Category: खेलकुद

  • इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

    इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलंकामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पूनरागमन गरेका छन् ।

    सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी बाहिरिएका छन् । क्यानडामा आयोजना हुने टी–२० ग्लोबल खेल्न जान लाागेका कारण सन्दीप र दीपेन्द्रलाई टोली बाहिर राखिएको हो । आइसीसी एकदिवसीय विश्वकप खेलेका चार खेलाडीमा करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि विश्राम दिईएको छ ।

    प्रतियोगिता १३ जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् । समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् ।

    नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको कुनैपनि खेललाई एकदिवसीय मान्यता रहने छैन ।

  • राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

    काठमाडौं । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।

    प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

  • साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन

    साफमा भारतको दवदवा कायम, नवौं पटक च्याम्पियन

    काठमाडौं । भारतले सडनडेथमा मंगलबार कुवेतलाई पराजित गर्दै नवौंपल्ट साफ च्याम्पियनसिप फुटबल जितेको छ । कुवेती कप्तान खालेद हाजिहको पेनाल्टी प्रहारलाई भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाउ गरे र यससँगै डिफेन्डिङ च्याम्पियन भारत टाइब्रेकरमा ५–४ ले विजयी रह्यो ।

    भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त सिंह गोल गर्न चुकेका थिए । कुवेतका लागि मोहम्मद अब्दुल्लाह सुरुमै गोल असफल रहे । आमन्त्रित टिमका लागि फवाज अलाताबी, अहमद अलधेरी, अल्दुल अजिज र साबिब अल खाल्दीले मात्र गोल गरे ।

    बेंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको स्थिति १–१ को बराबरीमा रहेको थियो । यससँगै खेलको निर्णयका लागि टाइब्रेकर आवश्यक परेको थियो । निर्धारित समयको खेलको १४ औं मिनेटमा कुवेतले सुरुआती अग्रता लिएको थियो ।

    अब्दुल्ला अल बलोसीले निकालेको क्रसमा साबिब अल खाल्दीले गोल गरे । कुवेतको यो अग्रता भने लामो समय टिकेन र भारतले ३८ औं मिनेटमा बराबरी गोल फर्कायो । साहल अब्दुल समादको पासमा लालिनजुलाले बललाई पोस्टको दिशा दिए । त्यसपछि निर्धारित र अतिरिक्त समयको बाँकी खेलमा दुवै टिम थुप्रै अवसरमा चुके ।

    सुरुआती चरणको लिग खेलमा दुवै टिम एकै समयमा थिए । त्यसक्रममा भएको खेलमा दुवै टिमले बराबरी खेलेका थिए । सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले र भारतले दोस्रो आमन्त्रित टिम लेवनानलाई टाइब्रेकरमा ४–२ ले हराएका थिए । भारतले यसअघि पछिल्लो महिना मात्रै इन्टरकन्टिनेन्टल कपको उपाधि पनि जितेको थियो । २५ हजारभन्दा बढी उपस्थित फाइनल खेल नेपालका फिफा रेफ्री प्रज्वल क्षत्रीले खेलाएका थिए ।

    नेपालले प्रतियोगितामा फेयर प्लेको ट्रफी जितेको छ । भारत र कुवेतसहितको समूहमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतीय कप्तान सुनील क्षत्रीले गोल्डेन बुट र गोल्डेन बल दुवै जिते भने बंगलादेशका अनिसुर रहमान उत्कृष्ट गोलरक्षक चुनिए ।

  • आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो

    आयरल्याण्डसँग हारेको नेपाल आठौं भयो

    काठमाडौं । आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

    आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे। त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो। नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे।

    त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए। उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे। एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए। ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए।

    भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। करण केसी ३ बलमा ४ रन जोडेर आउट भए। बलिङमा आयरल्यान्डका मार्क एडियर, ब्यारी म्याकार्थी र क्रायग योङले २(२ विकेट लिए।

  • नेपाल र टेस्ट मुलुक आयरल्याण्ड पहिलो पटक एकदिवशीय क्रिकेट खेल्दै

    नेपाल र टेस्ट मुलुक आयरल्याण्ड पहिलो पटक एकदिवशीय क्रिकेट खेल्दै

    काठमाडौं । जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ ।


    नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ । अर्कोतर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ । टी(२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलिसकेको छ र सबैमा पराजित भएको थियो ।

    यस्तै नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो । समूह ए मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ । दुवै टोलीसँग नेपाल पराजित भएको थियो ।

    समूहमा पाँच टोलीमध्ये चौथो भएको नेपाल सुपर सिक्समा पुग्न असफल भएपछि सातौंदेखि दशौं स्थानसम्मको वरीयताका लागि प्लेअफ खेलेको थियो । जहाँ प्लेअफ सेमिफाइनलमा नेपालले समूह बी को पाँचौ स्थानमा रहेको यूएईलाई हराएर आयरल्याण्डसँग सातौं स्थानको प्लेअफका लागि भेट पक्का गरेको हो ।

    नेपालले समूह चरणमा तीन खेल हार्दा अमेरिकालाई मात्र पराजित गरेको थियो । जिम्बाब्वेसँग पहिलो खेलमै ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएर सुकर सिक्स आशा कायम राखेको थियो । तर वेष्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

    समूह बी मा खराब प्रदर्शन गर्दै शीर्ष तीनमा अटाउन असफल भएपछि आयरल्याण्डको पनि विश्वकप खेल्ने सपना समाप्त भयो र प्लेअफमा धकेलियो । जहाँ आयरल्याण्डले अमेरकालाई हराएर सातौं स्थानको प्लेअफका लागि स्थान बनाएको हो । आयरल्याण्डले आफ्नो समूहमा यूएईलाई मात्र हराउन सकेको थियो भने ओमान, स्कटल्याण्ड र श्रीलंकासँग पराजित भएको थियो ।

  • साफ च्याम्पियनसिपको उपाधीका लागि भारत र कुवेत भिड्दै

    साफ च्याम्पियनसिपको उपाधीका लागि भारत र कुवेत भिड्दै

    काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् । बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् ।

    यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो । जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए । कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो । यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र दर्शकको साथ पाएको भारत कीर्तिमानी नवौं पटक उपाधि उचाल्ने योजनामा छ ।

    भारत र कुवेत दुवै समूह ए मा थिए । समूह चरणमा यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । गोलअन्तरका आधारमा भारतलाई पछि पार्दै कुवेत समूह विजेता बनेको थियो । तर दुवै टोली सेमिफाइनल विजयी हुँदै फाइनल भेट पक्का गरे ।

    भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाउँदा कुवेतले बंगलादेशमाथि १–० को कठिन जित निकालेको थियो । भारत र कुवेत रहेकै समूहमा रहेको नेपाल भने दुई हार एक जितको नतिजासहित समूह्य चरणबाटै बाहिरिएको थियो । सन् २००५ मा कराची र २०११ मा दिल्लीमा खेलाडीका रुपमा साफ जितेका महेश गवलीले फेरि एकपटक भारतको टचलाइन सम्हाल्नेछन् ।

  • यूएईविरुद्ध नेपाल विजयी

    यूएईविरुद्ध नेपाल विजयी

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो ।

    १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् । ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे । यसअघि कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए ।

    अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने छ ।

    आइतबार बिहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएपछि नेपालले १८२ रनको लक्ष्य पाएको थियो ।

    नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त हुँदा ओपनिङ गरेका यूएईका आसिफ खान खाता नखोली आउट हुँदा अर्का ओपनर अर्यान्स शर्माले तेस्रो नम्बरमा आएका कप्तान भृत्य अरविन्दसँग मिलेर दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । आर्यन्सलाई सन्दीप लामिछानेले २८ रनको स्कोरमा आरिफ शेखबाट क्याचआउट गराए भने यूएईको इनिङ्समै सर्बाधिक ४४ रन बनाएर अरविन्द गुल्सन झाबाट बोल्ड भए ।

    त्यसपछि रमिज शहजाद १० रनमै आउट भए पनि रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटका लागि अर्को ५८ रनको साझेदारी गरे । मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे । सन्चित शर्माले १२ रन बनाए । बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८।५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

  • साफको फाइनलमा भारत र कुवेत भिड्ने

    साफको फाइनलमा भारत र कुवेत भिड्ने

    काठमाडौं । आठपल्टको च्याम्पियन भारत र कुवेतबीच साफ च्याम्पियनसिप २०२३ को फाइनल हुने भएको छ । डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो । त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो । फाइनल मंगलबार हुनेछ । भारत र कुवेत एउटै समूहमा थिए ।

    लिग चरणको खेल बराबरीमा टुंगिएको थियो । फाइनल पुग्नेक्रममा दुवै टिम अपराजित छन् । बेंग्लुरुस्थित कान्तिरभा स्टेडियममा भएको खेलमा भारत र लेबनानले निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरी खेले । टाइब्रेकरमा भारतीय गोलरक्षक गुरप्रित सिंहले सुरुमै लेबनानी कप्तान हसन माटुकको प्रहार जोगाए । लेबनानका खलिल बाडेरको प्रहार बाहिरिएको थियो । भारतको तर्फबाट भएका चारै प्रहार गोलमा परिणत भए ।

    भारतका लागि कप्तान सुनील क्षत्री, अनबर अली, महेश सिंह र उदान्त सिंहले गोल गरे । लेबनानका वालिद सोर र मोहम्मद साडेकको प्रहार मात्र गोलमा परिणत भयो । भारतले पछिल्लो महिना इन्टरकन्टिनेन्टल कपको फाइनलमा पनि लेबनानलाई हराएको थियो । यसअघि कुवेतले आफ्नो पहिलो सहभागितामै प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।

    टोलीको जितमा अब्दुल्लाह अलबुलोसी नायक रहे । कुवेतले बंगलादेशलाई अतिरिक्त समयको गोल मद्दतमा हराएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अलबुलोसीले अतिरिक्त समयको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

    पूरा खेल अवधिमा बंगलादेशले बलियो चुनौती पेस गरे पनि निर्णायक मोड आफ्नो पक्षमा पार्न असफल रह्यो । बंगलादेश १४ वर्षयता पहिलोपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको थियो । कुवेत भने साफमा आमन्त्रित दुई टिममध्ये एक हो ।

  • बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा

    बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा

    काठमाडौं । बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
    बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले पराजित गरेको हो । कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे ।

    निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा अलब्लाउसीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै कुवेत पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको हो । १४ वर्षपछि सेमिफाइनल खेलेको बंगलादेशको १८ वर्षपछि फाइनल पुग्ने सपना भने पूरा हुन सकेन ।

    बलियो कुवेतलाई १०५ मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि एकै गल्तीमा गोल खाँदा बंगलादेश पराजित भयो । कुवेतले अब फाइनलमा शनिबारै हुने भारत र लेबनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । भारत र लेबनाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

  • फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ ।

    यसअघि नेपाल १७४औं थियो । दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १००औं स्थानमा छ ।

    लेबनान १०२औं स्थानमा झरेको छ भने कुवेत १४१औं स्थानमा उक्लेको छ । यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

  • पाकिस्तानविरुद्ध नेपालको सान्त्वना जित

    पाकिस्तानविरुद्ध नेपालको सान्त्वना जित

    काठमाडौं । आशिष चौधरीको डेब्यू गोलको मद्दतमा नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १–० ले हराएको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सिध्याएको छ । बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।

    ४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्किएको छ ।

    नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन । सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

  • वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो

    वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो

    काठमाडौं । रोमाञ्चक खेलमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्सले सुपर ओभरमा वेस्टइन्डिजलाई हराएको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान बिक चम्किए । सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिएको थियो । लोगन भान बिकलाई पहिलो बलमा जोनसन चार्ल्सले छक्का प्रहार गरे । दोस्रो र तेस्रो बलमा उनले एक–एक रन दिए । चौथो बलमा चार्ल्स क्याच आउट भएपछि वेस्ट इन्डिजको जितको सम्भावना सकिएको थियो ।

    सुपर ओभरमा नेदरल्यान्ड्सले ३० रन बनाएको थियो । लोगन भान बिकले जेसन होल्डरको बलमा तीन छक्का र तीन चौकासहित कुल ३० रन जोडे । त्यसअघि जितको लागि ३ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ७४ रन बनायो । यो नेदरल्यान्ड्सले ओडीआईमा बनाएको सर्वाधिक रन हो । खेल बराबर भएपछि सुपर ओभरमा पुगेको थियो ।

  • भारत सङ्ग हार्यो नेपाल, साफमा समुह चरणबाटै बाहिरियो

    भारत सङ्ग हार्यो नेपाल, साफमा समुह चरणबाटै बाहिरियो

    काठमाडौं ।  भारतसँग २-० ले पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपाललाई पराजित गरेपछि भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बेंगलुरुमा भएको खेलमा भारतका लागि सुनिल क्षेत्रीले ६१ औं मिनेटमा गोल गरे भने ७० औं मिनेटमा नओरिम महेश सिंहले गोल गरे । अघिल्लो खेलमा नेपाल कुवेत ३-१ ले पराजित भएको थियो । अब नेपालले समूह चरणमा पाकिस्तानसँग खेल्न बाँकी छ ।

  • विश्वकप छनोटबाट बाहिरियो नेपाल, नेदरल्यान्डससङ्ग लज्जास्पद हार

    विश्वकप छनोटबाट बाहिरियो नेपाल, नेदरल्यान्डससङ्ग लज्जास्पद हार

    काठमाडौं । ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन गरेपछि  नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । यससँगै विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

    जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो ।

    टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा भुर्तेल आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । नेपालको स्कोर ९५ रन हुँदा महत्वपूर्ण ५ विकेट गुमिसकेको थियो ।

    त्यो बेलामा पनि दुई भरपर्दा ब्याट्सम्यान कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा थिए । उनीहरुले पनि नेपालको पारी सम्हाल्न सकेनन् । रोहित ३१.५ र ऐरी ३३.५ ओभरमा आउट भए ।

    नवौं नम्बरमा ब्याटि गर्न आएका सन्दीप लामिछानेले आठौं विकेटका लागि गुल्सन झासँग ३२ रनको साझेदारी गरे । तर बास डि लिडेले ४२ओं ओभरमा झासँगै करण केसीको विकेट लिए । अन्तिम विकेटका रुपमा आउट हुनुअघि लामिछानेले केही सट खेले, दुई बाउण्ड्री पनि हाने ।

    ४५औं ओभरको तेस्रो बलमा भान बेकले डी लिडेको हातबाट क्याच गराए ।  सन्दीप लामिछानेले रोहित (३३) पछि सर्वाधिक २७ रन बनाए । कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

    नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे ।

    १६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

    उसको सुरुवात निकै राम्रो रह्यो । पावर प्लेमा विना विकेटको क्षतिमा ५८ रन बनाएको नेदरल्याण्ड्सका म्याक्स ओ’डाउडले १२औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै अर्धशतक पूरा गरे ।

    १३औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाए । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारे, जतिबेला डच टिमको स्कोर ८६ रन थियो ।

    १५औं ओभरको पाँचौं बलमा सन्दीपले नै दोस्रो विकेट लिए । वेस्ली बर्रेसी ३ रनमा आउट भए । तर क्रिजमा टिकिरहेका म्याक्सले बास डी लिडेसँग मिलेर टिमलाई जिततर्फ डोर्‍याए ।

    बाससँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका म्याक्सवेललाई गुल्सन झाले २७औं ओभरको पहिलो बलमा बोल्ड गरे । ७५ बलको सामना गरेका उनले ८ चौका र चार छक्काको मदतमा ९० रन बनाए । बासले नयाँ ब्याट्सम्यान तेजा निदामानुसँग मिलेर नेदरल्याण्डलाई जित मात्र दिलाएनन्, सुपर सिक्समा पनि पुर्‍याए ।

    यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।
    अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।

  • नेपाल र भारत साफ फूटबलमा भिड्दै

    नेपाल र भारत साफ फूटबलमा भिड्दै

    काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो । यो खेल बैंगलोरको श्रीकांतिराव स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो । भारत साविक विजेता टोली हो ।

    भारतमा भैरहेको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न आज जित्नैपर्ने छ ।

    साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स छन् । कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी छन् । नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

  • विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र नेदरल्याण्ड्स भिड्दै

    विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२ः ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । यस अगाडीको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

    आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ । नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

    नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी छ । समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २र२ खेलबाट चाररचार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।

  • वेस्ट इण्डिजसँग नेपालको सम्मानजनक उपस्थिति, तर ठूलो हार

    वेस्ट इण्डिजसँग नेपालको सम्मानजनक उपस्थिति, तर ठूलो हार

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध नेपाल फराकिलो अन्तरले पारजित भएको छ । यद्दपी ब्याटमा पुरै पारी टिक्दै नेपालले शाहसिक प्रदर्शन भने गरेको छ । वेस्ट इण्डिज दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र टोली हो । नेपाल वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो ।

    जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । २८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

    ओपनर कुशल भुर्तेल ५ रनमा र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेख र कप्तान रोहित पौडेलले नेपाली इनिङस केही सम्हालिन खोजेका थिए । तर कुशल ३६ बल खेल्दै ३ चौका सहित २८ रनमा आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे । सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४।६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।

    नेपालको ८ विकेट गुमेपछि ब्याटिङमा आएका करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए पनि हारको अन्तर १०० भन्दा कम बनाउन सकेनन् । अन्तिम नम्बरमा ब्याटिङमा आएका ललित पहिलो बलमै डक आउट भए । सन्दीप लामिछानेले १ तथा कुशल मल्लले २ रन बनाए ।

    त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए । सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे । नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

    करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए । पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।

    १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे । त्यसपछि सुरु भयो वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनको ब्याटिङ । यी दुवैले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारीसमेत गरे ।

    ४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । ४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए । पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए । ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

    इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे । बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए । अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

    प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

  • वेष्टइन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

    वेष्टइन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्टइन्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।

    जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा निर्धारित ओभरमा वेष्टइन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन बनाएको हो ।

    वेष्टइन्डिजका दुई ब्याटरले नेपालविरुद्ध शतक पूरा गरे । कप्तान साइ होप र निकोलस पूरनले शतक पूरा गरेका हुन्। होपले ८१ बलमा शतक प्रहार गरेका हुन् भने होपले १०८ बलमा शतक हाने।

    त्यस्तै १४ बल खेलेका रोमन फोवेलले ३ चौका र एक छक्काको सहयोगमा २९ रन प्रहार गरे । जोसन होल्डरले १६ रन बनाए भने किमो पल १ रनमै आउट भए ।

    नेपालका लागि ललित राजवंशी सर्वाधिक ३ विकेट लिए भने करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी समान १–१ विकेट लिए ।

  • चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

    चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।

    त्रिवि नेविसंघ इकाइ कमिटी अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो।

    त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको अवस्थामा सरकारले यही आइतबार फिर्ता लिएको थियो।

    अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

    चलाउनेको तर्फबाट अधिवक्ता खतिवडालगायतले बहस गरेका थिए ।

  • नेपाली क्रिकेटका लागि आज ऐतिहासिक अवसर, पहिलो पटक वेष्ट इन्डिजको सामना गर्दै

    नेपाली क्रिकेटका लागि आज ऐतिहासिक अवसर, पहिलो पटक वेष्ट इन्डिजको सामना गर्दै

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन् ।

    समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

    त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

  • साफ च्याम्पियनसिप: उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

    साफ च्याम्पियनसिप: उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

    काठमाडौं । साविक उपविजेता नेपाल जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ ।

    भारतको बैङ्लुरुस्थित श्री कान्ताराभा स्टेडियममा भएको खेलमा कुवेतले पहिलो हाफमै दुई गोल गरेको थियो।

    दोस्रो हाफको सुरुवातमै पेनाल्टी मार्फत् कुवेतका महोम्मद अब्दुल्लाहले तेस्रो गोल गरेका थिए। नेपालका लागि दोस्रो हाफको ६८ औं मिनेटमा अञ्जन श्रेष्ठले एक गोल फर्काएका हुन्।

    कुवेतसँग नेपालबीच यसअघि ९ पटक प्रतिस्पर्धा भएको थियो। जसमध्ये ८ खेलमा कुवेत विजयी भएको थियो भने १ खेल बराबरीमा सकिएको थियो।

    पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा कुवेतले नेपाललाई ४-१ ले पराजित गरेको थियो।

  • साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

    साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

    काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आजबाट भारतमा सुरु हुँदैछ । बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार नेपालले बलियो टोली कुवेतको सामना गर्न लागेको हो । कुवेत प्रतियोगिताको पाहुना टोलीका रुपमा साफमा खेल्न लागेको हो ।

    पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हालेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको वास्तविक परीक्षा समेत आज हुँदैछ । ए डिभिजन लिग सकिएलगत्तै मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको नेपालले एक हार बेहोरेको थियो । ३८ वर्षीय इटालियन नागरिक भिनसेन्चो नेपालको प्रशिक्षक छन् ।

    मध्यपूर्वी राष्ट्र कुवेत पछिल्लो समय नेपालको लागि परिचित प्रतिद्वन्द्वी जस्तै बनिसकेको छ । २०१९ यता नै नेपालले कुवेतसँग पाँच खेल खेलिसकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कुवेतलाई हराएको छैन । नेपालले अहिलेसम्म कुवेतविरुद्ध ९ खेल खेल्दा एक खेल मात्र बराबरी गरेको छ भने ८ खेलमा पराजित भएको छ ।

    २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । त्यही नै अहिलेसम्मको राम्रो नतिजा हो । पछिल्लो पटक २०२२ मा भएको एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए । तर उनी अहिले अष्ट्रेलियामा छन् ।

  • विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित

    विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित

    काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।

    ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । अमेरिकाको सुरुवात निकै खराब थियो ।

    पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो । तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

    तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

    त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए । क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे ।

    ५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरे । अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् ।

    अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो । नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए । नेपालले समूह चरणको तेस्रो खेल बिहीबार बलियो टोली वेस्ट इण्डिजसँग खेल्दैछ ।

  • नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीप लगातार विकेटविहीन

    नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीप लगातार विकेटविहीन

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

    जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो।

    अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए।

    एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेटबिहिन बने। नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए।

  • विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै

    विश्वकप छनोट : आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग भिड्दै छ। खेल जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा दिउँस १२ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए। सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ।

    आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ। नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय खेल मध्ये नेपाल र अमेरिका दुई दुई खेलमा विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमरिकालाई पराजित गरेको थियो।

    त्यसपछि ओमानमा २०२१ मा भएको दुई मध्ये नेपाल र अमेरिकाले एक एक खेलमा जित निकालेका थिए। अमेरिकामा २०२२ मा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिदा अर्को खेलमा अमेरिका वियजी भएको थियो। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

    पाँच(पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन(तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

  • विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

    विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए । २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो ।

    उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले । कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए । यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए । वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए ।

    हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो । जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

    अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट रहे । समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

  • आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त

    आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त

    काठमाडौं । आजदेखि जिम्बाब्वेमा आईसीसी क्रिकेट विश्वकप छनोटको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो ।

    यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, त्यतिबेला नेपालको ओडीआई मान्यता नभएकोले उक्त खेलले पनि ओडीआई मान्यता पाएन । अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ । २०१८ मा ओडीआई मान्यता पाएपछि नेपालले ५१ ओडीआई खेलिसकेको छ र पाँच वर्षपछि फेरि जिम्बाब्वेमै विश्वकप छनोट खेल्दैछ ।

    यस पटक अझ ठूला टिमसँग खेल्ने अवसर पाएको नेपालका लागि यो राम्रो अनुभव पनि हुनेछ । नेपालले समूह चरणमा जिम्बाब्वेसहित पूर्वविश्व विजेता वेष्ट इन्डिजसँग पनि पहिलो पटक खेल्दैछ । यस्तै नेदरल्याण्ड्स र अमेरिकासँग पनि समूह चरणमा खेल्नेछ । नेपालले यस पटक सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ । नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

  • विश्वकप छनोट अघि नेपाल र ओमानबीच आज एकदिवसीय अभ्यास खेल

    विश्वकप छनोट अघि नेपाल र ओमानबीच आज एकदिवसीय अभ्यास खेल

    काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति हरारेमा भएको खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा पनि नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

    विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बाब्वेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

  • एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

    एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

    काठमाडौं । एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो । यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।

    प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा हङकङ, भारत र पाकिस्तानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

    थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।

  • मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

    मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

    काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ ।

    साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि नेपाली टोली साफ खेल खेल्न सिधै भारतको बेंग्लोर जाने छ । साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।