Category: फिचर

  • सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

    सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

    काठमाडौँ, वैशाख १४ गते । लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।

    कार्यविधि अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी ‘चक्रीय कोष’ स्थापना गरिएको छ । उक्त कोषमार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गरिने भएको छ । कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकम, सञ्चालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट प्राप्त रकम जम्मा गरिने व्यवस्था गरिएको छ । कार्यविधिले पाँच लाख रुपियाँसम्म बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ का रूपमा परिभाषित गर्दै उनीहरूलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ ।

    यस्तै एकल महिला ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।
    बचतकर्ताले रकम फिर्ता लिन दाबी निवेदन दिनुपर्ने तथा समितिले सार्वजनिक सूचना जारी गरेपछि आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

    आवश्यक कागजातमा नागरिकता प्रमाणपत्र, सेयर सदस्यता वा प्रमाणपत्र, प्यान नम्बर, राष्ट्रिय परिचयपत्र, बचत विवरण, बैङ्क खाता नम्बर, ऋण विवरणलगायत समावेश रहनुपर्ने व्यवस्था छ । रकम सिधै बचतकर्ताको बैङ्क खातामा पठाइने र फिर्ता गर्दा समस्याग्रस्त घोषणा हुनुअघिको मौज्दातलाई आधार मानिने कार्यविधिमा उल्लेख छ ।

    कोषमा पर्याप्त रकम नभएमा सबै बचतकर्तालाई दामासाही (अनुपातका आधारमा) रकम वितरण गर्न सकिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
    कार्यविधि अनुसार ऋण नतिरेका बचतकर्ता, सहकारीका सञ्चालक तथा व्यवस्थापक र उनीहरूको एकाघरपरिवार, अपचलनमा संलग्न व्यक्ति तथा अदालतमा मुद्दा विचाराधीन रहेका दाबीकर्ताले तत्काल रकम फिर्ता नपाउने कार्यविधिमा उल्लेख छ ।

    समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति र बैङ्क खाता रोक्का गरिने भएको छ । आवश्यक परे उनीहरूको तथा परिवारको नाममा रहेको सम्पत्ति लिलामी गरी बचतकर्ताको रकम फिर्ता गरिने कार्यविधिमा उल्लेख छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, वैशाख १४ गते । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

  • राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    १४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ जाँदैछन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ शिलान्यासमा राष्ट्रपति पौडेल सहभागी हुँदैछन् ।

    भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे भानु नगरपालिका–४, चुँदी रम्घामा एक विशेष समारोहका बिच उद्यानको जग बसाल्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलकै परिकल्पना र पहलमा आयोजनाले मूर्त रूप लिन लागेको हो ।

    राष्ट्रिय गौरवको आयोजना यसअघि घोषणा भएर पनि विविध प्राविधिक कारणले अगाडि बढ्न नसकेको यो बहुप्रतीक्षित आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको जानकारी दिए ।


    गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमशः यहाँ सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिनेछ । सांस्कृतिक तीर्थस्थलको रूपमा विकास भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यो उद्यान केवल एक भौतिक संरचना मात्र नभई विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा सांस्कृतिक तीर्थस्थल हुने बताइन् । “राष्ट्रपतिज्यूको हातबाट हुने यो शिलान्यासले रम्घाको मुहार फेर्ने ऐतिहासिक प्रस्थानविन्दु तय गर्नेछ । उपप्रमुख गोतामेले भनिन् ।


    नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्न र भावी पुस्ताका लागि अनुसन्धानको केन्द्र बनाउन यो उद्यान कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय भइसकेको नगरपालिकाले जनाएको छ । राष्ट्रपतिको आगमनलाई लिएर यतिबेला तनहुँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने स्थानीयबासीहरूमा उत्साह छाएको छ ।

  • इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

    इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

    बग्दाद, वैशाख १३ गते । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार अधिकांश आक्रमण नागरिक क्षेत्रलाई लक्षित गरेर गरिएको थियो, यद्यपि क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वमा तटस्थता घोषणा गरेको छ ।

    विज्ञप्तिमा नागरिक र निजी क्षेत्रले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति बेहोरेको उल्लेख गरिएको छ । एरबिल प्रान्तमा सबैभन्दा धेरै ४७७ आक्रमण भएका छन्, जसमा ४१९ ड्रोन आक्रमण र ५८ क्षेप्यास्त्र आक्रमण समावेश छन् । ती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

    कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन बहानामा’ नागरिक क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरू फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि क्षेत्रीय तनाव बढेका बेला भएका हुन्, जसको प्रतिक्रिया स्वरूप इरान र उसका सहयोगीहरूले मध्यपूर्वभर अमेरिकी र इजरायली स्वार्थलाई लक्षित गर्दै आक्रमण गरेका छन् । रासस-सिन्ह्वा

  • कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    दबोगोटा, वैशाख १३ गते । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान(अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालमा गम्भीर क्षति पुर्याएको छ साथै राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ ।

    प्रत्यक्षदर्शी चालकका अनुसार हतियारधारी व्यक्तिले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए र ती सवारी साधनमा एक विद्रोही समूहसँग सम्बन्धित नारा लेखिएका थिए । काउका विभागका गभर्नर अक्टाभियो गुज्मानले यसलाई नागरिकमाथिको अन्धाधुन्ध आक्रमण भन्दै कडा निन्दा गरेका छन् र सुरक्षा निकाय घटना स्थलमा खटिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा जनताको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन् । रासस-सिन्ह्वा

  • इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

    इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

    तेहरान, वैशाख १३ गते । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।”

    कुराकानीका क्रममा उनले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए । अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाइले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजेश्कियानले बताए ।


    पेजेश्कियानले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र अमेरिका वा इजरायलको कुनै पनि नयाँ टकरावको अवस्थाले क्षेत्रीय र विश्वव्यापी स्थिरतालाई असर गर्ने गम्भीर परिणाम हुन सक्ने बताए । उनले इरानले आफ्ना छिमेकी देशसँग राम्रो सम्बन्ध र आपसी सम्मानका आधारमा सम्बन्ध बलियो बनाउन चाहेको पनि बताए । यी देशले बाह्य हस्तक्षेपबाट टाढा रहेर क्षेत्रीय शान्ति र सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । रासस–एएफपी

  • चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    प्यूठान, वैशाख १३ गते । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो । ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन ।

    गौमुखी गाउँपालिका वडा ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

  • लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    मुस्ताङ, वैशाख १३ गते । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको हो । भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आइपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका९(४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा मठ्ठीलाई लेँक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका उनले जानकारी दिए । योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म पाँच विदेशी पर्यटकसहित आठ जनाको हाइ अल्टिच्युडका कारण लेँक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन जना नेपाली पर्यटकको लेँक लागेर मृत्यु भएको हो । रासस

  • एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    काठमाडौँ, वैशाख १३ गते । तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

    खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो । छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । राखेपका सदस्यसचिव राम चरित्र मेहताले देशको कानुनभन्दा माथि कोही नरहेकोले एन्फाको विषयमा छानबिन भइरहेको बताए ।

    ‘‘राखेपको छानबिन उपसमितिले विभिन्न राष्ट्रिय खेल सङ्घमा देखिएको विवाद मिलाउने काम गरिरहेको छ । अब हामी खेलकुदमा विगतदेखि भइरहेको खराब राजनितिक गतिविधि अन्त्य गर्ने अभियानमा छौँ । कानुन सबैले पालना गर्न आवश्यक छ,’’ मेहताले भने ।


    राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
    तर एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी निलम्बनकै क्रममा विश्व फुटबल महासङ्घ (फिफा) कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा थिए ।

  • सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

    सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

    काठमाडौँ, वैशाख १३ गते । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई शुक्रबार पक्राउ गरिएको हो ।

    उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी ‘फायर’ गर्दा घाइते भएका निजको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

  • गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने काम आज पनि निरन्तर

    गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने काम आज पनि निरन्तर

    काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ । शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनः सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान अघि बढाइएको हो ।

    राति अबेरसम्म धेरै संरचना हटाउन बाँकी रहेकाले सो कार्यलाई आज पनि निरन्तरता दिइएको उनले बताए । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नगर प्रहरी परिचालन गरिएको थियो ।

    सरकारको निर्देशन अनुसार सार्वजनिक तथा सरकारी जमिनमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने कार्य भइरहेको छ । महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि यस्तो अभियान आवश्यक रहेको जनाएको छ । महानगरपालिकाले आगामी दिनमा पनि यस्ता संरचना हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ । रासस

  • अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार

    अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार

    काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो ।

    यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोवासको उचित व्यवस्थापन गरिने बताउनुभयो ।

    अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोवासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ ।

    बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । अतिक्रमित बस्ती खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोवास र खानपानको व्यवस्था मिलाइएको छ ।

    अभियान अन्तर्गत काठमाडौँ उपत्यकाका साथै रूपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो ।

    आजै नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ले हटाएको छ । यस्तै, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आज पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए ।
    प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण

    यसैबिच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मनोहरा नदी किनारका अतिक्रमित बस्ती खाली गराउने कार्यको अवलोकन गरे । त्यसक्रममा उनले भूमिहीन नागरिकलाई उचित व्यवस्थापन र सुरक्षित स्थानमा सार्ने कामबारे जानकारी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस्ती हटाउने क्रममा शनिबार मनोहरा खोला किनारमा प्रहरीसँग सामान्य झडप भएको थियो । त्यस क्रममा स्थानीयको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका थिए । आज भने यो समाचार तयार गर्दासम्म शान्तिपूर्ण रूपमा बस्ती खाली गराउने क्रम चलिरहेको छ ।

    अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

    मानवअधिकार एलायन्सले सुकुमवासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्थाविना हटाइनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नभएको जनाएको छ ।
    सङ्गठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा देखिएको भय, असुरक्षा र अनिश्चतताले राज्य र नागरिकबिचको विश्वासलाई कमजोर बनाउने उल्लेख छ । एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवादको सुरुआत गरी बलपूर्वक विस्थापन नगर्न आग्रह गरेको छ । रासस

  • मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती

    मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती

    काठमाडौँ, वैशाख १३ गते । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयले आइतबार एक प्रेस नोट जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो ।

    मन्त्रालयका अनुसार सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न होटल तथा लजमा बस्ने र खाने लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ । स्थानान्तरणका क्रममा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    स्थानान्तरणलाई व्यवस्थित बनाउन नागरिकहरूको सामान ढुवानीको जिम्मा नेपाल प्रहरीले लिएको छ । मन्त्रालयका अनुसार नागरिकका सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्‍याउने व्यवस्था मिलाइएको छ । त्यहाँ सामानको विस्तृत अभिलेख राखेपछि सम्बन्धित व्यक्तिलाई यातायातको साधनमार्फत तोकिएको होटल वा लजमा पुर्‍याइने छ ।

    मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनु नपर्ने मन्त्रालयको दाबी छ ।

  • मालीको राजधानीमा भीषण आक्रमण, अहिलेसम्म के छ अपडेट ?

    मालीको राजधानीमा भीषण आक्रमण, अहिलेसम्म के छ अपडेट ?

    १३ वैशाख, काठमाडौं । मालीको राजधानी बामाको सहित देशका विभिन्न स्थानमा एकैसाथ आक्रमण भएको छ । सैन्य शासन रहेको मालीमा शनिबार बिहानै ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र अन्य क्षेत्रमा आक्रमण गरेको सेनाले जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेभन्दा केही समयअघि मालीको मुख्य सैन्य आधार ‘काटी’ नजिकै दुईवटा ठूला विस्फोट र निरन्तर गोलाबारीको आवाज सुनिएको थियो । यो सैन्य आधार मालीका सैन्य शासक जनरल आसिमी गोइटाको निवास पनि हो । राष्ट्रपति आसिमी गोइटा हाल कहाँ छन् भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।

    काटीका बासिन्दाहरूका अनुसार रक्षामन्त्री जनरल सादियो कमाराको घरलाई समेत निशाना बनाइएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार कमाराको घरमा क्षति पुगेको छ । एएफपीले भने रक्षामन्त्री त्यस समयमा घरमा नरहेको र सुरक्षित रहेको बताएको छ । बामाको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि भारी हतियार र स्वचालित राइफलको आवाज सुनिएको थियो, जुन शहरको केन्द्रबाट करिब १५ किलोमिटर टाढा पर्दछ ।

