Category: समाचार

  • अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

    अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएसँगै अब अतिक्रमित भूभाग फिर्ता गर्न भारतसँग वार्ता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । शनिबार संविधान विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । उक्त बैठक सकेर निस्कने बेला संचारकर्मीलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले अब भारतसँग वार्ता थाल्ने बताएका हुन् ।

    अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब भारतसँग वार्ताको काम अघि बढ्ने उनले उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट भएको यो क्षण राम्रा पक्ष भएको भन्दै भारतसँग चाँडै वार्ता गरिने बताए । आज सिंगो देश एक भएको प्रधानमन्त्रीको भनाई छ ।

    महाकाली सन्धीका प्रखर पक्षधर ओलीलाई उक्त समयमा भएको गल्ची सच्याउने मौकाका रुपमा पनि नयाँ नक्साको विषय आएको छ । यसलाई राजनीतिक दाउपेचको मात्र मुद्दा नबनाउन प्रधानमन्त्रीलाई सबैले सुझाव दिइरहेका छन् ।

  • फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

    फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

    न्युयोर्क 

    नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले कोरोना महामारीमा  पाँचौं चरणको सहयोग बितरण सम्पन्न गरेको छ । महामारिको सुरुवातदेखि न्युयोर्कस्थित नेपाली समुदायको सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर सकृय रहदै आएको फिप्नाले चरणबद्द रुपमा राहत तथा सहयोग बितरण गर्दै आएको छ । गत मार्च महिनादेखि संस्थागत रूपमा न्यूयोर्क, न्युजर्सीमा क्रियाशील सामुदायका संघ संस्थाहरूको क्रियाशिलतालाई सम्मान गर्दै पाँचौं चरणको सहयोग अन्तर्गत फिप्नाले केही संस्थागरूलाई पि पि ई सामग्री उपलब्ध गराएको हो ।

    पाँचौं चरणको सहयोगमा फिप्नाले; युनाइटेड किराँत राई अर्गनाईजेसनलाई २५० थान सर्जिकल माक्स १,००० थान ग्लोब्स, घ्यालसुम्धो सेवा संस्था अमेरीकालाई ५० थान सर्जिकल माक्स, १००० थान ग्लोब्स, नुब्री एसोसिएशन अमेरीकालाई १,००० थान ग्लोब्स, गुरूङ तमु सोसाइटी ईङक अमेरीकालाई सर्जिकल माक्स ५० थान, १,००० थान ग्लोब्स, मुगुम एसोसिएशन अमेरिकालाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान तामाङ सोसाइटी अफ अमेरीका अन्तर्गतको कोभिड -१९ टाक्स फोर्सलाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान, शेर्पा संघ अमेरिकालाई सर्जिकल माक्स-४६ थान ग्लब्स-२०० थान बितरण गरेको संस्थाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन् ।  

    साथै संस्थाले बिगत तीन महिनादेखि दैनिक ४/५ परिवारलाई आवश्यक सामग्री निरन्तर वितरण गर्दै आईरहेको समेत बताएको छ । फिप्ना अमेरिकास्थित आदिवासी जनजातीहरुको प्रतिनिधिमुलक संस्था हो ।

  • संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

    संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

    काठमाडौं । भारतीय कब्जामा रहेका लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मतले अनुमोदन भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको ऐतिहासिक बैठकले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गरेको हो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक अब पास भएको छ ।

    शनिबारको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । उपस्थित सबैले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका कारण सर्वसम्मत भएको हो । संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

    संसदमा २ सय ७५ जना सांसद रहेका छन् । यो संशोधन विधेयकको विपक्षमा रहेकी सांसद सरिता गिरी आफुले बोल्न नपाएपछि शुरुमै निस्किएकी थिइन् । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो । ७ गते उक्त नक्सा सार्वजनिक भएको थियो ।

    नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न जेठ ९ मा संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको हो । अब यो प्रस्ताव राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पास गरेपछि राष्ट्रपतिसमक्ष पुगेर यसले औपचारिकता पाउनेछ ।

  • नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

    नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट ती व्यक्तिमा कोरोना भेटिएका हो । अब नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ। थपिएका कोरोना संक्रमित मध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ। नेपालमा कोरोनाबाट निको भएका व्यक्तिको संख्या ९१३ जना पुगेका छन् ।

    शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा रहेको समेत मन्त्रालयल जनाएको छ । मन्त्तालयका अनुसार शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । अब मात्र ४ जिल्ला मात्र कोरोनाबाट सुरक्षित छन् ।

  • पछिल्लो २४ घण्टामा ३६ जनाले जिते कोरोना, निको हुनेको संख्या ९१३

    पछिल्लो २४ घण्टामा ३६ जनाले जिते कोरोना, निको हुनेको संख्या ९१३

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् ।

    नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भएका हुन्।

    हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये ८२२ पुरुष र ९१ जना महिला रहेका छन्।

  • भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

    भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमि फिर्ता गर्न दिएको खुला चूनौति नै नेपालको भूमि फिर्ताको आधार रहेको बताएका छन् । शनिबार संसंदमा संविधान विधेयकमाथि जारी छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले राजतन्त्रकालमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता हुने बताएका छन् ।

    सोही प्रक्रियाका लागि संविधान संशोधन हुन लागेको उनको भनाई छ उनले राष्ट्रिय एकताको निम्ति सबै दल नेता र सांसदलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । आगामी दिनमा ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एकता आवश्यक पर्ने उल्लेख गरे ।

    नेपालको राष्टिय स्वाधिनतालाई, भौगोलिक र बैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले सुम्पिएको जिम्बेवारी रहेको समेत उनले उल्लेख गरे ।

  • महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

    महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धीमा गरेको राष्ट्रघातप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । महाकाली सन्धीका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जोडतोडले लागेका थिए । कांग्रेसले समेत यसलाई समर्थन गरेको थियो ।

    यसअघि कांग्रेस नेता प्रदीप गिरिले समेत प्रधानमन्त्रीलाई महाकाली सन्धीका बेला गल्ती भएको भन्दै माफी माग्न सुझाव दिएका थिए । शनिबार संसदमा संविधान संशोधन विधेयकका सम्बन्धमा बोल्दै समाजवादी पार्टीका अध्यक्ष यादवले महाकाली सन्धी राष्ट्रघात भएको उल्लेख गरे ।

    उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने बताए । यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट किन खोजी नगरेको भन्दै प्रश्न गरे।

    महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको समेत जवाफ दिनुपर्ने उनको भनाई छ । कांग्रेस र कम्युनिष्टले माफी माग्नुपर्ने उनको माग छ । महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

  • संविधान विधेयकमाथि छलफल शुरु, सरिता गिरीको प्रस्ताव अस्वीकृत

    संविधान विधेयकमाथि छलफल शुरु, सरिता गिरीको प्रस्ताव अस्वीकृत

    काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । बैठकमा अहिले नेताहरुले संविधान संशोधन विधेयकबारे पार्टिगत रुपमा धारणा राखिरहेका छन् ।

    नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा, जसपाका नेता राजेन्द्र महतोलगायत नेताले आफ्नो धारणा राखेका छन् । उनीहरुले राष्ट्रियताको सवालमा देखिएको एकताले नेपाली हुनुको गरौव दर्शाउने उल्लेख गरे । यसअघि बैठकको प्रारम्भ मै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराएका थिए ।

    संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुनासाथ सांसद गिरी बोल्न खोजेकी थिइन् । तर उनलाई बोल्न दिइएन । सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको बताए । त्यसपछि उनले प्रचण्डलाई बोल्ने समय दिएकी थिइन् ।

  • आज संविधान संशोधन विधेयक पास गरिने

    आज संविधान संशोधन विधेयक पास गरिने

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले संविधान संशोधन विधेयक पास गर्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची आजका लागि तय भएको छ । आजको संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन् । त्यसपछि छलफल हनेछ । अनि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

    विधेयकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेका कारण यो पारित हुने निश्चित भएको छ । जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । यो संशोधनको विपक्षमा सांसद सरिता गिरी मात्र रहेकी छिन् ।

  • यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्‍युको संसार हल्लाउने भिडियो

    यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्‍युको संसार हल्लाउने भिडियो

    न्युयोर्क     

    १७ वर्षीय डार्नेला फ्रिजर गत मेई २५ तारिख मेमोरियल डेका दिन मिनियापोलिसस्थित एक पसलमा खाजा किन्न आफ्नो ९ बर्षीया भतिजीलाई लिएर बाटोमा हिंड्दै थिईन् ।   त्यतिकैमा उनले चार जना प्रहरी मिलेर एक जना काला मान्छेलाई गाडीबाट बाहिर घिच्याउँदै गरेको देखिन । डार्नेलाले आफ्नो सेल फोन झिकेर भिडियो खिच्न थालिन् ।  भिडियो खिच्दै गर्दा हाई स्कुल पढ्दै गरेकी डार्नेलालाई आफ्नो सेल फोनले जर्ज फ्लोएडको त्रासदीपूर्ण मृत्‍यु भएको उक्त घटनाको सम्पूर्ण विवरण कैद हुन्छ कि हुँदैन भन्ने कुराको एकिन थिएन । जुन भिडियो र फोटोको कारण हाल अमेरिका लगायत विश्वमा नै तहल्का पिटेको छ । त्यो आँफैमा कुनै योजनाबद्ध ढंगले खिचिएको भिडियो थिएन । डार्नेलाले भिडियोको बारेमा आफ्नो वकिल मार्फत अभिब्यक्ति दिं दै उक्त कुरा बताएकी हुन् ।


