Author: Vishwanews.com

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २३ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४१२ पुगेको छ । यसअघि बुधबार २८, मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।

  • ‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’

    ‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मनको गरिब नभएको तर साधन स्रोतको भने सीमितता रहेको बताएका छन् ।

    उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएपनि धनको भने गरिब रहेकाले सोही अनुसार अपेक्षा राख्नुपर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले साधारण सभालाई सम्बोधन गर्दै केटाकेटीले अभिभावको गक्ष हेरेर सोही अनुसारको माग राख्नुपर्ने बताए । ‘सरकार व्यवसायीहरूलाई सहयोग गर्न तत्पर छ तर साधन स्रोतको भने सीमितता छ,’ प्रधानमन्त्रीले भने ।

    व्यवसायीहरूलाई सहयोग पुर्याउनु राज्यको रुची र छनोट भएको प्रधानमन्त्रीले बताए । सम्बोधनमा प्रभानमन्त्रीले कोभिड १९ पछि अर्थतन्त्रलाई गति दिनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले कार्यक्रममा व्यवसायीहरूलाई साधारण सभाले कोभिड १९ पछिको रणनीतिको बारेमा निष्कर्ष निकाल्न र सरकारलाई सहयोग गर्न आग्रह गरे ।

    यसैगरी कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई कृषिमा लाग्न मानिसहरूलाई प्रेरित गर्न, त्यसको औद्योगिकीकरण गर्न र मेशिनिकरण गर्न सहयोग पुग्ने रणनिती बनाउन आग्रह गरे ।

    प्रधानमन्त्री ओलीले सरकारलाई नवउदारवादको पक्षपोषक भएको, दलाल पूँजीवदी भएको जस्तो आरोप लगाइने गरेको समेत बताए । तर, त्यस्ता कुरा सुनेर सरकार व्यवसायीहरूको विरुद्धमा नलाग्ने र त्यस्ता हल्लाको पछि नलाग्न समेत उनले व्यवसायीहरूलाई आग्रह गरे ।

    ‘सरकारले उद्यमी र व्यवसायीहरू बीच भेदभाव गर्दैन । मेरो तेरो भन्दैन । राज्यलाई कर तिर्ने र रोजगारीको अवसर गर्ने सबै व्यवसायीहरूलाई सम्मान गर्छ,’ ओलीले भने ।

  • नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड

    नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड

    नेपाकाठमाडौं । सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

    बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो।

    कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

    २०१ कम्पनीको सेयर किनबेच भएको छ। यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो।

    यो परिसूचक कायम राख्न बिहीबार बैंकिङ समूहले महत्वपूर्ण भूमिका खेलेको छ ।

    नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरणका आधारमा बैंकिङ समूहको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । बैंकिङ समूहमा २६ वटा वाणिज्य बैंकको सेयर सूचिकृत छ ।

    कारोबारको सुरुमा व्यापार र सामूहिक लगानी कोष उपसूचकबाहेक अन्य सबै समूह बढेको र त्यसले नेप्से सूचकलाई उचालेको थियो ।

    तर, पछिल्ला कारोबारहरुमा बैंकिङ उपसूचक अन्य सूचकहरुको तुलनामा उच्च नै देखिएको छ भने कतिपय अन्य सूचकहरु ओरालो लागेका छन् । बैंकिङ समूह सूचक कारोबारको मध्यतिर ५२ अंकसम्मले बढे पनि केही समयपछि घट्दै ३८ अंकले बढेको छ ।

    सेयर बजार बढेसंगै कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    यो रकम हालसम्म कै सर्वाधिक हो । बिहीबा सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ ।

    नेपाल रिको प्रतिकित्ता १ हजार ३३९ मा ५८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल रिको लगातार सबैभन्दा बढी कारोबार हुँदै आएको छ ।

    दोस्रो बढी कारोबार नबिल बैंकको छ । नबिलको प्रतिकित्ता १ हजार १३० मा ३८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट लिमिटेडको १ हजार ११४ मा २८ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेपाल टेलिकमको १ हजार ८९ मा २८ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

  • भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित

    भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित

    तमिलनाडु । दक्षिण भारतमा शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीका विभिन्न स्थानमा भारी वर्षा र तीव्र गतिको हावासहित ‘निवार तुफान’ आएको छ ।

    समुन्द्री तटका १ हजार घरपरिवारबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको र जलसेनाका ४० भन्दा बढी उद्धार समुह तयारी अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । तुफानका कारण सडक अवरुद्ध भएके छ ।

    हवाई यातायात ठप्प छ । रुख ढल्दा भौतिक संरचनाहरुमा क्षति पुगेको छ । पछिल्लो केही घण्टायता भने तुफानको प्रभाव क्रमशः कमजोर बन्दै गएको बताइएको छ ।

    तुफानको प्रभाव चेन्नई र महाबलीपुरमसम्म देखिएको छ । तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

  • भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध

    भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध

    नयाँ दिल्ली । भारतले पछिल्ला दिनमा चिनियाँ एप्स धमाधम बन्द गराइरहेको छ । सोहीक्रममा थप ४३ वटा एप्समा प्रतिवन्ध लागेको छ । प्रतिवन्ध लाग्ने एप्सहरु अधिकांश चिनियाँ छन् । भारतीय सूचना प्रविधि मन्त्रालयका अनुसार प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको छ ।

    चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्स समेत यसै चरणमा प्रतिवन्ध लगाइएको छ । अलि एक्सप्रेस, क्याम कार्ड तथा ताओवाओ लाइभ समेत प्रतिबन्धमा परेका छन् ।

    भारत सरकारले यसअघि भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जीमा समेत प्रतिवन्ध लगाइसकेको छ । भारतमा यी दुई एप्सका प्रयोगकर्ता करोडौंको संख्यामा थिए ।

    भारत सरकारले चिनियाँ मोबाइल एप्सबाट भारतीय प्रयोगकर्ताका गोप्य विवरण चीन पुगिरहेको आरोप लगाउने गरेको छ ।

  • सरकारले कसैलाई एक्लो महशुस हुन दिन्न : प्रधानमन्त्री

    सरकारले कसैलाई एक्लो महशुस हुन दिन्न : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि व्यक्ति साहाराबिहिन भएर बाच्नु नपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसर पारी भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकारले कसैलाई पनि एक्लो महशुस हुन नदिने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘अनाथ वा सहाराविहीन भएँ भन्नु पर्दैन, उनीहरुको साथमा सरकार छ ।’ अनाथ वा सहाराविहीन हुनु दुखद पक्ष भएको भन्दै अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था नरहने उनले बताए ।

    प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा कार्यान्वयनमा आएको उल्लेख गर्दै समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको बताएका छन् ।

    सरकार सुशासन र विकास अभियानमा लम्किरहेको प्रधानमन्त्रीको दावि छ । नेपालमा ११ मंसिरलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाइन्छ ।

  • व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

    व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

    काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन् ।

    नेपाल र भारतबीचको सम्बन्धमा उचारचढाव आइरहेको समयमा भारतबाट लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन् । यसअघि गुप्तचर विभागका प्रमुख र सेनाप्रमुखबाट नेपालको भ्रमण भइसकेको छ । त्यसो त राजनीतिक स्तरबाट भन्दा बढी कर्मचारीस्तरबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।

    विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्रको भनाई छ । दुई दिन नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई आज भेट्ने कार्यक्रम तय भएको छ । परराष्ट्र सचिवसँग दुईपक्षीय विषयहरुमा वार्ता गर्ने कार्यक्रम समेत रहेको छ । उनी गोरखासमेत जाने कार्यक्रम रहेको छ ।

  • सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

    काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले स्विकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाको स्वीकृति दिएको हो । अब भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।

    सगरमाथाको उचाई साविकको तुलनामा केही वृद्धि भएको बताइएको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाको छ । सोहीकारण मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई पनि उचाईबारे भने जानकारी दिइएको छैन । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका दौरान संयुक्त रुपमा उचाई घोषणा गर्ने तयारी सरकारले गरेको हो ।


    सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोहीकारण सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ ।

    सर्वे अफ इण्डियाले सन् १९५४ मा नापेर उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ अहिले पनि मान्य रहेको छ ।

  • महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन

    महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन

    काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जन्टाइन फुटबल एशोसिएनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार उनको हर्टअट्याकका कारण निधन भएको हो ।

    अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको गत नोभेम्बरमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भएको थियो । त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी थियो ।

    उनी आफ्नो समयका महान खेलाडी मानिने उनी विश्वकप विजेता खेलाडी हुन् । माराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप उचालेको थियो ।

    त्यसपछि उनी विश्वकै उत्कृष्ट खेलाडी ठहरिए उनले जीवनकालमा बार्सिलोना र नेपोलीका लागि मात्रै खेलेका छन् । विश्वमा सबैभन्दा बढी फ्यान बट्ल्न सफल खेलाडीका रुपमा म्याराडोनाको परिचय जोडिएको छ ।

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित चार जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी र एक जना स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आजबाट प्रशिक्षण थाल्नु अगाडी उनीहरुको स्वाव संकलन गरिएको थियो । ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलमा संक्रमण पुष्टी भएको हो ।

    अर्का एक जना स्टाफमा समेत कोरोना पुष्टी भएको छ । खेलाडीमा कुनै लक्षण भने नभएको क्यान स्रोतले जानकारी दिएको छ । आगामी विभिन्न प्रतियोगिताहरुका लागि गत चैतयता पहिलो पटक नेपाली टोली मैदानमा प्रशिक्षणमा उत्रिने तयारीमा छ ।

  • व्यापार घाटा १५ प्रतिशतले घट्यो, आयातमा १२.७ प्रतिशतको कमी

    व्यापार घाटा १५ प्रतिशतले घट्यो, आयातमा १२.७ प्रतिशतको कमी

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा १५.१ प्रतिशतले कम भएको हो ।

    वस्तु व्यापार घटेर ले २६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२.० प्रतिशतले ह्रास आएको थियो ।

    तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई रु.३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ ।

    वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

    आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु आयात १२.७ प्रतिशतले घटेर रु.२९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो ।

    वस्तु आयात गरिनेमुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

  • काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना संक्रमणमुक्त

    नेपालमा थप १९४८ जनामा कोरोना पुष्टि, ३१४० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ रहेको छ । संक्रमित मध्ये दुई लाख ७ हजार ९९८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३८९ पुगेको छ ।

  • एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

    एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २८ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८९ पुगेको छ । यसअघि मंगलबार २४, सोमबार १६, आइतबार १६ जनाको मृत्यु भएको थियो।

  • अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरणको तयारी

    अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरणको तयारी

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ ।

    अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरुले बताएका छन् ।

    मंगलबार सार्वजनिक पछिल्लो तथ्याँकमा अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या २ लाख ६० हजार पुगिसकेको देखिएको छ भने १ करोड २५ लाख मानिस संक्रमित भएका छन् । चौबीस घण्टाको अवधिमा दुई हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

    अमेरिकी सरकारको “अपरेशन वार्प स्पीड” का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको ४ करोड डोज उपलब्ध भइसक्ने बताएका छन् ।

    त्यस तथ्याँकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।

    फाइजरको खोप निकै चिसो अर्थात माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ ।

    पर्नाले सबै अमेरिकी राज्यहरुलाई जनसंख्याका आधारमा समानुपातिक रुपमा खोप वितरण गरिने पनि जानकारी दिए । संघीय सरकारले कसलाई प्राथमिकता दिनु पर्ने भन्ने बारेमा सिफारिशहरू गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहनेछन् । एएफपी

  • नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक, परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली

    नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक, परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उत्साह छाएको छ । नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ । यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । नेप्सेले सोहि विन्दुमा पुग्न ७ अंक बाँकी रहेको छ ।

    नेप्सेका अनुसार बुधबार कूल १९६ वटा कम्पनीकाे एक कराेड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

    आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।

    कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्इ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

    बुधबार नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल १ दशमलव ०२ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहहरु बढेर हिरयो देखिएका छन् । सबैभन्दा धेरै व्यापार ७ दशमलव ९३ प्रतिशत अर्थात १ सय ७९ दशमलव ९९ अंकले बढेको छ ।

    यसैगरी बैंकिङ ४०.४ अंकले, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, फाइनान्स १५.२८, निर्जिबन जीवन बिमा ३१६.६९, उत्पादनमूलक ३००.३३, लघुवित्त १०६.८६ र जीवन बिमा १९०.४३ अंकले उकालो लागेको छ ।

  • रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ विशेषता

    रियलमी ७ र ७ आई सार्वजनिक, यस्तो छ विशेषता

    काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा दुइवटा नयाँ फोन सार्वजनिक गरेको छ । विश्वको सब भन्दा द्रुत वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड, रियलमीले युवा तीव्र तस्वीर खिच्न र छिटो चार्ज गर्न सक्षम गर्न आज रियलमी ७ र ७आई सार्वजनिक गरेको छ ।

    धेरै छिटो प्रदर्शन प्रदान गर्न, रियलमी ७ र ७आईमा ९० हर्ट्जको अल्ट्रा स्मूथ डिस्प्ले, डार्ट चार्जिंग, ५००० एमएएच ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर, र ६४ एमपी क्वाड क्यामेराले यसलाई अलराउन्डर बनाउँछ ।

    रियलमी ७

    सोनी ६४ एमपीको अल्ट्रा—वाइड क्वाड क्यामेरा : अधिक युवाहरूलाई फोटोग्राफीको मज्जा लिन मद्दतको लागि, रियलमीले सोनी ६४ एमपी वाइड—एंगल क्वाड क्यामेरा प्रयोग गरेको छ । ६४ एमपी प्राइमरी क्यामेरा सोनी आईएमएक्स ६८२, एफ/१.८ अपर्चर र १/१.७३ इन्चको उद्योग—अग्रणी आकारको साथ आउँदछ, र ६४ एमपी मोडको साथ ६९४४८९२४८ को उच्च रिजोलुसन फोटोहरू खिच्दछ ।

    अझ बढी, यसले स्टारी मोड, ट्राइपड मोड, पोट्र्रेट मोड, पनोरमा, आदिलाई पनि समर्थन गर्दछ । यसमा साइबरपंक, फ्लेमिंगो र आधुनिक गोल्ड सहित सबैभन्दा लोकप्रिय नाइट फिल्टरहरूको सेट पनि निर्मित छ, जसले विशिष्टताको नाइटस्केप फोटोहरू खिच्न सक्छ ।

    ८एमपी अल्ट्रा वाइड—एंगल लेन्स एक ११९डिग्री फिल्ड अफ भ्यू र एक एफ/२.३ अपर्चर को छ । ८सीएम समर्पित म्याक्रो लेन्सका साथ एफ/२.४ ठूलो अपर्चरले तपाईंलाई अल्ट्रा नजिकको वस्तुहरू शूट गर्न वा रचनात्मक माइक्रो—वल्र्ड फोटोग्राफीमा मद्दत गर्दछ । ब्ल्याक एण्ड ह्वाइट पोट्रेट लेन्स मुख्य लेन्सको लागि सहायक हुन सक्छ र तपाइँलाई केहि सृजनात्मक पोर्ट्रेटहरू खिच्न मद्दत गर्दछ ।

    ३० वाट्ट डार्ट चार्ज र ५००० एमएएच विशाल ब्याट्री

    ठूलो ब्याट्री क्षमताले कम ब्याट्रीको चिन्तालाई सजिलैसँग समाधान गर्न सक्छ । रियलमी ७ मा अल्ट्रा—लामो ब्याट्री जीवनको लागी एक ५००० एमएएच मेगा ब्याट्री छ । यसैबीच, रियलमी ७ मा ३० वाट्ट डार्ट चार्ज विशेषता छ जसले २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्दछ । रियलमी ७ को ३० वाट्ट डार्ट चार्जले सुरक्षा र दक्षता दुबैमा कम भोल्टेज र उच्च—वर्तमान समाधान अपनाउँछ ।

    प्रकृतिमा मिरर स्पेशबाट प्रेरित, रियलमी ७ ले एक शानदार मिरर डिजाइन प्रस्तुत गर्दछ । डिजाइनको बोल्ड विभाजनले नयाँ दृश्य प्रभाव ल्याएको छ, तर आश्चर्यजनक प्रकाश प्रभावको साथ, सन्तुलित प्राकृतिक सौन्दर्य प्रकट भएको छ । क्लासिक सीडी बनावटको साथ लोकप्रिय एजी प्रोसेसिंगले फोनलाई अधिक प्रिमियम बनाएको छ ।

    ९० हर्ट्ज स्क्रीन र शक्तिशाली प्रोसेसर

    खेलहरूको लागि शक्तिशाली हुन डिजाइन गरिएको, रियलमी ७ हेलियो जी९५ अपनाउने विश्वको पहिलो हो जसले अन्टुटुमा ३००,००० स्कोर प्राप्त गरेको छ । यसमा ६.५ इन्च एपएचडी प्लस अल्ट्रा स्मूथ डिस्प्लेका साथ पंच होल छ. र ९०.५ प्रतिशत उच्च स्क्रीन—टु—बडी अनुपात रहेको छ । जसले यसलाई आफ्ना साथीहरू बीचको खेलको लागि उत्तम छनोट बनाउँछ ।

    जानकारी सुरक्षाको लागी, उपकरणमा बोर्डर बटनको साथ फिंगरप्रिन्ट पहिचान एकीकृत गर्दै साइड—फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

    सोनी ६४ एमपी वाईड—एंगल क्वाड क्यामेरा स्मार्टफोनको साथ भित्र्याइएको पहिलो स्मार्टफोनमध्ये एकको रूपमा, रियलमी ७ले ३० वाट्ट डार्ट चार्जलाई ग्रहण गर्दछ, जसले यसलाई खेल्दा खेल्दै चार्ज गर्न सक्षम बनाउछ, ५००० एमएएच विशाल ब्याट्री जसले लामो ब्याट्री जीवन ल्याउँछ, ८—कोर प्रोसेसर जसले उत्कृष्ट प्रदर्शन गर्दछ र ९० हर्ट्ज अल्ट्रा स्मूथ डिस्प्ले छ, यसलाई “डयर टु लीप” ट्रेंडसेटिंग उत्पादन योग्य बनाउन जुन अधिकांश युवा उपभोक्ताहरूले छनौट गर्न योग्य छ, र प्रयोगकर्ताहरूमा व्यापक ताजा अनुभव ल्याउँदछ ।

    यसको मूल्य ३५ हजार ९९० रुपैयाँ रहेको छ ।

    रियलमी ७ आई

    स्न्यापड्रैगन ६६२ को साथ पावर मास्टर प्रोसेसर : रियलमी ७आईमा दैनिक उपयोगको लागि पर्याप्त शक्ति प्रदान गर्न स्नैपड्रैगन ६६२ छ । यो चिपसेट ११एनएम प्रक्रियाको प्रयोग गरी बनाईएको हो, त्यसैले यो अधिक शक्तिशाली र कुशल छ ।

    स्न्यापड्रैगन ६६२ सीपीयू र एड्रेनो ६१० जीपीयू मा त्र्रmायो २६० संरचनासंग सुसज्जित छ । एलपीडीडीआर४एक्स र यूएफएस २.१ को संयोजनको साथ, रियलमी ७आई ले ८जीबी+१२८जीबी आन्तरिक मेमोरीका साथ प्रयोगकर्ताहरूका लागि निर्बाध अनुभव प्रदान गर्दछ ।

    ६४ एमपी क्वाड क्यामेराको साथ पावर मास्टर क्यामेरा
    रियलमी ७आईमा नयाँ फ्लगशिप, अल्ट्रा—क्लियर क्वाड—क्यामेरा सेट—अप पनि छ जसले ८ एमपी ११९डिग्री अल्ट्रा—वाइड एंगल, ६४ एमपी मुख्य क्यामेरा, २एमपी पाट्र्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स समावेश गर्दछ । रियलमी ७आई पनि तीन सबैभन्दा लोकप्रिय नाइट फिल्टरहरूसँग आउँदछ, साइबरपंक, फ्लेमिंगो र आधुनिक गोल्ड, प्रयोगकर्ताले केवल एक ट्यापमा सजिलैसँग शहरको रात्रि दृश्य परिवर्तन गर्न र अधिक प्रभावशाली रातको फोटो सिर्जना गर्न सक्दछन् ।

    सोनी आईएमएक्स ४७१ को साथ १६एमपी अल्ट्रा स्पष्ट फ्रन्ट क्यामेराले एफ २.१.अपर्चर, ५पी लेन्स, स्मार्ट सौन्दर्य मोड समर्थन गर्दै बोकेह प्रभाव आदि संग प्रमाणित सेल्फी आवश्यकताहरु पूरा गर्दछ ।

    यो विभिन्न लिंग, विभिन्न छाला प्रकार, र विभिन्न अनुहारको आकारका लागि एक फरक सौन्दर्य एल्गोरिथ्मको साथ आउँछ र यी सुविधाहरूले प्रयोगकर्तालाई सजिलैसँग सेल्फी लिन अनुमति दिदैं प्राकृतिक र धेरै राम्रो छाला देखाउँदछ । रियलमी ७ आईको फ्रन्ट क्यामेराले एचडीआर र ईआईएस स्थिरीकरणलाई पनि समर्थन गर्दछ ।

    पावर मास्टर चार्जिंग र ब्याट्रीको साथ ५००० एमएएच प्लस १८वाट्ट द्रुत

    रियलमी ७ आई को नन स्टप प्रयोगको लागि विशाल ५००० एमएएच ब्याट्री छ । रियलमी ल्याब परीक्षणमा आधारित, रियलमी ७आई स्ट्यान्डबाई मोडमा ३४ दिनसम्म रहन सक्छ जुन केही अन्य फ्ल्यागशिपहरू भन्दा राम्रो छ । विशेष ओटीजी रिभर्स चार्जको साथ, रियलमी ७आई पनि ब्याट्री सेभर हुन सक्छ । रियलमी ७आई १८ वाट्ट क्विक चार्जले सुसज्जित छ, जुन ३० मिनेट ३३ प्रतिशत सम्म चार्ज हुन्छ ।

    ९० हर्ट्ज अल्ट्रा स्मूथ डिस्प्लेको साथ पावर मास्टर प्रदर्शन

    रियलमी ७आईमा ९० हर्ट्ज रिफ्रेश रेट र १२० हर्ट्ज स्याम्पिलिंग दरको साथ ६.५ इन्च १६०० ह७२० ९० हर्ट्ज अल्ट्रा स्मूथ डिस्प्ले छ, जसले परिणामस्वरूप स्क्रिनको हरेक स्वाइपको साथ निर्बाध र स्मुथ दृश्य अनुभव प्रदान गर्दछ । एक शानदार स्क्रीन—टु—बडी अनुपातको साथ, रियलमी ७आई ले तपाईंलाई सर्वोच्च दृश्य अनुभव दिन्छ । अझ राम्रो सुरक्षाको लागि डिस्प्ले कर्निंग गोरिल्ला ग्लास ३ द्वारा कभर गरिएको छ ।

    मिररद्वारा प्रेरित पावर मास्टर डिजाइन

    प्रकृतिमा मिरर चीजहरूबाट प्रेरित हुन, रियलमी ७आई ले शानदार मिरर डिजाइनहरू समावेश गर्दछ । रियलमी ७ आई श्रृंखलाको एक विकर्ण दिशामा एक प्रतिष्ठित विभाजन रेखा छ जसले रियलमी ७आई लाई दुई भागमा विभाजन गरेको छ ।

    शीर्षमा उच्च प्रकाश परावर्तन र तल म्याट बनावटले एक धेरै तीक्ष्ण कन्ट्रास्ट सिर्जना गर्दछ, तर समग्र संयोजन धेरै सामञ्जस्यपूर्ण र सन्तुलित छ र एक आकर्षक सौन्दर्य प्रभावको परिणामस्वरूप यो निकै प्रीमियम देखिन्छ । रियलमी ७आई दुई कलर विकल्पहरूमा उपलब्ध छ— अरोरा ग्रीन र पोलर ब्लू ।

    रियलमी ७आई ले प्रमुख प्रतिस्पर्धी विशेषताहरू ल्याएको छ, जस्तै ६४एमपी अल्ट्रा—स्पष्ट क्वाड क्यामेरा, ५००० एमएएच ठूलो ब्याट्री र ९० हट अल्ट्रा स्मूथ डिस्प्ले रहेको छ ।

    यसको मूल्य २९ हजार ९९० रुपैयाँ रहेको छ ।

  • ‘मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन, बिलकुल बेग्लै विश्वको सामना गर्दैछु’- बाइडेन

    ‘मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन, बिलकुल बेग्लै विश्वको सामना गर्दैछु’- बाइडेन

    अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफू सरकारको नेतृत्वमा आउनु पूर्वराष्ट्रपति बाराक ओबामाकै तेस्रो कार्यकाल नभएको बताएका छन्।

    राष्ट्रपति चुनाव जितेपछि पहिलोपटक एनसीबी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाइडेनले अहिले अमेरिकाका अवस्था पहिलेजस्तो नरहेको र एकदमै फरक परिस्थिति आफूले सामना गरिरहेको बताएका हुन्।


    उल्लेखनीय कुरा के छ भने ओबामा राष्ट्रपति भएका बेला बाइडेन उपराष्ट्रपति थिए। अहिले बाइडेनले आफ्नो नेतृत्वमा गठन हुने सरकारमा ती मानिसलाई सहभागी गराउँदैछन्, जो ओबामा सरकारमा सामेल भएका थिए।

    यसैकारण उनले ओबामाकै तेस्रो कार्यकाल निर्माण गरिरहेका हुन् त भन्ने चर्चा चल्न थालेको हो। ओबामा दुई कार्यकाल अर्थात् ८ वर्ष अमेरिकाको राष्ट्रपति बनेका थिए।

    ऋभलतगचथ mबकबबि घ
    अमेरिकामा एक व्यक्ति दुई कार्यकालसम्म मात्र राष्ट्रपति बन्न पाउँछ। यसैकारण ओबामा सरकारमा उपराष्ट्रपति रहेका बाइडेनलाई एनसीबी टेलिभिजनका पत्रकारले सोधेका हुन्– तपाईंको सरकार, ओबामाकै तेस्रो कार्यकाल हो तरु

    जवाफमा बाइडेनले भने( ‘यो ओबामाको तेस्रो कार्यकाल होइन, म ओबामा(बाइडेन प्रशासनभन्दा बिलकुल बेग्लै विश्वको सामना गर्दै छु। राष्ट्रपति ट्रम्पले पूरै परिदृश्य परिवर्तन गराइदिएका छन्। म अमेरिकालाई एकताको सूत्रमा बाँध्न चाहन्छु। मेरो सरकार समावेशी हुनेछ। हरेक वर्गको प्रतिनिधित्व हुनेछ।’ बीबीसी

  • न्युजिल्यान्डका ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित

    न्युजिल्यान्डका ग्रेग बार्कले आईसीसीको अध्यक्षमा निर्वाचित

    काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा न्युजिल्यान्डका ग्रेग बार्कले चयन भएका छन । उनी भारतका शशांक मनोहरको ठाउमा अध्यक्ष भएका हुन ।

    पहिलो चरणमा बहुमत नपुगेपछि दोस्रो चरणमा भएको निर्वाचनमा बार्कले इमरान खवाजालाई पराजित गर्दै आईसीसीको अध्यक्ष बनेका हुन्। पहिलो चरणमा बार्कलेले १० र इमरान खवाजाले ६ भोट पाएका थिए।

    शशांक यसअघि आईसीसीको अध्यक्ष थिए । अकल्यान्ड निवासी बार्कल पेशाले वकिल हुन । सन २०१२ देखी उनी न्युजिल्यान्ड क्रिकेटका निर्देशक रहेका छन । आईसीसी अध्यक्षको पदभार सम्हाल्दा उनले पुरानो पद छोडनुपर्ने हुन्छ ।

    बार्कले आईसीसी विश्वकप २०१५ का निर्देशक रहि सकेका छन । यसका साथै उनले नोर्दन जिल्ला क्रिकेट संघको बोर्ड सदस्य र अध्यक्षको जिम्मेबारी पनि बहन गरिसकेका छन । उनीसँग न्युजिल्यान्ड र अष्ट्रेलियाका कम्पनीहरुसँग काम गरेको अनुभव पनि रहेको छ ।

  • नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा

    नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको पहिलो नोट आजबाट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविककै आकार तथा रङमा १० रुपैयाको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याइएको छ । १० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। यो साविकमा समेत थियो ।

    गभर्नर भएपछि महाप्रसाद अधिकारीको पहिलो दस्तखतसहितको नोट अब जारमा आएको हो । नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्यभागमा कृष्णसारको चित्र रहेको छ ।

  • बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा

    बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा

    बुटवल । कुर्सिसँग राजधानी साटेको भन्दै बुटलवमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । बुटवलमा आज बिहान कांग्रेस, नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । उनी मंगलबार गृहजिल्ला पुगेका थिए ।

    त्यसक्रममा बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले अर्थमन्त्रीको पदका लागि पौडेलले प्रदेश राजधानी सार्न सहमति दिएको आरोप लगाएका छन् । अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित आयोजनाको स्थलगत अवलोकन गर्न तिनाउ नदी पुग्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

  • महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु

    महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु

    बर्दिबास । महोत्तरीमा सोमबार ६ वर्षिय बालिकाको हत्या भएको अवस्थामा शव फेला पर्यो । यस घटनापछि मंगलबार दिनभर महोत्तरीको बर्दिबास दिनभर तनावग्रस्त रह्यो । स्थानीयले हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहको घरमा आगजनी गरे ।

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाए । उक्त अवरोध हटाउने क्रममा प्रहरीले चलाएको गोली लागेर केही व्यक्ति घाइते भएका थिए । उनीहरुमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

    बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई उदृत गर्दै नेपाली संचरमाध्यमले लेखेका छन् । उनको दुवै तीघ्रामा गोली लागेको थियो । गम्भीर घाइते उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

    बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्या भएपछि स्थानीय आक्रोसित बनेका छन् । मंगलबार स्थानीयले टायर बाल्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा सडक अवरुद्ध गरेपछि प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको हो ।

    बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको हो । उनी आइतबार साँझबाट वेपत्ता थिइन् । बालिकाको आफुले हत्या गरेको शाहले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    मदिरा सेवन गरेका उनले परिवारलाई उक्त कुरा बताएका थिए । त्यसपछि परिवारले नै प्रहरीलाई खबर गरेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको आशंका छ । यद्दपी पोष्टमार्टम रिर्पोट नआएका कारण हत्याको कारण नखुलेको प्रहरीको भनाई छ ।

  • युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका

    युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका

    काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको छ । विभागको पूर्व श्रमस्वीकृति नलिई युवालाई कतार पठाउने भन्दै नेपाली युवासँग अन्तर्वार्ता लिएको सूचना विभागमा पुगेपछि टोली त्यहा पुगेको थियो ।

    विभागको टोली र प्रहरीमाथि म्यानपावरका व्यक्तिले हातपातको प्रयास समेत गरेका छन् । कम्पाउण्डमा अन्तर्वार्ता भएको भए पनि विभागको टोली पुगेपछि म्यानपावर सञ्चालक, कर्मचारीसहित त्यहाँ रहेकाविदेशी नागरिक भवननभित्र छिरेका थिए ।

    उक्त म्यानपावरमा नेपालका लागि कतारी दूतावासको गाडी समेत भेटिएका कारण दूतावासकै संलग्नतामा गैरकानूनी धन्दा भइरहेको आशंका गरिएको छ । भूतपूर्व तथा बहालावाला प्रहरी तथा सैनिकलाई कतारी पुलिसमा जागिर लगाइदिने भन्दै अन्तर्वार्ता लिइरहेको खुलेको छ ।

    म्यानपावर परिसरमा ४५ सीडी००९ नम्बरको विदेशी नियोगको गाडी रोकिएको थिया । यो कतारी दूतावासको गाडी हो । म्यानपावर संचालकले विभागको टोलीसमक्ष ढोका नखोलेपछि प्रहरी बोलाएर बलपूर्व ढोक खोल्न लगाइएको थियो । विभागले त्यसपछि सोधपुछ छालेको थियो ।

    म्यानपावर सञ्चालकले अन्तरवार्ता नलिइएको र पूर्वछनोटका लागि कतारी प्रहरी र गुप्तचर अधिकारी नेपाल आएको बताएका छन् । विभागका अनुसार अवैध रुपमा अन्तर्वार्ता लिएको सम्बन्धमा अनुसन्धान थालिएको छ ।

    यसअघि विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारी कागजपत्र जफत गरेको थियो । त्यहाँ ४ सयभन्दा बढी युवाबाट अवैध अन्तर्वार्ता लिएको खुलेको छ ।

    कानून अनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिएपछि तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

  • अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला

    अब जोखिम नभएका सबै मुलुकमा उडान अनुमति खुला

    काठमाडौं । सरकारले अब विदेशमा जोखिम विश्लेषण गरेर सबै मुलुकमा उडान अनुमति खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मंगलबार बसेको बैठकले जोखिम विश्लेषण गरी माग भएअनुसारका मुलुकमा उडान खोल्न पर्यटन मन्त्रालयलाई अनुमति दिएको छ । अहिले खाडी मुलुक र जापानमा उडान सूचारु भएको छ ।

    दक्षिण एसियाली मुलुकमा भने उडान खुला हुन सकेको छैन । यसले खासगरी भारततर्फ ठूलो आम्दानी गुमिरहेको छ । बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष समेत निकालेको छ ।

    यसका वावजुत तत्काल लकडाउनमै भने नजाने केन्द्रको भनाई छ । उक्त बैठकले अब काठमाडौंमा परीक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । दसैंतिहार लगायतका चाडपर्वका कारण काठमाडौंमा परीक्षण कम भएको थियो ।

    आवश्यक परेमा संक्रमित धेरै भेटिएका क्षेत्र शिल गर्ने, तर सिंगो काठमाडौं उपत्यकामा तत्काल निषेधाज्ञा जारी नगर्न केन्द्रले सहमति जनाएको छ ।

  • बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

    बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

    बैतडी । बैतडीमा जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो भारतको पिथौरागढमा पेन्सन बुझेर फर्केका यात्रु चढेको ना १ ज २१९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले उल्लेख गरेको छ ।

    दरशथ चन्द नगरपालिका १० बुड्डामा भएको दुर्घटनामा दशरथचन्द नगरपालिका ५ बसकोटका ७५ वर्षीय पार्वती चन्द , ७७ वर्षकी अर्की पार्वती चन्द , सुर्नया गाउँँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ जरगाउँका वर्ष ७७ का भगिरथ पाण्डे र दशरथचन्द नगरपालिका २ का कृष्ण लावडको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गाडी चालक तथा साहु दशरथचन्द नगरपालिका ४ का गोपाल कार्की समेत घाइते भएका छन् । उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । घाइते अन्य चार जनाको भने बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

  • नेपालमा कहिले आउँछ कोरोनाको खोप ?

    नेपालमा कहिले आउँछ कोरोनाको खोप ?

    काठमाडौं । विकसित मुलुकहरुले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । परीक्षणहरुसमेत सफल भइरहेको खबर सार्वजनिक भइरहेको छ । खासगरी अमेरिकाले आगामी डिसेम्बर ११ बाट खोप सर्वसाधारणको प्रयोगका लागि ल्याउने घोषणा गरेको छ ।

    उता, चीनले भने अघोषित रुपमै लाखौैं मानिसलाई कोरोना भाइरसको खोप दिइसकेको समेत खबर सार्वजनिक भएको छ । यस सन्दर्भमा नेपालजस्ता कम आयस्रोत भएका गरिब मुलुकमा खोप कहिले आइपुग्छ ? आम सर्वसाधारणको चासो यसमा छ ।

    यता, नेपाल सरकारले भने कोभिड विरूद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी गरिएको बताएको छ ।

    विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशमा सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भइरहेको जानकारी दिएका छन् ।

    स्वास्थ्य मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन नै संशोधन गरिएको उनले जानकारी दिए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको उनको भनाई छ ।

    सरकारी र निजी दुबै क्षेत्रबाट खोप आयातको ढोका खुला गरिएको उनले जानकारी दिए । केही समय अगाडी सरकारले अर्थसचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति समेत गठन गरेर खोप आयातको तयारी गर्न निर्देशन दिएको थियो ।

  • सुनको भाउ तोलामा १८ सयले घट्यो

    सुनको भाउ तोलामा १८ सयले घट्यो

    काठमाडौं । आज सुनको भाउमा उच्च गिरावट आएको छ ।एकैदिन तोलामा एक हजार ८ सय रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको हो ।

    सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेर कारोबार भएको हो । सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ ।

    चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको छ । सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

    खासगरी अमेरिकामा कोरोना भाइरसको खोप निर्माणको काम अन्तिम चरणमा पुगेका समाचार सार्वजनिक भएसँगै सुनको मूल्यमा गिरावट आउन थालेको हो ।

  • दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?

    दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?

    दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेनलाई पसिना आएको यो १८ औं पटक हो ।

    मंगलबार दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको जानकारी दिनुभयो । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

    यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।

    गत चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिनाअघि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।

    यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिनुभयो । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२\०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो ।

    त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ । मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दीर एकहप्ता पछि पुन बन्द गरिएको थियो । अहिले सर्वसाधारणका लागि बन्द रहेको छ । तर पसिना आउन थालेपछि चलन अनुसार मन्दीर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् ।

    पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।

  • चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा निर्यात बढ्यो

    चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा निर्यात बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको चार महिना (साउन देखि कात्तिकसम्म) मा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले कमी हो ।

    गत आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको थियो ।

    गत वर्षको यसै अवधिको तुलनामा निर्यात भने चालू वर्षमा १० प्रतिशतले वृद्धि भएको छ । चालू वर्षको १० महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको नेपाली सामान विदेशी बजारमा गएको छ । गत वर्ष ३६ अर्ब रुपैयाँको वस्तु गएको थियो ।

    साथै, व्यापार घाटा १२.४९ प्रतिशतले साँघुरिएको छ । गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले ब्यापार घाटा घटेको हो।

    कात्तिकमा मात्रै एक खर्ब १० अर्बको सामान आयात

    भन्सार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको छ । कात्तिकमा अघिल्लो महिनाको तुलनामा ३ अर्ब रुपैयाँले कमी आएको हो । कात्तिक महिनामा मात्रै १ खर्ब १० अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

    चार महिनामा वैदेशिक ब्यापार ४ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा बढी भएको थियो ।

    पछिल्लो समय सामान निर्यातमा केही सुधार हुन थालेपछि थोरै भएपनि व्यापार घाटामा संकुचन आएको छ । विभागको तथ्याँकअनुसार गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष आयात पनि घटेको छ। गत साउनदेखि कात्तिकसम्ममा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो ।

  • काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको गरिएको परीक्षणमा काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना कोरोना संक्रमित थपिएका छन्।