Author: Vishwanews.com

  • प्रवासी नेपालीको बडादशैं

    प्रवासी नेपालीको बडादशैं

    गीता खत्री / न्यूयोर्क

    बडादशैं नेपालीहरुको सबैभन्दा लामो र ठूलो राष्ट्रिय पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन विभिन्न देवीहरुको पूजाआराधना गरेर चलिरहन्छ । प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई नौरथा भन्ने गरिन्छ । हिन्दुहरुको घरमा घटस्थापनाको दिन नदीबाट शुद्ध पानी र बालुवा ल्याइ जौको जमरा राखेर दशैंको शुरुवात गरिन्छ । नौ दिनमा नौवटा देवीहरुको पुजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौ दिन सिद्धिदात्रीको पूजा अर्चना गर्ने चलन छ । नौरथाभरि विभिन्न पीठ तथा तीर्थस्थलहरुमा गई नवदुर्गाको पूजाआराधना गर्नाले दुर्गा भवानी प्रशन्नभई आफ्ना भक्तहरुको अनुकूलभई सुखशान्ति तथा सम्बृद्धि बढ्ने विश्वास हिन्दु धर्माबलम्बीहरुमा छ । दशमीको दिनलाई असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा हर्ने गरिन्छ । बर्ष दिनसम्मको विभिन्न पारस्पारिक रिस राग, झै-झगडा कलह आदिलाई बिर्सेर पारस्पारिक मित्रता, पारिवारिक माया प्रेम सद्भाव, मेलमिलाप गराउने पर्बको रुपमा पनि दशैलाई लिइन्छ ।

    आधुनिक विकासको क्रमसंगै दशैंको परम्परागत शैलीमा पनि विस्तारै परिवर्तन आइरहेको देखिएको छ । हामी केटाकेटी बेलामा नयाँ लुगा र बाँसका खम्बामा पिङ झुडिएपछि गाउँघरमा दशैं आएको आभाष हुन थाल्दथ्यो । कतैकतै रोटे पिङ र चर्खे पिङ पनि देखिन्थे तर सजिलोको हिसाबले लिङ्गे पिङ सबैतिर देखिन्थ्यो । केटाकेटीको काम चौविसै घण्टा पिङमा झुण्डने हुन्थ्यो । साथीहरुबीच कसले बढी मच्चाउन सक्ने भन्ने प्रतिस्पर्धा पनि हुन्थ्यो । पिङको कारणले आमाबाबुलाई केटाकेटीहरुले साह्रै दुःख दिएको गुनासो नभएको पनि होइन तर त्यतीबेलाका केटाकेटीले रमाउने त्यो बाहेक अरु साधान के नै थियो र ? त्यसले समयसमयमा गाली गर्दै सहने क्षमता उहाँहरुसंग थियो ।

    बर्षायाम सकिएपछि जाडो शुरु नहुदैं आउने यो पर्बमा मौसम पनि रमणीय हुन्छ । विहान अलिअलि हुस्सु आउने दिउँसो मज्जाले घाम लाग्ने, न गर्मी न जाडो । सबैलाई मिल्ने अनुकूलीय समय । त्यसैले होला नेपालले यसलाई राष्ट्रिय चाडपर्वको रुपमा लिएको । अमेरिका प्रवेश भएको केही बर्षसम्म उतैको ह्याङओभरले मलाई थिचिरह्यो । दशैंको बेलामा आमाबुवासंग फोनमा कुरा गर्यो फोनैबाट आशीर्वाद लियो, आफ्नो भागमा पर्ने दक्षिणाको अभिलेख राख्यो, अनि काममा हिड्यो सकियो । समयले हामीलाई निकै टाढा पुर्याइ सक्यो अहिले । त्यही जोश, त्यही जाँगप र त्यही शक्ति नभएको महसुस भइरहेको छ ।

    बिहान उठनासाथ झ्यालबाट बाहिर हेरेँ । न्यूयोर्क सहर हुस्सुले डम्मै ढाकिएको रहेछ । एक्कैछिन म मेरो पच्चिस बर्ष अघिको जीवनको सम्झनामा पुगेँ । नेपालमा दशैतिहारको बेला बिहानै यस्तै हुस्सु आउथ्यो । नेपाली पात्रो हाम्रो पात्रो हेर्न पुगेँ, हो त दशैं त आइ सकेको रहेछ । हुस्सु त्यसै आएको होइन रहेछ, दशैतिहारको निम्ता दिन आएको रहेछ । त्यसपछि अनलाइनका झर्रा खबरहरु पढ्न थाले, फेसबुके पानाहरु पल्टाउन थालें । नेपालमा गरेको पण्डित्याइ तथा ज्योतिष शास्त्रको गहिरो अनुभव बोकेर यता अमेरिकातिर पनि सोही प्रभाव गाड्न कम्मर कसेर हिँडेका पण्डितहरु तथा पूजा गर्दागर्दै बनेका पण्डितहरुबीच दशैंको टिका सोमबार हो की मंगलबार हो भनेर फेसबुके बादबिबाद प्रतियोगिता पनि देखेँ । कस्को जीत कस्को हार म त्यता लागिन । नेपाली पात्रोमा मंगलबार दशैंको टिका भनेर लेखेको देखें । नेपालका मान्यजनहरु तथा साथीभाइहरुसंग दशैंको टिका कुन दिन हो भनेर सोधनी गरें । सबैले मंगलबार भनेर उत्तर दिनु भयो । त्यसपछि मलाई बादबिवादको कुनै अर्थ लागेन । प्रवासमा विदा लिन कठीनै हुन्छ तर पनि यस्तै पर्बहरुका लागि भनेर जोगाइ राखेको बिदा टिकाको दिनको लागि लिने निर्णय पनि गरें ।

    केटाकेटी बेलामा टिकाको दिनदेखि रमाइलो र महत्वपूर्ण लाग्ने पक्ष थियो दक्षिणा । कसले कति दक्षिणा जम्मा गर्न सक्ने हो चुनौतिको बिषय थियो । धेरै दक्षिणा दिने मान्यजनहरुका घरमा जान हतार लाग्थ्यो, थोरै दिनेमा पछि गए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । आजका केटाकेटीहरुलाई न त्यो दक्षिणाको महत्व छ, न अरुको आशीर्वादको खाँचो छ । अरुको आषिसमा कम विश्वास लिने परम्पराको थालनी भएजस्तो मैले ठानेकी छु । काठमाण्डौको मान्छे भएकोले आफ्नै वरिपरि देखेको र सुनेको कुराहरु अरुसंग बाँड्दा राम्रै होला भनी शहरका स्थानीय नेवार जातिले दशैलाई कसरी हर्ने गर्छन भन्ने बारेमा एउटा सानो सुनेको कथा यहाँ उल्लेख गर्नु उचित लाग्यो ।

    काठमाण्डौको तलेजु मन्दिर नदेख्ने मान्छे शायद कमै होलान । महाअष्टमीको दिनमात्र यो मन्दिर सबैका लागि दिनभरी खुल्ला रहन्छ । अष्टमी र नवमीको बीचको रात्रिलाई कालरात्रि भनिन्छ र रातभरि यहाँ गुप्त पूजा गरिन्छ । नेवारहरुले नवमीको दिनलाइ मोहनी पनि भन्दछन् । एकपटक दैत्यराजका दाजुभाइ शुम्भ–निशुम्भ महामाया भगवतीलाई देखेर मोहित भएछन् । उनिहरुले भगवतीसंग विवाहको प्रस्ताव राखेछन् । भगवती उनिहरुको अत्याचारबाट रुष्ट थिइन र उनिहरुको बधको प्रतिक्षामा थिइन । यो राम्रो मौका देखेर भगवतीले भनिन विवाह गर्न म तयार छु, तर मेरो पनि एउटा शर्त छ ।

    तिमीहरुलाई मन्जुर छ भने म तिमीहरुको प्रस्ताव स्वीकार गर्न सक्छु । शुम्भ–निशुम्भ दुबैले एकैचोटी भनेछन्– हामीलाई तिम्रो सबै शर्त मन्जुर छ । भगवतिले आफ्नो शर्त अगाडि सारिन र भनिन्– जसले

    मलाई युद्धमा जित्न सक्छ, उसैसंग म बिबाह गर्नेछु । युद्धमा दैत्यराज शुम्भ–निशुम्भ लगायत सारा दैत्यहरु मारिए । दैत्यहरुको संहार देखेर बांचेका दैत्यहरु हांस, बोका, राँगा, कुखुरा आदि पशुपक्षीमा प्रवेश गरेर अदृश्य भएछन् । भगवतीले त्यो कुरा थाहा पाएर नवमीको दिनमा ती सबै पशुपन्छिलाई खोजीखोजी बध गरिछिन् । त्यसैको सम्झनामा नवमीको दिन खसी, बोका, हाँस, कुखुरा, राँगाको बलि दिने चलन चलेको हो अरे । भगवतीले मोहनी रुप धारण गरेर दैत्यहरुको संहार गरेकी हुनाले नवमीको दिनलाइ मोहनी पनि भनेको हो ।

    बिक्रम सम्बत २०७६ को बडादशैं हाम्रो सामु बडो ठाँटबाठका साथ आइसकेको छ । मन्दिरहरुमा जमरा राखेर पुजारी बाजेहरु दुर्गाकबच पढ्न थालिसकेका छन् । प्रवासमा बस्नेहरु पनि पूजा लगाउने, स्पोन्सर गर्नेहरुको घुइचाो भइसकेको छ । भ्याउने जान्छन् नभ्याउने जांदैनन् । कसैले घरमै जमरा राखेर नवदुर्गा भवानीको पूजा गरिरहेका छन् । हामी यिनै मध्येका एक भएकाले चटारोमै छौं । हाम्रो परम्परा र मान्यता अनुसार दशैंको टिकामा आफ्नो घरमा टिका लगाउन आउनु होस भनेर कसैलाई पनि निमन्त्रणा दिनु पर्दैन् । मौका मिलाउदै आफै जाने हो । प्रवासको बसाइ समयसंग चल्नु पर्ने भएकोले कति बेला आउने वा कुन बेला आउदा अनुकूल हुन्छ त्यो बुझेर जाने हो । एकातिर मान्यजनहरुको घरमा आपैm जाने, टिका र जमरा लगाइ आशीर्वाद लिने हो भने अर्कोतिर आफुले माया गर्नु पर्नेहरुलाई आफ्नो घरमा बोलाउने, टिका र जमरा लगाइ आशीर्वाद दिने हो । छोरी मान्छे र ज्वाईचेलाहरुलाई दक्षिणासमेत दिइ आफुले सकेको मीठो खाना खुवाएर पठाउनु पर्छ । बिमुख पठाउनु अपशकुन ठानिन्छ ।

    बडादशैंको बारेमा जे जस्तो परिर्वतन तथा संस्कारको आगमन भएपनि नेपालीहरुले यसलाई सहर्ष स्वीकार गरिरहेकै छन्। जे जति गर्न सक्छन् गरेकै पनि छन् ।कनुै अन्धविश्वासी परम्परा तथा संस्कार जस्तो लाग्छ भने सबैलाई मान्यखालको त्यस्तै अर्को परम्पराको थालनी गर्न नसकिने पनि होइन । तर पुरानो परम्परा हटाउने अभियानमा सबै बिकृतिहरु भित्र्याउने कुकृत्य तथा दुस्साहसी काम हुन नजाओस् । नयाँ परम्पराको थालनी गर्नु अगाडि त्यसको राम्रा नराम्रा पक्षको विस्तृत विवेचना गरेर सदियौसम्म चल्न सक्ने परम्परालाई मात्र अगाडि बढाउँदा राम्रो हुनेछ ।

    अहिलेका केटाकेटीहरु भौतिक विकासले गर्दा र विभिन्न उपकरणहरुको सुविधाले गर्दा धार्मिक साँस्कृतिक तथा सामाजिक कार्य तथा परम्परागत पहिरनप्रति नकारात्मक सोच राख्दै आएको देखिन्छ । यस्तो परिस्थितिमा यसै महान पर्वका बेलामा उनिहरुलाई आप्mनो देशप्रतिको माया तथा ईमान्दारिता, धर्म तथा संस्कार, आफ्नै स्थानीय वेशभूषा लगाउन लगाएर सिकाउने अवसर पनि हो । उनिहरुसंगै बसेर खाना खाने, हाटबजार मेलामा संगै जाने, सकारात्मक कुराहरुको ज्ञान दिने बेला पनि हो । यसो गर्दा आमाबाबु तथा केटाकेटीहरुबीच स्कूल र पढाइले सिर्जना गरेको दूरीलाई कम बनाउन मद्दत पनि हुन्छ ।

    मैले भरखरै सुनेको नेपाल आर्मीले दशैंभरि सितैमा बस सुविधा दिने भएको छ अरे । त्यो पनि एउटा सामाजिक सेवा नै भयो । कतिपय बृद्धाआश्रमहरुमा आश्रय लिइ बसेका बुढाबुढीहरुका निमित्त पनि दशैंको कार्यक्रमहरुको आयोजना र दशैंमा खसीको मासुभात तथा अन्य मिठाइहरु खुवाउने व्यवस्था धन हुने र मन हुनेहरुले मिलाई रहेका छन् अरे । त्यस्तै अनाथालयहरुमा पनि केटाकेटीहरुलाई नयाँ लुगा दिने र मासुभात खुवाउने कामहरु भइरहेका छन् भन्ने सुन्दा एकदम खुसी लागिरहेको छ । अनाथ बालबालिकाहरुको लागि त्यो भन्दा माथि उठेर उनिहरुलाई पढाउने व्यवस्था मिलाई दिए अझ कति राम्रो हुन्थ्यो होला । सबैले सकारात्मक सोच बनाएको अवस्थामा यस्तो नहोला भन्न सकिन्न ।

    गतबर्ष निकै लामो समयपछि आमाबुवाको हातको टिका थाप्न नेपाल पुगेंको थिएँ । त्यसभन्दा अगाडि भाग्यले साथ दिएर आमाबुवानै यही आउनु भएकोले न्यूयोर्कलाई नेपाल बनायौं । मामामाइजु, काकाकाकी, दाजुभाइ, दिदीबहिनी सबै यता बनायौं । माया र आशिर्वाद साटासाट गर्यौं । निकै उत्साह र उमंगका साथ बितायौं । प्रवासको बसाई कामलाई प्राथमिकता दिनु पर्छ । लामो विदा मिलाउन निकै गाह्रो हुन्छ । काममा चोरी गर्न मिल्दैन । कामको दिनमा न त फेसबुक चलाउनै मिल्छ, न कुनै कार्यक्रम टोपी टेबुलमा राखेर जान पाइन्छ । न त काम भ्याइन भन्न मिल्छ । कमजोरी फेला पारेको भोलिपल्टदेखि कामबाट हात धुनु पर्छ । यसपालीको टिका मंगलबार परेकोले रातीराती मात्र टिका लगाउन बाध्य भएका छौं । अर्को सालको टिका करिब करिब सप्ताहन्तमा परे कति मज्जा हुने थियो ।

    यसपालीको बिजया दशमीले सबैको सम्बृद्धि, सबैको समुन्नति तथा उत्तरोतर प्रगति बोकेर आओस् नवदुर्गा भवानीले सबैको कल्याण गरुन् ।

  • हिन्दू समाजमा प्रचलित १६ संस्कार

    हिन्दू समाजमा प्रचलित १६ संस्कार

    भीमनारायण श्रेष्ठ  / शोणितपुर, काठमाडौं

    वैदिककालदेखि नै हिन्दू समाज आफ्नै प्रकारको परम्परा, संस्कृति र संस्कारमा हुर्किदै आएको पाइन्छ । कुनै पनि सभ्य वा असभ्य देशका समाजले पनि कुनै न कुनै प्रकारको संस्कार ग्रहण गरेकै हुन्छ । हिन्दू सामाजिक व्यवस्थामा धर्म र संस्कृतिको वास्तविक स्वरूप र त्यसका उद्देश्यहरुको समुचित रूप नै हिन्दू धार्मिक ग्रन्थहरुलाई लिइन्छ । हिन्दू धर्म ग्रन्थ अनुसार वर्ण, जाति, आश्रममा निष्ठा, देव मूर्तिमा आस्था, पूनर्जन्ममा दृढ विश्वास राखी गाईलाई माता लक्ष्मीको रूपमा पूजाआजा गर्ने व्यक्ति नै हिन्दू भनी उल्लेख गरेको पाइन्छ । हिंसा गर्दा चित्त दुख्ने भएकाले नै हिन्दू भनेका हुन भन्ने भनाई पनि पाइन्छ । त्यसैले हिन्दु सामाजिक व्यवस्था अनुसार समाजमा संस्कारले प्रमुख स्थान ओगटेको छ । वास्तवमा मानव जीवन नै एकप्रकारको संस्कार हो । मानव जीवनका सारा शरीरलाई नै संस्कारले आधिपत्य जमाई राखेको पाइन्छ । गर्भाधान देखि मृत्यु पछिसम्म पनि शरीर पवित्र पार्ने साधनका रूपमा संस्कार मानिदै आएका छन् । प्रत्येक संस्कारको अलग अलग संकेत तथा अस्तित्व भएका कारण एकबाट अर्को संस्कार भिन्न देखिए तापनि उत्तिकै महत्वपूर्ण छन् । हिन्दू समाजमा सवै संस्कारहरु जीवन शुद्ध पार्नेदेखि लिएर परलोकमा सुधार, उद्धार तथा परमात्मा प्राप्तिको लागि गरिन्छ ।

    ऋग्वेदकालमा कुनै पनि संस्कारको उल्लेख भएको नपाइए तापनि ब्राह्मणकालमा उपनयन र अन्त्यष्टि जस्ता कुनैकुनै संस्कारहरु उल्लेख भएको पाइन्छ । अझ गौतम गृहसूत्रमा ४० वटा संस्कारहरुको उल्लेख छ । बैखानस धर्मसूत्र अनुसार यी ४० संस्कार मध्ये १८ वटा शरीर सम्वन्धी र २२ वटा यज्ञ सम्बन्धी छन् । यी सबै संस्कारहरुको सम्पादन प्रथा सबैका लागि नभै जाति तथा परिवारमा निर्भर रहने गर्दछ । हिन्दू समाजमा गर्भाधान देखि अन्त्यष्टि संस्कारसम्म विभिन्न १६ प्रकारका संस्कारहरु प्रचलनमा आएको पाइन्छ । यी १६ प्रकारका संस्कारलाई मान्यता दिंदै विधिविधानपूर्वक सम्पन्न गर्दै आएका छन् । यी प्रत्येक संस्कार सम्पन्न गर्नाले व्यक्तिगत सुख तथा समाजमा उसको प्रतिष्ठा कायम राख्न मद्दत मिलेको देखिन्छ । त्यसैले प्रत्येक संस्कारमा विधिपूर्वक देवीदेवताको पूजा गर्नाले बच्चा जन्मेको सार लाग्दछ र उसले पितृऋण तिर्न सफल हुनेछ भन्ने धर्मशास्त्रको भनाई छ । समाजमा खास गरी आजसम्म पनि नामाकरण, जातकर्म, चूडाकर्म, बिवाह तथा अन्त्येष्टि संस्कार प्रमुख रुपमा प्रचलित नै छन् । विभिन्न संस्कारहरु मध्ये हिन्दू समाजले अपनाइएका गर्भाधानदेखि अन्त्येष्टिसम्मका १६ प्रकारका संस्कारहरुको विधिविधान र माथि उल्लेखित संस्कारहरूको उद्देश्यको बारेमा प्रस्तुत गरिन्छ ।

    हिन्दू समाजले अपनाइएका १६ प्रकारका संस्कारहरु मध्ये (क) जन्मनु भन्दा अघि गरिने संस्कार र (ख) जन्मेपछि गरिने संस्कार यसरी छुट्याइएका छन् ।

    (क) जन्मनु भन्दा अघि गरिने संस्कारः– (१) गर्भाधान संस्कार, (२) पुंसवन संस्कार, (३) सिमन्तोनयन संस्कार

    (ख) जन्मेपछि गरिने संस्कार – (४) जातकर्म (५) नामकर्म (६) निष्क्रमण (७) अन्नप्रासन (८) चुडाकर्म (९) कर्णभेद (१०) विद्यारम्भ (११) उपनयन (१२) केशान्त÷गोदान (१३) समावर्तन (१४) विवाह (१५) वानप्रस्थ र (१६) अन्त्येष्टि संस्कार ।

    (१) गर्भाधान संस्कार – हिन्दू धर्मशास्त्र अनुसार कुनैपनि व्यक्ति यस धरतिमा पदार्पण भएपछि ऊ देवऋण, ऋषिऋण र पितृऋण आदिबाट मुक्त हुनुपर्छ । त्यसैले पितृऋणबाट मुक्ति पाउन विवाहित दम्पत्तिले गर्भाशयमा वीर्य स्थापना गर्न आवश्यक छ । यो संस्कार सम्पन्न गर्नका लागि विशेष गरी स्त्री शारीरिक तथा ऋतुकालबाट समेत समर्थ भएको अवस्था हुनुपर्छ भन्ने धर्मशास्त्रको भनाइ रहेको छ । अझ धार्मिक विधिविधान अनुसार सहवास गरेमा इच्छा अनुसारको सन्तान पाइन्छ भन्ने धारणा समेत पाइन्छ । धर्मसूत्रमा यसको केही उल्लेख नभए तापनि यसको ठाउँमा चतुर्थी कर्मको मात्र वर्णन गरेको पाइन्छ । यसलाई बैखानसले “ऋतुसंगम” पनि भनेका छन् । जुनकर्मद्वारा विवाहित दम्पत्तिले (पुरूषले स्त्रीमा) वीर्य स्थापित गर्छ त्यसलाई गर्भाधान संस्कार भनिन्छ ।

    (२) पुंसवन संस्कार – पितृसत्तात्मक हिन्दू समाजमा छोराबाट नै बंश स्थिर हुने र मानव जातिको अस्तित्व समेत कायम हुने भएकाले परिवारमा छोराको ज्यादै महत्वपूर्ण स्थान रहेकोछ । यो संस्कार गर्नुको मुख्य उद्देश्य नै छोरा पाउनु र गर्भस्थ शिशुको शारीरिक एवं मानसिक अवस्था वृद्धिका लागि कामना गर्नु हो । मनु तथा याज्ञवलक्यको भनाई अनुसार गर्भाशयमा गर्भ गतिशील हुनुभन्दा अगाडि अथवा गर्भ रहेको स्पष्ट हुनासाथ (गर्भाधान संस्कारको २-३ महिना पछि) यो संस्कार गर्नुपर्छ । मन्त्रको साथ गर्भिणी नारीलाई केही जडबूटी दिई यो संस्कार गर्छन् । पुरूष नामधारी नक्षत्रहरुको अवसरमा नै गर्नुपर्ने भएकाले यसलाई पुंसवन संस्कार भनिन्छ ।

    (३) सिमन्तोनयन संस्कार – हिन्दू समाज धार्मिक आस्थामा रहेकाले भूत, प्रेतात्मा प्रति पनि विश्वास गर्दछन् । त्यसैले गर्भिणी नारी र भावी सन्तानलाई भूत, प्रेत तथा बोक्सी आदिबाट रक्षा गर्न र आमाको मानसिक तथा शारीरिक अवस्थाको प्रभाव गर्भमा रहेका शिशुमा समेत पर्ने भएकोले आमाको मानसिक एवम् स्वास्थ्य स्थिति राम्रो पार्नुको साथै दुवैको स्थिति राम्रो राख्न यो संस्कार गरिन्छ । यो संस्कार गर्भाधानको ४–८ महिनासम्म निर्धारण गरेको पाइन्छ ।

    (४) जातकर्म संस्कार – यस धरतीमा नवजात शिशुको जन्म भएपछि धार्मिक रीतिरिवाज अनुसार नाभी काट्नुपूर्व गरिने प्रथम संस्कारलाई जातकर्म संस्कार भनिन्छ । यो संस्कार बडो महत्वपूर्ण छ । यस समयमा बाबुलाई आफ्ना सन्तानको मुख देखाइन्छ । किनभने नवजात शिशु (छोरा वा छोरी) को मुख देख्दैमा पिताले विभिन्न प्रकारको भाव व्यक्त गर्ने गरिन्छ । छोरा जन्मेमा पितृऋणबाट समेत मुक्त हुने हुँदा समाजमा छोराको महत्व बढेको पाइन्छ । यस संस्कारमा सबभन्दा पहिले वास्तविक जातकर्मबाट शुरु हुन्छ । पिताले आफ्नो चौथो औंला वा सुनको चम्चाले मह र घ्यू चाट्न लगाउँछ । मह र घ्यूले नवजात शिशुको पाचनक्रिया र मानसिक विकासको साथै स्मृति तेजोमान पार्छ । गृहसूत्र अनुसार यस संस्कारमा पिताले शिशुको कानमा “तिमी वेद होऊ” भन्ने वाक्य उच्चारण गरी शिशुलाई एउटा गुप्त नाम राखी दिन्छ । जुन नाम आमाबाबुलाई मात्र ज्ञात हुन्छ । यो संस्कारमा बाबुले शिशुको नाभी वा कानतिर केही मन्त्र गुनगुनाई  “म यस आयुबाट तिमीलाई दीर्घायु गर्दछु” भनी दीर्घायुको कामना गरिन्छ । यसमा पाँचजना पण्डितहरूद्वारा यो मन्त्र उच्चारण गर्न लगाउने चलन पनि छ । त्यसपछि पिताले शिशुको दृढता, वीरता तथा शुद्ध जीवनको प्रार्थना गरी शिशु जन्मेको भूमि प्रति बाबुले “हे पृथ्वी १ तिम्रो हृदयलाई म चिन्दछु, जुन आकाशमा चन्द्रमा रहन्छ त्यसलाई पनि म जान्दछु, ती सबैले पनि मलाई चिनुन् १” भनी कृतज्ञता ज्ञापन गर्ने चलन पनि छ । त्यसपछि शिशुको स्वास्थ्य र प्रगतिको कामना गर्न प्रार्थना गर्छ “तिमी पत्थर बन, तिमी वास्तवमा पुत्र नामको आत्मा हौ, तिमी सयौं शरद् ऋतुसम्म बाँची राख, तिमी वसु समान दृढ, परशु समान तीक्ष्ण र सूर्य समान कान्तिमय होऊ ।” यस पश्चात नवजात शिशुको नाइटो काटी शिशुलाई स्नान र स्तनपान गराइन्छ । यस समयमा ब्राह्मण र गरीब गुरुवाहरूलाई दक्षिणा दिने प्रचलन पनि रहेको पाइन्छ ।

    (५) नामकर्म संस्कार – मानिसले भाषा जानेदेखि नै उसले दैनिक जीवनमा प्रयोग हुने वस्तुहरुको नाम राख्ने गर्यो । त्यसपछि हिन्दूहरुले व्यक्तिगत नाममा पनि महत्व रहने महशुस गरी यसलाई धार्मिक संस्कारमा परिणत गरी यसलाई नामकर्म संस्कारको रुपमा मानिआएको पाइन्छ । बृहस्पतिको भनाई अनुसार बच्चा जन्मेको १०, १२, १३, १६, वा ३२ औं दिनमा नामाकरण गरिनु पर्छ भने तापनि बच्चा जन्मेको ११ औं दिनमा नामाकरण संस्कार गरिन्छ । खासगरी गुप्त र बोलाइने गरी दुई प्रकारको नाम राखिन्छ । अनिष्ट नहोस् भनी गुप्त नाम सबै समक्ष भनिदैन । नाम रचना सम्बन्धमा विभिन्न बिचारहरु पाइन्छ । खासगरी बालिका भए मनुको अनुसार “उच्चारण सरल, मङ्गलसूचक, दीर्घवर्णान्त र आदर्शवादी हुनुपर्छ” ।

    ​यो संस्कार गर्दा ग्रहण, संक्रान्ति वा श्राद्ध पर्न हुँदैन भन्ने भनाई पनि पाइन्छ । बच्चालाई शुद्ध कपडाले बेरेर बाबुको काखमा राखी प्रजापति, नक्षत्र तथा अन्य देवताको पूजाआजा गरी नक्षत्र, महिना तथा कूलदेवताको नाममा मिल्ने गरी सरल र सुन्दा राम्रो लाग्ने नाम राख्ने चलन छ । कुनैकुनै आमाबाबुले आफ्ना धेरै सन्तानको मृत्यु हुन गएकाले भूत प्रेतले आक्रमण नगरोस् भनेर भत्सर्नापूर्वक नामाकरण गर्ने पनि गर्दछन् । बच्चा जन्मेपछि उसको नाम राख्न पर्ने भएकाले यसलाई नामकरण अर्थात नामकर्म संस्कार भनिन्छ ।  

    (६) निष्क्रमण संस्कार – घर बाहिरको जीवनमा बच्चाको लागि प्राकृतिक एवं अप्राकृतिक भयबाट सुरक्षित रहन गाह्रो पर्ने हुनाले रक्षाका लागि ईश्वरको पूजाआजा गर्छन् । यस संस्कारमा शिशुलाई बाहिरी वातारणमा परिचित गराउन सर्वप्रथम घरबाट बाहिर ल्याएर पिताले मन्त्रको साथ सूर्य दर्शन गराउने विधलाई निष्क्रमण संस्कार भनिन्छ । यो संस्कार बच्चा जन्मेको ३ वा ४ महिनामा गर्ने गरिन्छ ।

    (७) अन्नप्रासन संस्कार – जन्मेको ६ महिनासम्म बच्चा आमाकै दूधमा निर्भर हुन्छ । त्यसपछि बच्चाको  शारीरिक अवस्था विकसित हुँदै जाँदा आमाको दूधको मात्रा पनि कम हुँदै जाने भएकाले शारीरिक आवश्यकता परिपूर्तिको लागि पनि खाद्य पदार्थको आवश्यकता पर्छ । त्यसैले आमाको दूधबाट मुक्त गर्ने हेतु पौष्टिक तत्व सहितको अन्न तयार गरी बच्चालाई खुवाउने संस्कारलाई अन्नप्रासन संस्कार भनिन्छ । यो संस्कार बच्चा जन्मेको ६ महिनामा गरिन्छ ।

    (८) चुडाकरण संस्कार – धर्मसूत्र अनुसार मानिसहरुको दीर्घायु, सौन्दर्य तथा कल्याण प्राप्तिका लागि बालकको पहिलोपल्ट कपाल काटि दिने संस्कारलाई चुडाकरण संस्कार भनिन्छ । यो संस्कारमा केश काटी देवतालाई अर्पण गरिन्छ । गोत्र तथा परिवारको प्रथा अनुसार कपाल बनाउनु (सजाउनु) पर्छ भन्ने धेरैजसो सूत्रहरुको धारण रहेको पाइन्छ । यो संस्कार बच्चा जन्मेको पहिलो वर्षको अन्ततिर वा तेश्रो वर्षको आरम्भमा गरिन्छ ।

    (९) कर्णभेद संस्कार – रोगबाट रक्षा र आभूषण अलङ्कार पहिरनका लागि कान छेड्ने प्रथालाई कर्णभेद  संस्कार भनिन्छ । यो संस्कार ३–५ वर्षको उमेरमा गरिन्छ । हिजोआज चूडाकर्म, कर्णभेद र उपनयन संस्कार संगसंगै पनि गरिन्छ ।

    (१०) विद्यारम्भ संस्कार – जब बालकको मन मस्तिष्क शिक्षा ग्रहण गर्न योग्य हुन्छ  त्यसबेला उसलाई विद्या आरम्भ गर्न वेदका पवित्र श्लोकहरु पढाएर गरिने संस्कारलाई विद्यारम्भ संस्कार भनिन्छ । यो संस्कार पांचौं वर्षमा गरिन्छ ।

    (११) उपनयन संस्कार – उपनयन शब्दको अर्थ भिन्नाभिन्नै भए तापनि यो संस्कारको मुख्य उद्देश्य बालकलाई दृढ विश्वासी वा स्थिर बनाउने र विद्यार्थी जीवनमा गुरूको सेवा गर्न भिक्षा माग्ने,  शिक्षाको लागि काशी जाने अभिनय गर्नु आदि हुन । खासगरी यो संस्कार शिक्षा ग्रहण गराउनका लाग गुरूको हातमा सुम्पिदिनु हो । यो संस्कारमा यज्ञोपवित धारण र विद्याध्ययनको आरम्भ हुन्छ । यो एउटा सुद्धि परिचय वा देवऋण, ऋषिऋण र पितृऋणको स्मरण पनि हो । यो संस्कारमा बालकलाई मुण्डन गरी स्नान गराई मण्डपमा राखेर ब्राह्मणहरुद्वारा मन्त्र उच्चारण गरी मेखला बाँधी दिने चलन छ । यसमा वर्ण अनुसार मेखला  प्रयोग गर्ने गरिन्छ । अहिले यसमा केही सुधार हुँदै गइरहेको पाइन्छ । गृहसूत्र अनुसार यो संस्कार ब्राह्मणको ८ वर्षमा, क्षेत्रीको ११ वर्षमा र वैश्यको १२ वर्षमा गरिनु पर्छ । खासगरी यो संस्कार बालक आफैंले आफूलाई सम्हाल्न सक्ने अवस्थामा गर्ने गर्दछन् । यसमा बालकले आफ्नो लक्ष्य प्राप्तिको लागि ढुङ्गा समान दृढ हुन त्रिरात्र ब्रत पालन गर्नुपर्छ ।

    (१२) केशान्त वा गोदान संस्कार – जव बालक यौवन पदार्पणको सूचकको रुपमा उसको मुखमा दाह्री जुँगा देखा पर्न थाल्छ । त्यसबेला उनी ब्रह्मचारी मानिंदैन । यो संस्कारमा ब्रह्मचारीको दाह्री जुँगा, नङ र केश काटेर गङ्गामा बगाइन्छ । त्यसैले यो संस्कार यौवन पदार्पणको संकेतको रुपमा लिन सकिन्छ । यसमा ब्रह्मचारीले सकिन्छ भने एउटा गाई पनि दान दिनु पर्ने भनेका छन् । त्यसैले यो संस्कारलाई गोदान संस्कार पनि भनिन्छ । यो संस्कार खासगरी १६ वर्षका उमेरमा गरिन्छ ।

    (१३) समावर्तन संस्कार – गुरूआश्रममा रही ब्रह्मचर्य जीवनबाट शिक्षा हासिल गरी पारीवारिक जीवनमा  रहन गृह प्रवेश गर्दा यो संस्कार गर्ने गरिन्छ । यो संस्कारमा विद्यार्थी पूर्णरुपले वैदिक अध्ययनमा दीक्षित भइसक्ने हुनाले उसलाई अभिषेक गरिन्छ । यो संस्कार आधुनिक दीक्षान्त समारोहसँग मिल्दोजुल्दो छ । यसमा विद्यार्थीले गुरूको आश्रम छोड्नु भन्दा अघि विद्यार्थी जीवनको समाप्तिको आज्ञा र गुरूलाई दक्षिणा (पढाई शुल्क) दिई पढाइको अन्त गर्ने गरिन्छ ।

    (१४) विवाह संस्कार – विभिन्न संस्कारहरु मध्ये पवित्र, धार्मिक एवम् मङ्गलमय हुनाले हिन्दू संस्कृतिमा विवाह संस्कार सामाजिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । विवाह हिन्दूका लागि एक आदर्श विचार मानिएको छ । सबैजसो गृहसूत्रहरुको आरम्भ विवाह संस्कारबाट नै हुन्छ । किनभने यो सवै गृहयज्ञ र संस्कारहरूको केन्द्र हो । यसैले सन्तानोत्पत्तिद्वारा बंशजको रक्षा तथा पितृऋणबाट मुक्त हुन यो संस्कार गरिन्छ । मनुस्मृति र धर्मसूत्रले ब्राह्म, दैव, प्राजापत्य, आर्ष, असुर, गान्धर्व, राक्षस र पैशाच विवाह गरी आठ प्रकारको हुन सक्ने बताइएको छ । यसमा पनि हिन्दू समाजले ब्राह्म, दैव, प्राजापत्य र आर्ष विवाहलाई मान्यता दिएको पाइन्छ । यो संस्कारमा केटीको अभिभावकले “तिमीले धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको लागि काम गर” भन्छ । अनि केटाले केटीको दाहिने हात समातेर “म तिम्रो पाणि ग्रहण गर्छु र मसँग तिमी दीर्घायु होउ, सबिता, विष्णुले तिमीलाई मसँग सुम्पिएका छन् ।” भन्छ । केटाले केटीको दाहिने खुटृा ढुङ्गामा राख्न लगाएर “यस पत्थरमा तिमी बिराजमान होउ, शत्रपन आचरण गर्नेलाई तिमी खुटृाले किची देउ । यो ढुङ्गा शत्रुको दमनको प्रतीक हो ।” भन्छ । त्यसपछि केटाले अग्नीको प्रार्थना गरेर “हे अग्नी १ तैंले पत्नी सहित सन्तति प्रदान गर ।” भन्छ । यसरी विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ ।

    (१५) वानप्रस्थ संस्कार – गृहस्थ धर्म पालना पश्चात मानव निबृत्त मार्ग प्रवेशको लागि यो संस्कार गरिन्छ । धर्म र मोक्ष प्राप्त गर्नका लागि घर छोडी वनमा गई बस्ने संस्कारलाई वानप्रस्थ संस्कार भनिएको छ । यो संस्कारबाट मानिसलाई मोक्ष प्रदान गर्न चिन्तन र मनन गर्ने क्षमतालाई बृद्धि गर्छ ।

    (१६) अन्त्येष्टि संस्कार – हिन्दूहरु यो जन्मलाई भन्दा पुनर्जन्मलाई बढी महत्व दिने गर्दछन् । त्यसैले मृतात्मालाई शान्ति र पुण्य प्रदान गर्न जीवितकालमा झैं मृत्यु पछि पनि उसलाई विभिन्न सरसामानहरुको आवश्यक पर्छ भन्ने विचार गरी दान, धर्म गर्ने चलन छ । यसैले सपिण्डीकरण, एकोद्दिष्ट, आम्यदिक, मासिक र वार्षिक श्राद्ध सिलसिलावद्ध गरिन्छ । ऋग्वेद तथा परवर्ती वैदिक साहित्यमा पनि उल्लेख भएको यो अन्त्येष्टि संस्कारको सूत्रकालमा वडो विस्तृत तथा सिलसिलेवार ढङ्गले वर्णन गरिएको पाइन्छ । यस दुःखपूर्ण सांसारिक जीवनबाट मुक्त भइ पूनर्जन्मको लागि अलग्गिने भएकाले मृत्यु पछि गरिने यो अन्त्येष्टि मानव जीवनको अन्तिम संस्कार हो ।

    उल्लेखित सबै संस्कारहरु पूरा गरेपछि हिन्दू ग्रन्थ अनुसार मानव जीवनले मोक्ष पाउँछ । यसैले यी सबै संस्कारहरु उत्तिकै महत्वपूर्ण छन् । हिन्दू सामाजिक व्यवस्था अनुसार यी संस्कारहरु गर्नाले समाजमा व्यक्तिको प्रतिष्ठा एव्म मान मर्यादा समेत उच्च रहने भएकाले मानव जीवनमा यी संस्कारहरुलाई व्यवस्थित हिन्दू सामाजिक विधानको रुपमा मानिएका छन् ।

  • लघुकथा : उपहार

    लघुकथा : उपहार

    आचार्य प्रभा

    ईशा आमालाई फुर्क्याई रहेकी थिई | “आवर मम् ईज सो लभ्ली एण्ड ग्रेट… थ्यान्क्यु मम्, फर योर ग्रेट गिफ्ट !” हातमा आईफोन खेलाउंदै ईशा खुशीले हर्षबिभोर बनिरहेकी देखेर सँगै पढ्ने साथी निलिमा आफ्नी आमालाई मनमनै धिक्कारी रहेकी थिई |

    “हाम्री आमालाई त बिजनेस गर्न भन्दा कवयित्री बन्दै ठिक्क छ | आयस्ताको काम केहि छैन । दिन भर कथा र कविता लेख्नमै ब्यस्त | पागलले गर्ने काम | कहिले काँही यसो केही ल्याई दिन भन्यो भने सय रुपैयाँ भन्दा बढीको केही चिज ल्याईदिने होईन !”

    निलिमा मनमनै किट्किट बनिरहेकी थिई । र “अब घरमा गएर ,म आज चाँहि आमालाई नभकुरी छाड्दिन।” भनेर सोंचिरहेकी थिई |

    अचानक ईशाको घरको ढोकामा दुई महिला प्रहरी आएर ईशाकी आमालाई खोजी गर्न थाले । ईशाले ती महिला प्रहरीहरु देख्नासाथ आमालाई बोलाई ।

    ती महिला प्रहरीहरुले आफ्नी आमासंग सोधपुछ गर्न थाले। तब ती सोधपुछका शब्दहरुले ईशा मौन बनी र व्यंग्यात्मक दृष्टि फ्याँक्दै अघि दिएको कोशेली (बर्थडे गिफ्ट) आमाको हातमा थमाउँदै भनी;

    “मम्, मैले आज जसरी म जन्मनुको सार र तँपाईले मलाई जन्मदिनुको खुशी मनाउंदै थिएँ तर यो रहस्यमय तँपाईको ब्यापार ब्यवसायको घटना र कर्तुत सुन्दा आज मेरो जन्मदिन मनाउनुको खुशी होईन बरु जन्मनुको दुख उर्लेर आयो । ल लिनुहोस् तँपाईले दिनुभएको उपहार आफै राख्नु होस् ! मलाई चाहिन्न यो लुटेको धनको उपहार !”

    उक्त घटना देखेर निलिमा अघि आफ्नी आमालाई धिक्कारेका शब्दहरु सम्झिदै आफैलाई पो धिक्कार्न थाली । उता महिला प्रहरीहरुले ईशाकी आमालाई घिसार्दै गाडीमा कोचिसकेका थिए |

  • कविता : कालो बादल

    कविता : कालो बादल

    भीमनारायण श्रेष्ठ / काठमाडौं

    प्रभातकालीन नियमित घुमफिर

    चिसो सुनसान वातावरण चिर्दै

    आफ्नै तालमा

    अघि बढिरहेको पाईला

    अचानक रोकिन पुगे

    घाम झुल्किन लागेको थियो

    अनायास

    कालो बादल मडारिन थाले

    मौसम विपरित हावा चल्न थाले

    बेमौसमको भूमरिमा

    रन्भुल्ल परें

    नील गगनको मध्य भागमा

    मडारिएको भूमरि

    कुनाकाप्चामा समेत हानिन थाले

    असंख्य डाँडाकाडाँ र पहाडमा ठोकी

    सहर बजारतिर हानिन थाले

    यस्तैमा एकहूल आवाज

    धर्म संस्कृति र

    गुठी संस्कार

    हाम्रो मौलिक पहिचान

    देशको गहना बोकी

    सांस्कृतिक धरोहरको

    धरातलमा उभिए

    माईतिघर मण्डला

    मडारिएका ति कालो बादल

    चिर्न खोज्दै

    शंखघोष गर्न

    प्लेकार्ड उठाउँदै

    पंक्तिबद्ध शान्त सौम्य

    उभिएका थिए

    युवा महिला र बृद्धबृद्धा

    यस्तैमा

    मडारिएको त्यो कालो

    बादल भित्रबाट

    लठ्ठी बन्दुक र अश्रुग्याँस सहित

    उपस्थित भए

    महाभारतका कौरव

    चक्रब्यूह रची

    अनायास

    चक्रव्यूह भित्रको अभिमन्यु सरी

    अवला ति महिला बृद्धबृद्धा माथि

    लठ्ठी र बूठ निर्मम बर्साए

    अश्रुग्याँस खसाले

    कतिलाई पानीको फोहराले हुत्याए

    तितरवितर भएका

    ति सुमधुर आवाज

    क्रोधको ज्वाला मुठ्ठीमा कसी

    वाध्यता र विवश भई फर्के

    अनि,

    क्रोधको ज्वाला भित्रभित्रै सल्किए

    निभ्न लागेको धर्म संस्कृति

    गुठी संस्कार र परम्परा

    सांस्कृतिक धरोहर जीवन्त राख्न

    गाउँ शहर बजार

    अनि कुना काप्चाबाट समेत

    शक्तिको राँको बालेर

    मानव भेल ओर्लिए

    माईतिघर मण्डला

    सडक पेटी सब ढाके

    मानौं

    आज ठूलै जात्रा पर्व हो

    सांस्कृतिक बाजागाजा समेत

    नाचगान गर्दै

    आधाकारी रोबोटका हातमा

    फूल र पानी ठम्याउँदै

    आदर सत्कार गरे

    मायाका भोका ति रोबोट आज

    नतमस्तक उभिरहे

    चारैतिरबाट सल्बलाएको

    सांस्कृतिक ज्वारभाटाबाट उठेको

    एक झट्का हावाहुरीले

    मडाएिको त्यो कालो बादल

    बिस्तारै बिलायो

    अनि,

    निलो आकाश खुले

    अमृतसरी हावा चले

    सुनौलो घामको किरण

    विस्तारै चारैतिर छाए…

  • जैविक विविधता संरक्षणमा हाम्रो दायित्व, प्रकृति र मानिस

    जैविक विविधता संरक्षणमा हाम्रो दायित्व, प्रकृति र मानिस

    डील्ली बहादुर रावत / काठमाडौं

    यो सालको असोज महिनामा बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय स्तरका संरक्षण दिवसहरु परेका छन । यतिखेर संसारभरी सरकारी, गैर सरकारी र व्यक्तिगत रुपमा विभिन्न कार्यक्रमहरु मनाउँदै आइरहेका छन् । यी दिवसहरु मनाउनुको मुख्य उद्देश्य संरक्षणको लागि सचेतना फैलाउने र ब्यवहारमा उतार्न प्रेरणा दिनु हो । असोज महिनामा संरक्षण संम्वन्धि अन्तर्राष्ट्रिय दिवसहरु ५ वटा परेका छन । जस्तै ४ गते International Red Panda Day, ५ गते World Rhino Day, ६ गते राष्ट्रिय संरक्षण दिवस अर्थात National Conservation Day, १० गते World Tourism Day र असोज १७ गते World Animal Day यसरी राष्ट्रिय र अन्तराष्ट्रिय संरक्षण दिवसहरु एउटै महिनामा पर्न गएका छन । यि महत्वपुर्ण दिवसहरु संसारभरि सरकारी एंव गैह्रसरकारी स्तरबाट धुमधामले मनाइदै छ । पर्यटन दिवस बाहेक सवै दिवसहरु प्रकृतिका उपजहरुको दिगो संरक्षण गरि सुन्दर धर्तीमा सृष्टिचक्रलाई निरन्तरता दिन महत्वपुर्ण भुमिका निभाउने पक्षहरु हुन् । हुनत पर्यटन दिवस पनि प्रकृतिसंग जोडिएको छ, प्राचिन कला संस्कृतिसंग जोडिएको छ । त्यसैले यसलाई पनि संरक्षण दिवस भन्दा पनि हुन्छ । दिवस मनाउनुको अर्थ त्यसको दिगो संरक्षण र प्रकृति एवम् मानव हित अनुकुल उपभोग गर्ने चेतनाको अभिवृद्धि गराउँदै शासकहरुलाई संरक्षण संम्वन्धि कडा कानून वनाउन दबाव दिनु हो । पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले पनि यी दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका १७, १८ र १९ मा रहेका ६ वटा स्कुलहरुमा जनचेतना मुलक छलफल कार्यक्रम राखिएको क्लव गठन गर्ने अभियान चलाएको छ ।

    यस धर्तीमा मानिस नरहे पनि जैविक विविधता रहिरहन्छ । तर जैविक विविधता नभए मानिसको अस्तित्व यस धर्तीमा एक मिनेट पनि रहन सक्दैन । भन्नुको मतलब सम्पूर्ण प्रजातीका बनस्पती, जिव र पानी नहुने हो भने सृष्टी चक्र नै अगाडी बढ्न सक्दैन । आज मानिसकै कारण जैविक विविधता दिन प्रतिदिन विनास हुदै गइरहेको छ । जसले गर्दा प्राकृतिक प्रणाली नष्ट हुदै गइरहेको छ । यसको सोझो कुप्रभाव मुख्य त मानिस र खाद्यवस्तुमा पर्न गइरहेको छ । यति मात्रै होइन प्राकृतिक बनोट समेत खलबलिन पुगेको छ । मानिसले जती सुकै भौतिक विकास गरे पनि प्रकृतीलाई जित्न वा आफ्नो कावुमा राख्न सक्दैन । प्रकृतीको नियममा मानिस बस्नै पर्दछ । प्रकृतीको नियम विरुद्ध जानु भनेको मानिस जातीको अस्तित्व नै यस धर्तीबाट लोप गराउन खोज्नु हो । हाम्रा नीति निर्माताहरुले मानिसको हितलाई पहिलो प्राथमिकता दिदैं जैविक विविधताको संरक्षण र दिगो विकासलाई गौण स्थानमा राख्नाको कारणले पर्यावरणीय समस्या र शुद्ध खाद्य अभाव झेलिरहनु परेको छ । अझ यति मात्र होइन प्रकृतीले सृष्टी चक्रलाई निरन्तरता दिनका लागि बनाइदिएको सहअस्तित्व प्रणालीनै ध्वस्त पार्न खोज्दैछौं । यसले अन्तत मानव जातीकै अस्तित्व समाप्त पार्दछ भन्ने कुरा बुझ्न सकेका छैनौं । बुझे पनि पद प्राप्तीको खेलले गर्दा पर्याबरणका पक्षहरु ओझेलमा परेका छन् । मानिसको हेलचक्र्याईले गर्दा नै जैविक विविधता विनास हुदै गएको कुरा घाम झै छर्लंग छ । तैपनि हाम्रा नीति निर्माणकर्ता र राजनैतिक पार्टीका नेता कार्यकर्तामा जैविक विविधताको महत्व, औचित्य र समग्र पर्यावरणका विषयमा चेत अझै पलाउन सकेको छैन । जसले गर्दा आज हरित गृह ग्यासहरुको उत्सर्गमा कमी आउन सकेको छैन । संसारभरका सचेत नागरिकहरुले सासकहरुलाई निरन्तर दबाब दिइरहेका छन् । जसको कारण अन्तर्राष्ट्रिय सम्मेलन गोष्ठीहरु निरन्तर हुदैं पनि आइरहेका छन् । यस संबन्धि महासन्धीहरु पनि भएका छन । दुखको कुरा व्यवहारमा लागू गर्न सकेका छैनन् । उपभोक्तावादी सोच र चिन्तनमा परिवर्तन आउन सकेको छैन । जैविक विविधताको महत्व र औचित्यलाई संसारभरी स्थापित गराउनका लागि चेतनाको अभिवृद्धी गर्न अत्यन्त जरुरी भएकोले नै संरक्षण दिवस संसारभरि धुमधामले मनाइदैं छ । आज धेरै प्रजातीका बनस्पतीहरु संकटबाट गुज्रिरहेका छन भने कतिपय लोपै भएर गएका पनि हुन सक्दछन् । नेपाल सरकारसंग तथ्यांक नै छैन । यस्तै गरी कतिपय महत्वपुर्ण प्रजातीका पंछीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन भने कतिपय लोप भएर गएका छन् । तर सरकारले संरक्षणमुखी कार्यक्रम बनाएको देखिदैन । गिद्ध संरक्षण संम्बन्धी पाँच वर्षीय कार्यक्रम बनाउँछ तर बजेट छुटाउदैन । स्थानीय सरकारलाइ यसबारे थाहै छैन । अनि कसरी हुन्छ जैविक विविधताको संरक्षण ? दिवस मनाएर औपचारिकता मात्र पुरा गर्नु भनेको संरक्षण प्रति उदासिन हुनु हो । प्रकृती विरोधी बन्नु हो । हाम्रो देशमा त प्रकृती संरक्षणका नाममा माफियाहरुले रजाइ गरिरहेका हुन्छन । त्यसैले मानिसको अझ भन्ने हो भने साशकहरुको चेतनामा पुर्ण परिवर्तन गराउनु पर्ने आजको आबश्यकता हो । यसको निम्ती हामी सवैले निरन्तर दबाब दिनुपर्ने अबस्था छ । जैविक विविधताको विनास गरेर आफ्नो व्यक्तीगत लाभ लिने गिरोहलाई नांगेझार बनाउन सबै सचेत नागरिक लाग्नु पर्दछ । अझ यसमा पनि संरक्षणमुखी चेतनाको दिप बाल्न पत्रकारहरुले अहम् भुमिका निभाउनु पर्दछ ।

    नेपाल भुगोलमा सानो त छ तर जैविक विविधताको दृष्टीकोणले धनी छ । संसारमै नपाइने बनस्पती जडीबुटी यहाँ पाइन्छ । जस्तै काडेभ्यकुर भन्ने चरा नेपालको अरुण उपत्यकका मात्रै पाइन्छ । २०० किमी क्षेत्र भित्र कैयन प्रजातीका बनस्पती जडीबुटी बन्यजन्तुहरुको विविधता पाइन्छ । यसको दिगो संरक्षण र उपयोग गर्न सक्ने हो भने यसले देशको समृद्धिमा ठुलो टेवा पुर्याउँदछ ।

    मानिसकै कारण हरितगृह ग्यासहरु निरन्तर बायुमण्डलमा बढ्दै गइरहेको छ । जसले गर्दा पृथ्वी र वायुमण्डलको तापक्रम बढ्दै गइरहेको छ । बैशाखमा फुल्ने लालीगुराँस फाल्गुनमा फुल्न शुरु गरी सक्यो । मुस्ताङमा तरकारी खेती हुन थाल्यो । उष्ण जलबायुमा पाइने बनस्पती र बन्यजन्तु ठण्डी ठाँउमा देखा पर्न थाल्यो । यो प्रकृतीको नियम विरुद्ध हो । नेपाली खोजकर्ताहरुले कञ्चनजंगादेखि नास्पासम्म अध्ययन गर्दा वृक्ष रेखा १.५ दशमलबका दरले माथि सर्दै गएको तथ्याङ्क बाहिर ल्याएका छन । वृक्षरेखादेखि माथि घाँसे स्थल छ । जहाँ किसानहरुले भेडा, चौरी जस्ता पशुपालन गरेका छन । अब वृक्षरेखा माथि सर्दै गयो भने ती घासेस्थल विनास हुनेछन । यसले त्यहाँका पशुपालक किसानको जिवनस्तरलाई नराम्ररी प्रभाव पार्ने निश्चित छ ।

    पारिस्थीतिकिय प्रणालीले सृष्टिचक्रको संरक्षण गर्दै अगाडि बढाउँछ । त्यसैले यसको संरक्षण र विकास विना मानब विकास मात्रै होइन अस्तित्व नै संम्भव छैन । आजको आवस्यकता भनेको प्राकृतिक रुपमा रहेको जैविक विविधतालाई दिगो संरक्षण र विकास गर्नु हो ।

  • महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन :  मिन विश्वकर्मा  (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)

    महामन्त्री कोइरालाले हिन्दु राष्ट्रको एजेण्डा बोकिरहनुहुन्छ जस्तो लाग्दैंन : मिन विश्वकर्मा (नेपाली कांग्रेसका केन्द्रीय सदस्य)

    “मिन विश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । पूर्व मन्त्री समेत रहेका विश्वकर्मा कांग्रेसभित्र स्पष्टवक्ताको रुपमा परिचित छन् । उनै विश्वकर्मा अमेरिका आएको समयमा उनीसँग यस अनलाइनका लागि सम्पादक सुरज भण्डारीले गर्नुभएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।” 

    कांग्रेसमा फेरि किन हिन्दु राष्ट्रको कुरा उठेको होला, धर्म निरपेक्ष कांग्रेसलाई मन नपरेको हो ? 

    – सर्वप्रथम नेपाली कांग्रेस राष्ट्रिय पार्टी हो । यसले स्थापनासँगैं राष्ट्र, राष्ट्रियता र समाजवादलाई अंगिकार गरेर अघि बढेको हो । पार्टीका संस्थापक जयूहरुले यो पार्टीलाई सबैंको पार्टी बनाउने गरी अघि बढ्नुभएकैं कारण आज नेपाली कांग्रेस सबैंले मान्ने र सबैं अट्ने पार्टीको रुपमा रहेको छ । 

    कांग्रेसले वैचारिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई सधैं उभ्याउँदैं आएको छ । तर यसको अर्थ धार्मिक स्वतन्त्रता भनेको कुनैं एक धर्म मान्ने भन्ने होइन ।  हामीले जतिबेला संविधान निर्माण गर्यौं त्यो समयमा हामीले धर्म निरपेक्ष भन्ने शब्द नराखेको भए हुने थियो त्यसले अहिले जसरी सापेक्ष वा निरपेक्ष भन्ने कुरा उठाउने काम भएको छ त्यो हुने थिएन । धार्मिक स्वतन्त्रता शब्द राख्न सकेको भए बुझाई सजिलो हुने थियो । तर बिग्रिहालेको केही छैन धर्म निरपेक्षलाई कुनैं धर्म मान्न पाउँदैंनौं वा भनौं कुनै एक धर्म विरुद्ध हो भनेर गलत तरिकाले बुझ्नुहुदैंन ।

    तसर्थ धार्मिक स्वतन्त्रताको कुरा आउँदा हिन्दु राज्य वा भनौं कुनैं एक धर्म विशेषको राष्ट्र हुनुपर्छ भन्ने होइन । र हाम्रो जस्तो देश नेपालमा जहा वहुजाती, वहुभाषी, वहु धर्मालम्बीहरु छौं त्यहा अहिलेको २१ औं शताब्दीमा कुनैं एक धर्म वा जातलाई जोडेर कुनैं एक पार्टी अगाडि बढ्छ भन्ने कुरा संभव छैन, अझ नेपाली कांग्रेस जस्तो राष्ट्रिय पार्टीले त्यो गर्ने कुरैं रहेन । त्यसैले मलाई लाग्छ यो हिन्दु राष्ट्र बनाऊ भन्ने कुरामा अब बहस गर्नु राम्रो हुँदैंन । तर यति भनिरहँदा एउटा महत्वपूर्ण पाटो बारे पनि बहस हुनु आवश्यक छ । यता, धर्म निरपेक्ष राख्ने अर्कोतर्फ अहिलेको नेकपाको सरकार र त्यो पार्टी नेताहरुले अरु धर्मको प्रचारक बनेर जसरी काम गरिरहेका छन् त्यसले हिन्दु धर्म मान्नेहरुलाई शंसकित बनाएको छ । हाम्रो धर्ममाथि आक्रमण भैरहेको अनुभूती उनीहरुले गर्न थालेका छन् । धर्म निरपेक्ष मुलुकको सरकारले एउटा कुनैं धार्मिक संस्थाको निम्ति काम गर्यो त्यसले हिन्दु धर्म मान्नेहरुमा अव मुलुकमा अरु कुनैं धर्म लाद्ने काम हुन थालेको छ भन्ने भान हुन पुगिरहेको छ, यसले गर्दा अहिले हिन्दु राष्ट्रको वहस आउन पुगेको हो, यो हुनुमा अहिलेको सरकार कारक हो । 

    कांग्रेसको आउँदो महाधिवेशनमा हिन्दु राष्ट्रको एजेण्डा आउने होला, होइन ? 

    – होइन, हिन्दु राष्ट्र बनाउने विषय हाम्रो महाधिवेशनको एजेण्डा बन्ने कुरा हुदैंन । यसमा कुनैं दुइ मत छैन । नेपाली कांग्रेस जुन पार्टी राष्ट्रिय कार्यदिशा बोकेर अगाडि बढेको हुन्छ त्यो पार्टीले कुनैं एक जात वा धर्मलाई काखी च्यापेर अगाडि बढ्ने कुरा हुदैंन र बढ्दैंन । यसमा मैले एउटा सानो उदाहरण पनि दिन चाहन्छु गत महासमिति वैठकमा हिन्दु राष्ट्रको पक्षमा हामीले  हस्ताक्षर संकलन गरेका छौं भनेर केही नेताले एजेण्डा राख्नुपर्यो भन्दा एकजना महासमिति सदस्य जो महिला आदिवासी जनजाती हुनुहुन्थ्यो उहाँले हिन्दु राष्ट्र मान्ने र हिन्दु धर्मलाई काखी च्याप्ने निर्णय कांग्रेसले गरे हामी अरु धर्म मान्नेहरु कसरी यो पार्टी भित्र अट्छौं भनेर जसरी मार्मिक तर्कपूर्ण ढंगले विषय राख्नुभयो, त्यसले महासमिति बैंठकमा ठूलो चर्चा पायो र त्यो हिन्दु राष्ट्रको निम्ति हस्ताक्षरको कुराको चर्चा सेलायो । 

    यसको अर्थ के हो भने नेपाली कांग्रेसले सबैंलाई समेटेर जाने पार्टी हो । यसमा सबैंको समान अस्तित्व बनेको हुन्छ । त्यसैले गर्दा हामी सँग महाधिवेशनमा लग्ने र छलफल गर्नुपर्ने धेरैं विषयहरु छन् अव हामी संभव नहुने र गर्न नहुने विषय उठाउने पक्षमा छैनौं, र महाधिवेशनमा त्यो एजेण्डा बन्ने त कुरैं भएन । 

    तपाई हुन सक्दैंन भन्नुहुन्छ, तर महामन्त्री शंशाकले त्यसको पक्षमा अभिव्यक्ति दिइरहनुभएको छ ?  

    – मलाई लाग्दैंन कि विपि पुत्र हाम्रा महामन्त्री डा. शंशाक कोइरालाले त्यो गलत हुने कदम उठाउनुहोला भन्ने, नेपालको वस्तुस्थिति बारे उहा“ले धेरैं बुझ्नुभएको छ भन्ने लाग्छ । यो अवस्थामा कांग्रेसका संस्थापक आर्दश व्यक्तित्व विपिका पुत्रबाट त्यस्तो जुन विषयले कांग्रेसलाई कमजोर पार्ने काम गर्नेछ त्यो विषय उठ्दैन भन्ने मलाई लाग्छ ।  कहिले काँही विषय उठाउँदा आफ्नो चुनावी क्षेत्रका जनतालाई खुशी पार्ने खालका केही विषयहरु उठाउन सकिएला उठ्लान् तर  त्यही आम नेपाली र राष्ट्रको हुनुपर्छ भन्ने हुदैंन । कतिपय निवार्चन क्षेत्रमा हिन्दु धर्मालम्बी बढि होलान्, कुनैमा बौद्व धर्मालम्बी, कुनैंमा इस्लाम, कुनैंमा क्रिस्चियन या कुनैंमा अन्य कुनैं धमालम्बीहरु हुनुहोला भनेर त्यही अनुसार धारणा दिने र त्यही राष्ट्रिय मुद्दा हुनुपर्दछ भन्ने हुदैंन । जस्तो मेरो निर्वाचन क्षेत्रको कुरा गर्दा त्यहाँ आदिवासी जनजाती अझ त्यसमा पनि राईहरुको बसोबास अलि बढि छ मैले त्यहाँ प्राथमिकतामा राई भाषा राख्नुपर्छ भन्छु भन्नुपनि पर्दछ तर मैले राई भाषा नैं राष्ट्रिय भाषा हुनुपर्छ भन्न थाले भने के हुन्छ मेरा क्षेत्रका ती राई भाषी त खुशी हुनुहोला नेपाल भर बस्ने नेपालीका लागि के त्यो सही हुन्छ यस्तो कुरामा खासगरी राष्ट्रिय नेताहरु बढी संवदनशिल बन्नुपर्दछ । त्यसैले हाम्रा पार्टी शिर्ष नेतृत्ववाट यस्तो विषय उठ्ने छैन र उठ्दैंन भन्ने लाग्छ ।   

    उसो भए संभव नैं नहुने कुरा चाँहि किन उठिरहेको होला ? 

    – हाम्रो जस्तो देश जहाँ वहुसंख्यक जाती, भाषी, बहु धर्मालम्बीहरुको बसोबास रहेको छ त्यहा कुनैं एक पक्षलाई काखी च्यापेर अगाडि बढ्दा फाइदा हुँदैंन भन्ने कुराको उदाहरण हाम्रै अगाडि छन् । म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु । हिन्दु राष्ट्र माग्ने, संवैधानिक राजतन्त्र चाहियो भन्ने मेची महाकाली गाई पुगेर हिड्ने कमल थापाको पार्टीको हालत सबैंले देख्यौं, भलैं अहिले त्यही पार्टीले गाईलाई भिरबाट खसालेर मार्यो  । आदिवासी जनजातीको छुट्टैं पार्टी खोल्छौं भनेर तत्कालिन नेकपा एमाले छाडेर अर्को पार्टीका खोलेकाहरुको हैसियत पनि देख्यौं, त्यो पार्टीको अवस्था पनि देख्यौं, मधेशको छुट्टैं पार्टी बनाउँछौं भनेर एमाले, कांग्रेस,माओवादीवाट गएकाहरुको अवस्था पनि देख्यौं यी सबैंले के देखाउँछ भने नेपालमा कुनैं जात, धर्म वा क्षेत्रको आधारमा जनताले मत दिदैंनन् जनता धेरैं सचेत छन् । अझ यसमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु तत्कालिन एमालेका नेता माधव नेपाल जो बाहुन हुन्, उनलाई सबैंले हिन्दु धर्मालम्बी भन्छन्, उनी आफू क्रिस्चियन धर्मको प्रचार गर्छन्, मधेशी अझ त्यसमा पनि पिछडिएको समुदाय र मुस्लिम समुदायको उल्लेख्य वसोवास रहेको  रौतहट जो मधेशमा पर्दछ,त्यहाको निर्वाचन क्षेत्रवाट चुनाव जित्छन् अब भन्नुहोस् नेपाली जनताको सोंचमा कुनैं जात, जाती, धर्म वा क्षेत्रीयताले स्थान पाउँदैंन । यो केवल माधव नेपालको केशमा मात्र होइन हाम्रा पार्टीका नेताहरुको चुनाव क्षेत्रमा पनि त्यो देखिन्छ यसर्थ यहा जनताले कुनैं जात, धर्म, क्षेत्रीयताको आधारमा समर्थन गर्दैनन् र राष्ट्रिय पार्टीको हकमा त्यो संभवको विषय पनि होइन । 

    हिन्दु राज्य मात्र होइन राजतन्त्रकैं कुरा आइरहेको छ त ? के यो संभव छ ? 

    – वास्तवमा मलाई संभव नैं नभएको राजतन्त्र फर्कन्छ भनेर विषय उठाइएको छ । अझ म त भन्छु हामी प्रतिपक्षमा रहेका र सरकारमा भएका पार्टीहरुले समेत एकले अर्कालाई आरोप लगाउन र तर्साउन यो विषय उठाएका छौं । राजतन्त्र अव नेपालको निम्ति आउटडेटेड भैसक्यो । नेपालमा अव २ वटा मात्र शक्ति छन्, एउटा प्रजातान्त्रिक विचार धारा बोक्ने शक्ति जसको नेतृत्व कांग्रेसले गर्छ र अर्को भनेको कम्युनिष्टहरु हुन् । त्यसैले अव अर्को कुनैं पक्षलाई अगाडि सार्ने कुरा एकले अर्कोलाई दोष देखाउने उपाय मात्र हो ।  अहिले कम्युनिष्टको सरकार छ, हामी वैकल्पिक शक्ति अहिले पनि छौं, जनताले अहिलेको सरकारले गलत गरिरहँदा  कांग्रेसले किन केही गरिरहेको छैन भन्ने गरिरहेका छन्, कांग्रेसको सरकार कुरिरहेका छन् अव भन्नुहोस् राजतन्त्र कसरी आउ“छ । 

    यो सरकारको सन्दर्भमा तपाईको धारणा के छ ? 

    – जनतालाई कम्युनिष्ट सरकारले केही गर्छ की भन्ने लागिरहेको थियो एक प्रकारको भ्रम उनीहरुले जनतामा दिएका थिए । जनताले पनि ४९ सालको ९ महिने कम्युनिष्ट सरकारले छरेका लोकप्रियताका कार्यक्रमलाई हेरे । ९ महिनामा सरकार ढल्यो, हामीलाई गर्न दिएनन् भन्ने मौका पाए, त्यसपछि पनि उनीहरु पटक पटक सरकारमा आए, कहिले नेतृत्व गरे र कहिले सरकारमा सामेल भए, तर लामो समयसम्म ती सरकारहरु टिकेनन् जसका कारण उनीहरुले गर्न पाएनौं भन्ने अवसर पाए, र त्यसै कारणले पनि हुनसक्दछ नेपाली जनताले लगभग २ तिहाईको सरकार बनाउने मत दिए, अव हाम्रो कारणले यो सरकारलाई काम गर्न पाएन भन्ने मौका दिनुहुदैंन । यो सरकारको आफ्नैं गतिविधि र क्रियाकलापबाटैं यो सरकार टिक्दैंन तर उनीहरुलाई हामीलाई आरोप लगाउने मौका दिनुहुदैंन । जनताले पनि बुझ्नेछन् खासमा कम्युनिष्टले केही गर्न सक्दैनन् भन्ने त्यसैले हामी हाम्रो हिसावले अघि बढ्नुपर्दछ । त्यसको राष्ट्रियता, अखण्डता, राष्ट्रिय एकता, धार्मिक आक्रमण यी यस्ता खालको देशकैं निम्ति अहित हुने गतिविधि हुदा विरोध गर्दै बाकी सवालमा यिनीहरुलाई काम गर्न दिनुपर्दछ । अहिले बढिरहेको भ्रष्टाचार, जनताको अधिकार कुण्ठित गर्ने खालका विधेयक निर्माण, प्रेस स्वतन्त्रता विरोधी विधेयक, गुठी विधेयक, सुरक्षा परिषद्लाई अवमुल्यन गर्ने विधेयक, मानवअधिकार आयोगको अधिकार कटौती, देशभर बढेको बलात्कार,हत्या,अपराधका घटनाामा वृद्दिले यो सरकार अलोकप्रिय बनिरहेको छ त्यसैले यो सरकार आफ्नैं कारणले सकिन्छ तसर्थ यतातर्फ कांग्रेस लाग्नुहुदैंन । हुनतः यो सरकार बन्दा देखिनै संविधानको उल्लंघन भएको छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख संविधान विपरित बन्नुभएको छ, संविधानको उल्लंघन त्यही बाट भएको छ, यो सरकार लोकतन्त्र  र संविधान विरोधी छ भन्ने कुरा जनताले बुझ्दैं गएका छन्, सँगसँगैं अव कम्युनिष्ट सरकारले केही गर्न सक्दैन भन्ने पनि जनताले बुझ्नेछन् । त्यसैले हामी वेटिङ गर्भमेन्टको रुपमा बसेर हाम्रो संगठनलाई बलियो बनाउन लाग्नुपर्दछ । 

    तपाईको आशय, जनताले कम्युनिष्टलाई विचार गर्नका लागि जिताएका हुन् भन्ने रह्यो, तर कांग्रेसलाई नरुचाएर पनि होला नि ? 

    – हामीले राणासँग, पंचायतसँग, राजासँग कसरी लड्ने भन्ने बारे बुझेका रहेछौं । कम्युनिष्टसँग कसरी लड्ने भन्ने कुरामा हामीले राम्ररी बुझ्न सकेनछौं । फेरि विश्वभर नैं हराईरहेको कम्युनिष्टहरुबारे हामीले त्यो रुपमा जान्न पनि पाएनौं । हाम्रो नजिकको राष्ट्र चिन, जहाँ कम्युनिष्ट शासन भन्नका लागि मात्र छ, त्यहा पुरैं पुजीवाद छ, खुल्ला अर्थ व्यवस्था छ, र अन्य जहा कम्युनिष्ट शासनहरु भएका देशहरु छन् त्यहाको आर्थिक अवस्था खस्कदो छ  यी सबैं कारणले गर्दा नेपालमा कम्युनिष्ट आउँछन् जस्तो लागेको थिएन । तर यहा(नेपाल) त सबैं खालका कम्युनिष्टहरु थिग्रिएर बसेका रहेछन् । हामीले चिन्न मात्रैं नसकेका रहेछौं । र उनीहरुले पनि समाजवादको कुरा गर्ने र हामीले समाजवादको कुरा गर्ने एउटै एउटैं होइछ कि भन्ने पनि जनतालाई लागेको हुन सक्दछ । हामीले पनि उनीहरुलाई चाहेको समाजवाद यस्तो खालको भनेर बुझाउन सकेनौं । अहिले जसरी व्यक्तिगत सम्पक्तिलाई नियन्त्रण गर्ने, राज्यले कर थोपर्ने जस्ता कामहरु भैरहेको छ यसले जनताले कम्युनिष्टले कस्तो समाजवादको कुरा गर्दा रहेछन् भन्ने कुरा थाहा पाइ रहेका छन् । कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवाद बीचको फरक जनताले बुझेपछि कम्युनिष्टप्रतिको जनताको सम्मान स्वतः घट्नेछ ।

    महाधिवेशन अघि कांग्रेसले के गर्नुपर्दछ भन्ने लाग्छ ? 

    – सबैभन्दा मुख्य कुरा कांग्रेसले आफ्नो संगठन बलियो बनाउनुपर्दछ । महाधिवेशनवाट हामीले एन्टी कम्युनिष्ट दस्तावेज पास गर्नुपर्दछ । हाम्रो अबको लडाई कम्युनिष्टसँग हो भन्ने कुरामा हामी पहिला क्लियर हुनुपर्दछ । देश बाहिर रहेको युवा शक्तिलाई देशसँग कसरी जोड्ने त्यसमा पनि कांग्रेसको ठोस धारणा आउनुपर्दछ । अव बैचारिक रुपमा अगाडि आउनुपर्दछ । हामीले ल्याउने समाजवाद के हो भन्ने कुरामा जनतालाई प्रष्ट पार्न सक्नुपर्दछ , आन्तरिक रुपमा संगठनको व्यवस्थापनसँगैं बाहिर पनि हामी उत्तिकैं सक्रिय हुनु आवश्यक छ । 

    महाधिवेशनमा युवाको सहभागितालाई कसरी हेर्नुभएको छ, के युवाको नेतृत्वमा संभावना देख्नुहुन्छ ?

    – हामीले के बुझनुपर्दछ भने पार्टी सबैं मिलेर बन्ने हो । अझ लामो इतिहास बोकेको पार्टी कांग्रेससग अनुभवी धेरैं नेताहरु हुनुहुन्छ । युवा पुस्ता पनि अगाडि आइरहेको छ । विगतमा भन्दा युवा पुस्तावाट केन्द्रीय नेतृत्व आउने प्रतिशत बढिरहेको छ । १२ औं महाधिवेशनमा करिव ३० प्रतिशत रहेको युवाको केन्द्रीय नेतृत्वमा सहभागिता १३ औं महाधिवेशनमा ४१-४२ प्रतिशत पुगेको छ आउँदो १४ औं महाधिवेशनमा ५० प्रतिशतको हाराहारीमा पुर्याउने गरी लाग्नुपर्दछ । रह्यो कुरा नेतृत्वमा जाने वा पदाधिकारीमा उठ्ने भन्ने कुरा यसमा मेरो अलि फरक विचार छ । अनुभवी नेताहरुको साथ,सहयोग र सुझावको आधारमा युवा पुस्ता अगाडि बढ्नुपर्दछ । हामीले के बिर्सन हुदैंन भने गाली गरेर वा चुनौती दिएर अगाडि बढ्ने कुरा सही हुदैंन । यसले पार्टीलाई बलियो होइन कमजोर बनाउँछ । अहिले पनि केन्द्रीय नेतृत्वमा कुरा गर्दा ३ वटा पुस्ता छ, पहिलो, दोस्रो र तेस्रो पुस्ता हामीसँग छ, तेस्रो पुस्ताले जम्प गर्ने क्रममा दोस्रो पुस्ताले अपमानको अनुभूति नगरोस् यस तर्फ पनि सचेत हुनु आवश्यक छ । युवा जोशले स्थान पाइरहदा हामीसँग रहेको अनुभवी र परीपक्क पुस्ता बाहिरिनु पर्यो वा त्यो पुस्ता निस्क्रिय रह्यो भने कांग्रेसलाई झन् बढी घाटा लाग्छ । यी सबैं पक्षलाई केलाएर अगाडि बढ्नु पर्दछ । भारतको भारतीय जनता पार्टीलाई नैं हेरौं त्यहाँ नरेन्द्र मोदी आएका छन्, तर लालकृष्ण आणवानी जस्ताको पनी कदर भैरहेको छ, त्यो रुपवाट हामी अघि बढ्नुपर्दछ । एक प्रकारले भन्दा हामीले आगामी महाधिवेशनलाई पार्टी नेतृत्वका लागि दोस्रो पुस्ता तयार गर्ने महाधिवेशनको रुपमा अगाडि लैजानुपर्दछ ।

  • लघुकथा : ओईलाउँदै गएका टीकाहरु

    लघुकथा : ओईलाउँदै गएका टीकाहरु

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    २०७३ सालको दशैंमा…

    बाबुले छोरालाई मोवाइलमा हेर्दै उत्साही स्वरमा बोल्यो, ‘कान्छु, जसरी भए पनि यो दशैमा आउनु है ।’

    मोवाइलबाट आवाज सुनियो, ‘यसपाली अफिसमा कामको चाप नै बढी छ बा । फेरि दशैं हामी अमेरिकामा पनि धुमधामै मनाउँछौँ नि । बरु हजुरहरुलाई दशैं आनन्दले मनाउन एक लाख पठाइदिन्छु नि बा।’

    ‘कुरा पैसाको होइन । मात्र टीका ओइलाउला की भन्ने चिन्ता हो ।’

    ‘दाईलाई बोलाउनुस न बा, यो दशैंमा, मेरो त कुनै सम्भावना छैन ।’ मोवाइलबाट छोराको आवाज आयो ।

    ‘तेरो दाजूलाई पनि काम थुप्रो छ रे यो वर्षमा, तैले जस्तै उस्ले पनि जर्मनीबाट पचास हजार पठाउँदैछ । ल भैगो ब्यस्त भए, भन्नु केही छैन । धन्य छोराहरु, तिमीहरुको कृपाले यो दशैं हामी बुढाबुढीले चाँदीको जमरा र सुनको टीका लगाएर टार्ने भयौँ । सवैका छोराछोरी तिमीहरु जस्ता होऊन् । डेढ लाखले म के मात्र गर्ने ?’ बाबुले यति भन्दै रुँदै फोन राख्यो ।

    २०७४ सालको दशैंमा…

    गएको शिवरात्रीमा, सत्तरी वर्ष लागेको बाबुले छोरालाई भिडियोमा नाप्यो । छोरालाई अझै लम्वाई र चौडाइमा हेर्ने इच्छाले उपलब्ध प्रबिधिको सहारा लियो । छोराको बडेमान शरीरको सजिवता, काँचको पर्दामा स्यानो सजिवतामा चल्मलाएको देखेर होला, बाबुको आँखाबाट दुईथोपा आँसु तरक्क चुहायो । बाबुले आँसु पिउँदै सोधे – ‘कान्छा, अव तँ कैले नेपाल आउँछस् ?’

    ‘हेरौँ, बुबा अव बिदा भयो भने आउँछु, सायद दशैतिर आउँछु कि !’

    छोराले दशैतिर आउँछु कि ! भनेपनि बुढाको आशामनले छोरा दशैतिर आउँछ नै भन्ने बुझ्यो ।

    ‘हुन्छ, कान्छु, यसपालि दशैंमा तेरो नाममा पनि टीका अलि बढी मुछेर राख्छु है ।

    जसरी भए पनि आउनु । तेरी आमाले तेरो नाम लिन थालेको पनि वर्षो भइसक्यो ।’

    विडम्वना, छोरा त्यो सालको दशैमा पनि आएन ।

    २०७५ को दशैंमा…

    यो साल, छोरालाई आइपेडमा ओछ्याएर भलाकुसारी गरेपछि बाबुले भन्यो –‘कान्छा, आऊ यो दशैंमा जसरी भए नि, तेरी आमा विरामी छे । तेरो मात्र नाम लिइरहन्छ ।’

    ‘बुवा यो वर्ष त मेरो झनै भ्याउँदैन । बरु आमालाई एकपटक मोवाइल दिनुस न दर्शन गरुँ ।’ बाबुले आफ्नी रोगी स्वास्नीलाई मोवाइल दिँदै बोल्यो–

    ‘ला, तेरो कान्छुको दर्शन गर ।’

    आमाले चाउरिएको हातले समातेको आइपेडबाट एक भद्र पुरुष स्वर कोठैभरि गुँजियो, ‘आमा, दर्शन ! के गरुँ आमा, निधारमा टीकाको प्यास छ नि त । अम्रिका थाहै छ नि हजुरलाई दिनरात फुर्सद हुँदैन । दुख नमान्नु होला आमा, यसपालि पनि पोहरझैँ फोटैमा टीका लगाइदिनुस न है ।’

    २०७६ को दशैंमा…

    यो दशैंमा भने छोरा आफैले फोन गरी खुसीले गदगद हुँदै बोल्यो–

    ‘बुबा हजुर, यो दशैंमा म घर आउँदै छु । हामीले हजुरहरुको निम्ति धेरै सामान जोरजाम गरेको छौँ । हजुरको निम्ति आइपेड र आमालाई अमेरिकाको महँगा साडीहरु…।’

    यो वर्ष बाबुको स्वरमा गतसाल झैं उत्साह थिएन । आवाज गलेको थियो । त्यही ओइलाएको स्वरमा आफूलाई सम्हाल्दै बोल्यो–

    ‘पर्दैन कान्छा, अव आउन । तेरी आमाले भर्खर मात्र तेरो नाम लिएर प्राण त्यागेकी छे । तैले इच्छा नै गरेको हो भने नआइजो पनि भन्दिनँ । सिधै आर्यघाटमा आउनु । केही ल्याउनु पर्दैन तैले अम्रिकाबाट । कान्छा पनि होस्, दागबत्ती अझै हामीले तेरै नाममा छोडेर राख्या छौँ । चौबीस घण्टा समय दिन्छौँ, पुगिस् भने तैले झोस्न पाउँछस् , होइन भने त्यो पनि हामी मेसिनलाई सुम्पिँदै छौँ । अँ, लेकटप, मोबाइल, टिभी केही पनि ल्याउनु पर्दैन है । आउँदा, अमेरिकाबाट एउटा सेतो कपडा, बास्नादार धुपहरु र सके थोरै दाउरा लिएर आउनु है । हामीले अहिलेसम्म पाएको सवैभन्दा मूल्यवान् कोशेली सम्झेर थाप्नेछौँ । दशैंचाँही मनाइन्न यसपालि । टीका जुठो भो कान्छु, फेरि ओइलाइ पनि सकेको छ । यो घराँ, अब कुनै पनि दशैंमा टीका फुल्दैन’, उताबाट छोराले दशपटक हेलो, हेलो भनेपनि यताबाट केवल सुँक्कसुँक्कको मात्र प्रत्युत्तर आईरह्यो ।

  • अमेरिकामा नेपाली गजल उत्सव

    अमेरिकामा नेपाली गजल उत्सव

    ओहायो 

    अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा आयोजना गरिएको गजल यात्राको गजल उत्सव – तेश्रो श्रृंखला भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया, न्यूयोर्क, न्यूजर्सी, ओहायो , म्यास्याच्युट्स (बोस्टन), ह्यूस्टन, टेक्सस(डालास), भरमन्ट, कोलोराडो लगायतका विभिन्न राज्यबाट करिब ४४ जना गजलकारहरू उक्त कार्यक्रममा गजल वाचनका लागि उपस्थित भएका थिए । 

    गजल यात्रा समूह २०१७ मा टेक्ससबाट गजलकारहरू- बासु पुष्पा अधिकारी, पवन लामिछाने र नेत्र आचार्य( नेत्र कौडिन्य) ले स्थापना गरेर गजल उत्सव -१ आयोजना गरेका थिए भने यो उत्सव २०१९ सम्म आई पुग्दा यो यात्राले तेश्रो श्रृंखला (गजल उत्सव -३ )मनाउन सफल भएको छ।

    गजल उत्सव -३ मा गजलकारहरूलाई मतला, काफिया, रदीफ र मकता गरी ४ भागमा विभाजन गरिएको थियो। करिब डेढ़ सय दर्शक,गजलकारको शानदार उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय गजलकारहरूको व्यवस्थापन प्रशंसनीय थियो। एयरपोर्टमा आईपुगेका र फर्कने सबै गजलकारलाई स्थानीयहरूले पिकअप ड्रप, खाना र बासको व्यवस्था गरेर नेपाली गजल उत्थानमा सक्रिय सहयोग गरेका थिए। 

    कार्यक्रमको शुरूवात कार्यशाला गोष्ठीबाट गरिएको थियो। गोष्ठीमा गजल यात्राका सँस्थापकहरूले एउटा एप्स बनाएका थिए, जसमा तपाईं बहर/छन्दमा, स्वनिर्मित लय, लय निरपेक्ष या सबै के मा गजल लेख्न हुन्छ ? मुसलसल या गैर मुसलसल गजलमध्ये कस्तो गजल लेख्न रूचाउनु हुन्छ ? भन्ने जस्ता प्रश्नहरूको जवाफ एप्समै लिएर मत सर्वेक्षण गरिएको तथा गजल संरचना, हालका गजल विकास तथा बहरे गजल र गैर बहरे गजलका विषयमा उपस्थित गजलकारहरूमा छलफल एवम् ज्ञानको आदान-प्रदान  गराईएको थियो।

    सो उत्सवमा गजलकारहरू आनन्द श्रेष्ठ, पवन लामिछाने, दु:खी अतित, पूर्ण नर्जली, सुरेश वाग्ले, पूजा बागिश, राज बराल, सविन शर्मा,पुरानाघरे, सौरभ तिम्सिना,रोहित राना, डिल्लु चौलागाईं, अमृत लामिछाने,अजित राई, धर्मेन्द्र तिम्सिना, सतिश त्रिपाठी, भागवद बॉस्तोला, सुजन माझी, उत्तम साम्पाङ्ग, बिक्न दादा, पातलो अन्तरे, कृष्ण कुसुम, विकु दवाडी, केशव असफल, भक्त घिमिरे,नेत्र आचार्य, खेम रिजाल, सुशील रेग्मी, यदुनाथ अधिकारी, नरेश गौतम, केशव न्यौपाने, गोवर्द्धन पूजा, सरूँ काली,पदम विश्वकर्मा, मदन दुलाल, बासुपुष्पा अधिकारी, मणी गौतम, अविनाश भट्टराई एक्स्ट्रा, वैरागी माईला, अरूण तामाङ्ग, चरण बजगाईं लगायतले आफ्ना २-२ वटा गजल वाचन गरेका थिए भने गजल गायक केशव पौडेल लगायतका गायकहरूले विभिन्न गजलकारका गजल गाएर कार्यक्रमलाई थप रोचक बनाएका थिए। 

    आगामी गजल उत्सव-४ कुन राज्यमा गर्ने भन्ने विषयमा  ‘गजल यात्रा’ समूहले अबको केही समयको अन्तरालमा सार्वजनिक गर्नेछ।

  • एक महिलालाई वाईफाईको एलर्जी हुँदा

    एक महिलालाई वाईफाईको एलर्जी हुँदा

    मानिसको शरिरमा अनेकौं खानेकुरा र बस्तुहरुको एलर्जी हुने गरेको बिषय नौलो होईन । कसैलाई कुनै बिशेष खानाको एलर्जी हुने गर्दछ भने कसैलाई धुलो धुँवा रुख बिरुवा फुल लगायत बातावरणीय बस्तुको एलर्जी हुन्छ । तर लन्डन निवासी एक महिलालाई भने बर्तमान दैनिक जीवनकै अभिन्न अंग बनिसकेको वाईफाईको एलर्जी भएर बिरामी पर्ने गरेको खबर प्राप्त भएको छ । ७० बर्षीया रोसी ग्ल्याड वेलले आफुलाई वाईफाईको एलर्जी भएको आँफैले पत्ता लगाएपछि उनी अहिले चाँदी (सिल्भर) र तामा (कपर) को स्लिपिङ् ब्याग भित्र सुत्ने गरेकी छिन् । उनलाई वाईफाईबाट आउने ईलेक्ट्रो म्याग्नेटिक रेडिएसनले एलर्जी गराएर शरिर कमजोर भएको र सास फेर्न समेत गाह्रो भएको बताएकी छिन् । सोको असरले अनुहारमा सियोले घोचे जस्तो महसुस भएपछि उनले वाईफाईबाट आउने ईलेक्ट्रो  म्याग्नेटिक रेडिएसनबाट बच्नको लागि हजारौ पाउन्ड खर्च गरेर चाँदी र तामाको लेपन भएको स्लिपिङ् ब्याग खरिद गरेकी छिन् भने वाईफाई भए नभएको पत्ता लगाउने रेडिएसन डिटेक्टर समेत खरिद गरेकी छिन् ।  बेलायतस्थित द सनको अनुसार वाईफाईको भयका कारण बेलायतको दुर्गम गाउँमा बसोबास गर्दै आएकी उक्त महिलाले त्रास ब्यक्त गर्दै भनेकी छिन्; “बर्तमानमा आफुले ईलेक्ट्रो म्याग्नेटिक रे नभएको दुर्गम ठाउँमा बसोबास गर्ने मौका पाएपनि निकट भविष्यमा यो ठाउँमा पनि जडान हुन लागेको ५ जी नेटवर्कका कारण तनाबमा रहेको छु ।”

    रोसी कहिले काँही रेस्टुरेन्टमा खाना खान जाने गरेकी छिन । उनी रेस्टुरेन्टमा गएपछि आफ्नो साथमा भएको रेडिएसन डिटेक्टरले कुन चाँही सिटमा कम रेडिएसन छ त्यो जाँच गर्द्छिन अनि त्यही सिटमा बसेर खाना  खान्छिन् । रोसी स्पेनस्थित हिमाली क्षेत्र नजिकैको आफ्नो माइतीमा पनि धेरै समय बिताउँछिन, किनकि त्यहाँ वाईफाई छैन ।  आफ्नो माईती जाँदा रोसीले ३० घण्टाको पानी जहाजको यात्रा गर्नु पर्छ । आफ्नो पतिसँग ३० घण्टाको जहाज यात्रामा पनि रोसीले तामा र चाँदीको लेपन भएको स्लिपिङ् ब्याग भित्र बसेर यात्रा गर्ने गरेकी छिन् । यदि उनी लामो समयसम्म वाईफाई भएको ठाउँमा बसिन् भने आफ्नो घरमा आएर टिभि फोन सबै बन्द गरेर दुई दिनसम्म  स्लिपिङ् ब्याग भित्र बस्ने गर्दछिन् ।  

    द सनको अनुसार ६ बर्ष अगाडि रोसी बिरामी परेपछि उनले आफ्नै घरमा भएको वाईफाई १० मिनेट बन्द गरेपछि उनको शरीरमा देखिएको समस्या निको भएपछि उनले वाईफाईको एलर्जी भएको टुँगोमा पुगेकी थिईन । बैज्ञाननिकहरुका अनुसार संसारमा ४ प्रतिशत मानिस इलेक्ट्रो म्याग्नेटिक फिल्डबाट पिडित हुने गरेका छन् ।  

    श्रोत : द सन

  • नाई भन्न नसकेर

    नाई भन्न नसकेर

    विनोद रोका / न्यूर्योक

    मेरा एकजना सेलिब्रेटी मित्र गायक छन् । उनीसँग एकताका मेरो बाक्लै भेटघाट हुन्थ्यो। कहिले उनको घरमा, कहिले पार्टी र कहिले अन्य कार्यक्रमहरुमा । भेटघाटमा हामी संगीत, साहित्य, राजनीति र हासपरिहासका प्रसंगहरु जोडथ्यौं । यसरी प्रसंगहरु जोडदा प्राय अरुलाई उडाएर मस्तसंग हाँस्थ्यौं । हामीले भेट्ने विभिन्न पार्टी र कार्यक्रममा प्राय हामीहरु नाई भन्न नसकेर नै गएका हुन्थ्यौैं । यसै मेसोमा उनले एकदिन मलाई एउटा घटना सुनाए। अनि हामी दुबै जना मस्तले हास्यौं । यो घटनामा कत्तिको सत्यता छ मलाई थाहा छैन। किनकि हाम्रो बानी के छ भने भएका कुरालाई अझ बढी मनोरन्जनात्मक बनाउनका लागि मरमसला थपी हाल्छौैं ।

    मित्रको भनाई अनुसार उनको गाऊँमा राम्रो गाऊने कला भएकी एकजना युवती रहिछन् । मिठो स्वरका साथै उनीमा शुन्दरता पनि अब्बल दर्जाकै रहेछ। मित्रले ती युवतीलाई काठमाडौंमा लगेर उनको गलाको कला देखाऊने मौका जुराई दिने सोच बनाएछन। अनि युवतीका अभिभावकहरुसंग सहमती लिएर युवतीलाई काठमाण्डौ ल्याएछन् । र आफनो कलाको शिप देखाऊने ठाऊमा कामको व्यवस्था पनि मिलाई दिएछन् । केही समय पछि मित्रलाई उनका अरु साथीहरुले युवतीको चरित्रको बारेमा कुरा सुनाऊन थालेछन। सुरुमा मित्रले सोचेछन, उमेर हो ।एक युवतीले कुनै केटासंग उठबस गर्दा के को आपत्ती र ? एक्ली छ । कुनै केटासंग घरजम गरेर बसी भने आफुलाई पनि ढुक्क । केटीका अविभाबकले पनि चिन्ता लिनु पर्दैन, आदि । त्यसैले मित्रले केही प्रतिकृया जनाएनछ ।

    मित्रले फेरी कुरा थप्दै गए। ऊनलाई अब त साथीहरुले ती युवती धेरै केटासंग सम्बन्ध राख्दै हिडने गरेको कुरा सुनाऊन थालेछन। अनि मित्रलाई रिस उठेछ । आफ्नी गाऊकी चेली । यसरी धेरै केटाहरुसंग सम्वन्ध राख्दै हिडेको सुन्दा उनलाई नै लाज लाग्न थालेछ। र मित्रले एकदिन बोलाएर ती केटीलाई भनेछन । तँ फटाई । जोसंग पनि यसरी सम्बन्ध राख्दै हिडन लाज लाग्दैन ? सम्बन्धै राख्ने र हिडने भए एऊटासंग राख्नु । घरजम गर्नु। यो तैले कस्तो गाईजात्रा देखाएकी ? कहिले कोसंग ? कहिले कोसंग ? सुन्दा सुन्दा मलाई नै लाज लागीसक्यौ । मित्रले गाली गरेपछि, युवतीले रुदै भनिछन् । मरिजाऊ काजी मैले नाई भन्न नसकेर मात्रै त्यसो गरेकी हुँ ! काजी, म त्यस्ती मान्छे कहा हुँ र ? अनि ती युवतीको भनाई सम्झेर हामी मस्तले हास्यौं । मानौ हामीले नाई भन्न नसकेर गरेका व्यवहारको पात्र पनि ती युवती नै हुन् ।

    मित्र र मेरो कार्यक्रमहरुमा भेट हुँदा त्यही युवतीको घटना स्मरण गर्थ्यौं । कहिले मित्रले र कहिले मैले भन्थे “नाई भन्न नसकेर…”। अनि हामी हाँस्न थाल्दथ्यौं । अरु साथीहरु हाम्रो नाई भन्न नसकेर… वाक्य पछि निस्कीएको हाँसो देखेर छक्क पर्दथे। किनकि यो वाक्यले नै यसरी हाँस्नुपर्ने प्रसंग कसरी आयो उनीहरुलाई थाहा हुदैनथ्यो ।

    मैले पनि धेरै पटक मित्रले सुनाएको यो प्रसंग अरुलाई सुनाएर मनोरञ्जन गराएको छु । मैले ज-जस्लाई यो प्रसंग सुनाए उनीहरुसंग अहिले पनि नाई भन्न नसकेर… वाक्य निकाल्दा खेरी ती युवतीसंग जोडिएको एउटा घटनाको श्रृंखला याद आउँछ । यो प्रसंग मैले मित्रबाट सुनेको पनि दशकौं भै सक्यो । म सधैभरी ती युवतीको चरित्रको कमजोरीको बारेमा सोचेर हाँस्दथे । अनि मनमनै मन्थे कस्ती गवार केटी रहिछ । कँही नाई भन्न नसकेर पनि धेरै केटासंग सम्वन्ध राखिन्छ र ? यदि आफुलाई सम्वन्ध राख्ने ईच्छा छैन भने अरुले जर्बजस्ती गरेर हुने कुरा हो र ? यो त एउटा बहाना मात्रै हो, आफ्नो दोष लुकाऊने।

    आजकाल भने म आफै हाँस्नु न रुनुको अवस्थामा छु। म गवारमा गनिन्न । ठुला डिग्री लिएर वकिल भएको हुँदा विद्धानको उपाधि समाज र न्यायालायले दिएको छ। संसारको राजधानी मानिने न्युर्योक शहरमा बसोबास छ। अनि यहाँ बस्ने धेरैजना आफू जस्तै साथीहरुसँग उठबस छ । पार्टी र विविध कार्यक्रमहरुमा प्राय तिनै साथीहरुसंग भेट भै रहन्छ । जानु भन्दा अगाडि वा कार्यक्रममा पुगेपछि कुराकानी हुन्छ। साथीहरु भन्छन, नाई भन्न नसकेर मात्रै आएको । एकैछिन बसेर गै हाल्छु…। यसरी नाई भन्न नसकेर गएकोे । नाई भन्न नसकेर दिएको । नाई भन्न नसकेर खेलेको । नाई भन्न नसकेर खाएको । अनि नाई भन्न नसकेर गरेका अनगिन्ती कर्महरु छन् । म र म जस्ता साथीहरुले गरेका यी कर्महरु ती गवार केटीले नाई भन्न नसकेर धेरै केटाहरुसंग राखेको सम्बन्ध वा कर्ममा त्यति फरक परेको जस्तो मलाई लाग्दैन। र म र मजस्ता अगवार, विद्धान, र शहरिया संस्कारीहरुले नाई भन्न नसकेर गरेका कर्महरु भने पानी माथिको ओभानो भएका छन। अनि बदनाम हुने चाँहि ती बिचरी गवार युवती भईन् ।

  • गलत महिलालाई चिकित्सकले गर्भपतन गर्दिंदा

    गलत महिलालाई चिकित्सकले गर्भपतन गर्दिंदा

    सामान्य उपचारको लागि अस्पताल पुगेका बिरामीहरु चिकित्सकको गलत उपचारका कारण बिरामीको मृत्‍यु हुनु नेपालका लागि आजकाल नौलो मानिदैन । नेपालमा हरेक महिना जस्तो यस्ता समाचार सुनिन थालेका छन् । केही हप्ता अगाडि मात्र पत्थरीको शल्यकृया गर्न नाम चलेको ॐ अस्पताल पुगेकी एक महिलाको मृत्‍यु भएपछि केही दिन तनाब भएको समाचार पुरानो भएको छैन । नेपाल जस्ता कानूनको पूर्ण पालना नहुने मुलुकमा यस्ता घटना नौलो मानिदैन तर बिकसित मुलुकुहरुमा यस्ता घटना हुनु निकै नौलो मानिन्छ ।

    दक्षिण कोरियाको एक क्लिनिकमा चिकित्सकले झुक्किएर गलत महिलाको गर्भपतन गरेको समाचार  बाहिर आएको छ । गत अगष्ट ७ तारिखको उक्त घटनामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।  राजधानी सियोलको ग्यांसियोस्थित प्रहरी कार्यालयका अनुसार अगष्ट ७ तारिखका दिन एक महिला उक्त क्लिनिकमा ६ हप्ताको गर्भ लिएर नियमित जांचको लागि गएकी थिईन । ती महिलाको पुरानो अभिलेख भेटिएन अनि उनको परिचय क्लिनिकले पुस्टि गर्न सकेन । दक्षिण कोरियास्थित समाचार संस्था योनह्यपका अनुसार गर्भमा भएको शिशुका लागि पोषणको भ्याक्सिन लिन चिकित्सककोमा पुगेकी ति महिलाको पारिचय नै प्रष्ट नभै क्लिनिकका नर्सले एनेस्थेसिया (बेहोस् पार्ने औषधी) दिए र चिकित्सले गर्भपतन गराईदिएका थिए ।  पिडित बिरामीले चिकित्सकहरुले आफ्नो गर्भपतन गरेको सम्पूर्ण प्रकृया बारे पिडित महिला पूर्णरुपमा अनभिज्ञ थिईन ।  

    चिकित्सक तथा नर्सले गल्ती स्विकारी सकेको समाचार संस्थाहरुले जनाएका छन् ।  प्रहरीले गत सोमबारदेखि अनुसन्धान शुरु गरेका छन् । दक्षिण कोरियामा बिगत ६६ बर्षदेखि प्रतिबन्धित गर्भपतन गत अप्रिल महिनादेखि फुकुवा गरिएको छ । पिडित महिला, पिडक चिकित्सक र नर्स अनि क्लिनिकको नाम समेत गोप्य राखिएको छ ।  

    श्रोत : एजेन्सी

  • कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

    कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार

    काठमाडौं

    यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कारद्वारा  प्रवासमा बसेर पनि निरन्तर नेपाली भाषा साहित्यमा काम गर्दै आएका कवयित्री / गीतकार दीपा राई पुन सम्मानित हुने भएको छ ।

    “बिहानको सुनौलो घामले

    एक टुक्रा मुस्कान छर्छ

    टिपेर सिउरी दिन्छु आफैलाई

    सौन्दर्यताको गहना सम्झेर…”

    उक्त सम्मान रेडियो नेपालका प्रथम समाचार वाचक राजेन्द्रप्रसाद नेपालको स्मृतिमा स्थापना गरिएको हो । रेडियो नेपाललाई विराटनगर जुट मिलबाट सिंहदरवारभित्र स्थापना गर्न तारणीप्रसाद कोरालासँग सहकार्य गरेका प्रजातन्त्र सेनानी श्रष्टा नेपालको स्मृतिमा स्थापित सो सम्मान नेपाली वाङ्ममयको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत दीपा राई पुनलाई प्रदान गर्न लागिएको हो । यसअघि उनले भानुभक्त स्वर्ण पदक, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसास, अनेसास रविना फाउण्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार २०१३/१४, प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार २०१६ (हङकङ साहित्यिक साझा श्रृङ्खला), ज्योति साहित्य सम्मान २०७२ (ज्योति साहित्य प्रतिष्ठान), साहित्य सम्मान (लायन्स क्लब अव काठमाडौं रेन्बो सीटी), अनल ज्योति सम्मान २०७२ (अनल ज्योति बोर्डिंग स्कूल), राष्ट्रिय नारी सम्मान पत्र – २०७३ (राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित), राष्ट्रिय नागरिक विकास समाज विशेष नागरिक सम्मान २०७५, ‘राष्ट्रिय नारी श्रष्टा सम्मान २०७५ (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) लगायतका पुरस्कार र सम्मानहरु पाईसकेका छन् । उनका तीन कविताकृति तिम्रो सपनाको म, स्पन्दनका रागहरू र छुटेको वाग्दाता र एक गीति एल्बम – प्रतिरूप प्रकासित / रेकर्ड भएका छन् ।

    सेप्टेम्बरको २८ तारिख २०१९, शनिवारका दिन मोती जयन्ती मनाउँदै भव्य साहित्यिक समारोहका दिन सो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । अनेसास बोष्टन च्याप्टर र राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न हुने सो कार्यक्रममा यस वर्ष सारङ्गीवादक श्याम नेपालीलाई राजमित्र विशेष सम्मान गरिने राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’ ले जानकारी दिएका छन् ।

  • पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक

    पद्मा लिंखा मगरको नयाँ गीत हेरिरहें… सार्वजनिक

    काठमाडौं 

    बिगत लामो समयदेखि नेपाली भाषासाहित्यमा कलम चलाउँदै आईरहेकी साहित्यकार / गितकार पद्मा लिंखा मगरका धेरै गीतहरु रेकर्डेड छन् । यो उनको तेश्रो एल्बम् अन्तर्गतको गीत हो । राष्ट्रिय स्तरका अवार्डहरु समेत जितिसकेका गितकार मगरको हेरिरहें… गीत नेपाली संगिताकासमा युट्यूब मार्फत सार्वजनिक भएको छ ।

    विन्ध्यवासिनी म्यूजिक प्रा. लि. को प्रस्तुति एवं झुम्लावाङ्ग भिलेज फाउण्डेशन जेभिएफ नेपालको सहयोगार्थ लोकप्रिय संगीतकार राजकुमार बगरको एकल संगीत र रचनामा तयार भएको एल्वम नजर – ३ को लागि “हेरिरहें…” गीतको म्यूजिक भिडियो सहित दर्शकश्रोता माझ आएको हो । जसमा सदावहार सुमधुर स्वरका धनी राजेश पायल राईको स्वर रहेको छ l 

    यस गीतका प्रस्तोता विन्ध्यवसिनी म्यूजिक प्रा. लि. का लिना रेग्मी, सुवास रेग्मीलाई गितकारले विशेष धन्यबाद दिएकी छिन् । म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने संगित संयोजन फणिन्द्र राईको रहेको छ । गितकार पद्माले साथ र सहगोग गर्ने सबैलाई धन्यबाद दिंदै आफ्ना बिगतका गितहरुलाई जस्तै यस गीतलाई पनि सबैले मनपराईदिने एवम् यो गीतबाट अझ बढी सफलताको अपेक्षा राखेको बताए ।

  • नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

    नाडीमा बाँधेको एप्पल घडीले वासिङ्टनमा एक जनाको ज्यान यसरी बचायो

    दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्‍यु समेत हुन सक्दछ वा घाईते  मानिसको ज्यानमा जोखिम धेरै हुन पुग्दछ ।  अमेरिकाको वासिङ्टन राज्यमा बसोबास गर्दै आएका बब बर्डेट नामका एक ब्यक्तीले यस्तै परिस्थितीको सामना गर्नु पर्‍यो । उनी गत १५ तारिख अाईतबार एक्लै साईकल चढेर गईरहेका थिए । बाटोमा अकस्मात साईकल ठोक्किन पुग्दा उनी साईकलबाट लडे ।  उनको टाउको सडक किनारामा ठोक्किन पुग्यो र तत्काल बेहोस् पनि भए । लडेर घाईते भएका उनलाई  उपचारको लागि अस्पतालसम्म पुर्याउनका लागि खबर गर्ने वरिपरि कोही मान्छे थिएन तर उनले हातमा बाँधेको एपल कम्पनीको एपल घडीले उनी लडेको थाहा पायो र प्रहरी हण्टिङ लाईन ९११ मा तत्काल स्वचालित रुपमा फोन गर्‍यो ।  ९११ मा फोन आएपछि फोन गर्ने मानिसबाट प्रतिउत्तर नआए पनि लोकेसनमा प्रहरी र एम्बुलेन्स तत्कालनै पुगेका थिए ।  बबले हातमा बाँधेको एपल घडीले प्रहरी बोलाउने काम मात्र गरेन उसले उनको छोरा  गेब बर्डेटलाई समेत                            स्वचालित टेक्स्ट मेसेज पठाई दियो । घाइते  बबको छोरा गेब बर्डेट आफ्नो बाबुसंगै  पार्कमा माउनटेन बाईकिङ जानको लागि कतै बसेर बाटोमा आउँदै गरेका आफ्नो बाउलाई कुर्दै थिए । अकस्मात बाबुको फोनबाट लोकेसन सहित “हार्ड फल डिटेक्टेड” मतलब लडेको पत्ता लाग्यो भनेर टेक्स्ट मेसेज आयो र गेब कुदेर उक्त लोकेसनमा पुगे तर उनको बाबु बब त्यहाँ थिएनन् । त्यहाँ पुग्ने बित्तिकै छोरा गेबलाई पुनः बाबुको नम्बरबाट अर्को टेक्स्ट आयो जसमा लेखिएको थियो; लोकेसन चेन्ज्ड अनी साथमा एस एच् एम सि अस्पतालको लोकेसन समेत एप्पल वाचले पठाएको थियो । त्यस पछि छोरा गेब अस्पताल पुगेर आफ्नो बाबुलाई भेटेका थिए ।  

    गेबले गत शुक्रबार आफ्नो फेसबुकमा लेखेको अचम्म लाग्दो घटना अहिले सामाजिक संजालमा भाईरल भई रहेको छ ।  गेबले लेखेका छन् उक्त दिन २ घण्टा जती मेरो बाबुलाई अस्पातलमा राखेर एक्स रे सिटी स्क्यान गरियो । मेरो पिताको स्वास्थ  अवस्था सामान्य छ । यदि कसैले एप्पल वाच लगाएको छ भने “हार्ड फल डिटेक्सन सेट अप” गर्न नभुल्नु होला ।  

    श्रोत : न्युयोर्क पोष्ट

  • अभिनयमा पोख्त वडा अध्यक्ष

    अभिनयमा पोख्त वडा अध्यक्ष

    कीर्तिपुर, काठमाडौं

    जिम्मेवार पदमा बसे पनि कलाकारिताको तलतलले कलाकारलाई नछोड्दो रहेछ । यसको ज्वलन्त उदाहरण हो, कीर्तिपुर वडा नम्बर १० का वडा अध्यक्ष अमन महर्जन । वडा अध्यक्ष हुनुका साथै उनी एक कलाकार पनि हुन् । २०५२ सालमा नगाउँमा मञ्चन भएको नाटक “हरियो पर्दा” मा उनी सर्वोत्कृष्ट कलाकारमा पुरस्कृत भएको थियो । मदनकृष्ण श्रेष्ठले गाएको ‘अन्ति जुम्ह मयजुया मिखा’ नेवारी गीतमा पनि आफ्नो कला प्रदर्शन गरिसकेको अमन महर्जन एकताका कीर्तिपुरको गाइजात्रामा हुने हरेक हास्य प्रहसन अनिवार्य देखिन्थ्यो । हाल वडा अध्यक्ष भएपछि मात्र टुटेको उनी बताउँछन् ।

    ठूलै चलचित्रमा अफर आउँदा पनि, समयको व्यस्तताको कारण खासै कलाकारितामा उनी देखिएनन् । उनी भन्छन्, ‘अहिले फिल्म खेल्दै बस्यो भने जनताको समस्या समाधान गर्न आएको वडा अध्यक्ष नै रंगीन संसारतिर तानियो भनेर दोष लाग्नेछ, त्यसैले बाँकी रहेको साढे दुई वर्ष कार्यकाल नि पुरा गरुँ ।’ भोलिको दिनमा राजनीति र कलाकारितालाई सँगसँगै लैजाने उनको सोच छ ।

  • प्रचण्ड ‘घुयँत्रो’को समाजवादी आयाम

    प्रचण्ड ‘घुयँत्रो’को समाजवादी आयाम

    पुरुषोत्तम लम्साल / भर्जिनिया

    उनीहरुले अनुमान नै लगाएनन् ‘भाषा सुधारेरै सही’ सरकार र पार्टीले प्रचण्डको वक्तव्य सही भएको ‘ठप्पा’ लगाइदिएपछि त्यसको आयाम कति फराकिलो हुन्छ भनेर । ‘बेला न कुबेला भेनेजुयला’ भनेर ठट्टा गर्नेहरु ठण्डा भए । काठमाडौंमा क्यूबाप्रति ऐक्यवद्धताका लागि नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको अन्तर्यमा त्यही भेनेजुयलाको विषय छलफलको मुख्य ‘एजेण्डा’ थियो भनेर हल्ला र ठट्टा गर्नेहरुले ठम्याउन नसक्नु स्वभाविकै थियो । तर यहाँसम्म आइपुग्दा समाजवादी ध्रुवमा नेपालको स्थान र भूमिकाबारे बैचारिक बहस नछेडिनु चाँहि अपत्यारिलो छ ।

    विश्व समाजवादी आन्दोलनमा आफ्नै र अलग्गै पहिचान बनाएको ल्याटिन अमेरिकी देश क्यूबाले यो वर्ष क्रान्तिको ६० औं वर्षगाँठ मनायो । यो ६० वर्षमा क्यूबाले के प्रमाणित गर्यो भने विश्वव्यापी तापक्रमका कारण समुद्र सतह बढेर नडुबेसम्म क्यूबालाई कुनै पनि विश्वशक्ति वा पश्चिमा ताकतले छिन्नभिन्न बनाउन सहज छैन । आफ्नै वैचारिक मूल्य र मान्यताबाट क्युवाले आर्जन गरेको यो विश्वास विश्वका समाजवादी धारका लागि सधैं महत्वपूर्ण रहँदै आएको छ ।

    अहिले पनि विश्वको समाजवादी ध्रुवमा क्यूवाको महत्व र भूमिका गौण भइसकेको छैन । बरु पछिल्ला वर्षमा क्यूबाले समाजवादी मुहिम अगाडि बढाउन बढीभन्दा बढी राजनीतिक मञ्चको उपयोगमा आफूलाई व्यस्त बनाइरहेको छ । ऊ नेपोलीदेखि नेपालसम्म व्यस्त छ । विश्व क्रान्तिका नायक एवम् क्यूवाली क्रान्तिका एकजना कमाण्डर अर्नेष्टो चे ग्वेभाराकी छोरी अलेइडा ग्वेभारा र द क्यूबन फाइभ समूहका महत्वपूर्ण सदस्य फर्नाण्डो गोञ्जालेजको विश्वव्यापी दौडाहाले पनि यसलाई पुष्टी गर्छ ।

    द क्यूबन फाइभ

    क्रान्तिलगत्तैदेखि क्यूबाले प्रतिक्रान्तिका बाछिटा भोग्दै आएको छ । कम्युनिष्टविरोधीहरुले क्यूबालाई समाजवादी धारबाट अलगथलग राख्न अनेक यत्न पनि गरेका छन् । कोरु, अल्फा ६६, ओमेगा ७, अपरेशन मंगुस केही दृष्टान्त मात्र हुन् । यही सन्दर्भमा क्यूबाबाट भागेर अमेरिका शरण लिन पुगेको समूहबाट फिडेल क्याष्ट्रो नेतृत्वको सरकारविरुद्ध हुनसक्ने आक्रमणको बिवरण लिन क्यूबा सरकारको तर्फबाट पाँचजनाको एउटा समूह अमेरिका पुग्छ । तर अमेरिकाविरुद्ध जासुसी गरेको आरोपमा ती सबै गिरफ्तारीमा पर्छन् । यो २१ वर्षअगाडि अर्थात् सन् १९९८ को घटना हो । अमेरिकी सुरक्षाकर्मीको नियन्त्रणमा परेका पाँचजनामा थिए रेने गोन्जालेज, गेरार्डो हर्नान्डेज, एन्टोनियो ग्वेयरो, रामोन लाबानिनो र फर्नान्डो गोञ्जालेज । यसमध्ये १३ वर्ष अमेरिकी कारावास भोगेर रेने र १६ वर्षपछि फर्नाण्डो गोन्जालेज रिहा भए । बाँकि ३ जना अमेरिका र क्यूबाबीच बन्दी आदानप्रदान गर्नेक्रममा पाँच वर्षअगाडि रिहा भए । यी पाँचैजनालाई अहिले पनि क्यूबामा द फाइभ हिरो, द क्यूबन फाइभ आदि नामले चिनिन्छ ।

    फर्नाण्डो गोन्जालेज तिनै व्यक्ति हुन् जो रिहा भएर क्यूबा फर्कंदा राष्ट्रिय उत्सवसरहको कार्यक्रम आयोजना गरियो । राष्ट्रपति राहूल क्यास्ट्रोलगायतका उच्चपदस्थ सरकारी अधिकारीले आतशबाजी नै गरे । लगत्तै गोन्जालेजले ‘सोलिडारिटी विथ क्यूबा’ नामक संस्थाको जिम्मेवारी सम्हाले । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनसँग समन्वय गरेर दुई देशबीचको ६० वर्ष लामो तीक्तता न्यून गर्न, ६० वर्षदेखि क्यूबाविरुद्ध लागिरहेको नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय जनमत तयार गर्न उनको भूमिका महत्वपूर्ण रहेको क्यूबाको राष्ट्रिय समाचार संस्था एसिएनका समाचारमा पनि देख्न सकिन्छ ।

    उनै हर्नाण्डेजको नेतृत्वमा बिद्रोहका ट्रेडमार्क चे ग्वेभाराकी छोरीसमेतले दुई महिनाअघि महत्वपूर्ण नेपाल भ्रमण गरे । सन्दर्भ थियो क्यूबाप्रति ऐक्यवद्धताका लागि नवौं एसिया प्रशान्त सम्मेलन । नेपाल पुग्नुअघि हर्नाण्डेजको टोलीले भारतमा चे ग्वेभाराको भारत भ्रमणको ६० औं स्मृति वर्ष पनि मनायो आइसीएपी संस्थामार्फत् । त्यतिबेला हर्नाण्डेजले नेपाल भ्रमणको सन्दर्भमा ‘तीनवटा अभिष्ट’ अभिव्यक्त गरेका थिए । पहिलो, भेनेजुयलाको सार्वभौमसत्ताका लागि क्यूबामार्फत शसक्त आवाज उठाउनु । दोस्रो, ब्राजिलका पूर्व राष्ट्रपति लुलाको गैरन्यायिक कारावासविरुद्ध अन्तर्राष्ट्रिय जनमत तयार गर्नु । र, प्रतिक्रियावादीहरुका सबैखाले अन्यायविरुद्ध संगठित ऐक्यवद्धता खोजी गर्नु (समाचार, रेडियो हवाना क्यूबा, जुलाई २४) । चीन, उत्तर कोरियालगायतका देशहरुको भ्रमणपछि नेपालको समाजवादी मञ्चमा पुगेर हर्नाण्डेजले परिवर्तित बैचारिक विश्व सन्दर्भमा पुष्पकमल दाहाल प्रचण्डको ‘लाइन र लिडिंग’प्रति थपडी बजाउनु फगत ठ्ट्टा होइन ।

    प्रचण्डको ‘घुयँत्रो’

    गत वर्ष माघ १० मा नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा विज्ञप्ती सार्वजनिक गरे । विज्ञप्ती भेनेजुयलाको राजनीतिमा भएको ‘अन्तर्राष्ट्रिय हस्तक्षेप’को विपक्षमा थियो । विज्ञप्तीमा दाहालले ‘भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा भेनेजुयलाको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको’ ठहर गरेका थिए ।

    विज्ञप्तीले नेपाली राजनीतिको पारो ह्वात्तै तात्यो । घटनाक्रम कसरी विकसित भयो भने नेपालस्थिति अमेरिकी दुतावासले नेपाल सरकार र नेकपा पार्टीको आधिकारिक धारणा माग गर्यो, पार्टीका वैठकहरुमा गरामागरम बहस भए, प्रतिपक्षले चर्को टिप्पणी गर्यो । प्रधानमन्त्रीले प्रचण्डको वक्तव्यलाई ‘जस्टिफाई’ गर्दै हिंड्न प¥यो । कतिपय ‘यूट्युबे सेलिब्रेटी’ले त लौ अब अमेरिकाले नेपालको सरकारै ढाल्दिन्छ समेत भन्न भ्याए । तर उनीहरुले अनुमान नै लगाउन सकेनन् ‘भाषा सुधारेर’ सरकार र पार्टीले नै प्रचण्डको वक्तव्य सही भएको ‘ठप्पा’ लगाइदिएपछि विश्वको समाजवादी ध्रुवमा नेपालले आफ्नो उपस्थिति कति मजबुत बनायो । अर्थात् प्रचण्डको घुयँत्रोले सही निशाना भेट्यो । यसलाई क्यूबा न्यूजमा प्रकाशित लामो आलेख र त्यसपछि एसिएनमा छापिएको विचारले पनि पुष्टी गर्दछ । मान्नुस या नमान्नुस्, विश्वको समाजवादी ध्रुबमा पुष्पकमल दाहाल प्रचण्डले एउटै विज्ञप्तीमार्फत अर्को खुड्किलो चढे । प्रचण्डको घुयँत्रोलाई नेकपाले नै पनि तत्काल ठम्याउन सकेन, प्रतिपक्षीको त के कुरा । भेनेजुयलाको राजनीतिक अस्थीरतालाई नजिकबाट निंयालिरहेका विश्वभरको समाजवादी ध्रुवले नेपालको विशेषगरी प्रचण्डको वक्तव्यलाई ‘बहादुरीपूर्ण’ करार गर्यो । र, त्यसको ताजा परिणाामहरु सँगसँगै देखिन थाले ।

    त्यो प्रकरणको केहीअघि अन्नपूर्ण क्षेत्र र कुरिनटारमा नेपालको शसस्त्र प्रहरी र अमेरिकी सेनाको संयुक्त तालिमको विषय रोकिएको थियो (यो अभ्यासको निरन्तरताबारे फेरि चर्चा शुरु भएको छ) । संसद्मा नेकपाका प्रभावशाली नेताले यो वा त्यो बहानामा नेपाललाई इण्डो–प्यासिफिक स्टाटेजी (आइपिएस) को घेरामा ल्याउन भइरहेको प्रयासबारे गम्भीर मुद्दा उठान गरेका थिए । तर जसै त्यो अभियान अपूर्ण नै रह्यो त्यसले समाजवादी ध्रुवको एउटा बलियो ‘अलाइन्स’मा नेपालबारे अर्को सकारात्मक धारणा बनाउन मद्दत गर्यो । यसलाई समाजवादीहरुको बौद्धिक विलासको थलो अर्थात् राजनीति, अर्थतन्त्र र सँस्कृतिमा समाजवादी जनमत तयार गर्ने ‘ज्याकोविन’ ले समेत घनिभुत ठहर गर्यो ।

    भइदियो के भने साउनमै भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोका छोरासहितको टोलीले नेपाल भ्रमण गरेर प्रचण्डको विज्ञप्तीको महत्व प्रष्ट पारिदिए । ‘बेला न कुबेला भेनेजुयला’ भनेर ठट्टा गर्नेहरु ठण्डा भए । काठमाण्डौमा क्यूबाप्रति ऐक्यवद्धताका लागि नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको अन्तर्यमा त्यही भेनेजुयलाको विषय छलफलको मुख्य ‘एजेण्डा’ थियो भनेर हल्ला र ठट्टा गर्नेहरुले ठम्याउन नसक्नु स्वभाविकै थियो । तर यहाँसम्म आइपुग्दा समाजवादी ध्रुवमा नेपालको स्थान र भूमिकाबारे गम्भीर बैचारिक बहस नछेडिनु चाँहि अपत्यारिलो छ ।

    गत वर्षकै भदौमा काठमाण्डौमा भएको चौथो बिमस्टेक सम्मेलनलगत्तै बिमस्टेक सैन्य अभ्यासको विषयले भू–राजनीतिमा स्थान लियो । आतंकवाद नियन्त्रण र सीमापार आतंकवाद नियन्त्रणमा केन्द्रित रहेर भारतको पुणेमा हुने भनिएको उक्त संयुक्त सैन्य अभ्यासको परिकल्पनाकार भारतीय संस्थापन थियो । स्वार्थ पनि स्वभावतः उसैको हुने भइहाल्यो । पृष्ठभूमिमा स्थगित सार्क सम्मेलन थियो, ब्रिक्स सम्मेलन थियो र गोवा घोषणापत्र पनि थियो । क्षेत्रीय आर्थिक र प्राविधिक सहकार्यको स्थानमा सैन्य अभ्यासले स्थान पाउने क्रम बढेसँगै नेपालले क्षेत्रीय भूराजनीतिक मामिलामा महत्वपूर्ण निर्णय लिएर उक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरिदियो । विश्लेषकहरुले यसलाई ‘भारतीय स्वार्थबाट एक कदम पर रहने नेपालको निर्णय’ भने र ‘विमस्टेकमार्फत पाकिस्तान र चिनविरुद्ध सैनिक गठबन्धन बन्नसक्ने गन्ध पहिचान गर्नु’ लाई नेपालको परिपक्व निर्णय ठाने । तर यो निर्णयको आयामले समाजवादी कित्तासम्म पुर्याएको सञ्चारको हामीले लेखाजोखा चाँहि गरेनौं ।

    फेरि पनि प्रचण्ड

    पछिल्लोपटक प्रचण्डले शहीद प्रतिष्ठान नेपालको ११ औं साधारणसभामा असाधारण वाक्य बोले । उनले भने ‘इतिहासमा हामीले गरेको कर्मका कारण हामीलाई विरोधी र दुश्मनले पछ्याइरहेका छन् । इतिहासमा समान प्रकृतिको कर्म गरेका हामीलाई सधैं एकै स्थानमा उभिनपर्ने परिस्थिति तयार गरिरहेका छन् ।’ प्रचण्डको आशय द्वन्द्वकालीन मुद्दालाई व्यापार विनिमयको साधन बनाइरहेको देशभित्रैको एउटा समूह र त्यसलाई पूट दिइरहेको अन्तर्राष्ट्रिय शक्तिकेन्द्र हो र थियो भनेर अनुमान लगाउन कुनै पण्डित भइराख्न पर्दैन । सुन्दा सामान्य लागे पनि यसभित्र वैचारिक राजनीतिको एकमुष्ठ सन्देश निहित थियो ।

    यसको एक दिन अगाडि भदौ २९ गते बिआरआईबारे आयोजित एउटा कार्यक्रममा प्रचण्डले स्पष्ट शब्दमा ‘बिआरआइले कुनै सैन्य अभ्यासको परिकल्पना गर्दैन, कुनै शक्तिकेन्द्रको परिकल्पना गर्दैन’ भन्दै इण्डो प्यासिफिक स्टाटेजीको काउन्टरमा अर्थपूर्ण सन्देश दिए । यसको पनि एक दिन अगाडि भदौ २८ मै प्रचण्डले इलामबाट विमष्टेक र इण्डो प्यासिफिक अभ्यासलाई उस्तै मात्र होइन एउटै दर्जामा राखेर आफू त्यस्ता सबैखाले गठबन्धनको विपक्षमा रहेको बताएर बैचारिक ध्रुवीकरणमा उभिरहने आधार बलियो बनाए ।

    प्रचण्डले चिनियाँ परराष्ट्रमन्त्रीसँगको भेटमा भएका संवादको आधारमा चिनिया परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको एउटा प्रेस नोटमा अहिले पनि हामी घुमिरहेका छौं । खासमा त्यो प्रेस नोट थियो, न चिनिया सरकारको न चिनियाँ परराष्ट्र मन्त्रालयको नै आधिकारिक वक्तव्य थियो । तर त्यसको तरंग महाराजगञ्जको अमेरिकी दुतावासदेखि अमेरिकाको वाशिंगटन डिसीसम्म फैलियो । नयाँदिल्लीदेखि बेइजिंगसम्म तन्कियो । प्रतिपक्ष त्यहीं झुत्ती खेलिरह्यो । यही नै प्रचण्डको कला हो । उनले फालेको घुयँत्रोले एकैपटक अनेक निशानामा बाजी मार्छ ।

  • शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

    शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

    भीमनारायण श्रेष्ठ

    ​काठमाडौँ उपत्यका प्रवेशको एक प्रमुख पश्चिमी नाका शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवको रूपमा बर्षेनी कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि मंसीर कृष्ण प्रतिपदाका दिनसम्म (तीन दिन) धुमधामकासाथ सिद्धिगणेश र महालक्ष्मीको जात्रा मनाइन्छ । यस जात्रालाई स्थानीय बासिन्दा सिन्दूर जात्राको नामले पनि चिनाउँछन् । कसैले यसलाई थानकोटको जात्रा पनि भन्ने गरेको पाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्लचतुर्दशी (बैकुण्ठचतुर्दशी) का दिनमा छ्वय्ला भ्वय् (पोलेको मासुको परिकार सहितको भोज) बाट शुरू हुन्छ । सोही दिन मध्यरातमा महालक्ष्मी मन्दिर अगाडि तान्त्रिक विधिबाट होम गरी देवीदेवताहरू आह्वान गरी पूजा आराधन हुन्छ । त्यसको भोलिपल्ट कार्तिक शुक्ल पूर्णिमाका दिन बिहानैदेखि घरघरबाट देवीदेवताहरूको पूजाआजा सकी गच्छे अनुसार भोजको परिकार तयार गरी आनन्दकासाथ मू भ्वय् (मुख्य भोज) खाने गरिन्छ । साँझपख यहाँको आराध्यदेव भगवान आदिनारायणको जात्रा हुन्छ । त्यसको भालिपल्ट (प्रतिपदाका दिन) बिहान खटमा विराजमान सिद्धिगणेश र महालक्ष्मीको प्रतिमूर्ति सहितको खटजात्रा शुरू हुन्छ । यही खटमा विराजमान सिद्धिगणेश र महालक्ष्मीको जात्रामा स्थानीय सरकारी गूठीका जुवाः (मूल पूजारी) को नेतृत्वमा अन्य सदस्यहरू सहित स्थानीय प्रशासनिक निकायका पदाधिकारीहरू एवं गन्यमान्य भद्रभलादमीहरूद्वारा सिन्दूर चढाउने गर्दछन् । त्यसैले यस जात्रालाई सिन्दूरजात्रा भन्दछन् । अन्तमा सोही दिन बेलुका चाफलटोलमा विराजमान गराईएका अनन्त भैरबसँग त्वाय् चिँकेगु (मित लगाउने) कार्य पश्चात जात्रा सम्पन्न हुन्छ ।

    ​उपत्यकाका अन्य प्राचीन बस्तीहरू जस्तै थानकोट पनि निकै पुरानो ऐतिहासिक स्थल मानिन्छ । हालसम्म प्राप्त ऐतिहासिक तथ्य अनुसार आजको यो थानकोट ऐतिहासिक शोणितपुर नगरीको राजधानीको रुपमा प्रसिद्धि पाएको अति सुन्दर रमणीय ठाउँ हो । प्रचीनकालमा सुप्रभानगरी नामाकरणबाट प्रख्याति पाएकोे यो सुन्दरनगर द्वापरयुगमा वाणसुरले सुनैसुनको पुर (नगर) बनाई दिएकाले सुनितपुर हुँदै शोणितपुर नाम रहन गएको भनिन्थ्यो । वाणासुरका समयमा शोणितपुरको राजधानी भएको र अझपछि प्रशासनिकको साथै सामरिक दृष्टिकोणबाट समेत अति महत्वपूर्ण रहेको स्थान कोतघर समेत यसै नगरीमा रहेकाले यसलाई चल्तीको भाषामा स्थानकोट नाम रहदैं हाल थानकोट भनिन थालिएको पाइन्छ ।

    ​शोणितपुर (थानकोट) मा मानवबस्तीको क्रमसँगसँगै समृद्ध र सुदृढ समाजको पनि विकास भई सु–सँस्कृतिले भरिपूर्ण भएको पाइन्छ । यसैको ज्वलन्त उदाहरण हुन् ।परापूर्वकालदेखि मानी आएको ऐतिहासिक महत्वको विभिन्न साँस्कृतिक पर्व तथा जात्राहरू मुख्य रूपमा छन् । नेवार समुदायको विशेष बाहुल्यता भएको यहाँ (शोणितपुर अर्थात थानकोट) को समाजमा नेवार सम्प्रदायको विभिन्न जातजाती बीच आर्थिक, सामाजिक, धार्मिक एवम् सँस्कृति र साँस्कृतिकको साथै सुसंस्कार समेतको सहिष्णुता कायम रहेको पाइन्छ । कुनैपनि जात्रा र पर्वहरू मनाउन सबै जातजातिहरूको सहभागितामा एकआपसमा आ–आफ्नो क्षेत्रको महत्वपूर्ण जिम्मेवारीकासाथ कर्तव्यपरायण भई सहजै सम्पन्न गर्दै आएको पाइन्छ । यसैले आजसम्म पनि परम्परादेखि चल्दै आएको साँस्कृतिक महत्वका जात्रा तथा पर्वहरू निर्वाधरुपमा सुसम्पन्न हुँदै आएको छ । त्यसैले प्राचीनकालदेखि चल्दै आएको साँस्कृतिक जात्रा तथा पर्वहरूलाई जीवन्तरुप दिन र प्रस्तुत गर्न सफल हुँदै आएको छ । यसैको ज्वलन्त उदाहरण हो शोणितपुर (थानकोट) को सिन्दूरजात्रा ।

    ​यो सिन्दूरजात्रा कार्तिक शुक्लचतुर्दशी (बैकुण्ठ चतुर्दशी) को दिनमा आरम्भ भई कार्तिक शुक्लपूर्णिमाको भोलिपल्ट (प्रतिपदाको दिन) समापन हुन्छ । सिन्दूरजात्राको क्रममा कार्तिक शुक्लचतुर्दशीका दिन महालक्ष्मीद्यः पिहाँ बिज्याकेगु÷पिकाय्गु (गठीयारको घरमा राखेका महालक्ष्मीको धातुको मूर्ति मन्दिरमा ल्याएर राख्ने), ह्वोँ याय्गु (होम गर्ने), पूर्णिमाका दिन नाराँद्यः (आदिनारायण देवता) जात्रा, गणेद्यः (गणेश देवता) कुहाँ बिज्याकेगु र थहाँ बिज्याकेगु (सिद्धिगणेशस्थानको मन्दिरमा लाने र ल्याउने), पूर्णिमाको भोलिपल्ट बिहानीपख द्यः खतय् तय्गु (देवमूर्ति खटारोहण गर्ने), भैरद्यः (ठूलो ताममाको घ्याम्पोमा भैरबको प्रतिमूर्ति सहित सज्जित) कुहाँ बिज्याकेगु र थहाँ बिज्याकेगु (गाउँको पुच्छारमा अवस्थित मसानघाटमा अवस्थित अनन्त भैरबस्थानमा लाने ल्याउने) प्रारम्भिक चरणको कार्यहरू सम्पन्न भए पश्चात सिद्धिगणेश र महालक्ष्मीको सिन्दूरजात्रा शुरू हुन्छ ।

    ​जात्राको पहिलो दिन कार्तिक शुक्लचतुर्दशीका दिनमा राँगो काटेर त्यसैको विभिन्न परिकार मध्ये विशेष गरी पोलेको मासुको परिकार तयार गरी भोज खाने भएकाले छ्वय्ला भ्वय् भनिन्छ । यसै दिनमा सर्वप्रथम महालक्ष्मीद्यः पिहाँ बिज्याकेगु÷पिकाय्गु (महालक्ष्मीको धातुमूर्ति गुठियारको घरबाट मन्दिरमा राख्ने), मन्दिरमा विराजमान गराइन्छ । सोही दिन राति मन्दिरप्राङ्गणमा तान्त्रिक विधिबाट विभिन्न देविदेवता आह्वान गरी ह्वोँ याय्गु अर्थात होम गर्ने गरिन्छ । ह्वोँ गुठी अर्थात होम गुठीद्वारा तयारी गरिने पूजामा आचाःजु (तान्त्रिक विधिबाट पूजा गराउने व्यक्ति) ले जुवाः (स्थानीय सरकारी पूजाआजाका लागि पूजारीको रुपमा नियुक्त व्यक्तिहरू मध्येबाट दशैंमा कोतघरमा घटस्थापना गर्ने मुख्य व्यक्ति) थकाली भई पूजाआजा गरी बोका बलि दिने गरिन्छ । परापूर्वकालमा यो होम गर्दा पञ्चबली (एक÷एक जोर माछा, सर्प, भ्यागुता, गँगटो र बोका) बलि दिने प्रचलन रहेको भनाई पनि छ । हाल ती पञ्चबलि दिँदा माछा, सर्प, भ्यागुता, गँगटोको प्रतिक स्वरुप तान्त्रिक विधि अनुसार प्रतिस्थापन गरिएका सामाग्रीको बलि दिने गरेको छ । बोका बलि भने यथावत् नै दिँदै आएको पाइन्छ ।

    ​जात्राको दोस्रो दिन अर्थात् पूर्णिमाको दिन बिहानीपख यहाँका गोपाली समुदायको गुठी (गोपाल बंशका सन्तत्तीहरुको भैरब देव गुठी) द्वारा जात्रा हुने क्षेत्रको (ईलाका) सुरक्षार्थ लण्ठ टोलस्थित क्षेत्रपालको पूजाआजा गरिन्छ । यसको अर्थ होम गरी देवीदेवतालाई आह्वान गरिसकेपछि जात्रा हुने क्षेत्रको रक्षार्थ क्षेत्रपाललाई राङ्गो बली दिई पूजा गर्ने चलन छ । क्षेत्रपाल पूजामा सबैको सुख, शान्ति र समृद्धिको कामना गर्दै जात्रा हुने ईलाका (क्षेत्र) भित्र कुनै दुष्ट प्रवृत्तिले अभिप्रेरित भूतप्रेत÷प्रेतात्मा आदिले प्रवेश गर्न नसकुन् भनी स्थानीय देसार समुदायको गुठीको तर्फबाट भात छर्न जाने परम्परा पनि रही आएको पाइन्छ । तान्त्रिक शक्तिको आधारमा भातलाई जुठोको रूपमा मानिन्छ । भातले घेरिएकोे सीमाभित्र कुनै दुष्ट छिर्न नसक्ने विश्वास पनि रहेको पाइन्छ । यहाँको क्षेत्रपाल पूजाको लागि गोपाली गुठीबाट तयारी गरिए तापनि खड्गी समुदायको गुठीका थकाली समेत मूल पूजारी भई पूजाआजा गरी राङ्गो बली चढाइन्छ ।

    ​यसैगरी पूर्णिमाको शीतल जुनेली रातमा सर्वप्रथम यहाँका आराध्यदेव भगगान आदिनारायणको धातुमूर्ति खटमा राखी बाजागाजाकासाथ जात्रा गर्दै गाउँ परिक्रमा गराइन्छ । यस बखत खटलाई नचाउँदै रमाइलो गरिन्छ । सो खटलाई आदिनारायण मन्दिर प्राङ्गणबाट स्थानीय च्वछेँ, सिकःछेँ, कोतघर, चाफल, नासल, बाकुननी, ताहाफल, लायब टोल हुँदै परिक्रममा गरी पुनः ताहाफल, बाकुननी, लण्ठ टोल परिक्रम गराई आदिनारायण मन्दिर प्राङ्गण पुर्याउँछ । त्यसरी देवतालाई प्रत्येक भक्तजनको घर–घरमा दर्शनार्थ पुर्याइने परम्परा छ । यसरी भगवान् आफ्ना घरआँगनमा ठूलो उत्सव मनाउँदै आएको खुशीमा भक्तजनहरूले पनि प्रत्येक घरबाट श्रद्धाभक्तिपूर्वक पूजाआजा गरी हार्दिक स्वागत र सम्मान दर्शाउने गर्दछन् । रातमा भगवान आदिनारायणको जात्रा सम्पन्न हुन्छ । पुनः भगवान आदिनारायणको मूर्तिलाई खटबाट फर्काएर मन्दिरमा विराजमान गराए पछि आदिनारयाणको जात्रा विर्सजन हुन्छ । स्मरणीयः शोणितपुर, थानकोटस्थित प्रसिद्ध आराध्यदेव भगवान आदिनारायणको मेला आश्विन शुक्लपूर्णिमादेखि कार्तिक शुक्लपूर्णिमा (एक महिना) सम्म लाग्छ । श्रद्धालु भक्तजनहरू यस अवधिभर विशेष पूजाआजा गरी मेला भर्ने कार्य पनि गर्दछ । त्यसपछि कार्तिक शुक्लपूर्णिमाका दिन साँझ भगवान आदिनारायणको खटजात्रा हर्षोल्लासकासाथ मनाई गाउँ परिक्रमा गराइन्छ ।

    ​त्यसपछि भोलीपल्ट बिहानीपख भैरःद्यः (अनन्त भैरबको प्रतीक जाँड राखिएका तामाको घ्याम्पोेमा भैरबको प्रतिमूर्ति मुकुण्डो राखिएको) सिङ्गारपटार गरी कुहाँ बिज्याकेगु (घरमा राखिएका ती अनन्त भैरब गाउँको पुछारमा रहेको मसानघाटस्थित भैरबस्थानमा लाने) काम हुन्छ । मसानघाटस्थित अनन्त भैरबस्थानमा लगी विधिविधान अनुसार पूजा आराधना गर्ने गरिन्छ । यो पूजा आराधना तथा भोज खाँदा स्थानीय जुगि समुदायका गुठीका मुख्य व्यक्ति (कुसुले थर) थकाली हुने गर्दछ । त्यसपछि पुनः भैरःद्यः थहाँ विज्याकेगु भनी भैरबको प्रतिक ध्याम्पो बोकेर ल्याई चाफल टोलमा भैरबको मण्डपमा विराजमान गराईन्छ ।

    ​त्यसपछि मात्र सिन्दूरजात्राको लागि महालक्ष्मी मन्दिर प्राङ्गणमा भेला भएका श्रद्धालु भक्तजनहरू बीच जात्रासँग सम्बद्ध गूठीका पदाधिकारीहरूद्वारा गणेश र महालक्ष्मीको छुट्टाछुट्टै खट सिन्दुरजात्राको लािग तयारी गर्दछ । सिन्दुरजात्राको लागि बिहानै कोतघरबाट बाजागाजाकासाथ सिन्दूर लिएर जुवाः (स्थानीय सरकारी गूठी कोतघरका पूजारी) को नेतृत्वमा पूजारी टोली, स्थानीय प्रशासनिक निकायका पदाधिकारीहरू एवं गन्यमान्य भद्रभलादमीहरू सहित सिन्दूरजात्रा आरम्भको लागि महालक्ष्मी मन्दिर प्राङ्गणमा भेला हुन्छन् । यो टोली पुगेपछि सिन्दूरजात्रा आरम्भ हुन्छ । सिन्दूरजात्राको लागि त्यहाँ पुगेका टोलीद्वारा जात्रा गर्दागर्दै खटमा रहेका देवीदेवतालाई सिन्दूर चढाउने गर्दछन् । त्यसैले यस जात्रालाई सिन्दूरजात्रा भनेको हो । यसपछि जात्रा दिनभर टोलटोलमा परिक्रमा गराइन्छ ।।

    ​यो जात्रामा सहभागी हुन छिमेकी, आफन्त, नातागोताहरुको उल्लेख्य सङ्ख्यामा आउने चलन छ । जात्रामा भेटघाट, भलाकुसारी र भोजभतेर आदिसँगै जात्राको उल्लासमय वातावरणमा सबै एकप्रकारले रमाइरहेका हुन्छन् । पाहुनापासाको स्वागत सत्कार गर्नु र देवीदेवताको पूजा आराधना गर्ने यस अवसरमा स्थानीय बासिन्दाको प्रमुख दायित्व नै हो । यही दायित्व निर्वाह गर्न प्रत्येक घरपरिवारमा छाएको उत्साह र खुशियाली आगन्तुकका लागि आनन्दको संयोग हुन्छ । भरखर धानबाली भित्राई अन्नले भरिपूर्ण थानकोटवासी, शित्तल मनोरम वातावरण, जात्रालुहरु बीचको भलाकुसारीकोसाथै भोजभतेर आदिले गर्दा मनममोहित भई छुटृै संसारमा विचरण गरी रहेको अनुभव हने । सोही जात्राको अवसरमा अझ भाकल गर्ने श्रद्धालु भक्तजनहरूबाट सिद्धिगणेश र महालक्ष्मीको खटमा बोका, हाँस एवम् कुखुरा बलि चढाउने गर्दछन् । साथै स्थानीय सरकारी गूठीको तर्फबाट समेत कोतघर प्राङ्गणमा खट पुगेपछि बोका बलि दिई पूजाआजा गर्ने गरिन्छ ।​ त्यसैक्रममा उक्त रथ चाफल टोलमा पुगेपछि राती भैरद्यः (भैरव देवता) सँग त्वाय् चिंकेगु (मित लाउने) जात्राको साथसाथै जात्रा सम्पन्न भएको मानिन्छ । अझ ती रथहरू नासल टोलमा ल्याएर विसाएपछि थानकोटको सिन्दूरजात्रा सम्पन्न हुन्छ

    ​थानकोटमा मानववस्ती शुरू भएदेखि नै भैरव देवतालाई विधिपूर्वक पूजाआराधना गर्ने गरेको पाइन्छ । यही जात्राको सुअवसरमा स्थानीय गोपाली परिवारका दुईजना सुकन्याको ईही (बेलविवाह) गरिने प्रचलन पनि रहेको छ । यसमा सोही गुठीका थकाली र गूठीको पालो पर्ने परिवार मध्येका कन्याहरूलाई भैरद्यः (भैरव देवता) सँग ईही गर्ने गरिन्छ । यो कार्य भैरवको मूर्तिलाई सिकःछेँ टोलस्थित भैरवस्थानमा लगी पूजाआजा गरेपछि गर्ने गरिन्छ । यस जात्राको अवसरमा प्रत्येकवर्ष गोपाली गूठीका दुई सुकन्याहरूलाई ईही अर्थात् बेलविवाह गरिने परम्परा रहेकाले यसमा सम्मिलित हुने ती कन्याहरू अत्यन्त भाग्यशाली मानिन्छ ।

    ​यही जात्राको सिलसिलमा श्रद्धालु भक्तजनहरूबाट भाकल स्वरुप बलि सहित पूजाआजा गर्दा सिद्धिगणेशको मूर्तिमा बलि चढाउँन गदैनन् । खटमा बलि दिन्छन् । स्मरणीय यहाँ स्थित सिद्धिगणेशले रगत खाँदैनन् भन्ने जनधारणा रही आएको छ । यहाँस्थित सिद्धिगणेशलाई किन बलि चढाउँदैनन् भन्ने एउटा रोचक प्रसंङ्ग छ । परापूर्वकालमा मानव र देवीदेवताहरू बीच वार्तालाप भई भक्तजनहरूले सिद्धिगणेशको पूजा आराधना सकी बलि चढाउने बेलामा “कुन बलि लिने ? दुई खुट्टे वा चार खुट्टे अथवा आठ खुट्टे” भनी सोध्दा दुई खुट्टेको भन्दा चार खुट्टेको रगत बढी आउँछ भने आठ खुट्टेको झन बढि रगत आउँछ होला भनी बढी रगत पिउने पाउने आशामा सिद्धिगणेशले “आठ खुट्टेको बलि खान्छु” भनेछन् । त्यसै अनुसार भक्तजनहरूले स्वीकार गरेछन् । आठ खुट्टेको बलिबाट निक्कै रगत खान पाउने आशामा सिद्धिगणेश आँखा चिम्लेर मख्ख परेर बसेछन् । सोही मुताविक भक्तजनहरूले आठ खुट्टोको जीवलाई डोरी बाँधेर हैसे र होस्टेको बलमा तानेर ल्याई आँखा चिम्म गरी बसेका सिद्धिगणेशलाई आठखुट्टे जीवको बलि चढाउँछन् । निक्कै बेरसम्ममा पनि रगतको थोपा पनि झरेको थाहा नपाएपछि आँखा उघारी हेर्दा त गँगटो पो बलि चढाउन ल्याएका रहेछन् । ठूलो आशाका त्यस्तो बलि लिन पुगेकोले खिन्न मन गरी त्यसैबेलादेखि सिद्धिगणेशबाट “अवदेखि कहिले पनि बलि नलिने” भनेका रहेछन् । त्यसैले आजसम्म पनि सिद्धिगणेशको पूजाआजा गरी बलि चढाउँदा खटमा मात्र बलि दिने गर्दछन् ।

  • अझै पनि रुवाउँछ भैरेले दशैंमा

    अझै पनि रुवाउँछ भैरेले दशैंमा

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    फेरी एकपटक नेपालीहरुको महान चाड दशैं नजिकै आएको छ । दशैं वर्षमा एकपटक सत्यको विजय भएको कथा लिएर हिन्दुधर्मावलम्बी माझ ओर्लिन्छ । आस्थामनहरु आफ्नै देबीको जयमा प्रफुल्लित नहुने कुरै भएन । सबैको मनमा दशैको आगमनले उतिकै उल्लास छ । नयाँ लुगा र रमझमले केटाकेटीको मन उल्लासिदों छ । यही उल्लसित वातावरणमा केटाकेटी भएको घरबाट डमरुको टुङ्गटुङ्ग बज्न थालेको छ ।

    दशैं आयो कि धेरैको मनले झल्लास्स सम्झिने एउटा सिरियल रहेको छ– दशैं । सम्झिनुको कारणहरु, एक त त्यो महजोडीको सिरियल, दोस्रो त्यसभित्रको कथाको मार्मिकता, तेस्रो प्रजातन्त्र आगमनसँगैको परिस्थितिमा व्यवस्था फेरिएको तर अवस्था नफेरिएको परिपाटीलाई ब्यङ्ग । सानोमा दशैं टेलिसिरियल हेरेर म धेरैबेर रोएको थिएँ । सिरियलको अन्त्यमा, एउटा नाबालकको दशैंका रहरहरु टुहुरा भएकोमा सारै मन दुखेको थियो । बा मासु करायो, चपा भैरे चपा, बा डमरु भन्दै छोराले बाबुको अगाडि पिन्चे अनुहार देखाउँदा, ‘धिवा मरु डमरु, डमरु’ भैरेको यो डाइलग अझै पनि मेरो कानमा गुँजिन्छ । र, सोचमग्न हुन्छु, भैरेलाई मैले काँचको पर्दामा देखेको लगभग चौबीस बर्ष भइसक्यो अव त पक्कै पनि भैरेका दिन फिरिसकेका होलान् । चौबीस बर्षअघि प्रस्तुत त्यो सिरियलको भैरेको आजको अवस्था कस्तो भयो ? उस्को छोराको  दशैं बाउकै अभावको बिरासतमा चलिरहेको छ कि कतार, साउदी या कोरिया गएर मनग्य पैसा कमाएर त्यो अभाव टाल्न सक्ने हैसियतको भयो ? मनमा वर्षेनी एकपटक उदय हुने प्रश्नहरु हुन । आखिर नेपाल पनि नयाँ नेपाल न भइसक्यो ।

    दशैं सिरियलमा, धनीको दशैं र गरिबको दशैंलाई भिन्नाभिन्नै आयामले केलाएको छ । गरिव पात्रको रुपमा कलाकारिता निभाएका हरिवंश अर्थात भैरेको दशैं दशामा टुंगिएर समाप्त हुने सिरियलले प्रत्येक वर्ष दर्शकका आँखामा आँसु उमालेर गइरहेको छ । बीस वर्षअघि म खल्लो भएजस्तो आज छोरीले भैरेको दशैं नियाल्दै मन खल्लो बनाइन् । प्रत्येक वर्ष यही सिरियल, कथा, निरासा र सुस्केरा हामीभित्र किन ? हामी भैरेको कथा हेरेर राजकुमार दिक्पालको कथा जस्तो दन्त्यकथाको रुपमा ग्रहण गर्न किन सकेका छैनौँ ? उहिल्यै उहिल्यै दशैंले गरिब मानिसलाई यतिसम्म पिरल्थ्यो है भनेर किन मनले सहज रुपमा लिन सकेको छैन । छोरीको आँसु भन्दा चौबीस वर्ष बुढो मेरो आँसु किन आज पनि भैरेको निम्ति उस्तै उम्लिन्छ । सिरियलले अझै हाम्रो मन चिसो हुनुमा, यो समाजमा अझै भैरेहरु बाँकी नै छन् भन्ने हो ।  

    भैरे एउटा यस्तो गरीब पात्र हो, जो अभाव भोग्दछ । जोसित तल्लो दर्जाको नोकरी छ, तर पियनस्तरको सुख्खा तलब मात्रको आर्थिक उपार्जनले दैनिक गुजारा धौधौ छ । जस्को घरमा दशैं दशा भएर आउँछ र छोराछोरीको लागि नयाँ लुगा पनि प्रवन्ध गर्न सक्दैन । पोहरै टालेका लुगा यो साल नि टालेर दशैं टाल्ने यी भैरेहरुलाई सिरियलमा गरीव पात्रको रुपमा चयन गर्नु आफैमा सांयोगिक छ । भैरे गरिब हुनु उनको दोष होइन । भैरेले नेपाल जस्तो गरिब देशमा सम्पन्न, मध्यम र विपन्न परिवारले मनाउने दशैको आर्थिक अनुहार उहीँ हुँदैन भन्ने कुरामा हेक्का राख्न सकेन ।

    आज पनि दशैं आएको छ । कैयन भैरेहरु दशैंको आगमनले चिन्तित हुन थालेका छन् । दशैं होइन, दशा आएको हो भनी दशैंलाई दशाको रुपमा स्वीकार्ने यी भैरेहरु यो कुरामा अज्ञान छन् कि दशैं, दशै नै भएर आएको हो, परन्तु उनीहरुको मानसिकताले त्यस्लाई दशा बनाइयो । दशैं पारिवारिक मेलमिलाप र सदभावको चाड हो । कुनै शास्त्रमा लेखिएको छैन कि दशैं आफ्नो हैसियत छिचोलेर मान्नुपर्छ । खसी काट्नु दशैं हो र ? नकाट्नु दशैं होइन भनी पनि कुनै धर्मग्रन्थमा उल्लेख छैन । यदि अगाढ आस्था र विश्वासमा दशैं मनाउने हो भने देवीका पाऊ पशुको रगतको आहालले धुनु पर्दैन । निधारमा जमरा र रातो टीका मात्र रँगाएर पनि दशैंको भरपुर आनन्द र उल्लास हासिल गर्न सकिन्छ ।

    दशैं समानताको उत्सव हो । दशैंमा भैरेहरुले गर्व गर्न पाउनुपर्छ । कुनै धनाढ्यको कौशीवाट उडेको र भैरेको छाप्रोवाट उडेको चङ्गाले एउटै आकाश चुम्नुवाट बोध हुन्छ कि दशैंप्रति धनी र गरीबको सामाजिक र सांस्कृतिक उचाइ एउटै हो । धनीले उनका छोराछोरीका लागि कुनै महँगो सुपरमार्केटमा लुगाफाटा किनिदेलान् । भैरेहरुले पनि आफ्ना लालाबालाका लागि सस्तो बजारवाट भोटा किनिदिने हैसियत राख्न सक्छन् । धनाढयहरुको भोजनमा जस्तो चौरासी व्यजन नहोला । भैरेहरुको चुहलोबाट पनि दाल, भात, तरकारी र दुई चोक्टा मासुको मीठो गन्ध त बाफिएला ! आफ्नो हैसियतमा मान्ने हो भने भैरेहरुका लागि आफ्नो दशैं कैले पनि दशा बन्दैन ।

    सबैको आर्थिक अवस्था एउटै हुँदैन । त्यसैले हुनेखानेले दशैंलाई भड्किलो तरिकामा मनाइयो भनेर हुँदाखानेले पनि ऋण लिएर भड्किलो तरीकामा मनाउनु हुँदैन । हाम्रो पाँचै आौंलाको पनि दशैं प्रतिको अभिव्यक्ति हेरौ । कान्छो औँलालाई दशैंप्रति कति उल्लास छ र यी भन्छन् — दशैं आयो । काइँलो औैँला पनि प्रफुल्लित भएर भन्छन् — खाउँला , पिउँला । गरीब औँलाको प्रतिनीधित्व गर्ने साइँलो औँला भन्छन्  — कहाँबाट ल्याउँला ? माइँलो औँलाले ‘चोरील्याउँला’ भनी चोर प्रवृत्ति देखाउँछ । जेठो औँला आदर्श पात्र बन्दै ‘धत ! पापी म त एक्लै बसुँला’ भनी दशैंमा न चोर्ने, न भड्किलो तरिकामा मनाउने, बरु आफ्नो हैसियतमा कोहीसित प्रतिस्पर्धा नगरी एक्लै मनाउने अभिव्यक्त गर्छन् । भैरेले साइँलो औँलाको प्रतिनिधित्व गर्छ । यसकारण भैरेले आफ्नो हैसियत चिनेर जेठो औँलाको आदर्श बहन गर्नुपर्छ । उसले आफ्नो हैसियत अनुसार दशैं मान्नुपर्छ । कसैले पैसाको खोली बगाएर दशैं मनाउँदैमा उस्को सामाजिक हैसियत उकासिने होइन, न त कसैले कम पैसामा दशैं मनाउँदैमा उस्को समाजिक हैसियत नै निम्न हुने हो । भैरेको आस्था र बिश्वासले ढुंगामा देवीको सजीवता चलमलाउँछ भने भैरेलाई देबीले अवश्य प्रश्न गर्ने छैनन् कि तैले मेरा पाउ किन पशुको रगतले धोइनस् ? मेरो जिब्रोमा रगतका छिटा चटाइनस् ? बरु देबी, भैरेले आफ्नो हैसियतअनुसार दशैं मनाएकोमा खुसी भएर आसिक दिनेछन् ।

    सबैका लागि दशैं, दशैं नै हो, दशा होइन । ईश्वरी सबैकी हुन् । के गरिव, के धनी सवैको निधारको टीकाको तौलमा फरक छैन । सवैको कपालमा जमरा हरियै उम्रिन्छ । छ त केवल दशा हाम्रो मानसिकतामा छ । दशा हाम्रो गलत चिन्तन र आस्थामा छ । जो आफ्नो हैसियत नाप्दैन र प्रतिस्पर्धालाई पछ्याएर भैरेजस्ता समाजका गरीव पात्रले आफ्नो धरातल बिर्सन्छ । तमसुकमा बुढी औँला टेकेर भएपनि दशैं पार लाउनुपर्छ भन्ने सोचाइ भएकाहरुको निम्ति मात्र दशैं, दशा हो । यसकारण दशैं भैरेले भैरे नै भएर मनाउनुपर्छ, उस्ले अरुको सिको गर्नु हुँदैन । यो कुरा सत्य हो कि, हैसियतमा माने, भैरेको पनि दशैं नै हो, दशा होइन । दशैं, आशिषको पर्व हो र हामी नेपाली दुर्गा भवानीको कृपाले यति भाग्यमानी छौं कि यो भूगोलमा बाँच्ने प्रत्येक मानिसको निधारमा कोही न कोही ठूलाबडाको हात झुलेकै छ ।

     

  • महालय पार्वणश्राद्ध महापर्व

    महालय पार्वणश्राद्ध महापर्व

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    सनातन हिन्दु धर्म संस्कार अनुसार पितृहरुको स्मरणमा गरिने सम्मान तथा आराधनालाई श्राद्ध भनिन्छ । जिवित हुँदा मातापिताको सेवा गर्नु र दिवंगत भएपछि श्रद्धापूर्वक कृतज्ञता अर्पण गर्नु नै सन्ततिको परम कर्तव्य हो र्। श्रद्धया कृयते यत्कर्म तत् श्राद्धः अर्थात पितृहरुका निमित्त श्रद्धाले गरिने कर्म नै श्राद्ध हो । श्राद्ध अनेक प्रकारका हुन्छन् । आभ्युदयिक श्राद्ध, एकोदिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध तथा तीर्थ श्राद्ध यी प्रचलित श्राद्ध हुन् । यिनै विविध श्राद्धमध्ये अहिले पार्वण श्राद्ध चलिरहेको छ, यसलाई महालय पार्वण श्राद्ध पनि भनिन्छ । तिथिअनुसार आश्विन कृष्णपक्ष प्रतिपदादेखि अमावास्यासम्म १५ दिन तथा भाद्र शुक्लपक्षको पूर्णिमा समेत गरेर जम्मा १६ दिन पितृ कर्म गरिने भएकाले यसलाई सोह्रश्राद्ध पनि भनिन्छ । यस वर्ष तिथि अनुसार भाद्र २७ गते अर्थात् सेप्टेम्बर १३ देखि भाद्र ११ गते अर्थात् सेप्टेम्बर २८ सम्म पार्वण श्राद्ध परेको छ ।

    यस श्राद्धमा शुद्ध भई ऋषि तथा दियो स्थापना गरेर देवता, ऋषि, मनुष्य, दिव्यपितृ तथा स्वपितृको तिल मिसाइएको जलले तर्पण गरिन्छ । त्यसैगरी पितृलाई श्रद्धापूर्वक पिण्डदान दिनुपर्ने हुन्छ । यसरी तर्पण एवं पिण्डदान गरेपछि ब्राम्हण भोजन, भान्जाभान्जीलगायत आफन्तजनलाई भोजन गराउनुपर्ने हुन्छ । गाई, कुकुर, काग, कमिला तथा देव÷पितृ आदिलाई भोग लगाउने विधि शास्त्रमा उल्लेख छ । यी त प्रतिनिधि मात्रै हुन् वास्तवमा ब्रम्हदेखि सृष्टिका समस्त चराचर जगतलाई नै तृप्त गर्ने उद्देश्य श्राद्धमा रहन्छ, शास्त्रमा भनिएको छ ।

    आब्रह्मस्तम्बपर्यन्तं देवर्षिपितृमानवाः

    तृप्यन्तु पितरः सर्वे मातृमातामहादयः ।

    यसरी श्राद्ध गर्दा पिताको कुल, माताको कुल, दाजुभाइ, श्वशुर कुल, गुरmजन, साथी, मान्यवर, जीवजन्तु, वनस्पति, औषधी आदि समस्त जीव तथा प्रकृतिलाई नै सम्मान एवं आराधना गरिन्छ । भनिएको छ:

    पितृवंशे मृता ये च मातृवंशे तथैव च

    गुरmश्वशुरबन्धूनां ये चान्ये बान्धवा मृताः ।

    ते तृप्तिमखिला यान्तु ये चास्मत्तोयकांक्षिणः

    ये बान्धवाबान्धवा येऽन्यजन्मनि बान्धवाः ।।

    अतः श्राद्धले संसारका सबै कुटुम्ब हुन् भन्र्ने बसुधैव कुटुम्बकम्’ को भावना बोकेको छ । विश्वका हामी सबै एक परिवार हौं भन्ने उन्नत सन्देश श्राद्धले दिएको छ ।

    अमेरिकाको अध्यागमन विभागले आफन्तलाई दिने भिसाको मान्यतालाई नियाल्दा पनि श्राद्धमा दिइने तर्पणको क्रमलाई स्वीकार गरेको र अंगिकार गरेको प्रतीत हुन्छ । एकजनाले अमेरिकी नागरिकता प्राप्त गरेपछि निजले मातापिता, सासुसासुरा, भाइबहिनी, पुत्रपुत्री आदि परिवारको सदस्यलाई स्वागत गर्न पाउने प्रावधान छ । सम्पत्तिमाथि अधिकार नभएपनि पारि

    वारिक दायित्व एवं जिम्मेवारीको बोधलाई अवलम्बन गरेको छ । हाम्रो शास्त्रीय मान्यतामा परिवारप्रति सांसारिक जिम्मेवारी निभाउनाका साथै परलोक गएका पितृप्रति पनि अझ थप जिम्मेवारी निभाउनुपर्ने बताइएको छ ।

    मृत्युपछि केवल दुई चिज साथमा रहन्छनः जीवनभर गरिएको अशल कामको पुण्य तथा आफन्तद्वारा दिइने तर्पण एवं पिण्डदानसहितको श्राद्ध गरी अर्पित पदार्थ । मृत्युपछि सम्पत्ति घरमै रहन्छ, परिवारजन एवं बन्धुजन श्मशानसम्म साथ दिन्छन्, आफैंले पालेको शरीर चितासम्म मात्र साथ दिन्छ तर जीवनमा आर्जित परोपकारको बल तथा सन्ततिको सम्मान अनन्तकालसम्म फलदायी रहन्छ ।

    हाम्रो जीवन तीन चिजको संयोजनले बनेको हुन्छ । भौतिक शरीर, आत्मतत्व तथा बुद्धितत्व । शरीर मातापिताका कारण प्राप्त हुने भएकाले मातापितालाई देवतासमान स्थान दिइएको हो । हामी न मातापिता फेर्न सक्छौं न त आफ्नो शरीर नै फेर्न सक्छौं । त्यसैले मातापितालाई जिवित छँदा नित्य सम्मान गर्नुपर्छ र परलोक लागेपछि श्राद्ध गर्नुपर्छ । आत्मतत्व परब्रम्ह परमेश्वर भगवानको अंश भएकाले मृत्युको समय पनि जन्मनुभन्दा पहिले नै निश्चित् हुन्छ जुन हामी परिवर्तन गर्न सक्दैनौं, केवल भगवानलाई नित्य पूजामार्फत् धन्यवाद दिन सक्छौं । बुद्धितत्व भने जन्मजन्मान्तरको पुण्यकर्मले सुसंस्कारित प्रतिविम्ब हो जुन सत्संगत तथा सत्कर्मले पुनः संस्कारित एवं परिमार्जित गर्न सकिन्छ । उपर्युक्त यथार्थलाई मध्यनजर गर्दा देव तथा पितृप्रति गरिने सम्मानले स्वयंको कर्म पनि परिष्कृत एवं सभ्य हुँदै जान्छ ।

    महाभारत युद्धपछि परलोक प्राप्त गरेका दानवीर कर्णलाई त्यस लोकमा बहुमूल्य द्रव्य पदार्थ आदि भोजन गर्न अगाडि राखिदिएपछि म कसरी खानसक्छु भनी उनी ईन्द्रलाई प्रश्न गर्छन् । त्यसपछि भगवान ईन्द्र तपाईले जीवनकालमा यस्तै बहुमूल्य बस्तुमात्रै दान गरेको र पितृ श्राद्ध नगरेकाले वास्तविक भोजन दिन नसकिने बताउँछन् । अनि पितृकर्म गर्नका लागि समय मागेपछि कर्णलाई धर्तीमा पठाइन्छ र उनी यस धर्तीमा विधिपूर्वक पितृश्राद्ध गरी परलोक फर्कन्छन् । त्यसपछि कर्णले आनन्दपूर्वक परलोकमा भोजन आदि सुविधा प्राप्त गरेको विवरणले पनि पितृकर्मको महत्व स्वतः सिद्ध हुन्छ ।

    विधिपूर्वक श्राद्ध गर्नाले आयु, सम्मान, धन, विद्या, स्वर्ग, मोक्ष, सुख तथा राज्यसमेत प्राप्त हुने गरी आशीर्वाद पितृट्ठारा प्राप्त हुने उल्लेख छ;

    आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षसुखानि च ।

    प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिताः ।।

    अतः महालय पार्वण श्राद्धपक्षमा समस्त पितृको सम्मानका साथ आराधना गरौं । समस्त ध्यान पितृभक्तिमा केन्द्रित गरौं । यस समयमा देवयज्ञभन्दा पनि पितृयज्ञमा ध्यान जुटाआौं । पितृ तर्पण, पिण्डदान, अन्न आदि दान, ब्राम्हण भोजन, गाई आदि जीवसेवा तथा प्रकृति सेवामा ध्यान केन्द्रित गरौं । शुद्ध एवं सात्विक भोजन गरौं । कसैले कसैको पनि निन्दा नगारौं । विश्वको जुन कुनामा पुगे पनि स्थानीय अक्षांश, देशान्तर एवं सूर्योदयको समेत हिसाब गरी शास्त्रसम्मत विधिले पितृको श्रद्धा गरौं । सबैलाई पितृदेवको सदा आशीर्वाद प्राप्त होस् ।     

  • गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि

    गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि

    चिनमा एक जना महिलाले बच्चालाई जन्म नदिने निर्णय गर्दै ३४ हप्ताको गर्भपतन गराउँदा गराउँदै बच्चा जिउँदै जन्मिएको घटना अदालतसम्म पुगेको छ । “हु” नामकी ती महिलालाई उनको पेटमा जन्मिनको लागि तयारी अवस्थामा रहेको बच्चा अपांग भएको चिकित्सकले बताए पछि उनी गर्भ पतन  गराउने निर्णयमा पुगेकी थिईन ।  हुको निर्णय  अनुसार चिकित्सकले गर्भपतन गर्नको लागि शल्यकृया गर्दै थिए । शल्यकृयाको दौरान भ्रुणमा मुटुको चाल समेत नभएको निष्कर्ष निकाल्दै भ्रुणलाई आमाको शरिरबाट चिकित्सकहरुले अलग गरेको मात्र थिए बच्चा कराएको आवाज अकस्मात सुनियो ।  गर्भपतन गराउँदा हुन सक्न्ने सम्भाबित खतराको लागि अस्पतालका अधिकारिहरुले अनुमती समेत दिएपछि ३४ हप्ताको गर्भपतन गराउने निर्णय गरिएको थियो ।  

    घटना सन २०१६ को मार्च महिनाको भए पनि  बेजिङ्गस्थित इन्टर्मिडिएट पिपुल्स कोर्टले अदालतमा अस्पताल बिरुद्ध मुद्दा दर्ता भए पछि भर्खरै स्टेटमेन्ट जारी गरेको छ ।  

    अस्पतालको लापर्वाहीले अपांग बच्चा पाल्नु परेको भन्दै पेकिङ युभर्सिटी पिपुल्स  हस्पिटलसँग हु दम्पत्तीले १ दशमलव २२ मिलियन युआन क्षतिपूर्ती दाबी गरेका छन् ।

    श्रोत : डेली मेल

  • किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान

    किर्तिपुरका मेयरले गरे अठाईसौं रक्तदान

    किर्तिपुर

    एउटा ब्यक्ति सामान्य रुपमा आयो । सर्वसाधारणकै लाईनमा बसेर सामान्य स्वास्थ्य जाँच गरायो । स्वास्थकर्मीले अनुमति दिएपछि बेडमा पल्टियो र रक्तदानको लागि आफ्नो हात सुम्पियो । वरिपरीका व्यक्तिहरुले पछि रगत झिकिसक्दा पो थाहाँ पाए कि उहाँ त कीर्तिपुर नगरपालिकाकै मेयर हुनुहुँदो रहेछ । एक नर्सले कीर्तिपुर नगरपालिकाका मेयरलाई उदृत गर्दै भनें; ‘कति सरल ! कति महान्’ !

    आफ्नो भाई पर्ने स्व. विवेक डंगोलको पैँतालिसौं दिनको पुण्यतिथिमा पनि हँसिलो मुद्रामा, मेयर रमेश महर्जनको रक्तदान गर्दै गरेको फोटो फेसबुकमा भाइरल भयो । सामाजिक सञ्जालमा खासै आफ्नो आत्मप्रचार नगर्ने मेयरले फोटोको मुन्तिर लेखेका थिए—अठाइसौं रक्तदान । मेयरको यस कदमलाई सबैले तारिफ पनि गरे ।

    भनाई नै छ; रक्तदान जीवनदान । गीतको सार जस्तो रक्तदान, त्यो महादान हो, जो जीवनदान हो । अहिलेसम्म अठाइसौ पटक रक्तदान गरिसकेका मेयर रमेश महर्जन कीर्तिपुरमा हुने प्रायःजसो रक्तदान कार्यक्रम छुटाउँदैनन् । कीर्तिपुरका मेयर रमेश महर्जन अहिले देशैभरि, रक्तदान गरेर आनन्द लिने अर्थात ‘रक्तदाता मेयर’को रुपमा चिनिन थालेका छन् । 

  • प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

    प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

    प्रोस्टेट क्यान्सरका बिरामीहरुका लागि केही राहत मिल्ने समाचार आएको छ । आठ हप्ता लामो समय गलाएर गरिंदै आएको प्रोस्टेट  क्यान्सरको उपचार अब ५ दिनमा रेडियो थेरापीको माध्यमबाटै हुने भएको छ । गत १६ तारिख सोमबार “यानसेट मेडिकल जर्नल” मा प्रकासित एक रिपोर्टका अनुसार उपचार शुरु गरेको पाँच दिन भित्र प्रोस्टेट क्यान्सरको सफल उपचार सम्पन्न गरी सकिने नयाँ बिधि पत्ता लगाईएको छ । उपचारको यो बिधिमा पहिलाको उपचार पद्धती भन्दा कम साईड ईफेक्ट्स हुने समेत प्रष्ट पारिएको छ । कुल ८ सय ४७ जना प्रोस्टेट क्यान्सरका बिरामीहरुमा बेलायतस्थित रोयल मार्सडेन हस्पिटलका बिज्ञहरुले अनुसन्धान गरी ५ दिनमा रोगको निदान गर्न सकिने निष्कर्ष निकालिएको हो । परिक्षण उपचारार्थ अनुसन्धानमा संलग्न गरिएका कुल ८ सय ४७ बिरामी मध्ये अाधा बिरामीहरुलाई ३९ दिनसम्म गरिने उपचार बिधि अपनाईएको थियो भने बाँकी आधाको संख्यामा रहेका बिरामीहरुलाई एस् बि आर टि नामक शक्तिशाली रेडिएसन् प्रयोग गरेर ५ दिनमा नै उपचार गरिएको थियो । अनुसन्धानकर्ता बैज्ञाननिकहरुले उपचार गरिएका ति सबै बिरामीहरुलाई आगामी ५ बर्षसम्म कुन चाँहि उपचार पद्दति भरपर्दो र दिर्घकालिन हुने भनेर लगातार मुल्याङ्कन गरी रहने समेत  बताएका छन् ।  

    पुरुषमा मात्र हुने प्रोस्टेट ओखर जत्रो ग्ल्यान्डमा ट्युमर पलाउनुलाई प्रोस्टेट  क्यान्सरको रुपमा चिनिने गरिन्छ ।  बेलायतमा हरेक बर्ष झन्डै १२ हजार र अमेरिकामा २६ हजार मानिसहरुको प्रोस्टेट   क्यान्सरका कारण मृत्‍यु हुने गरेको छ । ६१ बर्षीय चर्चित कलाकार स्टेफेन फ्राईले आफु प्रोस्टेट क्यान्सर मुक्त भएपछी यसको उपचार र अनुसन्धानमा ठुलो रकम सहयोग गर्दै आएका छन् ।  

    श्रोत : डेली मेल

  • निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन

    निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन

    अर्जुनप्रसाद मैनाली / न्यूयोर्क

    पृथ्वीको भुमध्य रेखामा रहेको अफ्रिका महादेशको करिब मध्य भागमा संसारकै गरिब देश हो कंगो । प्राकृतिक स्रोतको हिसाबले भने कंगोलाई बिश्वकै धनी देशमा गन्न सकिन्छ । त्यहाँ भएका खनिजहरु निकाल्ने हो भने २४ ट्रिलियन युएस डलर भन्दा बढी हुने अनुमान गरिएको छ । तर उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबैभन्दा गरिव बनाएको छ । दोश्रो विश्व युद्धसँगै जोडिएर बल्झिएको हत्या हिँसा अहिलेसम्म सकिएको छैन । त्यहाँको जनसंख्या करिब ९ करोड र वार्षिक बजेट ७८ बिलियन अमेरिकी डलर छ । प्रतिब्यक्ती आम्दानी वार्षिक ८७० अमेरिकी डलर छ । नेपालको जनसख्या ३ करोड र वार्षिक बजेट ८४ बिलियन अमेरिकी डलर छ । तुलना गर्दा नेपालको प्रतिब्यक्ती आम्दानी वार्षिक ९१९ अमेरिकी डलर छ । हाल विश्वकै धनी देश संयुक्त राज्य अमेरिकाको जनसंख्या ३२ करोड, वार्षिक बजेट २० ट्रिलियन र प्रतिब्यक्ती आम्दानी ६२ हजार डलर छ । अहिलेको हवाइजहाजको बाटो अनुसार अमेरिकाको न्यूयोर्कबाट कगो पुग्न २० घण्टा लाग्छ भने नेपालबाट १६ घण्टा लाग्दछ ।

    हरेक बर्ष अफ्रिका महादेशमा ६ लाख गर्भवती र सुत्केरी महिलाहरुको अत्यधिक रक्तश्रावका कारणले मृत्यु हुने गरेको छ । त्यस्ता बिरामीहरुले सजिलै रगत पाउन सकेका छैनन । कुपोषण, बिभिन्न रोग लागेका कारण धेरै जसो रक्तदान गर्न सक्ने अवस्थाका छैनन । बाँकी रहेका केही स्वस्थ खालका युवाहरु रगत दिन डराउँदा रहेछन । अझ ‘मेरो शरीरको रगत अरुलाई किन दिने’ भन्ने सोच्दा रहेछन । केहीले दिइ हाले पनि ‘सित्तैमा किन दिने ?’ सोच्दा रहेछन । 

    यति बुझिसक्दा मैले अब अल्पबिकसित देशहरुमा रक्तदान अभायान बृद्धी गर्नु पर्छ भन्ने सोचें । अफ्रिकी देशहरु मलावी, युगान्डा, इथियोपिया, रुवान्डामा गएर आफ्नै रगत दान गरी केहीलाई भए पनि बचाउन प्रयास गरें । अफ्रिकाकै कंगोमा संसारकै उच्चतम मातृ मृत्युदर छ । त्यस्तै दोश्रो उच्चतम शिशु मृत्युदर छ । महिलाहरुलाई धेरै दु:ख छ । बलिया पुरुषहरुले आफ्नो स्वार्थका लागि महिलाहरुको इच्छा बिपरित दासी, बलात्कार, यौन शोषणगर्दा रहेछन । गरिबीले घरमा खानेकुरा नपुग्ने र जुटिहाले पनि महिलाको भागमा थोरै पर्दो रहेछ ।

    कंगोको यस्तो अवस्था थाहा पाए पछी सेप्टेम्बर ११, २०१९ मा त्यहाँ पनि गएर रक्तदान गरौँ भन्ने मनमा आयो । तीन महिना अगाडि मात्रै रुवान्डामा गएर रक्तदान गरेको थिएँ । रगत नै नपाएर संसारका कुनै पनि कुनामा कसैले पनि जीवन गुमाउनु नपरोस भन्ने मेरो चाहना हो । यद्यपी कहिलेकाँही थकिन हुन्छु । कहिलेकाँही मलाई एकदमै बाध्यताले त्यहाँ गएर रक्तदान गर्नु परेको जस्तो हुन्छ । सधैं हर्यास ! सधैं प्रेसर ! यो मेरो कस्तो इच्छा हो ? यो मेरो कस्तो चाहना हो ? फेरी तमाम मेरा आफ्ना दुख र समस्यालाई थाती राखी आफुलाई सम्हाल्छु  । र जुनसुकै कठिन अवस्थामा पनि आफ्नो रक्तदानको काममा कमी ल्याउनु हुँदैन भन्ने भावनाले मन भर्दछु  । यस्तो मनको आदेशमा कंगोमा नै गएर रक्तदान उत्प्रेरणा गर्ने कार्यक्रम तय गरेको हुँ । 

    कंगोमा गएर रक्तदान गर्ने मेरो योजना अमेरिकी सरकारलाई जानकारी गराएँ । अमेरिकी सरकारले आफ्नो नागरिकहरुलाई कंगोमा तत्काल नजान र गईहाले पनि सावधानी अपनाउन सुचना जारी गरेको रहेछ । कङोमा राजनीतिक द्वन्द, जातीय द्वन्द, लुटपाट, अपहरण, चोरी, हत्या जस्ता हिंसा हुदो रहेछ । बिस बर्षको अबधिमा ५४ लाखले अकालमै जीवन गुमाइ सकेका रहेछन । अझ एचआईभि एड्स, झाडा पखला, औलोको पनि उत्तिकै जोखिम रहेछ । यसका बावजुद मलाई त्यहाँ गएर रक्तदान दिन नै मन लाग्यो । मैले काम गर्ने कार्यालयका सहकर्मीहरुले कंगोमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै हो भनेका थिए । मानिस जन्मे पछी एक दिन मरी नै हाल्छ । तर बाँची रहँदा अरुका लागि के गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ जस्तो लाग्यो । अरुका लागि मेरो रगत दिनु पनि म एक रक्तदाताको प्रतिभा निर्माण गर्नु जस्तै हो लाग्यो । यो कदमले अरुका लागि रक्तदान गर्न प्रेरणा पाउन सक्छन जस्तो लाग्यो ।        

    विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला रोग धेरै नै बढेको भन्दै अन्तर्राष्ट्रीय संघ संस्थाहरुको ध्यानाकर्षण गराएको एक हप्तामै कंगोमा इबोला रोगको महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रीले पदबाट जुलाई २३, २०१९ मा राजिनामा नै दिएका रहेछन । यस्तो थाहा पाए पछी जुलाई २५, २०१९ मा न्यूयोर्क स्थित कंगोको कन्सुलेटमा भिसाको लागि निवेदन दिएँ । त्यतिखेर मसँग न्यूयोर्कदेखि कंगोसम्म जान-आउन हवाइजहाज टिकट थिएन । बस्नको लागि होटेल बुक पनि गरेको थिइन । त्यसैले मेरो निवेदन स्विकृत भएन । मैले त्यहाँका अधिकृतलाई ‘तपाइले मेरो पासपोर्ट राम्रोसँग हेर्नु त भयो नि?’ सोधें । मैले अमेरिकन पासपोर्ट छ भनेर फुर्ती लगाउने कुरा पनि भएन । बिगत ६ बर्षमा १६ देशमा रक्तदान उत्प्रेरणा गराउन जाँदा लिएका भिषा र छापहरुले भरिएर पासपोर्टमा दुई पेजमात्र बाँकी थिए । निन्याउरो मुख लगाएर घर फर्किदा बाटोमा मनमा कुराहरु खेल्न थाले ‘कंगोमा रक्तदानबारे जनचेतना कम भएर चाहिने जतिले रगत दान गरी रहेको अवस्था छैन, म आफ्नै खर्चमा गई रगत दान गर्छु, रक्तदान गर्न उत्साह जगाउँछु भन्दा पनि भिषा नै दिएनन् !

    भगवानले ‘तँ आँट म पुर्याउछु’ भने जस्तै मैले आटें । र त्यस कार्यको लागि समुदायका मेरा साथीहरुको आशिर्वाद र केही आर्थिक सहायता पाउन ‘गो फण्डमी’ कार्यक्रममा मेरो कुरा राखें । साथीहरुले सहयोग पनि गर्न थाल्नु भयो । गोफण्ड मार्फत (गोपेन्द्र भट्टराइ २५, राजन गौली १५, बसन्त चापागाइँ २०, रघु न्यौपाने २०, विश्व थापा २०, सलिल देवकोटा ५१, आरती राइ ५, हरिश हमाल १५, रेशम घर्ती १५, पशुपती पाण्डे १५, रोबर्ट एलिस २५, सुर्य लम्साल २१, दिनेश सन्ज्याल ५, राम ढकाल २०, प्रेम गुरूङ ५१, राम बिष्ट २०, शिव राइ २०, जगदिश राउत २०, भरत बास्कोटा १५, टिका ढकाल ५१, विश्व बास्तोला ५१, निराजन खड्का ५, पिपल मणी सिग्देल ५१) ५५६ डलर र ब्यक्तीगत रूपमा नगद नै सहयोग गर्नुहुने महेश खड्का १००, बिष्णु राना मगर १००, जंग पाल ५०, राधाकृष्ण देउजा २५, नारायण तिमिल्सिना २५, उद्धव हुमागाइँ ४०, उद्धव शास्त्री २०, मोहन बिष्ट ४०, जनक भण्डारी २१, रोनीश बिष्ट २० सहित जम्मा ९९७ डलर सहयोग गर्नु भएको छ। चाहिने रकम जुट्ने भएपछी साथी टिका ढकालसँग क्रेडिट कार्ड लिएर टिकट र होटेलको कोठा बुक गरें ।

    मेरो कंगो जाने टिकटको करिव दुई घण्टा केन्यामा ट्रान्जिट थियो । त्यसैले म त्यही टिकटबाट केन्यामा ओर्लिन्छु भन्ने मनसायले एअरपोर्ट गएँ । तर एअरपोर्टमा मैले त्यो टिकटबाट यात्रा गर्न पाइनँ । मैले केन्याका रक्तदाताहरुको संस्था केही सहयोग गर्छु र आफ्नो दैनिकी खर्चको लागि छुट्याएको रकमबाट नै पुन अर्को टिकट किनेँ । कस्तो अचम्म भयो भने, पहिलेको टिकटमा भएको जस्तै मिती, समय र यात्रा तालिका नै उल्लेख भएको नयाँ टिकट पाएँ । ब्यापारमा कुनै पनि मानवीय सम्बेदनामा हेरिदो रहेनछ भन्ने मलाई लाग्यो । यहाँनेर म ठगिएँ । म बेखर्ची पनि भएँ । १२ हजार किलोमिटरको दुरिको १५ घण्टाको हवाइयात्रा भरी मेरो मन रोयो तर म हतोत्साहित भईनँ । 

    नैरोबी, केन्याको एअरपोर्टमा मलाई स्वागत गर्न केन्याकी सर्बाधिक महिला रक्तदाता एैसा र पुरुष रक्तदाता अल्फा स्वागत गर्न आउनु भएको रहेछ । वहाँहरु संगै म त्यहाँको रक्तसन्चार नजिकैको होटेल हिलपार्कमा गएँ । न्यूयोर्कमा मैले वेबसाइटमा हेर्दा उक्त होटेलको रातको ७० डलर लाग्ने लेखेको थियो, तर त्यहा ११४ डलर लाग्ने बताए । होस, अब कता गएर बस्नु ? त्यसैमा बस्न फर्म भरेँ ।  

    केन्याको रक्त सन्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले म रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि नैरोबिमा आउने थाहा पाएपछी सरकारी अधिकारीहरूले पनि विशेष चासो राखेका रहेछन । किनभने उनिहरुले मेरो लागि त्यहाँ बसिन्जेलसम्म एउटा कार र ड्राइभर उपलब्ध गराएका थिए । त्यस अबधिमा म जहाँ जान पनि उक्त सुबिधा प्रयोग गर्न सक्थेँ । त्यसदिन बेलुका एनआरएन केन्याको पदाधिकारीहरुले मेरो लागि आयोजना गर्नु भएको रात्री भोजमा सहभागी भएँ । उहाँहरुलाई आफ्नो अनुकुलमा सानै भएपनी रक्तदान कार्यक्रम गर्न अपिल गरेँ । विश्व ब्यापी रुपमा मेरो रक्तदान अभियानको काम र कुरा बारेमा जानकारी गराएँ ।

    केन्याको स्वास्थ्य मन्त्रालयले मेरो लागि बिशेष कार्यक्रम नै बनाएको रहेछ; सम्भाबित रक्तदाता उपस्थित हुने समय, म कार्यक्रममा पुग्ने समय, केन्याकी सर्बाधिक रक्तदाता महिलाको मन्तब्य, केन्याको सर्बाधिक पुरुषको मन्तब्य, मेरो मन्तब्य, स्वास्थ्य मन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली कारीउकीको मन्तब्य, उपस्थित भएका हरुले मसँग फोटो खिच्ने समय, संचारमाध्यमसँग अन्तरवार्ता र मेरो रक्तदानको समय निर्धारण गरेको थियो । अझ उनिहरुले म रक्तदान नै गर्न भनेर अमेरिकादेखि केन्यासम्म आउन लागेको भनेर राष्ट्रिय पत्रीका ‘डेली नेशन’मा अधिल्लो दिनमा समाचार नै छापेका रहेछन ।      

    सोही अनुरुप म भोलिपल्ट बिहान १० बजे राष्ट्रिय अभिलेख मैदान, नैरोबीको प्राङणमा आयोजित कार्यक्रम स्थलमा पुगेँ । दुई वटा ठुला पालहरु टाँगिएका थिए । औपचारिक कार्यक्रमका लागि आवश्यक ब्यवस्था मिलाईएको रहेछ । सयौँ सर्ब-साधारण र सम्भावित रक्तदाताहरुको उपस्थित रहेको थियो । ठीक ११ बजे मन्त्रिको आगमन भयो । लाइनमा म भन्दा अगाडि स्वास्थ्य मन्त्रालयका दुई बरिष्ठ पदाधिकारीहरु हुनुहुन्थ्यो र म तेश्रो नम्बरमा उभिएको थिएँ अनी सयौँ सर्वसाधारण, सम्भावित रक्तदाता र करीब तीन दर्जन जती संचार क्षेत्रका ब्यक्तिहरु थिए । सबैसँग हात मिलाउँदै मन्त्री म उभिएको ठाउँमा अाइपुगे पछी ठक्क उभिईन ‘तपाइलाई केन्यामा स्वागत छ, तपाईं सर्बाधिक रक्तदातासँग भेट गर्न पाउदा धेरै खुशी लागेको छ, तपाईंले हाम्रो देशमा रक्तदान बढाउन साझेदारिको काम गर्नुभयो, अब मन्चतिर जाउँ’ भनिन ।      

        

    बिभिन्न क्षेत्रका अतिथिहरुले खचाखच भरिएको मन्च भएको पाल अगाडि उपस्थित भएका सयौँलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्रिले ‘वास्तबमा हाम्रो देशमा वार्षिक १० लाख युनिट रगत चाहिनेमा करीब एक लाख ७० हजार युनिट मात्रै रगत उपलब्ध हुन्छ, हाम्रो देशमा पनि स्वयमसेवी रक्तदानको सँस्कार बसाउनु पर्छ, यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका विश्व प्रख्यात रक्तदाता अर्जुन मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ उनले भनिन्। प्रमुख अतिथी मन्त्रिले सम्बोधनकै बिचमा मलाई परम्परागत केन्याको क्राउन (राजडन्डा, ह्याट र गम्छाले सम्मान गरिन । त्यसपछी मैले बोल्ने क्रममा विश्व भरी रगतकै अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भन्दै यो स्वयमसेवी रक्तदान अभियान लिएर आज तपाईंहरु सामु रक्तदान नै गर्न भनेर न्यूयोर्कदेखि आएको छु, ३२ बर्षको अबधिमा मैले १७१ पटक रक्तदान गरी सकेको छु, आज तपाईं सामु तपाईंका जनताको लागि रक्तदान गर्दै छु, अब तपाईं पनि रक्तदान गर्नुहोस, रक्तदान गरेर शरिरमा कुनै कमजोरी हुँदैन, हेर्नुहोस त मलाई, मैले यतिका पटकसम्म अरुका लागि करीब ८५.५ लिटर रक्तदान गरी सकेको छु, मेरो आफ्नै रगतले मात्रै ५१३ जनासम्मलाई बच्चाउन सहयोग हुन्छ’ भनेँ । त्यसपछी उपस्थित ब्यक्तिहरुले ताली बजाएर स्वाबास ब्यक्त गरे । मैले ६ वटै महादेशका १६ वटा देशमा गएर रक्तदान गरी सकेको छु, केन्या मेरो १७औँ देश हो ।

    मन्तब्यको कार्यक्रम सकिएपछी एकजना पत्रकारले मलाई बोलाएर अन्तरबार्ता लिन खोजेका थिए । त्यहाँ भएभरका सबै टि भि, रेडियो, अखबारका उपस्थित पत्रकारहरुले मलाई घेरी हाले । मैले किन रक्तदान गरेको, कहिलै कमजोरी हुनु भयो कि, र मैले केन्यामा नै रक्तदान गर्नु परेको कारणहरु सोधेका थिए । उहाँहरुले मबाट रक्तदानमा ठुलो अपेक्षा राखेका रहेछन भन्ने मलाई लाग्यो ।    

    त्यसपछी रक्तदान गर्ने स्थानमा गएँ । प्रमुख अतिथी मन्त्री रिवन काटेर कार्यक्रम उदघाटन गर्न मलाई पर्खि राख्नु भएको रहेछ, वहाँले मलाई रिवन काट्दा संगै राख्नु भयो । रक्त संचार सेवाकी निर्देशक डा फ्रिदाह गोवेदीले रक्तदान गर्न स्वास्थ्य परिक्षण गर्न लगिन । बिध्युतिय उपकरणबाट मेरो रक्तचाप परिक्षण गर्दा एक अंकले बढी भयो । ला ! अब रक्तदान गर्न नपाउने भएँ भन्ने चिन्तामा परेँ । स्वास्थ्य परिचारिकाले पुन: परिक्षण गरिन । बल्ल तल्ल स्वास्थ्य परिक्षण पास भएँ । रगत दिने मेचमा सुताएपछी मेरो पाखुरा हेर्न मन्त्री आँफै आए । बिगतमा रक्तदान गर्दा सुइ घुसारेको ठाउँमा हेर्दै स्पर्स गर्नु भयो । सायद वहाँलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला जान्ने उत्सुकता थियो कि ? मैले रक्तदान गरी सकेपछी मन्त्री आफ्नो मन्त्रालय जानु भयो । करीब १ बजे तिर रक्त संचार सेवाका पदाधिकारी साथ म पनि दिवा भोज गर्न गएँ । एउटा करीब दुई पाऊ जतिको सिङैगै माछा र ढिडोँ खाएँ । फेरी एक घण्टा जती रक्तदान भई रहेको ठाउँमा बसेँ । हरेक रक्तदाताहरुलाई भेट गर्दै रक्तदान गर्नुभएकोमा धन्यवाद छ भनेँ । पाँच छ जनाले त ‘तपाईंको रक्तदान अनुभवले म त साह्रै प्रभावित भएँ अब म पनि बर्षको चार पटक रक्तदान गर्छु’ भने । उनिहरु यस्तो प्रतिकृयाले म साह्रै हर्षित भएँ । मैले यत्राो दु:ख गरेर यहाँसम्म आएको लक्ष पुरा भयो भन्ने लाग्यो । त्यहाँ रक्तदान गर्ने र हेर्नेहरुको पनि ठुलो भिड थियो। रक्तदान गर्न साना साना केटीहरु पनि आएका थिए । मैले अचम्म मान्दै ‘तपाइ पनि रक्तदान गर्ने ?’ सोधेँ।  ‘हो’ भनिन । फेरी मैले ‘रक्तदान गर्न त कम्तिमा पनि शारिरिक तौल ५० किलोग्राम हुनुपर्छ नि’ सोधेँ । उनले ‘छु’ भनिन । ‘अनी उमेर त १८ बर्ष भन्दा माथि हुनुपर्छ नि’ सोधेँ । उनले ‘२६ बर्षकी भएँ’ भनिन । त्यहाँका मानिसहरु साना देखिए पनि खदिँला र पाको उमेरका हुँदा रहेछन । 

    करीब ४:३० बजे तिर ‘मन्त्रिले वहाँकै कार्यालयमा बोलाउनु भएको छ’ भन्दै रक्तसन्चार सेवाको पदाधिकारीले मलाई मन्त्रालयमा लिएर गए । मन्त्रालयमा सानो सेरोमनी कार्यक्रम राखिएको रहेछ । स्वास्थ्य महानिर्देशक डा जोन मससबी, प्रमुख सल्लाहकार डा प्रशाद लगाएत संचार क्षेत्रका प्रतिनिधिहरु र अन्य गन्यमान्यहरु उपस्थित रहेको थियो । तीन दिनसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा पहिलो दिनमै करिब ५ सय जनाले रक्तदान गरेका डा फ्रिदाहले बताएकी थिइन । म आउने समाचारले सायद युवाहरुको राम्रो उपस्थित भएको होला भन्ने मलाई लाग्यो । मन्त्रीले ‘अमेरिकादेखि यहाँसम्म आएर रक्तदान बढाउन साझेदारी गर्नु भएकोमा धन्यवाद छ’ भनिन ‘यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनीय काम गरेका मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,’ भनिन्। मन्त्रिले ‘रक्तदानको तपाईंको योगदानको उच्चतम कदर गर्दछौ भन्दै’ प्रशंसा–पत्रले सम्मान गरेकी थिइन। मेरो रक्तदान उत्प्रेरणा अभियानले अफ्रिकामा धेरै जनालाई रक्तदान गर्न उत्साहित बनाउन म सफल भएको छु जस्तो लागेको छ । गौरवले मेरो छाती नै फुलेर आयो । धेरै खुशी भएँ । मेरो बुवा जिवित रहनु भएको भए उहाँ कति खुसी हुनुहुन्थ्यो होला !

    भोलीपल्ट बिहान पृथ्वीको बिच भाग भुमध्ये रेखामा जाने योजना बनाइ सुतेँ । बिहान ७ बजे डा फ्रिदाहले फोनबाट ‘तपाइको जि बि एस टेलिभिजनमा एक बजे अन्तरवार्ता तय भएको छ’ भनिन । कार्यक्रम थपिएकोले घुम्न जान सकिएन । टिभिमा अन्तरवार्ता दिए पछी पाँच बजे रक्त संचार सेवाकी निर्देशकको कार्यालयमा गई पुरै तीन दिनको समिक्षा गर्यौ । त्यसपछी ति निर्देशक र त्यहाँकी सर्वाधिक रक्तदाता ऐशाले मलाई एअरपोर्टमा ७ बजे पुर्याइ दिनु भयो ।

  • अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे

    अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे

    न्युयोर्क   

    बिद्यालयमा सवै विद्यार्थीका लागि समान पोसाक लगाउनु पर्ने ब्यवस्था नगरेका कारण अमेरिकाको एक सरकारी बिद्यालयमा दु:खदायी घटना घटेको छ । टेनेसी राज्यस्थित मार्टिन लुथर किंग बिद्यालयमा भर्खरै हाई स्कुल भर्ना भएका एक विद्यार्थीलाई आफ्नै कक्षामा अध्ययनरत विद्यार्थीहरुले हरेक दिन एउटै लुगा लगाएर आएको भन्दै जिस्क्याए पछी माथिल्लो कक्षामा अध्ययनरत अन्य दुई विद्यार्थीले आफ्नै पोसाक दिएको घटना सामाजिक संजालमा ब्यापक हुन पुगेको छ । ती राम्रो मन भएका दुई विद्यार्थीले झोलामा हालेर पोसाक दिदै गरेको हृदयबिदारक भिडियो अहिले सामाजिक संजालमा ब्यापक प्रचार भएको छ । क्रिस्टोफर गराम र एयान्टविन गरेट नामका दुई विद्यार्थीले आफ्ना केही पुराना र नयाँ लुगाको साथमा केही जोर नयाँ जुत्ता समेत दिएका थिए ।  

    माईकल टोड नामका एक बालकलाई बिद्यालय गएको केही दिन दिनदेखि नै आफ्नै कक्षामा अध्ययन गर्ने साथीहरुले उनको रुपको बारेमा हरेक दिन जसो खिसी गर्न थालेका थिए ।  टोडलाई जिस्क्याउनेहरुको दाबी छ कि उनले हरेक दिन एउटै पोशाक लगाएर बिद्यालय आए । पिडित विद्यार्थी  टोडले जिस्क्याउने गिज्याउनेहरुलाई भनेका छँन् “आफु धेरै छिटो छिटो बढेको कारण आफ्नी आमाले लुगा किनेरै भ्याईनन् त्यही भएर फरक लुगा लगाउन पाईन” ।  

    डब्लु एच बि क्यु -टिभीसँगको कुराकानीमा क्रिस्टोफरले भनेका छँन् “मैले जब केही मान्छेहरुले गिज्याएको देखें, तब मलाई एकदम दु:ख लाग्यो र केही जोर नयाँ जुत्ताको साथमा लुगा दिएको हुँ ।”

    दुई साथीहरुले लुगा र जुत्ता दिए पछी माईकल टोडले युएस ए टुडेसँग भनेका छन् कि; “यो दिन मेरा लागि सबैभन्दा उत्तम दिन हो र यि दुई साथीहरु मेरो जीवनको सबैभन्दा राम्रा मानिस हुन् ।”  समाचार भाईरल भए पछी अहिले माईकललाई चन्दा दिने र लुगा दिन चाहनेहरु थुप्रै बाहिर आएका छन ।  

    अमेरिकाका अधिकांश सरकारी बिद्यालयहरुमा बिद्यालयको आफ्नै युनिफर्म तोकिने गरिएको छैन ।

  • कीर्तिपुर अर्थात सानो नेपाल

    कीर्तिपुर अर्थात सानो नेपाल

    ​​प्रेमकृष्ण श्रेष्ठ / किर्तीपुर

    हालै नवनियुक्त पर्यटन मन्त्री माननीय योगेश भट्टराईले कीर्तिपुरको पुष्पलाल स्मृति प्रतिष्ठानमा राखेको एक बधाइ सभाको सम्बोधनमा आफूले जीवनको महत्वपूर्ण समय कीर्तिपुरमा बिताएकोले कीर्तिपुरसँग टाढा हुन नसक्ने कुरा राखे । दश मिनेटको भाषणमा ‘कीर्तिपुर’ शब्द कतिपटक उनको ओठमा पुष्पित भयो, गिन्तीसाध्य थिएन ।

    आज नीति निर्माताको झुण्डमा यस्ता मानिसको संख्या पातलै होला, जस्ले जीवनको महत्वपूर्ण समय कीर्तिपुरमा नबिताएको होस् । यहाँको एउटै कोठामा दसौं रंग पोतिन्छन्, एउटै झ्यालमा यहाँ बाह्रौ पर्दाको बदली हुन्छ । देशका सत्ततरै जिल्लाकै बिद्यार्थीहरु यो सानो पर्यटकीय नगरीमा सपना पछयारहेका पाइन्छन् । यतै मैले तामाङ्ग र बाहुनको संयोजन देखेको छु । मण्डल र क्षेत्री आपुसमा होलीमा रंगिरहेको पाएको छु । मालामा कुनै जातिको फूल अछुटो छैन यो सानो नगरीमा । यसैले यो भन्न सकिन्छ, कीर्तिपुर सानो नेपाल हो । यही सानो नेपालको प्रभावस्वरुप, नेपालको जुनसुकै ठूल्ठूला अन्य ‘पुरहरु’मा हुने शभाहरुमा पनि यो सानो ‘कीर्तिपुर’ सगर्व उच्चरित हुन्छ ।

    यस्ता यस्ता देशैभरिका मनमुटुसँग न्यानो सम्वन्धको बावजुद पनि कीर्तिपुर चोइटिएको छ कता, कता । उजुरी कतै पनि छैन, यद्यपि कीर्तिपुरको सवालमा, पहिलादेखि नै राज्य पीडक जस्तो देखिन्छ भने कीर्तिपुर पीडित । एसएलसी दिँदा राजेन्द्रलक्ष्मीको वीरताको वारेमा लेख्नुस भनेर प्रश्न सोध्दा एक पाना नै भर्ने आम नेपालीले, कीर्तिपुरका एक विराङ्गना नारी कीर्तिलक्ष्मीको नामसम्म सुनेको छैन । त्यही विराङ्गना नारी न हुन्, जस्को ‘कीर्ति’ले कीर्तिपुर बन्यो । त्यही इतिहासले जित्ने ‘लक्ष्मी’ अमर बनाइन भने हार्ने ‘लक्ष्मी’ मारिइन । जित्नेहरुको पनि इतिहास हारिसकेको छ आज । यसैले आज कीर्तिपुरको ‘कीर्ति’लाई पनि खोजी खोजी लेख्नुपर्छ । अझै लेखिएको छैन । एक थान अन्याय यसैमा भयो कीर्तिपुरलाई ।

    राजालाई भगवान्को औतार मानी, राजाको टाउकोसम्म फर्काउने कीर्तिपुरेको प्रतिकुल परिस्थितिमा त्यही टाउको फिर्ता लिएकाहरुले नाक, कान काटियो भन्छन्, अन्यायको अर्को अध्याय यो । कीर्तिपुरमाथि भएको अन्यायको गिन्ती गरेर साध्य छैन ।

    छिमेकी काकाले औँला भाँच्दै भन्नुभयो, बल्खु नपुग्दै मेरो दश रोपनी जग्गा थियो सवै विश्वविद्यालयमा लाग्यो । यसो भन्दा उनका आँखा भुलभुल थियो । बल्खुको जग्गा आज आनाको ५० लाख भन्दा बढी होला । यो हिसावले रोपनीको छ, आठ करोड आउँछ । यस्तै यस्तै औँला भाँच्नेहरुको कथै कथा छ, कीर्तिपुरमा ।

    त्रिभूवन विश्वबिद्यालय देशकै त्यो फूलवारी हो, जहाँ कीर्तिपुरका सारा जनताको आँसुको शीत लागेको छ । आज कीर्तिपुरमा कुनै गरिब बाउलाइ छोराले ‘सुकुम्वासी’ भनेर गाली गर्छ भने त्रिविको माटामा गएर आँसुको ढिका खसाल्दै रुन्छन् । आफू निभेर देश बालेका जनताको छोराछोरीलाई त्रिविले के दियो त आज ? चारैतिर लखेटेर भागेर आएको त्यो त्रिविलाई संरक्षण दिने घरपेटीलाई त्रिविले के ज्याला दियो त ? विश्वबिद्यालयले त्यत्रो चर्चेको जग्गा छ, तर कोही कीर्तिपुरेलाई हृदयघाट भयो भने पुग्नुपर्छ उहीँ पन्ध्र किलोमिटर टाढा शिक्षण अस्पताल । कीर्तिपुरलाई टेकेर नेताहरुले प्रजातन्त्र कमायो, आखिर वीर शहीदहरुको शहर, नेताहरुको स्वार्थपूर्तिपछि यो कीर्तिपुर, माउसुलीको परित्यक्त पुच्छर जस्तै रहयो । जुनै सफल जीवनले, यो कुरा सहर्ष स्वीकार्छन कि म अतीतको कुनै समय कीर्तिपुरको पाँगामा बस्थेँ, नगाउँमा, चोभारमा, भाजुंगलमा आदि इत्यादि ।फलानो ज्यापुचाले दशदिन हामीलाई भात खुवायो, तिलानो ज्यापुचाले आफूहरु छिँडीमा सुतेर हामीलाई महिनौँ कोठामा सुताए । यस्ता किस्सा धेरैको मुख मुखमा छ, तर आज सताको नसामा तिनै ज्यापुहरुको नामसम्म याद छैन तिनीहरुलाई । बर्षेनी हजारौ बिद्यार्थीहरु झोला लिएर आउँछन्, पढाइ पुरा गर्छन् र झोला लिएर हजारौँ उतै फर्कन्छन् । जस्ले जे भनोस्, गौँथलीको गुँड जस्तो कीर्तिपुरले धेरै यस्ता आगन्तुकलाई उज्ज्वल भविष्यको कामना गरी, हात हल्लाएर बिदाइ गरेको छ । कीर्तिपुरले सँकटमा थुप्रै नेताहरुलाई पाले । जव सतामा पुगे तिनै नेताहरु, देशको मानचित्र टेबुलमा ओछयाए, कीर्तिपुर देखेनन् तिनै नेताहरुले, जहाँको ज्यापूहरुको हत्केला सापति लिएर ताली बजाउन लगाएका थिए, गणतन्त्रको लागि, बसाठ्ठी—त्रिसाठ्ठीको जनआन्दोलनमा । छाती थाप्न लगाएका थिए छयालीस सालमा प्रजातन्त्रका लागि ।

    सायद सबै कीर्तिपुरवासीलाई यो कुरा काँडा जस्तो बिझदो हो, कीर्तिपुरको वारेमा धेरैजसोलाई नाम सुनेको छौ भनेर सोधे कीर्तिपुरमा विश्वविद्यालय छ होइन र भनेर प्रतिप्रश्न पाइन्छ । मानौ विश्वविद्यालय कीर्तिपुर हो र कीर्तिपुर विश्वबिद्यालय हो । यो भन्दा अर्को कीर्तिपुरको पहिचान छैन । शिक्षाको फूलवारी यहाँ हुनु गर्वको कुरा हो तर कीर्तिपुरमा विश्वविद्यालय मात्र मगमगाएको छैन । कीर्तिपुरबाट विश्वविद्यालयको एक थुँगा फूल हटाएर हेरे पनि कीर्तिपुर प्राकृतिक, सांस्कृतिक र भाषिक विविधताको फूलमाला हो । विश्वविद्यालय स्थापनापूर्व पनि कीर्तिपुरको एउटा छुट्टै पहिचान थियो ।गोर्खाली सेनाले दुईपटक आक्रमण गरेर पनि पराजय भोगेको कीर्तिपुरमै हो । कालु पाण्डेको शिर काटिएकोदेखि सुरप्रताप शाहको आँखा यतै्र फोडिएको थियो । गोर्खाली सेनाको खोसिएका हातहतियार अझै कीर्तिपुरको बाघभैरव मन्दिरको भितामा झुन्डयाइएका छन् । देशमै प्रतिष्ठित बाघभैरव मन्दिर, कीर्तिपुरको उचाइमा रहेको उमामहेश्वरको मन्दिर, चोभारको डाँडो, आदिनाथ मन्दिर, टौदहको निलो छाती, पुष्पलाल पार्कको शीरमा फुलेका हरियो वन कीर्तिपुरका सम्पदाहरु हुन् । कति रमणीय र पर्यटकीय थलो हो भनेर प्रसिद्ध निवन्धकार शंकर लामिछानेले आफ्नो आत्मपरक निवन्धमा टुरिष्टसित कीर्तिपुर घुम्दाको प्रसंग जोडेका छन र ‘कीर्तिपुरलाई हातीवन आमाको काखमा जान बामे सरेको केटो’ उपमा दिएका छन् ।

    कीर्तिपुरको विगतको जति प्रभा छ, भविष्यको पनि त्यतिकै आभा छ । भोलिको दिवशमा, होमस्टेको नगरीको रुपमा चिनिँदैछ, कीर्तिपुर । कीर्तिपुरले आफ्नै ब्राण्डको आलोकमा ‘युद्धपार्क’ उजागर गर्दैछ । हरित नगरीको रुपमा आफ्नो परिचय छाती खुलाएर दिँदैछ । विश्वभरि मनाइने पर्यटन वर्षलाई पछयाउँदै, दुई हजार वीसको लागि कीर्तिपुरको हत्केलाभरि फूलगुच्छा छ । स्वप्नद्रष्टाको परिकल्पनामा बुनिँदै, बुनिँदै गइरहेको छ, कीर्तिपुर ।

    कीर्तिपुरको भूगोलमा रहेर सगर्व यो प्रश्न गर्न सकिन्छ, कीर्तिपुरमा के छैन ? कीर्तिपुर आफैमा एउटा पूर्ण शहर हो । प्रकृतिले सम्पन्न छैन कि ? संस्कृतिले महाजन होइन कि ? भाषाले कुबेर बनेन कि ? कीर्तिपुरको भिता भितामा कोरिएको छ, इतिहासमा नभएका इतिहासहरु । बाघभैरव मन्दिरभरि टाँगेका हतियारलाई पढने हो भने थाहा पाइन्छ, राज्यको सामाजिक शिक्षाले कीर्तिपुरलाई कति विभेद गरेको छ । ।

    कीर्तिपुर, कहिले मदन भण्डारीको अविरमा रंगियो त कहिले प्रचण्डको फूलमालामा गुटमुटिए । यहीँको भूमिमा, छयालीस सालमा चार जना शहीदहरुले सहादत प्राप्त गरे । कीर्तिपुर वीरहरुको शहर, यो कुरा हरेक अखवारमा लेख्नुपर्छ अव । अप्ठयारो पर्दा मात्र शरण माग्ने ठाउँ हुनु भएन कीर्तिपुर । सुखमा पनि राज्यले ‘चेयसर्’ गरोस् कीर्तिपुरसित समृद्धिको । कीर्तिपुरले राज्यको धेर्रै व्यवस्था फेरे, आज दुई तिहाइको सरकारले कीर्तिपुरको अवस्था फेर्नुपर्छ । होइन भने कीर्तिपुर अव अर्को संकटमा मौन रहन सक्छ । हत्केलाहरु लाटो भएर ताली नबोल्न सक्छन् । महामारीमा मात्र सम्वन्ध केलाउँदै आउने पाहुनाको लागि ‘अतिथि देवो भव’ च्यातिन सक्छ । जीवनको अमूल्य हिस्सा यतै बिताएकाहरुले कीर्तिपुर अर्थात सानो नेपालको अन्तर्ध्वनी सुनोस, यही नै अपेक्षा लिएर कीर्तिपुरबासीको स्पन्दन गुञ्जायमान छ ।

  • अमेरिकाको कनेक्टिकटमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह

    अमेरिकाको कनेक्टिकटमा नेपाली भाषा पाठशालाको दिक्षान्त समारोह

    सेप्टेम्वर ३, कनेक्टिकट / धन लामा 

    कनेक्टिकट नेपाली समाज (नेकोन) द्वारा विगत ८ वर्षदेखि गर्मीयाममा संचालित नेपाली भाषा पाठशालाको ८ औं दिक्षान्त भव्य समारोहका बीच अगष्ट ३१ तारिख स्थानीय चार्टरओक स्कूलमा सम्पन्न भएको छ । दुई वटा सत्रमा विभाजित पाठ्यक्रममा, पहिलो सत्रमा सुन्ने, बोल्ने, पढ्ने र लेख्ने क्षमतामा जोड दिईएको थियो भने, दोस्रो सत्रमा नेपाली वाद्यवाधन, नाता सम्बन्ध र नेपाली खानाका विविध परिकारहरुको विषयमा परिचय गराईएको थियो । लयात्मक संगीत र गीतको माध्यमबाट विद्यार्थीहरुलाई नेपाली भाषा र व्याकरणको क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको यस नेपाली भाषा शिक्षण कार्यक्रमलाई ५० भन्दा बढी नेकोनका सदस्यहरुले आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएका थिए । नेपाली भाषा पाठशालाका विद्यार्थीहरुका लागि नास्ता र खाजाको सम्पूर्ण व्यवस्था अभिभावकहरुले गरेका थिए भने नेपाली समुदायका सक्रिय सदस्यहरुद्वारा संचालित बम्बई अलिभ, टेस्ट अफ इन्डिया र बलिउड ग्रिल लगायतका रेस्टुरेन्टहरुले पनि यसको लागि योगदान दिएका थिए । शैक्षिक सत्रको अन्त्यमा हार्डफोर्ड काउन्टी एभरेस्ट सेन्टेनियल लायन्स क्लबसंगको सहकार्यमा विद्यार्थीहरुको आँखा जाँच शिविर समेत सन्चालन गरिएको यस सत्रमा ४ देखि १५ वर्ष उमेर समूहका ४९ जना विद्यार्थीहरुको सहभागिता थियो ।

    पूर्णकालिन स्वयम् सेवक शिक्षक/शिक्षिकाहरुमा विरेन्द्र राउत, सबि श्रेष्ठ, लक्ष्मी ओझा र रुवी पराजुली हुनुहुन्थ्यो भने आंशिक स्वयम् सेवक शिक्षक/शिक्षिकाको रुपमा धन लामा, हरिश भट्ट, बसन्त स्टाईनर, पुष्पा जोशी भट्ट, केशव दाहाल, अर्जुन दाहाल र विमल गुरुंग लगायतले आफ्नो भूमिका निभाउनु भएको थियो । त्यस्तै गरी विद्यार्थीहरुको तर्फबाट निता बस्नेत, ज्योज्योलुङ राई, अंसुया दुलाल, समिक्षा पौड्याल, अलिस्का सापकोटा, विनोद जोशी, उकासे राउत, रुनिश निरौला, मिन्सो तुम्बाहांफे, अर्या थापा, मुकुन्द जोशी, रिजेश श्रेष्ठ, अमृता सापकोटा, कारमेल अधिकारी, डोना गुरुङ, सफल महत क्षेत्री र गौरव न्यौपानेले सकृय रुपमा स्वयम् सेवकको भूमिका निर्वाह गरेका थिए । न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका महावाणिज्यदूत श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विद्यार्थीहरुद्वारा नेपाल र संयुक्तराज्य अमेरिकाको  राष्ट्रियगानका साथै नेपाली गीतहरु समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुका तर्फबाट प्रत्यूष रेग्मी र कृश कुँवर, विद्यार्थी स्वयम् सेवकको तर्फबाट डोना गुरुङ र अभिभावकहरुको तर्फबाट नवीन खड्काले आफ्नो मन्तव्य राखेका थिए । विद्यार्थीहरुलाई कनेक्टिकट नेपाली समाज (नेकोन) को तर्फबाट प्रमाणपत्र र स्वयम सेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

    जुन महिनाको २९ तारिखदेखि अगस्ट महिनाको ३१ तारिख सम्म हरेक शनिवार ९ देखि ११ बजेसम्म संचालित यस भाषा कक्षाको संयोजक कनेक्टिकट नेपाली समाज (नेकोन) का उपाध्यक्ष जय कुमार राईले नेपाली भाषा पाठशालाको यस वर्षको सम्पूर्ण गतिविधीहरुमा आफ्नो व्यस्त समयको बाबजूद पनि खुल्ला हृदयले सहयोग गर्नु हुने सम्पूर्ण विद्यार्थी, स्वयम् सेवक, अभिभावक, सहयोगदाता तथा शुभचिन्तक महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु हुँदै समाजका सम्पूर्ण सदस्यहरुलाई नेपाली भाषा संस्कृतिलाई संरक्षण गर्नको निम्ति त्यसको निरन्तर प्रयोगमा जोड दिनुका साथै समुदायको सामुहिक प्रयास र संलग्नताको महत्व माथि पनि प्रकाश पार्नु भएको थियो । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न यस कार्यक्रमा प्रमुख अतिथी महावाणिज्यदूत पुष्पराज भट्टराईज्यूले यहाँको नेपाली समाजमा नेपाली भाषा र साहित्यमा भएको सचेताना प्रति खुशी व्यक्त गर्दै सामुदायिक भवनको आवश्यकताको बारेमा सचेत गराउनु भएको थियो । दिक्षान्त समारोहमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुका साथै एनआरएनए कनेक्टिकट च्याप्टरका अध्यक्ष हरी प्रसाद जोशी र हार्डफोर्ड काउन्टी एभरेस्ट सेन्टेनियल लायन्स क्लबका अध्यक्ष माधव अात्रेयको पनि उपस्थिती थियो ।

  • शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा

    शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा

    भीमनारायण श्रेष्ठ / थानकोट

    काठमाडौंको पश्चिम भू–भागस्थित चन्द्रागिरि पर्वतमाला स्थित चन्द्रागिरि भञ्ज्याङ्गको काखमा पूर्वोत्तर फर्किएको शान्त सुन्दर बिशाल स्वरूपमा फैलिएको प्राचीन ऐतिहासिक नगरी शोणितपुरलाई हिजोआज थानकोट नामले चिनिन्छ । द्वापरयुगका बलवान पराक्रमी राजा वाणसुरको कथासँग सम्बद्ध शोणितपुर नगरीको पौराणिक नाम भाषावंशावली अनुसार सुप्रभानगरी हो । यही शोणितपुर नगरीमा प्रचलित पञ्चाङ्ग तिथिअनुसार विभिन्न जात्रापर्वहरू प्राचीनकालदेखि हालसम्म जीवन्तरुपमा चलाई रहेको छ  । तिनै जात्रापर्वहरू मध्ये अन्यत्र नभएको अनौठो, अपत्यारिलो र रोमाञ्चक किसिमको जात्रा यहाँ मनाउने गरिन्छ । नेपालभाषामा छ्याछि“ तु“ तु“, (नाय्खि‘ बाजाको ताल) गरेर म्येय्या छ्योँ कुबिईगु (राँगाको टाउको बोक्ने) भनिन्छ । यो जात्रा राँगाको टाउको लुकाउने जात्राको नामबाट पनि प्रसिद्धि पाएको छ । यो जात्रा कहिलेदेखि शुरू भएको भन्ने एकिन तिथिमिति हालसम्म भेटाउन सकेको छैन । जनश्रुति अनुसार उहिले नरभक्षी राक्षसलाई मारेपछि त्यसको टाउको काटी बोकर त्यस दुष्टको खिल्ली उडाएर हर्सोल्लासकासाथ विजयोत्सव मनाई लोकमनोरञ्जन एवम् लोकपर्व मनाउँदै आएको पाइन्छ । हालसम्म पनि यस पर्व अर्थात जात्राको प्रचलनलाई जीवन्त रूप दिई उक्त राक्षसको टाउकाको प्रतिक राङ्गाको टाउको बोकी जात्रा गर्ने चलन चलाई आएको पाइन्छ । जे होस् स्थानीय नेवार समुदायलगायत अन्य जातिबीच पनि निकै लोकप्रिय, रोचक एवं उत्तेजक मानिने यस जात्रालाई उहिले लोकमनोरञ्जनको साथै महत्वपूर्ण साँस्कृतिक पर्वको रूपमा मानिन्थ्यो ।

    आजका पुस्तामा पनि परम्परागत त्यस धारणामा परिवर्तन आएको छैन । साँस्कृतिक पर्व मनाउन बरू थप उत्साह र सक्रिय सहभागिताको भावना बढेको पाइन्छ । किनभने यस जात्राको उद्देश्य नै समाजका दुष्ट र बदमाशलाई सार्वजनिक रूपमा दिइने दण्ड वा सजायको प्रतीक स्वरूप प्रस्तुत गरिएको छ । जसले अरुलाई दुःख कष्ट दिन सधैँ ततपर र अग्रसर भइरहन्छ त्यसता किसिमका व्यक्ति वा प्रवृत्तिका विरूद्व सारा गाउँलेहरू नै एकजुट भएर समाजबाट सदा–सदाका लागि अन्त्य गराउन पछि पर्दैनन् भन्ने कुराको सङ्केत र सन्देश यस जात्राको मुख्य अभिप्राय रहेको पाइन्छ ।

    यस प्रकार यो राँगाको टाउको लुकाउने जात्राले एकातिर दुष्टको अन्त्य गर्ने र अर्कोतिर साँस्कृतिक मनोरञ्जनको मिठास समेत प्रदान गर्ने गर्दछ । यही अवधारणाकासाथ शोणितपुर, थानकोटका वर्तमान पुस्तासमेत प्रत्येक वर्ष गाईजात्रा पर्वको साँझ यो जात्रा रोमाञ्चक प्रस्तुतिका साथ मनाएर हाँस्ने, हँसाउने र साँस्कृतिक धरोहरलाई जोगाई राख्न भरमग्दुर प्रयास गर्दछन् । वास्तवमा स्वास्थ्यका लागि हाँस्नु जति आवश्यक छ त्यत्तिकै आवश्यक दायित्व पनि छ असामाजिक चरित्रका अशिष्ट चरित्रहरुको अन्त्य गर्नु  । यो त्यही मान्यतामा आधारित प्रचलनमा रहेको उत्सव हो । त्यसैले राङ्गाको टाउको लुकाउने जात्राले स्थानीय बासिन्दामा सधैँ सकारात्मक सन्देश सम्प्रेषित गरिरहेको अनुभव गर्न सकिन्छ । यो जात्राका चलन बारे व्याख्या गर्नु अगाडि यससँग सम्बन्धित किम्वदन्तीमाथि प्रकाश पारिँदा जात्राको परम्परागत मान्यता अझ स्पष्ट हुने निश्चय छ ।

    किम्वदन्ती अनुसार शोणितपुर, थानकोटमा त्यसबेला एउटा नरभक्षी राक्षस आएर गाउँलेलाई मार्दै खाने क्रम तीब्र भयो । यसले क्रमशः गाउँका बासिन्दा निख्रिँदै जान थाले । गाउँमा एक प्रकारको त्राश, भय र यसन्नाटा तथा आपत्ति सिर्जना भयो । त्यस राक्षसले दिनदिनै जथाभावी मान्छे खाने क्रमलाई केही कम गर्न गाउँलेद्वारा दिनको एक जना मान्छे आफैं राक्षसको आहार बन्न आउने बाचा भयो । यो क्रमले जो पायो उही मान्छे मर्ने र गाउँमा विद्यमान हाहाकार केही कम त भयो । तर दिनहुँ एक–एकजना राक्षसको आहार बन्न जानु त्यति सजिलो काम थिएन । ज्यानको माया त सबैलाई हुने नै भयो । त्यसमाथि बिना दोष, विना रोग घरपरिवार, आफन्त सबैलाई रूवाएर मृत्युको मुखमा जानु अनि स्वस्थ आफ्नो ज्यान व्यर्थ दुष्ट राक्षसका लागि बलिदान दिनु कसैका निम्ति पनि स्वीकार्य थिएन ।

    वसुदैव कुटुम्वकमको भावनाले रमाइलोसँग हाँसिखुशि रहँदै आएका गाउँलेबीच अप्रत्याशित आएको त्राशदीपूर्ण सङ्कटले मर्माहित हुन थाले । यस असामाजिक र अशिष्ट राक्षसको शोषणबाट मुक्तिका लागि गाउँलेहरूले अनेक उपायको खोजी गरे । त्यसै क्रममा उनीहरूले यहाँ विरामान आराध्यदेव भगवान आदिनारायण समक्ष विन्ति विसाउन पुगे । गाउँलेको चित्कारबाट भगवान आदिनारायणलाई दया लाग्यो । यस नगरका आराध्यदेवका रूपमा पुजित भगवान आदिनारायणले त्यसपछि मुक्तिको उपाय खोजे । त्यही खोजाइको क्रममा नरभक्षी राक्षसलाई सधैँका लागि गाउँबाट लखेट्ने र त्यसअघि उसलाई कठोर सजाय दिने प्रतीज्ञा भगवान आदिनारायणबाट भयो ।

    त्यसपछि आराध्यदेव भगवान आदिनारायणबाट आफ्ना भक्तजनको जीवन रक्षा गरी गाउँमा पुनः सुख र शान्ति फर्काउन आराध्यदेवबाट शिवको आराधना गरी भ्यागुताको रूपधारणा गरे । एकदिन नरभक्षी राक्षसको आहार हुन भ्यागुता रूपी भगवान ती राक्षस सामुन्ने उपस्थित भए । आफ्नो आहार भ्यागुतो त्यो पनि पेट नै नभरिने देखेर राक्षस क्रोधित बने । उनको क्रोधलाई झन बढाउन भ्यागुताले राक्षसको घमण्डलाई चुनौति दिँदै आफूलाई खान पटक–पटक अनुरोध गरे । फुच्चे भ्यागुतोको चुनौतिबाट रीसले चुर हुँदै राक्षसले भ्यागुतोलाई समाउन खोज्यो । तर भ्यागुतोलाई खानु त के कुरा समात्न ठूलै शक्तिको प्रयोग ग¥यो । भ्यागुता उफ्रिदै पछि सर्दै धापिलो ठाउँमा पुग्यो । भ्यागुता समाउने प्रयत्नमा राक्षस त्यही धापको दल्दलमा जाक्किन पुग्यो । यो खवर वायुवेगमा नगरवासीमा छायो । मान्छे मारेर खाने राक्षसलाई बचाउँन कोही मान्छे तयार थिएनन् । बरू सारा गाउँले मिलेर त्यस दुष्ट नरभक्षीलाई ढुङ्गामुडाले हिर्काउन थाले । त्यतिले पनि चित्त नबुझी उसको टाउको काटेर बोकेर ल्याई नाच्दै, गाउँदै नगर परिक्रमा गर्न गाउँलेहरू एकजुट भए । यता भ्यागुता रूप धारण गरेका भगवान आदिनारायण पनि खुशी भई पूर्ववत आदिनारायणको रूपमा फर्की आराध्यदवेव शिवलाई शिरमा राखी सवैबाट पूजित भई रहे ।

    यता आफ्ना पतिको त्यो हालत देखेर राक्षसनी रूदै, चिच्याउँदै त्यहाँ आई । उसलाई पनि गाउँलेहरूले समातेर पाता फर्काइ बाँधे । आफ्ना आफन्तलाई जिउँदै खाएर सताउनेलाई सजाय दिन पाएकामा विगतका शोक सम्झिँदै सारा गाउँवासी उत्तेजित भई राक्षसनीलाई सिस्नोपानीले पिट्दै दुईजनाले पाखुरा समाई बेरूपकासाथ मारिएका राक्षसको टाउको बोकी नगर परिक्रममा गरी रमाइलो गर्न थाले । यसपछि गाउँको किनारामा रहेको सिलाफः पुखु (सिलाफल पोखरी) मा दक्षिण–पूर्वी कुनाबाट राक्षको टाउको र राक्षसनीलाई फालिदिए । यसरी गाउँको त्राश, सन्नाटा र आपत्ति विस्तारै हराउँदै गयो । अर्को वर्षदेखि नगरवासीले त्यही नरभक्षी राक्षस राक्षसनी अन्त्य भएको खुसियालीमा उत्सव मनाउन थाले । यही परम्पराले साँस्कृतिक जात्राको रूप लियो ।

    यस प्रकार राक्षसबाट मुक्ति पाएको हर्षमा यो पर्व मनाउन थालिएको हो । यसै पर्वमा अपमानपूर्वक राक्षसको टाउकोको प्रतिक राँगाको टाउको पोखरीमा फाल्ने र लुकाउने गरिन्छ । भगवान आदिनारायण रूपी भ्यागुतालाई भने सम्मानजनक चौरासीव्यञ्जन खानेकुरा तयार गरी श्रावण पूर्णिमाका दिन अर्थात त्यो जात्रााको अघिल्लो दिन पूजाआजाकासाथ व्याँजा नकेगु (भ्यागुतालाई भात खुवाउने) भनी भात खुवाइने परम्परा रहेको छ । भनिन्छ ‘भ्यागुतालाई भात खुवाउने यही पर्वले चाडकै स्वरूप विस्तारित भयोे । आज पनि प्रत्येक श्रावण पूर्णिमाका दिन (जनाई पूर्णिमा) भ्यागुतालाई भात खुवाउने र पूजाआजा गरिने सँस्कृति रहेको छ ।

    उक्त टाउको लुकाउने जात्राको शुभारम्भ गाईजात्राको झाँकी (दिवङ्गत आत्माको चिरशान्तिका लागि गाई र जोगीको भेषमा सिंगारिएका बालक) प्रदर्शन देवस्थलको साथै नगरपरिक्रमा गरी सम्पन्न भएपछि साँझपख नाय्खिं च्वय्किगु (उहिले नेवार समुदायमा विशेष सार्वजनिक सूचना गर्न पर्दा नाय्खिं बाजा बजाई टोलटोलमा पताःसिं (कटुवाल) ले खवर पुर्याउने चलन जस्तै) गरिन्छ । यसमा स्थानीय खड्गी र कुसुले (कपाली) जातिको साथै अन्य हांस्यव्यङ्ग प्रस्तुत गर्ने व्यक्तिहरूद्वारा यो नाय्खिं च्वय्किगुबाट हास्यव्यङ्ग्यात्मक प्रस्तुतिकासाथ छ्याछिँ तुँ तुँ …. तालमा नाय्खिं बाजा बजाउँदै निश्चित क्षेत्र परिक्रमा गर्दछन् । यही नाय्खिं च्वय्किगुबाट राँगाको टाउको लुकाउने जात्रा शुरू हुन लागेको सङ्केत गर्दै सो जात्रामा उपस्थित हुन निम्तो दिँदै गरिने यो नाय्खिं च्वय्किगु यात्रा हेर्न पनि मान्छेको उत्तिकै उत्सुकतापूर्ण भीड देख्न सकिन्छ । यिनै उत्सुकता र खुसियालीको विश्राम हुँदानहुँदै कोतघरबाट बाजागाजासाथ राँगोको टाउको बोक्ने जात्राको थालनी भइसक्दछ ।

    यस जात्रामा नरभक्षी राक्षसको प्रतीक मानिएका राँगोको टाउको बोकाएर एकजना व्यक्तिलाई हिँडाइन्छ । उक्त व्यक्तिलाई जोकरको रूपमा सिङ्गारिएको हुन्छ । त्यसैले उसलाई देख्नासाथ रमिते दर्शकहरू नहाँसी रहन सक्दैनन् । कपाल र अनुहारमा रङ्गीविरङ्गी पोतिएका त्यस्तै अर्को एकजना पक्सीँ ( नरभक्षी राक्षसकी पत्नी राक्षसनीको रूप) लाई सारी, चोलो लगाई बायाँ हातमा कलःः (निगालोको मसिनो चोयाले बुनेको हातमा झुण्ड्याउने पूजाथाली) र सारीको मोजा समाउन लगाई दायाँ हात निधारमा (आँखामा घाम छेक्न खोजे जस्तो र लाजले अनुहार छोपे जस्तो गरी) लङ्गडो तालमा हिँडाइन्छ । पक्सीँलाई पाखुरामा समातेर हिँडाउने दुईजना व्यक्तिहरूको पहिरन पनि दर्शककालागि हाँसोलाग्दो नै हुने गर्दछ । स्वरूप विरूपमा रहेका ती व्यक्तिहरूले हातमा सिस्नोका मुठ्ठा लिएका हुन्छन् । यसमा नायुखिँ बाजाको साङ्गीतिक गुञ्जन छ्याछिँ तुँ तुँ छ्याछिँ तुँ…………… तथा दर्शकवर्गको हाँसो, ताली र चिच्याहटले जात्राको वातावरणलाई रोमाञ्चक एवम् मनोरञ्जनपूर्ण पारिदिन्छ । यतिमात्रै होइन यी विचित्रका तामझामको पछाडि लाखेनाचको प्रदर्शनले थप साँस्कृतिक पहिचानको मौलिकता प्रस्तुत गर्दछ ।

    यस किसिमको अनौठो र रोमाञ्चक प्रस्तुतिका साथ जात्रालाई शोणितपुर (थानकोट) क्षेत्रस्थित कोतघरबाट देवमार्ग – झ्यालम्पाटी, च्वछेँ,  सिकःछेँ, याकःछेँ, चाफल्चा हुँदै नासः, बाकुननि, ताहा फः, लाय्ब आदि टोल परिक्रमा गराइन्छ । त्यसपछि स्थानीय सिलाफल टोलमा पु¥याएपछि त्यहाँको सिलाफः पुखू (सिलाफल पोखरी) मा तीनपटक परिक्रमा गराइन्छ । यो परिक्रमापछि राँगाको टाउकोलाई पोखरीको दक्षिण–पूर्वी कुनाबाट पोखरीमा फालिन्छ । जात्रामै हात समातेर ल्याएकी पक्सीँ (राक्षसकी पत्नी मानिएकी व्यक्ति) लाई पनि त्यही पोखरीमा फालिन्छ । अब राक्षस मर्यो भनी सीं बाजँ (मृत शरीर घाटमा लैजाँदा बजाइने नाय्खिँ बाजाको ताल) बजाइन्छ । यसरी गाउँबासीलाई सताउने र मान्छे खाने दुष्ट राक्षस, राक्षसनी मरेको खुसियालीमा स्थानीयबासी हाँसोठट्टा गरी रमाइलो गर्दछन् ।

    यसरी नै पोखरीमा फालिएको राँगाको टाउकालाई लुकाउने र खोज्ने बीचको लुकामारी प्रतिस्पर्धा पनि जात्राका क्रममा अत्यन्तै रोमाञ्चक किसिमको हुने गर्दछ । लुकाउने र भेट्टाउने समूहको रमाइलो खेल निकै समयसम्म कायमै रहन्छ । रमिते दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले यो क्रममा उनीहरूबीच पनि उछिनपाछिनको खेल एउटा पृथक आन्दोलनको प्रस्तुतिकै रूपमा देखापर्दछ ।

    कुनबेला, कहाँनिर राँगाको टाउको कसले फेला पार्न सक्छ भन्ने उत्सुकताले जात्रा हेर्न पोखरीको वरिपरि उपस्थित जनसमुदाय उत्तेजित भइरहेका हुन्छन् । त्यही उत्तेजना र प्रतीक्षालाई शान्तपार्दै अन्त्यमा राँगाको टाउको खोजेर फेला पार्ने समूहलाई स्वागत गरिन्छ । उक्त टाउको भेटृाएपछि बाजागाजाकासाथ त्यहाँबाट सी बाजँ बजाई कोतघर (राँगाको टाउको बोकी जात्रा प्रारम्भ भएको ठाउँ) तर्फ प्रस्थान गराइन्छ । त्यसो त लुकाएको टाउको खोज्ने समूह (खड्गी जाती) ले त्यो खोजेर फेला पार्न नसकेमा जरिवाना तिनुपर्ने प्रचलन पनि छ । खड्गीहरूको गुठीद्वारा यसको व्यवस्था गरिएको छ । तिनै गुठीका गुठियारले भेट्टाएको टाउकाको मासु भाग लगाएर भोज खाएर रमाइलो गर्दछन् । यो जात्राको प्रारम्भ नरभक्षी राक्षसबाट मुक्ति दिलाएका भ्यागुता –भगवान आदिनारायण) लाई कृतज्ञतास्वरूप पूजआजा गरी चौरासी व्यञ्जन भोजन तयार गरी भात खुवाएर मनाउने गरिन्छ ।

    प्राचीन शोणितपुरको यो जात्राकोसाथै यही दिनमा किसिपिँढी, मच्छेगाउँ र कीर्तिपुरमा समेत राङ्गाो खुटृा बोकेर जात्रा गरी गाउँ परिक्रमा गरी गाउँ बीचको पोखरी फाल्ने पचलन रहेको छ । सायद यसै नरभक्षी राक्षसको हात खुटृाको प्रतिक राङ्गाको खुटृा पोखरीमा खसाल्ने गरिएको हुन सक्दछ । यसरी यो जात्रा परापूर्व कालदेखि नै प्रचलनमा आएको देखिन्छ । मुख्य रूपमा दुष्ट नरभक्षी रूपी राँगाको टाउको बोकेर जात्रा गरी पोखरीमा लुकाएर गरिने जात्रा हो यो । भगवान आदिनारायणबाट भ्यागुताको रुप धारण गरी मानव जातीको रक्षा गरेकाले यो जात्रामा भ्यागुताको भूमिका प्रमुख हुने गर्दछ । नरभक्षी राक्षसको अन्यायबाट सारा गाउँबासीलाई मुक्ति दिलाएकाले उनै भ्यागुता कै सम्झना र सम्मानमा नित्य चोखोकासाथ चौरासी व्यञ्जन भोजन तयार गरी भ्यागुतालाई भात खुवाएर यो जात्रा गर्ने परम्परा रहेको छ । त्यसैले ‘राँगा टाउको लुकाउने जात्रा’ भनिए तापनि भ्यागुता रुपी भगवान आदिनारायणको आदर र सम्मान समेत गरिएको पर्व पनि हो ।

  • सत्रुसँग हैन आफ्नै कुलका बिभिषणदेखि बढी हाेसियार

    सत्रुसँग हैन आफ्नै कुलका बिभिषणदेखि बढी हाेसियार

    सुपेन्द्र बस्नेत / बोष्टन

    घटना सानाे वा ठुलाे भन्ने मापन त्यस घटनाले दिएको परिणाममा भर पर्दछ । र परिणाम त्यसले पार्ने प्रभावमा भर पर्दछ । त्यसैले कसैका लागि सामान्य लागेकाे कुरा कसैका लागि महाभारत हुन्छ, त कसैका लागि महाभारत लागेकाे कुरा कसैका लागि सामान्य लाग्न सक्छ । कहिले काही सामान्य क्रियाले पनि ठुलाे प्रतिक्रिया दिन्छ, भने कहिले काही ठुलै क्रियाले पनि  सानाे प्रतिक्रिया दिन सक्छ । ति क्रियाहरुले दिलाएकाे प्रतिक्रियाकाे परिणाम ब्यक्तिगत रुपमा हेर्दा कसैका लागि सकारात्मक पनि हुन सक्छ र कसैका लागि नकारात्मक पनि । “मेटासिट” बाच्नेले बिष ठान्दछ भने मर्ने निर्णय गर्नेले अमृत । त्यसैले कुनै पनि घटनालाई हरेक ब्यक्तिले फरक फरक काेणबाट बुझ्न, बिश्लेषण गर्न र ब्याख्या गर्न सक्दछन् । जाे मानवीय बिषेशता र अधिकार पनि हाे ।

    यतिबेला नेपालगंज बिमानस्थलमा माननीय मन्त्री याेगेश भट्टराईज्यूका कारण प्लेन एक घण्टा राेकिएकाे भन्दै पाेखिएकाे आक्राेसकाे घटनाले चाैतर्फीे बहसका लागि उच्च प्राथमिकता पाएकाे छ । यस अवस्थामा साेही बिमानस्थलमा मेरा कारण घटेकाे साेही प्रकृतिकाे घटनाकाे स्मरण गर्दछु । २०६१, चैत्र २  म कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कञ्चनपुर जिल्लामा जनरल वेलफेयर प्रतिष्ठान/सेभ द चिल्ड्रेनले सञ्चालन गरेकाे कार्यक्रममा अधिकृतकाे हैसियतले जिल्ला स्तरीय सराेकारवालाकाे बैठकमा भाग लिन क्षेत्रीय कार्यालय नेपालगंजबाट धनगढी पुगेकाे  थिए । कार्यतालिका बैठकमा भाग लिई धनगढी र महेन्द्रनगरमा कार्यरत रहेका कर्मचारीहरुसंग छलफल गर्ने र कार्यक्रमकाे अनुगमन गर्ने तय गरेकाे थिए तर अचानक थप कार्यक्रम स्थगित गरी नेपालगंज फर्किन सूचना प्राप्त भयाे । म नेपालगंज कार्यालय फर्किएँ । कार्यालय पुगेपछि बास्तबिकता  थाहा भयाे कि झण्डै दुई महिना टिचिङमा बसेर डिस्चार्ज भएपछि सहजताका हिसाबले थप उपचारका लागि काठमाडाैं सितापाइला स्थित मुल घरमा रहेर उपचार गराउँदै गराउनु भएका बिरामी बुबाकाे अवस्था चिन्ताजनक छ भन्ने कुरा । हुन त ३ दिन पछि बुबा भेट्न जाने याेजना थियाे नै । हतार हतार काठमाडौं  हिड्ने ब्यवस्था मिलाईयाे । सँगै काम गर्ने नीर वाग्ले दाई र राजेन्द्र महतोज्यूले बुद्ध एयरकाे टिकट लिईदिनु भयो । प्लेन उड्ने समय निकै कम बाँकी रहेकाले हतार हतार नीर दाईले बिमानस्थलसम्म छाेड्नु भयाे । नीर दाईले हात मिलाएर शुभयात्रा भन्दै बुबा बिहानै बितिसक्नु भएकाे दुःखद् खबर सुनाउनु भयाे । याे सुन्ने बितिकै म एक्कासी ढलेछु र बेहाेस् भएछु । जीवनमा केही गराैंला भनेर संघर्षमा हाेमिएकाे एउटा युवाले आमा बितेकाे बर्ष दिन बित्दा बित्दै फेरी बुबाकाे मृत्युकाे खबर अचानक सुन्दा बज्रपात हुनु र त्यस्ताे परिस्थति श्रृजना हुनु अस्वभाविक पनि थिएन । झण्डै आधा घण्टा पछि हाेसमा आएछु । मेराे स्वास्थ्य अवस्थाका कारणले मलाई यात्रा गराउन बुद्ध एयर र बिमानस्थल ब्यवस्थापन राजी भएन । मेराे स्वास्थ्य स्थितिमा सुधार ल्याउन अनेक उपाय गरियाे र केही सुधार भएपछि मैले यात्रा गर्न सक्ने जानकारी गराए । मेराे घटनाकाे संबेदनशिलतालाई बुझेर सँगै यात्रा गर्ने यात्रुहरुले मेराे आफन्त काठमाण्डाै बिमानस्थलमा लिन उपस्थित भै सकेकाे जानकारी गराउदै यात्रा भरका लागि जिम्मा लिएपछि बल्ल प्लेन उड्न सहमत भयाे । यति गर्दा गर्दै मेरै कारण प्लेन १ घण्टा १० मिनट ढिला उड्याे । त्यस दिनकाे लागि त्यही नै अन्तिम उडान थियाे । मेरा कारण अन्य यात्रीहरुलाई कति समस्या परेकाे थियाे हाेला ? तर पनि सबैले मानवीय संवेदनशिलता बुझेर पर्खेरै भए पनि मलाई संगै यात्रा गराए । जुन घटना मेराे मानसपटलमा बेलाबखत याद आईरहन्छ ।  यहाँ मैले आफ्नाे जिन्दगीकाे दुखद् घटना जाेड्नुकाे कारण भने घटनाकाे प्रकृति दर्साउन खाेजेकाे हुँ । प्लेनकाे यात्रा गर्ने सबै बिलासी मात्र हुदैनन् । सर्वसाधारण पनि हुन्छन्। जसकाे प्लेनमा यात्रा गर्ने उद्देश्य नगन्य रुपमा बिलासी हुन सक्ला, मुलत आवश्यकता पर्दा नै हुन्छ । घटनाका अन्य कारक तत्वहरु भिन्न भए पनि मेरा कारणले र मन्त्रीज्यूका कारणले प्लेन उड्न १ एक घण्टा ढिलाे भएकाे कुरा भने  मेल खान्छ। अन्य कारक तत्वहरुमा नगई घटनासंग सम्बन्धित प्लेन भित्रकाे भिडियाेमा केन्द्रित भएर सुक्ष्म अध्ययन गर्दा मैले दुबै पक्षलाई धन्यबाद्काे पात्र ठानेकाे छु । हेर्दा र सुन्दा सामान्य लागे पनि देशमा सरकार, नेतृत्व र जनता बिच बढ्दै गएकाे दुरीका कारणले याे घटनाले असामान्य रुप लिएकाे हाे भन्ने निर्क्याेल गर्ने आधारहरु धेरै छन्। हुन त पदीय हैसियतका कारण मन्त्रीज्यूले चाहेकाे भए हेलिकप्टर/प्लेन चार्टर गर्न पनि सक्नु हुन्थ्याे । जसकाे खर्च अन्तत्वगत्वा जनताकै थाप्लाेमा पर्ने नै थियाे तर उहाँले जे सुकै कारणले हाेस् सामान्य नागरिक सरह यात्रा गर्न चाहनु भयाे र गर्नु भयाे, त्यसलाई भने कदर गर्नै पर्दछ । यद्यपि उहाँ कै कारण यदि सर्वसाधारण यात्रुले यात्रा गर्दै गरेकाे प्लेन एक घण्टा राेकिएर अनावश्यक सास्ती बेहाेर्नु परेकाे हाे भने त्याे चाँही साच्चै दुःखदायी र खेद्पूर्ण छ ।

    देशकाे त्यति ठुलाे महत्वपूर्ण मन्त्रालय सम्हालेकाे र देशले निकै आशा राखेकाे एक हाेनहार युवा ठानिएकाे ब्यक्तित्वसंग यात्रा गर्न पाउदा यात्रुहरुले अहाेभाग्य ठान्नु पर्ने र एक घण्टा त के दिनभर कुर्नु पर्दा पनि गाैरव नै गर्ने अवस्था हुनु पर्ने थियाे तर बिडम्बना त्यसाे नभएर उल्टै पिडा बाेध गरी आक्राेस पाेखियाे । त्यसाे हुनुमा सम्बन्धित मन्त्रीज्यू र प्लेन उड्न ढिला हुनु मात्र कारण पक्कै हाेइन् । सार्बजनिक भएकाे भिडियाे हेर्दा दुबै पक्ष संयमित नभएकाे भए ठुलै अप्रिय घटना घट्न सक्थ्याे भन्ने आधार धेरै देखिन्छन् । यस्ताे बिषम् परिस्थितिलाई बुद्धिमतापूर्वक ब्यवस्थापन गरिएकाेमा दुबै पक्ष धन्यबाद्काे हकदार छन् । त्याे आक्राेसित भिड संयमित नभएकाे भए घटनाले उग्र रुप लिन सक्थ्याे, जाे सबै नेपालीका लागि दुःखद् र लज्जाकाे बिषय बन्दथ्याे । अर्काे तर्फ भिडियाेमा देखिए अनुसार मन्त्री जयूकाे अवस्था हेर्दा उहाँले  घटनाकाे अवस्था बुझेर आफुबाट भएकाे गल्ती स्विकार्दै माैन रहेर आक्राेसकाे ज्वाला निभाउन खेल्नु भएकाे भूमिका साच्चै कदरयाेग्य लाग्याे । जाे माैन माफी मागिएकाे पनि हाे भन्ने ठानेकाे छु । यस घटनाले देश चलाउनेहरुलाई निकै ठुलाे पाठ सिकाउन खाेजेकाे छ ।

    वर्तमान अवथामा सरकार भित्रै, पार्टी भित्रै र ब्यवस्था भित्रै धेरै विभिषणहरु जन्मिरहेका छन् भन्ने कुरा चेतना हुन जरुरी छ । स्मरण रहाेस् कि रावरणकाे अन्त्य गर्ने सुत्रधारीय भूमिका विभिषणले नै निभाएका थिए । राम त एक पात्र मात्र थिए । रावणकाे नाबीमा (नाइटाेमा) अमृत रहेकाे र जसकाे नष्ट नगरेसम्म रावणकाे बध गर्न सकिदैन भन्ने भेद रामलाई विभिषणले खाेलिदिए पछि मात्र रामले रावणकाे नाबीमा प्रहार गरेर अमृत शक्ति नष्ट गरेका थिए । साेही मुताबिक नेतृत्व सुध्रिनु अपरिहार्य छ । मुख्य त सत्रुसंग भन्दा पनि आफ्नै कुल भित्र जन्मिएका तथा जन्मिदै गरेका विभिषणहरुसंग सचेत र हाेसियार रहनु पर्दछ ।

  • नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट

    नेपाली भान्छाघरको म:म फेरी उत्कृष्ट

    न्यूयोर्क 

    सफलताको कथा मार्मिक हुन्छ किनकि सफल बन्नका लागि गरिएको लामो संघर्षको फहरिस्ते त्योसँग जोडिएको हुन्छ । कथा; लगातार तेश्रो पटक पनि प्रतिष्ठित New York City’s Annual MoMo Crawl # Best Mo:Mo In Town को Trophy जित्न सफल ज्याक्सन हाईट्सस्थित नेपाली भान्छाघरको सफलताको । ५ वर्षअघि ४ जना मिलेर शुरु गरेको सामान्य खाजा रेष्टुरेण्टले आज बिदेशी मुलका धेरै खाना पारखीहरुको मन जित्न सफल भएको छ । नेपाली खानातर्फ बिदेशीलाई आकर्षित गर्ने अवस्था जुरेको छ, माहोल बनेको छ । शुरुका दिनमा ४ जना मिलेर शुरु गरेको नेपाली भान्छाघर आज बिमला हमाल श्रेष्ठ एक्लैले सञ्चालन गर्छिन् । ८ जना नेपालीले प्रबासमा रोजगार पाएका छन् । बिहान ५ बजे उठेर सरसामानको जोहो गर्छिन् । आवश्यक सरसामान खरिद गर्न आफै दौडन्छिन । खानाका परिकारहरु भ्याएसम्म आफै बनाउँछिन् । यी सबै परिदृष्य देखिरहँदा सफलताको सुत्र निरन्तर लगन र मेहेनत भन्न गाह्रो पर्दैन ।

    स्याङजा वालिङमा रहेका परिवारलाई आवश्यक पर्ने खर्च पनि यतैबाट पुर्याएर जिम्मेवार आमाको भूमिकामा पनि निर्वाह गरेकी छिन् । बिदेशमा एक्लैले व्यवसाय गर्दा बिभिन्न कानून झैझमेलाहरु नपर्ने होईन तर उनी बिचलित नभै नेपाली जानकारहरुसँग राय लिन पुग्छिन् । सिस्टममा चलेको देशमा सिस्टम पछ्यायो भने नेपालमा भन्दा सजिलो हुने उनी आफ्नो अनुभव सुनाउँछिन् ।

    उनी थप्छिन् “सबै नेपाली दाजूभाई दिदीबहिनीले माया गरेका छन् । आईदिनु हुन्छ, मिठो मानेर खाईदिनु हुन्छ ।कहिलेकाँही केही पैसा नपुग्दा पनि म केही भन्दिन । नभएर नतिर्दापनि समस्या बुझेर चुपचाप सहन्छु । भगवानको कृपा र सबैको आशिर्बादले व्यवसाय राम्रो चलेको छ ।” 

    अहिले सञ्चालन गर्दै आएको स्थान अलि साँघुरो भएकोले आउँदो दशैं अगाडी नै थप व्यवस्थित र आवश्यक सुधार गरेर नजिकै भान्छा घर -२ (पुरानो चौतारी रेस्टुरेण्ट) लाई सञ्चालनमा ल्याउने तयारी गरेकोछ । ग्राहकहरुको मन जित्दै नेपाली खानाको लोकप्रियता अभिवृद्धि गर्न सफल भएकोमा शुभकामना । 

  • दिल्लीमा दोहोरिने भो जोर बिजोर

    दिल्लीमा दोहोरिने भो जोर बिजोर

    भारतीय राजधानी नयाँ दिल्लीमा प्रदुषण  नियन्त्रण गर्ने हेतुले निजी सवारी साधनहरुलाई जोर बिजोर प्रणालीमा मात्र  सडकमा चलाउन दिईने भएको छ । गत शुक्रबार मुख्य मन्त्री अरबिन्द केजरिवाला सहितका अधिकारी सम्मिलित पत्रकार सम्मेलनमा आगामी नोभेम्बर महिनामा ११ दिनका लागि नयाँ दिल्लीका सडकमा जोर बिजोर प्रणालीमा फरक फरक दिन गाडी चलाउन दिईने बताईको हो । पत्रकार सम्मेलनमा यो नियमलाई निक्कै कडाईका साथ लागू गरिने जानकारी दिईयो । उक्त निर्णयले नयाँ डिल्लीको वायुको शुद्धतामा बृद्धी हुने विश्वास राज्य सरकारले लिएको छ ।   

    दिल्लीमा पहिलो पटक जोर बिजोर प्रणाली सन २०१६ मा शुरु गरिएको थियो । नयाँ दिल्ली संसारकै सबैभन्दा प्रदुषित शहर मध्येमा पर्दछ । प्रारम्भमा आगामी नोभेम्बर ४ देखि १५ सम्म लागू गरिने यो जोर बिजोर प्रणाली नियम प्रचारमा आए पछी भारतमा सामाजिक संजालमा ट्रोल बनाएर बिरोध गरिएको छ ।  

    एजेन्सी