Category: कानुनी कुरा

  • बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेलको जमानत जफत

    बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेलको जमानत जफत

    काठमाडौं । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । उनीसहित ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाए ।

    बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्।

    उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। बाँकी ३१ उम्मदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए । यहाँ प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवालीले २ हजार ७३८ मतमात्रै पाएका छन्।

    आयोगको प्रावधानअनुसार उनको पनि जमानत जफत भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको छ। नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ।

  • धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

    धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी

    काठमाडौं । एकजना धर्म प्रचारकले आफ्ना अनुयायीहरूलाई मृत्युका बेलासम्म भोकै बस्न दिएको निर्देशन मानेर मानिसहरूको ज्यान गएको विषयमा अनुसन्धान गरिरहेको केन्याको प्रहरीले समुद्री तटीय सहर मलिन्डी नजिकैबाट २१ वटा शवहरू उत्खनन गरेर निकालेको छ।

    गाडिएको स्थानबाट निकालिएका शवहरूमा बालबालिकाका पनि छन् र प्रहरीले त्यहाँ अन्य थप शव पनि हुनसक्ने जनाएको छ । शाकाहोला जङ्गल क्षेत्रमा रहेका चिहानबाट ती शवहरू निकालिएको बीबीसीले जनाएको छ । उक्त क्षेत्रबाटै गत साता गुड न्यूज इन्टरन्याशनल चर्चका १५ जना सदस्यलाई उद्धार गरिएको थियो।
    उक्त धार्मिक अभियानका एकजना प्रचारक पल म्याकेन्जी थेङलाई प्रहरीले हिरासतमा लिएको छ। उनलाई अदालतमा उपस्थित भने गराइसकिएको छैन।


    केन्याको सरकारी प्रसारक केबीसीले उनलाई एउटा ‘सम्प्रदायका नेता’ भनेको छ। केबीसीका अनुसार हालसम्म त्यहाँ ५८ वटा चिहानहरू पहिचान गरिएको छ। म्याकेन्जीले आफूले गलत कार्य नगरेको दाबी गरेका छन् तर उनलाई अदालतले जमानतमा छाड्न अस्वीकार गरेको छ।

    उनले आफ्नो चर्च सन् २०१९ मा नै बन्द गरिसकेको बताएका छन्। उनीमाथि आफ्ना अनुयायीहरूलाई उनले “जिससलाई भेट्नका लागि” भोकै बस्न उत्प्रेरित गरेको आरोप लागेको छ। केन्याली दैनिक पत्रिका द स्ट्यान्डर्डले लेखेअनुसार प्याथोलोजिस्टहरूले चिहानबाट निकालिएका शवहरूको डीएनएका नमुनाहरू लिने र उनीहरू भोकका कारण मरेका हुन् वा होइनन् भनेर जाँच गर्नेछन्। प्रहरीले म्याकेन्जीलाई गत १५ अप्रिलमा पक्राउ गरेको थियो।

    प्रहरीका अनुसार चारजना मानिसहरूले आफूलाई भोकै राखेर आफ्नो ज्यान लिएको आशङ्का गरिएपछि त्यसमा संलग्न भएको आरोपमा म्याकेन्जीलाई हिरासतमा लिइएको थियो। मलिन्डी सोसिअल जस्टिस सेन्टरका भिक्टर कडोले सिटिजन टीभीसँग भने, हामी त्यो जङ्गलमा पुगेका बेला त्यहाँ एउटा ठूलो र अग्लो क्रस भएको क्षेत्रमा पुग्यौँ। त्यसबाट हामीलाई त्यहाँ पाँच जनाभन्दा बढी मानिसहरू गाडिएका छन् भन्ने थाहा भयो।

    द स्ट्यान्डर्डले जनाए अनुसार ती प्रचारकले तीनवटा गाउँहरूलाई नाजरथ, बेथ्लेहाम र जुडिया नाम दिएका थिए। त्यसपछि उनले अनुयायीहरूलाई उपवास बस्न निर्देशन दिनुअघि एउटा सानो पोखरीमा ब्याप्टाइज गरेका थिए। केन्या एउटा धार्मिक प्रकृतिको देश हो र त्यहाँ विगतमा पनि मानिसहरूलाई खतरनाक र अनियमित गिर्जाघर वा धार्मिक पन्थहरूले प्रलोभनमा परेका कैयौँ घटनाहरू रहेका छन्।

  • कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ

    कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले टोखा बस्‍ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्‍दै प्रतिव्‍यक्ति ७ लाखका दरले ६३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ

    अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ

    काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ । रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ गरेको हो ।

    व्यक्तिहरुबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन भनेपछि पक्राउ गरेर बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

  • मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ

    मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ

    काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्‍ने ५१ वर्षीया बिमला थापा रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भी कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • शिवरात्री मेलामा घोटाला, भेटीघाटी सङ्कलन हुने घ्याम्पो पनि चोरी

    शिवरात्री मेलामा घोटाला, भेटीघाटी सङ्कलन हुने घ्याम्पो पनि चोरी

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो।

    पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ। सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले उल्लेख गरेको छ।

  • रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक

    रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई बचाउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयास असफल हुने देखिएको छ । उनको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीबाट सार्वजनिक गरिएको छ ।

    ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी सहयोगको आग्रह गरेका छन् । अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेका थिए । ‘दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर। अब यो नहुने कुरालाई बढाएर के फाइदा, फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन्।

    उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला भन्दै फोन काटेका छन्। सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन्।

    उनले हो भन्छन्। यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो भनेका छन् । दुर्गा प्रसाईंले ुयसमा मैले के गर्नुपर्छ त भन्नु न भनेर सोधेका छन् । ुमैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त। बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न, प्रसाईंले भनेका छन्।

  • वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

    काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्। यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई सार्वजनिक गरेको थियो।

    शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो। उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। यसअघि पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्। आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो।

    उनीहरूले पीडितलाई विमानस्थलमै भेटेर कुराकानी अघि बढाउने गरेको खुलेको थियो। त्यहाँ कुराकानी गरेर बिमा रकम सहज रूपमा उपलब्ध गराइदिने भन्दै पीडितलाई केही समय काठमाडौंको एक होटलमा राख्ने गरेका थिए। त्‍यस्तै १३-१४ लाख पीडितले पाउनुपर्नेमा ७-८ लाख रुपैयाँ भने आफैंले राखेर बाँकी रकम भने पीडितलाई दिने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

  • पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

    पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

    काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेथान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’

    विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि विभागले परिपत्र गरेको छ । तर बच्चा मावलीमा बसेको भए मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ । बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न विभागले परिपत्र गरेको छ ।

    त्यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षक वा माथवरले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन भनिएको छ । बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले बताएका छन् । कारागारमा बच्चा जन्मिएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि भनिएको छ ।

  • ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

    ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

    चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको बताएका हुन् । लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ ।’

    रविले पैसाको लेनदेन हुनु त परेको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडाभन्दा कडा कारवाही गर्छौं । बेथितिको बचाउ गर्दैनौं । बरु उदाङ्दो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ ।’


    रास्वपा नयाँ पार्टी भएकाले मान्छे चिन्न गाह्रो भएको बताएका छन् । तर नयाँ भए पनि पार्टीमा विधि भएकाले चिन्ता गर्न नपर्ने उल्लेख गरेका छन् । ‘हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ,’ लामिछानेले लेखेका छन्, ‘‘आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’

  • रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

    रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको पनि ढकालले बताए । ‘डा.श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ । छानबिन पूरा नहुँदासम्मको लागि श्रेष्ठलाई पार्टीको साधारण सदस्यको हैसियतमा पनि काम नगर्न आग्रह गरिएको छ ।

  • सन्दीपकाे मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

    सन्दीपकाे मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

    काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य परीक्षण गराउने चिकित्सको नभई अरुको नै बकपत्र भएकाले सम्बन्धित चिकित्सकलाई झिकाउन आदेश भएको हो।

    उनीहरुको वकपत्र भएपछि मात्रै यो मुद्दाको फैसला आउने भएको छ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

    गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन)ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

  • नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ

    नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ

    काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो।

    विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे पत्राचार गरेको थियो। ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।

    पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

  • वीरगन्जबाट यातायात कार्यालयका एक दर्जन बिचौलिया पक्राउ

    वीरगन्जबाट यातायात कार्यालयका एक दर्जन बिचौलिया पक्राउ

    वीरगन्ज । पर्साको वीरगञ्जबाट ११ जना बिचौलिया पक्राउ परेका छन् । नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने ११ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेका छन् ।

    सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र–बाहिर गर्ने, प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा हिजो मङ्गलवार उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

  • भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले गरायो पुनः सचेत

    भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले गरायो पुनः सचेत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतमा गरिने लगानी गैरकानुनी भएको बताएको छ । यस्ता लगानीले नेपालमा कानुनी मान्यता नपाएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको जनाएको छ ।

    ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सीरक्रिप्टो करेन्सी (स्टेकबल क्वाइन), नन् फङ्जिबल टोकन, डिससेन्ट्रलाईज फाइनान्सले कानुनी मान्यता पाएको छैन,’ राष्ट्र बैंकले भनेको छ । यति मात्रै नभएर उक्त कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी सम्बन्धी जोखिमहरु अन्तरनिहीत हुने राष्ट्र बैंकले जनाएको छ ।

    यसका साथै पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा पनि सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी सम्बन्धी जोखिमहरु अन्तरनिहीत हुने जोखिम रहेको केन्द्रीय बैंकको सूचनमा उल्लेख छ ।

    नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक समेत र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका व्यवसायहरुले विदेशमा लगानी हुनेगरी कुनै पनि प्रकारका कारोबार गर्न नसक्ने राष्ट्र बैंकले बताएको छ ।

  • मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन

    मिटर ब्याज पिडितको समस्या समाधान खोज्न तीन सदस्यीय छानविन समिति गठन

    काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी व्यावहारिक प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिइएको छ ।

    नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारे जानकारी दिइन् । बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठित उच्चस्तरीय आयोगको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । मिटरब्याज पीडितलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले यो निर्णय पनि गरेको मन्त्री शर्माले बताइन् ।

    मन्त्रिपरिषद् बैठकले गृह मन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको छ । गृह मन्त्री र गृह सचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको त्यो कार्यविधि खारेज गर्ने निर्णय गरिएको पनि मन्त्री शर्माले बताइन् ।

  • तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

    तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौं प्रशासनका कर्मचारी पक्राउ

    काठमाडौं । जिल्ला प्रशासन काठमाडौंबाट तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने घटनामा संलग्न भएको अभियोगमा नायब सुब्बा पक्राउ परेका छन् । सोमबार प्रहरीले देवराज गौतमलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नासु प्रशासन फाँटमा कार्यरत छन् । एक गिरोहले प्रशासनका कर्मचारीसँगको मिलेमतोमा करिब ५०० नागरिकता तिब्बती नागरिकलाई दिलाएको खुलेको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

    झापा घर भई इमाडोल बस्ने ४७ वर्षीय कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङ घर भई धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँको तिब्बतियन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले पक्राउ गरेको हो।

    उनीहरूमाथि सोधपुछ पछि प्रहरीले नासुलाई पक्राउ गरेको हो। उनीबाट थप व्‍यक्तिहरूको पहिचान खुल्ने प्रहरीको भनाई छ । प्रशासनबाट नागरिकता दिलाउने गिरोहका मुख्य आरोपी कृष्णबहादुर कटुवाल हुन्। उनले ३ देखि ५ लाखसम्म लिएर तिब्बतीलाई नागरिकता दिलाएको खुलेको थियो। विजय लामा भने ९ वर्षदेखि प्रशासनको क्यान्टिनमा काम गर्थे। त्यहाँबाट उनले भित्री सेटिङ मिलाउने काम गरेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो।

  • सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता

    सहमतिसँगै मिटर ब्याज पिडितको आन्दोलन फिर्ता

    काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति जुटेको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको हो ।

    ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुकरकागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषणसमेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमित भएपछि बस्ने मन्त्रिपरिषदको पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।

    पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य राख्ने र आयोगको संरचना सबै जिल्लामा रहने व्यवस्था गर्ने सरकारको तयारी छ ।

    मिटरब्याज पीडितको नियमित आउने गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय समन्वयरसहजीकरण समिति गठन गर्ने पनि सहमति भएको छ । आयोग गठन भएसँगै आन्दोलन फिर्ता लिने र अहिलेलाई आन्दोलन स्थगित गरिएको मिटरब्याज पीडित संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए । सम्झौतामा हस्ताक्षर गर्ने बेलामा उपस्थित रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहमति कार्यान्वयन गराउन आफू प्रतिवद्ध रहेको बताए ।

    यो विषय साझा सरोकारको विषय भएको बताउँदै उनले लोकतान्त्रिक नेपाली समाजमा मिटरब्याजीका यस प्रकारका समस्या हुनुले आर्थिक पाटोमा मात्रै नभइ बहुआयामिक नकारात्मक सन्देश देखाइरहेको बताए ।

    ‘प्राविधिक रुपले र अहिलेको सन्दर्भका कारण दुई पक्षको बीचमा सहमतिमा हस्ताक्षर गर्नुपरे पनि साझा सरोकारको विषय हो । आज लोकतान्त्रिक नेपाली समाजमा मिटरब्याजीका यस प्रकारका समस्या हुनुले आर्थिक पाटोमा मात्रै नभइ बहुआयामिक नकारात्मक सन्देश देखाइरहेको सन्दर्भमा हामी सबैले यसलाई हर हालतमा सम्बोधन र समाधान गर्नुपर्छ,’ उनले भने, ‘यसप्रकारको शोषण अन्त्य गर्नुपर्छ, यसमा सरकार प्रतिवद्ध छ । यो साझा सरोकारको विषय हो । यस प्रकारका अन्यायपूर्ण शोषणको अन्त्य गर्नुपर्छ । यो सहमति पत्र हर हालतमा कार्यान्वयन हुन्छ । हामीले समन्वय गर्दै काम गर्नुपर्छ । यसले हामी सबैलाई यो समस्याको समाधानको नयााँ प्रक्रियामा नेपाललाई प्रवेश गराउनेछ ।’

    गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋणका कारण जायजेथा गुमाउनुपरेको भन्दै मधेशका जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएर एउटा टोलीले प्रदर्शन गर्दै आएको थियो ।

  • सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

    सरकारमा सहभागिताबारे रास्वपाले चुनावपछि मात्र निर्णय लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय लिने भएको छ । १० वैशाखमा उपचुनाव हुँदैछ । पार्टीका सभापति रवि लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताए ।

    प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए । अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताए । उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उनको भनाई छ ।

  • सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

    सुराकीका नाममा सरकारले गर्ने खर्च रोकिने

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सूत्रपरिचालन कार्यविधि, २०७८ खारेज गर्ने निर्णय गरेका हुन्।

    उनले आफ्नो निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावको रूपमा लैजाने बताएका छन्। गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेका छन्।

  • १० हजार सापटी नदिएको झोकमा हत्या

    १० हजार सापटी नदिएको झोकमा हत्या

    तनहुँ । तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। धादिङ गंगाजमुना गाउँपालिका ४ घर भई पोखरा महानगरपालिका १२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो।

    उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन्। उनको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका(५ घर भई पोखरा ७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरेको हो। प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ। उनी पोखरा ४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराज हुन्।

    गत आइतबार बिहान ११ बजे म्याग्दे गाउँपालिका(४ मनहरीस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्यांकीभित्र शव फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो। केही दिनदेखि पानीमा गन्ध आइरहेको भन्ने खबर पाएपछि खानेपानीका कर्मचारी गएर ट्यांकी हेर्दा शव फेला परेको हो। उक्त ट्यांकीबाट १३६ घर परिवारलाई पानी वितरण गरिएको थियो। त्यस ट्यांकीको पानी खाएर केही बिरामी समेत परेको प्रहरीले जनाएको छ।

    कार्यालयका प्रमुख एवं एसपी अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। ‘खबर पाएपछि मेरो नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। शव निकालेर हेर्दा टाउकोमा चोट, घाँटीमा रातो रंगको पछ्यौराले कसेको, बायाँ कान च्यातिएको, छाती र पेट गलेको, निधारमा चोट, छाला खुइलिएको अवस्थामा थियो,’ उनले भने।

    सुरूमा ती महिलाको सनाखत भएको थिएन। तर उनको गोजीमा एउटा चिट फेला परेको थियो। उक्त चिटमा फोन नम्बर लेखिएको एसपी बिष्टले बताए। उक्त नम्बरको आधारमा बुझेर पोखरामा रहेका मृतकका छोरासँग सम्पर्क भएको थियो। उनकै छोराले मृतकको सनाखत गरेको एसपी विष्टले बताए। शवको प्रकृतिले पनि कसैले लुटपाट गर्न हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो। त्यस अनुसार प्रहरीले प्राविधिक रूपमा अनुसन्‍धान अघि बढाएको थियो।

    अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो। उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए। शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए। पछिल्लो समय प्रकाशसँग पटक–पटक भेटघाट तथा कुराकानी हुन्थ्यो। ‘उनीहरूबीच दुई वर्षअघि चिनजान भएको थियो। पटकपटक भेटघाट पनि भएको र व्यावहारिक रूपमा नगद पनि आदानप्रदान भएको रहेछ,’ एसपी विष्टले भने।

    शान्तिले उनीसँग १० हजार रुपैयाँ लिएकी थिइन्। तर उनले माग्दा फिर्ता गरेकी थिइनन्। गत फागुन २१ गते भने प्रकाश काठमाडौं जाने भन्दै हिँडेका थिए। उनी तनहुँ आएका थिए। ‘तनहुँबाट बिहानै शान्तिलाई फोन गरेको रहेछ। त्यसपछि शान्तिले पनि त्यही एक जनासँग लिनुछ, लिएर दिन्छु भनेपछि उनी पनि तनहुँ आइन्,’ एसपी विष्टले भने, ‘तर केही गरी पैसा मिलेन। उनका छोरा पनि बिरामी छन् भनेर दिन सकिनन्।’

    पैसा फिर्ता गर्न नसकेपछि प्रकाशले शान्तिको फोन लिएर भाग्न खोजेका थिए। तर शान्तिले प्रतिकार गर्दा प्रकाशले इँट्टाले हिर्काए। उनले फेरि सलले घाँटी पनि न्याँकेर हत्या गरेको प्रहरीले जनाएको छ। शान्ति हराइरहेको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निवेदन परेको थियो। तर उनी फेला परेकी थिइनन्।

    उनको शव फेला परेपछि अनुसन्धानकै क्रममा प्रहरीले बुधबार शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित ससुरालीबाट उनलाई पक्राउ गरिएको थियो।
    उनलाई पक्राउ गरेपछि प्रहरीले गरगहनाको पनि खोजी गरेको छ। प्रकाशले लुटेको गहना पोखरा(४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेका थिए। सुन व्यवसायी रविनकुमारले बिनाबिल उक्त सुन किनेका थिए। उनले बरामद गरेको सुनको स्वरूप नै परिवर्तन गरी ८० लालको सुनको ढिक्का बनाइसकेका थिए। त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

  • राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार

    राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् । कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् । उनीहरुले नियुक्तपत्र समेत बुझेका छन् ।

  • बीमाको रकम पाउन श्रीमानको हत्या

    बीमाको रकम पाउन श्रीमानको हत्या

    सप्तरी । सप्तरीमा एक महिलाले बीमाको रकम लिनश्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाइने भएकाले श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको हो । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको थियो ।

    त्यसपछि श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बताएको थियो । अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले यसबारे जानकारी दिए ।


    इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नातामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ । डीएसपी रायका अनुसार ऋण चुक्ता गर्न योजनावद्ध तरिकाले शिवशंकरको हत्या गरेको बयान दिएका छन् । घरव्यवहार चलाउन शिव शंकर र कोशिलादेवीले नातामा भाउजू पर्ने शान्ति देवीसित ऋण लिएका थिए । शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् ।

    त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् । शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन् । योजना अनुसार शान्तिदेवीले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०\२० लाखको बिमा गराए ।

    ५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको खुलेको डीएसपी रायले बताए ।

    करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेकी थिइन् । मृत्यु पश्चात कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिलादेवीसहित तीनै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए ।

  • महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

    महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

    काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए।दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो।

    उपकुलपति रेग्मीले दत्तको राजीनामा कार्यकारी परिषद बैठकमा पेश गर्ने बताए। ‘परिषदले राजीनामा स्वीकृत गर्ने हो। त्यो गरिहाल्छ,’ रेग्मीले भने। भिडिओ सार्वजनिक भएपछि दत्तलाई कारबाही गर्न विश्वविद्यालय सामू दबाब बढेको थियो।

  • सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी स्थगित

    सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी स्थगित

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ ।

    काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेसी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

    बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेसी परेको थियो।

    यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

    तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।

    सन्दीपको अर्को पेसी आगामी साताको सोमबारका लागि तोकिएको छ।

  • थुनामा पठाउने न्यायाधीशको इजलासमा सन्दीपको अन्तिम सुनुवाइ हुँदै

    थुनामा पठाउने न्यायाधीशको इजलासमा सन्दीपको अन्तिम सुनुवाइ हुँदै

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको आरोपको फैसलाका लागि थुनछेक आदेश गरेकै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा यो मुद्दा पेसी तोकिएको हो।

    यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

    सर्वोच्च अदालतले पनि सन्दीपलाई थुना बाहिर राख्ने आदेश नै सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो।

    यसअघि जिल्ला अदालत काठमाडौंकै न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले जाहेरवाली किशोरीलाई अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो।

    अन्तरिम राहत माग गर्दै किशोरीले जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।

  • नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

    नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

    काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो ।

    अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३\४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

    तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

    काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले रु एक हजार दरका रु २६ हजार र रु पाँच सय दरको रु चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ ।

    साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको रु पाँच लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा रु एक हजार दरको रु चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस

  • कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

    कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

    काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा सङ्घ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

    सो अवसरमा सरकारका तर्फबाट सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागी र गृहसचिव विनोदप्रकाश सिंह रहेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा भएको लिम्बूको निधनप्रति दुःख प्रकट गर्दै घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, शहीद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामकरणको विषयमा राजनीतिक तहमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका थिए ।

  • भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

    भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

    काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट तीन लाख बढी नगद बरामद भएको छ । मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूले सोही क्याफेमा जुवा खेलिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका १२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका ५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका ६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल १ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी ९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर ३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, पाँचखाल ३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, नमोबुद्ध ७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल र ३६ वर्षीय गोपाल कुईकेल छन् ।

    मकवानपुर हेटौडा १८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक ३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका ६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।