    देशका अन्य भागमा अशान्ति

    राजधानीमा आक्रमण भएकै समयमा मध्य मालीको सेभारे, उत्तरी शहर किडल र गाओमा पनि यस्तै किसिमको अशान्ति देखिएको अलजजिराले जनाएको छ । पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको छ । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको छ ।

    उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका छन् । अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस लहरको आक्रमणबाट आश्चर्यचकित भएका देखिन्छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’

    सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह)पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुनःस्थापना गर्ने वाचा गरे पनि देश अझै सङ्घर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ । मालीको सेनाले बिहान ११ बजेपछि स्थिति नियन्त्रणमा रहेको र विद्रोहीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।

  • आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन

    आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन

    काठमाडौँ, वैशाख १३ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।

    विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीसँगै यस वर्ष राजस्व सङ्कलनमा समेत बढेको छ । उनका अनुसार शनिबारसम्म १११ समूहका ७०१ पुरुष र ३४३ महिना गरी ९४४ आरोहीले हिमाल चढ्ने अनुमति लिएका छन् । यो सिजनमा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि सबैभन्दा बढी राजस्व सङ्कलन सगरमाथाबाट ८९ करोड तीन लाख ९३ हजार ९२५ रुपियाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।


    सगरमाथा आरोहण गर्न मात्रै यो सिजनमा ४१ समूहका ३१३ पुरुष र ९७ महिला गरी ४१० आरोहीले अनुमति लिएको उनले बताए । विभागले गत फागुन १७ देखि यो यामका लागि आरोहण अनुमति खुला गरेकोमा शुक्रबारसम्म नेपालसहित ७६ देशका आरोहीले अनुमति लिएका हुन् । जसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिएका नेपालसहित ५४ देशका आरोही सगरमाथा आधार शिविरमा आरोहणको बाटो खुल्ने प्रतीक्षामा छन् ।

    यस याममा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट १२७, अमेरिकाबाट एक सय, भारतबाट ७१, जर्मनीबाट ६५, बेलायतबाट ६४, रुसबाट ६० जनाले अनुमति लिएका छन् । सरकारले २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ देखि नयाँ शुल्क कायम गरेपछि शरदयामदेखि आरोहण शुल्कमा बढोत्तरी भएको हो ।

    विगतका शरद ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु भएपछि यस वर्षको उक्त याममा राजस्व तेब्बरले बढेर साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको थियो ।

  • अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    काठमाडौँ, वैशाख १३ गते । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्दछन् । उक्त दुर्घटनाबाट ती तीन देशका ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको छ । चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका प्रयासहरू अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् । रासस

  • इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    तेहरान, वैशाख १२ गते । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ । यो एक विश्वव्यापी रेकर्ड हो । युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यो प्रतिबन्धले देशको अर्थतन्त्र तहसनहस भएको दाबी गरिएको छ । यति मात्र होइन, नागरिकलाई सूचनाको मौलिक हकबाट पनि वञ्चित गरिएको छ । इरान अहिले अकल्पनीय डिजिटल सङ्कटबाट गुज्रिरहेको छ ।

    इन्टरनेट निगरानी संस्था नेटब्लक्सको रिपोर्टका अनुसार इरानमा पछिल्लो ५७ दिनदेखि इन्टरनेट पूर्ण रूपमा बन्द छ । यो कुनै पनि देशमा लगाइएको विश्वको सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिवन्ध हो । आठ हप्ताअघि सुरु भएको यो प्रतिबन्धले इरानका नौ करोडभन्दा बढी नागरिकलाई विश्वबाट अलग मात्र गरेको छैन, देशको अर्थव्यवस्थामा पनि ठूलो धक्का लागेको छ ।

    अमेरिका–इजरायल आक्रमणपछि फेब्रुअरी २८ मा अचानक इन्टरनेट सेवा बन्द गरिएको थियो। क्षेत्रीय अस्थिरता र युद्धको खतराको बिचमा, इरानी प्रशासनले सूचनाको प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्न यसको सहारा लियो। नेटब्लकको तथ्याङ्क अनुसार यो अवरोधले अब एक हजार ३४४ घण्टाको अवधि पार गरेको छ । यसअघि सन् २०२६ जनवरीमा सरकारले विरोध प्रदर्शनको क्रममा आन्तरिक अशान्तिको समाचार बाहिर जानबाट रोक्न यस्तै प्रतिबन्ध लगाएको थियो ।

    इन्टरनेटको यो लामो अवरोधले इरानको सामान्य जनजीवन अस्तव्यस्त पारेको छ। बैंकिङ सेवाहरू, अनलाइन व्यापार र यातायात नेटवर्कहरू पूर्ण रूपमा ठप्प भएका छन्। विज्ञहरुले इन्टरनेट सेवाको सहज पहुँच नहुदा इरानको अर्थतन्त्रलाई अहिलेसम्म कुल २।५ अर्ब डलर नोक्सानी भएको छ । प्रतिवन्धका कारण हरेक दिन करिब तीन लाख ७० करोड इरानी रियलको आम्दानी प्रभावित भइरहेको छ ।

    मानिसहरू आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न असुविधा भइरहेको छ । विदेशी मिडिया र स्वतन्त्र सूचना स्रोतहरूमा पहुँच पूर्ण रूपमा अवरुद्ध छ, जसले देशभित्र डर र अनिश्चितताको वातावरण सिर्जना गरेको छ । इरानी अधिकारीहरूले स्टारलिङ्क जस्ता स्याटेलाइट इन्टरनेटलाई रोक्न सैन्य ‘ग्रेड ज्यामर’हरू प्रयोग गर्न थालेका छन्, साथै सञ्चारको वैकल्पिक मार्गहरू पनि बन्द गरेका छन्।

    एकातिर इरान डिजिटल रूपमा विश्वबाट छुट्टिएको छ, अर्कोतिर अमेरिका र इजरायलसँग उसको कूटनीतिक गतिरोध पनि गहिरिँदै गएको छ । इरानका विदेश मन्त्री अब्बास अराघची हालै पाकिस्तान पुग्नुभएको छ्, जहाँ उहाँ क्षेत्रीय सुरक्षाबारे छलफल गरिरहनुभएको छ । हाल इरानमा इन्टरनेटको पुनस्र्थापनाका लागि कुनै समयसीमा तय गरिएको छैन, जसका कारण यो ‘डिजिटल अन्धकार’ अझ लम्बिने सम्भावना छ । एएफपी, रासस

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    काठमाडौँ, वैशाख १३ गते । आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।
    आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विभागले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।

  • गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

    गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

    १३ वैशाख, काठमाडौं । व्हाइट हाउसमा पत्रकारसँगको एक डिनर कार्यक्रमका दौरान भएको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आक्रमणकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

    ट्रुथ सोशल साइटमा लेख्दै उनले भनेका छन्, सिक्रेट सर्भिस तथा ल इन्फोर्समेन्ट एजेन्सीले सानदार काम गरेका छन्, उनीहरुले तिव्र गति तथा निकै बहादूरीपूर्वक कारवाही गरेका छन ।’ त्यसपछि उनले सुरक्षा एजेन्सीको निर्देशन अनुसार नै आफुले काम गरेको बताएका छन् ।

  • ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

    ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

    १३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक डिनर कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ ।

    एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् । तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । तर उनको पनि परिचय खुलेको छैन । ह्वाइट हाउसले पत्रकारहरूका लागि डिनर कार्यक्रम आयोजना गरेको थियो । ट्रम्प बोलिरहेका मानिसहरुको हलचल सुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।

    लगत्तै सिक्रेट सर्भिसका सदस्यहरूले ‘तल बस्नुहोस्, तल बस्नुहोस्,’ भन्दै राष्ट्रपति ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए । ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीहरुले हतार हतार भीडबाट बाहिर निकालिएको देखिएको थियो । कार्यक्रममा सहभागीहरु भुईंमा निहुरिएर बसेका थिए ।


    बीबीसीका अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई मञ्चबाट सुरक्षित स्थानमा लगेपछि काउन्टर असल्ट टिम ९सीएटी०का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ लामो बन्दुक तेर्स्याएको देखिएको थियो ।

    सीबीएसका अनुसार केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार हतार अर्को कोठातिर लगेका थिए । त्यसक्रममा उनीहरू टेबल र ढलेका खाली कुर्सीहरू नाघ्दै अघि बढेका थिए । यस घटनाको केही समयपछि एक वक्ता मञ्चमा आएर डिनर कार्यक्रम पुनः सुरु हुने घोषणा गरेका थिए ।

