Category: खेलकुद

  • एक दिवसीय क्रिकेट वरियतामा नेपाल दुई स्थान माथि उक्लियो

    एक दिवसीय क्रिकेट वरियतामा नेपाल दुई स्थान माथि उक्लियो

    काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । आईसीसीको एकदिवसीय वरीयताअनुसार नेपाल १७ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १९ औँ स्थानमा थियो ।

    आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पछिल्लो आठ खेलमध्ये सात खेल जितेको नेपाल वरीयतामा दुई स्थान माथि उक्लिएको हो । नेपालभन्दा पछि अमेरिका, यूएई र पपुवा न्युगिनी ९पीएनजी० क्रमशः १८ औँ, १९ औँ र २० औँ स्थानमा रहेका छन् ।

    एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तान क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत् छ ।

  • स्पेशल अवार्ड तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबु आमालाई

    स्पेशल अवार्ड तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबु आमालाई

    काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ को स्पेसल अवार्डले ब्याडमिन्टका नङशलदेवी तामाङ, सरादेवी तामाङ र रत्नजित तामाङका बाबु आमालाई सम्मानित भएका छन् ।

    तीनै सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने दानबहादुर र मायादेवीलाई स्पेसल अवार्ड प्रदान गरिएको हो । उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य सचिव युवराज लामाले अवार्ड वितरण गरेका थिए ।

    भोजपुरका दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई छोरा छोरीलाई खेलाडी बनाएको र छोरा छोरीले पनि उत्कृष्ट प्रदर्शन गरेकै कारण उनीहरुलाई सम्मान गरिएको हो ।

    सम्मान ग्रहणपछि दानबहादुर तामाङले खेलाडीलाई माथि उठाउनका लागि सबैभन्दा माथि बाबु आमाको हात हुने उल्लेख गरे ।

  • पलेशा गोवर्धनलाई पारा एथ्लेटिक अवार्ड सम्मान

    पलेशा गोवर्धनलाई पारा एथ्लेटिक अवार्ड सम्मान

    काठमाडौं । वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा ओलम्पियन पारा खेलाडी पलेशा गोवर्धनले पारा एथ्लेटिक अवार्ड सम्मान अवार्ड प्राप्त गरेकी छिन् ।

    जापानमा भएको पारा ओलम्पिकमा दुई बाउट जित्दै पलेशा पदक नजिक पुगेकी थिइन् । त्यहाँ उनी झन्डै झन्डै पदकको नजिक पुगिसकेकी थिइन्।

    दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् । एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

    बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी हुन् । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

  • अमेरिकी रेस्लरमाथि भगवती हावी

    अमेरिकी रेस्लरमाथि भगवती हावी

    काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छिन् । भक्तपुरको सल्लाघारीमा सोमबार भएको भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् । होलीको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित निकाले ।

    रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले पाकिस्तानका अली खानलाई हराए । प्रतियोगितामा चार स्पर्धा समावेश गरिएको थियो। नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

  • यूएईमाथि नेपालको सानदार जित

    यूएईमाथि नेपालको सानदार जित

    काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको सानदार जित निकालेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनाएको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।

    सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए । तर ओपनर आसिफ खानले आर्यन लाक्रासँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । व्यक्तिगत ५० रनमा खेलिरहेका लाक्रालाई दीपेन्द्र सिंह ऐरीले एलबीडब्लू धरापमा पारे । तर आसिफले भृत्य अरभिन्दसँग २८ र सी रिजवानसँग २४ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाले ।

    ४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए । तर ४२औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे । उनले लगातार २ विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा आयो ।

    ४५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले जोहर खानको विकेट लिएपछि घरेलु टोली १८७ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३÷३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एकएक विकेट रह्यो । यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । नेपालको मध्यक्रमले सम्हालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनेको हो ।

    कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले ९१० ओभर० भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

    तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र लिग टूमा अहिलेसम्म ब्याटिङबाट राम्रो प्रदर्शन गर्न नसकिरहेका दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए । कुशलले ३२ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । १७।१ ओभरमा पाँचौं विकेट गुमाउँदा नेपालले ६८ रनमात्र बनाएको थियो ।

    भीम सार्की र सन्दीप लामिछानेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । जारी शृंखलाका अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेपछि उपल्लो क्रममा तानिएका सन्दीप लामिछाने २७ रन बनाएर आउट भए । त्यसपछि आएका आरिफ शेखसँग मिलेर भीमले सातौं विकेटका लागि पनि ५६ रनको अर्को साझेदारी गरे । करिअरकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाए । आरिफ ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे ।

    करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए ।

  • आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

    आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ ।

    लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेको छ। तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया होडमा छन् ।

    ३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँच वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज यूएईलाई पराजित गरेमा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउने अवसर बाँकी रहन्छ ।

    नेपालले बाँकी पाँचमध्ये तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ । यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ । यूएई ३१ खेलबाट ३१ अङ्कसहित पाँचौँ स्थानमा छ । समान खेलबाट नेपाल ३० अङ्कसहित छैटौँ स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छ ।

  • म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल

    म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल

    काठमाडौं । म्यानचेस्टर युनाइटेडको पोष्टमा लिभरपुलले ७ गोल हानेको छ । घरेलु मैदानमा म्यान यू ७–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा लिभरपुलले पहिलो हाफमा १–० को मात्र अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आधा दर्जन गोल गर्न सफल भयो ।
    लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे। पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएको तीन मिनेटपछि गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० मा पुर्‍याए।

    ६६ औं मिनेटमा सलाहले गोल गर्दै एकतर्फी अग्रतालाई ४–० मा पुर्‍याए। ७५ औं मिनेटमा नुनेजले अर्को गोल थप्दा त्यसको ८ मिनेटपछि सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ६–० मा पुर्‍याए। खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गर्दै लिभरपुलाई सानदार जित दिलाए। खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरे ।

    यो जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यो लज्जास्पद हारले युनाइटेडलाई दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौकासमेत गुमेको छ।

  • जेष्ठ नागरिक र अपांगता भएका नागरिकले ए-डिभिजन लिग निःशूल्क हेर्न पाउने

    जेष्ठ नागरिक र अपांगता भएका नागरिकले ए-डिभिजन लिग निःशूल्क हेर्न पाउने

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निःशुल्क हेर्न पाउने भएका छन् । खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निस्शुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

    फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । अन्य दर्शकले भने टिकटको मूल्य तिर्नुपर्छ । सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।

  • आइसीसी क्रिकेट विश्वकप लिग टू : नेपालको महत्वपूर्ण जित

    आइसीसी क्रिकेट विश्वकप लिग टू : नेपालको महत्वपूर्ण जित

    काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ । ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङमा नेपालको सुरुवात निकै खराब थियो ।

    इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । सातौं विकेटका रुपमा कुशल मल्ल २३ रनमा आउट भएपछि सन्दीप ब्याटिङमा आएका थिए । प्रशिक्षक मोन्टी देशाईले यूएईविरुद्ध आक्रामक ब्याटिङ गरेका सन्दीपलाई करण केसी र सोमपाल कामीभन्दा अगाडि पठाएका थिए । सन्दीपले क्रिजमा टिकेर खेलिरहेका आशिफलाई साथ मात्र दिएनन्, आक्रमक ब्याटिङलाई निरन्तरता दिए । दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे ।


    यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए । १३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए । सन्दीपले बनाएको ३५ रन करियरकै कुनै एक इनिङमा बनाएको सबभन्दा उच्च स्कोर हो । नेपालका अरु ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरी र भीम सार्की समान ८र८ रनमा आउट भए, ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १–१ रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए ।

    पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २–२ विकेट लिए । त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको थियो । उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे । नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २र२ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले आफ्नो नाममा एकएक विकेट लिए ।

    जितपछि नेपालले ३१ खेलबाट ३० अंकका साथ छैटौं स्थानमै छ । नेपालले अब युएईमा भइरहेको शृखंलामा एक खेल खेल्न बाँकी छ । नेपालले युएईसँग आगामी सोमबार खेल्नेछ । त्यसपछि युएई र पीएनजी सहितको अन्तिम शृंखला घरेलु मैदानमा खेल्नेछ । नेपालले लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन अब बाँकी पाँचवटै खेल जित्नुपर्नेछ ।

  • आसिफ शेखको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक

    आसिफ शेखको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको नेपालबाट ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

    युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय खेलमा पीएनजीले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा संघर्ष गरिरहेको नेपालबाट आसिफले कठिन अवस्थामा अर्धशतक बनाएका हुन् ।

    आसिफले ८८ बलमा एक छक्कासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक हो ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल र पीएनजी आज भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल र पीएनजी आज भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे खेल सुरु हुनेछ । नेपाल महत्वपूर्ण खेलमा बिहीबार युएईसँग ६८ रनले पराजित भएको थियो ।

    लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो ।


    लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । लिग टुको शीर्ष ३ मा रहँदौ विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । यदि नेपालले आज हारेमा विश्वकपको सपना सकिने छ ।

  • विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

    विश्वकप लिग टु: नेपाल यूएईसँग ६८ रनले पराजित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ६८ रनले पराजित भएको छ । २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १३९ रन जोड्दा अलआउट भएको हो ।

    नेपालका लागि कुशल मल्लले ६२, सन्दीप लामिछानेले अविजित २६ र आशिफ शेखले १७ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

    यूएई पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो। ​उसका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे।

    रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय पाली खेले भने आर्यन लाक्राले २८ रन बनाए। कप्तान सिपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रन बनाएर आउट भए।

    नेपालका लागि सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरे पनि नेपालले खेल जित्न सकेन। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। करण केसी, कुशल मल्ल र आरिफ शेखले १/१ विकेट लिए।

    नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो। विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ।

  • यूएईलाई हराउँदै नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

    यूएईलाई हराउँदै नेपाल यू–१९ क्रिकेट विश्वकपका लागि छनोट

    काठमाडौं । आईसीसी यू- १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ ।

    निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो ।

    दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

    नेपालका दीपेश कँडेलले अन्तिम ३ विकेट लिँदै ह्याट्रिक पूरा गरी अविस्मरणीय रुपमा नेपाललाई खेलमा फर्काउँदै विश्वकपमा पुर्‍याएका हुन् ।

    कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए ।

  • यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

    यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ ।

    ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो। यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए ।

    रोहन मुस्ताफाले अविजित ५२ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले सवैभन्दा बढी तीन विकेट लिए। दश ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन्।

    यसैगरी करण केसीले दुई विकेट, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए।

  • मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन

    मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन

    एजेन्सी । विश्वकप २०२२ को उपाधि जित्दा रहेका टिमका सहकर्मीहरुलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन आइफोन उपहार दिएका छन् ।

    सहकर्मी र स्टाफहरुलाई गरी ३० जनालाई आइफोन उपहार दिएको ‘दी सन’ले उल्लेख गरेको छ ।

    आइफोनमा जनु खेलाडीलाई दिएको उनको नाम र नम्बर सहित अर्जेन्टिनाको लोगो पनि राखिएको छ ।

    मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको उपाधि जितेको थियो । मेस्सी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

  • नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक

    नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, देव खनालको अर्धशतक

    काठमाडौं । नेपाली यू १९ क्रिकेट टोलीले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ।

    यूएईस्थित इडेन गाडेन ओभलमा सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १९२ रनको चुतौती प्रस्तुत गरेको हो।

    कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे।

    त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै बिना रन आउट भए। अजुर्न कुमालले १५ बलमा ३ रन बनाएर आउट भए।

    आकाश त्रिपाटीले १३ बलमा ९ रन बनाएर आउट हुन पुगे। त्यस्तै उत्तम रंगु थापा मगरले ४८ बलमा ३६ रन बनाएर आउट हुन पुगे। विशाल ब्रिकम केसीले ५० बलमा ३८ रन बनाएर आउट हुन पुगे।

    मिलन बोहोराले २१ बलमा १० रन बनाएर आउट भए भने शुबास भण्डारीले १० बलमा २ रन बनाएर आउट भए। त्यस्तै हेमन्त धामीले १३ बलमा १३ रन बनाएर आउट हुन पुगेका थिए।

    बलिङतर्फ यूएईका ध्रुव परासरले सर्वाधिक ३ विकेट लिँदा आयन अफ्जल खान र हरित हरिस सेट्टीले समान २ तथा हर्षित सेठ र अमर बदामीले समान १ विकेट लिए।

    नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।

  • यूएईमा आज सन्दीप मैदानमा उत्रने

    यूएईमा आज सन्दीप मैदानमा उत्रने

    काठमाडौं । सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् । उनी आजको खेलमा मैदानमा उत्रने भएका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनको स्थानमा सन्दीपलाई राखिएको बताइएको छ । अब नेपालले आज स्पीन बलिङमा जोड दिनेछ । अघिल्लो साता घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिइसकेका छन् ।

    उनी उच्च लयमा छन् । पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल रहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईको सामना गर्न लागेको हो । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु– आज यूएई र नेपाल भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा जारी शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईको सामना गर्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ। नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई हराएको हो ।

    यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले हारेको हो । नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । लिग टु को शीर्ष तीनमा पुग्ने टोलीले आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने अवसर पाउँछ ।

    हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल हुनेछ । नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्छ ।

  • इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम

    इटालियन प्रशिक्षकले सम्हाल्ने भए नेपाली राष्ट्रिय फूटबल टीम

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले निवेदन पेश गरेका थिए ।

    जसमध्येबाट पदपूर्ति समितिले २० जनाको नाम सर्टलिस्ट गरेको थियो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए । इन्डियन सुपर लिगमा उनी नर्थ इस्ट युनाइटेडको प्रशिक्षक थिए । त्यसअघि उनले आई लिगको गोकुलम केरलाको टिम हेरेका थिए ।

    यूईएफए प्रो लाइसेन्स प्राप्त कोच एनेसले भारतीय क्लब गोकुलम केरलालाई लगातार दुई पटक आई लिग जिताएका थिए । अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । यस्तै वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय गरिएको छ ।

  • लिग टु खेल्न यूएई उडे सन्दीप लामिछाने

    लिग टु खेल्न यूएई उडे सन्दीप लामिछाने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने आइसीसी क्रिकेट विश्वकप ‘लिग टू’मा सहभागिताका लागि बुधबार दिउँसो ३ बजे यूएई प्रस्थान गरेका छन् ।

    उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ ।

    उच्च अदालत पाटनले विदेश जान रोक लगाएका कारण सन्दीप टीमका अन्य सदस्यसँग यूएई जान पाएका थिएनन् । सर्वोच्चले विदेश जान पाउने आदेश दिएपछि उनलाई यूएई जान बाटो खुलेको हो ।

  • यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो

    यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो

    काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ ।

    मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् ।

    दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

    त्यसअघि युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको थियो।

    मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२-१२ रन जोडे। मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

    बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए।

    यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो ।

    यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । अन्तिम खेलमा आयोजक युएईलाई हराए नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्नेछ।

  • मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

    मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

    काठमाडौं । अर्जेन्टिनाका स्टार विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।

    मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

  • आईसीसी क्रिकेट विश्वकप लिग-टूमा नेपालको सानदार प्रदर्शन जारी, पीएनजीलाई सहजै हरायो

    आईसीसी क्रिकेट विश्वकप लिग-टूमा नेपालको सानदार प्रदर्शन जारी, पीएनजीलाई सहजै हरायो

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको सानदार प्रदर्शन जारी छ । सोमबार नेपालले लगातार पाँचौं जित निकाल्ने क्रममा पपुवा न्युगिनीलाई सहजै हरायो । खेल नेपालले ४ विकेटले जितेको हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग खेल्दैछ ।

    पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १–१ विकेट लिए ।

    त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६–३६ रन बनाए । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए ।

  • सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

    सन्दीप लामिछानेको मुद्दा फैसला अब फास्ट ट्रयाकबाट

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट फैसला गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ।

    सन्दीप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको भन्दै उक्त मुद्दाको फैसला फास्ट ट्रयाकबाट गर्नुपर्ने भन्दै आदेश दिएको हो। खेलाडीको क्रिकेट जीवनलाई समेत मध्यनजर गर्दै लगातार हेयरिङमा राखेर मुद्दाको छिटो फैसला गर्न सर्वोच्चले भनेको छ। योसँगै अब काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दा छिटो फैसला गर्नुपर्ने भएको छ।

  • सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

    सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र उपस्थित हुनुपर्ने सर्तसहित प्रतिबन्ध हटाइएको हो । यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।

  • सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर

    सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर

    काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

    न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन नपर्ने भन्दै उच्च अदालतले धरौटीमा छोडन दिएको आदेश सदर गरेको हो । उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई सशर्त २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशअनुसार धरौटी रकम बुझाएर पुस २९ गते लामिछाने थुनामुक्त भएका थिए।

    विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको थियो। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

  • सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

    सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न अनुमति दिएको छ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

    लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।

  • यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।

    हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आकाश त्रिपाठीले नटआउट ५८ रन र उत्तम थापा मगरले नटआउट ३९ रन जोडे। अर्जुन कुमाल १६ रनमा आउट भए।

    यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।

    नेपालले अब चौथो खेलमा फागुन १६ गते मलेसियासँग खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ।

  • मेसीको कीर्तिमान, पीएसजीको सहज जित

    मेसीको कीर्तिमान, पीएसजीको सहज जित

    काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गर्दै कीर्तिमान रचेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले दोस्रो स्थानको मार्सेलाई ३–० ले पराजित गर्दा मेसीले सो कीर्तिमान बनाएका हुन् । पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे । एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे ।

    एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान बराबरी गरे । यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ । मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने । मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् ।

    उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए । ३५ वर्षीय मेसीले बार्सिलोनामा ३५ उपाधि जितेका थिए भने कीर्तिमानी ७ पटक बालोन डे ओर अवार्डसमेत जितेका छन् । सोमबार हुने फिफा दी बेस्ट अवार्डमा समेत मेसी दाबेदारको रुपमा छन् ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र पीएनजी भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र पीएनजी भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

    घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।

    नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो । यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो ।

    गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो ।

    घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो । पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

    गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो ।

    घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो । पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

    नेपाल र पीएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृङ्खला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो ।