोइरालाले लत्ताए । राष्ट्रपति हुने लोभमा गिरिजाले कम्युनिस्टहरुसँग मिलेर राजतन्त्र फाले र गणतन्त्र ल्याए । तर उनी राष्ट्रपति हुन पाएनन् । गिरिजाको कदमले मुलुक अस्थिरतातर्फ गएको छ । मुलुक वास्तविक संकटमा फसेको छ ।
    इतिहास हेर्दा के देखिन्छ भने सन् १९७० को दशकमा भियतनामबाट अमेरिकी सेना फिर्ता भएपछि एसियामा शीतयुद्धको केन्द्र दक्षिणपूर्वी एसियाबाट दक्षिण एसिया बन्न पुगेको थियो । भारतमा सिक्किमको विलय भयो भने पाकिस्तानबाट बंगलादेश टुक्रिएर नयाँ राष्ट बन्यो । बीपीले यही परिप्रेक्षमा नेपालमा राष्ट्रियताको संकट देखेका थिए ।
    आठ वर्ष लामो काराबासबाट मुक्तिपश्चात् बीपी कोइराला भारत निर्वासनमा गए ।
    तर मुलुक कमजोर भएको विश्लेषण गरी बीपी २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्के ।

    बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद अर्थात् आर्थिक विकासलाई ‘तीनपाटे सिसा’ मानेका थिए र तत्कालीन कार्यक्रमलाई, ज्यामितीय रूपमा भन्नुपर्दा, ‘त्रिकोणात्मक संघर्ष’ का रूपमा लिएका थिए ।
    बीपीले भनेका थिए— बेलायतमा राजनीति गर्नेले चुनाव हार्ने जोखिम लिनुपर्छ । भारतमा लागेको संकटकालतर्फ इंगित गर्दै उनले भनेका थिए— भारतमा राजनीति गर्नेले जेलको जोखिम लिनुपर्छ । र, नेपालमा रहेको तानाशाहीतर्फ संकेत गर्दै उनले भनेका थिए— नेपालमा राजनीति गर्नेले ज्यानको जोखिम लिनुपर्छ र त्यो उनलाई बिनासर्त मन्जुर थियो । सात सालको क्रान्तिमा विराटनगरको मोर्चामा अग्रभागमा लडेका बीपीका लागि आफ्नो जीवन दाउमा लगाउनु असामान्य थिएन । उनले सहजतापूर्वक आँट गरेर नेपालमा आफूविरुद्ध राजद्रोहका सातवटा मुद्दाको सामना गर्न तयार हुँदै नेपाल फर्कने निर्णय गरेका थिए 
    ग्रिक दार्शनिक सुकरातलाई राजद्रोहको अभियोग लाग्यो । उनले सफाइको मौका त पाए तर तत्कालीन कानुनअनुसार दण्डित हुनबाट जोगिन सकेनन् । शुभचिन्तकहरूले उनलाई एथेन्स राज्यबाट भाग्ने सल्लाहसमेत दिए । भागेमा ज्यान बच्न सक्थ्यो तर सुकरातले जुन राज्यले उनलाई त्यति ठूलो मान र सम्मान दियो, जुन राज्यको कानुन अन्तर्गत उनले प्रतिष्ठा कमाए, त्यही राज्यले उनलाई अभियुक्त घोषणा गर्दा सहर्ष त्यो अभियोगउपरको कानुनी फैसलालाई शिरोपर गरे । त्यसैले आज पनि सुकरातको बलिदानको दुनियाँभर चर्चा भइराख्छ । सुकरात भागेका भए केही वर्ष बढी अवश्य बाँच्ने थिए होलान् तर राज्यप्रतिको उनको विश्वास सम्झनायोग्य रहने थिएन ।
    नेपालको राष्ट्रियता संकटमा पर्दा बीपी निर्वासनमा थिए, उनको भौतिक शरीर सुरक्षित थियो, तर उनलाई त्यो असहज परिस्थिति स्वीकार थिएन । उनले आफ्ना साथीहरूसँग सल्लाह गरे र तत्काल दुस्साहसी निर्णय गर्दै नेपाल फर्किए । फाँसीमा चढ्नु नपरे पनि बीपीको नेपाल आगमन नेपाली इतिहासको ‘सुकरात क्षण’ अवश्य हो । राजाको फाँसीमा चढ्न आएका बीपीले उल्टो राजसंस्थाबाट सफाइ पाएका थिए ।
    बीपीको निर्वासनसँगै नेपालमा पनि जनताको पक्ष, प्रजातन्त्रको पक्ष निर्वासनमा पुगेको थियो । राजनीतिक दलहरू प्रतिबन्धित भइसकेपछि दुइतिहाइ मतप्राप्त राजनीतिक दलका कार्यकर्ताहरू निर्वासनमा जान बाध्य भएका थिए । जब राष्ट्रको जीवनमा अस्तित्वको खतरा आयो, त्यति बेला प्रजातन्त्रको लडाइँ गौण हो भनेर बीपीले नेपाल फर्कने निर्णय गरेका थिए । लगत्तै नेपाल आएका बीपीलाई हवाई अड्डाबाटै गिरफ्तार गरेर सुन्दरीजलको कारागारमा लगियो, जहाँबाट आठ वर्षअगाडि रिहा गरिएको थियो ।
    उनले राजसंस्थासँग समर्पण गर्ने कुरा गरेका छैनन् । उनले प्रस्ट भनेका थिए, ‘मैले प्रजातान्त्रिक राजा मान्दछु अर्थात् कानुन अधीनस्थ राजा मान्दछु । कानुनभन्दा माथि रहने राजा मलाई स्वीकार छैन ।’
    सात सालको क्रान्तिका क्रममा नेपालमा दुई राजा रहेको उदाहरण दिँदै उनले भनेका थिए, राजा त्रिभुवनसँग केही पनि थिएन, उनी निर्वासनमा थिए तर उनीसँग जनताको समर्थन थियो, त्यसैले भगुवा राजाको महत्व भयो ।
    बीपीले राजासँग आफ्नो घाँटी जोडिएको छ भनेको सन्दर्भको ज्यादा चर्चा पनि भयो तर उनले घाँटी जोड्न चाहेको राजा संवैधानिक थियो । राजालाई देखाएर राज्यशक्तिको दोहन गर्दै विदेशी शक्तिको इसारामा चल्नेहरूले बीपीले बिनासर्त राजा मान्छन् भनेर गलत व्याख्या गरे ।
    बीपीको स्वमूल्यांकनमा राष्ट्रिय मेलमिलापका पाँच वर्ष अर्ध–सफलताका वर्षहरू थिए । दरबार अझै त्यो स्वार्थी तत्वको घेराबाट मुक्त भएको थिएन तर जनताले बीपीले संकेत गरेको राजनीतिक पाठ हृदयंगम गर्न थालिसकेका थिए । जनमतसंग्रहले जनअधिकारका लागि बाटो प्रशस्त गरेको थियो तर त्यसको परिणामपश्चात् संविधान संशोधनका नाममा थप कडाइका साथ जनअधिकार निमोठ्ने कोसिस गरियो । नेपाललाई अन्तर्राष्ट्रिय गोटी बनाउन उद्यत तत्व बीपीको नेपाल आगमनसँगै प्रजातन्त्र र जनअधिकारको लडाइँमा छायामा पर्न पुग्यो र नेपाली राष्ट्रियतामा आँच आउन पाएन । राष्ट्रिय राजनीतिको संकथन नै बदलियो । राजाको आड लागेर विदेशीको सेवा गर्ने त्यो जनविरोधी तत्व बिस्तारै निस्तेज भएर गयो ।
    राष्ट्रिय मेलमिलापको अपिल अझै पनि राष्ट्रवादी तत्वहरूलाई गोलबद्ध गराएर देशलाई विकास र समृद्धिको युगमा पु¥याउने सन्देश जनजनमा पुर्याउन सफल छ । भावनात्मकभन्दा व्यावहारिक एकता वा एकीकरण, संविधान संशोधन र समुन्नत नेपाल चाहने जोकोहीका लागि राष्ट्रिय मेलमिलाप एउटा प्रस्थानविन्दु बन्न पुगेको छ ।
    बीपीले राजासहितको प्रजातन्त्रलेमात्र नेपाल सुरक्षित हुन्छ भन्ने निष्कर्ष निकालेका थिए । उनको यो निष्कर्ष आज सही सावित हुँदैछ । राजा फालेर गणतन्त्र ल्याउँदा नेपाल सुरक्षित भएन । आज नेपालको राष्ट्रियता खतरामा परेको छ । चारैतिरबाट विदेशीले आँखा लगाएका छन् । राष्टको गोपनीयता भंग भएको छ । नेपालीहरु असुरक्षित छन् । मुलुकको बागडोर सम्हालेका दलहरु र तिनका नेताहरुलाई मुलुकप्रति कुनै चिन्ता छैन । जसरी पनि मुलुक लुट्ने र आफै मोज गर्ने धुनमा लागेका अराजक नेताहरुका कारण नेपाली पूर्णरुपले असुरक्षित भएका छन् । स्वदेशमा उद्योगधन्दा मौलाएनन् । काम नपाएर ४० लाखभन्दा बढी नेपाली खाडी क्षेत्रमा गएर रगत पसिना बगाएका छन् । स्वदेशमा रोजगारीको अवसर छैन । बेरोजगारी समस्या बढेको छ । अर्थ व्यवस्था तहस नहस बनेको छ । मुलुक चलाउनसक्ने सक्षम नेता छैन । पटक पटक मुलुक चलाउन असफल शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाइदिएको छ । पाँच दलीय गठबन्धन भागशान्ति जय नेपालमा लागेको छ । महंगी आकासिएको छ । जनताले राहत पाउन सकेका छैनन् । अभिभावकविहीन अवस्थामा पुगेका नेपालीले भरपर्दो अभिभावक खोजेको छन् ।
    बीपीको मेलमिलाप नीतिलाई काँग्रेसले धोती लगाइदिँदा मुलुक यो दुर्गतिमा पुगेको हो । त्यसैले अब बीपीको नीति अनुसार राजसंस्था पुनस्र्थापना गरी मुलुक बचाउनुपर्छ नत्र नेपाल कुनै पनि बेला दुर्घटनामा पर्नसक्छ ।

  • सन् २०२१को नेपाली पुँजी बजार र अब यस्तो रणनीति ?

    सन् २०२१को नेपाली पुँजी बजार र अब यस्तो रणनीति ?

    सरोज सिग्देल

    पुँजीबजार देशको समग्र अर्थतन्त्रको मापन गर्ने वित्तीय बजार हो । विदेशी लगानीकर्ताले अन्य देशमा लगानी गर्नुअघि सर्वप्रथम पुँजी बजारलाई नै हेर्ने गर्छन् । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने एक प्रमुख क्षेत्र पुँजी बजार पनि हो । यसैगरी अन्य वित्तीय उपकरणलाई पनि समयमै पहिचान गरी आवश्यक नीति नियम कानुन तर्जुमा गर्दै बजारको विकास र विस्तारमा लाग्न सकेको खण्डमा पुँजी बजार एक दिगो राजस्व र नयाँ आम्दानिको श्रोत बन्न सक्दछ ।

    समग्रमा भन्ने हो भने सन् २०२१ नेपाली पुँजी बजार मा ऐतिहासिक वर्षकै रूपमा लिन सकिन्छ । वर्षको सुरुवातमा कोरोना महामारीको असर कायम रहिरहँदा बैंक तथा वित्तीय संस्थामा प्रयाप्त मात्रामा तरलता थियो । सन् २०२१ जनवरी ३ मा २१७५.४० को विन्दुबाट सुरु भई अगस्ट १८ तारिखमा नेपालको सेयर बजार सूचक हालसम्मकै उच्च ३,१९८.६ (ऐतिहासिक) विन्दुमा बन्द भएको थियो । अगस्ट १५ तारिखमा भने इतिहासकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । आइपीओ मार्केटमा पनि आवेदक संख्याले रेकर्ड राख्न सफल भएको थियो । यसवर्ष नेप्सेमा १८ खर्ब बढीको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। वर्षभरि कम्पनीको कुल ५० अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    बजार नियमितरुपमा उतारचढाव हुने गर्दछ कुनै उच्च बिन्दु मा पुगेपछि बजारमा करेक्सन आउनु स्वभाविकै हो । यसैबर्ष नेप्से सूचक डिसेम्बर १३ मा घटेर वर्षकै न्यून विन्दु नजिक आएको थियो । त्यसदिन, सूचक २,२८१.६७ विन्दुमा बन्द भएको थियो । जुन ऐतिहासिक उच्च विन्दुको तुलनामा २८.६७% ले घटेको हो । बैंकहरुले वितरण गरेको लाभांश दरमा अघिल्लो वर्षको तुलनामा ५.९७ प्रतिशत संकुचन देखिएको थियो l आर्थिक वर्ष २०७६-०७७ मा वाणिज्य बैंकहरुको पे आउट रेसियो ८१.०५ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा बैंकहरुको पे आउट रेसियो ७६.२१ प्रतिशतमा झरेको छ। हाल बजारलाई कसैले बजारमा डेड क्याट बाउन्स को संज्ञा दिएका छन् भने, कसैले बियरिस बजार सुरु भइसकेको अनुमान लगाइरहेका छन्l बजारका पण्डितहरूले जस्तासुकै तर्क राखे पनि एउटा के कुराका सत्य हो भने बजार भनेको बजार नियमित रुपमा अगाडि बढ्ने र बढेर जाने नै हो l यसले कति समय लगाउला भन्ने कुरामात्र हामीले आँकलन गर्न सक्नुपर्दछ l

    पछिल्लो दशकमा नेपालीहरुमा पनि उद्यमशीलता को तरंग तीव्ररुपमा वृद्धि भइरहेकोबजारले सबैलाई अवसर दिन्छ धैर्यता गर्नुपर्दछ भन्ने लगानीकर्ताहरूको बाहुल्यता रहेतापनि अहिले नेपालका लगानीकर्तामा जस्तो प्यानिकनेश देखिएको छ जुन कुरा स्वभाविकै पनि हो । एकातिर विश्व अर्थतन्त्रमा के होला भन्ने पनि अन्योल छ तर बजार पूर्वानुमान गर्न नसक्नेहरुका लागि यो एक अवसर पनि हो l अर्कातिर विदेशमा रहनुहुने नेपालीको लागि नेपालको शेयरबजार लगानी गर्ने उत्तम समय हो किनकि अहिले यो वर्षभरीकै न्यून बिन्दुमा छ, जुन लगानीकर्ताले प्रवेश गर्ने उपयुक्त समय हो । विद्युतीय कारोबार प्रणालीको विकास संगै अब विश्वको कुनै पनि स्थानबाट कारोबार शुरु गर्न सकिन्छ र अमेरिका डलरको विनिमय दर उच्च भएकाले त्यसको पनि फाइदा उठाउन सकिन्छ ।

    ▪️अब यस्तो रणनीति अवलम्बन गर्न सकिन्छ !

    दीर्घकालीन रूपमायोजनाबद्ध ढंगले लगानी गर्ने हो भने पूँजीबजार प्रचुर सम्भावना भएको क्षेत्र हो तर बजारलाई आफ्नो महत्त्वाकांक्षा पूर्ति गर्ने खुड्किलाका रुपमा परिभाषित गर्ने लगानीकर्ताहरुले निकै चलाखीपूर्ण तरिकाले धोकेवाजी गर्ने गर्दछन् जुन कुरो हामीले बुझ्न जरुरी छ यसका साथै निम्न कुरामा विचार गरी लगानी गरेको खण्डमा अवश्य हामी सफल हुन सक्छौं ।

    आफूसँग भएको बच्चालाई लगानीमा परिणत गर्ने l
    बफेट भन्छन्; “अनावश्यक खर्चबाट जोगिनु वचत गर्नु हो”। खर्चबाट बच्नका लागि उनी पत्रिकाहरु पनि नकिनै पुरानो पढ्थे । त्यसै गरि तपाईँ हामीले पनि वचत गर्न सकियो र वचत गरेको पैसा राम्रो कम्पनीको शेयरमा लगानी गर्न सकियो भने त्यसबाट अत्याधिक प्रतिफल प्राप्त गर्न सकिन्छ ।
    • दैनिक जीवनका स-साना चुहावट रोक्ने l

    हामीले अनावश्यक खर्च गर्नु भन्दा अगाडि एकपटक अवश्य पनि सोच्ने बानी बसाल्नु पर्दछ । हाम्रो जीवनमा पनि अनावश्यक विभिन्न खर्च वा चुहावट भइरहेका छन् र त्यस्ता चुहावट र फजुल खर्चलाइ नियन्त्रण गरि वचतमा वृद्धि गरौँ र त्यो वचतको पैसालाई शेयरमा लगानी गरौ ।

    • बजारले अवसर दिने हुँदा धैर्यता नगुमाउने l

    शेयर कारोवारलाई निरन्तरता दिनुहोस । कारोवारमा जस्तोसुकै उथल पुथल आएपनि संयमित रहँदै शेयर बढ्दा बिक्रि र घट्दा किन्ने बानीको विकासले अवश्य पनि यस कारोवारबाट धनी बन्न सक्नु हुनेछ ।

    •अरुलाई पछ्याउनु भन्दा विज्ञलाई गुरु मान्ने l

    लगानीकर्ताहरु भिड, हल्ला र मिडियाको पछाडि लाग्नुभन्दा आफ्नै मौलिक सोच, विश्लेषण र अनुभवको आधारमा अगाडि बढ्नु पर्दछ जसका लागि यस व्यवसायमा सफल व्यक्तिलाई आदर्श मान्दै तिनका गुण र अनुभवबाट अभ्यास गर्न सकिन्छ।

    • कम्पनीको वित्तीय विश्लेषण गर्ने l

    कुनै पनि कम्पनीको शेयर किन्नु पूर्व त्यस कम्पनीका संस्थापकहरु, आय-व्यय, जगेडा कोष, शेयर कारोवारको इतिहास, कम्पनीले प्रदान गर्न सक्ने बोनस र राइट शेयरको अवस्था साथै पुँजी संरचनाको ज्ञान लिने बानी हुन्छ। यस पछि आफुले गर्नु पर्ने वा गर्ने कुरामा दुविधा नलिने अथवा कुनै एउटा निर्णय लिने ।

    • जोखिम आकलनमा ध्यान दिने l

    कुनै पनि कम्पनीको शेयरमा हुने नोक्सानीको मूल कारण सुरुमा जोखिम आकँलन गर्न नसक्नु हो । बोनस र राइट शेयरको लोभमा त्यसको वास्तविक मूल्य भन्दा निकै धेरै तिर्नु भन्दा त्यस बखतमा त्यो शेयरलाई बेच्ने र आफ्नो मुनाफा सुरक्षित गर्दा राम्रो हुन्छ।

    • ऋणबाट टाढा रहनेl

    ऋणबाट चल्ने जीवनमा अत्याधिक तनाव हुुने र शेयर बजार निरन्तर आम्दानी नहुने व्यवसाय भएकाले ऋण लिएर शेयर बजारमा लगानी गर्दा जोखिम हुन सक्छ।
    सल्लाह र सझावको चहाना भन्दा अध्ययनमा विशेष ध्यान दिने l
    रेडिमेट सल्लाहको चाहाना राख्ने, नयाँ र साना लगानीकर्ताहरु सधैँ जोखिममा हुन्छन् । उनीहरु साना तिना शेयरहरु ६ महिनामा वृद्धि हुन्छ भन्ने कुराको भरमा आफ्नो दिमागको प्रयोग नगरि किन्न तत्पर हुन्छन् र उनीहरुलाइ यस्तो कुरा भन्नेपनि उनीहरुको छेउँछाउका नै हुन्छन् । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गर्छन् ।

    • छोटो समयमा धनी हुने मनोवृति भन्दापनि दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने l

    नयाँ र साना लगानीकर्ताहरु झटपट पैसा कमाउने चाहाना राख्दछन् । यो सोच्दै गर्दा उनीहरुले यो कुरा बिर्सिन्छन की यो व्यवसाय झटपट पैसा गुमाउने पनि ठाउँ हो । यस्ता लागानीकर्ता प्रवेश गर्दा र बाहिरिँदा निकै उछाल आउने गर्दछ ।

    • कम मूल्यको शेयरलाइ भन्दा वास्तविक मूल्य छनौट गर्ने l

    जुन शेयरको मूल्य कम छ त्यो सस्तो ठानी किन्ने प्रवृति निकै छ। जब कि यो सस्तो हुनूको कारण के हो र कम्पनीको आधरभूत अवश्था कस्तो छ र यसबाट कति प्रतिफल प्राप्त हुन्छ भन्ने कुराको ज्ञान बिना नै सस्तोमा धेरै कित्ता खरिद गर्दा सफल भएको ठान्दछन् । जबकी शेयर मुल्य निकै सस्तो हुनु भनेको कम्पनीको अवश्था बिग्रिनुको उपज हो भन्ने कुरा बुझ्दैनन् ।

    • अध्ययन गरेर मात्र किन्ने किनेपछि विश्वास गर्ने l

    धेरै लगानीकर्ताहरु बजारमा मन्दी आयो वा गिरावट आउन थाल्यो भने हड्बढाएर सस्तो मुल्यमा विक्रि गर्न थाल्छन् । कसैलाइ त यस्तो लाग्छ बजार घटेको समय नै कमाउने समय हो भनी सानो पुँजीका साथ ठूलाठूला खेल खेलेर बस्छन् र त्यसै खेलको सिकार बन्छन् । सबै गुमाइसकेपछि उनीहरुको एक मात्र भनाई हुन्छ भाग्यमा कमाउन लेखेको रहेनछ भन्दै सधैँ बजार प्रति नकारात्मक धारणा राख्दछन् ।

    बजारमा लगानी सुरक्षा, शेयरको सस्तो भाउ र औसत प्रतिफलको हिसाब गर्दा बाणिज्य बैंकहरुको सेयरमा लगानि अहिले सबैभन्दा सुरक्षित देखिएको छ । पर्याप्त लगानि, जोखिम ब्यवस्थापनको बन्दोबस्ति, राष्ट्र बैंकको कडा नियमन, संस्थागत सुशासन, बलियो जगेडा कोष जस्ता सूचकहरु हेर्र्दा अहिले बाणिज्य बैंकको सेयरमा लगानि गर्नु उपयुक्त छ ।

    ▪️बैंक तथा बित्तिय समूह लगानीका फाइदाहरु :
    १) कम मूल्य भएकाले धेरै शेयर कित्ता किन्न सकिन्छ ।
    २) बैंकहरुले गरेका प्रगतिको कारणले लाभको प्रतिशत बढ्दै जानसक्छ ।
    ३) बाणिज्य बैंकहरूले मर्ज वा एक्विजिशनमा गर्दा राम्रो स्वाप अनुपात पाउँदा नसोचको फाईदा पाउन ।
    ४) औसत १८० दिने मूल्य अनुसार धेरै कर्जा (७० प्रतिशतसम्म) प्राप्त हुन्छ ।
    ५) बजारमा गिरावट आयो भने पनि ठूलो अन्तरले मूल्य झरेर बैंकबाट माार्जिन कल आउने संभावना कम हुन्छ सकिन्छ ।
    ६) बैंकबाट लिएको कर्जाको ब्याज तिर्ने रकम सेयर वापत प्राप्त हुने लाभांशले नै धान्न सक्दछ ।
    ७) वाणिज्य बैंकमा शेयरहरु खेलाडीको खेलाडीको सूचीमा नपर्ने हुँदा पम्प एण्ड डम्पको जोखिम कम रहन्छ ।
    ८) समस्याको संकेत देखिएमा राष्ट्र बैंकले व्यवस्थापनआफ्नो जिम्मामा लिने गर्दछ ।
    ९) तुलनात्मक रुपमा सफल र लामो इतिहास भएको क्षेत्र हो ।
    अन्त्यमा: यस बजारबाट सफलता हासिल गर्नका लागि ज्ञान, लगानी र योजनाका साथै धैर्यताको पनि महत्वपूर्ण भूमिका रहन्छ l एक क्लिकमै सेयर किन्न, बेच्न र आइपीओ भर्न सकिने सुविधा विस्तार गर्दै, मिसन र भिजनका साथ निरन्तर ️ नयाँ – नयाँ अवसरको खोजिले नै हामि गन्तब्यमा पुग्न सक्छौ l तसर्थ सरकारले पनि सेयर बजारलाई सकारात्मकरुपमा बुझेर समयसापेक्ष नीति तथा पूर्वाधार तयार गर्न सकेको खण्डमा समग्र देश निर्माणका लागि आवश्यक पुँजी जुट्न सक्नेछ भने प्रशस्त मात्रामा रोजगारीका अवसरहरू पनि सिर्जना गर्न सकिन्छ ।

  • कविता : धिक्कार छ !

    कविता : धिक्कार छ !

    • कृष्ण बाउसे

    भत्कुन पर्ने धराप भत्किसक्यो

    फेरी पनि भत्काउने कुरा गर्नु बेकार छ

    चर खनेर

    नयाँ घरको जग राम्ररी उठाउनु पर्ने दिन

    आइसक्यो

    अझ पनि

    मात्र टोल्हाएर समय बिताउनु बेकार छ ।

    पल्टन बाँकी

    केवल पल्टनै लागेका सालिकहरू छन्

    पन्छन बाँकी

    केवल खिइँदै गएका काँडे-तारहरू छन्

    त्यसैले

    अझ लड्छु भनेर पाखुरा सुर्कँदै बम्कनु

    मंसिरमा बिजुली चम्कनु जत्तिकै बेकार छ

    जे छ बाँकी अब

    मात्र चिसो खरानी बँचेको छ यस घरको अँगेनोमा

    अझै पनि

    आफू रमिते बन्दै

    अरू कसैले आगो सल्काइदेला भनेर

    चिसो चुल्हो कुरिरहने हो भने

    हाम्रो त्यस खोटो नियतलाई धिक्कार छ ।

    हाम्रो त्यस खोटो दृष्टिलाई धिक्कार छ।

  • रसुवागढी नाका, द्विपक्षीय व्यापार र पारवहनका लागि सडक स्तरोनन्ति मेरो प्राथमिकता- नवराज जैसी प्रजिअ रसुवा

    रसुवागढी नाका, द्विपक्षीय व्यापार र पारवहनका लागि सडक स्तरोनन्ति मेरो प्राथमिकता- नवराज जैसी प्रजिअ रसुवा

    हिमाली जिल्ला भनेर चिनिने रसुवा जिल्लामा नवराज जैसी प्रमुख जिल्ला अधिकारी भएर आउनु भएपछि सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने गरेको महसुस गर्दैगर्दा सोही परिप्रेक्षमा जिल्ला प्रशासन कार्यालय रसुवाको प्रमुख जिल्ला अधिकारी जैसीसँग सरस्वती न्यौपानेले गरेको कुराकानी:

    १. यस हिमाली जिल्ला रसुवामा जनताको सेवा गर्न पाउँदा कस्तो महसुस गर्नु भएको छ ?

    👉️असाध्यै भाग्यमानी महसुस गरेको छु। राजधानीदेखि नजिकै रहेको विभिन्न धार्मिक, पर्यटकीय तथा अन्तराष्ट्रिय नाकाको रुपमा रहेको यस पवित्रभूमी रसुवामा प्रमुख जिल्ला अधिकारीको रुपमा रही जनताको सेवा गर्न पाउँदा खुसी लागेको छ ।

    २. तपाईं रसुवामा आउनु भएको पनि लगभग तीन महिना हुदैछ, यो तीन महिनामा कार्यालयमा आउने सेवाग्राहीलाई के कसरी सेवा प्रदान गर्नु भएको छ ?

    👉️ म प्रमुख जिल्ला अधिकारीको रूपमा आईसकेपछि यस जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, पासपोर्ट लगायतका सेवाहरु विहान अफिस समयदेखि वेलुकी साँझसम्म प्रदान गर्ने गरिएको छ। सेवाग्राही भएको अवस्थामा म लगायत कार्यालयमा आ-आफ्नो जिम्मेवारी सम्हाल्नु भएका सबै कर्मचारीहरु साँझ नपरुन्जेलसम्म कार्यालयमा रहेर सेवा प्रदान गर्ने गरेका छौं । अत्यन्तै चिसो बढेको यस समयमा समेत साँझसम्म कार्यालयमा रही सेवा प्रवाहमा खटिई रहनु भएकोमा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचाहीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

    ३.रसुवामा प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको छ? आफ्नो कार्यकालमा के कस्ता कामलाई प्राथमिकता दिनु भएको छ ?

    👉️म जिल्लामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको रुपमा आएको छु। जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, नागरिक सेवा प्रवाहलाई पद्धति र पारदर्शीमुखी बनाउने, विकास निर्माण कार्यमा सहजिकरण गर्ने र सरकारका तहहरुबीच समन्वय कायम गर्ने कार्यमा नै म केन्द्रीत रहेको छु। खासगरी यस जिल्लामा मित्रराष्ट्र चीनसँगको रसुवागढी अन्तराष्ट्रिय नाका भएकोले द्विपक्षीय व्यापार सहजिकरण र पारवहन सहजताकालागि सडक स्तरोनन्तिलाई प्राथमिकतामा राखेको छु ।

    ४. तपाई प्रमुख जिल्ला अधिकारी भएर आएपछि केही उल्लेखनीय कार्य गर्नु भयो की ? छन भने खुलाई दिनोस न।

    👉️ म यस जिल्लामा हाजिर भएपछि पहिलो महत्वपूर्ण काम जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा वेलुकी साँझसम्म प्रदान गर्ने गरिएको छ। दोस्रो आम नागरिकको हितलाई दृष्टिगत गरी यातायात व्यवसायीको सहमती मै यस जिल्लामा सार्वजनिक यातायातको बस भाडा घटाउने कार्य गरियो। फलस्वरुप धुन्चे – काठमाडौं सार्वजनिक बस भाडा साविक भन्दा ८७ रुपैयाले कमी भएको छ। यस कार्यले गरिब र विपन्न नागरिकलाई ठूलो राहत भएको होला भन्ने महशुस गरेको छु । त्यसैगरी गोसाईकुण्ड पदमार्गमा रहेका सबै होटलहरु सँधै नखोल्ने गरेका कारण आन्तरिक तथा वाह्य पर्यटकलाई खान,बस्न लगायतका कुरामा सास्ति हुनेगरेको थियो। लामटाङ राष्ट्रिय निकुञ्ज कार्याललाई प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि व्यापारीहरुको एकखालको उक्त सिन्डिकेट हटेको छ । मुलुककै लाईफ लाईनको रुपमा रहेको रसुवागढी अन्तराष्ट्रिय नाकामा कन्टेनर पार्किङ यार्ड नहुँदा अहिले ठूलो समस्या झेल्नु परेको छ । यस समस्याको समाधान गर्न अहिले ५ करोड भन्दा बढी लागतमा कन्टेनर पार्किङ यार्ड निर्माण कार्य प्रारम्भ स्वरुप टेन्डर सूचनामा गएको छ । यसलाई महत्वपूर्ण कार्यको रुपमा लिएको छु ।

    ५. तपाईं आईसकेपछि जिल्लामा शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ?

    👉️म प्रमुख जिल्ला अधिकारी भएर आईसकेपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानबीच सुचना संकलन र सुरक्षा व्यवस्थापनमा समन्वय र सहकार्यको प्रवन्ध मिलाएको छु। जिल्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीहरु अहोरात्र खट्ने गरेका र स्थानीय सरकार, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकको साथ र सहयोगका कारण जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुद रहेको महशुस गरेको छु ।

  • नुवाकोट जिल्लाको गोसाइँकुण्ड युवा क्लवमा नयाँ नेतृत्व

    नुवाकोट जिल्लाको गोसाइँकुण्ड युवा क्लवमा नयाँ नेतृत्व

    नुवाकोट, शशी डंगोल

    नुवाकोट जिल्ला बिदुर नगरपालिका १० स्थित बेत्रावतीबजार तथा आसपासका क्षेत्रमा बिगत २५ बर्षदेखि निरन्तर सकृय गोसाइँकुण्ड युवा क्लबले नयाँ नेतृत्व चयन गरेको छ ।
    क्लव भवन बेत्रावतीमा सम्पन्न २५ औं बार्षिक साधारणसभा तथा अधिबेशनले सुवास डङोलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको हो ।

    कार्यसमितिमा उपाध्यक्ष रोजिना डङोल, कोषाध्यक्ष बिबश डङोल, सचिव ईश्वर थापा आइटम, सहसचिव सुजन लवट, सदस्यहरुमा पुर्णलाल डङोल, सुरेशबाबु डङोल, सस्मिता तामाङ, पुर्णबहादुर डङोल, ज्ञानबहादुर डङोल, रजनी डङोल रहेका छन् ।
    बिनपा वडा १० का अध्यक्ष गणेश नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा संस्थापक अध्यक्ष अष्टमान डङोल, पूर्व अध्यक्ष सुरज लवट तथा पुर्णबहादुर डङोल, समाजसेवी मङलदास लवट, ईश्वरलाल श्रेष्ठ, सोमलाल लवटले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा कोषाध्यक्ष बिबश डङोलले आर्थिक बर्ष २०७७ /०७८ मा भएको आर्थिक प्रतिवेदनमा १७ लाख १३ हजार ६०८ रुपैयाको बार्षिक लेखापरीक्षण प्रतिबेदनमा र निवर्तमान अध्यक्ष ज्ञानकुमार डङोलले बार्षिक गतिविधि तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    २४ वर्ष पार परिसकेको यस क्लबले अष्टमान डङोल, योगेश डङोल, पुर्णबहादुर डङोल, सुरज लवट,ज् ञानकुमार डङोलको सफल अध्यक्षहरु प्राप्त गरिसकेका छन् । क्लवले निरन्तर बेत्रावतीबजारको हकहितकालागी कृयाशिल रहदै हरेक किसिमका सामाजिक कार्यहरू गर्दै आइरहेको स्थानीय समाजसेवी शशी डंगोलले बताए ।

  • नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न

    नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न

    न्युयोर्क

    नेपाल सम्बत ११४२ थिंलाथ्व: पुन्हि, य:मरि पुन्हिका दिन १९ डिसम्बर २०२१ मा नेवा: नख: न्यूयोर्कको चौंथो साधारण सभा र तेश्रो निर्वाचन सम्पन्न भएको छ ।
    नख:का महासचिव डा. नरेश मान शाक्यद्वारा जूमको माध्यमबाट संचालन गरिएको साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष बिष्णुमान प्रधानले गरेका थिए भने प्रमुख अतिथिमा नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले आफ्नो मन्तव्य मार्फत स्वागत गरेका थिए । नख:का संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, संस्थापक सचिव संजय शिलाकार र सल्लाहाकार राज कुमार श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागी दर्ताको कार्य, सचिव संगिता मुखिया छोंचू र सह-कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठले गरेका थिए ।

    खुल्ला सत्रमा, महासचिव डा. नरेश मान शाक्यले संस्थाको कार्य प्रगति विवरण तथा गति-बिधीहरू फोटो र भिडियो प्रस्तुत गरी पेश गरेका थिए भने अध्यक्ष बिष्णु मान प्रधान र सह-कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    सभामा, दिवंगत हुनुभएका नखःका पूर्व सल्लाहाकार अजय मान छोँचूको संझनामा एक मिनेट मौन धारणा गरिएको थियो भने उहॉंले संस्थालाई दिनु भएको अमुल्य योगदानको प्रशंसा गरिएको थियो र उहॉं सहभागी भएको कार्यक्रमको फोटो र भिडियो पनि प्रस्तुत गरिएको थियो । सबै सहभागीहरूले उहॉंको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै स-सम्मानका साथ हार्दिक श्रद्धांजली दिए । बक्ताहरूले उहॉंको बारेमा बोल्दै गर्दा केही क्षण सबै सहभागीहरू भावविह्वल भएका थिए ।

    नेवा: नख: न्यूयोर्कको तेश्रो निर्वाचन, प्रमुख निर्वाचन आयुक्त, संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानले सम्हाल्नु भएको थियो। उक्त निर्वाचन कमिटीले नयॉं कार्यसमितिको निर्वाचन गरेका थिए । नयॉं कार्यसमितिको अध्यक्षमा महेन्द्र बीर बज्राचार्य, प्रथम उपाध्यक्षमा डा. नरेश मान शाक्य, द्वितीय उपाध्यक्षमा श्रुति अमात्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा नम्रता प्रधान, दिपक कुमार प्रधान, महेन्द्र कुमार बज्राचार्य, संजन प्रधान, राधिका श्रेष्ठ, अभिषेक छोंचू र शोभना शाक्य निर्विरोध निर्वाचित भएका छन् । नखःको बिधान अनुसार स्वतः निर्वतमान अध्यक्ष बिष्णुमान प्रधान संस्थाको सल्लाहाकार भएका छन् ।

    बन्द सत्रमा, अध्यक्ष बिष्णुमान प्रधानले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए भने सभामा उपस्थित सबै सदस्यहरूलाई उहॉंहरूको सहयोग, सपोर्ट र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै उहॉंले अहिलेसम्म नखःको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण संघ-संस्था, महिला तथा पुरूष स्वयंमसेवी र सहयोगी दाताहरूलाई विशेष धन्यवाद दिएका थिए। बिदेशमा रहेर पनि नेवाः परम्परा, कला-संस्कृति, चाड-पर्व जोगाउन र प्रवर्द्धन गर्न हामी सबै एकजुट भई अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएका थिए ।

    नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसँग हातेमालो र सहकार्य गर्दै सबै मिली सबैको सहयोगमा नख:लाई अगाडि बढाउने कुरा नव निर्वाचित अध्यक्ष महेन्द्र बीर बज्राचार्यले व्यक्त गरेका थिए भने अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए ।

    नेवा: नख: न्यूयोर्क – नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

  • न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

    न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

    बीके नेवा, न्युयोर्क ।

    नेपाली चलचित्र जगतका बरिष्ठ निर्देशक, लेखक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा भव्य सम्मान गरिएको छ । न्युयोर्क नेवा: गुठीले उहाँको सम्मान गरेको हो ।
    छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले खादा लगाइदिएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।


    नेपाली सिनेमामा गाउँले नामक चलचित्रको निर्देशन गरी यस क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले ३० भन्दा बढी चलचित्रमा निर्देशन गरिसक्नुभएको छ ।
    हालै उहाँले घिन्ताङ नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी गराउनुभयो ।
    कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय भएको छ । उहाँले उक्त कुरा सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिनुभयो ।


    कार्यक्रममा उहाँले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताउनुभयो ।


    ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको उक्त कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गर्नुभएको थियो भने कार्यत्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गर्नुभएको थियो ।

  • न्युयोर्केली नुवाकोटेका संस्था ‘फोन्ना’ गठन

    न्युयोर्केली नुवाकोटेका संस्था ‘फोन्ना’ गठन

    न्युयोर्क

    नुवाकोटबाट अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नेपालीहरुले भाइचारा र सामुदायिक एकता कायम गर्ने उद्देश्यले फोन्ना (फ्रेण्ड्स अफ नुवाकोट इन न्युयोर्क अमेरिका) नामक संस्था गठन गरेका छन् । न्युयोर्कको क्वीन्समा बसेको भेलाले थात्थलो एवम् भेगीय एक्यवद्दताको महत्व प्रवासमा अझ बढी हुने निस्कर्ष निकाल्दै उक्त संस्था गठन गरेको हो ।

    भेलालाई मुर्तरुप दिन पहल गर्ने बिज्ञान खनाल र बसन्त पाण्डेका अनुसार ‘करिव २ दशकभन्दा लामो समयदेखि एउटै सहरमा बस्दै आएका एक्कै मुलका पानी खाइहुर्केका साथीभाइ समेत विरानो जस्तो बन्न पुगेकाले संगठित हुनुपरेको’ दृष्टान्त व्यक्त गरेका छन् । सम्पन्न भेलाले बिष्णु राना मगरको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समितिको चयन गरेका छन् ।

    भेलामा रामेश्वर खनाल ‘राम’, दीपक ब. पण्डीत, भुवनमान डंगोल, निरञ्जन पाण्डे, अच्युत सिग्देल, बुद्धिमान तामाङ्ग, राधिका पाण्डे, देबेन्द्र लो तामाङ्ग, उत्तम पाण्डे, बिष्णु राना मगर, बसन्त पाण्डे, बिज्ञान खनाल, योगेश आदी लगायतका नुवाकोटबासीका उपस्थिति थियो ।

    संस्थाको उद्देश्य र महत्वका बारेमा प्रकासपार्दै पहलकर्ता बिज्ञान खनालले; “संस्थालाई बिस्तारै अमेरिकाको अन्य सहरमा समेत बिस्तार गर्ने र नुवाकोटबाट अमेरिका आएका नुवाकोटेको हितमा कार्य गर्ने” बताए । संस्थाले नियमित गर्ने बार्षिक कार्यक्रम तथा संगठनलाई मजबुत तथा एकत्रित बनाउने कार्यनै प्रारम्भिक कार्यतालिकामा रहने संयोजक बिष्णु राना मगरले प्रष्ट पारे ।

  • युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

    युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

    डिसेम्बर १२, २०२१ न्यूयोर्क

    अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर युयस् नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको क्वीन्समा सम्पन्न अधिवेशनले पासाङ् निमा शेर्पाको नेतृत्वमा आगामी ३ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    संस्थाको भूपु अध्यक्ष तथा फाउण्डर सेराप जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेर्पा किदुक अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा, शेर्पा संघ अमेरिकाका प्रेसिडेन्ट आङ जाङ्बु शेर्पा, शेर्पा किदुक अमेरिका बोर्ड अफ ट्रष्टिजका कोअर्डिनेटर पेम्बा ग्याल्जेन शेर्पा, शेर्पा किदुक अमेरिकाका प्रबक्ता पासाङ् जि शेर्पा, गुरुङ सोसाइटी अमेरिकाका निबर्तमान सदस्य तथा युयस नेपाल क्लाइम्बर्स एसोसियसनका आजीवन सदस्य जीत गुरुङ, युयस् नेपाल क्लाइम्बर्स एसोसियसनका भूपु महासचिवद्वय लाक्पा नुरु शेर्पा र महासचिव आङ ग्याल्जेन शेर्पा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

    उक्त कार्यक्रममा संस्थाका महासचिव मिङ्मार लामाद्वारा संस्थाले बिगत ३ बर्से कार्यकालमा गरेका कामको प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष लाक्पा गेलु शेर्पाले संस्थाको खर्च तथा आम्दानीको हिसाबकिताब प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको अन्त्यमा प्रेसिडेन्ट पासाङ् निमा शेर्पाले संस्थाको बारेमा चर्चा गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने अधिवेशनका सभापति शेराप जाङ्बु शेर्पाले सम्पूर्ण नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

    उक्त कार्यक्रममा नवनिर्वाचित नयाँ कार्यसमितिलाई युनाईटेड शेर्पा एसोसियसन इन्क अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा तथा शेर्पा संघ अमेरिकाका प्रेसिडेण्टले प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रम संस्थाका सचिव कर्णबहादुर तामाङले गरेका थिए ।

    नवनिर्वाचित कार्यसमिति;

    १. पासाङ् निमा शेर्पा, प्रेसिडेण्ट
    २. मिङ्मार लामा, फष्ट भाईस प्रेसिडेण्ट
    ३. पासाङ शेर्पा, सेकेन्ड भाईस प्रेसिडेण्ट
    ४. आङ दावा शेर्पा, महासचिव
    ५. पासाङ् शेर्पा, सचिव
    ६. लाक्पा नुरु शेर्पा, ट्रेजरर
    ७. लाक्पा गेलु शेर्पा, भाईस ट्रेजरर
    ८. आङ काजी शेर्पा, बोर्ड् मेम्बर
    ९. लाक्पा जि शेर्पा, बोर्ड् मेम्बर
    १०. दा वोङ्छु शेर्पा, बोर्ड् मेम्बर
    ११. काजी शेर्पा, बोर्ड् मेम्बर
    १२. दोमे शेर्पा, बोर्ड् मेम्बर
    १३. छुरिम डोमा शेर्पा, बोर्ड् मेम्बर
    १४. पासाङ् शेर्पा, बोर्ड् मेम्बर
    १५. मिङ्मार टि शेर्पा, बोर्ड मेम्बर
    १६. ङिमा गेल्जेन शेर्पा, बोर्ड मेम्बर
    १७. दावा जाङ्बु शेर्पा, बोर्ड मेम्बर

  • गीतकार दीपाराई पुनद्वारा रचित गीत ‘आमा’ सार्वजनिक

    गीतकार दीपाराई पुनद्वारा रचित गीत ‘आमा’ सार्वजनिक

    न्युयोर्क

    कवयित्री दीपाराई पुनद्वारा रचित ‘आमा’ शिर्षकको गीति भिडियो आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । आफ्नो गृहभूमी र जन्मदिने आमाप्रतिको मनोबेग प्रस्तुत भएको उक्त गीत मर्मर्स्पर्शी एवं डायस्पोरिक चेतनमा आधारित रहेको र यसले द्वन्दकालीन समयको चित्रण गरेको पाईन्छ ।

    एउटा ब्यक्तिको लागि जन्म दिने आमा र जन्मिएको ठाँउ दुवै स्वर्ग समान हुन्छ, अझ विदेशमा रहे बसेको बेला त झन घर देशको याद आउँछ । त्यही परिवेश समावेश गरी लेखिएको प्रस्तुत गीतले घरदेशमा छोराको पौरख खान पर्खिरहेकी बुढी आमाको कारुणिक शब्द चित्र उतार्न सफल भएकी छिन गीतकार दीपा राई पुन ।


    राजेश पायल राईको स्वर, डि आर अटुको संगीत, किरण राईको निर्देशन तथा चर्चित अभिनेता दयाहाङ राई र पशुपति राईको अभिनय रहेको उक्त गीति भिडियोले विभिन्न कारणवस बिदेशिन पुगेका नेपालीहरुको मनोभावना समेटिएको गीतकार राईले बताउनु भयो ।
    मूलत ममता र स्नेहमुखी कविता लेखनमा आफ्नो छुट्टै पहिचान बनाएकी दीपा राई पुनका यसअघि पनि प्रतिरूप एल्बम र केही गीति भिडियोहरू सार्वजनिक भएका छन् ।

  • शान्ति सम्झौता; पीडितले पाएनन् न्याय

    शान्ति सम्झौता; पीडितले पाएनन् न्याय

    बीके नेवा, न्युयोर्क

    नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन सकेको छैनन् । शान्ति सम्झौता गर्ने दुवै पार्टी काँग्रेस र माओवादी अहिले सत्तामा छन् तर शान्ति सम्झौता कार्यान्वयन गर्न दुवै दल प्रतिबद्ध छैनन् । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतामा दस्तावेजमा हस्ताक्षेर गरेका थिए ।
    सशस्त्र युद्धमा माओवादीले १७ हजार नेपाली मारे, हजारौँ बेपत्ता र अंगभंग भएका छन् । अर्बौको भौतिक सम्पत्ति लुट्ने र ध्वस्त पार्ने काम भयो । नेपालको इतिहासमै नभएको यो हिंसा माओवादी उदण्डताको पराकष्ठ थियो । नेपाल असफल मुलुक बनाउन यो हिंसा लादिएको थियो ।
    शान्ति सम्झौता गरेसँगै १० वर्ष लामो माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भयो । देश युद्धको बाटोबाट शान्तिपूर्ण बाटोमा गयो । उसो त सम्झौतामा द्वन्द्व अन्त्य गर्ने विषयमा मात्रै थिएन । देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुनःसंरचना गर्ने संकल्प सम्झौताको प्रस्तावनामै गरिएको थियो । कब्जामा रहेका मानिसहरूबारे जानकारी सार्वजनिक गरी १५ दिनभित्र मुक्त गर्ने, बेपत्ता पारिएका वा मारिएका मानिसहरूको बारेमा ६० दिनभित्र सूचना सार्वजनिक गर्ने विषय पनि विस्तृत शान्ति सम्झौतामा थिए । एक वर्षभित्र द्वन्द्वकालमा भएका मानव अधिकार हननका घटनाको छानबिन गर्न आयोग गठन गर्ने र ६ महिनाभित्र बेपत्ताहरूको अवस्था सार्वजनिक गर्ने महत्वपूर्ण विषय थिए ।
    १५ वर्ष पूरा हुँदासम्म नेपालमा संविधानसभामार्फत संविधान जारी भयो । माओवादीका सेना र हतियार पनि लगभग व्यवस्थापन भयो । त्यसैको बलमा माओवादी पटक–पटक सरकारमा सहभागी भयो । स्वयं अध्यक्ष प्रचण्ड दुईपटक प्रधानमन्त्री भए । माओवादी नेताहरू पटक–पटक मन्त्री भए । तत्कालीन माओवादीका सैन्य कमाण्डर नन्दबहादुर पुनः उपराष्ट्रपति छन् ।
    तर, द्वन्द्वका घाउ अझै पुरिएका छैनन् । पीडितले न्याय पाएका छैनन् । दुवै (तत्कालीन सत्ता र विद्रोही) पक्षबाट बेपत्ता व्यक्तिको अवस्था अझै अज्ञात छ । द्वन्द्वका घाइते र अंगभंग भएकाहरूले दर्दनाक जीवन बाँचिरहेका छन् । उनीहरूका पीडा जति बयान गरे पनि कम हुन्छन् ।
    न्याय निरूपण गर्न अन्तरिम संविधानमा ६ महिनाभित्र आयोग गठन हुने सम्झौतामा उल्लेख गरिएको थियो । आठ वर्षपछि राजनीतिक भागबण्डामा दुई आयोगहरू गठन भए । तर, समस्या समाधान हुन सकेन । आयोगका सदस्यहरू जागिरे मात्रै भए । राजनीतिक दाउपेजमै अल्झियो । समस्या सुल्झिनेभन्दा अल्झि मात्रै रह्यो ।
    विस्तृत शान्ति सम्झौतापछिका १५ वर्षमा १२ प्रधानमन्त्री फेरिए । सशस्त्र द्वन्द्वको अगुवाई गरेका प्रचण्ड नै २०६५ र २०७३ मा दुईपटक प्रधानमन्त्री भए । एकपटक माओवादीकै डा. बाबुराम भट्टराई प्रधानमन्त्रीसमेत भए । तर, यसलाई समाधान गर्नेभन्दा आफू जोगिने र सत्ता जोगाउनेबाहेक काम हुन सकेन ।
    अहिले पनि सशस्त्र द्वन्द्वको क्रममा सरकार वा माओवादीबाट पीडितहरूले न्याय पाउन सकेका छैनन् । समस्याबारे दलका नेताहरू एकले अर्कोलाई आरोप लगएर उम्किन खोज्छन् । शान्ति सम्झौता भएको डेढ दशक बितिसक्दासमेत शान्ति प्रक्रियाका कामहरू अधुरै छन् ।
    शान्ति सम्झौताहरूमा सहमति भएका सबै प्रावधान पूरै कार्यान्वयन हुने र पूर्ण उपलब्धि हासिल हुने सकेनन् । यस्ता शान्ति प्रक्रियामा प्रमुख पात्रहरू पूर्ण प्रतिबद्ध हुँदा र परिवेश अनुकूल हुँदा अलि धेरै प्रावधान कार्यान्वयन हुने तर पात्रहरूमा प्रतिबद्धताको कमी र परिस्थितिमा आएका परिवर्तनले शान्ति सम्झौताका प्रावधानहरूको कार्यान्वयन कमजोर भयो ।
    नेपालको शान्ति सम्झौताको अर्को महत्वपूर्ण पाटो भनेको सशत्र द्वन्द्वमा विद्रोही पक्षबाट लडिरहेका व्यक्तिहरूको उचित व्यवस्थापन र सशस्त्र द्वन्द्वमा संलग्न भएको नेपाली सेनाको आधुनिकीकरण हो । यो सवाल अनमिन नेपालमा सक्रिय रहँदासम्म निकै गिजोलियो । यही बुझेर नेपाल सरकारले अनमिनलाई फिर्ता पठाएपछि भने सेना समायोजन मूलतः सम्पन्न भयो । अब यो सवाल शान्ति सम्झौताका सफल पक्षमा समावेश गर्न सकिने गरी समाधान भैसकेको छ भलै नेपाली सेनाको आधुनिकीकरण लगातार चलिरहने कार्य हो ।
    नेपालको शान्ति सम्झौताको महत्वपूर्ण प्रावधानहरूमध्येको सबै भन्दा बढी गिजोलिएको, विभिन्न स्वार्थ अनुकूल प्रयोग भएको र खासै प्रगति हुन नसकेको सवालचाहिँ संक्रमणकालीन न्यायको सुनिश्चितता नै हो । सैद्धान्तिकरूपमा भन्ने हो भने संक्रमणकालीन न्यायको सवाल उपयुक्तरूपले सम्बोधन गर्न सकिएन भने यो लामो समयसम्म द्वन्द्वको संरचनागत कारण बन्न सक्छ । नेपालको शान्ति सम्झौताको परिप्रेक्ष्यमा संक्रमणकालीन न्याय भन्नाले सशस्त्र द्वन्द्वको १० वर्षको अवधिमा राज्य र विद्रोही पक्षले द्वन्द्वका नाममा गरेका ज्यादती (हत्या, बलात्कार, अंगभंग, सम्पत्तिको क्षति आदि जुन युद्धमा गरिने परिभाषित गतिविधिअन्तर्गत पर्दैनन्) बाट अन्यायमा परेका व्यक्तिहरूलाई शान्ति सम्झौताको मर्म र भावनाअनुरूप न्याय दिनु हो ।
    नेपालको शान्ति सम्झौताका समयमा दुवै पक्ष अति उत्साहित भै संक्रमणकालीन न्यायको अव्यावहारिक समयसीमा राखे जुन समयमा ती संक्रमणकालीन न्यायका जटिल प्रावधानहरू कार्यान्वयन गर्न सम्भव नै थिएन । फेरि त्यतिबेला शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरूले यो सवाल यति धेरै जटिल हुन्छ भन्ने पनि महसुस नगरी यत्रो द्वन्द्व त समाधान गरियो संक्रमणकालीन न्याय सजिलै सम्बोधन गर्न सकिन्छ भन्ने आत्मविश्वास रहेको पनि हुन सक्छ । सुरुमा संक्रमणकालीन न्यायको सवाललाई निर्णयकर्ताहरूले अलि हलुकारूपमा र बाह्य शक्तिहरूले जटिल बनाइ आफ्नो प्रभुत्व स्थापित र कायम राख्ने अवसरका रूपमा लिएका कारण सही बाटो लिन सकेन ।

    फेरि शान्ति सम्झौतापछि शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरूमा देखिएको अति महत्वाकांक्षा र सोहीअनुरूपका चालबाजीले अविश्वासको वातावरण सिर्जना हुदै गयो र बिस्तारै संक्रमणकालीन न्यायको सवाल नै आफ्नो स्वार्थको माध्यम बनाउने भित्री बाहिरी शक्तिहरूले चलखेल गर्न पक्ष र विपक्षमा तर्क वितर्क गरी थप अविश्वासको वातावरण सिर्जना गरिदिए। शान्ति सम्झौताका दुवै पक्षबीच एकापसमा विश्वासको वातावरण बिग्रंदै जाँदा र बाह्य शक्तिको चाख थपिँदै जाँदा यो विषयलाई पूर्णतः राजनीतीकरण र शक्ति संग्रहको माध्यमका रूपमा प्रयोग गर्न थालियो। परिणामतः संक्रमणकालीन न्याय ओझेलमा पर्यो र एकातर्फ पीडितहरू असहाय बन्दै गए भने अर्कोतर्फ आफ्नो स्वार्थका लागि यो मुद्दा उठाउने शक्तिको प्रभाव निर्णायक बन्न थाल्यो । राज्यले सुरक्षित राख्नुपर्ने प्रमाणहरू अन्तर्राष्ट्रिय संघसंस्थामा पुर्याइए ।
    लामो समयसम्म गठन नै हुन नसकेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोग बल्ल बल्ल गठन हुँदा पनि सही तरिकाले निष्पक्ष, पारदर्शी, योग्यता र क्षमताका आधारमा आयुक्तहरू नछानी भागबण्डामा छान्ने काम भयो। आयोगहरूलाई आवश्यक पर्ने उपयुक्त ऐन, विज्ञ जनशक्ति, साधनस्रोत पर्याप्त उपलब्ध हुन सकेन। राजनीतिक तहबाट पनि यी आयोगलाई पूर्ण सहयोग भएन। परिणामतः स्तरीय ऐन बनाउन सर्वोच्चले आदेश दिनुपर्ने, विदेशीले दबाब दिने र आयोगहरूले आफ्नो काम पूरा गर्न नसक्ने अवस्था सिर्जना भयो । यी सबै कठिनाइका बाबजुद पनि सत्य निरूपण तथा मेलमिलाप आयोगले ६३ हजार जति उजुरी संकलन तथा बेपत्ता व्यक्ति छानविन आयोगले ३३ सय जति उजुरी संकलन गरी व्यवस्थित गरेको सुनिन्छ । तर जबसम्म यी आयोगले पीडितको विश्वास जित्न सक्दैनन् त्यतिबेलासम्म खासै प्रगति हुने भन्दा पनि उनीहरूले संकलन गरी औपचारिकता दिएका उजुरीहरू पछि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूलाई दबाब दिने माध्यमका रूपमा चाहिँ प्रयोग हुने सम्भावना बढेको छ । अब संक्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय अदालत धाउनुपर्ने अवस्था छ । १७ हजार नेपाली मार्नेलाई अन्तर्राष्ट्रिय अदालतको कठघरमा उभ्याउनुपर्छ ।

  • सञ्चार माध्यमको भूमिका

    सञ्चार माध्यमको भूमिका

    सुर्यबहादुर अधिकारी
    (जोसेफ इन्टरनेशनल उमावि)

    मुलुकको चौँथो अङ्ग पत्रकारीता, देश विदेशका सत्य तथ्य घटनाहरुलाई उजागर गरी मूलुकको अग्रणी भूमिका खेल्ने माध्यम भनेको आम सञ्चार हो । यसको इतिहारलाई केलाउने हो भने ल्याटिन भाषाको कम्युनट शब्दबाट सञ्चार शब्द बनेको भन्न सकिन्छ र यस शब्दलाई छुट्याएर हेर्दा समंचार हुन आउँछ । जसलाई परिभाषा गर्न सन्देश सम्बाहक, खबर र ग्रहणको माध्यमद्वारा सुचना सम्प्रेषण गर्नु हो । सञ्चारलाई जनबोलीको भाषामा भन्ने हो भने आफ्नो विचार र खवरलाई एक अर्का ठाउँमा पुर्याउने माध्यम मान्न सकिन्छ भने सञ्चारले व्यक्ति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय घटनाको सत्य तथ्य जानकारी गराउन सफल रहेको छ र यसलाई अझ सतहमा पुगेर हेर्दा वा सो भन्दा बढी व्यक्तिहरुको भाव विचार सत्य, तथ्य अनुभूतिको आदान प्रदानलाई नै सञ्चार भन्न सकिन्छ ।
    ​​गणतन्त्र, लोकतन्त्र वा प्रजातन्त्रमा जनमत निर्माणका लागि स्वतन्त्र सञ्चार माध्यमको अहम् भूमिका रहेको हुन्छ । देशमा मानव अधिकारुको लागि र लोकतन्त्रका लागि प्रशंसा मात्र नभएर आलोचनाको पनि आवश्यकता रहेको हुन्छ र त्यो आवश्यकता पूरा गर्न र अधिकार स्थापित गराउन स्वतन्त्र सञ्चार माध्यमको विशिष्ट भूमिका रहेको हुन्छ । देशका नागरिकहरुलाई आफ्नो कर्तव्य सँगै अधिकारको ज्ञान गराइ मुलुकको सञ्चालनको जिम्मेवारी बोकेका शासकहरुलाई जिम्मेवारीको बोध गराइ उचित मार्ग तर्फ अगाडि बढ्न अधिकारको दुरुपयोग नगर्न सचेतकको काममा पनि सञ्चारको महत्वपूर्ण भूमिका रहेको छ । देशका प्रमुख अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका भित्र कुनै प्रकारको असन्तुलन पैदा भएमा मुलुकको भविष्य अन्धकार बन्न पुग्छ र यस अवस्थामा सञ्चार तथा पत्रपत्रिकाले सत्य र तथ्य विषयवस्तुको खोज र प्रकाशनका माध्यमद्वारा आ–आफ्नो कर्तव्यदिशा तर्फ अगाडि बढाउन पनि महत्वपूर्ण भूमिका रहन्छ । विभिन्न सञ्चार माध्यमबाट प्रसारित हुने विषय वस्तु समसायिक हुनुपर्दछ भने जसभित्र काल्पनिक, भ्रामक र धर्म सस्कृति रहनसहन रीतिरिवाज तथा राष्ट्रियता माथि कुनै आँच आउने किसिमका विषयवस्तु हुनु हुदैन । सञ्चारले हरेक क्षेत्रमा खबरदारी गर्नुपर्दछ भने बाटो विराएकाहरुलाई सहीबाटो वा गन्तव्यतर्फ उन्मुख गराउन जरुरी हुन्छ ।
    ​​नेपाली सञ्चार वा पत्रकारिताको पृष्टभूमि हेर्ने हो भने मोतीराम भट्टद्वारा भारतको काशीबाट प्रकाशित ‘गोरखा भारत जीवन मासिक’ पत्रिका लिन सकिन्छ । यो १९४३ मा आएको थियो । त्यसपछि ‘सुधासागर’ र १९५८ मा जयपृथ्वी बहादुर सिंह लगाएतका अन्य विशिष्ट व्यक्तिद्वारा सञ्चालित गोरखापत्र नेपालको प्रमुख अखवार मानिन्छ । त्यसपछि अन्य धेरै पत्रपत्रिका र २००४ सालमा तत्कालिन प्रधानमन्त्री पद्म शमशेरले सर्वसाधरणहरुलाई सञ्चारको पहुँचभित्र रहन स्वतन्त्रता दिएपछि परिणाम स्वरुप २००७ सालमा नेपालमा रेडियो नेपालको स्थापना भई देश विदेशका घटनाहरु सर्वसाधरणमा आउन थालेको देखिन्छ । विकासको क्रमसँगै २०४२ सालमा नेपालमा टेलिभिजन सुरु भयो भने क्रमसँगै अन्य धेरै सञ्चारका माध्यमहरु आउन थाले जस्तै विभिन्न एफ.एम रेडियो, इन्टरनेट आदि ।
    ​​आज भोली निकै फस्टाउँदै गएको युटुव च्यानल देखिन्छ । जसले देशका विकट ठाउँ र त्यसका कुना कुनामा पुगेर सत्य र तथ्य खोतल्ने काम गरेको पाइन्छ । कसैको हक अधिकार स्थापित गर्नु कुनै कारणले पारिवरिक आर्थिक, सामाजिक वा मनावैज्ञानिक आदि कारणले पीडित व्यक्तिहरुलाई न्याय दिलाउन त्यस्ता च्यानलहरुको स्थान आज भोलि उच्च छ । तर यस्ता च्यानलहरुकले कसैको व्यक्तिगत जीवनमाथि हस्तक्षेप गर्दै उनीहरुको चरित्र र घटना उदाङ्गो पारेको पाइन्छ । यस्तो क्रियाकलापले कतै समाज नै नाङ्गिदै जाने त हैन ? भन्ने चिन्ता पनि बढ्दो छ । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । २१ औँ शताब्दीका हामी सचेत र शिक्षित नागरिक तर पनि कसैको व्यक्तिगत जीवनलाई सार्वजानिक गरेर आफ्नो भ्यूज बढाउने नाममा कतै गलत त भएको छैन ? यसमा सम्बन्धित निकाय सचेत हुन जरुरी पनि देखिन्छ । जो कुनै घटना समाजबाट नै समाधान गर्न सकिन्छ त्यसलाइ सार्वजानिक गरिदा व्यक्ति र समाजको नै बदनाम हुन सक्ने कुरामा पनि ध्यान जान जरुरी छ ।
    ​​समयको परिवर्तनसँगै व्यक्तिले पाएको वाक् स्वतन्त्रताको दुरुपयोग नहोस् र स्वतन्त्र लेखनकलाले व्यक्ति, समाज र सिंगो मुलुकको मात्र नभएर समग्र विश्वको सत्य तथ्य घटनालाई सम्पूर्ण मानव समाज बिच उदाङ्ग पार्न सकोस् । २१ औँ शताब्दीको मूल्य र मायता तर्फ आमसञ्चार लाग्न सकोस् साथै समाचार संकलन गर्ने नाममा कसैको व्यक्तिगत जीवन, धर्म संस्कृति, जाति तथा राष्ट्रियतामा कुनै आँच नआओस् । राष्ट्रको प्रमुख अङ्गको रुपमा ससम्मान विकास हुदै जाओस् । सत्य तथ्य समाचार संकलन प्रकाशनका क्रममा कुनै दवाव विना नै यस क्षेत्रले अझ उचाईतर्फ उन्मुख हुन सकोस् । पैसा र पदको कारणले कुनै सत्य र तथ्य घटना ओझेलमा नपरोस् र अन्त्यमा विधि र शासनको सम्मान गर्दै यो विज्ञान र प्रविधिको युगमा २१ औँ शताब्दीको मूल्य र मान्यतालाई अवलम्वन गर्दै आम सञ्चारले रचनात्मक भूमिका खेल्नु आजको मुख्य चुनौति र आवश्यकता रहेको स्पष्ट देखिएको छ /

  • न्युयोर्कमा नारायणगोपालको स्मृति दिवस

    न्युयोर्कमा नारायणगोपालको स्मृति दिवस

    बिके नेवा, युयोर्क ।


    स्वर सम्राट नारायणगोपालको ३१औँ स्मृति दिवसमा न्युयोर्कमा सांगीतिक कार्यक्रम आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा हिमालय कल्चर एकेडेमीले न्युयोर्कमा रहेका कलाकारहरुलाई जमघट गराएर सांगीतिक कार्यक्रम गरी स्व. नारायणगोपालप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।

    नेपाली सिनेमा निर्माता निर्देशक तथा लेखक दीपक श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा नारायणगोपालले गाउनुभएका गीतहरु विभिन्न कलाकारहरुले गाउनुभएको थियो । गीत गाउने कलकारहरुमा जगदीश समाल, राजेन्द्र राई, संगीता मुखिया छोचु , अभय ढुंगेल, सुवर्ण शाक्य, हजुरी शाह, विमल डाँगी, निशा सुनार, ओम कर्माचार्य र सानु शेर्पा हुनुहुन्थ्यो ।

    त्यस्तै संगीत दिनेहरुमा जगदीश समाल, शिशिर श्रेष्ठ, राजेन्द्र कर्ण, हेमराज राई, रामसिंह, सुवास दाहाल हुनुहुन्थ्यो ।
    त्यस अवसरमा वरिष्ठ कानुनविद् विनोद रोक्काले मीठो कविता सुनाउनुभएको थियो ।
    कार्यक्रम सञ्चालक दीपक श्रेष्ठले नारायणगोपालका गीतका साथै उहाँको जीवनीबारे दर्शक श्रोतालाई जानकारी गराउनुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा हिमालय कल्चर एकेडेमीका संस्थापक तथा गायक अभय ढुंगेलले कार्यक्रमा सहभागी दर्शक, श्रोता, गायक तथा संगीतकार सबैलाई धन्यवाद ज्ञापन गर्दै नारायणगोपालको सम्झनालाई सधैँ जिवन्त बनाउन सबैको माया साथ पाइरहने विश्वास व्यक्त गर्नुभयो ।