    उनले त्यो संसार हल्लाउने भिडियो खिच्दा न उनलाई त्यो भिडियोको कारण विश्व हल्लाउने अभियानको जन्म हुन्छ भन्ने थाहा थियो, न त उनले चर्चामा आउन कै लागि भिडियो खिचेकी थिइन् । त्यतिबेला उनले प्रहरीसँग सम्वन्धित यति उच्च कोटीको हत्या अभियोगको साक्षी बन्नु पर्नेछ भन्ने अनुमान समेत नगरेको बताउँछन्; वकिल सेथ कोबिन   । “एउटा सामान्य मलमा काम गर्ने १७ वर्षीया किशोरीको हात प्रहरीको त्यो ज्यादतीलाई खिचेर फेसबुकमा पोष्ट गर्ने हिम्मतको लागि नउठेको भए अहिले पनि ती प्रहरी हाम्रै समुदायको सडकमा आतंक मच्चाउँदै हिडिरहेका हुने थिए” भन्छन् वकिल सेथ कोबिन । डार्नेलाका वकिल कोबिनले उनलाई यो पुस्ताको रोजा पार्कको संज्ञा दिएका छन् । फ्लोएड मृत्‍यु प्रकरण पछि डार्नेलाले एक पटक मात्र स्टार ट्रिब्युनलाई सार्वजनिक अभिब्यक्ति दिंदै भनेकी छिन्; ‘मैले जे देखे त्यही कुरा यो विश्वले देख्नु जरुरी थियो । यस्ता घटना हरेक दिन गुपचुपमा घटने गर्दछन्’ ।  

    डार्नेलाले खिचेको भिडियोले चर्चा पाएसँगै यस अगाडि उनीसँग कहिल्यै संपर्कमा नआएका दुई महिलाले उनको साहसी कामको प्रशंसा गर्दै गो फण्ड मिमा खोलेको खतामा ५ लाख अमेरिकी डलर जम्मा भै सकेको छ । सहयोगको लागि खोलिएको उक्त खाताको अधिकारिकता पनि पुष्टी भै सकेको वकिल कोबिनले बताएका छन् ।  डार्नेलाको साहसको कदर स्वरुप पाँच लाख डलर संकलन भए पनि सामाजिक संजाल र गो फण्ड मि पेजमा थुप्रै प्रकारका ट्रोल बुली उत्पिडनहरु भै रहेको समेत वकिल कोबिनले बताएका छन् ।

  • अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्‍यु हुन्छ; हार्भर्ड चिकित्सक

    अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिसको मृत्‍यु हुन्छ; हार्भर्ड चिकित्सक

    न्युयोर्क

    अमेरिकाको हार्भड युनिभर्सिटी अन्तर्गतको हार्भड ग्लोबल हेल्थ ईन्स्टिचुटमा कार्यरत एक उच्च श्रेणीका चिकित्सकले अमेरिकामा सेप्टेम्बर भित्र कोरोना संक्रमणबाट २ लाख मानिसको मृत्‍यु हुने बताएका छन् । बिहीवार हार्भड चिकित्सक अनिश झाले एनबिसिसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । डा. झाले भनेका छन्; ‘कोराना संक्रमण जति नै समानान्तर रेखामा छ भने पनि अमेरिकामा अहिले दैनिक ८ सयदेखि १ हजारको संख्यामा मानिसको मृत्‍यु भै रहेको छ । त्यो भनेको महिनामा करिब २५ हजारको मृत्‍यु हो र अमेरिकामा कोरोना मृत्‍यु हुनेको संख्या सेप्टेम्बरसम्म दुईलाख नाघ्छ, तब पनि संक्रमणको अन्त्य हुँदैन’ ।

    डा. झाले थप भनेका छन्; ‘यो गर्मीको समय हो । अधिकांश मानिस बाहिर बस्न रुचाउँछन् । मेमोरियल डेदेखि यता दुई हप्ता मात्र भएको छ । अहिले एरिजोना, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, फ्लोरिडा टेक्ससमा संक्रमितको संख्या लगातार उकालो लाग्दै छ । डा. झाले प्रत्येक ब्यक्तीले मास्क लगाएर सामाजिक दुरी कायम गर्दै जन जीवन चलाउनु नै हितकर हुने बताएका छन् ।  

