Category: खेलकुद

  • एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

    एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

    काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमै जारी एएफसी एसियन कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

    यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने होडमा रहेको घरेलु टोली कतारले उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो पटक फाइनल पुगेको हो । उसले २ पटकको च्याम्पियन दक्षिण कोरियालाई स्तब्ध हराएको छ ।


    खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । तारमा जास्सेम गाबेर अब्दुलसल्लमले १७औं मिनेटमा बराबरी गोल फर्काए । अक्रम अफिफले ४३औं मिनेटमा गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

    दोस्रो हाफमा इरानले खेलमा पुनारगमन गर्‍यो । ५१औं मिनेटमा इरानका अलिरेजा जहानबख्शले पेनाल्टीमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो ।
    ८२औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई ३–२ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । र अन्तिममा त्यही गोल कतारलाई फाइनल पुर्‍याउन निर्णायक बन्यो । इन्जुरी टाइमको तेस्रो मिनेटमा इरानका शोजाए खालिलजादेह रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

  • एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

    एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

    काठमाडौं । जोर्डन एएफसी एसियन कपमा इतिहास बनाउन सफल भएको छ । उसले कोरियालाई २–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । गतराति भएको खेलमा याजन अल नामट र मउसा अल तमारीले गोल गरे। ५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए। पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन कपको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन। जोर्डन इतिहासमा पहिलो पटक फाइनल पुगेको हो। जोर्डनले उपाधिका लागि इराक र कतारबीचको खेलको बिजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल आज हुँदैछ ।

  • केपी ओली कपमा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने

    केपी ओली कपमा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।

    यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ ।

    यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ । यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

    नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ । अध्यक्ष क्षितिज थेवेका अनुसार प्रतियोगितामा विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने उपविजेताले ५ लाख पाउनेछन ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

    प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्स मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ। गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

  • क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

    क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

    नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । त्यसका लागि १५ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाहलाई समावेश गरिएको छ ।

    दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा कप्तान देवले ब्याटबाट र आकाशले बलबाट राम्रो प्रभाव देखाएका थिए । विशेष गरी अफगानिस्तानविरुद्धको समूह चरणको खेलमा नेपालले १ विकेटको ऐतिहासिक विजय हात पार्दा मध्यम गतिका बलर आकाशले ५ विकेट लिएका थिए भने देवले अर्धशतक बनाएका थिए ।

    दुर्भाग्यवश दक्षिण अफ्रिका जान नपाएका अर्का तीव्र बलर हेमन्तलाई पनि क्यानाडाविरुद्ध खेल्ने नेपाली टोलीमा राखिएको छ । यू–१९ विश्वकप खेल्न जानु केही दिनअघि मात्र बलिङका क्रममा बलले नली खुट्टामा लागेपछि हेमन्त दक्षिण अफ्रिका जान वञ्चित भएका थिए ।

    प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका पवन, अनिल, रिजनलाई क्यानाडाविरुद्धको शृंखलाका लागि नेपाली टोलीमा राखिएको छ । प्रधानमन्त्री कपमै ३० विकेट लिँदै उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीमा चुनिएका सूर्यलाई पनि नेपाली टोलीमा राखिएको छ ।

    नेपाली टोलीमा यसअघि पनि पर्दै आएका सूर्यले एकदिवसीय अन्तर्राष्ट्रियमा भने ‘डेब्यु’ गर्न बाँकी नै रहेको छ । पवन, रिजन, सूर्यलाई लिग–२ का लागि पनि राखिएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध २–२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । आठ राष्ट्र सहभागी लिग–२ को २०२४–२७ साइकलमा यो पहिलो शृंखला हो ।

    लिग–२ का लागि नेपाली टोलीमा रोहित, आसिफ, कुशल भुर्तेल र मल्ल, आरिफ, पवन, भीम, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल, करण केसी, ललित, सूर्य र रिजनलाई राखिएको छ । अर्जुन, दीपेन्द्र, गुल्सन र करणलाई भने क्यानाडाको शृंखलामा आराम दिइएको छ । लिग–२ का लागि प्रतिश जीसी, देव खनाल, अनिल र विवेक यादवलाई वैकल्पिकमा राखिएको छ ।

  • फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

    फ्रेन्च लीगमा साम्बाले गरिन डेब्यू

    काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् । बोर्डोविरुद्भको उक्त खेल १–१ को बराबरीमा सकिएको छ । शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् ।

    उनले ७५औं मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् । खेलमा आठौं मिनेटमा एन्टोइन स्टारोभाले गोल गर्दै गुईंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।तर, लौरा बौर्गोइनले ३६औं मिनेटमा बोर्डोका लागि बराबरी गोल गरिन् । यस बराबरीपछि गुईंगाम्प १३ खेलमा २ जित, ३ बराबरी र ८ हारको नतिजा निकाल्दै ९ अंक जोडेर आठौं स्थानमा छ ।

  • सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

    सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

    काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा दुबै खेलमा पराजित भएको छ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो ।

    नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको साझेदारी गरे । नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए । नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो ।

  • यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

    यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

    विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

  • यू-१९ विश्वकप बंगलादेशसँग सुगर सिक्समा हार्यो नेपाल

    यू-१९ विश्वकप बंगलादेशसँग सुगर सिक्समा हार्यो नेपाल

    काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग हारेको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए । तर खेल बंगलादेशले जित्यो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए ।

    यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए । एक समय ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको नेपालका लागि देव र विशालले ११५ बलमा ६२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले नेपाल एक समय २७.३ ओभरमा ९१–३ को अवस्थामा थियो ।

    तर देव जिशान आलमको बलमा कभरमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदा बलियो योगफल बनाउने अवसर गुमाएको थियो । गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुल्शन यू १९ एसिया कपपछि विश्वकपमा पनि चल्न सकेनन् ।

    यस विश्वकपमा गुल्शन न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ रनमा आउट भएका थिए । बंगलादेशका तीव्र गतिका बलरले सुरुवात देखिनै सट र बाउन्सर बलमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए । अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि नेपाल ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको थियो ।

    बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले ११ विकेट लिए ।

  • यु-१९ विश्वकप : आज नेपाल र बंगलादेश सुपर सिक्समा भिड्दै

    यु-१९ विश्वकप : आज नेपाल र बंगलादेश सुपर सिक्समा भिड्दै

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ ः४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

    उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक छ । नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

    नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । बंगलादेश भारत ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्स खेलेको थियो ।

    अफगानिस्तानलाई हराउन नेपालका आकाश चन्दले ५ विकेट र कप्तान देव खनालले ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्जुन कुमाल र गुलशन झा पनि नेपालका प्रमुख हतियार हुन् । अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । गुलशन भने तीनै खेलमा सस्तैमा आउट भएका छन् । सिनियर टोलीबाट खेलिसकेका गुलशनलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

  • निरन्तरको असफलतासँगै बार्सिलोनाका प्रशिक्षक जाभीले गरे पद त्यागको घोषणा

    निरन्तरको असफलतासँगै बार्सिलोनाका प्रशिक्षक जाभीले गरे पद त्यागको घोषणा

    काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित भयो । यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो । यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु गरेका थिए ।

    उनले क्लब छाड्ने बताउँदै टिममा अर्को सिजनका लागि परिवर्तत आवश्यक रहेको पनि दाबी गरे । शनिबारका अन्य खेलमा रियलले लास पाल्मासलाई २–१ ले हरायो भने रियल बेटिस मार्लोकामाथि १–० ले विजयी रह्यो । यस्तै रियल सोसिडाड र रायो भाल्कानोले गोलरहित बराबरी खेले । रियल ५४ अंकमा शीर्ष स्थानमा छ । बार्सिलोनाबाट स्टार लियोनल मेसी बाहिरिएसँगै यो क्लवले राम्रो प्रदर्शन दोहोर्याउन सकेको छैन ।

  • यु १९ विश्वकप : अब नेपालको भिडन्त भारत र बंगलादेशसँग

    यु १९ विश्वकप : अब नेपालको भिडन्त भारत र बंगलादेशसँग

    काठमाडौं । अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको नेपालले सुपर सिक्समा भारत र बंगलादेशलाई प्रतिस्पर्धीका रुपमा पाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड समेत ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    आउँदो बुधवार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल तेस्रो पटक १९ वर्षमुनिको विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० र बंगलादेशमा २००२ मा भएको १९ वर्षमुनिको विश्वकपमा पनि नेपाल दोस्रो चरण पुगेको थियो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेर ऐतिहासिक सफलता पाएको छ ।

  • यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

    यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

    काठमाडौं । नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ । समूह चरणको निर्णायक खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो । आजको खेलमा तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालले उत्कृष्ट प्रदर्शन गरे । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

    जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २–२ विकेट लिए । अरब गुल र घजान्फरले १–१ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।


    नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

    समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एक सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

  • म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानी स्वर्ण

    म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानी स्वर्ण

    काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले शुक्रबार बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

    दक्षिण एसियाको महिलातर्फको म्याराथनमा उनको यो डेब्यु दौड हो र उनले दुई घण्टा ४६.२२ मिनेटमा दौड पूरा गरिन् । यो नेपालको नयाँ राष्ट्रिय कीर्तिमान पनि हो । उनले यसअघि नेपालकै पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्ड दुरीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

    त्यही विधामा पुष्पा भण्डारी दोस्रो रहिन् । उनले दुई घण्टा ४९.३३ मिनेटमा दौड पूरा गरिन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र पुष्पा रजत पदक विजेता हुन् । सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा सन्तोषीले १० हजार मिटर र पुष्पाले म्याराथनमा रजत पदक जितेकी‌ थिइन् ।

  • एसियन कपको अन्तिम १६ मा को-को पुगे ?

    एसियन कपको अन्तिम १६ मा को-को पुगे ?

    काठमाडौं । एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो । यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो । यससँगै प्रतियोगिताको अन्तिम १६ को समीकरण पनि पूरा भएको छ ।

    अब क्वाटरफाइनल प्रवेशका लागि ताजाकिस्तान र यूएई, इराक र जोर्डन, अस्ट्रेलिया र इन्डोनेसिया, साउदी अरेबिया र दक्षिण कोरिया, इरान र सिरिया, बहराइन र जापान, कतार र प्यालेस्टाइन तथा उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने छन् । समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टिम नकआउट चरण पुगेका थिए र त्यसमा जोर्डन, प्यालेस्टाइन, सिरिया र इन्डोनेसिया छन् । ओमान र चीन भने भाग्यमानी रहेनन् ।

  • यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । यो दुबै टिमका लागि निर्णायक छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले हारिसकेको छ ।

    अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले हारेको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

    दक्षिण एसियाका दुई चर्चित यू १९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ । पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।

  • यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

    यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानले नेपाललाई ५ विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कम भएको छ । अब नेपालले अफगानिस्तानसँगको खेल जित्नै पर्नेछ । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे ।

    पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी दिए हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १–१ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके ।

    उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए । पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।

  • यु-१९ विश्वकप  : नेपाल र पाकिस्तान बीचको खेल आज

    यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज

    काठमाडौं । आईसीसी यू १९ विश्वकप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

    न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउने योजनामा छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ।

    आज नेपालको परीक्षा तीव्र गतिका बलरसँग हुन्छ । गत डिसेम्बरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिएपछि नेपाल १५२ रनमै अल आउट भएको थियो । अग्ला कदका जिशानको बाउन्स र सट बलमा नेपाल फसेको थियो । उक्त खेलमा उबेद शाहले १ र अमिर हसनले २ विकेट लिएका थिए ।

    दक्षिण अफ्रिका तीव्र गतिका सहयोगी पिचमा यी तीन बलरविरुद्ध खेल्न सहज हुनेछैन । जिशानको बलमा रन बनाउन निकै कठिन पर्न सक्छ । एक महिनाअघि मात्रै एसिया कप खेलेको हुँदा पाकिस्तानलाई नेपालको कमजोरी राम्रोसँग थाहा छ । त्यसैले सट र बाउन्सर बलको प्रयोग बढी हुनसक्छ ।

    नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । उनी नेपाली ब्याटिङका खम्बा हुन् । उनलाई सिनियर टोलीबाट खेलेका देल खनाल र गुलशन झाले पनि साथ दिन आवश्यक छ । देव र गुलशनबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । उक्त एसिया कपमा उत्तम थापामगर ५१, अर्जुन कुमाल २१ र दीपेश कँडेलले ३१ रन बनाएका थिए । आकाश र उत्तमले पनि उक्त जिम्मेवारी लिनुपर्छ ।

    नेपालले आजको खेलमा ओपनर दीपक बोहराको स्थानमा विपिन रावललाई मौका दिनसक्छ । त्यस्तै तीव्र गतिका बलर आकाश चन्दको स्थानमा बायाँ हाते बलर दुर्गेश गुप्ताले मौका पाउन सक्छन् । तल्लोक्रमका दीपक बोहराको स्थानमा विशाल विक्रम केसीलाई पनि मौका दिनसक्छ ।

    नेपाल आजको खेलमा पनि तीन स्पिनरका साथ जाने देखिन्छ । सुवाश भण्डारी, दीपेश कँडेल र तिलक भण्डारी स्पिनर हुन् । दीपेश प्रमुख स्पिनर हुन् । सुवास र तिलकले न्युजिल्यान्डसँग बलिङसँगै ब्याटिङमा पनि राम्रो प्रभाव छाडेका थिए ।

  • यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल

    यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल

    काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङमा अन्य ब्याटरको साथ नहुँदा नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग हारेको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भयो । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन मात्र बनायो ।

    नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेले । अन्य ब्याटरले भने उनलाई साथ दिन सकेनन् । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुके । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

    अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २\२ विकेट लिए ।

    दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

    कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १\१ विकेट लिए ।

  • यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै

    यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै

    काठमाडौं । नेपालले आईसीसी यू १९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा रहेको छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले एसिया क्षेत्रमा एसोसिएटविरुद्ध आफ्नो क्षमता देखाइसकेका छन् । हाल यु १९ टोलीमा रहेका अर्जुन कुमाल, देव खनाल र दीपेश कँडेल उत्कष्ट फर्ममा छन् । गुल्शन झाले नेपाली टोलीबाट खेलिसकेका छन् ।

    नेपालको सिनियर टोलीको हालसम्म टेस्ट टोलीलाई हराएको छैन । तर यू १९ टोलीले विश्वकपमा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, बंगलादेश र जिम्बावेलाई हराइसकेको छ । एसिया कपमा यू १९ टोलीले भारतलाई पनि हराइसकेको छ । नेपाली टीममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्शन झा, दिपेशप्रसाद कंडेल ९विकेटकिपर०, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् । आज नेपाली समय अनुसार दुई बजेबाट नेपालको खेल सुृरु हुनेछ ।

  • यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

    यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो । जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो ।

    वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ खेले पनि जिताउन सकेनन् । दक्षिण अफ्रिकाको जितमा क्वेना माफकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । राइली नर्टनले ३ विकेट लिए ।

    त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । मध्यक्रमका ब्याटर डेवान मारिसले ३८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । कप्तान जुआन जेम्श ४७, डेविड टिगर ४४ र लुआन ड्रे प्रिटोरियसले ४० रन बनाए । वेस्टइन्डिजका नाथन सेलीले सर्वाधिक तीन विकेट लिए । नाथन एडवार्ड र डेशावन जेम्सले २.२ विकेट लिए ।

    अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । १०६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । आयरल्यान्डको जितमा रयान हन्टरले ६३ बलमा ५ चौकासहित सर्वाधिक ५०, केन हिल्टन र फिलिफुस ले रक्सले २३\२३ रन बनाए । अमेरिकाका अर्या गर्गले सर्वाधिक दुई विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४०.२ ओभरमा १०५ रनमा अल आउट भएको थियो । अमेरिकाका खुश भलालाले सर्वाधिक २२ रन बनाएका थिए । आयरल्यान्डका रुवेन विल्सन र ओलीभर रिलेले ३-३ विकेट लिए ।

    आज यू-१९ विश्वकपमा बंगलादेशले भारतसँग, इंग्ल्यान्डले स्कटल्यान्ड र अफगानिस्तानले पाकिस्तानसँग खेल्नेछ । सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछन् । नेपालले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

  • क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

    क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ।

    बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो ।

    सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

  • मड्रिड डर्बी भिडन्त : ८ गोल भएको खेलमा रियलले मार्यो बाजी

    मड्रिड डर्बी भिडन्त : ८ गोल भएको खेलमा रियलले मार्यो बाजी

    काठमाडौं । मड्रिड डर्बी भिडन्तमा रियल मड्रिडले बाजी मारेको छ । कुल ८ गोल भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको हो । गतराति साउदी अरबको अल अवाल स्टेडियममा एथ्लेटिकोलाई ५–३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो। एथ्लेटिको मड्रिडका मारियो हर्मोशोले खेलको छैटौं मिनेटमै गोल गरेर रियलमाथि दबाव सिर्जना गरेका थिए।

    २० औं मिनेटमा लुका मोड्रिकको पासमा एन्टोनियो रूडिगारले हेडमार्फत गोल गर्दै रियललाई बराबरीमा पुर्‍याएका थिए। लगत्तै २९ औं मिनेटमा कारभाजलको पासमा फेरल्याण्ड मेन्डीले गोल गरे। एन्टोइन ग्रिजमनले डे पउलको पासमा ३७ औं मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा पुर्‍याएका थिए।

    ७८ औं मिनेटमा एन्टोनियो रूडिगरले आत्मघाती गोल गर्दा पुनः रियल दबाबमा आएको थियो। सनसनीपूर्ण बनेको खेलमा ८५ औं मिनेटमा रियलका कारभाजलले गोल गरेपछि खेल ३–३ को बराबरीको अवस्थामा पुगेको थियो।

    निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा रियलले २ गोल थप्दै फाइनल यात्रा तय गरेको हो। ११६ औं मिनेटमा जोशेलु र इन्ज्युरी समयमा ब्रहिम डियाजले गोल गर्दै एथ्लेटिकोविरूद्ध ५–३ को जित दिलाएका हुन्। रियलले बार्सिलोना र ओसासुनाबीच आज राति हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ। स्पेनिस सुपर कपको फाइनल खेल जनावरी १५ मा हुनेछ।

  • भारतीय क्रिकेट मैदानलाई नेपालले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राख्ने

    भारतीय क्रिकेट मैदानलाई नेपालले घरेलु मैदानका रुपमा प्रयोग गर्न प्रस्ताव राख्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मैदानलाई आफ्नो घरेलु मैदानमा रुपमा प्रयोग गर्न प्रस्ताव गरेको विवरण सार्वजनिक भएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा बलिया तथा टेष्ट राष्ट्रलाई बोलाएर खेल खेल्ने पूर्वाधार नभएका कारण भारतीय मैदानलाई घरेलु मैदानका रुपमा प्रयोग गर्न भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुरा राखिएको जानकारी दिएका छन् ।

    १९ पुसमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला नेपाल क्रिकेट संघका पदाधिकारी र खेलाडीहरुले भेटेका थिए । सो क्रममा आफूहरुको प्रस्तावमा भारतीय विदेशमन्त्री सकारात्मक रहेका अध्यक्ष चन्दले जानकारी गराएका छन् ।
    नेपालमा ठूला देशसँग क्रिकेट खेल्न पर्याप्त पूर्वाधार नहुँदासम्म भारत लगायत विश्वका अन्य राष्ट्रहरुसँग खेल्ने वातावरण बनाउन भारतमा घरेलु मैदानको योजना बनाएको उनको भनाइ छ । नेपालले केही दिनमै भारतसँग यससम्बन्धी औपचारिक प्रस्ताव राख्ने र नेपालबाट आवतजावत गर्न जुन स्थानमा सहज त्यहीँको मैदान माग गर्ने उनले बताएका छन् ।, भारतमा देहरादुन, नोयडा र लखनउमध्ये कुनै एक मैदानलाई नेपालले होम ग्राउन्डका रुपमा उपयोग गर्ने चाहना राखेको समाचार प्रकाशित भएका छन् ।

  • क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

    क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

    जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

  • टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

    टी-२० विश्वकपमा नेपालको समूहमा कुन कुन मुलुक परे ?

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा हुनेछ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग तेस्रो खेल जुन १४ मा साउथ अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । भारत र पाकिस्तान भने एउटै समूहमा परेका छन् । उनीहरु रहेको समूह एमा आयरल्याण्ड क्यानडा र अमेरिका छन् ।

    समूह बीमा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान छन् । समूह सीमा न्यूजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् र समूहका शीर्ष दुई टिम सुपर एटमा पुग्नेछन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई-दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

    यसअघि जुन ४ देखि ३० सम्म हुने भनिएकोमा आईसीसीले मिति हेरफेर गरेको छ । अब टी-२० विश्वकप जुन १ देखि २९ सम्म हुनेछ । पहिलो खेल अमेरिका र क्यानडाबीच जुन १ मा डल्लासमा हुनेछ । गत कात्तिकमा काठमाडौंमा भएको टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले सहजै पराजित गर्दै नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

  • सन्दीपले अब राष्ट्रिय टोलीबाट खेल्न नपाउने

    सन्दीपले अब राष्ट्रिय टोलीबाट खेल्न नपाउने

    काठमाडौं । राष्ट्रिय किक्रेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा रहने छैनन् भने अर्को आदेशबाट सफाइ पाएको खण्डमा भने उनी राष्ट्रिय टोलीमा हुने छन् ।

    सन्दीपलाई हुने सजायबारे पुस २५ गते टुंगो लाग्नेछ । १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थासमेत छ । त्यसैले उनले जेलबाहिरै रहेर पुनः उच्च अदालतमा मुद्दा लड्न पाउने छन् ।

  • बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर

    बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

    एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशाला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’ मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशाला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो ।

    रालुका गाविस नुवाकोट तथा शंकरापुर नगरपालिका, काठमाडौंको बसाइँसराइ दर्ता किताब र नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको डेलिभरी रजिस्ट्रर, गौशाला २६ को बकपत्र लगायतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको र घटना भएको बेला उनको उमेर १८ वर्ष पुगेको इजलासको ठहर छ । गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

    ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

    राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे ।

    अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो । त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

    त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।

  • रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता

    रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता

    एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

    अल नासरमा आबद्ध रोनाल्डोले यस वर्ष ५३ गोल गरेका छन् । उनी जारी सिजनको साउदी प्रो लिगका सर्वाधिक गोल र असिस्टकर्ता पनि हुन् । उनले यस सिजनमा सर्वाधिक १९ गोल गर्दा ९ असिस्ट प्रदान गरेका छन् ।

    यस्तै, सन् २०२३ मा सर्वाधिक गोल गर्ने मामलामा रोनाल्डोभन्दा पछाडि बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एम्बाप्पे छन् । केन र एम्बाप्पे दुवैले ५२/५२ गोल गरेका छन् ।

    उनीहरूपछि म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड रहेका छन् । उनले यो वर्ष ५० गोल गरेका छन् । नले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन्। यद्यपी हालाण्डले यस बर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ।

    त्यसैगरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस बर्ष ३७ गोल गरेका छन्।

  • मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी

    मिचेल स्टार्क आइपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी

    एजेन्सी । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी तीव्र गतिका बलर मिचेल स्टार्क कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु(झन्डै ४० करोड नेपाली रुपैयाँ) मा किनेको हो ।

    यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक घण्टा अघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो ।
    जुन आइपिएल इतिहासकै सर्वाधिक मूल्य थियो । कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् ।

  • प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी

    प्याट कमिन्स आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी

    काठमाडौं । आगामी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अष्ट्रेलिया टोलीका प्रभावशाली खेलाडी प्याट कमिन्सले इतिहास रचेका छन् ।

    उनी आइपीएल इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बने । हैदरावादले उनलाई इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु(झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ । अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै ठूलो रकम हो।

    कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।

    यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । त्यस्तै गतवर्ष क्यामरन ग्रीनलाई मुम्बईले गतवर्ष १७ करोड ५० लाख भारुमा किनेको थियो ।

    कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो । २०२२ मा भने कोलकाताले ७ करोड २५ लाख भारुमा किनेको थियो । कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् । त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए ।