Author: Vishwanews.com

  • एकैदिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो

    एकैदिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २४ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३६१ पुगेको छ । यसअघि सोमबार १६, आइतबार १६, शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।

  • नेपालमा थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना संक्रमणमुक्त

    नेपालमा थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १७९० जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख २४ हजार ७८ रहेको छ । संक्रमित मध्ये दुई लाख ४ हजार ८५८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २७९१ जना कोरोनामुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।

  • नेप्से २९.६८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

    नेप्से २९.६८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) हरियाली छाएको छ । नेप्से आज २९ दशमलव ६८ अंकले बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा कायम भएको छ ।

    नेप्सेका अनुसार मंगलबार ५ अर्ब ४४ करोड २९ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको छ ।

    मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ३ सय ४९.३७ अंकमा पुगेको छ ।

    आज सबैभन्दा धेरै बोटल्स नेपालका शेयर धनीले कमाए । बोटल्स नेपालको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, हिमालयन डिस्टिलरीको ९.९८ प्रतिशत, विशाल बजार कम्पनीको ९.९५ प्रतिशतले बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

    सबैभन्दा धेरै गुमाउनेमा सोल्टी होटलका शेयर धनी छन् । सोल्टीको शेयर मूल्य ३.२० प्रतिशत घट्यो । त्यस्तै, सप्तकोशी विकास बैंकको ३.०७ प्रतिशत घट्यो

  • कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो ।

    सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए ।

    नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्रयाक ट्रेसिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ ।

  • एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री

    एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री

    काठमाडौं । अमेरिकाको आगामी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बन्ने भएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने भएका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उनले उपविदेश मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । ब्लिन्केन जनवरी २० पछि अमेरिकाको विदेशमन्त्री बन्ने भएका हुन् ।

    बाइडेन र ब्लिन्केन सम्बन्ध पछिल्लो २० वर्षदेखि कायम छ । राष्ट्रपति ओबामाको प्रशासनमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा उनले जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनी बिल क्लिन्टन राष्ट्रपति भएकै समयमा अमेरिकाको विदेश मन्त्रालयबाट उनले करियर थालेका थिए । एजेन्सी

  • पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

    पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

    इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ ।

    पाकिस्तानी संचारमाध्यमहरुका अनुसार सोमबार यस्तो घोषणा भएको हो । आगामी बिहीबारबाट बन्द हुने शैक्षिक संस्था आगामी जनवरी १० सम्म बन्द नै रहनेछन् । शैक्षिक संस्थामा लागेको प्रतिवन्धसँगै परीक्षा समेत स्थगित भएका छन् ।

    यसअघि कोरोना भाइरसलाई कुनै न कुनै रुपमा नियन्त्रणमा ल्याएका मध्यपूर्वी एसियाली र दक्षिण एसियाली मुलुकमा पुनः संक्रमणले गति लिन थालेको छ । इन्डोनेसियामा २४ घण्टामा ४ हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएको तथ्यांक आएको छ ।

  • चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ३० वर्षिय नवराज दनै र २२ वर्षिय सचिन दनैको ज्यान गएको छ । यो दुर्घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । सडक राति साढे ११ बजे प्रहरीले बल प्रयोग गरी खुलाएको थियो ।

  • लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

    लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि गत चैतयता नेपालमा कुनै पनि तहका परीक्षण संचालन हुन सकेका थिएनन् । तर, ८ महिनापछि पहिलो पटक कक्षा १२ को परीक्षा हलमै संचालन भएको छ । आजबाट परीक्षा प्रारम्भ भएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थीले परीक्षा दिँदैछन् । बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

    सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । एउटा कोठामा २० जनासम्म मात्र राखिएको छ । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने नियम छ ।


    सबैलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइन्छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था छ । परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गरिएको छ । परीक्षा मंसिर १६ मा सकिने छ ।

  • नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित

    नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्य सुधार, अब १० प्रतिशत मात्र सक्रिय संक्रमित

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणलाई जित्ने मानिसको संख्यामा व्यापक सुधार भएको छ । यसले संक्रमितको मनोवल उकास्न समेत सहयोग पुगेको छ । केही समय अघि करीव ७० प्रतिशत हाराहारी मात्र संक्रमित निको भएको तथ्यांक थियो । अब यो बढेर ९० प्रतिशत कटेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको तुलनामा निको हुनेको संख्या ९०.३४ प्रतिशत पुगेको छ । अब सक्रिय संक्रमित १० प्रतिशतभन्दा कम छन् । पछिल्लो केही दिन यता नयाँ थप हुनेको तुलनामा निको हुनेको संख्या दोब्बरले बढी रहेको छ ।

    मन्त्रालयका अनुसार देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिएको छ । यसमध्ये अब मात्र २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्।

    संक्रमित मध्ये एक हजार ३ सय २१ जनाको मृत्यु भइसकेको छ । विश्वमा संक्रमणमुक्त हुनेको दर ६९.२ प्रतिशत रहेकोमा नेपालबाट भने उत्साहजनक तथ्यांक आएको हो ।

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चालकको मृत्यु, यात्रुको अवस्था गम्भीर

    पोखरामा प्याराग्लाइडिङ दुर्घटना, चालकको मृत्यु, यात्रुको अवस्था गम्भीर

    काठमाडौं । पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको छ।

    मृत्यु हुनेमा पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपाली रहेका छन्। दुर्घटनामा प्याराग्लाइडिङ गर्ने यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छिन्।

    फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्याउने बितिकै नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए।

    श्रेष्ठको छाति र खुट्टामा चोट लागेकोले स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

  • सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रमपूर्ण सन्देश फैलाउँदै छन्- प्रधानमन्त्री

    सरकारको लोकप्रियता देखेर आत्तिएकाले भ्रमपूर्ण सन्देश फैलाउँदै छन्- प्रधानमन्त्री

    ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

    फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । “हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।

    अर्काे प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।

    उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।

    सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिने भएकी छिन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

  • काठमाडौं उपत्यकामा १००७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १००७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

  • थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

    थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३३७ पुगेको छ । यसअघि आइतबार १६, शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।

  • नेपालमा कोरोना थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त

    नेपालमा कोरोना थप १९८० जनामा कोरोना संक्रमण, ३०४३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९८० जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १९८० जनामा कोरोना संक्रमण देखिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

    गत २४ घण्टामा ३०४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको २ लाख २ हजार ६७ जना रहेको छ । हालसम्म संक्रिय संक्रिमतिको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

  • झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

    काठमाडौं । पछिल्लो दिनहरुमा निरन्तर उकालो लागेको सेयर बजारमा आज झिनो करेक्शन आएको छ । तिहार पछिका ३ कारोबार दिनमा मात्रै करिब ६५ अंकले बढेको बजारमा आज दुई अंकको करेक्शन आएको हो ।

    सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । आइतबार इतिहासकै सर्वाधिक ६ अर्ब ९० करोड कारोबार भएकोमा आज २ अर्ब १५ करोडले गिरावट अनएको छ ।

    पछिल्लो समय अस्वभाविक रुपले बढेको बजारमा प्रफिट बुक गर्ने हावी हुँदा कारोबारमा ह्वात्तै गिरावट आएको आँकलन गरिएको छ । यद्यपि आज पनि कारोबार रकम भने उत्सािहजनक नै रहेको छ

    सेयर बजार मापक सूचक नेप्से २.३८ अंकले घटेर १७८०.४३ विन्दुमा पुगेको छ । यसदिन १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १३३.५८ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १८२.४० अंकले घटेको छ ।

    आज लगानीकर्ता नेपाल बैंकको कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३० करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज कारोबार भएका कुल १९९ कम्पनी मध्ये ५५ कम्पनीको मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ । २३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    घट्दो बजारमा आज जलविद्युत् कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    आज एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.५३ प्रतिशतले गुमाएका छन् ।

  • अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

    अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

    काठमाडौं । अमेरिकाका डिसेम्बर दोस्रो साताबाट सर्वसाधारणले खोप प्राप्त गर्ने सम्भावना बढेको सरकारी अधिकारीले बताएका छन् । आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी भइरहेको अधिकारीहरुको भनाई छ ।

    अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँगको कुराकानीमा डिसेम्बर ११ बाट सर्वसाधारणका लागि खोप उपलब्ध हुन सक्ने बताएका हुन् । त्यसको तयारी तिब्र गतिमा भइरहेको उनले जानकारी दिएका छन् ।

    उनका अनुसार अमेरिकी सरकारबाट खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकस्तरमा खोप उपलब्ध हुनेछ । त्यसकै तयारीमा आफुहरु लागेको उनको भनाई छ । यसले ठूलो संख्यामा मानव जीवनको रक्षा गर्ने अपेक्षा गरिएको छ ।

    अमेरिकामा फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले खोप निर्माण गरेका हन् । यी कम्पनीले खोपलाई आकस्मिक अनुमति माग गर्दै शुक्रवार आवेदन समेत दिइसकेका छन् । अमेरिकाकै अर्को कम्पनी मोडेर्नाले समेत यहाँ खोप निर्माण गरेको छ ।

    अमेरिका संसारमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो । उनका अनुसार अमेरिकामा राज्यको जनसङ्ख्याको अनुपातमा खोप वितरण हुनेछ । प्रारम्भिक चरणमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्य आफैले गर्नेछन् ।

    उनका अनुसार स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धा तथा बढी जोखिममा रहेका समूहका मानिसलाई पहिलो चरणमा खोप दिइने भएको छ । अमेरिकामा एक करोड २५ लाखभन्दा धेरै मानिसमा सङ्क्रण भइसकेको छ ।

    यहाँ २ लाख ६२ हजार मानिसले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले खोप निर्माण गरेका हन् । यी कम्पनीले खोपलाई आकस्मिक अनुमति माग गर्दै शुक्रवार आवेदन समेत दिइसकेका छन् । अमेरिकाकै अर्को कम्पनी मोडेर्नाले समेत यहाँ खोप निर्माण गरेको छ । एजेन्सी

  • आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

    आज ताप्लेजुंग र इलाम जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको भ्रमणमा निस्कदैछन् । सीमा निरीक्षणका लागि भन्दै उनी इलाम जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी इलामको जौबारी डाँडामा पुग्नेछन् ।

    त्यहाँको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । उनले सिमा निरक्षणसंगै जौबारीमा स्थापित बोर्डर आउट पोष्ट समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी संखुवासभा पुगेर सीमा सुरक्षा पोष्टको उद्घाटन गरेका थिए । प्रधानमन्त्री इलाम जानुअघि काठमाडौंबाट ताप्लेजुंग पुग्ने भएका छन् ।

  • विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

    विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

    काठमाडौं । अब विदेश जाने यात्रुले ए-लेभल मान्यता प्राप्त प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । नेपालमा परीक्षण गरेर नेगेटिभ रिर्पोट बोकेर विदेश जाने यात्रुमा पुनः परीक्षणका दौरान कोरोना संक्रमण पुष्टी भएपछि सरकारले प्रयोगशालामा कडाई गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब विदेश जानेहरूको हकमा पिसिआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गराउन निर्देशन दिइएको छ । परीक्षण गरेपछि प्रयोगशालाहरूले त्यसको जानकारी स्वास्थ्य, पराराष्ट्र, पर्यटन मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलाई समेत गराउनु पर्ने भएको छ ।

    मन्त्रालयका अनुसार अहिले देशभर ७८ वटा प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण हुन्छ । यसमध्ये ३४ वटा प्रयोगशालाले लेभल ए मान्यता पाएका छन् । विदेश जाने सबै यात्रुले ३४ वटा प्रयोगशालामा मात्र परीक्षण गराउनु पर्ने छ । यी अधिकांश प्रयोगशाला सरकारी हुन् ।

  • मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान

    मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान

    काठमाडौं । मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा संचालनको तयारी पुरा भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक विद्यार्थीलाई कक्षा कोठामै बोलाएर परीक्षा संचालनको तयारी भएको छ ।

    यसै सन्दर्भमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थीलाई कोरोना विरुद्धका स्वास्थ्य मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन आह्वान गरेका छन् । मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा समेत आवश्यक सचेतना अपनाउन अनुरोध गरेका हुन् ।

    सही ढंगले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य काममा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएको भन्दै उनले मापदण्ड पालनाको आग्रह गरेका हुन् ।

    परीक्षा केन्द्रमा समेत भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् ।

    यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने प्रावधान ल्याइएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुँदैछ ।

    बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्नेछन् ।

  • सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने

    सरकारी हाकिमले निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन अनुमति लिनुपर्ने

    काठमाडौं । अब सरकारी हाकिमले निजी स्तरमा ट्युसन पढाउन अनुमति लिनु पर्ने भएको छ । लोक सेवा आयोगले लिने परीक्षाको ट्युसन पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने नीति ल्याइएको हो ।

    राजपत्रांकित प्रथम श्रेणी वा सहसचिवदेखि माथिका कर्मचारीहरुले मन्त्रिपरिषदबाट र त्यसदेखि तल्लो तहका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिएर मात्र निजी संस्थामा ट्युसन पढाउन पाउने निर्णय मन्त्रालयले गरेको हो ।

    निजी इन्ष्टिच्युटमा ट्युसन पढाउन मन्त्रालयको अनुमति लिनुपर्ने नियम यसअघि पनि थियो । तर, यसको कार्यान्वयन कसैले पनि गरेको थिएन । मन्त्रालयका अनुसार यो निर्णय समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका कर्मचारीहरुमा पनि लागु हुनेछ ।

    भौतिक रुपमा उपस्थित भएर वा अनलाइन दुवै माध्यमबाट अनुमति बेगर निजी इन्ष्टिच्युटहरुमा पढाउन अब नपाइने नियमन बनेको छ ।
    तालिम तथा प्रशिक्षण सञ्चालनका लागि नेपाल सरकारकै स्टाफ कलेज, स्थानीय विकास प्रशिक्षण केन्द्र, राजश्व प्रशासन तालिम केन्द्र, न्याय प्रशिक्षण तालिम केन्द्र लगायत छन् ।

    ती केन्द्रहरुमा गएर कर्मचारीहरुले पढाउन सक्ने प्रावधान छ । तर चर्को मूल्य पाइने भएकाले सरकारी कर्मचारीको आकर्षण निजीमा छ । मन्त्रालयले यसअघि इन्सटिच्युटहरुमा पढाउने अनुमति पाएकाहरुको अनुमति पत्र आइतबार नै रद्द गरेको छ ।

    अब नयाँ अनुमति लिनु पर्नेछ । ट्युसन पढाउन कर्मचारीले बिदा माग्ने गरेको पाइएकाले कर्मचारीको निगरानी गर्ने निर्णय समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ । मन्त्रालयको निर्णय विपरीत कुनै कर्मचारीले निजी इन्ष्टिच्युटमा पढाएको पाइएमा कारबाही हुनेछ ।

  • विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

    विदेशबाट नेपाल आउने सबैले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । अब विदेशबाट नेपाल आउने सबै व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा यस्तो प्रस्ताव पठाएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको छ । क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने छ ।

    त्यसो त विदेशबाट नेपाल आउने नेपालीले पिसिआर रिर्पोट नेगेटिभ देखाएपछि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान अहिले पनि छ । तर, कार्यान्वयन भएको छैन । पर्यटकलाई ७ दिन होटेल क्वारेन्टिनमा राखेर आफ्नै खर्चमा पिसिआर परीक्षण गरेपछि मात्र घुमफिरको अनुमति दिइन्छ ।

    अब भने पर्यटक, गैरआवासीय नेपाली र नेपाली नागरिकले समेत अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने गरी मन्त्रालयले प्रस्ताव गरेको छ ।

    पछिल्लो समय यूरोप र अमेरिकामा बढ्दो संक्रमणलाई लक्षित गरी सरकारले विदेशबाट आउनेमाथि कडाइ गर्न लागेको हो । नेपालमा भने केही दिनयता संक्रमण तुलनात्मक रुपमा कम देखिएको छ । निको हुनेको संख्या उल्लेख्य बढेको छ ।

  • अमेरिकी सेनामा कार्यरत गोरखाका श्रेष्ठको कार दुर्घटनामा निधन

    अमेरिकी सेनामा कार्यरत गोरखाका श्रेष्ठको कार दुर्घटनामा निधन

    काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका सुरेश श्रेष्ठको कार दुर्घटनामा परी ज्यान गएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी उनको ज्यान गएको हो ।

    श्रेष्ठ गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका हुन् । २३ वर्षिय श्रेष्ठको टाउको र शरीरको भित्री भागमा चोट लागेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । उनको अस्पतालमा उपचारका सिलसिलामा निधन भएको हो । उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको बताइएको छ ।

    सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । उनी ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका थिए । तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनका बाबु, आमा, हजुरआमा, दिदी र भाइ भने नेपालमै छन् ।

  • कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग

    कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुटुक्क भेटेपछि राजनीतिक वृत्तमा तरंग शुरु भएको छ । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मात्र नभई कांग्रेस भित्र समेत विवाद निम्त्याएको छ ।

    नेकपा भित्र विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार कांग्रेसका अन्य नेता सभापतिबाट तत्काल प्रधानमन्त्रीसँग भेट गर्न नहुने पक्षमा थिए ।

    किनकी प्रधानमन्त्रीले भने पछिल्लो एक साता देउवासँग भेट्न चाहिरहेका थिए । भेटपछि प्रधानमन्त्रीले देउवालाई सत्ता साझेदारीको लोभ देखाएको खबर सार्वजनिक भएको छ । यसले अझ यो भेट विवादित बन्न पुगेको हो । देउवाका साथमा केन्द्रीय सदस्य रमेश लेखक समेत सहभागी थिए ।

    नेकपा अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव बहुमतबाट पास हुने अवस्थामा आफु प्रधानमन्त्रीबाट हट्ने जोखिम रहेको भन्दै ओलीले त्यस अवस्थामा कांग्रेसले साथ दिनु पर्ने प्रस्ताव राखेको बताइएको छ ।

    उता, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपा विवादमा कांग्रेस निरपेक्ष रहने बताएका छन् । कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको भन्दै पार्टी कुनै पनि भड्कावबाट टाढा रहने उनले उल्लेख गरेका छन् ।

  • काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको हो ।

  • थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२१ पुग्यो

    थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३२१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । यसअघि शनिवार ७ जना, शुक्रबार २२ जना र बिहिबार १७ जनाको मृत्यु भएको थियो।

  • नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

    नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६९ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ३२ नमुना परीक्षण गर्दा १६६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

    गत २४ घण्टामा ५६९९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको १ लाख ९९ हजार २४ जना रहेको छ । हालसम्म संक्रिय संक्रिमतिको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

  • सेयर बजारमा फेरि नयाँ ऐतिहासिक रेकर्ड,एकैदिन झन्डै ७ अर्बको कारोबार

    सेयर बजारमा फेरि नयाँ ऐतिहासिक रेकर्ड,एकैदिन झन्डै ७ अर्बको कारोबार

    काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजारले फेरि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । एकै दिनमा करिब पौने ७ अर्ब रुपैयाँ बढीको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । गत बिहीबार मात्रै नयाँ रेकर्ड राख्दै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७० रुपैयाँ कारोबार भएको थियो ।

    पछिल्लो ८ कारोबार दिनमै बजार सूचक करिब १६३ अंकले बढेको छ । दिनभर तीव्र उतरचडाव देखिएको बजार अन्त्यमा करिब ५ अंकले बढेर बन्द भएको हो ।

    बैंकिङ प्रणालीमा अधिक तरलता भई ब्याजदर सस्तो हुँदा सेयर बजारले दिनदिनै नयाँ उचाइ लिँदै गएको जानकारहरु बताउँछन् ।

    साथै पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री हुँदै जानु, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच पहिलो त्रैमासको आकर्षक रिपोर्ट सार्वजनिक गर्नु, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले गर्दा पनि बजारले नयाँ उचाई चुमेको हो ।

    सेयर बजार मापक सूचक नेप्से ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१४ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ, बिकास बैंक र अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै २९.४४ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै २७८.८१ अंकले घटेको छ ।

    आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५७ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये ७२ कम्पनीको मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटिजन्स् म्युचुअल फण्ड र गोर्खा फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    आज माउन्टेन हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.९३ प्रतिशतले गुमाएका छन् ।

  • मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

    मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर

    काठमाडौं । कोरोना भाइरसको निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरू गरेको छ।

    महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन सुरू गरेको हो।

    चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत् स्वाब संलकनको काम सुरू भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए।

    सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गरे।

    कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहेनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए।

    उनले स्थानीय स्तरबाट नै कोरोना महामारीविरूद्ध लड्न सहयोग गर्नुपर्ने बताए।

    काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यले आग्रह गरे।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ।सोही मोबाइल भ्यानबाट स्वाब संकलन गरिने उनले बताए।

  • बलात्कारमा सजाय बढ्यो, घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद

    बलात्कारमा सजाय बढ्यो, घटना मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद

    काठमाडौं । बलात्कारविरुद्ध मृत्युदण्डको आवाज उठिरेहका बेला बलात्कारमा संलग्न दोषीमाथि हुने सजाय बढेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई कानूनको दायरामा ल्याउने गरी अध्यादेश ल्याएको हो ।

    नेपाल ऐन संशोधन अध्यादेशमार्फत् ल्याउँदै सरकारले बलात्कारका घटनामा मिलापत्र गराएमा दण्डको व्यवस्था गरेको हो।

    यो अध्यादेश जारी भएसँगै मिलापत्र गराएको पाइएमा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।

    मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक पद धारण गरेको व्यक्ति भए थप ६ महिना कैदको व्यवस्था गरिएको छ। राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ ।

    अपराध संहिता २०७४ को दफा २२५ मा संशोधन भएको हो। यस दफामा मिलापत्र गराउने विषय यसअघि उल्लेख छैन। अध्यादेश अनुसार मिलापत्र गराउने, त्यसका लागि उत्साहित गर्ने अथवा दवाव दिने पनि कारवाहीको भागिदार हुनेछन्। बलात्कारका घटना लेनदेन अथवा गैर लेनदेनकै आधारमा मिलापत्र गराएको भेटिए पनि कारवाही हुने भएको छ।

    अब बलात्कारको घटनामा उमेर समूह परिवर्तन गरिएको छ। जस अनुसार १४ देखि १६ वर्ष उमेरका किशोरी बलात्कार गर्नेलाई १६ वर्ष कैद हुने भएको छ।

    त्यसैगरी १६ देखि १८ वर्षकी किशोरी बलात्कार गर्नेलाई १४ वर्ष कैदको व्यवस्था गरिएको छ। १८ वर्षदेखि माथिकालाई बलात्कार गर्नेलाई १२ वर्ष कैद तोकिएको छ। यसअघि यी उमेर समूहमा क्रमश १२, १० र ७ वर्ष कैदको व्यवस्था थियो।

    पछिल्लो समय बलात्कारका घटनामा जनप्रतिनिधि तथा पञ्च, गुठियारहरुले नै मिलापत्र गराउँदै आएको खबर सार्वजनिक भएका थिए। मिलापत्रले पीडितले न्याय पाउने अवस्था साँघुरिएको भन्दै चर्को विरोध भएको थियो।

  • कोरोना रोक्न क्यालिफोर्नियामा कर्फ्यु

    कोरोना रोक्न क्यालिफोर्नियामा कर्फ्यु

    क्यालिफोर्निया । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गए रातिदेखि कर्फ्यु लागू भएको हो ।

    बीबीसीका अनुसार स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म मानिसहरुको हिडडुलमा रोक लागेको छ । कर्फ्यु डिसेम्बर २१ सम्म घोषणा गरिएको हो । परिस्थिति हेरेर थप निर्णयहरु हुने प्रशासनले जनाएको छ ।

    गत अगस्टपछि अमेरिकाको पश्चिमी राज्यमा अहिले संक्रमणको दर तिब्र बनेको छ । विगतको तुलनामा संक्रमण अझ खतरनाक अवस्थामा रहेको बताइएको छ । अमेरिकामा शनिबार मात्र एकै दिन २ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।

    यो गत मे पछिकै सबैभन्दा धेरै हो । अमेरिका विश्वमै कोरोनाबाट सर्वाधिक प्रभावित देश हो । यहाँ एक करोड २० लाख मानिसमा संक्रमण भइसकेको छ । दुई लाख ५५ हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् ।