    अमेरिकामा यो हप्ता कोरोना संक्रमित संख्या २० लाख माथि पुगिसकेको छ भने देशका प्राय: सबै राज्यहरुमा अर्थतन्त्र खुल्ला गरी सकिएका छन् । राष्ट्रपति ट्रम्पले जुन १९ तारिखका दिन ओक्लोहामास्थित चुनाबी सभा नै घोषणा गरी सकेका छन् ।

  • नेपालका कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो

    नेपालका कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो

    काठमाडौं । नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालरानी ४ का ५७ वर्षीय पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए।

    भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए।

    श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो। उपचारपछि घर फर्किने क्रममा उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ।

  • उपत्यकामा ८ सहित थप १६ जना कोरोना संक्रमणमुक्त

    उपत्यकामा ८ सहित थप १६ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको हुन् ।

    पछिल्लो समय कोभिड युनिफाइड अस्तपाल बलम्बुबाट ३ जना, पाटन अस्तालबाट १ जना, केएमसी अस्पताल दुवाकोटबाट ३ जना, ह्याम्स अस्पतालबाट एक जना र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना डिस्चार्ज भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    योसहित नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्।

  • नेपालमा कोरोना संक्रमित ५ हजार माथि, एकैदिन ४४८ जना थपिए

    नेपालमा कोरोना संक्रमित ५ हजार माथि, एकैदिन ४४८ जना थपिए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रबार एकै दिन ४ सय ४८ जना थप बिरामी भेटिएसँगै यो आंकडा पार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    अहिलेसम्म ५ हजार ६२ जना कुल संक्रमित पुगेका छन् । त्यसमध्ये ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

  • छाउनी सैनिक अस्पतालका सुरक्षाकर्मी मृत भेटिए, आत्महत्याको आशंका

    छाउनी सैनिक अस्पतालका सुरक्षाकर्मी मृत भेटिए, आत्महत्याको आशंका

    काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी शुक्रबार बिहान मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा खटिएका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टी गरेको छ । प्रहरीका अनुसार उनको छातीमा गोली लागेको छ ।

    उनी आफैले गोली चलाएर आत्महत्या गरेको आंशका प्रहरीले गरेको छ । मध्यरातमा एसएलआरबाट आफैंले गोली चलाएर आत्महत्या गरेको स्रोतको भनाई छ । यद्धपि घटनाको अनुसन्धान थालिएको छ ।

    उनको शव पोष्टमार्टम गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पछिल्लो दिनमा नेपालमा आत्महत्या र आपराधिक क्रियाकलापमा उल्लेख्य वृद्धि भएको छ ।

  • अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

    अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

    टेक्सस

    अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन: सुचारु भएको एक हप्तापछि त्यति उच्च संख्यामा संक्रमित देखिएका हुन । टेक्ससमा संक्रमितको संख्या मात्र होईन लगातार सोमबार, मंगलवार र बुधबार क्रमश: अस्पातल भर्ना हुनेहरुको संख्या समेत बढ्दै गयो । सोमबारका दिन १९३५, मंगलवार   २०५६ र बुधबार २१५३ जना संक्रमणको कारण अस्पताल भर्ना भएको डिपार्टमेन्ट अफ स्टेट हेल्थले जनाएको छ ।  

    टेक्ससमा ट्रिब्युनका अनुसार मंगलवार देखिएका अधिकांस संक्रमित जेफर्सन काउन्टीबाट छन् भने त्यसपछि हेरिस काउन्टी, डलास काउन्टी, बेक्सर काउन्टी र ट्रभिस काउन्टीबाट रहेका छन्  ।

  • पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती

    पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती

    न्युयोर्क

    कोरोना भाइरसले विश्वका १ सय ८८ देशका ४ लाख २० हजार ५ सय मानिसको ज्यान लिइ सकेको छ । अमेरिकामा मात्र १ लाख १४ मानिसको ज्यान कोरोनाका कारण गई सक्यो । मृतकको संख्याको यस्तो बिकराल चित्र बीच अमेरिकाकै क्यालिफोर्निया राज्यको लसएन्जलसमा भएको एक दम्पतीको मृत्‍युले पाँच जना बच्चा टुहुरा हुन पुगेको समाचार अझै हृदय बिदारक छ । एक दिनको फरकमा ती दम्पतीको मृत्‍यु भएपछि पाँच बच्चाहरु टुहुरा भएका हुन् ।  ६० वर्षीय पति हम्बर्टो रुलियाज रुभाजको मृत्‍यु आईतबारका दिन भयो भने उनकी ३८ वर्षीया पत्नी करिना बोनिलाको मृत्‍यु भोलिपल्ट  सोमबारका दिन भएको के टि एल एले जनाएको छ । उनीहरुको दुई बर्षदेखि १७ बर्ष उमेरसम्मका गरी ५ सन्तान छन् ।  

    सडकमा फलफुल बेच्ने काम गर्दै आएकी ३८ वर्षीया करिनालाई कोरोनाको लक्षण पहिला देखिएको छोरी मरिया रुलासले बताएकी  छिन् । आमालाई लक्षण देखिएको केही दिन भित्र उनको पितालाई पनि लक्षण देखिएको थियो । दम्पतीको मृत्‍यु पछि गो फण्डमीबाट सहयोग संकलन सुरु गरिएको छ ।  

    एजेन्सी

  • सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने

    सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने

    काठमाडौं । सरकारले भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्नको लागि निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले यो जानकारी दिएका हुन्।

    खतिवडाका अनुसार असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

    सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

  • थप १८७ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८६१

    थप १८७ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८६१

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप १ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

    नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् । जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

    यसको संक्रमणका कारण हालसम्म नेपालमा १५ जनाको भने मृत्यु भइसकेको छ।

  • नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला रहेका छन् । देशभर कुल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

    हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका हुन्। जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् । नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

  • अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

    अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

    न्युयोर्क

    अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो सल्काउदै तालमा फ्याकिएको छ । भर्जिनियाको ब्रायड पार्कमा सन् १९२७ मा स्थापना गरिएको उक्त सालिकलाई राजाधानी रिचमोण्डमा जम्मा भएका सयौं प्रदर्नकारीले ढलाउनु अगाडि सालिक फ्याक्नु पर्ने माग गर्दै एक घण्टासम्म नारा लगाएका थिए ।

    अमेरिकामा रंगभेद बिरुद्धको आन्दोलनको निसानामा परेको क्रिस्टोफरलाई जातिय उत्पिडनको संबाहकको आरोपमा  प्रदर्शनकारीहरुले फ्याकेका हुन् । प्रदर्शनकारीहरुले सालिक निकालेर फ्याक्दै गर्दा प्रहरिले हेलिकप्टरबाट गस्ती गर्दै गरेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।  

    झन्डै ५ सय २८ बर्ष अगाडि अमेरिका आएका कोलम्बसको बोस्टनस्थित सालिक टोडिएको यो पहिलो पटक भने होईन । बोस्टनस्थित उक्त शालिक यस अगाडि सन् २०१५ मा ‘ब्ल्याक लाईफ म्याटर’ लेखेर रातोले पोतिएको थियो भने सन् २००६ मा टाऊको नै बेपत्ता पारिएको थियो ।

  • यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

    यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

    काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ ।

    निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । शिक्षा मन्त्रालयले बुधबारको मन्त्रिपरिषद् बैठकमा आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने गरी तीन वटा विकल्प राखेको छ । नेपालमा अहिले विद्यालयलाई क्वारेन्टिन बनाइएपछि परीक्षा लिन भने सम्भव थिएन ।

    बैठकले विद्यालयबाट आन्तरिक रुपमा मूल्यांकन गरी प्राप्तंक मात्र परीक्षा बोर्डमा पठाउने गरी निर्णय भएको छ । सोही आधारमा आधारमा ग्रेड निर्धारण गरी बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ । ६ चैतमा तोकिएको परीक्षा कोरोना भाइरसको संक्रमणसँगै रोकिएको थियो ।

    बैठकले लकडाउन खुकुलो बनाउने सन्दर्भमा पसल खोल्ने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा खुला गर्ने समेत निर्णय गरेको बताइएको छ । औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।

  • सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

    सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

    सुर्खेत । बुधबार बिहान कालिकोटको लालीघाटमा एक टिपर दूर्घटनामा पर्यो । दूर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गयो । कयौं बगे । बगेका मध्ये ८ जना घाइते अवस्थामा उद्दार भयो । २ जना अझै वेपत्ता छन् । टिपरमा ३९ जना यात्रु चढेका थिए । उनीहरु सबै भारतबाट मजदुरी गरी कोरोना भाइरसको सन्त्रासका बीच घर फर्किएका मजदुर थिए ।

    टिपरमा दुधे बच्चादेखि महिला तथा बालबालिका समेत थिए । प्रहरीका अनुसार यो दूर्घटनामा यात्रु र सवारी चालक दुबैले सवारी अनुसन्धानको गम्भीर उल्लंघन गरेको पाइएको छ । दुर्घटनामा टिपर चालकको भूमिका थियो । अर्थातः चालकले जानाजान टिपर नदीमा हुलेका थिए । आफु भने भागेका थिए ।

    यो अवस्था आउनुमा भने यात्रु र चालकबीचको झगडा भएको पाइएको छ । यात्रुसँग चालकको हात हालाहालसम्मको झगडा भएको प्रहरीले बताएको छ । तर, त्यसपछि गाडी चलाएका चालकले टिपरको स्टार्ट बन्द नगरी छोडेपछि टिपर खोलामा खसेको थियो ।

    ठाउँ बाटोमा अति कोचाकोच गरेर जाँदा बालबालिकालाई गाह्रो भएको गुनासो यात्रुले गरेका थिए । तर, चालकले नमानेपछि यात्रु हातपातमै उत्रिएका थिए । प्रहरीका अनुसार अनुसार टिपर कर्णाली करिडोरस्थित सडकबाट करिब ३० मिटर तल नदीमा खसेको छ ।

    चल्दाचल्दैको टिपर छाडेर भागेका चालक रास्कोट–८ का रंगनाथ धमाला प्रहरीको नियन्त्रणमा छन् । उनीलाई कालिकोटकै सान्नीगाडबाट पक्राउ गरिएको हो । धेरै मानिसलाई एउटै टिपरमा कोचाकोच गर्न खोजिएपछि विवाद भएको यात्रुले बताएका छन् ।

    भारतबाट आएका १३ महिला र २६ पुरुषलाई लालीघाट क्वारेन्टाइनमा राख्न टिपरमार्फत ओसारिएको हो । यस दूर्घटनामा गम्भीर घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएकामा त्यहाबाट काठमाडौं रिफर गरिएको छ । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

    घटनास्थलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै पुगेका थिए । दुर्घटनामा मृत्यु हुनेमा रास्कोट नगरपालिका–२ का २१ वर्षीया शर्मिला सार्की र २१ वर्षीया ठम्की साार्की छन ।

  • प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

    प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा दुई घण्टा लामो सम्बोधन गरे । उनको भाषण सदाजस्तै अरुलाई अर्ति उपदेश दिने र सरकारले कँही कतै गल्ती नै नगरेको दावीमा सिमित भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट र अन्य विविध विषयमा उठेका प्रश्नको जवाप दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित थिए ।

    करीव २ घण्टा बोलेका उनले सांसदहरुको चित्त भने बुझाउन सकेनन् । कतिपय सांसदले उनको जवाफ पटक्कै मन नपरेको समेत बताए । प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमणसँग लड्ने क्रममा उठेका प्रश्न र नेपाल भारत सीमा विवादबारे आफ्नो धारणा राखेका थिए । कोरोना भाइरसले नेपालमा कुने क्षति गर्न नसकेको र यसमा नेपालीको रोग प्रतिरोधात्मक क्षमताले काम गरेको प्रधानमन्त्रीका दावि थियो ।

    प्रधानमन्त्री ओलीले सरकारले सावधानीका साथ लकडाउनको नीति लिएको र कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि प्राप्त गरेको भन्दै कोरोनाविरुद्ध सरकारले जित हाँसि गरेको बताए । अन्य देशको तुलनामा नेपालमा संक्रमित हुने र मृत्यु हुनेहरूको संख्या कम भएको भन्दै उनले मृत्यु भएका १५ जनामध्ये पनि सबैले कोरोनाकै कारण ज्यान नगुमाएको उल्लेख गरे ।

    डब्ल्यूएचओको प्रोटोकलका कारण मात्र कोरोनाका कारण मृत्यु भएको घोषणा गर्नु परेको समेत उनले बताए । प्रधानमन्त्रीले पछिल्लो समय संक्रमित बढेको सम्बन्धमा समेत गैर जिम्मेवार जवाफ दिए ।

    नेपालमा भेटिएका संक्रमितमध्ये ८५ प्रतिशत बढी भारतबाट आएको र उनीहरू क्वारेन्टिनका कारणभन्दा पनि ट्रेनमा कोचिएर आउँदा वा यात्राको क्रममा नै संक्रमित भएको उल्लेख गरे । नेपालमा उपचार प्रभावकारी भएको र नेपालीले पचाउन सक्ने क्षमता बढी भएकै कारण यसलाई पराजित गर्न सकेको उल्लेख गरे ।

  • अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

    अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

    अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ ।  एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि  भएको छ । म्यासाच्युसेट्स, फ्लोरिडा र न्युमेक्सिकोमा अघिल्लो हप्ता भन्दा ४० प्रतिशत ज्यादा संक्रमण फैलिएको छ । मिचिगनमा अघिल्लो हप्ता संक्रमितको संख्यामा १५० प्रतिशतले बृद्धि भएको थियो । यसरी कोरोना संक्रमणमा बृद्धि हुनुमा केही हप्तादेखि देशका ५० वटै राज्यले अर्थतन्त्रलाई आँसिकरुपमा खुला गर्न थाले पछि मानिएको छ । सरुवा रोग बिज्ञहरुले पनि मिनियापोलिसमा प्रहरी कस्टडीमा मृत्‍यु  भएका जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि राष्ट्रियरुपमा सुरु भएको बिरोध प्रदर्शनले अमेरिकामा पुन कोरोनाको दोश्रो ठुलो छाल आउने चेतावनी दिदै आएका छन् । यद्यपी उनिहरुले अहिले देखिएको संक्रमितको संख्यामा बृद्धि ती बिरोध प्रदर्शनको प्रभाबबाट हो वा होईन अहिले नै भन्दा हतार हुने पनि बताएका छन् ।

    जुनको १ तारिखका दिन युनिभर्सिटी अफ वासिङ्टन ईन्स्टिचुटले आगामी अगस्ट ४ तारिखसम्म अमेरिकामा १ लाख ३५ हजार १ सय ९ जना मानिसको कोरोना संक्रमणका कारण मृत्‍यु हुने अनुमानित आँकडा सार्वजनिक गरेको थियो भने ईन्स्टिचुटले यो हप्ता मृतकको अनुमानित आँकडामा १० हजार बृद्धि गरेर १ लाख ४५ हजार ७ सय २८ पुर्याएको छ । यद्यपी अनुसन्धानकर्तालेहरुले के कति कारणले मृतकको संख्यामा बृद्धि गरिएको हो त्यो भने खुलाएका छैनन् । जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा बुधाबारसम्म १ लाख १२ हजारको मृत्‍यु र २० लाख मानिस संक्रमित भै सकेका छन् । मृतक र संक्रमितको यो संख्या तिन महिना भित्रको हो ।  

    रेउटर्स कोभिड -१९ डाटा एनालाईसिसका अनुसार अमेरिकाको एरिजोना राज्यमा जुन ७ को सप्ताहमा अघिल्लो हप्ता भन्दा ९० प्रतिशत संक्रमण बृद्धि भएको हो ।  मिचिगनमा जुन ५ को हप्तामा १ सय ५८ प्रतिशतले संक्रमण बढेको छ । न्युमेक्सिकोमा ४० प्रतिशतले बृद्धि भएको छ भने फ्लोरिडा साउथ क्यारोलिमा नर्थ क्यारोलिनामा पनि अघिल्लो हप्ता भन्दा ३० प्रतिशत ज्यादा संक्रमित भएका थिए ।  

    स्वास्थ अधिकारीका अनुसार न्युमेक्सिकोमा बढेको आधा भन्दा धेरै केश ओटेरो काउन्टी भित्रैको रहेको छ भने युटाहामा देखिएको पछिल्लो संक्रमितको ठुलो हिस्सा मासु प्रसोधन केन्द्रसँग सम्बन्धित छ । रेउटर्सको उक्त डाटा अनुसार टेक्सस राज्यमा पनि गत हप्ता अघिल्लो हप्ता भन्दा संक्रमितको संख्या १९ प्रतिशतले उकालो लागेको छ । टेक्सस डिपार्ट्मेन्ट् अफ स्टेट हेल्थका अनुसार टेक्सस राज्यमा गत सोमबारसम्म अस्पताल भर्ना हुनेको संख्या १९ सय ३५ थियो । उक्त संख्या गत महिना ५ तारिखको भन्दा उच्च हो । अमेरिकाभरका संक्रमितहरुको राष्ट्रिय संख्यामा भने ३ प्रतिशत मात्र बृद्धि भएको छ । अनुसन्धानकर्ताहरुका अनुसार लगातार ५ हप्तासम्मको गिरावट पछिको यो बृद्धि भएको हो । पेन्सलभानिया र न्युयोर्क राज्यमा भने कोरोना संक्रमितको संख्या आठ हप्तादेखि लगातार ओरालो लागि रहेको छ ।  केन्टुकीमा पनि अघिल्लो हप्ता भन्दा संक्रमितको संख्यामा ४० प्रतिशतले बृद्धि भएको छ । त्यसै गरी ओक्लोहामा ३७ नेभाडा २८ मिनियासोटा २८ जर्जियामा १८ प्रतिशतमा संक्रमित संख्यामा बृद्धि भएको छ।  

    एजेन्सी

  • पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना

    पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार जनकपुरस्थित अस्पतालबाट ३७ जना, सिराहाबाट २० जना र दाङमा उपचार गराइरहेका ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

    त्यस्तै कोशी अस्पताल विराटनगरबाट ६ जना, काठमाडौंको बलम्बुस्थित अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना निको भएर फर्किएका छन् ।

    यीमध्ये २ महिला हुन् भने ८८ जना पुरुष हुन्। योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेका छन्। हालसम्म १५ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

  • नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

    नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

    काठमाडौं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।

    नेपालमा हालसम्म ६७४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्।

    हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

  • ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

    ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

    काठमाडौं । पछिल्लो समय नेपालमा ऋंखलावद्ध रुपमा आपराधिक घटनामा वृद्धि भएको छ । सोमबार राती रुपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको भोलीपल्ट ललितपुर र धनुषामा समेत एक\एक गरी राती दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

    मंगलबार राती ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । उनी फ्रेस हाउस सञ्चालक भएको प्रहरीले जनाएको छ । २५ वर्षीय अमित शाहीको घाटी र हातमा गहिरो चोट देखिएको छ । घटनास्थलमा मासु काट्ने हतियार भेटिएको भन्दै प्रहरीले हत्यामा सोही हतियार प्रयोग भएको हुन सक्ने आंशका समेत गरेको छ ।

    घटनामा बुधबार बिहानसम्म कुनै पनि व्यक्ति पक्राउ भने परेका छैनन् । उता, धनुषामा समेत गतराती एक युवकको हत्या भएको छ । घरमै रहेका वेला राती घर बाहिर लगि गोली हानिएको प्रहरीले जनाएको छ ।

    सबैला नगरपालिका–७ मका २५ वर्षीय अरुण मण्डललाई घर बाहिर बोलाएर हत्या गरिएको हो । परिवारका अनुसार घरमा चिनजान भएकै व्यक्तिले उनलाई घर बाहिर बोलाएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

  • प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बजेका लागि डाकिएको छ ।
    सांसदहले उठाएका बिभिन्न सन्दर्भको जवाफ प्रधानमन्त्रीले दिने भएका छन् ।

    संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने उल्लेख छ ।

  • संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत

    संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत

    काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रमा नेपालको अधिकार स्थापित गर्ने सन्दर्भमा प्रतिनिधिसभामा सर्वदलीय सहमति जुटेको छ । मंगलबार संसदबाट लिम्पियाधुरासहित भूभाग समेटेर तयार पारिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास समेत भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित संसदमा उपस्थित सबै दलका सांसद विधेयकको पक्षमा उभिएपछि विधेयक सर्वसम्मतिले पास भएको अब अब यसले संविधान संशोधन प्रक्रिया अगाडी बढाउने बाटो समेत खुलेको छ ।

    संसदको तेस्रो ठूलो दलका रुपमा रहेको जनता समाजवादी पार्टीले संसदमा संविधान संशोधनसम्बन्धी अर्को प्रस्ताव पेश गरेको भएपनि नक्सासम्बन्धी संशोधन विधेयकको भने पक्षमा रहेको बताएको छ । आफूहरुको राष्ट्रियतामाथि शंका नगर्न समेत उनले आग्रह गरे ।

    सरकारले जेठ ७ मा लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । जेठ ९ मा नक्सा संशोधनसँग सम्बन्धी संविधानको निशान छाप परिवर्तन गर्न संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरिएको हो । जेठ १९ मा विधेयक प्रतिनिधि सभामा प्रस्तुत भयो । सोही दिन सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा समेत प्रकाशित गरिएको हो ।

    जेठ २०मा सर्वसाधारणको जानकारीका लागि सरकारी पत्रिका गोरखापत्रमा समेत प्रकाशित गरिएको थियो । आज जेठ २७ मा विधेयकका सम्बन्धमा प्रतिनिधि सभामा सैद्धाान्तिक छलफल भएको हो । मंगलबार प्रतिनिधि सभामा विधेयकमाथि सैद्धान्तिक छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पास भएको हो ।

    अब सांसदहरुले ७२ घण्टाभित्र यस प्रस्तावमा संशोधन हाल्न सक्ने भएका छन् । प्राप्त संशोधनमाथि छलफल गरेर विधेयक पारितको प्रक्रियामा जानेछ । यहि प्रक्रिया राष्ट्रिय सभामा समेत चल्छ । त्यो प्रक्रिया पूरा भएपछि दुबै सदनले पास गर्नुपर्छ । त्यसपछि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइन्छ । प्रमाणिकरण भएपछि लिम्पियाधुरा नेपालको संविधानको अनुसूचीमा समेटिन्छ ।