काठमाडौँ, २९ साउनः वर्तमान सरकार गठन भएपछि बजेट कार्यान्वयनले गति लिएको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) र बौद्धिक साझेदार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा सार्वजनिक अध्ययनले सरकारले शासकीय सुधारका १०० बुँदे कार्यसूची जारी गरेपछि गत आर्थिक वर्ष २०८२–८३ को बजेटमा समावेश कार्यक्रमहरूको कार्यान्वयनले गति लिएको देखाएको छ । चौथो त्रैमासमा बजेट कार्यान्वयनको गति तेस्रो त्रैमासिकको तुलनामा थप तीव्र बनेको अध्ययनले देखाएको छ ।
“आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा राजनीतिक अन्योल, आन्दोलन तथा सरकारी संरचना र कागजातमा भएको क्षतिका कारण बजेट कार्यान्वयन प्रभावित भएको थियो । तेस्रो त्रैमासिकदेखि सरकारी निकायले पुनः गति समातेका थिए भने निर्वाचनपछि नयाँ सरकारले काम सुरु गरेसँगै कार्यान्वयनमा थप सुधार आएको देखिएको छ”, अध्ययनको प्रस्तुतीकरण दिँदै सेजन अध्यक्ष भागवत भट्टराईले भने । कतिपय अधुरा घोषणा चालु आर्थिक वर्षको बजेटमा समेत दोहोरिएको, कानुन निर्माणमा उल्लेख्य प्रगति भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्नुपर्ने अवस्था रहेको सीएनआईले जनाएको छ ।
बजेट कार्यान्वयनमा केही सुधार देखिए पनि पुँजीगत खर्चको अवस्था भने कमजोर रहेको अध्ययनले देखाएको छ । रकमगत आधारमा पुँजीगत खर्च पछिल्लो छ वर्षयताकै न्यून र कुल खर्चको प्रतिशतका आधारमा अहिलेसम्मकै न्यून रहेको जनाइएको छ ।
‘बजेट वाच’ले बजेट कार्यान्वयनको अवस्थालाई शून्य, आंशिक र पूर्ण गरी तीन तहमा वर्गीकरण गरेको छ । काम सुरु नभएको, अघिल्लो सरकारले ल्याएको बजेटलाई वर्तमान सरकारले अपनत्व नलिएको वा घोषणा मात्र सीमित रहेको अवस्थालाई शून्य प्रगति मानिएको छ ।
कार्यक्रम कार्यान्वयनका लागि बैठक तथा छलफल अघि बढेको, कानुन वा कार्यविधि बनेको तर ठोस काम नभएको अवस्थालाई आंशिक प्रगति र बजेटमा घोषणा भएअनुसार कार्यक्रम कार्यान्वयनमा गइसकेको अवस्थालाई पूर्ण कार्यान्वयन मानिएको छ ।
अध्ययनमा आव २०८२–८३ को बजेटमा निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित ७४ वटा समावेश गरिएको थियो । जसमध्ये ३४ वटा पूर्ण रूपमा कार्यान्वयन भएका छने भने ३४ वटा बुँदामा आंशिक कार्यान्वयन भएको छ भने छवटा बुँदा कार्यान्वयन हुनसकेका छैनन् । क्षेत्रगत रूपमा औद्योगिक विकासतर्फका २७ बुँदामध्ये तीनवटा शून्य, १० वटा आंशिक र १४ वटा पूर्ण कार्यान्वयन भएका छन् । ऊर्जा, पूर्वाधार तथा सहरी विकासतर्फका १४ बुँदामध्ये दुईवटा शून्य, सातवटा आंशिक र पाँचवटा पूर्ण कार्यान्वयन भएका छन् । कृषि तथा जडीबुटीतर्फका सात बुँदामध्ये तीनवटा आंशिक र चारवटा पूर्ण कार्यान्वयन भएका छन् । पर्यटन क्षेत्रका नौ बुँदामध्ये छवटा आंशिक र तीनवटा पूर्ण कार्यान्वयन भएका छन् ।
त्यस्तै, लगानी तथा वित्तीय क्षेत्रका आठ बुँदामध्ये एउटा शून्य, तीनवटा आंशिक र चारवटा पूर्ण कार्यान्वयन भएका छन् । शिक्षा तथा रोजगारीतर्फका तीन बुँदामध्ये दुईवटा आंशिक र एउटा पूर्ण कार्यान्वयन भएको छ । सूचना प्रविधि तथा नवउद्यमतर्फका छवटै बुँदामध्ये तीनवटा आंशिक र तीनवटा पूर्ण कार्यान्वयन भएका छन् ।
काठमाडौँ, २९ साउनः सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले निजी क्षेत्रको प्रवर्द्धन, सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र कानुनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा उनले निजी क्षेत्रका समस्या समाधानमा सरकारले काम गरिरहेको उल्लेख गरे ।
उनले निजी क्षेत्र र सरकारको सोच एउटै दिशामा रहेको बताउँदै आर्थिक विकास, निजी क्षेत्रको प्रवर्द्धन र रोजगारी सृजनामार्फत नेपाली युवालाई स्वदेशमा बस्ने वातावरण निर्माण गर्ने सरकारको उद्देश्य रहेको उल्लेख गरे ।
“सरकारको नीति सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, निजी क्षेत्रसँग सम्बन्धित समस्याको समाधान, सूचना प्रविधिको प्रयोग र डिजिटल गभर्नेन्स (डिजिटल सुशासन) बढाउनेतर्फ केन्द्रित छ”, मुख्यसचिव कार्कीले भने । पुराना कानुनका कारण विकास र व्यवसाय सञ्चालनमा अवरोध देखिएको भन्दै समयअनुकूल कानुन निर्माण तथा संशोधनलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।
मुख्यसचिव कार्कीका अनुसार एकैदिन नौवटा नयाँ कानुन निर्माण तथा कानुन संशोधनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी संसद्मा पठाइएको छ । उनले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनसम्बन्धी रणनीति सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै निजी सम्पत्ति तथा लगानीको सुरक्षा, व्यवसाय सञ्चालनमा सहजता, नीतिगत स्थायित्व, नवप्रवर्तन, वित्तीय पहुँच र निर्यात सहजीकरणलाई रणनीतिमा समेटिएको बताए ।
मुख्यसचिव कार्कीले सरकारी सेवा प्रवाहलाई एकद्वार प्रणालीमा लैजाने, अनलाइन सेवा विस्तार गर्ने र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्ने काम भइरहेको बताए । नापी, मालपोत, यातायातलगायत सेवामा सकेसम्म एकद्वार प्रणाली लागू गर्ने सरकारको प्राथमिकता रहेको मुख्यसचिव कार्कीको भनाइ छ ।
मुख्यसचिव कार्कीले डिजिटल गभर्नेन्सलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै लगानी स्वीकृति, कम्पनी तथा उद्योग दर्तालगायत कामलाई स्वचालित प्रणालीमा लैजाने प्रक्रिया अघि बढेको जानकारी दिए । सूचना प्रविधिसम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत सचिवको नेतृत्वमा सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गरिएको जानकारी दिँदै उनले सरकारी सफ्टवेयर विकासका लागि छुट्टै ‘सफ्टवेयर डेभलपमेन्ट सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको बताए ।
मुख्यसचिव कार्कीले व्यापार सहजीकरणका क्षेत्रमा पनि पछिल्लो दशकमा उल्लेख्य सुधार भएको दाबी गरे । सरकारले भ्रष्टाचार नियन्त्रण र कानुनी शासनलाई पनि प्राथमिकतामा राखेको उनले बताए । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तरराष्ट्रिय निगरानीको ग्रेलिस्टबाट बाहिरिने गरी सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उनले बताए ।
“वैधानिक व्यवसाय गर्ने, कानुनी शासन मान्ने र कानुनको परिधिभित्र रहेर उद्योग, व्यवसाय सञ्चालन गर्ने व्यवसायी सशङ्कित वा डराउनुपर्ने अवस्था छैन”, मुख्यसचिव कार्कीले भने । सरकारको नीति तथा निर्णय प्रभावकारी भए पनि कार्यान्वयन कमजोर भए अपेक्षित परिणाम हासिल नहुने भन्दै निजी क्षेत्रसँग समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।
मुख्यसचिव कार्कीले सरकारी निर्णय कार्यान्वयन नभए त्यसबारे ‘हेलो सरकार’मार्फत गुनासो गर्न निजी क्षेत्र तथा सर्वसाधारणलाई आग्रह गरे । उनका अनुसार हेलो सरकारमा आएका गुनासो सम्बन्धित निकायमा पठाउने, त्यसको प्रगतिबारे निगरानी गर्ने र समाधानको अवस्थाबारे जानकारी लिने व्यवस्था गरिएको छ । उनले निजी क्षेत्र र आर्थिक पत्रकारबीचको सहकार्यमा यस्ता कार्यक्रमले सरकारका नीति तथा निर्णयको कार्यान्वयनबारे खबरदारी गर्न सहयोग पुग्ने बताउँदै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
पेरिस, फ्रान्स, २९ साउन (रासस–एएफपी) । इरानले इन्धन चुहावट यसको दक्षिणी क्वेसम टापुसम्म पुगेको भन्दै बिहीबार हर्मुज जलमार्गमा वातावरणीय क्षतिबारे चेतावनी दिएको छ । तेहरानले यसमा जिम्मेवार पक्षबाट क्षतिपूर्तिको माग गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो,“ तेलको दागले खाडी र ओमान सागरको ‘पानीलाई दूषित’ बनाएको छ र प्रारम्भिक प्रमाणले चुहावटको स्रोत विदेशी ठूला इन्धन बोक्ने जहाज भएको सङ्केत भेटिएको छ।”
विश्वभरि जहाज आवागमन निगरानी गर्ने अमेरिकी होस्ट गरिएको वेबसाइट ट्याङ्करट्र्याकर्सले भनेको छ, “चुहावट अगस्ट ३ मा ओमानी समुद्रमा हिँडिरहेको ठूलो जहाज ‘मिनोअन पायनियर’माथि इरानी आक्रमणबाट आएको देखिन्छ। “त्यसपछि चुहावट जलमार्ग हुँदै इरानतर्फ बगेको थियो,” ट्याङ्करट्र्याकर्सले भनेको छ। बघाईले एक्समा लेख्नुभएको छ, “यस्ता चुहावटले ‘हालका दशकहरूमा इरानका तटीय क्षेत्रमा खर्बौँ डलरको क्षति पु¥याएको’ छ यसको सम्वन्धित पषले क्षतिपूर्ति दिनुपर्छ ।
“हर्मुज जलसन्धि हुँदै व्यावसायिक जहाज र ट्याङ्करबाट लाभ लिने हरेक पक्षले पु¥याइएको वातावरणीय हानिलाई सुधार्ने कानुनी र नैतिक दुवै दायित्व बोक्छ,” उनले भने । इरानको दक्षिणी होर्मोज्गन प्रान्तको वातावरण संरक्षण विभागका प्रमुख हबीब मसीहीले भने, “चुहावट क्वेशम टापुसम्म पुगेको थियो तर ‘बुधबार साँझसम्म लगभग पूर्ण रूपमा सफा गरिसकिएको’ छ ।”
उनले भने, “चुहावटका कारण करिब ३२ हजार वर्गमिटर तटीय क्षेत्र र ९० हजार वर्गमिटर पानी प्रभावित भएको थियो।” “क्वेशमको दक्षिणी तटमा तेल प्रदूषण विगत केही दशकमा यस क्षेत्रको समुद्री पारिस्थितिकी तन्त्र नष्ट गर्ने व्यापक प्रदूषणको एउटा उदाहरण मात्र हो,” इरानको वातावरण संरक्षण संगठनकी प्रमुख शीना अन्सारीले थपे ।
“क्षतिपूर्तिका लागि को जिम्मेवार छरु हाम्रो क्षेत्रबाट ऊर्जा निर्यात उपभोग गर्ने देशहरू वा यस क्षेत्रलाई सैन्य अभियानको मञ्च बनाएका आक्रामकहरूरु” अन्सारीले बिहीबार एक्समा पोस्ट गरे । इरानले फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध सुरु भएयता हर्मुज जलमार्गमाथि नियन्त्रण कायम राखेको छ, खाडीका अमेरिकी सहयोगी देशहरूबाट ऊर्जा निर्यात बोकेका जहाजहरूको आवागमन अवरुद्ध पारेको छ। यसले वातावरण संरक्षणलगायत सेवाहरूलाई कोष जुटाउन पास हुने जहाजहरूबाट नौपरिवहन शुल्क लिन योजना बनाएको बताएको छ।
संयुक्त राज्य अमेरिका र केही क्षेत्रीय देशहरूले कुनै पनि शुल्कको विरोध व्यक्त गरेका छन्। यो चुहावट छिमेकी ओमान नजिकै भर्खरै अर्को तेल दाग आएपछि आएको हो, जुन एउटा ट्याङ्कर फुटेर आएको थियो। एएफपीको अघिल्लो अनुसन्धानले विस्फोटबाट जहाज क्षतिग्रस्त भएपछि ओमानको अल–किबलिय्याह टापु नजिकै हप्ताौंसम्म अड्किएको फेला पारेको थियो।
काठमाडौँ, २८ साउनः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेको जनाएको छ । बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको पनि राष्ट्र बैंकको स्पष्टोक्ति छ ।
जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा विद्यमान बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा राष्ट्र बैंकबाट थप छलफल तथा कानुनी राय लिइने जनाएको छ । राष्ट्र बैंकले कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने व्यहोरा समेत जानकारी गराएको छ ।
रासस गुल्मी, २८ साउनः रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ । रेसुङ्गा धार्मिक क्षेत्र हो । विगतको तुलानामा यस वर्ष घुइँचो बढेपछि स्थानीय खुसी भएका छन् । धर्ममा आस्था राख्ने श्रद्धालुहरु साउन महिनामा एकपटक रेसुङ्गा पुग्नुले भीड बढ्ने गरेको हो । रेसुङ्गा संरक्षण समितिले साउनमा एकमहिने धार्मिक मेलाका आयोजना गर्ने गरेको छ । उक्त मेला अवलोकन तथा धर्म गर्न यस क्षेत्रमा भक्तजनको उपस्थिति हुने गर्दछ ।
रेसुङ्गालाई धार्मिक परम्पराअनुसार तपोभूमि तथा सिद्ध क्षेत्रका रुपमा लिइन्छ । त्रेतायुगदेखि ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको भन्ने धार्मिक आस्था र विश्वास कायम छ । यस क्षेत्रको धार्मिक महत्वसँग जोडिएको पोखरीलाई बालसिद्ध पोखरीका रुपमा मानिन्छ । धार्मिक मान्यताअनुसार यहाँ बालसिद्धलाई भगवान् शिवका रुपमा पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाका कारण साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ ।
रेसुङ्गास्थित माहापोखरीलाई श्रद्धालुले पवित्र तीर्थस्थलका रुपमा लिने गरेका छन् । धार्मिक मान्यताअनुसार माहापोखरीमा स्नान गरी नजिकै रहेको यज्ञशाला पुगी पूजा गरेपछि सिद्धको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । यही आस्थाका कारण टाढाबाट सन्तान प्राप्तिको चाहना गर्ने श्रद्धालुहरु रेसुङ्गा क्षेत्रमा आउने गर्दछन् ।
पोखरीमा स्नान गर्न गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र कपिलवस्तुलगायत जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन् । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार सन्तान नहुनेहरु एकपटक यहाँ आउने गर्छन् । “यो एउटा तपोभूमि क्षेत्र हो, त्रेतायुगदेखि ऋषिमुनिहरुले तपस्या गरेको हुँदा यसलाई सिद्धक्षेत्र पनि भनिन्छ”, उनले भने ।
रेसुङ्गा यज्ञशालाका पण्डित कृष्ण पन्थीका अनुसार साउनमा खेतीपाती तथा पशुपालनगर्ने कृषकहरुले मकै, दूधलगायत सामग्री सिद्ध मन्दिरमा चढाउने प्रचलन छ । त्यसैले साउनमा रेसुङ्गा जाने र पोखरीमा स्नान गरी सिद्धको पूजा गर्ने यहाँको मुख्य परम्परा छ । साउन महिनाभर रेसुङ्गास्थित यज्ञशाला मन्दिरमा दैनिक हवन, रुद्री, गीता तथा चण्डी पाठलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिएको छ ।
यहाँ राति अबेरसम्म भजन, कीर्तन हुनेहुँदा कतिपय श्रद्धालु रातभर यज्ञशालामा जाग्राम बसेर भजनकीर्तनमा रमाउने गर्छन् । रेसुङ्गा क्षेत्रमा रहेको पोखरीको पानीले स्नान गरेपछि चारधाम जान नपर्ने र आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
उक्त विश्वासका कारण यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । रेसुङ्गा धार्मिक तथा ऐतिहासिक महत्वसँगै प्राकृतिक सुन्दरता र जैविक विविधताका कारण पनि प्रसिद्ध मानिन्छ ।
इलाम, २७ साउनः यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२\८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१\८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०\८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो ।
कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट रु एक करोड २० लाख ६८ हजार ७९० सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए । त्यस्तै, आयकरबाट रु ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ हजार राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु ९५ लाख दुई हजार ९०० उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।
म्याग्दी, २७ साउनः म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए ।
“अघिल्लो वर्षको तुलनामा थप २० हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार भए पनि वैशाख र जेठ महिनाको असिनाले बोट हुर्किन तथा दाना बढ्न नपाउँदा उत्पादन घटेको हो,” उनले भने, “अघिल्लो वर्ष प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएकामा यस वर्ष आलुको उत्पादकत्व घटेर प्रतिहेक्टर १८ मेट्रिकटन भएको छ ।”
कार्यालयले जिल्लाका विभिन्न २४ ठाउँमा नमूना सङ्कलन गरेर उत्पादनको अवस्था पहिचान गरेको हो । गत वर्ष एक हजार ८२० हेक्टर क्षेत्रफलमा ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०÷८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।
केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार हुने गरेको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनेको बताइन् ।
“असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ,” उनले भनिन्, “पोहोर साल ५० मुरी आलु फलाएको थिए ।”
कृषक छन्त्यालका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ ।
सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । गत वर्षमा ३३ हेक्टर क्षेत्रफलमा खायन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ । कार्यक्रममार्फत कृषक समूह र सहकारीहरूलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख बास्तोलाले बताए । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।
२७ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलिको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ।
मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ । उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोडिनेछ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
बागलुङ, २७ साउनः कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको छ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो । करिब तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पर्वत तर्फको मुख्य पिलरको जग अविरल वर्षापछि बढेको नदीको बहावले कटान गरेको हो । नदीको सतह बढेसँगै गत बिहीबारबाट पुलको जगमा क्षति पुग्न थालेको बताइएको छ । हाल जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षणपछि सडक डिभिजन कार्यालयले थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराएको कार्यालयका प्रमुख इञ्जिनियर हरि सुवेदीले जानकारी दिए । तत्कालै केही गर्ने अवस्था छैन, पानी घटेपछि क्षति हेरेर पुल मर्मतको काम सुरु गरिन्छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो । पुलको जग संरक्षणसँगै थप क्षति हुन नदिनका लागि निर्माण गरिएको पर्खाल भत्किएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन सावधानी अपनाएर मात्र सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।
सडक डिभिजन कार्यालयका अनुसार पुलको माथिल्लो भाग ५०० मिटर र तल्लो भाग एक किलोमिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि पुल आसपास नदी दोहन र नदीजन्य सामग्रीको उत्खनन हुँदै आएको छ । यसले पुलसँगै मालढुङ्गा बस्ती थप जोखिममा परेको कार्यालयको भनाइ छ । हाल नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत कार्य सुरु गर्न सम्भव नभएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । बहाव कम भएपछि पुलको विस्तृत प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा संरक्षणको काम अघि बढाइने अधिकारीको भनाइ छ ।
म्याग्दी, २७ साउनः म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टर्वो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्त १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । आयोजनाका सहायक प्रबन्धक इञ्जिनियर सुरज गुरुङले तेस्रो पटक थप भएको म्यादभित्र पनि ठेकेदारले काम सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको बताए ।
“आयोजनाका तर्फबाट ठेकेदारलाई ताकेता, सरोकारवालासँग समन्वय, सहजिकरण भइरहेपनि अझै चार\पाँच महिना लाग्ने देखिएको छ,” उनले भने, प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रूख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सबस्टेसन निर्माण स्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माण स्थलमा स्थानीयको विवादका कारणले निर्माण अवधि लम्बिएको हो ।”
म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माण गरिरहेको हो । कुल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामा ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । प्रसारण लाइन र सबस्टेसनको उपकरण आयात भइसकेको छ ।
डाडाखेतको सबस्टेसनमा ९० प्रतिशत प्रगति भएको र २५ किलोमिटरमध्ये १२ दशमलव एक किलोमिटर प्रसारण लाइनको तार तान्ने काम सकिएको छ । डाडाखेत सबस्टेसनको भौतिक संरचना निर्माण सकेर परीक्षण कार्य भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए । कुल ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सबस्टेसनमा १३३\३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । यस्तै, २२०\१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैङ्कको ऋण लगानी छ । एसियाली विकास बैङ्कसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एसियाली विकास बैङ्कले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
प्रसारण लाइनको मार्गाधिकार र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृति दिएको दुई वर्ष दुई महिनापछि डिभिजन वन कार्यालयबाट गत जेठ महिनाको पहिलो साता कटान आदेश प्राप्त भएको थियो ।
आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रूख छन् । प्रसारण लाइनका ८२ वटा टावरमध्ये ४० वटा वन क्षेत्र र ४२ वटा व्यक्तिगत जग्गामा छन् । वन क्षेत्रको जग्गा प्रयोग गरेबापत आयोजनाले २०८१ असोजमा ५०४ रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ता बापतको रकम पनि उपलब्ध गराइसकेको थियो ।
म्याग्दी नदीमा १७२ दशमलव आठ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका छन् ।
काठमाडौँ, २६ साउन । सरकारले एनसेल आजियाटाको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ । पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मङ्गलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।
समितिको प्रतिवेदनअनुसार एनसेल आजियाटा साविकको स्पाइस सेल प्रालिका रूपमा विसं २०५८ मा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद–बिक्री भएको छ । तीमध्ये अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत भएको र त्यससँग सम्बन्धित सम्पूर्ण अभिलेख तथा विवरण नेपालका सम्बन्धित आधिकारिक निकायमा पेश भएको नदेखिएको समितिको निष्कर्ष छ । कतिपय नेपाली शेयरधनीको कारोबारको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणालीमार्फत नभई विदेशमा भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस क्रममा एनसेलको विदेशी र स्वदेशी लगानीको अनुपात पटक–पटक परिवर्तन भएको समितिले जनाएको छ । हाल कम्पनीमा करिब ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी लगानी रहेको उल्लेख गर्दै २०७७ साउन १९ गते कम्पनीका थप सात कर्मचारीलाई ११ कित्ता शेयर बिक्री गरी कम्पनीलाई पब्लिक लिमिटेडमा परिणत गरिएको प्रक्रिया पनि स्वाभाविक नदेखिएको समितिको ठहर छ ।
समितिको विवरणअनुसार एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि प्रविधिसहित कुल रु आठ करोड विदेशी र रु दुई करोड स्वदेशी लगानी गरेको उल्लेख छ । सो अवधिमा कम्पनीले रु एक खर्ब १३ अर्ब ५८ करोड नाफा कमाएको तथा रु ९३ अर्ब ५० करोड लाभांश घोषणा गरेको प्रतिवेदनमा उल्लेख छ ।
घोषित लाभांशमध्ये रु ६६ अर्ब ९५ करोडभन्दा बढी लाभांश तथा थप रु दुई अर्बभन्दा बढी रकम अन्य शीर्षकमा विदेश लगिएको समितिको निष्कर्ष छ । स्वदेशी शेयरधनीले भने लाभांशबापत रु १९ अर्ब २५ करोड प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । एनसेलले तत्कालिन समयसम्म एक करोड ३० लाखभन्दा बढी सिमकार्ड वितरण गरी मोबाइल सेवा सञ्चालन गरिरहेको र कर तथा गैरकर राजस्वबापत नेपाल सरकारलाई करिब रु तीन खर्ब दुई अर्ब बुझाएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको सञ्चालन नाफा अन्य मुलुकका दूरसञ्चार सेवा प्रदायकको तुलनामा उच्च रहेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले एनसेलको मुख्य कम्पनी आजियाटाले नेपालमा अन्य मुलुकको तुलनामा आकर्षक मुनाफा आर्जन गरिरहेको निष्कर्ष निकालेको थियो । नेपालबाहेक इन्डोनेसिया, बङ्गलादेश र श्रीलङ्कालगायत देशमा आजियाटाले सञ्चालन गरेका दूरसञ्चार व्यवसायको तुलनामा नेपालमा करपछिको मुनाफा प्रतिशतसमेत बढी रहेको समितिको विश्लेषण छ । त्यसैले आजियाटाले १ डिसेम्बर २०२३ मा नेपालमा व्यावसायिक वातावरण अनुकूल नभएको भन्दै जारी गरेको विज्ञप्तिको दाबी तथ्यमा आधारित नरहेको समितिको निष्कर्ष छ ।
आजियाटा ग्रुप बर्हाड मलेसिया र स्पेक्ट्रलाइट यूकेबीच १ डिसेम्बर २०२३ मा भएको एनसेलको शेयर खरिद–बिक्री सम्झौता प्रचलित नेपाली कानूनअनुसार शेयर कारोबार गर्नुपूर्व लिनुपर्ने पूर्वस्वीकृति नलिई गरिएको समितिको प्रतिवेदनको निष्कर्ष छ ।
सम्झौतामा प्रारम्भिक प्रतिफल पाँच करोड अमेरिकी डलर अर्थात् करिब रु छ अर्ब रहेको र त्यसको पहिलो किस्ता ५० लाख अमेरिकी डलर तथा बाँकी चार करोड ५० लाख अमेरिकी डलर चार वर्षभित्र तिर्ने व्यवस्था रहेको उल्लेख छ । त्यसबाहेक ‘डिफर्ड कन्सिडरेसन’अन्तर्गत २०२३ को लाभांशको ८० प्रतिशत, २०२४ र २०२५ को लाभांशको ४० प्रतिशत, २०२६ र २०२७ को ३० प्रतिशत तथा २०२८ र २०२९ को २० प्रतिशत बराबरको रकमसमेत भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको समितिले जनाएको छ । अन्य सम्भावित दायित्वसमेत खरिदकर्ताले व्यहोर्नुपर्ने शर्त रहेकाले कारोबारको वास्तविक मूल्य यकिन गर्न कठिन रहेको प्रतिवेदनमा उल्लेख छ ।
समितिको प्रतिवेदनमा शेयर खरिद–बिक्री सम्झौता समान व्यवसायिक व्यवहारको सिद्धान्तमा आधारित नभएको उल्लेख छ । त्यस्तै, सम्झौतामा विक्रेता पक्ष हावी भएको र खरिदकर्ता पक्षमाथि स्वाभाविकभन्दा बढी शर्त राखिएको समितिको विश्लेषण छ ।
शेयर बिक्रीपछि पनि विक्रेताले वर्षौंसम्म लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने तथा कम्पनीको ऋण र दायित्वबाट विक्रेता अलग रहनेजस्ता प्रावधान राखिएकाले यसलाई स्वतन्त्र र स्वाभाविक व्यावसायिक सम्झौता मान्न नसकिने समितिको निष्कर्ष छ ।
त्यस्तै, आयकर ऐन, २०५८ को दफा ५७ लगायत विषयमा नेपाल–यूके द्विपक्षीय लगानी सम्झौताअन्तर्गत मध्यस्थतासम्बन्धी व्यवस्था राखिएको र खरिदकर्ताले नेपाली करसम्बन्धी विवादमा मुद्दा दायर गरे विक्रेता पनि सहदावीकर्ताका रूपमा सहभागी हुन सक्ने प्रावधान देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ । यसबाट शेयर बिक्रीपछि पनि विक्रेताले एनसेलमाथि अप्रत्यक्ष नियन्त्रण कायम राख्न खोजेको देखिने समितिको निष्कर्ष छ ।
समितिले एनसेल र स्मार्ट टेलिकमबीच सम्भावित आर्थिक हित तथा क्रसहोल्डिङको विषयसमेत उठाएको छ । शेयर खरिद–बिक्री सम्झौताको एक अनुसूचीमा स्मार्ट टेलिकमको अनुमतिपत्र नवीकरण भई एनसेलले स्मार्ट टेलिकम प्राप्त गरेमा खरिदकर्ता कम्पनीले विक्रेतालाई थप एक करोड अमेरिकी डलर बुझाउनुपर्ने शर्त रहेको प्रतिवेदनमा उल्लेख छ । यसका आधारमा एनसेल र स्मार्ट टेलिकमका शेयरधनीबीच आर्थिक हितको सम्बन्ध रहेको हुनसक्ने समितिको निष्कर्ष छ । विगतमा दुवै कम्पनी तथा तिनका लगानीकर्ताबीच पारिवारिक सम्बन्धसमेत रहेको देखिएको भन्दै समितिले क्रसहोल्डिङको अवस्था हुनसक्ने सम्भावना औँल्याएको छ ।
एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने कर तथा गैरकर गरी रु ८५ अर्बभन्दा बढी रकमका सम्बन्धमा विभिन्न तहका अदालत तथा निकायमा मुद्दा विचाराधीन रहेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले करलगायत दायित्वका विषयमा विभिन्न न्यायिक निकाय र अन्तर्राष्ट्रिय तहमा समेत पटक–पटक मुद्दा मामिला गरिरहेको समितिले जनाएको छ ।
त्यस्तै, टेलिया सोनेरा स्वीडेनबाट आजियाटा मलेसियाले एनसेलको ८० प्रतिशत शेयर खरिद गर्दा भएको सम्झौता नेपाल सरकारका नियामक निकाय वा न्याय निरूपणका क्रममा सर्वोच्च अदालतसमक्ष पेश नभएको समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । यसले कम्पनीको कारोबार पारदर्शितामाथि प्रश्न उठाएको र कम्पनीमाथि पटक–पटक नियामकीय कारबाहीसमेत भएको भन्दै प्रतिवेदनले एनसेलले नियामकीय निर्देशन, पारदर्शिता तथा व्यावसायिक नैतिकताको अपेक्षित स्तर कायम नगरेको निष्कर्ष निकालेको छ ।
आजियाटाले इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट ९आईसीएसआईडी० मा नेपालले स्वच्छ तथा समान व्यवहार नगरेको, लगानीकर्ताको वैधानिक अपेक्षा उल्लङ्घन गरेको, न्याय दिन अस्वीकार गरेको तथा नियमनकारी दुव्र्यवहार गरेको लगायतका आरोपसहित दाबी पेश गरेको विषयलाई पनि समितिले अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिका अनुसार आईसीएसआईडी ट्रिबुनलले सर्वोच्च अदालतसहित नेपालका न्यायिक निकायमा दावीकर्तालाई स्वच्छ सुनुवाइको अवसर दिइएको भन्दै उक्त दाबी स्थापित नहुने ठहर गरेको थियो । नेपाल सरकारबाट वैधानिक अपेक्षा सिर्जना हुनेगरी कुनै कार्य भएको प्रमाण पनि कम्पनीले पेश गर्न नसकेको तथा स्वच्छ र समन्यायिक व्यवहार नभएको दाबीसमेत स्थापित नभएको प्रतिवेदनमा उल्लेख छ ।
एनसेल आजियाटाले सार्वजनिक विज्ञप्तिमार्फत शेयर कारोबारको व्यावसायिक मूल्य करिब ४० करोड अमेरिकी डलर रहेको उल्लेख गरेको भए पनि समितिसँगको छलफलमा ८० प्रतिशत शेयरका खरिदकर्ता भनिएका सतिसलाल आचार्यले कम्पनीको व्यावसायिक मूल्य ४० देखि ४५ करोड अमेरिकी डलर रहेको दाबी गरेको प्रतिवेदनमा उल्लेख छ ।
तर कम्पनीको शेयर खरिद–बिक्री सम्झौता र पछिल्लो वित्तीय विवरणसँग यी तथ्याङ्क मेल नखाएको समितिको ठहर छ । दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित ठूलो भौतिक सम्पत्ति, अनुमतिपत्रको बाँकी अवधि तथा कर–राजस्व बुझाएपछि पनि वार्षिक अर्बौं रुपैयाँ मुनाफा आर्जन गर्ने कम्पनीको कारोबार मूल्य सार्वजनिक विवरणसँग मेल नखाएकाले कारोबार मूल्यको विश्वसनीयतामाथि प्रश्न उठेको प्रतिवेदनमा उल्लेख छ । समितिले आजियाटा र स्पेक्ट्रलाइटबीच भएको शेयर खरिद–बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक नदेखिएको पनि प्रतिवेदनको निष्कर्ष छ ।
समितिले एनसेलको पछिल्लो शेयर खरिद–बिक्री सम्झौतालाई यथास्थितिमा स्वीकार नगर्न सरकारलाई सुझाव दिएको देखिन्छ । कानूनअनुसार दुवै पक्षले सम्बन्धित निकायमा निवेदन दिनुपर्ने भए पनि त्यस्तो निवेदन नदिएको, शेयर खरिद–बिक्रीअघि लिनुपर्ने स्वीकृति नलिएको तथा सम्झौताका शर्तहरू अनुसार नभएको समितिको निष्कर्ष छ ।
त्यस्तै, खरिदकर्ता कम्पनीको प्राविधिक, वित्तीय र व्यवस्थापकीय क्षमता पुष्टि हुने पर्याप्त प्रमाण तथा कागजात पेश नभएको भन्दै सम्झौता स्वीकार गर्न उपयुक्त नहुने समितिको सुझाव छ । सरकारले एनसेलको शेयर खरिद–बिक्रीबारे निर्णय गर्दा खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत, सञ्चालकको व्यावसायिक पृष्ठभूमि तथा दूरसञ्चार कम्पनी र तिनका सञ्चालकबीच हुनसक्ने क्रसहोल्डिङको अवस्थालाई अध्ययन गर्नुपर्ने प्रतिवेदनले सुझाएको छ ।
त्यसैगरी, नेपालको दूरसञ्चार क्षेत्रमा विदेशी लगानीको नियमन, दूरसञ्चार सेवाको संवेदनशीलता, सेवा सञ्चालनको सुनिश्चितता, भविष्यको व्यावसायिक योजना, विदेशी लगानीको वातावरणमा पर्ने प्रभाव, पक्षहरूले हालसम्म गरेको कानूनी पालना, सम्झौताका शर्तहरूको यथार्थता, कारोबारको पारदर्शिता र मूल्यको विश्वसनीयता तथा अदालतका आदेशसमेत अध्ययन गरेर आवश्यक निर्णय लिनुपर्ने समितिको सुझाव छ ।
प्रतिवेदनले दूरसञ्चार ऐन, २०५३ को दफा ३३ को व्यवस्थालाई आधार बनाउँदै अनुमतिपत्रको २५ वर्षे अवधि समाप्त भएपछि विदेशी लगानीको अवस्थाअनुसार दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति, भवन, यन्त्र–उपकरण तथा संरचनामा नेपाल सरकारको स्वामित्व सुनिश्चित हुने व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएको छ । आगामी अनुमतिपत्र नवीकरणमा आवश्यक शर्त राखेर यस्तो स्वामित्व सुनिश्चित गर्न समितिले सरकारलाई सुझाव दिएको हो ।
प्रतिवेदनले दूरसञ्चार ऐन, २०५३ लागू भएपछि नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तन आएको भन्दै सम्बद्ध सरकारी तथा नियामक निकायको पुनर्संरचना आवश्यक रहेको औँल्याएको छ ।
साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलगायत निकायको पुनर्संरचना गरी नियामकीय क्षमता अभिवृद्धि गर्नुपर्ने र दूरसञ्चार क्षेत्रमा नयाँ तथा नवीनतम विदेशी प्रविधि आत्मसात् गर्नसक्ने गरी कानूनी सुधार गर्नुपर्ने समितिको सुझाव छ । समितिले एनसेलको विगतका शेयर तथा स्वामित्व कारोबारमा नेपाल र विदेशमा अपारदर्शी कारोबार भएको हुनसक्ने भन्दै राजस्व चुहावट, विदेशी मुद्रा अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्भावित विषयमा सम्बन्धित निकायबाट अनुसन्धान गर्नुपर्ने सुझावसमेत दिएको छ ।
प्रतिवेदनले एनसेलको पछिल्लो शेयर खरिद–बिक्रीलाई मात्र केन्द्रमा नराखी कम्पनीको स्थापनादेखिको स्वामित्व परिवर्तन, अफसोर कारोबार, लाभांश प्रवाह, कर तथा गैरकर दायित्व, विदेशी लगानी, नियामकीय अनुपालन, सम्भावित क्रसहोल्डिङ, कारोबार मूल्य र अन्तर्राष्ट्रिय विवादसम्मका विषयलाई समेटेको देखिन्छ । सरकारले प्रतिवेदन सार्वजनिक गरी सुझाव कार्यान्वयन गर्ने निर्णय गरेसँगै अब एनसेलको शेयर कारोबारबारे नियामकीय स्वीकृति, सम्भावित अनुसन्धान र कानूनी प्रक्रियाले थप गति लिने देखिएको छ ।
काठमाडौँ, २६ साउनः गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका १७९ निकायको स्रेस्ता जलेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा महालेखापरीक्षक तोयम रायले आन्दोलनमा स्रेस्ता क्षति भएका निकायको लेखापरीक्षण हुन नसकेको जानकारी दिए ।
सह महालेखानियन्त्रक दीपक लामिछानेले जलेका निकायको गोश्वार भौचर सुरक्षित रहेकाले त्यसबाट स्रेस्ता कायम गर्न सकिने बताए । ती निकायले आन्तरिक लेखापरीक्षण गरेर प्रतिवेदन दिएकाले त्यसबाट विषय खुल्ने उनले बताए । अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले मन्त्रालयअन्तर्गतको राजस्वको कुनै क्षति नभएको र कोष तथा नियन्त्रक कार्यालयको प्रणाली गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा सुरक्षित रहेको बताए ।
बैठकमा आन्दोलनका क्रममा स्रेस्ता नष्ट भई लेखापरीक्षण हुन नसकेका कार्यालयका अनियमिततालाई माफी नदिन सांसदहरूले आग्रह गरे । सांसद गणेशसिंह ठगुन्नाले लेखापरीक्षण गर्न ती निकायले के पहल गरे त्यसको जानकारी समितिमा आउनुपर्ने बताए । सांसद प्रेमलाल चौधरीले जेनजी आन्दोलन राजनीतिक दुर्घटना भएकाले कानुनी रूपमै लेखापरीक्षण हुन नसकेको विषयलाई समाधान गर्न सकिने बताए । कति निकायले १० दिनसम्मको राजश्व पनि बैङ्कमा दाखिला गरेको नपाइएकाले त्यसमा जिम्मेवारलाई भने कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।
पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले गत वर्ष भदौ २३ र २४ गतेको घटना कानुनले भनेअनुसार प्राकृतिक प्रकोप र दुर्घटना दुवै नभएकाले यस विषयमा के गर्ने भनी सरकारले नै दृष्टिकोण अघि सार्नुपर्ने बताए । सांसद खगेन्द्र सुनारले करिब डेढ खर्ब क्षति भएको विषयलाई हल्का छलफलका आधारमा छोड्नु नहुने बताए । सांसद महेन्द्रबहादुर शाहीले स्रेस्ता जलेकामध्ये चालु र पुँजीगत कति, कति बजेट थिए भन्ने खोज्नुपर्ने बताए ।
सांसद विपीनकुमार आचार्यले सरकारी कार्यालयमा खरिदको दस्तावेज पनि हुने भएकाले खरिदसँग सम्बन्धित कम्पनी वा निकायसँग पनि त्यो सुरक्षित हुनसक्नेतर्फ पनि ध्यानाकर्षण गराए । ती स्रोतबाट कागजात खोजी गर्न उनले सुझाव दिए । समिति सभापति भरतबहादुर खड्काले विधिअनुसार ती निकायको लेखापरीक्षण भएर आएपछि समितिमा छलफल हुने बताए ।
पोखरेबगर (म्याग्दी), २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । विद्युत्गृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत्गृहमा सुरक्षागार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल (खेमराज) को कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बिहान ३ः३५ को समयमा विद्युत्गृह माथिबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ ।
झ्यालबाट हाम फालेर ज्यान जोगाए
विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ । सिफ्ट इञ्चार्जसमेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छविलाल अर्यालले विद्युत्गृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताए ।
“कन्ट्रोल रुममा डियुटी गरिरहेको अवस्थामा खस्याक्क गरेको आवाज आएपछि भुईतलामा रहेका सुरेन्द्रलाई खबर गरेर भाग्दा भाग्दै १० सेकेण्डले पहिरोबाट बचे,” उनले भने, “झ्यालबाट हाम फालेर क्याम्पमा पुगेका सुरेन्द्रले साथी र सुरक्षाकर्मीलाई खबर गरेपछि बिहान ४ बजेतिर मलाई रसी दिएर बाहिर निकाल्नुभएको हो । चोटपटक नलागेपनि पहिरोले पुरिएको विद्युतगृहभित्र २०–२५ मिनेट के–भयो केही पत्तैm पाइन, नयाँ जिवन पाएको महशुस गरेको छु ।”
आयोजना बन्द
पहाड काटेर बनाइएको विद्युतगृह भन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको छ । अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमाना कुरिलाबगरमा बाँध रहेको आयोजनामा तीन हजार ५०० मिटर लामो सुरुङबाट ल्याइएको पानी ४८५ मिटर उचाईबाट एक हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिएको थियो ।
विसं २०७४ देखि निर्माण सुरु भई विसं २०८० असार महिनादेखि विद्युत् उत्पादन थालेको आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा प्राकृतिक विपद्का कारण क्षति ब्यहोर्नुपरेको हो । प्रहरी निरीक्षक तिमिल्सिनाले आयोजनामा पुगेको क्षतिको मूल्याङ्कन सुरु गरिएको र पूर्ण विवरण आउन केही समय लाग्ने बताए । पोखरेबगरवासी शोकमा
पोखरेबगरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँबाट सक्खा पहिरो खसेर जनधनको क्षति पुगेको बताए । रातिको समयमा प्रवेशद्धारमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका दीपकको भाग्दाभाग्दै ज्यान गएको घटनाले गाउँपालिकाको केन्द्र पोखरेबगर शोकमा डुबेको बताए । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सहयोगी र स्वदेशमै केही गराँै भन्ने भावनाले सङ्घर्ष गरिरहेका एक जना वडावासीलाई गुमाउनुपर्दा दुःख लागेको प्रतिक्रिया दिए । आयोजना र मृतकका परिवारबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि शव परीक्षणका लागि अस्पताल पठाइएको हो ।
काठमाडौँ, २६ साउनः आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गर्दै आर्थिक विकासका लागि यातायात र मोबिलिटी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । “यस्ता प्रदर्शनीले नेपालको यातायात र मोबिलिटी क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास लिएको छुु । सडक सुरक्षा र ट्राफिक व्यवस्थापन र सवारी अनुशासन लगायतको पक्षमा ध्यान दिन जरुरी छ,” उनले भने, “नियामक निकाय र सरोकारवालाबीच समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा यातायात क्षेत्रलाई व्यवस्थित गराउन सकिन्छ ।”
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितुसिंह वैद्यले एउटै छानोमुनि विभिन्न मोडेलका सवारीसाधनहरू प्रदर्शनीमा राखिएको बताए । यही साउन २६ देखि ३१ गतेसम्म चल्ने एक्स्पोमा दुई पाङ्ग्रे सवारीसाधनका १८ र चार पाङग्रे सवारीसाधनका २९ नयाँ ब्रान्ड सार्वजनिक गरिदैँ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवाललगायतले यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित गराउनुपर्ने धारणा व्यक्त गरे ।
२६ साउन, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनमा मन्त्रालयले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५० प्रतिशत भाडा छुट तथा कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल अघि बढाएको छ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने र यातायात भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था रहेको छ।
तर, कानुनी व्यवस्था हुँदाहुँदै पनि अधिकांश ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा छुट नपाएको गुनासो मन्त्रालयमा प्राप्त भएपछि मन्त्री सिता बादीको निर्देशनमा मन्त्रालयले यस विषयलाई प्राथमिकताका साथ अघि बढाएको हो। ज्येष्ठ नागरिकले कानुनबमोजिम प्राप्त गर्नुपर्ने छुट तथा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक सहयोग र सहजीकरणका लागि अनुरोध गरेको छ।
मन्त्री सिता बादीको निर्देशनमा मन्त्रालयले ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सामाजिक सुरक्षालाई व्यवहारमै सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्दै कानुनमा व्यवस्था भएका सुविधा कागजमा मात्र सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
मन्त्रालयको यो पहलसँगै सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि कानुनले सुनिश्चित गरेको ५० प्रतिशत भाडा छुट र कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुने तथा ज्येष्ठ नागरिकले आफ्नो अधिकार सहज रूपमा उपभोग गर्न पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
भोजपुर, २६ साउनः भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले रु दुई करोड ६१ लाख ४८ हजार ८३५ लागतमा बेलिब्रिज जडान गर्न लागिएको जानकारी दिए । “पिखुवा खोलामा बेलिब्रिज निर्माणको काम अघि बढाएका छौँ”, प्रमुख रेड्डीले भने । “अहिले आवश्यक प्रक्रिया पूरा भइसकेको छ । वर्षात् कम हुनासाथ निर्माण कार्य सुरु गर्ने तयारीमा छौँ ।”
निर्माणको जिम्मा राउन कन्स्ट्रक्सन, उदयपुरले लिएको छ । आगामी भदौको पहिलो सातादेखि निर्माण सुरु गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै मोटरेबल बेलिब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।
धेरै समयको मेहनतपछि बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उनले बताए । “धेरै समयको पहल कदमी र मेहनतपश्चात् फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएका छौँ”, अध्यक्ष राईले भने, मोटरेबल पुल नहुँदा वर्षौंदेखि स्थानीयले सास्ती खेप्दै आएको अवस्था छ । पुल निर्माणसँगै यातायात अझ सहज बन्नेछ । यो हाम्रो क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएको पनि आयोजना हो ।”
उनका अनुसार पुल निर्माण सम्पन्न भएपछि अरुण करिडोरसँग सहज रूपमा जोडिँदै तिवारी भञ्ज्याङबाट धरानसम्मको दूरी ८१ किलोमिटरमा सीमित हुनेछ । यसले यातायात, व्यापार तथा सेवा प्रवाहमा सुधार ल्याउने अध्यक्ष राईको भनाइ छ । स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पुलको अभावका कारण वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको छ । पुल निर्माणपछि स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने स्थानीयवासी सरोज राईले बताए । उनले गाउँपालिकाको पहलमा यहाँ बेलिब्रिज निर्माण अघि बढ्नु सकारात्मक र आवश्यक कदम रहेको बताए ।
मुस्ताङ, २६ साउनः उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल सम्पन्न भएको छ । आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा १५ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
विसं २०७५ पुस ९ गते ठेक्का सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । कोरला क्षेत्रमा कठोर भूगोल, प्रतिकूल मौसम, हिमपात र निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माण समयमै सम्पन्न हुन सकेको थिएन ।
पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता र कारबाही गरिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा ढिलै भए पनि पुल निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख शर्माले बताए । निर्माण कम्पनीले पुल निर्माणमा बेवास्ता र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार छ महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो ।
पटकपटक म्याद थप हुँदै आएको घमी खोला पुलका लागि सार्वजनिक खरिद ऐनको १५औँ संशोधन आएपछि निर्माण कार्य सहज भएको आयोजना प्रमुख शर्माले बताए । सम्झौताअनुसार २०७८ साल पुस ९ गतेभित्र सम्पन्न हुनुपर्ने घमी खोला पुलको पटकपटक म्याद थप हुँदै आएको थियो । आयोजना र लो घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोबसाङ छोम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको पाँच वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ ।
मुस्ताङको कोरोला नाका जोड्ने ४० मिटर लामो पुलको ठेक्का सम्झौता लागत रु छ करोड ८० लाख रहेको थियो । पुलको दायाँबायाँ पिलर फाउन्डेसन, स्ल्याब ढलान तथा घमी खोलामा पुल जोड्ने प्रोटेक्सन र एप्रोच सडक निर्माणलगायत पुल फिनिसिङका काम सम्पन्न भएका छन् । यससँगै कोरोलानाकातर्फको आवतजावत सहज भएको आयोजनाले जनाएको छ ।
यसअघि बर्खायाममा घमी खोलामा पानीको बहाव बढ्दा कोरोलाना र उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन तथा मालवाहक कन्टेनरलाई समस्या हुने गरेको थियो । चीनबाट कोरोला नाका हुँदै पैठारी गरिएका सामान बोकेका मालवाहक कन्टेनर घमी खोला पुल नहुँदा हप्तौँसम्म रोकिनुपर्ने अवस्था थियो ।
गत वर्ष मालवाहक कन्टेनरको आवतजावत सहज बनाउन व्यापारी र गाउँपालिकाको सहयोगमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए । ढिलै भए पनि निर्माण कम्पनीले पुलको काम सम्पन्न गरेपछि बाह्रै महिना सडक आवागमन सहज भएको अध्यक्ष विष्टले बताए ।
पुल निर्माण सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा पुलको समेत उद्घाटन गरिएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्ष मुस्ताङको कैकु, सेतु खोला र लार्जुङ खोलामा पक्की पुल निर्माण सम्पन्न गरेको थियो । चालु वर्ष पनि कोरोला नाका सडकलाई थप सहज बनाउन मुस्ताङको घट्टे खोला र थापा खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । यसैगरी, मुस्ताङको छुसाङदेखि घमीसम्मको सडक कालोपत्रका लागि रु दुई अर्बको बोलपत्र आह्वान गरिएको छ ।
कैलाली, २६ साउनः कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ । कैलालीका सात स्थानीय तहका जनप्रतिनिधि र भजनी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि बन्द रहेको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय तत्काल पुनःसञ्चालन गर्न माग गरेका हुन् ।
विसं २०२२ देखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार कार्यालयलाई सरकारको निर्णयअनुसार बन्द गरिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । लामो समयदेखि सञ्चालनमा रहेको सो भन्सार कार्यालय हटाइएपछि हाल सेवा अवरुद्ध भएको र यसबाट स्थानीय नागरिकले समस्या भोग्नुपरेको जनाइएको छ । भन्सार कार्यालय बन्द हुँदा कैलाली जिल्लाका सम्बन्धित स्थानीय तहका तीन लाखभन्दा बढी नागरिक, कृषक, व्यापारी तथा उद्योगीलाई ठूलो सास्ती भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
भन्सार कार्यालय पुनःसञ्चालनका लागि भजनी नगरपालिकाले यसअघि नै भन्सार विभाग, त्रिपुरेश्वरमा पत्राचार गरिसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सो भन्सार कार्यालयले भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, बर्दगोरिया, कैलारी र जानकी गाउँपालिकाका तीन लाखभन्दा बढी नागरिक, व्यापारी, उद्योगी तथा कृषकलाई सेवा प्रदान गर्दै आएको छ । साथै, कार्यालयले राजस्व सङ्कलन वृद्धि तथा राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको ज्ञापनपत्रमा उल्लेख छ ।
बागलुङ २६ साउनः लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ ।विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ । विभागले यही साउन २० गते उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा रहेको नेपालकै सस्तो जलाशययुक्त जलविद्युत् परियोजना अघि बढ्ने आशा पलाएको हो ।
सरकारले चालु आर्र्थिक वर्षमा नै सो आयोजना निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ । कुल ८२८ मेगावाट क्षमताको सो आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी बद्री कुइँकेलले जानकारी दिए । बागलुङको ढोरपाटन नगरपालिकास्थित ढोरपाटन उपत्यकामा उत्तरगङ्गाको पानी जम्मा गरी निसीखोलामा झारेर विद्युत् उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । विभागले आयोजनास्थल रहेको ढोरपाटन र निसीखोलालाई पत्राचार गरिसकेको छ । अनुमतिपत्रसँगै उत्तरगङ्गा नदीको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गर्ने यसअघिको स्वीकृत परियोजना संरचनाले औपचारिकता पाएको छ ।
आयोजनाको पानी भेरीतर्फ लैजाने वा निसीखोलातर्फ फर्काउने भन्ने लामो समयदेखिको विवाद समाधान नहुँदा समस्या भएको थियो । पछिल्लो निर्णयअनुसार, अब उत्तरगङ्गा नदीको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गरिनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदन भने २०८० माघ २ गते नै स्वीकृत भएको थियो । उक्त प्रतिवेदनले पनि उत्तरगङ्गा नदीको पानीलाई निसीखोलामा फर्काएर विद्युत् उत्पादन गर्ने निष्कर्ष निकालेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगङ्गा पावर कम्पनी लिमिटेडले विकास गरिरहेको यो आयोजना जलाशययुक्त तथा अन्तरजलाधार स्थानान्तरण परियोजनाका रुपमा रहेको छ । उत्तरगङ्गा नदीमा अग्लो बाँध निर्माण गरी जलाशयको पानी छ दशमलव ५१ किलोमिटर लामो मुख्य सुरुङमार्फत निसीखोलातर्फ फर्काइने छ ।
सरकारले ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजनासहित एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको यसै वर्ष वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । हिउँद र बर्खामा समान विद्युत् उत्पादन गर्न सकिने नेपालकै सस्तो परियोजनाका रुपमा सो आयोजनालाई लिइन्छ ।
काठमाडौँ, २६ साउन । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाएका हुन् ।
महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको रु १३ खर्ब बराबरको लगानी र यसमा आश्रित ४० लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नु माग गरेको हो । महासङ्घले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, मोटर बिमादर निर्देशिका २०७३ लाई समयसापेक्ष परिमार्जन गर्न र बिमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ ।
यस्तै, इन्धन (डिजेल÷पेट्रोल) मा प्रतिलिटर एक रुपैयाँ र विद्युतीय सवारीमा प्रतियुनिट एक रुपैयाँ अतिरिक्त शुल्क उठाएर ‘दुर्घटना राहत कोष’ बनाउन प्रस्ताव गरेको छ । बिमा प्रिमियमको एक प्रतिशत र सरकारको तर्फबाट पनि रकम छुट्याइ कोष सुदृढ गर्न माग गरेको छ । महासङ्घले सवारी आयातमा कडाइ, भारतीय मालवाहक र यात्रुवाहक सवारीलाई दिइँदै आएको ७२ घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड दिएको छ ।
यसैगरी, प्रविधिमैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासका लागि शक्तिशाली ‘यातायात प्राधिकरण’ गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर सञ्चालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन् । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा वाग्लेले यातायात क्षेत्रका जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए । उनले मन्त्रालयले व्यवसायीको मागका सम्बन्धमा आवश्यक अध्ययन गरी उचित कदम चाल्ने आश्वासन दिए ।
काठमाडौँ, २६ साउनः बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा(एमाले)का सचेतक निता घतानी, नेपाली कम्युनिष्ट पार्टीका सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।
दर्ता गरिएको प्रस्तावमा बाँदर र बँदेलका कारण किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख छ । यो समस्या अब मानव–वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा जनाइएको छ । प्रस्तावक केरुङका अनुसार सरकारले बाँदर तथा जङ्गली बँदेल व्यवस्थापनका लागि समयसीमा र आवश्यक बजेटसहित सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुनेगरी राष्ट्रिय कार्ययोजना बनाउनुपर्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा गरिएको अध्ययनले बाँदरबाट भइरहेको क्षतिको अवस्था गम्भीर रहेको देखाएको प्रस्तावमा उल्लेख छ । अध्ययनअनुसार अत्यधिक प्रभावित ४४ स्थानीय तहमा २० हजार ३९५ वटा रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ । मध्यपहाडी क्षेत्रमा न्यूनतम एक लाख चार हजार १३७ बाँदर रहेको अनुमान गरिएको छ । एउटा समूहमा १९८ वटासम्म बाँदर भेटिएको अध्ययनमा उल्लेख छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बाँदर, बँदेल र दुम्सीबाट हुने क्षति बढी देखिएको प्रस्तावमा जनाइएको छ । कोशीमा बाँदर र हात्ती तथा लुम्बिनी र मधेस प्रदेशका विभिन्न जिल्लामा बाँदर र नीलगाइका कारण किसानले समस्या भोगिरहेको उल्लेख छ । प्रस्तावक केरुङका अनुसार प्रदेशगत रूपमा पनि अवस्था चिन्ताजनक छ । गण्डकीमा मकैको ९० प्रतिशत, कर्णालीमा मकैको ८८ प्रतिशत तथा सुदूरपश्चिममा धानको ८५ प्रतिशत र गहुँको ९० प्रतिशतसम्म क्षति हुने गरेको छ ।
प्रस्तावमा सरकारले २०८१ फागुनमा भएको संसदीय छलफलपछि गरेका निर्णय, अध्ययन, खर्च, कार्यक्रम र उपलब्धिको एकीकृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने माग गरिएको छ । साथै, राष्ट्रिय कार्ययोजनाको प्रगति प्रत्येक तीन महिनामा सम्बन्धित संसदीय समितिमा पेस गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । मानव–वन्यजन्तु द्वन्द्वलाई कुनै गाउँ, स्थानीय तह वा सत्ता पक्ष–प्रतिपक्षको मात्र समस्या नभई राष्ट्रिय सामाजिक, आर्थिक र राजनीतिक समस्याका रूपमा समाधान गर्नुपर्ने प्रस्तावमा जनाइएको छ ।
प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागलाई सम्बन्धित निकायका रूपमा तोकिएको छ ।
म्याग्दी, २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् । उक्त पहिरोबाट थप १८ घरपरिवार जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उच्च जोखिममा रहेका दोसल्लेको भिरखाल्टा टोलका नौ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए ।
“जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्थानीयवासीको टोलीले अनुगमन गर्दा चर्किएको फेकण्डोको भिर जुनसुकै समयमा खसेर पहिरो जाने आँकलन गरेर उच्च जोखिममा रहेकाका गाईबस्तुसहित सामग्रीसमेत सारिएको छ”, उनले भने, “क्षति हुन नदिनका लागि सतर्कता अपनाइएको हो ।”
रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुनको घरका सामग्रीसहित अन्य बसोबास गर्न थालेका अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिए । केही दिनअघि भिर चर्किएर पहिरो खस्न थालेपछि स्थानीय प्रेमबहादुर पाइजा, खगवीर पाइजा, शेरप्रताप पाइजा र वडा सदस्य बुद्धिवीर पुनको टोलीले फेकण्डो भिरको निरीक्षण गरी गाउँपालिका र प्रशासनलाई जानकारी गराएका थिए ।
सूचना पाएपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले जोखियुक्त क्षेत्रको निरीक्षण र निर्णय गरी भूगर्वविद्को टोलीमार्फत अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेका छन् । टोलीले ‘ड्रोन’ क्यामेराको प्रयोग गरी पहिरोको अध्ययन गरेको थियो ।
पहाडको शिरमा फेकण्डो भिर छ भने बीचमा रहेको जङ्गलमुनि दोसल्ले बस्ती छ । दोसल्लेको फेदी कालीगण्डकी नदी किनारमा रघुगङ्गा गाउँपालिका–१ को तिप्ल्याङ बजार छ । दोसल्लेका ६९ वर्षीय जितबहादुर पुर्जाले बाल्यकाल र युवा अवस्थामा हिँडडुल गरेको उक्त पहाडमा यसअघि चिरा परेका नदेखेको बताए । “हामी घाँसदाउरा र लेकबेँसी गर्दा फेकण्डोको भिरबाटै ओहोरदोहोर गर्दथ्यौँ”, उनले भने, “अहिले पहाड चिराचिरा परेर खस्न थालेपछि त्रास सिर्जना भएको छ ।”
स्थानीयवासी रामचन्द्र पुर्जाले भिरबाट खसेको ढुङ्गा सिधै घर र आँगनमा आउने भएकाले सामान सारेर माथिल्लो दोसल्लेका रहेको गोठमा बस्न थालेको बताए । पानी नपरेको दिनमा दिउँसोको समयमा सुन्तला बगैँचा गोडमेल गर्न आउने गरेको उनले बताए । यसअघि उक्त ठाउँबाट पहिरो खसेको थिएन । यसपटक नयाँ पहिरो सिर्जना भएको छ । पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलको सुन्तला बगैँचा पनि जोखिममा परेको छ । पहिरो खसेमा तिप्ल्याङमा कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक र दोसल्ले हँुदै हिस्तान–राम्चे जोड्ने सडकमा पनि क्षति पुग्ने वडाध्यक्ष पुर्जाले बताए ।
२५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गरे ।
“नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।” अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
जलविद्युत्, पेन्ट उद्योग, होटेल र पेय पदार्थलगायतका उत्पादनमूलक क्षेत्रका विभिन्न परियोजनाहरूमा आफूहरूले लगानी विस्तारको प्रक्रिया अघि बढाएको कम्पनीका उच्च अधिकारीहरूले अर्थमन्त्रीलाई जानकारी गराए । “जलविद्युत्, खाद्य, होटेल, पेन्टजस्ता उद्योगमा हामी २०० अर्ब लगानी गर्दैछौँ,” बहुराष्ट्रिय कम्पनीका प्रमुखहरूले भने, “सरकारले अनुकूल वातावरण बनाओस्, हामी लगानी विस्तार गर्न तयार छौँ। यसले रोजगारी र अर्थतन्त्र दुवैको वृद्धिमा भूमिका खेल्नेछ।” नयाँ सरकारले ल्याएको बजेटले विदेशी लगानीकर्ताहरूको मनोबल उल्लेख्य रूपमा उच्च बनाएको भन्दै उनीहरुले केही नीतिगत र व्यावहारिक पाटोहरूमा भने सरकारलाई उदार बन्न आग्रह गरे ।
“नयाँ सरकार गठन भएपछि नै उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार कार्यालयहरूको प्रशासनिक कार्यहरूमा सुधार देखिएको छ,” उनीहरुले भने, “तर, अझै केही नीतिगत घोषणा र व्यावहारिक कार्यान्वयनको पाटोमा थप सहजीकरण जरुरी छ।” उनीहरुका अनुसार सरकारले नेपालमा लगानी गरिरहेका कम्पनीहरूलाई माउ (प्यारेन्ट) कम्पनीबाट पुँजी ल्याउन सहजीकरण गर्नुपर्नेछ। सरकारले आर्थिक अपराध र फौजदारी अपराधको स्पष्ट व्याख्या गर्नुपर्ने तथा आयकर ऐनको दफा ५७ संशोधन र श्रमिक कानुन परिमार्जन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको भनाइ थियो।
बहुराष्ट्रिय कम्पनीहरूको कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, नेपालमा उपलब्ध हुने कच्चा पदार्थ प्राप्तिमा सहजीकरण र मूल्य नियन्त्रण, जग्गाको हदबन्दी फुकुवा, स्थानीय तहपिच्छेको कर निर्धारणलगायतका विषयमा सरकारले सहजीकरण गर्न जरुरी रहेको बताइएको छ। यस्तै, औद्योगिक वातावरण राम्रो बनाउन आवश्यक पर्ने आधारभूत सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउन पनि उहाँहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
दोहोरो करको झन्झट हटाउन र प्रतिफल फिर्ताको प्रक्रियालाई सहज बनाउन पनि उहाँहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आग्रह गरे । छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टस् जस्ता बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरूको सहभागिता थियो।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनसम्बन्धी छलफललाई तीव्रता दिइरहेका छन् । यसअघि उनले उत्पादनमूलक उद्योग सञ्चालन गर्ने तीन दर्जन उद्योगीहरूसँग छलफल गरेका थिए । लगत्तै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका उनले त्यसै साता नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्र विकासका सन्दर्भमा छलफल गरेका थिए ।
काठमाडौँ, २५ साउनः गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ ।
काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उनी बताउँछन् । प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै उहाँले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए । बालुवा, इँटा, मरेका जनावरलगायत फोहर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा उक्त समस्या भएको उनको कथन छ।
बागमती, २५ साउनः हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी यतिखेर कुष्माण्ड सरोवर त्रिवेणीधामका रुपमा चासो र चर्चा कमाएको छ । पहिला केबल अन्तिम संस्कारका लागि मात्र आउने गरिएको यो ठाउँ डेढ दशकको अन्तरालमा दिव्यधामका रुपमा परिणत भैसकेको छ । छोटो समयमा आमूल परिवर्तन भएको यहाँको विकास र परिवर्तन आज जुनसुकै ठाउँका लागि पनि अनुकरणीय बनेको छ ।
सत्य युगमा कुष्माण्डा भगवतीले यही ठाउँमा तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वास रही आएको कुष्माण्डा भगवती मन्दिरका पुजारी कृष्णप्रसाद बरालले जानकारी दिए । पछिल्ला वर्षमा यस तीर्थस्थलमा विभिन्न विशेष चाडपर्व, तिथिमितिका साथै हरेक वर्षको कात्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी)मा हजारौँ सङ्ख्यामा दर्शनार्थी आउने गरेको उनले बताए । उनका अनुसार हेटौँडा आसपासका दर्शनार्थीसँगै बारा, पर्सा, रौतहट, पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
कार्तिक शुक्ल नवमीका दिन यहाँ कुभिण्डो दान गरिने बताउँदै उहाँले केही वर्ष अघिसम्म उक्त दिन झण्डै ७०० सम्म कुभिण्डो चढाउने गरिएको जानकारी दिए । उक्त दिनमा यहाँ आएर कुभिण्डो दान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले बताए । यो क्षेत्र विगतमा केबल अन्तिम संस्कारका लागि मात्र आउने स्थल रहेकामा पछिल्लो डेढ दशकको निरन्तरको प्रयासले यो दिव्यधाममा परिणत बनेको कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।
धाम निर्माणका लागि न्यौपानेको निरन्तरको लगाव र समर्पणसँगै स्थानीयवासी र राज्यका विभिन्न तह र निकायको योगदान रही आएको छ । २०४९ सालमा हेटौँडा–९ को वडा सदस्य तथा २०५४ मा वडा अध्यक्षको जिम्मेवारी सम्हालेका न्यौपानेलाई यस ठाउँमा केही काम गर्नुपर्छ भन्ने सोच जागेसँगै उनको निरन्तरको नेतृत्वदायी भूमिकाबाट यो स्थल दिव्यधामका रुपमा परिणत बनेको यहाँका स्थानीयवासी बताउँछन् ।
यो धाम धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको समेत सङ्गम भएको बताउँदै न्यौपानेले पूर्वाधार विकासका साथै यहाँ धार्मिक महत्वलाई उजागर गरी देशकै प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने योजना राखिएको बताए । यस तीर्थस्थलमा आइसकेपछि भक्तजनहरू यहाँ रहेका १०८ वटा गाईको मुखबाट झरिरहेका धारा (गौमुखी धारा) मा स्नान गरेर मात्रै यहाँको अन्य पूजा शुरु गर्दछन् । यो धाम निर्माण हुनुमा त्यस अघिका विभिन्न घटनाक्रमहरू यसको पृष्ठभूमिका रुपमा जोडिएको उनको भनाइ छ ।
उनका अनुसार २०४५ सालमा हेटौँडाको क्याम्पा डाँडामा योगी नरहरिनाथले कोटिहोम लगाउने क्रममा यस स्थानको महत्वबारे चर्चा गरेका थिए । त्यसयता विभिन्न धार्मिक तथा सामाजिक व्यक्तिहरूको सुझाव तथा सल्लाहअनुरुप हाल रहेको स्थान पहिचान गरी २०६७ जेठ ५ गते तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईबाट यहाँस्थित १०८ गौमुखी धाराको शिलान्यास गरिएको उनले बताए । सोही वर्ष कात्तिक २९ गते कार्तिक शुक्ल नवमी (कुष्माण्ड नवमी)का दिन १०८ धारामा पानी ल्याइएको थियो । शुरुमा प्लास्टिकका पाइपको धाराबाट जलप्रवाह गराइएकामा पछि तिनै स्थानमा आकर्षक गौमुख तयार गरी २०६७ माघ १ गतेदेखि गौमुखी धाराबाट जलप्रवाह गराउँदै स्नानको व्यवस्था गराइएको थियो ।
विसं २०६७ असोज २२ गते घटस्थापनाका दिन कुष्माण्ड भगवती स्थापना र नवरात्रि पूजा तथा जमरा राखेर सुरुआत गरिएकोमा २०७० सालमा भगवती मन्दिरको निर्माण कार्य सम्पन्न भएको थियो । यस धामकै कारण यहाँ नदी आसपासको हजार मिटरभन्दा बढी क्षेत्र तटबन्धन भइसकेको छ । यस धाममा हाल शिवालय, यज्ञकुण्ड, नागस्थान, स्वचालित बुद्ध दर्शनस्थल, हेडम्बा नगरीको इतिहास झल्काउने संरचना, सङ्ग्रहालय, फूल बगैँचा, वृत्तचित्र प्रदर्शनस्थल, मनोरेल आदि रहेका छन् ।
त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत्खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणहरूमा उल्लेख गरिएको छ । कुष्माण्ड नवमीको दिन यहाँ स्नान गरी कुभिन्डो दान गर्नका लागि हेटौँडालगायत बाहिरका अन्य जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् । यहाँ १०८ धारामा स्नान गरी कुभिण्डो दान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तवास बस्ने क्रममा यही त्रिवेणीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको छ । अम्वऋष राजाले भगवान् विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत रोग निदान भएको धर्मशास्त्रमा उल्लेख हुनुले पनि यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको न्यौपानेको भनाइ छ । यस पौराणिक मान्यताका आधारमा यहाँ हरेक वर्ष मकरमेला लाग्ने गरेको बुढापाका बताउँछन् ।
पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको धार्मिक विश्वाससँगै माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धी प्राप्त गरेको आदि धार्मिक मान्यता र विश्वासले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको हो । २०५०÷५१ साल अघिसम्म गाईवस्तु चराउन आउने मानिसहरू पनि यहाँ मसान लाग्ने भन्दै सतर्क भएर आवतजावत गर्ने गर्दथे ।
अभियन्ता न्यौपानेको निरन्तरको लगावसँगै सङ्घ, प्रदेश र स्थानीय तहको सहयोग र दाताहरूको साथ र सहयोगले यो क्षेत्र वर्तमानमा दिव्यधामका रुपमा परिणत भएको हो । पछिल्ला डेढ दशकमा सङ्घ, प्रदेश र स्थानीय तह सबैको साथ र सहयोगमा यस धामको विकासको गति अघि बढेको हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले बताए ।
धाम नजिकै रहेको कर्रा खोलामा पुल नहुँदा दर्शनार्थी समस्यामा परिरहेको अवस्थालाई दृष्टिगत गर्दै यसै वर्ष उक्त स्थानमा पुल निर्माण गर्ने गरी तयारी भइरहेको उनले बताए । “यस स्थललाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ सबैको साथ र सहयोग एवं सहकार्यमा कामहरू अघि बढेका छन्”, उनले भने ।
पूर्वाधार विकासले पनि आकर्षण बढाउँदै यस धाममा कलात्मक १०८ गौमुखी धारासँगै निर्मित कुष्माण्ड सरोवरमा बोटिङ, सिसमहल पार्क आदि प्रमुख आकर्षण हुन् । यहाँ हेटौँडाको स्थापनाकालीन इतिहास झल्काउने हेडम्बा नगरीको आकृति निर्माण गरिएको छ । यहाँ हेटौँडा नामकरणसँग प्रत्यक्ष जोडिएको इतिहास बुझाउने गरी पाँच पाण्डवको आकृतिसहित हिडम्बालाई भीमसेनले आक्रमण गरिरहेको कलात्मक स्वरुप निर्माण गरिएको छ ।
त्यस्तै, पार्कको भित्री भागमा अवस्थित सिसमहल यहाँको अर्को आकर्षणको केन्द्र हो । सिसमहलमा पाण्डव दाजुभाईले भगवतीलाई परिक्रमा गरिरहेको देख्न सकिन्छ । पार्क परिसरमा नै रहेको भवनभित्र देशका विभिन्न स्थानमा रहेका मन्दिर तथा त्यहाँका मूर्तिहरू झल्काउने गरी निर्माण गरिएका संरचनाले यहाँ आउने जो कोहीलाई लोभ्याउँछ ।
यहाँभित्र डडेल्धुराको घटोत्कच मन्दिर, मकवापुरको वंशी गोपाल मन्दिर, चुरियामाई, भुटनदेवी, सुनसरीको बराह क्षेत्र, देलखाका भीमसेन, काभ्रेका पलाञ्चोक भगवती, काठमाडौँको दक्षिणकाली, स्वयम्भु बुढानीलकण्ठ, पशुपतिनाथ, लुम्बिनीको मायादेवी, मुस्ताङको मुक्तिनाथ, तनहुँको देवघाट, बाजुराको बडीमालिका, प्युठानको स्वर्गद्वारी, ताप्लेजुङको पाथीभरा, बाराको गढीमाई आदि मन्दिर तथा मूर्तिहरू राखिएको पाइन्छ ।
यसैको भित्री भागमा नेपालको नक्सा बोकेको नेपाल धर्तीमाताको मूर्ति यहाँका प्रमुख आकर्षणहरु हुन् । त्यस्तै, परिसरमा हेटौँडा उत्पत्ति, महत्व, पाँच पाण्डव सन्दर्भको इतिहास समेटेर वृत्तचित्र बनाइएको छ भने बुद्धको स्वचालित आकर्षक मूर्ति राखिएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा पार्क क्षेत्रमा बालबालिकाका लागि मनोरेल पनि तयार भइसकेको छ ।
धामको दिगो सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए । २०७० माघमा बालसन्त मोहनशरणले दिएको एक हजार १०० रुपैयाँबाट अक्षयकोष स्थापना सुरु गरिएको जानकारी दिँदै उनले त्यसयता हालसम्म कोषमा ५० लाख रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । मन्दिर तथा परिसरको व्यवस्थापनका लागि १० जना कर्मचारी नियमित खटिरहेको र उनीहरूको सेवासुविधा तथा कार्यालयको व्यवस्थापनसमेत गरी मासिक दुई लाख रुपैयाँ खर्च लाग्ने गरेको उनले जानकारी दिए ।
धामभित्र सिसमहल, स्वचालित बुद्धको मूर्ति, नेपाल धर्तीमाताको मूर्तिसहितका विभिन्न मूर्तिहरू अवलोकन गर्नका लागि ६० रुपैयाँ टिकट दस्तुर लिने गरिएको छ । हालै निर्माण सम्पन्न भएको बालबालिकाको विद्युतीय मनोरेलका लागि थप ६० रुपैयाँ टिकट दस्तुर निर्धारण गरिएको छ । धामभित्रका विभिन्न पूर्वाधार निर्माणका लागि हालसम्म करिब छ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए । धामको दिगो सञ्चालनसँगै यहाँ गुरुकुल स्थापना गर्ने सोचसमेत राखिएको उनको भनाइ छ।
यूएई । के यूएईमा घर किन्न चाहनुहुन्छ ? घर, जग्गा, फ्ल्याट र अन्य प्रोपर्टीमा लगानी गर्न चाहनुहुन्छ ? नेपाली प्रवर्तक किशोर शाक्यलाई सम्झिए पुग्छ । सन् २००५ मा भिजिट भिसामा यूएई आएका किशोर प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर) हँुदै आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन् । उनै किशोरको सफलताको कथा उनकै शब्दमा :
२००५ डिसेम्बर १३ । त्यो दिन मेरो जीवनको एउटा नयाँ अध्याय शुरु भएको दिन थियो । गृहयुद्धको पीडाले आक्रान्त नेपाल छाडेर म आफ्ना ६ जना साथीसँग भ्रमण (भिजिट) भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगें । भविष्य कस्तो हुनेछ भन्ने कुनै निश्चितता थिएन । कलेजको पढाइ अधुरै थियो । अनुभव शून्य थियो । तर मनमा एउटा सपना थियो– मेहनत गरेर आफ्नो भविष्य आफैं निर्माण गर्ने ।
मेरो पहिलो गन्तव्य बन्यो रस अल खैमाह । कुनै अनुभव नभए पनि पाँचतारे होटलमा वेटरको काम गर्ने अवसर पाएँ । शुरुआत सहज थिएन तर प्रत्येक चुनौतीलाई सिकाइको अवसरका रुपमा लिएँ । इमानदारी, निरन्तर मेहनत र सिक्ने चाहनाका कारण मैले क्रमशः पदोन्नति प्राप्त गर्दै व्यावसायिक यात्रा अघि बढाएँ । होटल क्षेत्रमा काम गर्दा संसारभरका मानिसहरुसँग भेट्ने, उनीहरुको संस्कृति बुझ्ने र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने अनुभवले मेरो व्यक्तित्व र सोचलाई नयाँ उचाइमा पु¥यायो ।
सन् २०११ मा मैले पर्यटन क्षेत्रमा ट्राभल कन्सर्जका रुपमा नयाँ यात्रा शुरु गरें । पाँच वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटकहरुसँग काम गर्दै ग्राहक सेवा, व्यवस्थापन र सम्बन्ध निर्माणका क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरें । सन् २०१६ मा पर्यटन क्षेत्रमा कार्यरत रहँदै रियल इस्टेट क्षेत्रमा पनि पहिलो पाइला चालें । यही क्षेत्रमा मेरो भविष्य देख्न थालेको थिएँ । अन्ततः सन् २०१९ मा पूर्णकालीन रुपमा रियल इस्टेट व्यवसायमा समर्पित हुने निर्णय गरें । संयोगवश त्यसको केही समयपछि विश्वलाई कोभिड–१९ महामारीले प्रभावित बनायो । पर्यटन उद्योग लगभग ठप्प भयो, तर मैले त्यो संकटलाई अवसरमा बदल्ने अठोट लिएँ ।
प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर)का रुपमा शुरु भएको यात्रा आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सफलतासम्म आइपुगेको छ । आज म विश्वभरका लगानीकर्ता तथा परिवारहरुलाई यूएईको तीव्र गतिमा विकास भइरहेको रस अल खैमाहमा लगानीका अवसरहरु पहिचान गराउन सहयोग गरिरहेको छु । दुई दशकभन्दा बढी समयदेखि यही भूमिलाई आफ्नो दोस्रो घरका रुपमा अपनाउन पाएकोमा म गर्व गर्छु ।
रस अल खैमाह आज विश्वको ध्यान आकर्षित गरिरहेको इमिरेट्स हो । यूएई तथा सम्पूर्ण खाडी क्षेत्रकै पहिलो गेमिङ रिसोर्ट विन अल मर्जान परियोजनासँगै यहाँ पर्यटन, आतिथ्य, पूर्वाधार र रियल इस्टेट क्षेत्रमा अभूतपूर्व सम्भावनाहरु सिर्जना भइरहेका छन् । यस्ता अवसरहरुलाई सही ढंगले उपयोग गर्न चाहने लगानीकर्ताहरुका लागि म आफ्नो अनुभव र ज्ञान बाँड्न सधैं तत्पर छु ।
विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग मेरो एउटा विनम्र आग्रह छ– आफ्नो मातृभूमिलाई कहिल्यै नबिर्सनुहोस् । जहाँ भए पनि नेपालसँगको सम्बन्ध जीवित राख्नुहोस् । यदि अवसर देख्नुहुन्छ भने नेपालमा लगानी गर्नुहोस् । व्यवसाय गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस् र देशको समृद्धिमा आफ्नो योगदान दिनुहोस् । नेपालमा गरिएको लगानी केवल आर्थिक निर्णय होइन, त्यो आफ्नै माटो, आफ्नै पहिचान र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो ।
यदि तपाईं अन्तर्राष्ट्रिय रुपमा आफ्नो लगानी विस्तार गर्न चाहनुहुन्छ भने यूएई, विशेषगरी रस अल खैमाह, उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँको दुई दशकभन्दा लामो बसाइ र रियल इस्टेट क्षेत्रमा हासिल गरेको अनुभवका आधारमा तपाईंलाई सही निर्णय लिन आवश्यक मार्गदर्शन गर्न पाउँदा मलाई खुशी हुनेछ ।
मेरो जीवनयात्राले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ– सफलताको शुरुआत तपाईं कहाँबाट गर्नुभयो भन्ने होइन, तपाईंले आफ्नो लक्ष्यप्रति कति इमानदारीका साथ निरन्तर प्रयास गर्नुभयो भन्ने हो । त्यसैले ठूलो सपना देख्नुहोस् । कडा मेहनत गर्नुहोस् । सिक्न कहिल्यै नछोड्नुहोस् । विनम्र रहनुहोस् । विवेकपूर्ण लगानी गर्नुहोस् । र जीवनको जुनसुकै उचाइमा पुगे पनि आफ्नो जन्मभूमि र आफ्ना जरा कहिल्यै नबिर्सनुहोस् । त्यही नै वास्तविक सफलता हो ।
किशोर शाक्य संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) के एण्ड कोर रियल इस्टेट एलएलसी [email protected]
रासस तुलसीपुर (दाङ), २५ साउनः दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ । “पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”
उहाँले धागोबाट विभिन्न सामग्री बुन्न सुरु गर्नुभएको हो । अहिले उहाँको हातमा धागोमात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ । त्यस्तै, पूर्वीरुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आउनुभएको हो । पढाइबाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहनुभएकी उहाँको दैनिकी पनि अहिले फेरिएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उहाँले धागोबाट विभिन्न सामग्री बनाउन सिक्नुभयो ।
“अहिले त व्यस्त भइयो”, उहाँले भन्नुभयो, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।” उहाँहरूमात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् । उनीको हातमा क्रुस र सियोमात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।
हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकिसक्नुभएको छ । उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् । ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।
विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिनुभयो । दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।
उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ । सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढेको छ ।”
उहाँका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।
सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापारमात्रै नभई स्वरोजगार सृजना गर्नु पनि हो । उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ । “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ”, उहाँले भन्नुभयो, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”
उहाँका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु पाँच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताउनुभयो ।
घोराहीमा विसं २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।
उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट सुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यममात्रै नभई आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।
अबुधाबी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत नेपाली युवा सङ्गे थिङले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन् । अबुधाबीस्थित Craft by Side Hustle मा ब्रुअरका रुपमा कार्यरत थिङ आफू यूएई तथा खाडी क्षेत्रका पहिलो नेपाली प्रोफेसनल क्राफ्ट बियर ब्रुअर भएको दाबी गर्छन् । आतिथ्य तथा पेय पदार्थ उद्योगमा उनको उपलब्धिलाई नेपाली युवाका लागि नयाँ सम्भावनाको उदाहरणका रुपमा हेरिएको छ ।
काठमाडौंको स्वयम्भूमा जन्मिएका थिङ सन् २०१७ मा १८ वर्षको उमेरमा रोजगारीका लागि यूएई आएका थिए । उनले दुबईको एक कफी घरमा जुनियर बारिस्टाका रुपमा आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए । कफीप्रतिको रुचि, निरन्तर अभ्यास र सिक्ने इच्छाशक्तिका कारण उनले छोटो समयमै बारिस्टा क्षेत्रमा आफ्नो दक्षता विकास गरे ।
सन् २०१८–२०१९ मा उनले यूएईमा कार्यरत नेपाली कफी श्रमिकहरुसँग मिलेर ‘नेपाली बारिस्टा कम्युनिटी’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेले । उक्त समूहले नेपाली बारिस्टाबीच सीप विकास, अनुभव आदान–प्रदान र व्यावसायिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ ।
पछि उनी स्पेशालिटी कफी शप सञ्चालनमा आबद्ध भए । त्यहाँ उनले नयाँ कफी तथा पेय पदार्थका रेसिपी विकास गर्नुका साथै हेड बारिस्टाको जिम्मेवारी पनि सम्हाले । त्यसपछि बार टेन्डिङ क्षेत्रमा प्रवेश गर्दै उनले स्पिरिट, वाइन, ककटेल र बियरसम्बन्धी अध्ययन तथा व्यावहारिक अनुभव हासिल गरे । यही अनुभवले उनलाई क्राफ्ट बियर उत्पादनतर्फ आकर्षित गरायो ।
त्यसपछि उनी अबुधाबीस्थित Craft by Side Hustle मा बार टेन्डरका रुपमा आबद्ध भए । बारमा कामसँगै ब्रुअरीको उत्पादनमा नयाँ प्रयोग र अनुसन्धान प्रक्रियामा सक्रिय रुपमा सहभागी हुँदै उनले ब्रुइङसम्बन्धी प्राविधिक ज्ञान हासिल गरे । उनको मेहनत, अनुशासन र सिकाइप्रतिको लगावबाट प्रभावित म्यानेजर ब्रुमास्टरले उनलाई पूर्णकालीन ब्रुइङ अप्रेन्टिसको अवसर प्रदान गरेका थिए ।
करिब एक वर्षको प्रशिक्षणपछि ब्रुमास्टर अमेरिका फर्किएपछि कम्पनीले सम्पूर्ण ब्रुइङ जिम्मेवारी थिङलाई सुम्पियो । उनले उत्पादनको गुणस्तर कायम राख्दै कम्पनीको विश्वास जितेका छन् । हालसम्म उनले १८० भन्दा बढी ब्याच क्राफ्ट बियरको उत्पादन प्रयोग गरिसकेका छन् भने ८० भन्दा बढी नयाँ बियर शैली र रेसिपी विकास गरेका छन् ।
उनले तयार गरेको ‘Himalayan Haze’ नेपाली समुदाय र मातृभूमि नेपालप्रति समर्पित विशेष क्राफ्ट बियरका रुपमा परिचित छ । थिङका अनुसार नेपाली युवाले परम्परागत रोजगारीमा मात्र सीमित नभई सीप, अध्ययन र निरन्तर अभ्यासका माध्यमबाट विश्व बजारमा नयाँ क्षेत्रको नेतृत्वसमेत गर्न सक्छन् । सामान्य बारिस्टाबाट अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल ब्रुअरसम्मको उनको यात्रा मेहनत, लगन र व्यावसायिक दक्षताको प्रेरणादायी उदाहरण बनेको छ ।
काठमाडौं, २५ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ः०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८ः०० देखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका १८ः०० बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।
मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा बेलुका १७ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु पहिरोले यहाँ पनि यातायात सेवा प्रभावित भएको छ । सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
यसैगरी, आज बिहान ५ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण वरुद्ध भएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले यात्रीलाई आग्रह गरेको छ । प्रहरी प्रधानकार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
गुल्मी, २४ साउनः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन् । लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामका बारेमा जानकारी लिए । अनुगमनका क्रममा अस्पताल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर भए पनि काम अघि बढाउन निर्देशन दिए ।
मन्त्री लम्सालले निर्माण व्यवसायी जोसुकै भए पनि समयमा काम सम्पन्न नगरेमा पटकपटक समय दिन नसकिने बताउँदै कामको अवस्था हेरेर प्रक्रिया अघि बढाउनुपर्ने बताए । अनुगमनका क्रममा भवन निर्माणसम्बन्धी सम्झौता अनुसारका सम्पूर्ण काम गुणस्तरीय रूपमा सम्पन्न गर्न उनले निर्देशनसमेत दिए । गुल्मी अस्पताल भवन निर्माणको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत पुगेको बताइएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको भवन निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ । रु २५ करोड ९४ लाखको लागतमा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले भवन निर्माणकोे जिम्मेवारी लिएको छ ।
पछिल्लो पटक उक्त भवन निर्माण सम्पन्न गर्नका लागि पाँचाँै पटक म्याद थप गरिएको छ । नयाँ भवनमा सघन उपचार कक्ष (आइसीयु), सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षका लागि छुट्टाछुट्टै व्यवस्था गरिने बताइएको छ । गुल्मी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्री लम्सालले अस्पतालमा ब्लड बैंक स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।