Category: खेलकुद

  • स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन

    स्टार फूटबलर विमल घर्तीमगर समेत अष्ट्रेलिया पलायन

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।

    दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन् ।

  • एसियाली खेलकुद: नेपाली पब्जी टिम सेमिफाइनलमा

    एसियाली खेलकुद: नेपाली पब्जी टिम सेमिफाइनलमा

    काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जीको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

    प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई छन्। अब चार समूहबाट आएका शीर्ष दुई-दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ।

    सेमिफाइनलका दुवै समूहमा चार-चार टिम हुनेछन्। अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। फाइनलमा शीर्ष तीन पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ। भिक्टर पौडेल टोलीमा व्यवस्थापक रहेका छन् ।

  • थ्री बाई थ्री महिला बास्केटबल: नेपाल समूह चरणबाटै बाहिरियो

    थ्री बाई थ्री महिला बास्केटबल: नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

    दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन ।

    पहिलो खेलमा जापानसँग २२-४ ले पारजित भएको नेपाल दोस्रो खेलमा कजाखस्तानसँग १७-१० ले पराजित भएको थियो । शुक्रबार भएको समूह बी को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२-२ ले सहजै पराजित भयो ।

  • एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन

    एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन

    काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

    यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । थाइल्याण्ड ६ स्वर्ण, तीन रजत र नौ कास्यसहित १८ पदकका साथ का साथ छैटौँ स्थानमा उक्लिएको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्य सहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा रहेको छ ।

    चाइनिज ताइपेई चार स्वर्ण, चार रजत र ६ कास्यसहित १४ पदकका साथ आठौँ, इरान तीन स्वर्ण, नौ रजत र १० कास्यसहित २२ पदक प्राप्त गर्दै नवौँ तथा दक्षिण कोरिया तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

    एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ । रासस

  • एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश

    एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश

    काठमाडौं । एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो। समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले हात पार्‍यो। नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो।

    नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो। अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्। पहिलो चरणमा समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई, ‘सी’बाट दक्षिण कोरिया र नेपाल तथा ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा छन्। वरीयताका आधारमा यसअघि नै चीनसहित चार देश दोस्रो दोस्रो चरणमा पुगेका छन्। अब आज समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टिमबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।

  • महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

    महिला फुटबल: जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

    काठमाडौं । चीनको हाङ्जाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ।

    बिहीबार समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भियतनामसँग २–० र अर्को खेलमा जापानसँग ८–० ले पराजित भएको थियो। बंगलादेशको पनि पहिलो खेलमा जापानसँग ८–० हार र भियतनामसँग ६–१ ले पराजित भएको थियो।

  • मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड

    मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित, बने यस्ता ४ विश्व रेकर्ड

    हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो ।

    झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

    बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

    यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

    दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित १३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र ८ चौका तथा ऐरीले ८ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।

    नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।

  • एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित

    एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित

    काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ ।

    दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

    नेपालको निराशाजनक प्रदर्शन

    चीनको हाङझाउमा जारी१९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्मको खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । नेपाल चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए ।

    पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भए । मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो ।

    फेन्सिङमा पनि नेपाल पराजित

    एसियाली खेलकुदअन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए ।

    यस्तै महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।

    रग्बीमा नेपाल जितबिहीन

    रग्बीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपालको पुरुष टोली पराजित भयो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो । सोमबार नेपाल फिलिपिन्स र थाइल्याण्डसित पनि पराजित भयो ।

    साइक्लिङमा पनि खराब प्रदर्शन

    सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन् । महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए । दुवै जनाले निर्धारित दूरी पूरा गर्न सकेनन् । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए । पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । महिलातर्फ १५ खेलाडी सहभागी थिए ।

    बास्केटबलमा जापानसित पराजित

    महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सोमबार जापानसित पराजित भएको छ । समूह बी अन्तर्गत नेपाल जापानसँग २२–४ अकले पराजित भएको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान रहेका छन् । नेपालले अब बुधबार काजकिस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्ने छ ।

    बक्सिङमा रविन विजयी

    पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । उनी अंकका आधारमा ४–१ ले विजयी भएका हुन् । रविनले अब प्रिक्वाटर फाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन् ।

    तेक्वान्दोमा दुवै खेलाडी पराजित

    तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । तेक्वान्दोमा नेपालकी अन्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन् । महिला ४९ किलोमुनिको तौल समूहमा उनले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई १०–४ अंकले पराजित गरिन् । प्रिक्वाटर फाइनलमा भने अन्जली थाइल्यान्डकी खेलाडसित पराजित भइन् । यस्तै पुरुष ५८ किलोमुनीको राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका खेलाडसित पराजित भए ।

    जुडोमा पनि नेपाल पराजित

    जुडोमा पनि सोमबार नेपालका तीनवटै खेलाडी पराजित भए । नेपालका मनीता श्रेष्ठ, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका थिए।

    पुनम महिला ७५ किलोमुनिको तौल समूहमा मंगोलियाकी खेलाडीसत पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी खेलाडीसित पराजित भइन् । यस्तै पुरुष ८१ किलोमुनिको तौल समूहमा जंगबहादुर फिलिपिन्सका खेलाडीसत पराजित भए ।

    उसुमा कमजोर प्रदर्शन

    उसुमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे ।

    पौडीमा नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए

    पौडीमा पनि सोमबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए । महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । उनी आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन् । यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए । रासस

  • नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

    नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । साेमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

  • जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?

    जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?

    काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा आइतबारसम्म नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । यस स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गर्यो ।


    उसुको सान्सौं ृफाइटे तर्फ नेपालकी एलिना चौधरी र रोहित चुनारा पनि पराजित भए । महिला ५२ किलोतर्फ चौधरी इरानकी खेलाडीसँग पराजित भइन् । पुरुष ५६ किलोतर्फ चुनरा किर्गिस्तानका खेलाडीसँग हारे । ६० किलोमा नेपालका मगलप्रसाद थारु पनि किर्गिस्तानका खेलाडीसँगै पराजित भए । महिला ताइजियानमा नेपालकी सविता राई आठ दशमलव सात सय ९६ स्कोरका साथ अन्तिम स्थानमा रहिन् । उक्त स्पर्धामा चीन पहिलो, ब्रुनाइ दोस्रो तथा थाइल्यान्ड तेस्रो भयो । ७० किलोतर्फ नेपालका पदम राई क्वाटरफाइनलमा लाओसका खेलाडीसँग पराजित भए ।

    सुटिङमा पनि नेपालले आइतबार निराशाजनक खेल प्रदर्शन गर्यो । सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिषा भण्डारी ४७औं र सुस्मिता नेपाल ५८औं स्थानमा रहे। उक्त स्पर्धामा ५९ खेलाडी सहभागी भएका थिए।

    इ फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसित २–१ अंकले पराजित भए। यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसित पराजित भइन् । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसित क्वाटरफाइनलमा पराजित भए। उनले प्रिक्वाटर फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।

    यस्तै जुडोमा नेपालका विकास विक तुर्किमिनिस्तानका खेलाडीसित १०–० अकले पराजित भए। यसअघि उनले कम्बोडियाका खेलाडीलाई १०–० अकले पराजित गरेका थिए। देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसित पराजित भए। पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउन्डमा एलेक्स शाह आठौँ स्थानमा रहे । रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)का खेलाडीसित पराजित भए ।

    बक्सिङमा नेपालकी संगीता सुनार ६० किलो तौल समुहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समुहमा पराजित भए । सुनार भियतनामकी खेलाडीसित ५–० अंकले पराजित भइन् । श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसित ५–० अंकले नै पराजित भए। महिला ५४ किलो तौल समुहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसित ५ ० अंकले पराजित भइन्।

    टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा इस्ट टिमोरका खेलाडीलाई ६–० र ६–० अकको सोझो सेटमा पराजित गरे। उनी अन्तिम ३२ मा प्रवेश गरेका छन्। तर नेपाली खेलाडी महिला सिंगल्स र पुरुष डबल्सतर्फ भने पराजित भए। महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमै बाइ पाएका थिए।

    दोस्रो चरणमा विष्ट थाइल्यान्डकी खेलाडीसित तथा राणा दक्षिण कोरियाली खेलाडीसित पराजित भइन् । पुरुष डबल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोलाको जोडी भारतीय खेलाडीसित ६–२ र ६–३ अकले पराजित भए । तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित भए । लिम्बू सेमिफाइनल सेमिफाइनल पुग्न असफल रहे ।

  • ‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’

    ‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् ।

    एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए।

    एसियाली खेलकुदलाई लिएर सबैजना उत्साही रहेको उनले सुनाए । आफूहरूको लक्ष्य मेडल जित्ने रहेको उनले बताए ।

    कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता उनले जनाए । उनले यो प्रतियोगिताले ट्वान्टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने बताए ।

    “तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिनयता हामी अभ्यासमा नै व्यस्त छौँ । एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भए पनि, बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टी–२० मा जे पनि हुनसक्छ ।

  • सन्दीप लामिछाने भोलि चीन जाने

    सन्दीप लामिछाने भोलि चीन जाने

    काठमाडौं । १९औं एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने सोमवार चीन जाने भएका छन् ।
    नाबालिग बलात्कार मुद्दाको अन्तिम सुनवाइका लागि आजै पेसी परेका कारण सन्दीप टोलीसँगै चीन जान पाएनन्।

    सन्दीप बाहेकको टीम आज प्रस्थान गरेको छ । एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ। क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै स्थान बनाएका छन्।

  • एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी

    एसियाली खेलकुदको भव्य उद्घाटन, नेपालबाट प्रधानमन्त्री अतिथिका रुपमा सहभागी

    काठमाडौं । चीनको हाङ्झाउमा १९ औं एसियाली खेलको भव्य उद्घाटन गरिएको छ । शनिबार हाङझाउ ओलम्पिक रंगशालामा चिनियाँ राष्ट्रपति सी चिन फिनले उद्‌घाटन गरे । समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिथिका रुपमा सहभागी बने । दुई घन्टासम्म चलेको उद्‌घाटन समारोहको मार्चपासमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी निमा घर्ती मगरले बोके ।

    ४५ देशका खेलाडीहरूको मार्चपासका लागि ४० मिनेट समय लागेको थियो। त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू गरिएको थियो । औपचारिक उद्घाटनपछि भएको सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्यो। जहाँ चीनको सांस्कृतिक सम्पदा, पूर्वी सौन्दर्य र आधुनिक प्रविधिको शक्तिलाई लाइटिङको अनुपम संयोजनमार्फत देखाइएको थियो । क्विनताङ नदीको किनारमा रहेको बिग लोटस लाई सेटमा उतारिएको थियो।


    नांगो आँखाका लागि थ्रिडी स्टेज प्रयोग गरिँदा रंगशालाको स्टेज भव्य देखिन्थ्यो। जहाँ नदी र पुल समेत लाइटिङमार्फत देखाइएको थियो। चीनको राष्ट्रिय झन्डा फहराउनुअघि एक गायकले म तिमीलाई माया गर्छु चाइनाु बोलको गीत गाए । एसियाली खेलकुदका लागि पहिलो पटक एसियाली खेलकुदको टर्च डिजिटल र रियल टाइम दुवैमा प्रज्वलित गरिएको थियो।

    एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुने छन्। ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। २९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक–एक पदक मात्र जित्न सकेको छ।

  • अमेरिकामा बस्ने नेपालीबीच वृहत खेल महोत्सव सुरु, १ हजार खेलाडी सहभागी

    अमेरिकामा बस्ने नेपालीबीच वृहत खेल महोत्सव सुरु, १ हजार खेलाडी सहभागी

    काठमाडौं । अमेरिकामा बस्ने नेपाली समुदायबिच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन् । महिलातर्फ भलिबलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् भने फुटबलमा तीन टोली मैदानमा छन् ।

    इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथा भलिबल खेलको उद्घाटन फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गरेका छन् । उत्तर अमेरिकामा रहेका नेपाली जातिका सबै खेलप्रेमीलाई हौसला बढाउने, नेपाली समाजलाई खेलका माध्यमबाट अनुशासित बनाउने र अमेरिकावासी नेपाली युवायुवतीको मनोबल बढाई भविष्यमा जुनसुकै प्रतिस्पर्धा पनि अगाडि बढ्नसक्ने बनाउने उद्देश्यले फाउण्डेसनले यी खेलहरू आयोजना गरेको उनले बताए ।


    विश्वभरका नेपाली प्रतिभालाई समावेश गराई मेरो डान्स युनिभर्सल र मेरो भ्वाइस युनिभर्सल नामका दुई वटा रियालिटी सोहरू गत महिना नेपालमा समापन गरेको फाउण्डेसनले अमेरिकावासी नेपाली खेलप्रेमीका लागि यो बृहत् खेलकुदको आयोजना गरेको हो । आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार प्रशिक्षक र टोली म्यानेजरसहित लगभग एक हजार खेलाडी सामेल छन् ।

    उनले दुवै खेलमा अमेरिकाका भर्मन्ट, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, न्यूयोर्क, क्यानडा, ओहायो, मासाच्युसेट्स, केन्टकी, टेक्सास, क्यालिफोर्निया, जर्जिया, नेब्रास्का, मेरिल्याण्डलगायतका राज्यमा टोली सहभागी भएको बताए ।


    प्रतिस्पर्धामा भेट्रान्सतर्फ हिलसिटी क्लब, रिभाइभल क्लब, एक्रोन इन्ट्रा, न्यूयोर्क भेट्रान्स, इन्ट्रा कोलम्बस र ह्यारिसवर्ग भेट्रान्स प्रतिस्पर्धामा छन् भने युवातर्फ साङ्ग्रिला यूथ फुटबल क्लब, न्यूयोर्क नेपाली फुटबल क्लब, टिमाई स्क्वाड, जुनियर योङ्ग गाइज एघार, पथरी एफसी, एफसी युनाइटेड, वाइएस एफसी, सगरमाथा एफसी, इन्ट्रा एफसी, युनाइटेड ओन्टारियो, भर्मन्ट इलेवेन एफसी, न्यु स्पोर्टिङ एफसी, चुके एफसी, युनिक ब्वाइज एफसी, नर्थ क्यारोलिना रोयल एफसी र खुदुनावारी एफसी छन् ।

    त्यसैगरी भलिबलतर्फ बफेलो न्यूयोर्क टिम, इन्ट्रा ह्वाइट, युके ब्रदर्श इरी, सिराकस बिसी टिम, म्याग्दी समाज, अमेरिका टिम, रुकुम बी, रचेष्टर थन्डर, योङ ब्लड टिम, बागलुङ समाज टिम, एनआरएनए क्यालिफोर्निया टिम, एक र टिम दुई, फिफ्टी स्टार युवा क्लब, द सिटी अफ टालमाजे, युटिआइसीए यूथ, रुकुम ए, बेलमन्ट टिम, इयुसिएनसी टिम, मामा भान्जा ह्वाइट टिम, सिन्धु टिम न्यूयोर्क, सार्लेट सिक्स टिम, इन्ट्रा ब्लू टिम, साजनी टेक्सास टिम, मामा भान्जा ब्ल्यू र एएनकेए केन्टकी टिम सहभागी छन् ।

    फाउण्डेसनले युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई छ हजार डलर पुरस्कारको व्यवस्था गरेको छ । अर्थात् भलिबलमा पुरुष विजेताले १० हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरेको छ । भेट्रान तर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई छ हजार र तेस्रो हुनेलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

    योसँगै युवातर्फको विजेता टिमलाई एक सय १५ ग्राम सुनको ट्रफीको व्यवस्था गरेको छ । तर यो सुनको ट्रफीलाई आफ्नो बनाउनका लागि भने एउटै क्लबले तीन वर्ष लगातार जित्नुपर्ने हुन्छ । खेल तीन दिनसम्म चल्नेछ । रासस

  • पारस खड्का क्यानको सचिवमा निर्वाचित

    पारस खड्का क्यानको सचिवमा निर्वाचित

    काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

    क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।

    अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो ।जसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोला प्रथाबाट माधवकुमार कर्मचार्य विजयी भए ।

    गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए भने बागमतीमा दिवाकर घलेले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । खुल्ला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाएका थिए र गोला प्रथा गर्दा करण चुनिएका छन्

  • एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता

    एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता

    काठमाडौं । एसियाली खेलकुद आजबाट सुरु हुँदैछ । प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुने छ । उद्घाटन समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चीन पुगिसकेका छन् । उनी अमेरिकाबाट सिधै चीन पुगेका हुन् । कोरोनाका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै कसुर बाँकी राखेको छैन ।


    चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख समेत यस समारोहमा उपस्थिति हुने छन् ।

    प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ । चीन पुराना दुई संस्करणभन्दा बढी सफल र भव्य आयोजना गर्न चाहन्छ, समग्रमा १९ औं एसियाली खेलकुद ।

    सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको

    प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।
    उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् ।

    यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । उद्घाटन समारोह दुई घण्टाका हुनेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ ।

  • वान डे वरियतामा भारत पहिलो नम्बरमा

    वान डे वरियतामा भारत पहिलो नम्बरमा

    काठमाडौं । आइसीसी एकदिवसीय विश्व वरीयतामा भारत पहिलो नम्बरमा उक्लिएको छ। गत राति अष्ट्रेलियालाई पाँच विकेटले हराएको भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो। एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको हो ।

    अष्ट्रेलिया भारतसँग पराजित हुनुअघि पहिलो वरीयतामा थियो । पहिलो वरीयतामा रहेको अष्ट्रेलियालाई शुक्रबार पराजित गरेसँगै भारतले क्रिकेटका तीन वटै फर्म्याटमा कब्जा जमाएको छ। भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ।

    एकदिवसीयमा पनि पहिलो वरीयतामा उक्लिएपछि भारतले इतिहास बनाएको छ। पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन। त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन। यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।

  • क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको घोषणा

    क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    क्यानको साधारणसभा आज काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् ।

    प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । क्यानको चुनावमा प्रत्येक जिल्लाबाट आउने एक-एक प्रतिनिधि, प्रदेशहरूले मातहतका जिल्लाको संख्याभन्दा आधा संख्यामा पठाउने प्रतिनिधि, हालको केन्द्रीय समितिका सबै सदस्य, अम्पायर संघका एक प्रतिनिधि र प्रशिक्षक संघका एक प्रतिनिधिले भोट हाल्न सक्छन् । अम्पायर र प्रशिक्षक संघका प्रतिनिधिलाई चुनाव लड्ने अधिकार भने हुँदैन ।

  • फिफा वरीयतामा नेपाल यथावत्, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

    फिफा वरीयतामा नेपाल यथावत्, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् नै रहेबो छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो ।

    नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रोमा रहेको माल्दिभ्स १५५औँ, चौथोमा रहेको भुटान १८४औँ, पाँचौँमा रहेको बंगलादेश १८९औँ, छैटौँमा रहेको पाकिस्तान १९७औँ र सातौँमा रहेको श्रीलंका २०२औँ स्थानमा छ । रीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छ ।

  • एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद हार, भारत च्याम्पियन

    एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद हार, भारत च्याम्पियन

    काठमाडौं । एसिया कप २०२३ को उपाधी भारतले जितेको छ । श्रीलंकालाई सजिलै हराउँदै भारतले आठौँ पटक एशिया कपको उपाधि जितेको हो । भारतले श्रीलङ्कालाई १० विकेटले हरायो । आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाउँदा घरासायी बन्यो ।

    प्रतिउत्तरमा भारतले ६.१ ओभरमा कुनै पनि विकेट नगुमाइ लक्ष्य भेट्टायो । जितका लागि भारतका ओपनर ब्याटर ईशान किशन (२३) र सुभमन गिल (२७) ले अविजित खेले । भारतीय बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङ सामु श्रीलंकाले घुँडा टेकेको हो । १६ बलमा श्रीलङ्काका पाँच ब्याट्सम्यानलाई आउट गरेका उनी कुल ६ विकेट लिए । जसप्रित बुमराहले एक हार्दिक पाण्ड्याले तीन विकेट लिए।

  • एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

    एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

    काठमाडौं । चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टोली पठाउने तयारी गरेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म चल्ने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले भाग लिने भएका हुन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी संख्या टुंगो लगाएको छद्ध ।

    शिक्षक, म्यानेजर र अन्य अफिसियलको संख्या अझै टुंगिएको छैन । एसियाडमा भाग लिन जाने खेलाडीलाई बिहीबार एक कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ पनि गरे । एसियन गेम्स उद्‌घाटन हुने बेला चीन भ्रमणमै रहने प्रचण्ड उद्‍घाटन समारोहमा पनि सहभागी हुने छन् ।

    ‘यस पटक महिला भलिबल, महिला फुटबल, महिला कबड्डी, महिला ह्याण्डबल, पुरुष रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडी सहभागी हुँदैछन् । २४ खेलाडी सहभागी गराउने भलिबल (पुरुष र महिला) बाहेक सबैभन्दा धेरै खेलाडी सहभागी गराउनेमा ई–स्पोर्ट्स दोस्रो स्थानमा छ । ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी सहभागी हुने छन् ।

    यसअघि ई(स्पोर्ट्समा ५ खेलाडी मात्र गणना गरेर राखेपले २३४ खेलाडी सहभागी हुने बताए पनि २३ खेलाडी सहभागी हुने भएपछि नेपालबाट सहभागी हुने कुल खेलाडी २५३ पुगेका हुन् । पहिलो पटक एसियाड खेल्न लागेको महिला फुटबल टिममा २२ खेलाडी छन् । भारोत्तोलनमा ५ खेलाडी छन् ।

    नेपालबाट आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २, फेन्सिङमा ६, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

    सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै २०३ खेलाडी सहभागी थिए । त्यसबेला नेपालले २५ खेलमा सहभागिता जनाएको थियो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए ।

  • एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्ने

    एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्ने

    काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि सुपर फोरबाट बाहिरिएको छ ।

    कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए । पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । यसैगरी अब्दुल्लाह शफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए । श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्क्षना र दुनीथ वेलालगेले १(१ विकेट लिए ।

  • एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

    एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका हुन्।

    प्रधानमन्त्री दाहालले विदाइ गर्दै भने, ‘सफलताको निम्ति हृदयदेखि शुभकामना दिन चाहान्छु। मेरो जानकारी अनुसार चीनमा राम्रो व्यवस्थापन भइसकेको छ। चिन्ता लिनु पर्ने छैन। तपाइँहरुले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ। म आफू समेत उद्‌घाटनमा हुनेछु। मेरो लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ। हाङझाउमा म तपाइँहरुकै साथमा हुनेछु।’ एसियाली खेलकुद असोज ६ मा सुरु भएर असोज २१ मा सकिनेछ। प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्‌‌घाटनअघि चीन पुग्नेछन्।

    यसपटकको एसियाली खेलकुदमा नेपालका २९ खेलमा २ सय ५३ खेलाडीका सहभागिता रहनेछ। जसमा १२७ महिला र १२६ पुरुष खेलाडीले भाग लिँदैछन्। नेपालका तर्फबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ । यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कबड्डीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।

  • म्यानमारसँग हार्यो नेपाल

    म्यानमारसँग हार्यो नेपाल

    काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो ।


    नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरण कुमार लिम्बुले पहेंलो कार्ड पनि पाए । पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो । नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औं स्थानमा रहेको छ ।

  • एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् । एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।

  • नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

    नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

    काठमाडौं । नेपाल र म्यानमारबीच आज मैत्रिपूर्ण फुटबल हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल हुँदा नेपाल बराबरीमा रोकिएको थियो ।

    अञ्जन पुरुषको राष्ट्रिय टिमका लागि सबैभन्दा बढी गोल गरेका नीराजन रायमाझी र हरि खड्काको कीर्तिमान भेटाउने लक्ष्यमा छन् । कीर्तिमानभन्दा एक गोल पछाडि परेका अञ्जनले १२ गोल गरेका छन् । सन् २०१९ मा म्यान्मारमै भएको मैत्रीपूर्ण खेलमा ३–० ले हारेको नेपाल यस पटक जितको खोजिमा छ । फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ ।

  • भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, बाँकी खेल आज हुने

    भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, बाँकी खेल आज हुने

    काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ। जसका कारण प्रभावित भएको खेल आज हुने भएको छ । श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो।

    भारतका लागि केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्। त्यसअघि ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।

  • चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा

    चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा

    काठमाडौं । चुम्बन विवादमा परेका स्पानिस पुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा गरेका छन् । महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेका थिए । ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् ।

    रुबियल्सले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफूले राजीनामा बुझाएको स्टेटमेन्टमार्फत जनाएका छन् । ‘म मेरो कामलाई निरन्तरता दिन सक्दिन,’ उनले एक टेलिभजन सो मा पिएर्स मोर्गनलाई भनेका छन्न् । ४६ वर्षीय रुबियल्सले यूईएफएको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् ।

    रुबियल्सको चुम्बन विवादले गर्दा पहिलो पटक विश्वकप जितेको स्पानिस फुटबलको चर्चा छायामा परेको छ । रुबियल्सले चुम्बन आपसी र सहमतिमा भएको बताउँदै आएका थिए तर विश्व पुटबलको सर्वोच्च निकाय फिफाले भने उनलाई प्रारम्भिक रुपमा निलम्बन गरेको थियो । ‘फिफाले गरेको निलम्बन र मविरुद्धको बाँकी खुला कारबाही पछि यो स्पष्ट छ कि म आफ्नो स्थितिमा फर्कन सक्षम हुनेछैन,’ रुबियल्सको विज्ञप्तिमा भनिएको ।

  • एसिया कप : आज भारत र पाकिस्तानबीच हेभिवेट भिडन्त

    एसिया कप : आज भारत र पाकिस्तानबीच हेभिवेट भिडन्त

    काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।

    आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा रिजर्भ डे राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् । हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

  • जर्मनीमाथि जापानको सानदार जित

    जर्मनीमाथि जापानको सानदार जित

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले जर्मनीमाथि ४–१ को सानदार जित निकालेको छ । गत कतार विश्वकपमा समेत जापानले जर्मनीलाई हराएको थियो । जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीलाई ठूलो अन्तरको हार चखाएको हो ।

    खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए । इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४–१ को जित दिलाए ।

    जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो । २०२२ मा कतारमा भएको विश्वकपमा पनि जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो ।