Author: Vishwanews.com

  • नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने

    नुवाकोट काँग्रेसका शिर्षस्त नेताहरु सहित “नुवाकोट-अमेरिका जनसम्पर्क समिति” को घोषणा सभा हुने

    न्युयोर्क

    नेपाली काँग्रेसको सहगोत्रीय सँस्था ‘नुवाकोट अमेरिका जनसम्पर्क समिति’ अमेरिकाको घोषणा-सभा यही डिसेम्बर ६ तारिख आइतबार हुने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको प्रमुख आतिथ्यमा हुने सभा कोरोना महामारीको कारण जुम मार्फत भर्चुअल्ली हुने सदस्य सचिव विज्ञान खनालले बताएका छन् ।


    सभामा नेपाली कांग्रेसका नेताहरू क्रमश; अर्जुन नरसिंह केसी, डा. रामशरण महत, केंद्रीय सदस्य तथा सभासद बहादुर सिंह लामा तथा नेपाली कांग्रेस नुवाकोट जिल्ला पार्टी सभापति जगदीश्वर नरसिंह केसी लगायत जिल्लाका बिभिन्न तहका नेतागणहरूको उपस्थिति हुने जनाएका छन् ।

    कार्यक्रमको सञ्चालन छनौट समितिले गर्ने छन् भने सभामा नै नुवाकोट अमेरिका जनसम्पर्क समितिको आधिकारिक घोषणा समेत हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण विभिन्न विद्युतीय संचार माध्यायम मार्फत हुने जनाइएको छ ।

    कार्यक्रमको मिति र समय;
    Date : December 6, Sunday
    Time : Nepal – 8 pm
    New York – 9:15 am
    Texas – 8:15 am
    California – 6:15 am

  • कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द

    कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द

    न्युयोर्क

    न्युयोर्कमा कोरोना भाईरस संक्रमण दरमा बृद्धि हुन थालेपछि सम्पूर्ण बिद्यालय बिहीवारदेखि बन्द हुने भएका छन् । न्युयोर्क सिटी स्कुलका चान्स्लर रिचर्ड कारन्जाले बुधवार एक बिज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

    चान्सलर कारन्जाले बिज्ञप्तिमा भनेका छन्; “बिहिबारदेखि लागू हुने गरी न्युयोर्क सहर भित्रका सम्पूर्ण बिद्यालय भवन बन्द हुने छन् र सम्पूर्ण पठनपाठन घरबाटै हुनेछ । बिद्यालय बन्दको यो निर्णय अस्थाई भएपनि कहिलेदेखि पुनः बिद्यालय खुल्छ हाललाई अनिश्चित नै छ”।
    न्युयोर्क सिटी मेयर बिल दि ब्लाजियोले पनि न्युयोर्क सहर भित्रको संक्रमण दर ३ प्रतिशत माथि पुगेको कारण आगामी बिहिवार नोभेम्बर १९ तारिखदेखि बिद्यालय बन्द गरिएको छ । भन्दै ट्विट गरेका छन् । न्युयोर्क सहरमा सात दिनसम्म लगातार संक्रमण ३ प्रतिशत माथि पुगेपछि बिद्यालय बन्द गर्नु परेको मेयर ब्लाजियोले ट्विटरमा लेखेका छन् ।
    नोभेम्बर १२ देखि न्युयोर्कमा हरेक दिन संक्रमित संख्या पैतालिस सय भन्दा माथि छ ।

    फोटो : द न्युयोर्क टाइम्

  • कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

    कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

    न्युयोर्क

    कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै आउँदै गरेको भ्याक्सिन सँक्रमण नियन्त्रणमा ९५ प्रतिशत प्रभावकारी हुने र बृद्धावस्थाका मानिसहरुलाई समेत निकै प्रभावकारी हुने बताएको छ ।
    भ्याक्सिन निर्माण कम्पनी फाईजर, जस्ले बायो एण्ड टेक नामक जर्मन कम्पनीसँगको सहकार्यमा भ्याक्सिन निर्माण गरेको छ उस्ले आकस्मिक स्विकृतिको लागि केही दिन भित्र नै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा स्विकृतिको लागि निबेदन दिने जनाएको छ । भ्याक्सिनको सफलतापछि कम्पनीका प्रमुख कार्यकारी डा अल्बर्ट बौर्लाले भनेका छन्; संसारलाई ठुलो क्षति पुर्याएको महामारीको अन्त्यको लागि ८ महिनाको यो यात्रा एतिहासिक साबित भएको छ ।

    यदि अमेरिकास्थित फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले दुई डोज वाला उक्त भ्याक्सिनलाई मान्यता दिएको अवस्थामा यो बर्षको अन्त्यसम्म कम्पनीले ५ करोड डोज भ्याक्सिन तयार पार्ने छ । सन् २०२१ को अन्त्यसम्म कम्पनीले एक अर्ब ३० करोड डोज भ्याक्सिन तयार पार्नेछ । अमेरिकामा भने उत्पादिन भ्याक्सिनको आधा मात्र दिइने छ । अमेरिकाको जनसंख्या ३३ करोड छ । अमेरिकनहरुले कोरोना बिरुद्धको उक्त भ्याक्सिन निशुल्क प्राप्त गर्ने न्युयोर्क टाईम्सले जनाएको छ । गत बर्ष डिसेम्बरमा चीनमा भेटिएको भाईरसले १३ लाख ४१ हजार मानिसको विश्व भर मृत्‍यु भै सकेको छ ।

  • ७ वटा विश्व रेकर्डधारी उज्ज्वल ठकुरी आठौं र नवौं विश्व किर्तिमान राख्दै

    ७ वटा विश्व रेकर्डधारी उज्ज्वल ठकुरी आठौं र नवौं विश्व किर्तिमान राख्दै

    न्युयोर्क

    गिनिज बुक अफ वर्ल्डमा ७ वटा रेकर्ड राखिसकेका नेपाली मार्सल आर्टस खेलाडी उज्ज्वल ठकुरीले आठौं र नवौं विश्व किर्तिमानको प्रकृया अगाडि बढाएका छन् । यसपटक उनको चुनौति पाकिस्तानको मोहम्मद रशिदको एकल रेकर्ड तोड्नु रहेको छ ।

    मोहम्मद रशिदको रेकर्ड एक मिनेटमा ५ केजी तौल खुट्टामा बाधेर ७८ घोडा प्रहार रहेको छ भने ठकुरीको दोश्रो चुनौति भारतको नाममा रहेको तीन मिनेटमा वजन सहितको १३७ किक प्रहारलाई समाप्त पार्नु छ । यी दुई रेकर्ड कायम भएमा भारत र पाकिस्तानी खेलाडीको रेकर्ड नेपालीको नाममा रहनेछ ।

    यस अभियानमा ठकुरीलाई सहयोग गर्ने प्रबासी मन्चका अध्यक्ष प्रभु थापा, बानाका अध्यक्ष सुबोध बिलास पन्त, अन्तर्राष्ट्रिय बिकास निर्देशक भिम बहादुर बि के, दुर्गा बहादुर थापा, गणेश लमिछाने, भुपेन्द्र गुरुङ र गोकुल लामिछाने लगायत रहेका छन् ।

    ठकुरी भन्छन्; खेलकुद देशलाई चिनाउने बलियो अस्त्र हो । दशौं रेकर्ड राखेर देखाउने छु ।

  • अमेरिका, म र रिपव्लिकन

    अमेरिका, म र रिपव्लिकन

    योगेश आदी

    [email protected]

    सन् २००७ मा मलाई अमेरिकी डिभी चिट्ठा पर्यो । अमेरिकाको बारेमा थप रुचि बढ्यो । जर्ज डब्लु बुस राष्ट्रपति थिए । कार्यकाल सम्हालेकै वर्ष ९११ को घटना र रस्सियन अर्थतन्त्रको विश्वब्यापि असरको कारण अमेरिकी अर्थतन्त्र पनि खस्कदो थियो । यसै कारण बुसलाई सबैले अभागी राष्ट्रपति भन्दथे । सहानुभुति स्वरुप मैले केही नबुझी रिपब्लिकनसँग भावना जोडें ।

    पछि नेपालको काँग्रेस भनेको रिपब्लिकन जस्तो निजीकरण, व्यापारी र राष्ट्रबादी बढी हुन्छन् भन्ने र डेमोक्र्याटिक भनेको नेपालको कम्युनिष्ट जस्तो साना व्यवसायीलाई हेर्ने, समाजबादी, सर्वराष्ट्रबाद सहज स्वीकार्ने जस्तो हुन्छन् भन्ने भ्रममा म पनि रुमल्लिएँ । आखिर सिद्धातत: दुबै गलत छैनन् । तथापि मैले अमेरिकी राजनीतिमा कहिल्यै खासै रुचि राखिन । किनकि गरिखाने बर्गलाई बढी राजनीति लाग्छ तर गराईखाने बर्गले राजनीतिमा पकड राख्दछ, भन्ने म बुझ्छु । गणपुरक सँख्या पुर्याउन, ताली बजाउन र आफ्नो टाउको गन्तिमा पारेर अरुको लागि सिंढी बन्न मैले सकिन । अमेरिकी चुनाव भरी म मौन रहें । केही आर्टिकल रिपव्लिकनको पक्षमा लेख्न चाहन्थे तर रिपब्लिकनको उमेदवार असल मानिस र राजनैतिक प्राणी नभएको ठहर गरी नैतिक रुपमा खुम्चिएँ । 

    नेपाली साथीहरुले आप्रबासीले डेमोक्र्याट बन्नुपर्छ । रिपब्लिकनले व्यापारी मात्र हेर्छ । अमेरिकाबाट दास प्रथाको अन्त्य गर्ने ऐतिहासिक राष्ट्रपति अब्राहम लिंकन पनि रिपब्लिकन थिए भन्ने बिर्सिएर रिपब्लिकन गोराको हो… ईत्यादि लेखेर फेसबुक भ्रममय पार्यो । कसैको कमेण्टमा एक शब्द पनि खर्चिन । राष्ट्रपति ट्रम्पको व्यवहार हेपाहा, पोजे, छुद्र, छुच्चो जस्तो देखिन्छ किनकि जे हो त्यही देखिने हो । तर यति हुँदाहुँदै पनि अमेरिकाको आधा आकाशले भोट दिएको वा सही ठानेको व्यक्ति भने निसंकोच हो । क्षमता र योग्यता नभै कुनैपनि व्यक्ति अमेरिकाको राष्ट्रपति पदको उमेदवार बन्ने हैसियतमा पुग्दैन । यसर्थ ट्रम्पले भन्दा बढ्ता नीतिहरु आफैले जानेको भ्रम त्याग्दा राम्रो । कतिपय साथीहरुले ट्रम्पको सपोर्टमा; अर्थतन्त्र सुधारेको, बेरोजगार दर घटाएको भनेर देवतुल्य नै मानेर लेखे । राष्ट्राध्यक्षको काम नै राष्ट्रको हित गर्ने हो भने कुन नौलो काम गरेको भयो र ? ट्रम्पलाई स्वाभावसँग जोडेर हेर्ने अर्को पक्ष देखिए । शौचालय बस्दा पनि ट्रम्पलाई सत्तोसराप गरेर एउटा स्टाटस लेखी मनशान्त पार्नेहरु देखें । आधा ओच्छ्यान चिसै छाडेर रातभर ‘ट्रम्प हाउगुजी’ वाला स्टाटस लेखिबस्ने पनि भेटें । ति सबैले ट्रम्प ब्यक्ति होइन संस्था हो, भन्ने भुले ।आखिर बिगत ४ बर्षमा ट्रम्पले ह्वाइट हाउसको भित्तामा कालो पोतेनन् । मेक्सिकोसँगको २००० माइल्स सिमिनामा अत्यावश्यक परेको ठाउँ हेरी ५ माइल मात्र पर्खाल लगाए । बरु सन् २०१९ मा मेक्सिकोसँग ६७७ बिलियन अमेरिकी डलरको व्यापार गरेर रेकर्ड बनाए । २९० बिलियन एक्सपोर्टको बदलामा ३८८ बिलियनको इम्पोर्ट गर्दिए । अमेरिकाको राष्ट्रपतिले अमेरिकालाई के गर्यो त्यो मुल्याङ्कन गर्नुपर्छ, नकि अन्य राष्ट्रलाई के गर्यो वा भन्यो । 

    यो हप्ता सबैभन्दा टिठलाग्दो र दरिद्री फेसबुके स्टाटस् के देखियो भने; ‘ट्रम्पलाई सपोर्ट गर्ने ट्रम्प जस्तै स्वाभाव भएकाहरु मात्र हुन्’ भन्ने । महाशय, लेनिन र प्रचण्डले जति हत्या कसले गरे ? त्यति झुठ कस्ले बोलेका होलान् । के प्रचण्डलाई भोट हाल्ने सबैलाई त्यस्तै ठान्ने ? हिन्दुको नाक काटेर फलानाको फलानो ठाउँ टाल्ने मोहनदास करमचन्द गान्धीलाई सबैले महात्मा ठान्नै पर्छ भन्ने छैन । मनको खराब त हिटलर पनि थिएन मित्रजन् ! मोरल रिलेटिभिजम्ले गलत कसैलाई पनि देख्दैन । देख्नु हुँदैन । उस्को जुत्ताको अनुभव तिमीलाई छैन भने हावामा किन माइल्स नाप्छौ ? मासु खानुलाई पाप ठान्ने र मासु खान पाउँदा उत्सव मान्ने दुबै पक्ष एउटै घरमा हुन्छन् । तर्क आ-आफ्नो, सोच आ-आफ्नो ।

    यो हप्ता आप्रबासीलाई अर्को भ्रम छरियो – रिपब्लिकनले आप्रबासीलाई खेद्छ, आप्रबासी डेमोक्र्याट्स नै बन्नुपर्छ, भन्ने ।

    दोश्रो विश्वयुद्धपछि अमेरिकामा युरोपेली आप्रबासी भित्र्याउने नीति रिपब्लिकन राष्ट्रपति आइजन हावरले ल्याएका थिए । त्यस्तै अमेरिकामा सन् १९७५ देखि शुरु भएको राजनैतिक शरणार्थी (एसाइलम) को ढोका खोल्ने कार्य रिपब्लिकन राष्ट्रपति गेराल्ड फोर्डले गरेका थिए । करिव ६० प्रतिशत एसालम केस रिजेक्ट भएको आंकडा छ । सबैभन्दा बढी रिजेक्ट डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाको पालामा भएको थियो । हालसम्म २० लाख मानिस राजनैतिक शरणार्थीको रुपमा अमेरिका पसे । जसमा ४० हजार स्विकृत भएका छन् ।

    सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकामा समुदाय बीच सन्तुलन ल्याउन हरेक वर्ष ५५ हजार आप्रवासी भित्र्याउने डिभी चिट्ठाको शुरुवात सन् १९९० मा ईमिग्रेसन ऐन जारी गरी लागू गर्ने पनि रिपब्लिकन राष्ट्रपति जर्ज वाकर बुस नै थिए । अब कुन पार्टीले आप्रबासीको हितमा के उल्लेख्य कार्य गर्यो भनेर कुर्लनु भन्दा अगाडि सत्य तथ्य बुझौं ।

    अमेरिकी ईतिहासमा सबैभन्दा बढी आप्रबासी खेद्ने राष्ट्रपति पनि ओबामा बनेका छन् । उनको पालामा ८ वर्षमा ३२ लाख आप्रबासी अमेरिकाबाट धपाइए । ओबामाअघि रिपव्लिकन बुसको पालामा ८ वर्षमा २० लाख निकालिएका थिए । ८ वर्ष ‘होप र ड्रिम्स’ भनेर मिठो बोल्दै अल्मल्याएर असफल बैदेशिक नीतिको हिस्सेदार बनि कार्यकाल सक्ने राष्ट्रपति भन्दा ठाडो बोलेर काम गर्नेलाई आचरणकै कारण गलत मात्रै देख्नु हुँदैन । त्यसो त २ वर्ष हाउस र सिनेटमा पुरै कन्ट्रोल हुँदा ओबामाले कुन उल्लेख्य कदम आप्रबासीको हित उठाएनन् ।

    युद्ध र उत्तेजनाको कुरा; डेमोक्र्याटिकहरु युद्धको दोष रिपब्लिकनलाई दिन्छन तर जुलाई १९१४ देखि नोभेम्बर १९१८ सम्म प्रथम विश्वयुद्ध हुँदाको सम्पुर्ण समय डेमोक्र्याटिक राष्ट्रपति उड्रो विल्सन पदमा थिए । त्यस्तै दोश्रो विश्व युद्ध सन् १९३९ देखि १९४५ सम्म चल्दा पनि सम्पूर्ण समय डेमोक्र्याटिक फ्राक्लिन रुजबेल्ट नै राष्ट्रपति थिए । कसैले पनि तथ्यलाई बङ्ग्याएर भ्रम छर्ने काम नगरौं ।

    विचार बाँझिदैमा गलत भन्ने प्रबृति प्रजातान्त्रिक व्यक्तिको हुँदैन । ट्रम्प हुँदा कस्ले के पायो, के गुमायो ? अब बाइडेनको पालामा के थपिएला वा गुम्ला ? समयले देखाउने नै छ । मुल कुरा त के हो भने अमेरिका सिस्टमले चल्छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।

  • बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

    बलात्कारको बढ्दो बिकृति र मृत्यूदण्डको माग

    कल्पना शाक्य / अधिवक्ता

    सोह्रौं शताब्दीमा महारानी एलिजाबेथ प्रथमको शासनकालमा बेलायतमा पाकेटमारलाई सार्वजनिक स्थलमा झुण्ड्याएर मारियो । उद्देश्य थियो त्यो भयानक दृष्य देखेर अब उप्रान्त कसैले चोरी गर्ने दुस्साहस नगरोस । हजारौं मानिसहरुले पाकेटमारलाई झुण्डाइएको दृष्य त्रास मिश्रित उत्सुकताका साथ हेरे । सबैको ध्यान झुण्ड्याइएको ब्यक्तितर्फ खिचिएको मौका छोपेर त्यही भिडमा एक ब्यक्तिको पाकेट मारियो । दृष्टान्त; मृत्युदण्डको भयले मात्र पनि अपराध रोक्न सकिदैन ।

    प्राचिन समयमा अपराधिलाई बदलाको भावनाले दण्डित गरिन्थ्यो । आँखाको बदला आँखा, हातको बदला हात, खुनको बदला खुन अर्थात अरुलाई जस्तो पिडा पुर्याएको छ त्यस्तै पिडा निजलाई दिएपछि मात्र आफ्नो गल्ति महसुस हुन्छ साथै यसबाट पिडितलाई राहत महसुस हुन्छ भन्ने मान्यता थियो । 

    दण्डका यस्ता क्रुर र अमानवीय परिपाटी बिरुद्ध मानवतावादी दार्शनिक, कानुनविद, मनोवैज्ञानिक, अपराधशास्त्रीको लामो पहलसँगै दण्डमा सुधारवादी धारणहरु अगाडि बढ्दै आए । सुधारबादी धारणा नै उदारबादी अवधारणा हो । अपराध रोग हो र अपराधि रोग भएको हुँदा रोगीलाई कठोर दण्ड दिएर होईन कि उपचार गरेर सभ्य समाजमा पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता उदारवादी सिद्धान्तले राख्दछ ।

    दण्डका सिद्धान्तमध्ये तुलनात्मक रुपमा सुधारात्मक सिद्धान्तलाई लोकप्रिय सिद्धान्त मानि आएतापनि पछिल्लो समयमा घटित क्रुर र अमानवीय अपराधहरुको बढ्दो तथ्याङ्कको कारण आम मानिसले कठोर दण्ड अर्थात मृत्युदण्ड प्रणालीकै माग राखी आवाज उठाईरहेको परिप्रेक्षमा दण्डको सुधारात्मक प्रणालीको औचित्य माथिनै प्रश्न चिन्ह खडा भएको छ । दिनानुदिन बृद्धि हुँदै गईरहेको बालिका बलात्कारपछि हत्याका घटनाहरुले ‘बलात्कारीलाई फाँसी देऊ’ भन्ने नारा लगाउँदै आम मानिस तथा अधिकारकर्मीहरुले यस्ता अमानविय कुकृत्य बिरुद्ध रोष प्रकट गर्न थालेका छन् । हुनत: नेपालमा २०६६ सालमा ख्याती श्रेष्ठ अपहरण र हत्याको समयमा नै पहिलो पटक मृत्युदण्डको आवश्यकताको बारेमा न्यायिक समिति हुँदै संसदीय स्तरमा समेत छलफल शुरु भएको थियो तर छलफलमै मात्र सिमीत रह्यो । 

    ऐनमा कस्तो व्यवस्था छ ?

    बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न नसकिए तापनि मु.ऐ. २०२० को एघारौं संशोधनले जबरजस्ति करणीको महलमा संशोधन गरी ३ देखि बढीमा १० वर्षसम्मको कैद व्यवस्थामा बृद्धि गरी ५ वर्षदेखि बढीमा १५ वर्षसम्म कैदको व्यवस्था गरियो । साथै सामुहिक बलात्कार, गर्भवति अपाङ्ग महिलालाई बलात्कार गर्नेलाई अर्को ५ वर्षको सजाय थप हुने व्यवस्था गरिनुका साथै यौनकर्मीलाई पनि निजको मञ्जुरी बेगर जबर्जस्ती गरेमा अपराध ठहरी समान सजाय हुने र आफ्नै पत्नीलाई समेत निजको मञ्जुरी बेगर शारीरिक सम्पर्क गरेमा ३ देखि ६ महिनासम्म कैद हुने व्यवस्था गरियो । १६ वर्ष भन्दा कम उमेरका महिलाको सहमतिमा नै सम्वन्ध स्थापित गरेतापनि बलत्कार ठहर्ने, सतित्व बचाउन ज्यान लिएमा बात नलाग्ने व्यवस्थालाई भने मुलुकी ऐन २०२० ले शुरुवात देखिनै समेटेको थियो ।

    हाल विद्यमान मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा दफा २१९ देखि २२९ सम्म जबर्जस्ति करणी सम्बन्धि व्यवस्था गरिएको छ ।१८ वर्ष भन्दा कम उमेरका महिलाको सहमतिमा नै सम्वन्ध स्थापित गरेतापनि बलत्कार ठहर्ने, न्यूनतम सजाय ७ देखि अधिकतम सजाय २५ वर्ष कायम गरिएको छ भने आफ्नै पत्नीलाई पनि जबरजस्ती करणी गरेमा मु.ऐ. २०२० को एघारौं संशोधनले गरेको ६ महिनासम्मको सजायमा बृद्धि गरी ५ वर्ष सम्म बनाईएको छ । त्यसैगरी सहमति लिएरै पनि कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गरेमा, आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनर्स्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचाारीले करणी गरेमा ऐनले हुने सजायमा थप ३ वर्षसम्म कैद हुनेछ । त्यसैगरी पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्नेलाई ४ वर्षसम्म कैद र रु. ४० हजारसम्म जरिवाना हुनेछ र त्यस्तो करणी यस ऐन अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुने व्यवस्था गरी मुलुकी ऐन एघारौ संशोधनले समेट्न नसकेको थुप्रै पक्षहरुलाई समेटेको पाईन्छ । 

    यति हुँदाहुँदै पनि मुलुकी ऐन २०२० को जबर्जस्ती करणीको महलको ८ नं. ले बलात्कार गर्ने प्रयास गर्नेलाई आफ्नो सतित्व रक्षाको बचाव गर्दा मर्न गएमा बात नलाग्ने साथै बलात्कार भईसकेपश्चात पनि एक घण्टा भित्र पिडितले पिडकको ज्यान लिएमा बात नलाग्ने कानुनी व्यवस्थालाई व्यवस्थालाई नयाँ मुलुकी अपराध संहिता २०७४ ले खारेज गरेर पश्चागामी चरित्र प्रर्दशन गरेको प्रतित हुन्छ । अर्कोतर्फ हाल बृद्धि भईरहेको निर्दोष बालिकाहरुमाथिको पाशविक आक्रमण र हत्याका घटनाहरुले गर्दा बलात्कारीलाई मृत्युदण्डकै माग गर्न थालिरहेका छन् ।

    मृत्युदण्डको सम्बन्धमा संवैधानिक व्यवस्था कस्तो छ ?

    २०७२ सालबाट लागू भएको संविधानको धारा १६ को उपधारा (२) ले मृत्युदण्ड सम्बन्धि कानुन बनाईने छैन, भनेको छ । संविधान संशोधन सम्बन्धि धारा २७४ को उपधारा (१) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन । उपधारा (२) उपधारा (१) र यस संविधानको अन्य धाराको अधिनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ । तर उपधारा (१) लाई संशोधन गरिने छैन, भनिएको छ । तसर्थ मृत्युदण्ड सम्बन्धि कानुन बनाईने छैन भन्ने धारा १६ को उपधारा (२) को व्यवस्थालाई यस संविधानको संशोधन गर्ने सम्बन्धि धारा २७४ ले असंशोधनीय मानेको भने देखिदैन ।

    तर पनि नेपाल पक्ष रहेको सन् १९६६ को नागरिक तथा राजनीतिक अधिकार विषयक संयुक्त राष्ट्रसंघीय अनुबन्धसँग सम्बन्धित तथा मृत्युदण्डको खारेजीतर्फ लक्षित दोश्रो ईच्छाधिन उपलेख, १५ डिसेम्बर १९८९ मा पारित भएपछि नेपालले ४ जुन १९९८ मा अनुमोदन गरिसकेको हुँदा मृत्युदण्ड दिने व्यवस्था गरी कानुन निर्माण गर्न परिस्थिति अनुकुल देखिदैन । अर्थात अनुबन्धले दिदैन ।

    हालसालै २६ अक्टोबर २०२० मा बंगलादेशको मन्त्रीपरिषदको बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गर्यो । अरु देशका यस्ता घटनाक्रमले नेपाली समाजको मानसिकता पनि तताईरहेको छ । यस्तो अवस्थामा नेपालले मृत्युदण्डको कानुन निर्माण गर्नको लागि सर्वप्रथम उक्त सन्धिबाट पछि हट्नु जरुरी छ । जुन कार्य नेपालजस्तो विकाशोन्मुख देशको लागि सजिलो छैन ।

    नेपालमा ६०% बलात्कार पिडीत १५ वर्ष मुनिका नाबालिका छन् । यस्तो भयानक आँकडा देखिनुको तात्पर्य हामीले दण्ड व्यवस्थामा मात्र नभएर अन्य सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षहरुमा पनि ध्यान दिनु जरुरी देखिन्छ । केवल मृत्युदण्डको अभावमा मात्र बलात्कारका घटना बृद्धि भएका भने होईनन् । 

    मृत्युदण्डको बिकल्प के हुनसक्छ ?

    अन्य बैकल्पिक दण्ड व्यवस्थामा आजिवन कैद (जिवन रहेसम्म), श्रम सहितको कारावास, केमिकल तथा सर्जिकल कास्ट्रेसन अर्थात रसायनिक बन्ध्याकरण (अपराधीलाई ईन्जेक्सन लगाई वा शल्यक्रिया गरी नपुंसक बनाउने बिधि) आदि हुन सक्छ । आजिवन कैद र श्रम सहितको कारावास प्रकृया पुर्याएर संसदबाट अनुमोदन गराउन सकिन्छ तर कास्ट्रेसनको विषयमा अहिले पनि संसारभर पक्ष र विपक्षमा बहस भईरहेको छ । 

    अमेरिकाको न्यूयोर्कमा १९९६ मा जेल बसी फर्किन लागेको कैदीहरुलाई केमिकल तथा सर्जिकल कास्ट्रेसन गर्नको लागी मान्यता दिईएको थियो । त्यसैगरी रुस, इन्डोनेसिया, पोल्याण्डमा पनि यसलाई मान्यता दिईयो । त्यसैगरी द. कोरियामा २०११ देखि, टर्कीमा २०१६ देखि, अलाबामा २०१९ देखि यसलाई कानुनी मान्यता प्रदान गरियो भने भारतमा पनि हाल ३० वर्षको जेल सजायसहित केमिकल कान्स्ट्रेसन प्रस्ताव राखिएकोमा बिस्तृत कानुन निर्माणको प्रकृया अगाडि बढाईएको छ ।

    समस्या समाधानका सम्भावित उपायहरु;

    यौन तथा नैतिक तथा शिक्षा –

    दार्शनिक Victor Hugo ले भनेका छन्; He who opens a school door, closes a prison अर्थात “जसले विद्यालयको ढोका खोल्दछ उसले जेल बन्द गर्दछ” यो भनाई यहाँ सान्दर्भिक हुन आउँछ । हाम्रो समाजमा परिवारभित्र वा बाहिर खुलेर यौन शिक्षाको कुरा गरिदैन  । विद्यालयमा कक्षा ७ देखि प्रजनन स्वास्थ्य सम्बन्धि पढाई गराइन्छ तर विद्यालय जान नपाएका केटाकेटीका लागि भने सोच्न सकेको छैन। संचार माध्यायममा पनि वयस्कका लागि यौन स्वास्थ्य समस्याका कार्यक्रम भएजस्तै बालबालिकालाई लक्षित गरेर यौन सम्बन्ध, प्रजनन स्वास्थ्य, यौन अपराधको बारेका ज्ञान दिने कार्यक्रम संचालन हुन जरुरी छ ।

    कानुनी शिक्षा – 

    यौनकर्मी महिलालाई बलात्कार गर्नेलाई पनि अन्यलाई दिने सरह नै सजाय हुने व्यवस्था, पत्नीको मञ्जुरी बेगर शारीरिक सम्बन्ध राखेमा बलात्कार ठहर्ने जस्ता नयाँ प्रावधानहरुले गर्दा महिलाको आत्मसम्मानलाई स्थान दिन खोजेको पाईन्छ । यस्तो कानुनी शिक्षा पनि विद्यालयको पाठ्यक्रममा समावेश गर्न सकिएमा धेरै हदसम्म सकारात्मक परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ । बलात्कार सम्बन्धि मुद्दा सरकारवादी हुने फौजदारी मुद्दा हो र यस्तो मुद्दामा पारिवारिक तहबाट वा गाउँघरमा मिलापत्र गराउन हुँदैन भन्ने शिक्षा सबै तह तप्काका व्यक्तिहरुसम्म पुग्नुपर्दछ ।

    आत्मरक्षाको तालिम – 

    छिमेरी राष्ट्र चाईनामा विद्यालयका विद्यार्थीहरुलाई अनिवार्य रुपमा जुडो कराते लगायतका खेल सिकाईन्छ । हामीले पनि बालिकाहरुलाई सानैदेखि आत्मरक्षाको लागि आवश्यक तालिमको अनिवार्य व्यवस्था लागू गर्न सकिन्छ ।

    पिडीत महिलाको समाजमा पुनर्स्थापना – 

    बलात्कृत महिलालाई काउन्सिलिङ् गरेर मानसिक रुपमा बलियो बनाउने कार्य नेपालमा शुन्य अवस्थामा नै छ । बलात्कृत महिलाको ईज्जत गएको, सामाजिक हैसियत खस्किएको, उनलाई विवाह गर्दा गुण लगाएको मान्ने जिर्ण मानसिकताको उपचार गरिनुपर्दछ ।

    कानुनी मान्यता प्राप्त यौन व्यवसाय –

    विकसित मुलुकहरुमा यौन पर्यटन व्यवसाय कानुनी रुपमा नै खुला गरिएको छ । यौन चाहना एउटा जैविक र प्राकृतिक आवश्यकता भएको कारणले गर्दा यस्तो ईच्छालाई मार्न असम्भव भएकोले यौन व्यवसायलाई कानुनी मान्यता प्रदान गर्दा पनि बलात्कारका घटनामा धेरै कमी आउन सक्दछ । अष्ट्रिया, ब्राजिल, जर्मनी, नेदरल्याण्ड जस्ता विकसित देशहरुमा यौन पर्यटन व्यवसाय अर्थव्यवस्थाको महत्वपूर्ण हिस्सा बनेको छ ।

    कानुनको सही कार्यान्वयन –

    कानुनको उद्देश्य परिपूर्ति यसको कार्यान्वयनमा अन्तर्निहित हुन्छ । तर नेपालमा अनुसन्धान तहकिकातदेखि फैसला गर्दासम्मकै कार्यविधि निकै निराशाजनक पाईन्छ । 

    १८ वर्षभन्दा कम उमेरको महिलासँग सहमतिमै शारीरिक सम्बन्ध राखेपनि बलात्कारनै ठहरी ७ वर्षसम्म सजाय हुने कानुनी व्यवस्थाका कारण २१ वर्षिय लामा थरका युवक ७ वर्षको सजाय पाई बिगत ३ वर्षदेखि कैदमा छन् । विद्यार्थी भिसामा ८ दिनपछि अष्ट्रेलिया उड्ने टिकट समेत काटिसकेका उनी प्रेमिकाको उमेर नसोधेका कारण जेलमा बस्न बाध्य छन् ।

    २५ वर्षीय शाह थरका युवकले प्रेमीकासँग समय बिताउँदै गर्दा आईपुगेकी प्रेमिकाकी दिदीसँग भनाभन हुँदा दिदीले प्रहरी बोलाई बहिनीलाई जबर्जस्ति करणी गरेको जाहेरी दिएपछि हाल जेलमै बसेर मुद्दा खेपिरहेका छन् । मुद्दा परिसकेपछि मात्र उनलाई थाहा भयो कि प्रेमिकाको उमेर १८ वर्ष भन्दा कम रहेछ । 

    एकातिर मौजुदा कानुन अनुसार केही महिना उमेर कम भएको कारण पिडक पक्ष अन्यायमा परेको जस्तो देखिएको छ भने अर्को तर्फ साना बालिका बलात्कार गरी हत्या गर्ने जडअपराधिलाई भने सजाय कम भएको देखिन्छ । यसर्थ; सन्धि सम्झौताबाट पछि हटेर संविधान संशोधन गरी मृत्युदण्ड दिने व्यवस्था गर्दा पनि अतिशयोक्ति नहोला । तथापि बलात्कारको अन्य पक्षहरुमा ध्यान नदिई केवल सजायमा मात्र कडा अत्याधिक गरियो भने भोलिका दिनमा सतप्रतिशत बलात्कार पिडितहरुको हुने निश्चित छ । 

  • सफल भयो कोरोना विरुद्धको भ्याक्सिन

    सफल भयो कोरोना विरुद्धको भ्याक्सिन

    एजेन्सी

    अमेरिकी औषधि उत्पादनमा नाम कमाएको पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले उनिहरुले उत्पादन गरेको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताएका छन् । ति दुई कम्पनीले कोभिड -१९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको बताएका छन् । 

    सोमबार पिफिजर र बायोएनटेकले आफुले उत्पादन गरेको भ्याक्सिन सफल भएपछि “मानवियता र विज्ञानको लागि ठुलो दिन” भनेका छन् । 

    पिफिजर कम्पनीका अध्यक्ष तथा सिइयो अल्बर्ट बौरलाले भ्याक्सिनको सफलतालाई सुरुङको अन्त्यमा देखिएको उज्यालो भनेका छँन् । यस अगाडि बैज्ञानिकहरुले कोरोना बिरुद्धको भ्याक्सिन कमसेकम ७५ प्रतिशत सफल हुने अनुमान गर्दै आएका थिए भने ह्वाईट हाऊस कोरोना भाईरस एड्भाईज डा. एन्थोनि फाउसीले कोरोना बिरुद्धको भ्याक्सिनले ५० देखि ६० प्रतिशतसम्म काम गर्‍यो भने स्विकार गरिने बताएका थिए ।

    श्रोत : सि एन बि सि

  • जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित

    जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित

    न्युयोर्क

    सबल नेपाल मिडिया प्रालिद्वारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरिएको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।

    पत्रकार पाण्डेय २०६२ सालबाट निहाल साहित्यिक पत्रिकामार्फत पत्रकारिता सुरु गरेका थिए । उनले रेडियो नमस्ते, नेपाल वान टेलिभिजन, खस्यौली एफएम लगायतमा काम गरिसकेका छन् । उनले कोरोना महामारी सुरु भएपछि विश्वभरिका नेपालीसँग कोरोना भाइरस न्युनिकरण कसरी गर्न सकिन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा विज्ञ तथा विभिन्न देशमा रहेका संघसंस्थाका प्रतिनिधिसंग निरन्तर बहस कार्यक्रम संचालन गर्दै आइरहेका छन् । साथै जि पि के फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बहस कार्यक्रमको नेपाल संयोजक रहेर समेत काम गरिरहेका छन् ।

  • नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक

    नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक

    न्युयोर्क

    एउटा खुट्टाले नृत्य गरेर सबैको मन जितिसकेकी नृत्यङ्गना सिता सुबेदी आफ्नै स्वरमा ‘जीवन कस्तो हुन्छ…’ गीत गाएकी छिन् । जीवनको भोगाई र अनुभव समेटिएको गीतका शब्द पनि उनी आफैले कोरेकी हुन् । 

    क्लासिकल वन लेग डान्सरको रुपमा ख्याति कमाएकी सुबेदीले जीवन दर्शन बोकेको गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । सीता सुबेदी भन्ने बित्तिकै नृत्याङ्गना भनेर चिनिन्छ । उनको जिन्दगीलाई जति जटिल तरिकाले समाजले हेर्छ त्यो सामाजिक दृष्टिकोणलाई चिर्दै जिन्दगीलाई जसरी हेर्यो त्यस्तै लाग्ने उनको अनुभव छ । जीवनलाई सरल तरिकाले हेर्यो भने सरल नै हुन्छ भन्ने सन्देश गीतमा छ ।

    सीता सुबेदीको जीवनको भोगाईमा आधारित गीतलाई संगितकार मदन गोपालले संगीत दिएका छन् । त्यस्तै संगीत संयोजन दिनेश श्रेष्ठको रहेको छ । गीतलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

  • सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

    सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

    काठमाडौं

    नेपाल सरकारले गत कार्तिक २ गते कोभिड १९ कोरोनाभाइरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन आफैले गर्नुपर्ने भनि गरेको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ ।

    बिज्ञप्तिमा सरकारको निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यतामा जोड दिइएको छ । सरकारी कदमको भर्त्सना गर्दै बिज्ञप्तिमा निम्न मागहरु सहित सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई अन्यायको विरुद्ध लड्न आव्हान समेत गरेका छन् ।

    १. २०७७ कात्तिक २ गते कोभिड–१९ नोभेल कोरोना भाईरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन सबै आफैले गर्नुपर्ने भन्ने सरकारले गरेको कथित निर्णय खारेज गर्नु पर्ने।

    २. कोभिड १९- बाट सङ्क्रमित भएका सम्पुर्ण नागरिकहरुको उपचार सरकारले नि:शुल्क  गर्नु पर्ने ।

    ३. प्रतिनिधि सभाका सांसद तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई गैर कानुनी ढंगले दिएको दशैं भत्ता फिर्ता गरी कोरोना कोषमा राख्नु पर्ने। 

    ४. विभिन्न क्षेत्रमा मौलाएको सानादेखि ठुलासम्मका भ्रष्टचारको सत्यतथ्य छानबिन गरि जनताको बीचमा सार्बजनिक गरी दोषीलाई दण्ड दिईनु पर्ने।

    बहिर्गमित जनमुक्तिसेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ को नामबाट जारी प्रेस बिज्ञप्ति उपर सरकारलाई छिटो भन्दा उचित कदम चाल्न समेत भनिएको छ ।

  • रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

    रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

    योगेश आदी / [email protected]

    मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो ।

    चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले गलत विशेषणको प्रयोग गरिरहेका हुन्छौं – मख्ख पार्न वा फाइदा लिन ।

    एउटा सत्य दृष्टान्त; (साभार: युट्युब) माइकबाट आवाज आयो; ‘अब कविता वाचन गर्न मञ्चमा आउँदै हुनुहुन्छ, दृष्टि बिहिन भाइ रमेश प्रसाई’ । रमेश प्रसाईले माइकमा फुकेर आफू र माइकको दुरी कन्फर्म गर्यो ।

    सबलाङ्ग र अपाङ्ग व्यक्तिको नामसँग जोडेर सम्बोधन गरिने विषय होइन, त्यो अपमान हो । त्यस्तै नामको अगाडि भएभरको विशेषण जोड्नु चाप्लुसी हो ।

    रमेश; “धन्यबाद, दृष्टि सम्पन्न उद्घोषकज्यू । आज मलाई साह्रै रमाइलो लागिराको छ । मेरो दृष्टि छैन, उहाँले मलाई दृष्टि बिहिन भाइ भन्नु भो । मेरो नाम भन्दा पहिला मेरो शारीरिक विशेषता बताउनु भो । अब मलाई पनि सजिलो हुने भो, म त देख्दिन । यहाँ कोही कपाल झरेको आयो भने उहाँले आदरणीय ताक्लू कवि फलानो भनेर भन्नु हुनेछ । कोही दाँत झरेको आयो भने आदरणीय थोते फलानो भन्नुहुन्छ होला” । 

    रमेश प्रसाईको भनाईको आसय थियो, सबलाङ्ग र अपाङ्ग व्यक्तिको नामसँग जोडेर सम्बोधन गरिने विषय होइन, त्यो अपमान हो । त्यस्तै नामको अगाडि भएभरको विशेषण जोड्नु चाप्लुसी हो । काम र योगदानको आधारमा एकापसप्रतिको दृष्टिकोण बनाई सकेका हुन्छन् । आदरको लागि एउटा मुख्य पद जोड्दा पुग्छ । काम र प्रस्तुतिले नै व्यक्तिको परिचय दिइरहेको हुन्छ ।

    राजनैतिक र आर्थिक परिवर्तनले मात्र समाज र देश बदलिदैन । देश भनेको जनता हो । जनता – जनता बीचको पारस्परिक समझदारी र सामुदायिक अमन चयन बिना सभ्य समाजको निर्माण हुदैन ।

    अर्को दृष्टान्त; हरेकदिन फेसबुकमा समवेदना – श्रद्धाञ्जलीहरु देख्ने गर्छु । कसैकसैले मृत्युसँग जोडिएको भावात्मक उद्धरणमा समेत चाप्लुसी प्रदर्शन गर्छन् । जस्तै; “हाम्रो लायन्स क्लवका संस्थापक सदस्य तथा अमेरिका – रसुवा समाजका अध्यक्ष आदरणीय बरिष्ठ समाजसेवी अनन्य मित्र अधिवक्ता श्री हरिदास लुईटेलज्यूका ममतामयी सासुआमा स्व. चन्द्रमाया कुईंकेलको निधनले मर्माहत भएको छु । यो शोकको घडीमा परिवारजनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु” । यति धेरै नतमस्तक कसैले कसैप्रति हुनु पनि चाप्लुसी हो । मृतकको नाममा जिउँदोको पदको विज्ञापन सिवाय केही होइन । मुर्गी भन्दा मसला महंगो पर्यो भने पच्दैन ।

    एकदिन मैले क्षतिपूर्ति दिलाउने वकिलसँग पत्रिकामा विज्ञापन पाउने आशामा बातैपिच्छे सर सर प्रयोग गरेर बिनम्रता देखाएँ । अलिक बढी नै फ्लाटरिङ् (चिप्लो घस्ने) भएछ कि सायद उनले भन्यो; मलाई ‘ब्रस’ भने पुग्छ, मेरो नाम ब्रस हो । मैले ‘मिस्टर ब्रस’ भन्न थालें । पुन: भन्यो; “म तेरो साथी जस्तै हुँ, ब्रस भने पुग्छ” । मैले मरिगए ‘ब्रस’ मात्र भन्न सकिन । हामी मख्ख पारेर काम लिन सकिन्छ भन्ने परिवेश र सिकाईमा हुर्केका रहेछौं । 

    हामी अधिकाँश फाइदा हुने अवस्था परे; म पुरेत, म दलित, म क्षेत्रीय, म घरानीया ठकुरी, म उत्पिडित, म राणा परिवार इत्यादी भन्न पर्दैनौं । जातसँग जोडेर आफूलाई फाइदा हुने अनुकुल प्रतिकुल नापेर प्रस्तुत हुन्छन् । चेतनाको स्तर जतिसुकै बढेको जस्तो देखाएपनि क्षमता र योग्यताले भन्दापनि जातलाई विशेषणको रुपमा नामको अगाडि थपेर भन्न समेत पछि पर्दैनौं । एउटै थरका वरिपरी छन् भने, ‘हामी सबै फलानो थरका हौं ‘भनेर मानवीय भन्दापनि जातीय भावनामा हराउँछौं ।

    राजनैतिक र आर्थिक परिवर्तनले मात्र समाज र देश बदलिदैन । देश भनेको जनता हो । जनता – जनता बीचको पारस्परिक समझदारी र सामुदायिक अमन चयन बिना सभ्य समाजको निर्माण हुदैन । सभ्य समाजको लागि आपसी सम्बोधन र जायज मानवीय सम्मानको जरुरी पर्दछ ।

  • प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

    प्रचण्डको विलोपिकरण र अविश्वासको विकेन्द्रिकरण

    पुरुषोत्तम लम्साल / हाल: अमेरिका

    वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ साल पौष १८ गतेको एउटा सार्वजनिक भाषणमा भनेका थिए, ‘माक्र्सवाद भनेको हो पनि र होइन पनि ।’ प्रचण्डको भनाईको आशय ‘माक्र्सवाद ब्यावहारिक प्रयोग हुन पनि सक्छ र सन्दर्भ अनुसार परिवर्तन पनि हुनसक्छ’ भन्ने थियो । यो भनाईको आशय र अर्थ ‘माक्र्सवाद नै अन्तिम सत्य होइन र यो परिस्थितिअनुसार परिवर्तन भइरहन सक्छ’ भन्ने नै थियो ।

    आफ्ना निकटतम र विश्वासिला कार्यकर्ताको अगाडि स्वच्छन्द बगिरहेका प्रचण्डको उक्त भाषण उहिले ‘भाइरल’ भयो । अहिले त्यसको महत्ता बाबुराम भट्टराई नामका अर्का एकजना पूर्व माओवादी र पूर्वमाक्र्सवादीले ‘नेपालकै एउटा जलविद्युत् आयोजनामा वर्तमान नेकपामा दुईजना अध्यक्ष केपी ओली र प्रचण्ड एवम् प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले करोडौं कमिशन हसुरेको’ दावी गरेपछि अलि बढी देखिन थालेको छ ।

    बाबुरामको दावीको सत्यता परीक्षण अहिले सम्भव छैन । प्रमाण दिने दावी गर्ने बाबुराम भट्टराईसँग के के प्रमाण छन् ? दैव जानून । उसै पनि बाबुरामको यस्तो प्रकृतिको बोली नयाँ होइन । हिजोका दिनमा पनि उनले माओवादी लडाकूको शिविरमा भएको घोटालाको विषयमा बोलेका अभिव्यक्ति कर्कलाको पातमा बगेको शितको थोपा भएकै हुन् ।

    अझै पनि जातीय राज्यको पक्षमा अभिव्यक्ति दिएर, नेपालको धार्मिक जातीइ सहिष्णुताको मर्ममा प्रहार गर्ने गरी एकपक्षीय र पूर्वाग्रही अभिव्यक्ति दिंदादिंदै राजनीतिको किनारामा पुगिसकेका भट्टराईको अभिव्यक्तिको अन्तर्य केलाउनु बुद्धिमतापूर्ण कार्य हुन सक्दैन । यसैले यो बसाईलाई नेकपाकै सन्दर्भमा केन्द्रित गरेर अगाडि बढौं ।

    राजनीतिक विचारले लैस भएको ‘३ हजार सेनाले ९५ हजार नेपाली सेनालाई खान्छ’ भन्ने प्रचण्डको परिकल्पना धुलिसात भएको दिन नै प्रचण्ड आफ्नै राजनीतिक सहकर्मीहरुसँग टाडिए, एक्लो हुन पुगे ।

    प्रचण्ड भन्थे ‘हामी भाले (सभाकक्षमा हाँसो गुञ्जिएपछि प्रचण्डले अन्यथा नलिनुहोला भनेका थिए…) भइसकेपछि वा हाम्रो हात माथि परिसकेपछि नियम र कानून भनेको संशोधन हुन्छन् । हामी गर्छौ’ भनेका थिए । यो सन्दर्भ सत्ता कब्जाको सन्दर्भमा मुखरित भएको थियो । संविधानसभाको पक्ष वा विपक्षमा आएको थियो । अर्थात् अनुकूल संविधानको पक्ष वा विपक्षमा आएको थियो ।

    तर, संविधानसभा र संविधानको पटकथा प्रचण्डले अनुमान गरे जसरी अगाडि बढेन । हेटौंडा महाधिवेशनमा राजनीतिक कार्यदिशालाई नै एमालेकरणको बाटोमा अगाडि बढाइसकेपछि त्यहीबाट खिलराज रेग्मीको नेतृत्वमा सरकारको प्रस्ताव आइसकेपछि नै टेडिएको बाटो पुनः कहिल्यै सिधा भएन । यो बाटोमा पहिलो संविधानसभासम्म लक्षित माओवादी रणनीति पूर्णतः सफल भयो तर कटुवाल प्रकरणमा चुकेपछि ढलेको माओवादी पुनः कहिल्यै उठ्न नसक्नेगरी थला पर्यो ।

    राजनीतिक विचारले लैस भएको ‘३ हजार सेनाले ९५ हजार नेपाली सेनालाई खान्छ’ भन्ने प्रचण्डको परिकल्पना धुलिसात भएको दिन नै प्रचण्ड आफ्नै राजनीतिक सहकर्मीहरुसँग टाडिए, एक्लो हुन पुगे । परिणामतः विचार र राजनीतिमा एक्लिंदै, खुम्चदै गर्दा उनी एमाले जसलाई ‘पार्टी नै होइन’ भनेर पटकपटक सार्वजनिक अभिव्यक्ति दिएका थिए उनैसँग घाँटी र मेरुदण्ड जोडेर हामी ‘विचार राजनीतिमा एउटै हूँ’ भन्नपर्ने थितिमा पुगे । यी दृष्टान्त पस्कनुको कारण छ ।

    त्यो कारण के भने अझै पनि र कालगतिले ठगेन भने अबको दशक पनि नेपाली राजनीतिमा प्रचण्ड नै शिखर पुरुष हो र उनैलाई केन्द्र बनाएर वा प्रचण्डकै पेरिफेरिमा नेपाली राजनीति गतिशील हुने निश्चितप्रायः छ । र, प्रचण्डको अन्तर्यभित्र नेपालको केन्द्रीय शासन प्रणाली, राजनीतिक अस्थीरता, संघीयताको अभ्यास र स्थायीत्व निहित छ ।

    भन्दा नमिठो लाग्ला । माओवादी शसस्त्र विद्रोह (जनयुद्ध शब्दलाई माओवादीले नै विस्तारै अस्वीकार गर्दै गइरहेको छ), त्यसैको आडमा भएको जनविद्रोह (२०६२/६३ को जनआन्दोलन) र परिरिस्थतिजन्य कारणबाट अगाडि बढेको संघीय नेपालको परिकल्पनामा बर्तमान सत्तारुढ नेकपाभित्र कठोर अन्तरविरोध थियो र सम्भवतः अहिले पनि छ । किनकि पूर्ववर्ती एमाले र माओवादी अहिले आपसमा घुलन भएको अवस्था छ । यही अवस्थाको परिणाम दुई पार्टी एक भए पनि व्यवहारतः सिद्धान्ततः उनीहरुबीच एकताको कुनै रुपरंग देखिंदैन, देखिएको छैन भन्ने स्पष्ट देखिन्छ ।

    पछिल्लो दुई वर्षको एकतापछिको राजनीतिक अभ्यास केलाउने हो भने पनि माओवादी केन्द्र र एमालेबीच कागजी एकता मात्र भएको हो भन्न सकिने दर्जनौं तथ्य, कारण र आधारहरु छन् । एकतापछिका चरणमा एउटा निश्चित अवधि उनीहरुबीचको कटूताले राजनीति अस्थीरता पैदा गरेको छ । उनीहरुबीचको गुटगत संघर्षले राजनीति अस्थीरता पैदा गरेको छ । उनीहरुबीचको सांगठनिक वा सत्ता संघर्षले अस्थीरता पैदा गरेको छ । स्थीर सरकार र स्थीर राजनीतिक संंस्कारको जनताको परिकल्पना असफभएको अवस्था हो अहिले ।

    भन्नका लागि उनीहरुले यसलाई दुई लाइन संघर्षको जलप लगाउने प्रयत्न नगरेका होइनन् । भन्नका लागि उनीहरुले यो अस्थीरता र मनमुटावलाई बैचारिक लाइनको रुपमा व्याख्या गर्ने भरमग्दूर प्रयत्न नगरेका होइनन् । भन्नका लागि उनीहरुले विवादलाई सिद्धान्तको जलप लगाईदिएर कार्यकर्तालाई भुलभुलैयामा राख्ने प्रयत्न नगरेका होइनन् । भन्नका लागि उनीहरुले यही नै महान बहस हो पनि नभनेका होइनन् । तर ब्यवहारमा उनीहरुबीचमा फगत सत्ता संघर्ष, शक्ति संघर्ष र भागबण्डाको राजनीति मात्र ज्यूँदो रहेको र त्यसैले पार्टीको प्राण धानिरहेको न छिपेको छ न लुकेको छ । मान्नुहोस् यही त एकताको घोषणापछिको सार्वभौम सत्य र तथ्य दुबै हो ।

    नेकपा अझै एक छैन भन्नुको प्रमाण के पनि हो भने अझै पनि त्यहाँ प्रचण्ड गुटको नाममा भागबण्डा हुन्छ, ओलीको गुटको नाममा भागबण्डा हुन्छ र माधव नेपाल गुटको नाममा भागबण्डा हुन्छ । यही त्रिकोणीय भागबण्डाको शिकार हँदाहुँदै नेकपा नामको पार्टीको नेतृत्वमा रहेको भनिएको दुई तिहाई बहूमतको सरकार देशलाई अस्तव्यस्त बनाएर हाँकिरहेको छ ।

    पछिल्लो तीन महिनाको अन्त्यहीन विवाद र त्यसपछिको सहमति वा सम्झौताको कसीमा जाँच्दा पनि यो तथ्य पुष्टि हुन्छ । भदौ २६ गतेको स्थायी समितिको वैठक संघीय मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठन आपसी सहमतिमा गर्ने निर्णमा टुंगिएकै हो । यही थियो तीन महिने विवादको टुंगो । यही थियो फुट्यो फुट्यो, आजको भोली नै पार्टी फुट्यो भनेर दूधलाई दही बनाउने जोर्डनको टुंगो ।

    भयो के ?

    भयो के भने एउटै सिटमा बसेर एउटै विमान हाँकिरहेका दुई पाइलटबीच फेरि कुरा मिलेन । न राजदूत नियुक्तिमा कुरा मिल्यो र मन्त्रीपरिषद् विस्तारमा । न कार्यकारी प्रधानमन्त्रीमा कुरा मिल्यो न कार्यकारी अध्यक्षमा । पार्टीमा प्रचण्ड सरकारका ओली, तर सरकारले गर्ने महत्वपूर्ण निर्णयमा पार्टीको निर्णयको मर्म जहाँबाट धोती लाग्यो त्यहीबाट पुनः नेकपा एमाले र माओवादी केन्द्र ब्यूँझन्छ र ब्यूँझियो ।

    नेकपा अझै एक छैन भन्नुको प्रमाण के पनि हो भने अझै पनि त्यहाँ प्रचण्ड गुटको नाममा भागबण्डा हुन्छ, ओलीको गुटको नाममा भागबण्डा हुन्छ र माधव नेपाल गुटको नाममा भागबण्डा हुन्छ । यही त्रिकोणीय भागबण्डाको शिकार हँदाहुँदै नेकपा नामको पार्टीको नेतृत्वमा रहेको भनिएको दुई तिहाई बहूमतको सरकार देशलाई अस्तव्यस्त बनाएर हाँकिरहेको छ । यसमाथि कहिले थापा गुटको संख्या थपिन्छ त कहिले रावल गुटको । झोलाभित्र झोला, झोलाभित्र झोला र झोलाभित्र खोला भनेजस्तो नेकपाको गुटगत, समूहगत, स्वार्थगत राजनीतिको भेऊ पाउन कस्तै राजनीतिक पण्डितलाई पनि हम्मे पर्नसक्छ ।

    पछिल्लो दृष्टान्त हेरौं न,

    कर्णालीबाट सोहोरिएको राजनीतिक मतविभाजनको व्यवहारले आकार लिंदैछ । भएको केही होइन, पूर्व एमालेका दुई गुट र माओवादी केन्दैकै असन्तुष्ट एउटा समूहले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध प्रदेश संसदमा अविश्वास प्रस्ताव दता गराएका त हुन् । पार्टीगत हिसाबमा बहुमतमा रहे पनि गुटगत हिसाबमा मुख्यमन्त्री अल्पमतमा छन् । यत्ति न हो । प्रचण्ड गुटका मुख्यमन्त्री विरुद्ध ओली र नेपाल गुट एक भए त्यसमा प्रचण्ड गुटका केही सदस्य थपिए । यत्ति हो कुरा ।

    तर यसको प्रभाव बाग्मती प्रदेशतिर सोझिंदैछ । ३ नम्बर प्रदेशका मुख्मन्धी डोरमणी पौडेललले आफूविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर भएको बताएको अहिले होइन, उहिले हो । प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका पूर्व माओवादी र नेपाल गुटले डोरमणीको कठालो तान्न थालेको अहिले होइन उहिले हो । हस्ताक्षर लिएकै तीन महिना भइसकेको छ ।

    शिकारमा प्रदेश १ का शेरधन राई पनि हुन सक्छन् । नाम मात्र शेर भएर भएन, पार्टी लाइनमा विभाजन भए भने उनी पनि बिरालोको अनुहार बाहिरिन पर्ने हुनसक्छ । किनकि, उनी पनि नेकपाकै मुख्यमन्त्री हुन् । अनुहार बाघको भए पनि बिरालोका भए पनि पार्टीमा विभाजन देखिएपछि लाग्ने कसैको केही होइन ।

    सारमा, नेकपाभित्रको गुटगत राजनीतिले गति लिएकै हो । चाहे त्यो कर्णाली प्रदेशमा होस् वा बाग्मति प्रदेशमा होस् वा बेनामे एक नम्बर प्रदेशमा । आगामी महाधिवेशनमा पार्टीको अध्यक्ष बन्ने घोषणा गरेका माधवकुमार नेपाल र सकेसम्म सर्वसम्मतिमा अध्यक्ष बन्नुँला भन्ने पुष्पकमल दाहालबीचको युद्ध केपी ओलीलाई बीचमा राखेर छेडिएको छ । यही युद्धकको परिणाम संघीयता विद्रूप अभ्यास भएको हो ।

    पार्टीभित्रको अविश्वासको यो विकेन्द्रीकरण हेर्दा रमाइलो लाग्ला तर व्यवहारमा यो संघीयताको नयाँ अभ्यासको प्रतिकूल छ । यहाँ बैचारिक दुई लाइनको संघर्ष र बैचारिक अन्तरविरोध कर्हीं कतै छैन भनेर कार्यकर्ता पंक्ति स्पष्ट हुन आवश्यक छ । पार्टी एकता सिद्धान्ततः होइन र बैचारिक रुपमा पनि होइन रहेनछ भन्ने भन्ने यो भन्दा बलियो प्रमाण खोज्न अन्त जानै पर्दैन । राजनीतिक अस्थीरताको बीऊ खोज्ने नारायण दाहालको भनाई र महेन्द्र शाहीविरुद्धको अविश्वासको प्रस्तावले ठीक गर्दैन भन्ने प्रचण्डको धम्की एउटै सिक्काको एकापटिको भाग मात्र हुन् । बुझ्नेले नेकपाभित्र शक्ति र संघर्षको यो विकेन्द्रीकरणलाई बुझिदिए भैगो ।

    सारमा,

    केपी ओली र प्रचण्ड दुबैले बराबरको प्रतिस्पर्धी पाएका छन् । राजनीतिक शतरञ्जमा ओली वाह हुनु र प्रचण्ड बिचरा हुनुमा यहाँ केही छ । तर प्रचण्ड बुहारी बिना मगरका लागि आफ्नो अस्तित्वको जोखिम मोल्न पनि सक्दैनथे र ओली बिना मगरका खातिर मात्र मौन सम्मति प्रचण्डम् गर्न पनि सक्दैनथे । नत्र प्रचण्ड उहिल्यै क्रमभंग भन्दै राजनीतिको अर्को मैदानमा हाम्फली सकेका हुन्थे ।

  • कनेक्टिकट चौतारी २०२० को विमोचन सम्पन्न

    कनेक्टिकट चौतारी २०२० को विमोचन सम्पन्न

    न्युयोर्क

    कनेक्टिकट नेपाली समाज (नेकोन – USA) को वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको सातौँ संस्करणको विमोचन कार्यक्रम सामाजिक दुरी कायम राख्दै वेस्ट हार्टफोर्डको वालकट पार्कमा अक्टोवर ११, २०२० मा सम्पन्न भयो । कवि धन लामा प्रमुख सम्पादक रहनुभएको उक्त प्रकाशनलाई संस्थाका पदाधिकारी, सल्लाहकार, समाजका विभिन्न अग्रज एवं सामाजिक व्यक्तिहरुको माझ वेस्ट हार्टफोर्ड टाउनकी मेएर सेरी केन्टरले विमोचन गरेका थिए । डेमोक्राटिक पार्टीको तर्फबाट राज्य प्रतिनिधिकी उम्मेदवार केट फर्रर एवं नेपालीका लागि अँग्रेजी भाषामा विशेष योगदान पुर्याउदै आउनु भएकी शिक्षा स्वयंसेविका डा. मेरी मेक्कीना पाहुनाको रुपमा उपस्थित भई आफ्ना अनुभवहरु बाँड्नुभएको भएको थियो ।

    संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतको सभापतित्वमा गरिएको कार्यक्रममा सचिव भद्र राईको उद्घोषण, उपाध्यक्ष जय राईको स्वागत मन्तव्य र प्रधान सम्पादक धन लामाले मुखपत्र प्रकाशनको सिलसिलामा सहयोग पुर्याउने महानुभावहरूलाई धन्यवाद व्यक्त गरेका थिए । 

    नयाँ आजीवन सदस्यहरूलाई प्रमुख सल्लाहकार अशोक श्रीवास्तवले आजीवन सदस्यताको प्रमाण पत्र वितरण गर्नुको साथै सम्पादन समितिका सल्लाहकारहरू, प्रधान सम्पादक र सदस्यहरूलाई प्रशंसा पत्र वेस्ट हार्टफोड टाउनकी मेयर सेरी केन्टरको हातबाट प्रदान गरिएको थियो । यस पटक पहिलो चोटी संस्थाको मुखपत्र अनलाईनमा र डिजिटल फ्लिपबुक संस्कारणमा पनि छापिएको कुरा मुखपत्रको प्रधान सम्पादक धन लामाले जानकारी गराए ।

  • नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा सम्मानित

    नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा सम्मानित

    न्युयोर्क

    नेपाली कला र संस्कृतिको प्रवर्धनमा निरन्तर योगदान पुर्‍याए बापत ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले नेपाली समुदायका खडग् बहादुर पुलामी उर्फ ‘बिक्की पुलामी’ लाई सम्मान गरेको छ । 

    न्युयोर्क क्वीन्सको ज्याक्सन हाईट्समा आयोजित एक कार्यक्रममा बिक्की पुलामीलाई बोरो प्रेसिडेण्ट आडम्सले निरन्तर सामाजिक सेवा गरेको भन्दै ‘साइटेसन-पत्र’ सहित सम्मान गरेको हो । 

    पुलामी सन् २००५ देखि निरन्तर समाजिक गतिबिधिमा कृयाशिल रहदैं आएका छन् । पुलामी भन्छन्; “समाज-सेवा एक सचेत एवम् जिम्मेवार नागरिकले समाज र राष्ट्र प्रति व्यहोर्नु पर्ने महत्वपूर्ण उत्तरदायित्व हो” ।

    उनले हालसम्म नेपालको बिभिन्न स्थानमा ७ वटा पुस्तकालयको निर्माण गरेका छन् ।

    नेपाली समाज, कला र संस्कृतिसँग सधैव नजिक रहेर काम गर्दै आएका पुलामीले २ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । नेपाली चलचित्र ‘जिन्दगी रक्स’ मा मुख्य खलपात्रको अभिनय गरेका उनले अमेरिकामा २ दर्जन भन्दा धेरै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

    मकै हाउस अनलाईन टिभीका संस्थापक बिक्की कार्यक्रम प्रस्तोता तथा शितोरियो कराते र तोंग ईल मो दोका डबल ब्ल्याक बेल्ट खेलाडी समेत हुन् । उनले हालसम्म नेपालको बिभिन्न स्थानमा ७ वटा पुस्तकालयको निर्माण गरेका छन् ।

    बिगत दश बर्षदेखि नेपालको धरान, इटहरी, काठमाडौं, धनगढी, सर्लाहीलगायत विभिन्न स्थानमा ‘स्वयंसेवाको माध्यमबाट नेतृत्व’ नामक कार्यशाला गोष्ठी चलाई सकेका बिक्कीले कोरोना महामारीको समयमा Jersey City Helping Group for COVID 19 नामक समूहमार्फत जर्सी सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने २ सय परिवारलाई प्राथामिक उपचारको साधन वितरण गरेका थिए ।

  • नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त

    नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त

    न्युयोर्क 

    न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको क्वीन्सस्थित एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ । यही अक्टोबर ७, २०२० देखि कार्यकाल प्रारम्भ हुने गरी दुई वर्षको लागि शाहीलाई न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सामुदायिक एल्महर्ष्ट अस्पतालको बोर्डमा नियुक्त गरिएको हो। 

    विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान रहेको छ । राज्यले समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनका लागि सबैको सहभागितालाई महत्व दिदै एड्भाइजरी बोर्डको व्यवस्था गरिएको हुन्छ । 

    नवनियुक्त शाही बताउँछन्; “अस्पताल सबैको हो, हाम्रो पनि हो । नेपाली समुदायमा जानकारीको अभावले कोही पनि उपलब्ध सेवाबाट बञ्चित हुन नदिने कुरामा म सचेत छु । दोभाषेको प्रयोग तथा सबैको पहुँचको लागि कुनै कसर बाँकी राख्दिन” । नियुक्तिको बारेमा; स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येबाट अस्पतालको बोर्डमा नियुक्ति गर्ने प्रचलन रहेको समेत शाहीले बताएका छन । 

    मिलन कुमार शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन् २००३ सालमा डिभी मार्फत स-परिवार अमेरिका प्रवेश गरेका थिए । शाहीले रिजवुड नेपाली समाजमा सचिव एवम् उपाध्यक्षको पदमा रही डेढ दशक भन्दा बढी सेवा पुर्याइ सकेका छन् । शाही हाल ‘दर्शन ठकुरी समाज ‘न्युयोर्कका अध्यक्ष पनि हुन । लामो समयदेखि न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी रियल्टर समेत हुन ।

  • स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै

    स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै

    कृष्ण खनाल ‘मदन’ / बार्सिलोना

    कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वार्तामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको छ । 

    उनले भने आर्राइगो सोसियल अन्तर्गत अध्यागमन अर्टिकल १२४.२ लाई खारेज गरिने छ । ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको कन्ट्राक्टका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो । 

    गठबन्धन सरकारका उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासी सम्बन्धि नयाँ परिवर्तन गरिने छ । यो सँगै आप्रवासीका कारण स्प्यानिस जनताको बेरोजगार भए भन्ने समस्या अन्त्य हुने उनले बताए । साथै उनका अनुसार पासपोर्टबाट इम्पाद्रोनामिएन्तो गरेका सबै आप्रवासीको विवरण खारेज गरिने छ ।  यसअघि निशुल्क स्वास्थ्य सुविधा लिन पासपोर्टबाट हेल्थ कार्ड (तारखेता सानीतारिआ) बनाउन बन्देज जस्तै इम्पाद्रोनामिएन्तो गर्न दिने व्यवस्था हटाइने छ ।           

    गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसियल खारेज लगायत  कानुनी रुपमा आप्रवासी नियममा सुधार गर्ने बताएका थिए । कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासी माथि कडाई गरिने उनले उल्लेख गरेका थिए ।      

    स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पेनिशहरु नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ । यहाँ प्रक्रिया शुरु भएको छ । पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो । यहाँ आउँदा लागेको ऋण छ, मेरो पुर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए ।

    पुनम लामा

    उता आप्रवासी माथि कडाई गर्ने तयारी गरेसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनी रुपमा बसेका नेपालीहरु समस्यामा परेका छन् । कोरोना संक्रमण बढेको बेलामा पनि सयौ नेपालीहरु धमाधम पोर्चुगल जान शुरु गरेका छन् । कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो । यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेसीडेन्सी कार्ड बनाउन सकिन्छ । 

    जर्मनीको भिसा लगाई दुई वर्ष अगाडि स्पेनको बार्सिलोनामा आएर बसेकी पुनम लामा पोर्तुगलको राजधानी लिस्बनमा पुगेकी छिन्। उनले भनिन्; स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पेनिशहरु नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ । यहाँ प्रक्रिया शुरु भएको छ । पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो । यहाँ आउँदा लागेको ऋण छ, मेरो पुर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए । भिसा लिन धेरै दु:ख पाए, भिसा लगाउन सजिलो छैन् त्यो माथि यहाँ कार्ड बनाउन समस्या छ ।  

    यस्तै सात वर्षदेखि बार्सिलोनामा परिवार सहित बस्दै आएका विनोद गिरी भन्छन्; पछील्लो समय स्पेनमा धेरै नेपाली आएका छन् । कामको समस्या छ । सरकारले ३ वर्षे आर्राइगो कार्ड दिने सिस्टम पहिले नै हटाउने भनेको थियो, अब त झन यस्तो अवस्था छ बन्द गराउने नयाँ कुरो भएन् । हाम्रो नेपालमा वेरोजगार, आर्थिक समस्याका कारण विभिन्न माध्यमबाट युरोपमा आउने शत प्रतिशत नेपालीहरुले १४, १५ लाखसम्म खर्च गरेर आएका छन् । ठुलो रकम खर्च गरेर आउन्छन्, यहाँ कार्ड बनाउन समस्या छ त्यो माथि भने जस्तो काम पाईदैन । अब २,४ वर्ष निकै गार्हो छ युरोपमा कामको, गिरीले बताए । 

    कोरोना भाइरसको महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ । हाल स्पेनमा बेरोजगारी दर ३३ लाख ६८ हजार अर्थात १५,३३ प्रतिशत रहेको छ । 

    स्पेनको तेस्रो ठुलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासी देश निकाला गर्ने, आर्राइगो बन्द गराउने,  कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरु संसदमा उठाउदै आएको छ । साथै वोक्स पार्टीले कानुनी रुपमा बसेका आप्रवासीले कुनै अपराध गरेको छ भने पनि देश निकाला गर्नुपर्ने लगायतका कयौं आप्रवासी विरोधि मुद्दा सारेको छ ।

    विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजार बढी पुगेको छ । भने कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ३२ हजार २ सय बढी रहेको छ ।

    युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरु फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन् । कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ । स्पेनको अर्थव्यवस्थामा अन्य देशको तुलनामा निकै गिरावट आएको छ। स्पेनमा निर्यात, लगानि र उपभोक्ताको खर्चमा तिव्र गिरावट आएको छ। तथ्यांक अनुसार पछिल्लो महिना स्पेनको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय रहेको देखिन्छ । स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट देखिएको छ।

  • न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्‍यु

    न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्‍यु

    न्युयोर्क       

    न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईटसमा एक ४३ वर्षीया महिलाको घर कै बेडरुममा  उडेर आएको गोली लागी मृत्‍यु भएको छ । बुधबार बिहान एक बज्नु केही अगाडि अपार्ट्मेन्टको अगाडिको झ्याल प्वाल पारेर आएको गोली गर्धनमा लागी ति महिलाको मृत्‍यु भएको न्युयोर्कस्थित सुरक्षा अधिकारीहरुले जनाएका छन् । ज्याक्सन हाईटसस्थित ३४ एभेन्यु र ९१ स्ट्रिटको सुबिधा सम्पन्न उक्त अपार्ट्मेन्टको कोठामा महिलाको मृत्‍यु हुने गरी गोली चलाउने को हो अहिलेसम्म पत्ता नलागेको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् ।  

    घटनास्थलमा घटना घटेको समयको भिडियो सार्वजनिक गरेको छ र भिडियोमा मोटर साईकल चढेर दुई जना हिंडेको देखिएको छ ।

    न्युयोर्क प्रहरी

    एक बज्ने बेलामा झ्यालको सिसा फुटेको आवाज आएपछि मृतक महिलाको १४ वर्षीय छोरा कुद्धै हेर्न आउँदा आफ्नी आमा लडिरहेको देखेपछि ९११ मा फोन गरेर खबर गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  तेश्रो तलामा रहेको अपार्ट्मेन्टमा मृत्यु भएकी  बर्थ एरिआगाको तिन वटा बच्चाहरु छन् ।  

    न्युयोर्क प्रहरीले घटनास्थलमा घटना घटेको समयको भिडियो सार्वजनिक गरेको छ र भिडियोमा मोटर साईकल चढेर दुई जना हिंडेको देखिएको छ । अपराधि पत्ता लगाउन मद्दत गर्नेलाई १० हजार अमेरिकी डलर पुरस्कार प्रहरीले घोषणा गरेको छ । गत महिना ज्याक्सन हाईटसस्थित ९६ स्ट्रिट र ३० अभिन्युमा गोली चल्दा एक ३३ वर्षीय पुरुष घाईते भएका थिए ।

  • अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

    अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

    न्युयोर्क       

    सेनेटर बर्नी स्यान्डर्सले आसन्न नोभेम्बरको अमेरिकी निर्वाचन डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको प्रतिस्पर्धा नभएर यो तानाशाह र प्रजातन्त्र बीचको भएको बताएका छन् । राष्ट्रपति दौडबाट बहिरिएपछि पहिलो पटक  सेनेटर स्यान्डर्सले जर्ज वासिङ्टन युनिभर्सिटीमा बिहिबार सशरीर उपस्थित भई सम्बोधन गर्दै अमेरिकाका सम्पूर्ण राजनीतिक दलहरु एक भएर राष्ट्रपति ट्रम्पबाट खतरामा परेको अमेरिकाको प्रजातन्त्रको रक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।  

    राष्ट्रपति ट्रम्पका मित्र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो गर्ने सोचेका होला वा अन्य कुनै देशमा त्यस्तो सम्भव होला तर यो अमेरिका हो, यहाँ जबरजस्ति सत्तामा बस्न सम्भव नै छैन

    बिहिबार स्यान्डर्सले वासिङ्टन डिसिबाट भनेका छन्; “यो निर्वाचन फगत डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको निर्वाचन होईन । यो निर्वाचन डोनाल्ड ट्रम्प र प्रजातन्त्र बीचको निर्वाचन हो । त्यसैले प्रजातन्त्रको बिजय हुनु पर्दछ”। बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाऊसस्थित पत्रकार सम्मेलनमा ‘यदि आफु चुनावमा पराजित भएको खण्डमा शान्तिपूर्ण तरिकाबाट शक्ति हस्तान्तरण गर्छु’ नभन्नुलाई अमेरिकी जनताले गम्भिर रुपमा लिनु पर्ने समेत स्यान्डर्सले बताएका छन् ।  बुधबारको पत्रकार सम्मेलनमा ट्रम्पले ‘निर्वाचनमा पराजित भएको अवस्थामा शान्तिपूर्ण तरिकाबाट शक्ति हस्तान्तरण गर्छु’ भनि नभन्नु खेदपूर्ण मानेका छन् । “राष्ट्रपति ट्रम्पका मित्र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो गर्ने सोचेका होला वा अन्य कुनै देशमा त्यस्तो सम्भव होला तर यो अमेरिका हो, यहाँ जबरजस्ति सत्तामा बस्न सम्भव नै छैन” स्यान्डर्सले बताएका छन् ।  

    स्यान्डर्सले राष्ट्रपति ट्रम्पलाई चेतावनि दिदै भने; “तिमी जति सुकै धनि हौ वा शक्तिशाली किन नहोस् त्यस्को कुनै मतलब छैन । तिमी अहंकारी र आत्ममोहित हुन सक्छौ । त्यो पनि मतलब भएन । तिमीले जे चाह्यो त्यही गर्न सक्छौ भन्ने सोच्छौ होला, त्यो पनि मतलब भएन तर एउटा कुरा प्रष्ट पार्छु ‘यो देशको प्रजातन्त्रको लागि धेरैले लडेका छन् तिमीले यो प्रजातन्त्रलाई नष्ट गर्न पाउँदैनौ”।

  • ठुलो पेट भएका मानिसमा चाँडै मृत्‍युको खतरा; एक अध्ययन

    ठुलो पेट भएका मानिसमा चाँडै मृत्‍युको खतरा; एक अध्ययन

    न्युयोर्क       

    पेट बढ्दै गएका मानिसहरुलाई दुखित तुल्याउने एक अध्ययनको नतिजा सार्वजनिक भएको छ । पेटमा बोसो भरिएर पेट ठुलो हुने मानिसहरुको कुनै न कुनै कारणबाट छिट्टै मृत्‍यु हुने एक नयाँ अध्ययनले देखाएको हो ।महिलाहरुमा औसत भन्दा १० सेन्टिमिटर ठुलो पेट भएको अवस्थामा कुनै न कुनै रोगको कारणबाट उनिहरुको छिट्टै मृत्‍यु हुने सम्भावना ८ प्रतिशत ज्यादा हुने र पुरुषहरुको औसत भन्दा १० सेन्टिमिटर पेट ठुलो भएमा छिट्टै मृत्‍यु हुने सम्भावना १२ प्रतिशत ज्यादा हुने उक्त अध्ययनले देखाएको छ ।  अध्ययनको नतिजा ब्रिटिश मेडिकल जर्नल (द बिएमजे) ले बुधबार सार्वजनिक गरेको हो । बिएमजे विश्व कै प्रतिष्ठित जर्नलहरु मध्येको एक मानिन्छ । 

    शरीरको मध्य भागमा रहेको पेटमा अधिक बोसो जम्मा हुँदा शरीरको मेटाबोलिजममा अबरोध उत्पन्न भई डाईबेटिज, मुटु रोग लगायत अन्य रोग शुरु हुन पुग्दछ

    यो नतिजा बिगत ३ अथवा २४ वर्षदेखि अध्ययनरत खोजकर्ताहरुले कुल २५ लाख मानिसहरु संलग्न भएका ७२ फरक अध्ययनबाट निकालिएको द बिएमजेले जनाएको छ । अध्ययनमा औसत भन्दा पेट ठुलो हुनेको मृत्‍यु छिटो हुने देखिए पनि हिप ठुलो हुने र तिघ्रा ठुलो हुनेहरुमा भने छिट्टै मृत्‍यु हुने खतरा निक्कै कम रहेको देखिएको छ । ति ७२ प्रकारका सबै अध्ययनमा शरीरको मध्य भाग वरिपरिको नाप लिईएको जनाइएको छ ।  अध्ययनको निष्कर्ष शरीरको मध्य भागमा रहेको पेटमा अधिक बोसो जम्मा हुँदा शरीरको मेटाबोलिजममा अबरोध उत्पन्न भई डाईबेटिज, मुटु रोग लगायत अन्य रोग शुरु हुन पुग्दछ ।  

    अध्ययनले मानिसको शरीरको मध्य भागमा जम्मा भएको बोसोलाई खतरानाक भनेको छ । पुरुषहरुमा हुने ‘बियर बेलिज’ महिलाहरुमा हुने ‘बेली’ मा भएको अधिक बोसोले एउटा छुट्टै प्रकारको ‘भिसिरल फ्याट’ निर्माण गर्दछ । जुन बोसोले शरीरको मध्य भाग पेटको वरिपरी हुने अंगहरु कलेजो प्याङक्रियाज् र पेटका आन्द्राहरुमा बोसोको निर्माण गरेर ति आन्तरिक अंगहरुलाई निस्कृय गराँउदै लैजान्छ, भनिएको छ । भिसिरल फ्याटलाई एक्टिभ फ्याट पनि भनिन्छ किनकी यो फ्याटले शरीरमा हर्मोनको कृयाकलापमा पनि बाधा उत्पन्न गराउँदछ र मानिसलाई डाईबेटिज हुने, उच्च रक्तचाप हुने, शरीरमा कोलेस्ट्रोरल बृद्धि हुने, क्यान्सर हुने, अल्जाईमर हुने गर्दछ । भिसिरल फ्याट मनिसको हात पाखुरा तिग्रामा हुने फ्याट भन्दा फरक फ्याट हो । मानिसको हात पाखुरा तिघ्रा र हिपमा भएको बोसोले हानी गर्दैन ।  

    श्रोत; द बिएमजे

  • गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ

    गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ

    न्युयोर्क

    दीपाको शब्दमा जीवन बोल्दछ । भावना बग्दछ । अनुभूति झल्कन्छ । जब उनका शब्दमाला गीत बनेर गुञ्जन्छ तब संगीत सार्थक लाग्दछ । नेपाली संगीताकाशका सुनौला तारा साहित्यानुरागी दीपा राई पुनको नयाँ गीत “मैले कोरेको चित्रमा…” म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको छ ।

    “मैले कोरेको चित्रमा मेरै प्रितको कथा छ

    गहिरो धेरै गहिरो मुटु भरीको गाथा छ”

    आधुनिक संगीतशिल्पी हरि लम्सालको संगीतमा नेपाल आइडलका प्रतिस्पर्धि गायक प्रताप दासको स्वरले गीत कर्णप्रिय बनेको छ । गीतमा कोरियोग्राफर निकेश खड्काले ‘साँचो मायाको आभाष जनम जनमसम्म हुन्छ । माया जुन रुपमा प्रकट भएपनि अन्तरमनको ढुकढुकी बनहर गुञ्जिरहन्छ’ भन्ने सन्देश दिन खोजेका छन् ।

    कलाकार प्रियङ्का कार्की र आयुष्मान जोशीको अभिनय जीवन्त छ । गीतको निर्माता बिमला राई हुन् ।

  • बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’

    बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’

    न्युयोर्क       

    माइक्रोसफ्टका सह-संस्थापक तथा विश्व स्वास्थ्य परोपकारी बिल गेट्सले कोभिड -१९ को बिषयमा अमेरिकी बर्तमान सरकारको काम गराईलाई निर्लज्ज भन्दै आलोचना गरेका छन् । बिल गेट्सले आइतबार फक्स न्युजसँगको कुराकानीमा ‘महामारीको ६ महिना बितेर यतिविघ्न क्षति गरिसकेको अवस्थामा हालसम्म पनि तुरुन्तै कोरोना परिक्षणको नतिजा प्राप्त गर्ने अवस्था छैन’ भन्दै सरकारको आलोचना गरेका हुन् ।  गेट्सले भनेका छन्; “अहिलेसम्म पनि मानिसहरुले २४ घण्टा भित्र रिजल्ट प्राप्त गर्न सक्दैनन । अहिले पनि यस्तो अवस्था हुनु अपमानजनक कुरा हो”।

    अहिलेसम्म पनि मानिसहरुले २४ घण्टा भित्र रिजल्ट प्राप्त गर्न सक्दैनन । अहिले पनि यस्तो अवस्था हुनु अपमानजनक कुरा हो

    जोन हप्किन्स् युनिभर्सिटीका अनुसार अमेरिकामा ६८ लाख ९७ हजार संक्रमित र २ लाख ८ सयको मृत्‍यु भई सकेको छ । जुन संख्या दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी क्यानाडा लगायत अन्य बिकसित देशहरुको तुलनामा संक्रमित र मृतकको संख्या दुबै उच्च छ । गेट्सले थप भनेका छन्; “अमेरिकामा राजनीतिक र स्वास्थ्य सम्वन्धि नेतृत्वले बर्तमान अवस्थामा कोरोना जाँचको लागि सन्यन्त्र अपर्याप्त भएकोको कुरा सार्वजनिकरुपमा स्वीकार गर्दै अब उप्रान्त कसरी सहज तरिकाले सेवा दिने बाटो पहिल्याउनु पर्दछ”।

    अमेरिका मृतकको संख्या दुई लाख कटे पनि सरकारको नेतृत्व गरी रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै ‘मास्क लगाउँदा कोरोनाबाट बच्न सम्भव छ’ भन्ने गरेका छैनन र आगामी नोभेम्बर ३ को निर्वाचन लक्षित चुनावी सभाहरु बिना मास्क र बिना सामाजिक दुरी आयोजना गर्दै आएका छन् । 

    समाचार संस्था सिएनएनले उच्चस्तरीय स्वास्थ्य अधिकारीको हवाला दिदै अमेरिकामा आगामी जनवरी १ सम्म कोरोनाबाट मृत्‍यु हुनेको संख्या ४ लाख कट्ने अनुमान गरिएको छ ।

  • अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्‍यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो

    अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्‍यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो

    न्युयोर्क       

    अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्‍यु हुनेको संख्या २ लाख कटेको छ । जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मंगलबारसम्ममा अमेरिकामा २ लाख पाँच जनाको कोरोना संक्रमणबाट मृत्‍यु भइसकेको छ। त्यसैगरी ६८ लाख ६१ हजार संक्रमित भई सकेका छन् । अमेरिका विश्वमा नै कोरोनाको कारण धेरै मृत्‍यु हुने देश भएको छ ।  

    मृत्‍यु हुनेको संख्यामा भने हालसम्म न्युयोर्कमा सबैभन्दा धेरै  ३३ हजार ९२ जनाको मृत्‍यु भै सकेको छ । 

    हालसम्म अमेरिकामा सबैभन्दा धेरै क्यालिफोर्निया राज्यमा ७ लाख ९१ हजार, दोश्रोमा टेक्सास ७ लाख ३४ हजार, तेश्रोमा फ्लोरिडामा ६ लाख ८५ हजार, चौथोमा न्युयोर्क ४ लाख ५० हजार र जर्जियामा ३ लाख ७ हजार संक्रमित भएका छन् । मृत्‍यु हुनेको संख्यामा भने हालसम्म न्युयोर्कमा सबैभन्दा धेरै  ३३ हजार ९२ जनाको मृत्‍यु भै सकेको छ । 

    अमेरिकामा अहिले पनि दैनिक औसत ७ सय ७० जनाको मृत्‍यु भै रहेको छ ।

  • गायिका रोजिना गुरुङको ‘मेरो प्रित तिमीलाई’ भिडियो सहित सार्वजनिक

    गायिका रोजिना गुरुङको ‘मेरो प्रित तिमीलाई’ भिडियो सहित सार्वजनिक

    न्युयोर्क

    न्युयोर्ककी चिरपरिचित उदयिमान गायिका रोजिना गुरुङले यस पटक आफ्नो प्रितको घोषणा गीत मार्फत गरेकी छिन् । लामो समयदेखि नेपाली संगीत साधनामा तल्लिन गायिका रोजिना गुरुङको अर्को रोमाण्टिक गीत “मेरो प्रित तिमीलाई” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । नेपालदेखि नै गायनमा अभ्यस्त गायिका गुरुङले प्रबासमा रहँदा समेत गायनमा निरन्तरता दिंदै आएकी छिन् । नेपालमा छँदा उनी नेपाली तारा नामक टिभी रियालिटी शोको उत्कृष्ट १० मा समेत परिसकेकी थिइन् ।यसअघि पनि उनका गीतहरु दर्शकश्रोता माझ आइसकेका छन् ।

    प्रायश: आफ्नो गीतमा आफै मोडलिङ् गर्ने गायिका गुरुङ् मोडलिङ्मा पनि उत्तिकै जम्ने गरेकी छिन् । न्युयोर्कस्थित ॐ मेगा अडियो एण्ड भिडियो प्रडक्सनले तयार पारेको म्युजिक भिडियोको छायांङ्कन अमेरिकामा नै तयार पारिएको हो । गीतको रचनाकार्य प्रेमिल गीतहरू रच्ने गीतकार श्रीजना डंगोलले गरेकी छिन् । प्रस्तुत गीतमा संगीत साधक ओम कर्माचार्यले संगीत दिएका छन् भने युवा एरेण्जर बिनय गुरुङले गीतलाई पूर्णता दिएका छन् ।

    एकपटक सुनेर नअघाउने खालको गीत बनेको गायिका गुरुङ् बताउँछिन् । गीत राम्रो बनेकोले दर्शक श्रोताबाट सर्जकहरुले धेरै नै आशा गरेका छन् ।

  • शेयर बजार र पम्प एण्ड डम्पको खतरा

    शेयर बजार र पम्प एण्ड डम्पको खतरा

    सरोज सिग्देल

    शेयरबजार अर्थात् पूँजी बजारलाई अर्थतन्त्रको प्रतिविम्व र तरलता सन्तुलन गराउने वित्तीय औजारको रूपमा विकास गर्ने उदेश्यले नेदरल्याण्डमा सन् १६०२ मा आम्स्टरडम स्टक एक्सचेञ्ज स्थापना भई सन् १६०६ मा डच ईस्ट इन्डिया कम्पनी Dutch East India Company (VOC) को धितोपत्र जारी गरेर धितोपत्र बजारको सुरू भएको विश्व इतिहास छ । आम्स्टरडम स्टक एक्सचेञ्ज नेदरल्याण्ड पछि (सन्१७२४) फ्रान्स, (सन् १७९०) अमेरिका , (सन् १८०१) बेलायत, (सन् १८०८) ईटाली, (सन् १८२०) जर्मनी, (सन् १८१३) स्पेन, (सन् १८६१) क्यानडा, (सन् १८७२) अष्ट्रेलिया र (सन् १८७५) भारतमा स्यापना भएका हुन ।

    नेपालको इतिहास हेर्ने हो भने सन् १९९३ मा स्थापना भएको नेपाल स्टक एक्सचेञ्ज नै  हो, यद्यपि सन् १९३७ मा विराटनगर जुट मिल्सले शेयर जारी गरी सर्वसाधारणबाट पूँजी सङ्कलन गरेको पाईन्छ। कम्पनी ऐन २०२१ अनुसार वि.सं. २०३३ असार २२ गते सेक्युरिटी खरिदबिक्री केन्द्र (SMC) को स्थापना भएको थियो भने वि.सं. २०३८ देखिमात्र विविध रूपमा दोश्रो बजारमा धितोपत्रको कारोबार शुरु भएको पाईन्छ। धितोपत्र कारोबार सम्बन्धि ऐन भने सर्वप्रथम २०४९ मा जारी भई त्यसको पहिलो संशोधन पश्चात वि.सं. २०५० जेष्ठ १३ गते सेक्युरिटी एक्सचेञ्ज सेन्टर (SEC) स्थापना भएको र त्यसैको नाम परिवर्तन भई हालको नेपाल स्टक एक्सचेञ्ज लि. (NEPSE) भएको हो र यसले धितोपत्र कारोबारमा बजारको संगठनात्मक विकास र औपचारिक दोश्रो बजारको रूपमा कारोबार शुरू गरेको हो।

    पम्प एण्ड डम्प

    पुँजी बजारलाई आफ्नो महत्त्वाकांक्षा पूर्ति गर्ने खुड्किलाका रुपमा परिभाषित गर्ने लगानीकर्ताहरुले निकै चलाखीपूर्ण तरिकाले  धोकेवाजी गर्ने गर्दछन् र यसलाई व्यक्तिगत रुपमा लिइँदैन अर्थात  कुनै पनि व्यक्ति, समूह वा संगठित संस्थाहरुले कुनै निश्चित कम्पनीको शेयरलाई अत्याधिक उचाईमा पुर्याउने र आफूसँग भएको शेयर उच्च विन्दुमा  अतिरञ्जित तरीकाले बेचेर मुनाफा कमाउने प्रक्रियालाई ‘पम्प एण्ड डम्प’ भनिन्छ । यसमा विभिन्न समूहहरु जोडिएका हुन्छन् । सर्वप्रथम (Risk of resume) समय परिस्थिति सुहाउने गरी उपलब्ध शेयरहरु मध्येबाट केही शेयरहरूको छनौट गरिन्छ, ती शेयरहरूको बारेमा बजारमा हल्ला फैलिन्छ (यस्तै हुँदैछ रे है ?) अनि ब्लगहरु लेख्न थालिन्छ, तत्पश्चात त्यसले समाचारको रुप लिन्छ र त्यस समाचारलाई धेरैभन्दा धेरै लगानिकर्ता समक्ष पुर्याइन्छ जसको कारण बजारमा अत्याधिक मागको सृजना हुन्छ l सुरुमा तिनै समूहले खरिद गर्छन् र तुरुन्त विक्रि गरिन्छ यसबाट यो समूहले ठुलो मुनाफा आर्जन गर्दछन् । सामान्यतया यसको अवधि ३ देखि ५ दिनसम्म रहन्छ ।

    ठूला मानिएका कम्पनीहरुको जस्तै: वालमार्ट, माईक्ररोसफ्ट, एप्पल र टेस्ला सर्वाधिक उचाइको बिन्दुमा पुगे । त्यसै समयमा एप्पलका कार्यकारी प्रमुखले आफूसँग रहेको शेयर ठूलो मात्रामा बिक्री गरेका थिए त्यसको लगत्तै बजारले ठुलो करेक्सन लिएको थियो

    गतहप्ता अमेरिकी शेयरबाजारमा पनि ठूलो उतारचढाव देखिएको थियो । ठूला मानिएका कम्पनीहरुको जस्तै: वालमार्ट, माईक्ररोसफ्ट, एप्पल र टेस्ला सर्वाधिक उचाइको बिन्दुमा पुगे । त्यसै समयमा एप्पलका कार्यकारी प्रमुखले आफूसँग रहेको शेयर ठूलो मात्रामा बिक्री गरेका थिए त्यसको लगत्तै बजारले ठुलो करेक्सन लिएको थियो तसर्थ यसलाई पनि पम्प एण्ड डम्प भएको अनुमान गरिएको छ । बजारले करेक्सन लिनु भनेको नियमित प्रक्रिया नै हो तर चितुवा कराउनु र बाख्रा हराउनु  एकैसाथ भएको देखिन्छ ।

    शेयर बजार एक लडाइको मैदान हो जहाँ  मुनाफा आर्जन गर्नेहरु मात्र बजारमा टिकिरहन सक्दछन्  भन्ने यो समूह उचित मौकाको पर्खाइमा बसिरहेका हुन्छन् जब लाग्छ बजार अनुकूल छ तब यो समूहले आफ्नो कार्य थालनि गर्दछ सर्वप्रथम सस्तो मूल्यको शेरहरुलाई बढाउने कार्यको थालनि हुन्छ  साथै दैनिक कारोबार रकम उच्च भएको, तरलता अधिक भएको, नयाँ लगानिकर्ताहरु आकर्षित भएका र आफूले छनौट गरेका सेयरहरुलाई  तल-माथि गर्नसक्ने समयलाई मौका छोपि आफ्नो योजनाहरु सफल पार्न लागि परिरहेका हुन्छन् । यसको ताजा उदाहरण सम्झने हो भने हामीले February 27/2020 फर्केर हेर्न सकिन्छ ।

    यसबाट हामीहरु कसरी बच्न सकिन्छ त भन्ने प्रश्न तपाईंको मनमा आयो होला ? जुन स्वभाविकै पनि हो । रातारात धनी हुने सुरमा आफुले गरेको अध्यन, विश्लेषणलाई थाति राखी हल्लाको भरमा नपर्न नै यसको मुख्य समाधान हो । सारा विश्व दिनरात केही नभनि यति लामो समयदेखि कोरोना भाइरसको भ्याक्सिनको खोजीमा छ तर आजसम्म पनि सफलता हासिल हुन सकेको छैन उदाहरण हाम्रो सामु नै छ l रातारात केही पनि परिवर्तन हुँदैन र जसरी पनि कमाउने  हो भन्ने सोच भन्दापनि कम्पनीको उचित विश्लेषण गरी दीर्घकालिन लगानिका योजनासाथ अगाडि बढ्ने लगानिकर्ताहरु नै सफल हुने गर्दछन् ।  

  • बुधबार न्युजर्सीमा भुकम्प गयो

    बुधबार न्युजर्सीमा भुकम्प गयो

    न्युजर्सी  

    बुधबार बिहान न्युयोर्कसँगै जोडिएको राज्य न्युजर्सीमा भुकम्प गएको छ । बुधबार बिहान २ बजे रातको समयमा न्युजर्सीमा भुकम्प गएको हो । नेशनल वेदर सर्भीसको अनुसार मध्य न्युजर्सी क्षेत्रमा करिव १३ सेकेण्ड कम्पन महसुस गरिएको थियो । ३ दशमलव १ म्याग्निच्यूडको भुकम्पको धक्काले कुनै क्षति भने पुर्याएको खबर छैन ।  

    निकै बिरलै भुकम्प जाने न्युजर्सीमा यस अगाडि सन् १९९२ मा पनि फ्री होल्ड वरपर ३ दशमलव १ म्याग्निचुडको भुकम्प गएको थियो । त्यस्तै सन् २०११ को अगष्ट   महिनामा सेन्ट्रल भर्जिनियामा गएको भुकम्पको धक्का न्युजर्सीमा महसुस गरिएको थियो ।

  • कथा : निशा

    कथा : निशा

    प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    “मेरो जीवन निकै छोटो छ । मलाई थाहा छैन म अब कति दिन बाँच्नेछु । जति दिन बाँच्नेछु, म तपाईकै अँगालोमा बाँच्न चाहन्छु” ।

    यति बोल्दै निशाले मलाई बेसरी अँगालो मारिन् । मेरो छातिमा आफ्नो टाउको लुकाएर सुँक्क सुँक्क रोइन् । मैले आफ्नो छाति भिजेको महसुस गरेँ । हुन त आकास पनि रोइरहेको थियो त, सावनकोे धर्म । त्यो झरीले भन्दा मलाई उनको झरीले बढ्ता रुझाइरहेको थियो । मेरा भिजेका औँलाहरु चुम्दै बोलेकी थिइन्, ‘मेरो शेषपछि तिमीले म जस्तै माया गर्ने मान्छेसँग जीवन बिताउनु है । मेरो एक एक सपना, उस्को सपना पुरा गरेर पूर्ति गर्नु । उस्लाई हँसाएर – मलाई हँसाउनु । उसलाई धेरै प्यार लुटाउनु । विवाहको हनिमुन मनाउँदा पोखरा लैजानु । उस्लाई पहेँलो रंगको साडी उपहार दिनु । मलाई साह्रै मन पर्छ – पहेँलो । सायद मरेपछि आत्माको अस्तित्व रहन्छ र धर्मले परिकल्पना गरेजस्तो त्यो आत्मा शक्तिशाली हुन्छ भने म तिम्रो श्रीमतीको हातमाथि आफ्नो हात पसारेर बसेकी हुनेछु र तिमीले दिएको पहेँलो साडी थापिलिनेछु । मेरो शेषपछि, तिमी एक्लै बाँचौला भन्ने मलाई पिर छ ।’

    उनका प्रेमिल सजल आँखामा आँखा जुधाउँदै बोलेको थिएँ, ‘निशा, म तिमी बिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ । सायद जीवन एक्लिएरै काट्छु होला…।’

    एक्कासी “चिया सेलाइ सक्यो… !” तिखो आवाज आयो । कर्कश बोलीले म झँसङ्ग झस्किएँ । 

    धेरै पुरानो सम्झनामा पो हराएको रहेछु । श्रीमतीले टेबुलमा सुटुक्क छोडेर गएको चिया पनि सेलाइसकेको थियो । चियाको पारखी हुँदाहुँदै पनि सेलाएको चिया पिउने मेरो आदत थिएन । एउटा चिसो सम्झनामा हराउँदा हराउँदै प्रिय चिया पनि गिलासमै सेलाएर बलिदान भइसकेको रहेछ ।

    समयको श्रृंखलाबद्द ठट्टामा म चोइटिएको छु, खुइलिएको छु । जीवनमा प्रिय चिज केही पनि प्राप्त भएन । अप्रिय चिज भने बिना याचना पनि पाइरहेँ । समयसँगको निरन्तर प्रतिद्धन्दिताले अव यस्तो लाग्न थालि सक्यो कि; म हार्दा यो समयले केक काट्छ । म रुँदा समयले दीपावली मनाउँछ । समय जति क्रुर दुश्मन, अन्य दुश्मन छैन मेरो ।

    निशा, मेरो पूर्व प्रेमिका । कक्षा ६ देखि नै हाम्रो माया पल्लवित भएको थियो । पहिलो नजरमै अंकुरित प्रेम । उनी सित बाँकी जीवन बिताउने सपना देखेको थिएँ । भाग्यको खेल भनुँ, ब्लड क्यान्सरले उनलाई मेरो जीवनबाट धेरै टाढा लग्यो । त्यो वियोगले मेरो मुटु बिक्षिप्त बन्दा सोचेको थिएँ, उनीबिनाको जीवन सशरीर बौलाएरै अस्त होला । तर, म बौलाइन । सायद मेरो बहुलठ्ठी समयलाई मञ्जुरी थिएन । उनी बिनाको जीवन एउटा बकसपत्र जस्तो भयो, जस्मा समयको करारनामा थियो, सम्झौता गरी बाँच्नुपर्ने । अहिले टेबुलमा सेलाएको चिया पनि तिनै सम्झौताको एक हरफ हो ।

    टेबुलको चियालाई गुडबाइ गरेर म अर्को कोठामा प्रवेश गरेँ । जहाँ एउटा सानो लाइब्रेरी थियो । किताबको चाङ्गबाट एउटा पुरानो डायरी निकालेँ । आँखा किन किन भरिएर आयो । आँखाले यति बोझ उचाल्यो कि आँखा नै पुछेपछि मात्र चश्माभित्रको दृष्य उज्यालिए । त्यो डायरी पनि निशाले नै दिएको उपहार थियो । निशाको जब जब ज्यादै याद आउथ्यो म होस वा बेहोसमा त्यही डायरी च्यापिरहेको हुन्थें । आर्यघाटले दावी नगरेको निशाको एक मात्र निस्सा, मेरो उदास हरपलको सहचरी, मेरो प्रणय डायरी !

    डायरीको बीचबाट एउटा कागजको टुक्रा फुत्त झर्यो । उठाएर हेरेँ । निशाले आफ्नो मृत्युको सात दिनअघि लेखिएको एउटा पत्र थियो, केरमेट अक्षरमा लेखिएको उहीँ ब्यहोरा, जो उनले मलाई वारम्वार भन्ने गर्थिन– तिमीलाई जव धेरै दुख लाग्छ, धर्तीतिर आँखा झुकाउनु । जव सुख हुन्छ, आकासतिर नजर उठाउनु, म तिमीसँग नजर जुधाइरहेकी हुनेछु । मेरो शेषपछि तिमीले म जस्तै माया गर्ने मान्छेसँग जीवन बिताउनु है । उसलाई धेरै प्यार लुटाउनु । विवाहको हनिमुन मनाउँदा पोखरा लैजानु । उस्लाई पहेँलो रंगको साडी उपहार दिनु… यस्तै यस्तै !

    निशाको मृत्यु भएको दिन म जीवनमा कहिले बिर्सन सक्दिनँ । सिमसिम पानी परिरहेको थियो । आर्यघाटमा उनको लास सुताइएको थियो । उनको अल्पायु जीवनलाई हेरेर काललाई सतोसराप नगर्ने कोही थिएन त्यहाँ । पटपट जलिरहेको उनको लास सम्झेर म अहिले पनि विक्षिप्त हुन्छु । त्यो फागुन पाँच, मेरो जीवनकै सवैभन्दा कालो दिन ।

    मैले निशाको मृत्युपछि विवाह नगर्ने निधो गरेँ । तर परिस्थितिले मलाई एक्लै रहन दिएन । घरपरिवारबाट विवाहको ठुलै दवाव आयो । विशेषत आमा धेरै दुखी हुनुभयो । आमाको खुसीको लागि भए पनि विवाह गर्न म बाध्य भएँ । विवाहको मिति ज्योतिषबाट तोकियो । मिति सुन्दा म अक्क न बक्क भएँ । विवाहको मिति पनि फागुन पाँच अर्थात निशाको स्मृति दिवशमै परेको थियो । मिति टार्ने भरमग्दूर कोसिस गरेँ । अरु लगनको खडेरी परेको त्यो वर्षमा टार्नै सकिनँ ।

    विवाह पछि हनिमुन जाने कुरा आयो । निशाको अन्तिम इच्छा पुरा गर्न मैले प्रस्ताव राखेँ पोखराको । श्रीमतीले ‘मलाई पोखरा पटक्कै मन पर्दैन’ भन्दै टारिन् । बरु दामनतिर जाऔँ । हिउँ पर्ने बेला पनि हो । हिउँमा रमाउन पनि पाइन्छ । दुवैको प्रस्तावको लामै द्वन्द भयो, म हारेँ । परिवारको पनि मेरो नवजीवनको उषाकालमा नवदुलहीप्रति बाक्लै सहानुभूति भएकोले दामन नै जान बाध्य भएँ । हनिमुनको स्वप्निल हिउँमा शितलिनुको सट्टा आगोमा पोलिएर न्यास्रिएर फर्केँ । हनिमुन केवल श्रीमतीको दुई थान हाँसोमा सिमित भयो ।

    विवाह भएको पहिलो वर्षान्तमा श्रीमती एमए पास भएको थियो । कुनै ठूलो सपिङ्गमलमा सपिङ्ग गराउने इच्छा जाहेर गरेँ । श्रीमती खुसी नै भई । सपिङ्ग मलतिर लगेर पहेँलो निकै महँगो खाले साडीको अर्डर गर्दा उनले ‘मलाई पहेँलो रंग फिटिक्कै मन पर्दैन । जोगिनी जस्तो लाग्छ । हरियो कलरको जुन बुट्टे साडी किने पनि हुन्छ’ भन्दै जिद गर्न थालिन् । मैले पहेँलो रंगको सारीमा इच्छा देखाउनुको कारण उस्लाई सम्झाउनै सकिनँ । रंगको छनौटमा पनि उसैले जिति, म हारेँ । निशाको अन्तिम सपना त्यहाँ पनि हार्यो ।

    यसरी नै दिन बित्दै गयो । विवाहको तेश्रो वर्ष । फागुन पाँचको मेरिज एनिभर्सरी मनाउन उस्ले एउटा सरप्राइज केक ल्याएको रहेछ । मैले केकमा खासै दिलचस्पी नदिँदा उस्ले चित्त दुखाउँदै बोलेकी थिई, ‘विवाह भएको तीन वर्ष भइसक्यो । आजसम्म तँपाईले त मेरो कुनै पनि खुसीमा साथ नै दिनु भएको छैन । थाहाँ छैन, तपाईको मनमा के कुरा खेलिरहेको छ ? एउटी पत्नी चाहिएको छ तपाईलाई, यो समाजमा देखाउनको लागि । वंश चलाउनका लागि, सन्तान जन्माउने एउटा मेसिन चाहिएको छ ।’

    आँखाभरि आँसु टिलपिल्याएर फेरि बोली, ‘आज फागुन पाँच भनेर पनि तपाईले बिर्सनु भयो होला । आजकै दिन हो हामी एकाकार भएको । यही एकाकार दिवशलाई खुसीले रंगाउन केक ल्याएको छु । म चाहन्छु यो केक तपाईको हातबाट काटियोस् ।’ उस्ले टेबुलमा केकको छेवैमा रहेको चक्कुतिर आँखा झुकाई ।

    यस्तो लाग्छ, तपाईको बाहिर अरु नै कोही स्त्री छ । बाहिर स्त्री नहुने कोही पनि पुरुषले एउटी स्त्रीको भरिलो जवानीलाई पाएर पनि आँखा चिम्लेर बस्न सक्दैन । पुष्ट स्त्रीको शरीर देखेर हजार वर्ष कठोर तपस्या गर्ने विश्वामित्र ऋषिका आाँखा त उघ्रिएका थिए

    फेरि मतिर हेर्दै बोली, ‘तपाईका आँखामा मेरिज एनिभर्सरीको दिन पनि पीडाको आँसु !’

    मैले आफ्नो आँसु न त लुकाउनै सकेँ न त्यस्को रहस्य चक्कुले केक चिरे जस्तो चिर्नै सकेँ । आज निशाको स्मृति दिवश हो र म उनैको स्मृतिमा हराउँदै छु भनेर भन्न सकिनँ । कस्तो संयोग जिन्दगीको, कस्तो मजाक समयको मप्रति ! एकातिर श्रीमतीको मेरीज एनिभर्सरीको खुसीको केक लडिरहेको छ, अर्कोतिर स्मृतिमा आफ्नी पूर्वप्रेमिकाको लास जलिरहेको छ । म किंकर्तव्यविमूढ भएर केकतिर यसो हेरेँ ।

    एकछिन पछि श्रीमतीले मेरीज एनिभर्सरी अंकित केकमा चक्कुले घाउ बनाएर, त्यस्को सानो टुक्रा मेरो ओठमा जर्वजस्ती घुसारी । जर्वजस्ती घुसारिएको गुलियो केकको टुक्रा पनि सारै तितो लाग्यो । केकले मेरो मुखभित्र छिरेर आफ्नो धर्म भुल्यो । त्यतिबेला मात्र मेरो स्मृतिमा आइरहेको थियो निशालाई बोलेको एक एक वाक्यहरु, तिमी बिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ । म कसैसित पनि विवाह गर्दिन । तर, केकका मोटा मोटा अक्षरहरु, मेरीज एनिभर्सरीले मलाई ब्यङ्ग्य नै गरिरहेको थियो । सम्हाल्न सकिनँ र त्यहाँबाट उठेर अर्को कोठामा गएँ । मेरो यस्तो हर्कतले श्रीमती चिसिएका आँखा लिएर टोलाएर बसिरही ।

    राति मैले ऊ कोठामा प्रवेश गरेको पनि चाल नपाए जस्तो गरी आँखा चिम्लेर बसिरहेँ । आफ्ना लुगा फुकाली टेबुलमा अव्यवस्थित नै छोडेर नाइटवेयर लगाई र म नसुतेको नै चाल पाएर होला, लामो सुस्केरा फेर्दै गुनासो गरी, ‘यस्तो लाग्छ, तपाईको बाहिर अरु नै कोही स्त्री छ । बाहिर स्त्री नहुने कोही पनि पुरुषले एउटी स्त्रीको भरिलो जवानीलाई पाएर पनि आँखा चिम्लेर बस्न सक्दैन । पुष्ट स्त्रीको शरीर देखेर हजार वर्ष कठोर तपस्या गर्ने विश्वामित्र ऋषिका आाँखा त उघ्रिएका थिए । तपाईका आँखा त एउटा सामान्य पुरुषको आँखा मात्र हो ।’

    एकक्षण चुप लागेर फेरि बोली, ‘एनिभर्सरीको केक लत्याएर हिँडने यो संसारमा तपाई मात्र होला । बाहिर कोही छ भने ल्याउनुस्, हजुरको खुसीको लागि मलाई सौता स्वीकार्न पनि मञ्जुर छ ।’

    मैले सहन सकिनँ । रिसाएर जवाफ फर्काएँ; ‘हो… सौता छ तिम्रो ।’

    ‘कहाँ ?’

    ‘मेरो मुटुमा ।’ कठोर बनें ।

    ‘ऊ अहिले कहाँ छे ? भन त उस्को वारेमा । कहाँ छे ऊ ? म आफै लिएर आउँछु उस्लाई यो घरमा ।’ उस्ले ढिपि गरी ।

    ‘जाऊ, लिएर आऊ सौतालाई, पल्लो कोठाको लाइब्रेरीको डायरीमा छ ।’ पहिलो पटक रहस्य चिर्दै, रिसले बोल्दै मैले सिरकले आफूलाई गम्लर्म छोपें ।

    यति भनेको केही दिनपछि मेरो जीवनको अति प्रिय एउटा डायरी हरायो । केही दिनपछि डायरी उहीँ ठाउँमा भेटाएँ ।

    केही दिन सामान्य रुपमा बित्यो । श्रीमती गर्भवति भई । लिङ्ग पहिचान गर्ने क्रममा छोरी भनेर जानकारी पाएँ । निकै खुसी थिएँ म त्यो दिन । उनले भिडियो एक्सरे गरेर लिङ्ग पहिचान गरेको दिन जिस्किँदै सोधेकी थिई, ‘डाक्टरले भिडियो एक्सरेमा छोरी भन्नु भएको छ । अव छोरी जन्मियो भने हजुरले नाम के राख्नुहुन्छ ?’

    मेरो हरेक प्रस्ताव हारेकोले उस्को प्रश्नलाई नसुने जस्तो गरेर लत्याएर बसेँ । उसैले फेरि प्रतिप्रश्न गरी ‘म राखुँ ?’

    ‘ओके ।’

    ‘निशा ।’

    म छक्क परेँ ।

    ‘के भन्यौ ?’ मैले सोधेँ ।  

    ‘निशा ।’

    ‘कसरी थाहाँ पायौ ?’

    ‘जसरी तपाईले आफ्नो डायरी हराएको थाहा पाउनु भयो ।’

    म मौन भएँ ।

    त्यस्को केही दिनपछि हामी डाक्टर कहाँ गयौ । महिना पुगिसकेको थियो । ‘डाक्टरको सामान्य चेकअपपछि श्रीमतीले सोधी, ‘डाक्टर साहेव, बच्चा जन्मिने सम्भावित मिति कहिले होला ?’

    ‘फागुन यस्तै ५, ६ गतेको चान्सेस धेरै छ । बच्चा उल्टो बसेकोले सि सेक्सन गर्नुपर्छ ।’

    श्रीमती मुसुक्क हाँसे र डाक्टरलाई भनी, ‘उसो भए फागुन ५ गते नै अप्रेसन गर्नुस् ।’ यति भनेर, लजाउँदै मेरो शरीरमा अडेस लिई ।

    मैले पहिलो पटक श्रीमतीलाई जिस्किँदै बोलेँ, ‘उसो भए तिम्रो सौतालाई फागुन पाँचमै यो धर्तीमा झार्ने भयो होइन र ?’

    श्रीमतीले आफ्नो पेटमा नजरर घोप्टयाएर बोली, ‘निशा, तिमीलाई यो धर्तीमा ५ गते नै वेल्कम, ६ मा होइन ।’

    म उस्को लाम्चो, चुच्चो परेको पेटमा स्नेहालु हात सल्बलाउँदै हासेँ । यति मीठो हाँसो सायद हाम्रो दाम्पत्य जीवनको पहिलो हाँसो थियो । पेटमा कोही जुरुक उफ्रियो । मैले जिस्किँदै सोधेँ, ‘को उफ्रेको यो ?’

    श्रीमतीले कानै छेउमा हावाले बोली, निशा ।’ फेरि अलिक ठूलो स्वरमा भनी, ‘सुन्नु भएन, निशा । अझ नसुनेको भए भनुँ, निशा, निशा, निशा…।’ चारैतिर निशासिवाय केही सुनिएन । मैले खुसीले आकासतिर पुलुक्क हेरें । यस्तो लाग्यो, निशा हाँसेर माथि निलो आकासबाट मसित आँखा जुधाइरहेकी छिन् । श्रीमतीको खित्खितिमा पनि निशा नै गुन्जिरहेको आभाष भयो । पलक्षणको लागि निशा मञ्चित भयो… निशासिवाय केही सुनिनँ । श्रीमतीको ममतालु पेटमा हात राखेर, पहेँलो साडीमा सुसज्जित श्रीमतीलाई हेरी रहें ।

  • अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

    अमेरिकाबासी थापा परिवारका लाेभैलाग्दा करेसाबारी

    सुपेन्द्र बस्नेत, बोष्टन

    काेराेना कहरका कारण थाङथिलो भएकाे परिवेशमा उर्जालाई चलायमान राख्ने विभिन्न उपाय हुन सकदछ । चाहे याे बिपत्ति प्राकृतिक हाेस् या कृतिम, यसले प्राणीजगतमा पुर्याएकाे प्रत्यक्ष अप्रत्यक्ष प्रभाव साँच्चै कहाली लाग्दाे छ । यद्यपि, काेराेना कहरका बीच आफ्नाे उपलब्ध फुर्सदकाे समय खेर नफाली करेसाबारीकाे स्याहारसुसारमा सदुपयाेग गरेर करेसाबारी लाेभैलाग्दाे बनाउने नेपालीहरुकाे पनि कमी रहेन । जस मध्यकाे एक कर्मयाेगी परिवार हाे – थापा परिवार । जाे बाेस्टनस्थित नेपाली समुदायका बीच चिरपरिचित छ । नेपालकाे संखुवासभाबाट हाल अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टनमा  परिवारसहित बसाेबास गर्दै आउनु भएका राज थापाकाे करेसाबारी साँच्चै उत्प्रेरक र मनमाेहक छ । झण्डै १० बर्ष अघि परिवार सहित अमेरिका छिर्नु भएका थापाकाे करेसाबारी अघिल्ला बर्षहरुमा पनि आकर्षक नै थिए । तर यस बर्ष काेरानाका कारण घरदेखि जागिर र जागिरदेखि घरसम्म मात्र सिमित रहनु पर्दा बच्न गएकाे समय करेसाबारीका लागि सदुपयाेग गर्न पाँउदा अझ आकर्षक र फलदायी बनाउन सकिएकाे थापाकाे ठम्याई छ । नेपालमा रहँदा आर्जन गरेकाे धेरथाेर कृषि सम्बन्धी ज्ञान र सीपलाई आफ्नाे करेसाबारीमा सक्दाे सदुपयोग गरेकाे थापा बताउछन् । जुन कुरा माैलाइरहेका करेसाबारीका तरकारीहरुका दृष्यले पनि सहजै पुष्टि गर्दछन् ।

    कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दानुभूति गर्दछ

    झट्ट सुन्दा सामान्य बिषय जस्ताे लागे पनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाकाे सन्दर्भमा भने यस प्रकारकाे तरकारी फलाई निकै महत्वपूर्ण, कदरयाेग्य र प्रेरणादायी कार्य हाे । लटरम्मै फलेका बाेडी, खुर्सानी, घिराैला, फर्सी, आलु, चिप्लीभेण्डी, भन्टा, गाेलभेडा, हरिया साग लगायत अर्ग्यानिक तरकारी रहेकाे करेसाबारी अवलाेकन गर्दा , याे अमेरिका नभएर नेपालकै एउटा मेहनति सफल किसानकाे करेसाबारी हाे भन्ने भान हुन्छ। अमेरिकामा महिनाै अघिदेखि टिपेर चिसाेमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न विवश जीवनशैलीमा आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य  तरकारी तत्काल टिपेर भान्सा मिठाे र रमाईलाे  बनाउन पाँउनु त अमेरिकाबासी नेपालीका लागि अहाेभाग्य नै हाे । त्यति मात्र कहाँ हाे र, आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठुलाे खर्चमा निकै कटाैति गराइरहेकाे जिकिर गर्नु हुन्छ  – थापा । उहा भन्नु हुन्छ “करेसाबारीका कारण तरकारी किन्नमा हुने ठुलाे खर्च जाेगिएकाे छ।” त्यसकाे अलावा महत्वपूर्ण र अमु्ल्य कुरा, कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दानुभूति गर्दछ ‘ । उसाे त मनकारी मनका धनि थापा परिवार , करेसाबारीमा तरकारी हुँदा र माैका पाउँदा छिमेकी र पाहुनाहरुकाे भान्सा पनि स्वादिष्ट र रमाइलाे बनाइदिन चुक्दैन । लामाे समयदेखि ग्रेटर बाेष्टन नेपाली समुदायमा आबद्ध भई हाल महासचिवकाे जिम्मेवारी सम्हालिरहनु भएका थापा बताउनु हुन्छ; ” ब्यापारिक हिसाबले नभई रहरले ठाँऊ पाउदा जानेकाे सीपकाे सदुपयाेग गर्न सुरु गरेका हाैं तर गर्दै जादा लगभग तरकारीमा आत्मनिर्भरतिर उन्मुख हुदै गएका छाैं । याे हाम्रालागि निकै खुशीकाे कुरा हाे । र, यस्तै चाहनेहरुका लागि पनि प्रेरणाकाे कुराे हाे” ।

    थापा परिवारको तरकारी उत्पादन

    हिजाेआज हरसम्भव हरेक दिन कामबाट फर्किएपछि करेसाबारी डुल्ने उहाँकाे दैनिकी नै बनेकाे छ । तुलनात्मक रुपमा मुख्यगरी करेसाबारी डुल्नु आफ्नाे रहर भएकाे तर रेखदेख र स्याहारसुसारकाे मुख्य जिम्मेवारी आफ्नी जीवनसंगिनी रिना थापाले निर्वाह गर्दै आउनु भएकाले यसकाे मुख्य श्रेय पनि उहाँलाई नै दिन रुचाउनु हुन्छ – थापा । श्रीमतीकाे महत्वपूर्ण याेगदानकाे प्रतिफलप्रति गर्व गर्दै उहाँ भन्नु हुन्छ ‘यत्तिकाे लाेभैलाग्दाे र कदरयाेग्य परिणाम आउनुमा मुख्य श्रेय श्रीमतीलाई नै जान्छ” । त्यसाे त हाेस्टेमा हैसे गर्नेमा उहाँका दुई छाेराहरु पनि चुकेका छैनन् । आइपर्दा आवश्यक सहयाेग गर्दै छाेराहरुले आमा बुबाकाे पछिपछि लागेर पुर्खौली कृषि कर्मकाे अमुल्य ब्यवहारिक शिक्षा लिइरका छन् भन्नु हुन्छ – थापा ।बास्तवमा अमेरिकामा कृषिकाे अमुल्य सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप पाउन करेसाबारीले महत्वपूर्ण भुमिका खेल्दछ भन्नेमा दुई मत छैन । अर्काे कुरा नेपाली तन, नेपाली मन र नेपालीपनकाे याेग प्रतिबिम्बित हुने करेसाबारीले प्रत्यक्ष रुपमा आर्थिक क्षेत्रमा पुर्याउने याेगदान उल्लेखनीय नदेखिए पनि अप्रत्यक्ष रुपमा नेपालीपन, पहिचान र  बिशेषताहरुकाे संरक्षण र संबर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनेमा कुनै शंका छैन । 

    अझ महत्वपूर्ण अर्काे पाटाे याे छ कि , अर्ग्यानिक तरकारी खानाले स्वास्थ्यमा पुर्याउने याेगदान र करेसाबारीमा तन डुलाएर मन भुलाउँदा पाउने आनन्द साच्चै अमुल्य र अद्भुत हुन्छ नै । यी र यस्तै कारणहरुले गर्दा पछिल्ला दिनहरुमा अमेरिकामा रहेका आम नेपालीहरु जसाेतसाे गरी घर जाेड्ने र घर जाेडिसकेपछि धेरथाेर करेसाबारी बनाउने रहर नेपालीकाे बिशेषता र पहिचान नै बन्दै गइरहेकाे छ ।

  • न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

    न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

    न्युयोर्क, सेप्टेम्बर ५, २०२० 

    कोरोना महामारीबाट केही राहत महसुस गरेसँगै न्युयोर्क सहरमा सशरीर उपस्थित भई गरिने केही सामुहिक कार्यक्रम हुन थालेको छ । यसै बीच तारा – किशन फाउण्डेसनले आज आइतबार राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको सम्झनामा ‘नेपाली रचना वाचन’ नामक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

    तारा – किसन फाउण्डेसनको एकल आयोजनामा न्युयोर्कको फोरेष्ट पार्कको खुला मञ्चमा करिव ३ घण्टा लामो कार्यक्रम सम्पन्न भएको हो । विशेषगरी न्युयोर्क, न्युजर्सी र बोष्टन, म्यासाच्युसेट्सका नेपाली साहित्यानुरागीहरुले गीत, गजल, मुक्तक, कविता आदि वाचन गरेका थिए । साहित्यकार मणी बाङ्देलले काव्यात्मक शैलीमा सञ्चालन गरेको कार्यक्रमका बारेमा फाउण्डेसनका फाउण्डर तारा धामी र किशन धामी लगायत सञ्चारकर्मी शैलेश श्रेष्ठ, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट तथा अधिकारकर्मी नवराज केसीले प्रकास पारेका थिए ।

    रचना वाचन गर्नेहरुमा;

    कुमार न्यौपाने

    ज्योती कुमार श्रेष्ठ

    नदिया लिवांग

    बिराज रिजाल

    गीता पराजुली पन्थ

    गीता खत्री

    आनन्द श्रेष्ठ

    योगेश आदी

    गोबर्धन पूजा

    शैलेश कुमार श्रेष्ठ

    दीपा राई पुन

    जानुका वस्ती ढकाल

    पद्मालिंखा मगर

    महेश्वर पंन्त

    पुष्पराज उपाध्याय

    पुष्पा अधिकारी गौतम

    डा. मधु माधुर्य

    मणी वाग्देल राई

    अकुर लुइटेल

    वीजय सिम्खडा

    विकाश बिष्ट

    शान्ता अधिकारी घिमिरे

    संगीता उप्रेती

    विमल डागी

    हेमन्त केशर ब्रह्म

    जसकुमार राई

    अर्जुन मैनाली रक्तदाता

    बिष्णुहरि भण्डारी

    नबराज खडका

    हनसराज जोशी

    दिपेन्द्र बस्याल

    बच्चु मैनाली 

    बाल कविता सुहाना गुनी

    कार्यक्रममा बारेमा अध्यक्ष धामीले “आगामी दिनमा पनि नेपाली बाङ्मयको बृहत्तर बिकासका लागि फाउण्डेसन सदैव तत्पर रहने” धारणा व्यक्त गरेका थिए ।

  • न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन

    न्युयोर्कमा जमैका नेपाली सोसाईटी गठन

    न्युयोर्क

    नेपालीहरुको बस्ति न्युयोर्क सहरको सबै क्षेत्रमा बढेसँगै जमैका आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले जमैका नेपाली सोसाईटीको हाललाई तदर्थ समिति गठन गरेका छन् ।

    क्विन्सको जमैंका क्षेत्रका नेपालीलाई संगठित गर्दै आपसमा सदभाव र सहयोगी भाव विस्तार गर्ने उदेश्यले सॅंस्थाको आवश्यकता महसुस गरी करिव ५० जनाको उपस्थितिमा तदर्थ समिति गठन गरेको हो । कार्यसमिति बिस्तार नहुन्जेल तदर्थ समितिको अध्यक्षता कृष्ण आचार्यले गरेका छन् ।

    गठित समितिमा निम्न व्यक्तिहरु छन् ।

    अध्यक्ष :- कृष्ण आचार्य 

    उपाध्यक्ष :- नेवांग गुरूंग 

    सचिव :- भिम न्यापाने 

    कोषाध्यक्ष :- मुना ओझा 

    सदस्य:- 

    डा. प्रेम तिम्सिना 

    राजेश ढुंगेल 

    राम कार्की 

    पुस्कर खनाल 

    कृष्ण लामिछाने 

  • जंगली राजा घाेषित सुंगुरकाे व्यथा

    जंगली राजा घाेषित सुंगुरकाे व्यथा

    सुपेन्द्र बस्नेत, बोष्टन

    एक दिन जंगलकाे राजा सिंह शिकार खाएर टन्न भएपछि खुल्ला चाैरमा घाम ताप्दै सुतेर आराम गरिरहेकाे थियाे । त्यही बाटाे हुँदै एउटा सुंगुर आफुलाई सारै मन पर्ने स्थानमा लडिबुडी गरेर रमाइलाे मान्दै आफ्नाे वासस्थान फर्कदै थियाे । यसै क्रममा बाटाेमा अचानक दुबैकाे आमनेसामने जम्काभेट भयाे । सिंहलाई देख्ने बित्तिकै अब मरिने भइयाे भनेर डरले सुंगुरकाे हंसले ठाँउ नै छाड्याे । जीवन रक्षाकाे लागि संघर्षकाे कुनै प्रयासै नगरी आफुलाई सिंह समक्ष आत्मसमर्पण गरिदियाे । तर सिंहले मुखमै आएकाे निरिह शिकार सुंगुरलाई आक्रमण गर्नुकाे सट्टा उल्टै उसलाई बेवास्ता गरेर टाढिदै अघि बढ्याे। यस्ताे विश्वास नै गर्न नसक्ने दृश्य देखेर सुंगुर अचम्मित भयाे र माैका छाेपी हतार हतार गर्दै आफ्ना कदम अगाडि बढाउन थाल्याे । जतिजति सुंगुरले कदम अगाडि बढाउथ्याे , उतिउति सिंह टाढिदै जान्थ्याे। यस्ताे अवस्था देखेपछि सुंगुरलाई सिंह आफुदेखि डराएर भागेकाे भान पर्न थाल्याे । साँच्चै डराएकाे हाे कि हैन भन्ने परिक्षण गर्न मन लागेर सिंहतिरै  अलि छिटाे छिटाे लम्किन थाल्याे । सुंगुरले आफ्नाे कदमकाे चाल जति जति बढाउँथ्याे , उति उति सिंहले आफ्नाे कदमकाे चाल पनि बिपरित दिशातिर बढाउदै सुंगुरबाट टाढिन खाेज्दथ्याे । याे घटनाले हाैसिदै सुंगुरले जब सिंहलाई दपेट्न नै सुरु गर्याे तब सिंह पनि त्यहाँबाट कुलेलाम ठाेक्दै भाग्याे । याे अवस्थाले आफुमा अदभूत शक्ति रहेकाले सिंहले ज्यान जाेगाउन कुलेलाम ठाेकेकाे हाे भन्ने भानमा परेर सुंगुरमा खुसीकाे सिमा नै रहेन । मनमनै त्याे जंगलकाे राजा अब सिंह नभएर आफु भएकाे निश्कर्ष निकाल्याे । त्यसपछि बिलम्व नगरी हतार हतार आफ्नाे समुदायमा पुगेर अन्य समुदायहरुकाे पनि भेला गराइ सबिस्तार घटना सुनाउँदै आजदेखि जंगलकाे राजा सिंह नभएर आफु भएकाे दाबी गर्याे । तर उसकाे कुरा भेलाले पत्याएन । इतिहास मै कहिल्यै हुन नसकेकाे र विश्वासै गर्न नसकिने घटना सुनेकाे भरमा पत्याइहाल्ने कुराे पनि थिएन । भेलाले नपत्याए पछि आफ्नाे शक्ति देखाएर आफु राजा भएकाे प्रमाणित गर्न उसले भेलामा उपस्थिति भएकाहरुलाई सिंह रहेकाे घटना स्थानतिर लिएर गयाे । सिंह रहेकाे स्थान नजिकै पुगेपछि अरुलाई टाढै राखेर आफु मात्रै सिंह भएतिर लम्कियाे । नभन्दै उसले भने झै सुंगुरबाट सिंह टाढियाे । यसले उत्साहित हुँदै सिंहलाई दपेट्न थाल्याे र सिंह पनि त्यहाँबाट साच्चै कुलेलाम ठाेकेर भाग्याे । याे दृष्य प्रत्यक्ष देखेपछि साक्षीहरु छक्क पर्दै उसकाे कुरा विश्वास गर्न बाध्य भए । उसलाई जंगलकाे नयाँ राजा बनाउने निस्कर्षमा पुगेर राजा घाेषणा गर्ने कार्यक्रमकाे तयारीमा जुटे । आफ्नाे समुदायकाे एक सदस्य राजा हुदै गरेकाेमा गर्व गर्दै सुंगुर समुदायमा खुसीकाे सिमा रहेन । अन्य समुदाय पनि सिंह जस्ताे हिंसक मांसाहारी राजा फालेर सुंगुर जस्ताे अहिंसक शाकाहारी राजा पाँउदा स्वतन्त्र जीवन जिउन पाउने आसमा अत्यन्तै खुसी भए । राजा बन्ने निश्चित भएपछि गुलामी गर्ने र आसेपासे बन्ने रहर भएका लाेभीपापीहरु तछाडमछाड गर्दै उक्त सुंगुरकाे सेवामा जुट्न थाले ।जंगलबासीहरुलाई नयाँ राजा घाेषणा सभामा उपस्थित हुन उर्दी जारी गर्दै आवश्यक तयारी थालियाे । राजा बन्ने सुंगुरकाे दाह्री, जुँगा, नंग्रा आदि काटेर नुहाई धुवाई गराई घाेषणा सभामा लगी जंगलकाे नयाँ राजा घाेषणा गरियाे । जय जयकारकाे नारा लगाउदै जंगल परिक्रमा सुरु गरियाे । नयाँ राजालाई स्वागत गर्न पाँउदा निकै खुसी हुँदै जंगलबासीले पनि स्वागतमा कुनै कसर बाँकी राखेनन् । स्वागत र्याली अघि बढ्दै जाँदा जय जयकारकाे काेलाहल, त्यहीँ सुंगुरले दपेटेकाे सिंहकाे कानमा पनि पर्याे । के रहेछ हल्लाखल्ला भनि बुझ्न सिंह ओडारबाट बाहिर निस्किएर हल्लाखल्ला आएतिर अघि बढ्याे । नजिकिदै जाँदा त जंगलमा रहेका आफ्ना अनेक खाले सिकारहरुकाे बथान नै देख्याे । लामाे समयदेखि सिकार गरेर आहार खान नपाएकाे भाेकाे सिंह बिलम्ब नगरी सिकार गर्न  उक्त सिकारकाे बथानमाथि जाई लाग्याे । बाटाेमा एक्कासी जम्काभेट भएकाे सिंहले आक्रमण गरेपछि ज्यान जाेगाउन स्वागत र्यालीमा सहभागीहरुकाे भागदाैड मच्चियाे । आसेपासे अंगरक्षकहरुले पनि आपत बिपतका बेला राजाकाे रक्षा गर्नतिर लाग्नुकाे सट्टा आफ्नै ज्यान जाेगाउन कुलेलाम ठाेके । घाेषित नयाँ राजा सुंगुर भने रत्तिभर नडराई भागेन । उसलाई के विश्वास थियाे भने त्याे सिंह आफु नजिक आएर आफुलाई चिनेपछि डरले ज्यान जाेगाउन आफै कुलेलाम ढाेक्नेछन् । यस पटक उसले साेचे जस्ताे भएन । सिंहले बिलम्व नगरी उसलाई आक्रमण गर्याे । सुंगुरलाई आत्मरक्षाकाे लागि हर्कत गर्ने कुनै माैका नै नदिई क्षणभर मै सुंगुरलाई आफ्नाे कब्जामा लियाे । उसकाे जीवन समाप्त पार्दै आफ्नाे भाेककाे प्यास मेटायाे । 

    यहाँसम्मकाे घटना सुन्दा किन पहिलाे पटक सुंगुरलाई भेट्दा कुलेलाम ढाेकेर भाग्ने सिंहले दाेश्राे पटक भेट्दा सिकार गर्याे हाेला ? भन्ने काैतुहलता जन्मिएकाे हुनु पर्छ । कतिले अनुमान लगाई सक्नु भयाे हाेला । त्याे अनुमान कथासंग मिल्न पनि सक्छ नमिल्न पनि । कथा अनुसार रहस्य भने यस्ताे रहेकाे छ ।

    पहिलाे पटक उक्त सुंगुरलाई भेट्दा सिंहले भर्खरै सिकार गरी अघाएर आराम गरिरहेकाे अवस्था थियाे । त्यति बेला सुंगुर मानिसले बिष्टाएकाे चर्पीमा लडिबुढी गरेर एक काेष परसम्म ठसठसी दुर्गन्ध फैलाइरहेकाे अवस्थामा थियाे । त्यसैले सुंगुरसंग डराएर नभई दुर्गन्धदेखि टाढिन सिंहले कुलेलाम ठाेकेकाे थियाे । यता सुंगुरलाई भने आफुमा रहेकाे अदभूत शक्तिका कारण डराएर सिंह भागेकाे हाे भन्ने भान पर्न गएकाे थियाे । तर यस पटक भेट्दाकाे अवस्थामा सिंह निकै भाेकाे अवस्थामा थियाे साथै सुंगुर नुहाइधुवाई गरी दुर्गन्धरहित अवस्थामा थियाे । त्यसैले उसलाई सिंहले सिकार गर्याे । सुंगुरले पहिलाे पटककाे भेटमा सिंह भाग्नुकाे सत्य तथ्य थाहा नपाएर आफु शक्तिशाली रहेछु भन्ने भ्रममा पर्नु र दाेश्राे पटककाे जम्का भेटमा त्यही भ्रमले जन्माएकाे अहमकाे आडमा सिंह पुन: आफुदेखि डराई भाग्ने विश्वासमा परेर ज्यान जाेगाउन नभाग्नु नै आफ्नो अस्तित्व समाप्तिकाे मुख्य कारक हुन पुग्याे ।