Category: कानुनी कुरा

  • यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

    यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

    काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो ।

    बुधबार उनीहरुलाई आठ वर्षका दरले सजाय तोकेको छ । अर्का उपसचिव होमनाथ भट्टराईलाई साढे २ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले उपसचिव दाहाललाई तीन करोड २ लाख १७ हजार बिगो, पौडेललाई दुई मुद्दामा ८ करोड बिगो र नेपाललाई ६ करोड १७ लाख ६४ हजार बिगो भराउने आदेश दिएको छ । उनीहरुले त्यसको दोब्बर जरिवाना तिर्नुपर्छ । राजस्व हिनामिनाको भ्रष्टाचारमा आरोप ठहर भए बिगोको दोब्बर जरिवाना हुने कानुनी व्यवस्था छ ।

    यातायात व्यवस्था कार्यालयमा २०६९ सालदेखि २०७३ सालसम्म राजस्व चुहावट भएको भनी अख्तियारमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा ६१ करोड २१ लाख रुपैयाँ राजस्व खातामा दाखिला नगरी दुरुपयोग भएको भेटिएको थियो । त्यसपछि छानबिन गरी अख्तियारले मुद्दा चलाएको हो । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद, १४ करोड ७ लाख रुपैयाँ बिगो भराउने आदेश गरेको छ । अर्का लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद, ५० लाख ८२ हजार रुपैयाँ बिगो भराउने आदेश गरेको छ ।

    अनियमितताका प्रमुख सूत्रधार मानिएका सुरेश अधिकारीलाई एउटा मुद्दामा ८ र अर्कोमा ९ वर्ष कैद सजाय भएको छ । उनलाई दुईवटा मुद्दामा १७ करोड ४ लाख विगो भराउने आदेश भएको छ । लेखापालहरु मणिराज दाहाल र टंकबहादुर खड्कालाई पनि आठ वर्ष कैद, त्यति नै बिगो र जरिवानाको आदेश भएको हो ।

    लेखापालहरु देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद, ११ करोड २२ लाख बिगो भराउने आदेश भएको छ । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद, ५ करोड ३२ लाख बिगो भराउने आदेश भएको छ ।

    अख्तियारले उनीहरुमाथि सेवाग्राहीबाट संकलन हुने राजस्व रकम बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको आरोप लगाएको थियो । अख्तियारको आरोपपत्रमा आर्थिक वर्ष २०७१र७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँमात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको उल्लेख थियो ।

    आर्थिक वर्ष २०७२\७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको थियो । आर्थिक वर्ष २०७३र७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको आरोपपत्रमा उल्लेख थियो ।

    इटहरीको यातायात कार्यालय परिसरमै राजस्व संकलनका लागि बैंक स्थापित थियो । तर उनीहरुले आफैंले नगद संकलन गर्थे । फर्जी रसिद जारी गर्थे र संकलन भएको रकम ‘बास्केट फण्ड’ खडा गरी वितरण गरेको अख्तियारको दाबी थियो ।

  • सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

    सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने

    काठमाडौं । प्रतिनिधि सभामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन(२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

    शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । तर त्यसमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो । त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि पेस गर्ने सम्भावित कार्यसूची पनि छ ।

  • आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

    आफ्नै कार्यालयको महिला कर्मचारीमाथि कार्यकक्षमै अस्लिल हर्कत गर्ने डिन निलम्बनमा

    काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ। कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हरकत गरेको भिडियो सार्वजनिक भएको थियो। उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बनको पत्र लेख्दै सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताएका छन्। उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए।

    कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डिन दत्तले अश्लील हरकत गरेको भिडिओ सार्वजनिक भएको थियो। जुम बैठकमा उनले अडियो म्यूट गरेका थिए भने, भिडियो अन नै थियो। दत्त कृषि संकायको ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए।

  • काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

    काठमाडौं उपत्यकामा वडाबाट आज नि:शूल्क कानूनी परामर्श

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ। नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ।

    सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ। त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।

    कामपाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो। यसप्रकारको अभ्यास यसअघि गरिएको छैन। यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन्। यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ।

    सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।

    सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ।

    त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ।

    त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थीलाई परिचालन गरिनेछ।

    ‘अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ’, कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन्, अवस्था बुझेर सेवा दिनुपर्छ।’

  • उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

    उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

    काठमाडौं । यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले आज ९बुधबार०देखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने आयोगले जनाएको हो ।

    आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’’

    निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमीला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी चार जना उम्मेदवार छन् । प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । उपराष्ट्रपति निर्वाचनका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

  • प्रचण्डविरुद्ध दायर रिटमा कारण देखाउ आदेश, रिटलाई अग्राधिकार

    प्रचण्डविरुद्ध दायर रिटमा कारण देखाउ आदेश, रिटलाई अग्राधिकार

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध दायर रिटमा निवेदकले माग गरे अनुसारको आदेश दिनु नपर्ने फैसला गरेको छ ।

    न्यायाधीश ईश्वर खतिवडाको इजलासले अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

    दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएको मानिसको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि प्रचण्ड विवादमा तानिएका थिए। द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले उनीविरुद्ध रिट दायर गरेका हुन्।

    विपक्षी बनाइएका प्रचण्डसहित प्रधानमन्त्री कार्यालय, गृह, रक्षा, कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

    संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले समयमै टुङगाउन इजलासबाट रिटलाई अग्राधिकार दिने आदेश भएको छ ।

  • सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

    सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आज सुनुवाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।

    सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गराएका थिए ।

    संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा नियमित अदालतमा हेर्न नहुने भन्दै प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनहरुले रिट दर्ताको विरोध गरेका छन् । विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्नुपर्ने उनीहरुको माग छ ।

    सत्ता साझेदार दल, माओवादी धारका ८ पार्टी र कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रचण्ड विरुद्ध दायर भएको रिटको विरोध जनाएका छन् ।

  • होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

    होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो । पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होलीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिने प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होली मा होली पर्वसम्बन्धी विभिन्न कार्यक्रम हुने स्थानमा बढी प्रहरी परिचालन गरिनेछ । ‘उपत्यकाभर २,६०० बढी पोसाकका प्रहरी तैनाथ हुनेछन् । विशेष–विशेष स्थानमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिनेछ,’ एसपी रिजालले भने ।

    अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

    यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

  • संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

    संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्‌‌मा पेस गरिने भएको छ । यसबारे आइतबार नौ दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

    संक्रमणकालीन न्यायसम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुंगो लगाउने गरी अगाडि बढाउन दलहरु सहमत भएका छन् । बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्र रक्षाका लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् । नौ दलको संयुक्त विज्ञप्तिमा द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को‌ यसै अधिवेशनमा प्रस्तुत गरिने उल्लेख छ । कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गरिने छन् ।


    केही दिनयता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावनाविपरीत भइरहेका केही क्रियाकलापतर्फ ध्यान गम्भीररुपले आकृष्ट भएको समेत विज्ञप्तिमा उल्लेख छ । संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरितका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन भन्ने विषयमा एकमत रहेको दलहरुले बताएका छन् ।

  • सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने

    सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने

    काठमाडौं । सोमबार र मंगलबार मनाइने फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ ।

    यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । प्रहरीको १०० नम्बरमा फोन गर्दा पैसा लाग्दैन । यो नम्बरमा गुनासो आउने बित्तिकै सम्बन्धित ठाउँमा प्रहरी पुग्छ । होलीलाई लक्षित गरी भोलि ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिने छ ।

    मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरीले जनाएको छ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो ।

  • लागुऔषध खाएर सवारी चलाउने ११ चालक पक्राउ

    लागुऔषध खाएर सवारी चलाउने ११ चालक पक्राउ

    काठमाडौं । लागुऔषध प्रयोग गरी गाडी चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत राति नागढुंगामा गरेको विशेष जाँचका क्रममा ११ जनाले लागुऔषध प्रयोग गरी गाडी चलाएको पाइएको हो । राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरिएको लागुऔषध प्रयोग गरेका ११ जनालाई नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    उनीहरूलाई हिरासतमा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने छ । होलीको दिन पनि लागुपदार्थ र जाँडरक्सी सेवन गरे नगरेको जाँच हुनेछ । ट्राफिक प्रहरीले गएको साउन नौ गतेदेखि चालकहरुले लागुऔषध प्रयोग गरी गाडी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टि.एच.सी. किटको प्रयोग गरी जाँच गर्न थालेको छ । जाँड रक्सी खाएर गाडी चलाउने चालकलाई जरिबाना र सचेतना कक्षामा सहभागी गराउने र लागुऔषध प्रयोग गर्नेलाई पक्राउ गरी मुद्दा चलाइने भएको छ ।

  • कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

    कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।
    भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

    फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिनेछ । २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।

  • अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

    अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाले बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको हो । कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही हुने महानगरपालिकाले जनाएको छ । यो ठाउँमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापन गर्न रोक लगाइएकोछ ।

    यस्ता फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको हो । अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सक्ने व्यवस्था छ । अस्पतालबाट निस्कने फोहर मात्र होइन कामपाले अन्य सबै किसिमको फोहरलाई पनि स्रोतमा नै वर्गीकरण गरेर लाने तयारी गरिरहेको छ ।

  • सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

    सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट फैसला गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ।

    सन्दीप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको भन्दै उक्त मुद्दाको फैसला फास्ट ट्रयाकबाट गर्नुपर्ने भन्दै आदेश दिएको हो। खेलाडीको क्रिकेट जीवनलाई समेत मध्यनजर गर्दै लगातार हेयरिङमा राखेर मुद्दाको छिटो फैसला गर्न सर्वोच्चले भनेको छ। योसँगै अब काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दा छिटो फैसला गर्नुपर्ने भएको छ।

  • सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

    सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र उपस्थित हुनुपर्ने सर्तसहित प्रतिबन्ध हटाइएको हो । यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।

  • पल शाह आज छु्ट्दै

    पल शाह आज छु्ट्दै

    काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) छुट्दैछन् । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाका छन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

    त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो । उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

    आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन् । दाङ स्थायी ठेगाना भएका शाह रिहा भएपछि काठमाडौं आउने छन् ।

  • सन्दीपलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्नेबारे सर्वोच्चमा आज सुनुवाई

    सन्दीपलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्नेबारे सर्वोच्चमा आज सुनुवाई

    काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुनेभएको छ ।
    ‘क्रिकेट खेल्न विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।

    आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।

    सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन । लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।

    शुक्रबार नै लामिछाने विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदन सहित विदेश जान अनुमती मागिएको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

  • ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

    ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

    काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउनु पर्ने भएको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएको भन्दै महानगरले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको ठहर छ ।

    सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’

    ‘महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।’ यदि सात दिनभित्र तारहरु नहटाए कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ ।

  • मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

    मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

    काठमाडौं । राइड सेयरिङ गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न नदिने नियम बनाएको थियो । सवारी मोडिफिकेसन गर्न नपाइने तर्क गरेर यस्तो प्रयोगको रोकिएको थियो । ट्राफिकको कमदविरुद्ध सजिलो साथी प्रालिका डेभिड चौधरी र आर्यनराज पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए ।

    अदालतले स्ट्यान्ड र गोप्रो क्यामेरा प्रयोग गर्नेमाथि जरिबाना पनि नगर्न आदेश दिएको छ । सरकारले नियम नमान्नेलाई पाँच सयदेखि २० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने चेतावनी दिएको थियो । अदालतले भने यस्तो जरिबाना गर्न रोक्नुपर्ने भन्दै रिट निवेदकले गरेको माग समसामयिक, जायज र कानून अनुकूल नै देखिएको ठहर गरेको छ । यस्ता उपकरण प्रयोगबाट हुनसक्ने सबल र निर्बल पक्षहरुको प्राविधिक अध्ययन र विश्लेषण गरी नियमन गर्न र आवश्यक कारबाही गरी उपयुक्त कानुनी मापदण्ड निर्धारण गर्न अदालतले सरकारलाई भनेको छ ।

  • भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

    भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    पदमा बहाल रहँदा अमिल्दो र अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकाले उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारको दावी छ । केसीले आफ्नो आम्दानीबाट घर जग्गा किन्नुका साथै आफ्नो र पत्नी सुशीला पण्डितको नाममा बैंकमा राखेको अख्तियारले बताएको छ ।अख्तियारले केसीको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

  • गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ

    गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ

    काठमाडौं । सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९–१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।


    गोंगबुमा सोमबार भएको घटनामा प्रहरीको दुईवटा गाडी पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै दुईवटा मोबाइल पसलबाट करोडौंको सामान लुटपाटसमेत भएको थियो । सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका प्रमुखलाई बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।

    उक्त घटनालाई नियन्त्रणमा लिन बालाजु प्रहरी वृत्तले समयमै यथोचित कदम नचालेको भन्दै त्यहाँका डीएसपी रविन विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको थियो ।

  • वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

    वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

    काठमाडौं । वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दुःख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

    पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका ५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ बस्‍ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका -९ घर भई हाल सूर्यविनायक नगरपालिका(२ बस्‍ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्‍यपुर ठिमी बस्‍ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

    पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए ।

  • लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ

    लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।


    ब्युरोले काठमाडौं महानगरपालिका–२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र नगद ४ लाख ५ हजार रुपैयाँसहित सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ मा पक्राउ गरेको थियो । शेर्पा २०७० असार ७ मा हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको पाइएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।

    शेर्पामाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट माघ २५ मा, धनुषा औरही गाउँपालिका–३ कपटोलका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका–३ कपटोलका ४५ वर्षीय जाकिर नदाफलाई माघ २६ मा पक्राउ गरेको हो ।

    काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ का २४ वर्षीय दीपक तामाङलाई काठमाडौं महानगर–१६ बालाजुबाट नगद ६ हजार रुपैयाँसहित माघ २७, नुवाकोट शिवपुरी गाउँपालिका–८ का २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगर–२२ काठमाडौं मलबाट नगद ६ हजार रुपैयाँसहित माघ २७ मा प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंका मुख्य डिलर शेर्पालाई फैज अहमदले पटनाबाट लागूऔषध खरिद गरी पठाउन रिहासदलाई जिम्मा दिने गरेको, रिहासदले तरकारी बोक्ने गाडीमा लागूऔषध लुकाई जाकिर नदाफलाई गाडीमा राखेर काठमाडौं पठाउने र जाकिर नदाफले शेर्पालाई दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । फैज अहमद बिक्री गरेको लागूऔषधको रकम लिन आफैं काठमाडौं आउने गरेको खुलेको छ । उनले लागूऔषध बिक्रीको १७ लाख ७५ हजार रुपैयाँ बुझिसकेको समेत प्रहरीले जनाएको छ ।

    ब्युरोले २३ किलो ८ ग्राम लागूऔषध चरेससहित थाइल्यान्डका ४ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता डीएसपी नारायण रञ्जितकारका अनुसार ब्युरोबाट खटिएका प्रहरीले माघ २८ मा काठमाडौंबाट बैंकक जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४८ वर्षीया याओवालुक जुआब्स्री, ४२ वर्षीया परिचार्ट पम्प्रुक, २५ वर्षीय नाटापोल ट्रिचैया, १९ वर्षीया नट्नारी ट्रिचैया छन् । उनीहरुले लगेजभित्र फल्स बटम बनाई चरेस थाइल्यान्ड लैजान लागेका थिए ।

    प्रहरीले माघ २७ मा सिनामंगलस्थित एक होटलबाट अवैध लागूऔषध १ ग्राम खैरो हेरोइनसहित मोरङ लेटाङ नगरपालिका–२ का ३४ वर्षीय रोशन रिसाललाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न आरोपमा मोरङ केराबारी गाउँपालिका–३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं महानगर–३२ कोटेश्वरस्थित अर्को होटलबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्रामसहित पक्राउ परेका छन् ।

    यस्तै, कोटेश्वरस्थित एक होटलबाट १२ ग्राम लागूऔषध खैरो हेरोइन र डिजिटल तराजुसहित एक भारतीय नागरिक पनि समातिएका छन् । भारत बिहार मधुवनी जयनगर हथलेटेवा–४ का ३२ वर्षीय श्रवणकुमार महरालाई माघ २९ मा ब्युरोले पक्राउ गरेको हो ।

  • राष्ट्रपतिले दिइन दिवाभोज

    राष्ट्रपतिले दिइन दिवाभोज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गरेकि छिन् ।

    राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नुभएको हो । दिवा भोजमा सङ्घीय संसद्का नवनिर्वाचन सदस्यको उपस्थिति थियो ।
    सङ्घीय संसद्का सदस्यसँगै दिवाभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ । दिवा भोज कार्यक्रममा विभिन्न कार्यक्रमसमेत गरिएको छ । 

  • राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

    राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन्। विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार बेलुकी ट्वीट गर्दै उनले यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने उल्लेख गरेका छन्। ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन। यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ,’ भट्टराईले भने।

    गत मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। सत्ता गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ताघटक दल नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरेको प्रदेश सभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे। सुदूरपश्चिममा बिहीबार नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ।

    सत्ता गठबन्धनकै समर्थनमा बनेको सरकार एक महिनामै ढलेपछि सात दलीय सत्ता गठबन्धनभित्र असन्तुष्टिसमेत देखिएका छन्। नागरिक उन्मुक्तिले भने जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने अडान राख्दै आइरहेको छ। यो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने पनि नागरिक उन्मुक्तिको अडान छ।
    भट्टराईले अब हुने राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने पनि बताएका छन्। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छन् भने सत्ता साझेदार दल नेकपा एमालेले पूर्वसहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ। तर प्रधानमन्त्रीलाई गत पुस २६ मा विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि संसदको ठूलो दलको हैसियतमा राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ। साथै भट्टराईले अर्थतन्त्रमा गम्भीर संकट देखा परेकोसमेत उल्लेख गर्दै भनेका छन्, ‘अब पनि द्वन्द्व कि सहमतिको बाटो ?’

  • साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी  गर्ने व्यक्ति पक्राउ

    साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका(७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ बस्‍ने ३० वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई प्रतिव्‍यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • बानेश्वरमा बाबु-छोरी मृत फेला

    बानेश्वरमा बाबु-छोरी मृत फेला

    काठमाडौं । काठमाडौंको बानेश्वरमा बुवा–छोरी मृत भेटिएका छन् । शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका १० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा–छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

    एसपी मैनालीका अनुसार उक्त घरमा भित्रैबाट बन्‍द गरिएको थियो। श्रीमती बाहिर गएकी थिइन्। उनी घर फर्किएपछि श्रीमान शौचालयमा झुन्डिएको र ७ वर्षीया छोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला परेको समाचारमा उल्लेख छ घटनाको खबर पाएपछि जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की लगायतको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र फोरेन्सिक चिकित्सक गोपाल चौधरीसहितको टोली पुगेको थियो।

    अहिले मुचुल्काको काम भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार बालिका ‘फरक क्षमता’की थिइन्। बालिकाको हत्या गरी बुवाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाबारे विस्तृतमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

  • अपरिचित लिंक र एप नखोल्न प्रहरीको आह्वान

    अपरिचित लिंक र एप नखोल्न प्रहरीको आह्वान

    काठमाडौं । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ । अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।

    ह्वाट्सएपमार्फत् एपको लिङ्क पठाउने र लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु उनीहरुको पहुँचमा पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैले शङ्कास्पद एप्लिकेशन नखोल्न ललितपुर प्रहरीले अनुरोध गरेको छ ।

  • बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

    बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

    काठमाडौं । बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जनाको गिरोह पक्राउ परेको छ । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

    सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न रहेका आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराए । पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमार रहेका छन् ।

    काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शाहले जानकारी दिए । उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटिएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेका आठै जनालाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

    गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुने बताइएको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत जानकारी गराएका थिए।

    यता गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट हट्नेसम्मको कुरा गरेको रास्वपाले दुई दिनसम्म पर्खने निर्णय गरेको छ। अध्यक्ष प्रचण्डले रविको मुद्दाको अन्तिम टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन्। तर सत्ता साझेदार दल नेकपा एमालेले भने गृह मन्त्रालय रविलाई दिनुपर्ने अडानमा छ ।