  • बिपी राजमार्ग बन्द : यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

    बिपी राजमार्ग बन्द : यात्राअघि प्रहरीसँग समन्वय गर्न अनुरोध

    बनेपा, वैशाख १२ गते । काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बिपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रवीन विष्टले रोशी खोलाको माथिल्लो क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि राजमार्ग बन्द गरिएको जानकारी दिए ।

    उनले मौसममा सुधार नभएसम्म र प्रहरीले अर्को सूचना जारी नगरेसम्म राजमार्ग बन्द रहने बताए । प्रहरीले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। गत वर्ष असोज दोस्रो साताको बाढीका कारण बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा ठुलो क्षति पुगेको थियो।

    बाढीले क्षति पुर्‍याएको उक्त सडकको पुनर्निर्माण कार्य जारी रहे पनि तत्कालका लागि रोशी खोलाको किनारबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ। वर्षा हुनेबित्तिकै खोलामा पानीको सतह बढ्ने र डाइभर्सन बगाउने जोखिम रहने भएकाले सुरक्षाका लागि राजमार्ग बन्द गरिँदै आइएको छ।

  • थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

    थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

    काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको सहयोग र समन्वयका कारण थापाथलीमा सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको हो ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले सरकारको कदमलाई समर्थन गर्दै बस्ती छाड्न सहयोग पुर्‍याएको सल्लाहकार शाहले जानकारी दिए ।

    शनिबार थापाथलीबाट विस्थापित भएका ६८ परिवार सरकारी सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानका बासिन्दा पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि दशरथ रङ्गशाला पुर्‍याई विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन नहुन्जेल काठमाडौँका विभिन्न होटलमा राख्ने तयारी सरकारले गरेको छ ।

    होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने विषयमा आइतबारदेखि नै पहिचान तथा छानबिन प्रक्रिया सुरु गरिने सल्लाहकार शाहले बताउनुभयो । छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई आगामी दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप कार्य अघि बढाइने सरकारको योजना रहेको छ ।

  • काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा

    काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा

    काठमाडौँ, वैशाख १२ गते । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्न्द बढी लमजुङमा ८७.४ मिलिमिटर भारी वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए । आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ । यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ ।

  • आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

    आइसिसी विश्वकप लिग–२ : नेपालको रोमान्चक जित

    काठमाडौँ, वैशाख १२ गते । बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार जितका लागि दुई सय एक रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटियो ।

    युएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान मोहम्मद वासिमले ३४, आकाशदीप नाथले ३०, ओपनर आर्यान्स शर्मा र निलांश केसवानीले समान १८\१८ रन बनाए । बलिङमा नेपालका करण केसीले चार विकेट लिए । उनले ९.२ ओभर बलिङ गर्दै जम्मा १९ रन खर्चिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी एक एक विकेट लिए ।
    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हाने । ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५–१५ तथा भीम सार्कीले १० रन बनाए । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई दुई रन जोड्दै पेभेलियन फर्किए । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीनतीन विकेट लिए ।

    खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक एक विकेट लिए । जितसँगै २१ खेलबाट १४ अङ्क बनाएको नेपाल सातौँ स्थानमा यथावत छ । समान खेलबाट १० अङ्क बनाएको युएई अन्तिम तथा आठौँ स्थानमा छ । नेपाललाई एक दिवसीय मान्यता जोगाउन अबका हरेक खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।

    सन् २०२७ मा आयोजना हुने एक दिवसीय विश्वकप छनोटका लागि सन् २०२४ बाट आठ टोलीले प्रस्पिर्धा गरिरहेका छन् । हाल २४ खेलमा १८ खेल जितेको अमेरिका ३६ अङ्कसहित शीर्षस्थानमा छ । यस्तै २८ खेलबाट ३४ अङ्क बनाएको स्कटल्यानन्ड दोस्रो, २४ खेलबाट २९ अङ्क बनाएको ओमान तेस्रो, २४ खेलबाट २८ अङ्क बनाएको नेदरल्यान्ड्स चौथो स्थानमा छ ।

    २८ खेलबाट २२ अङ्क बनाएको नामिबिया पाँचौँ र २४ खेलबाट २१ अङ्क बनाएको क्यानडा छैटौँ स्थानमा छ । हरेक टोलीले ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकपमा सोझै छनोट हुने छन् । बाँकी चार टोलीले छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने छन् ।

  • थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन

    थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन

    १२ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख १२ गते । सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दा धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्याङ्कअनुसार शनिबार दिउँसो २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् ।

    यसै गरी प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला गरिएका छन् । होल्डिङ सेन्टरमा आएका सुकुम्बासीका लागिसमेत प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । सरकारले विवरण सङ्कलन र उनीहरूको ‘स्क्रिनिङ’ का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ ।

    विभिन्न स्थानका सुकुम्बासीका लागि फरक(फरक डेस्क स्थापना गरी विवरण सङ्कलन भइरहेको छ । सरकारी टोलीका अनुसार रङ्गशालामा विवरण सङ्कलन कार्य सम्पन्न भएपछि ती परिवारलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

    उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समययता सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

  • गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर

    गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर

    १२ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–९, गैरीगाउँको सुकुमवासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशन अनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए । उनले भने, “यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।”

    अभियानका क्रममा सुरक्षाकर्मीलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। रासस

  • थापाथली सुकुमबासी बस्ती खाली गराइयो

    थापाथली सुकुमबासी बस्ती खाली गराइयो

    १२ वैशाख, काठमाडौं । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ ।

    महानगरपालिकाका अनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने अभियान दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामङ्गल र गैरीगाउँका सुकुमवासी बस्ती हटाइने छ भने दोस्रो चरणमा अन्य क्षेत्रका बाँकी बस्ती हटाउने योजना रहेको महानगरले जनाएको छ ।

    बस्तीबाट हटाइएका नागरिकको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकलाई सुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’ मा लगिने छ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात् वर्गीकरण (सेग्रिगेसन) गरिने छ । विस्थापितलाई राख्न सरकारले नागार्जुन नगरपालिका (साविक इचङ्गुनारायण गाविस)मा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विक्रम संवत् २०६९ मा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपियाँ लगानी गरेको थियो ।

    नागार्जुनका दुई स्थानमा निर्मित भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक (एकाइ) उपलब्ध छन् । वि.सं. २०६९ मा निर्माण सम्पन्न भए तापनि स्थानीयको अवरोधका कारण अहिलेसम्म ती भवन प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनको उपयोग गरी वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

  • स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    १२ वैशाख, काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–२, श्रीडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङको झड्काले घाइते भएका स्थानीय २० वर्षीय मिलन विकको पुतलीबजारस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    विक आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । त्यसैगरी, हरिनास गाउँपालिका–४, सारुथरमा चट्याङ पर्दा ५८ वर्षीय खिमबहादुर थापा घाइते भएका छन् । चट्याङको झड्काले घाइते भएका थापाको सेतीगंगा अस्पताल, तनहुँमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, सोही चट्याङका कारण सारुथरका ५० वर्षीय तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

  • सुनिताको आह्वासन : सुकुम्बासी बस्ती हटाउँदा मानवीयताको ख्याल गरिन्छ

    सुनिताको आह्वासन : सुकुम्बासी बस्ती हटाउँदा मानवीयताको ख्याल गरिन्छ

    १२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले अभियानका क्रममा जेष्ठ नागरिक, बिरामी, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने प्रतिबद्धता जनाएकी हुन्।

    गत वैशाख ११ गते काठमाडौं महानगरपालिकाका नगर कार्यपालिका सदस्यहरूबीच भएको छलफल र त्यसको मार्गनिर्देशनका आधारमा कार्यवाहक मेयर डंगोलले यो धारणा सार्वजनिक गरेकी हुन् । पछिल्लो समय नेपाल सरकारका सम्बद्ध मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरभित्रका नदी किनार तथा अन्य सार्वजनिक, पर्ति, ऐलानी र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेका छन्। उक्त कार्यमा महानगरलाई सहयोगको अनुरोध आएबमोजिम महानगरले सहयोगी भूमिका निर्वाह गर्न लागेको उनले जानकारी दिएकी छन्।

    ‘अनधिकृत संरचना हटाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसहरूको विशेष ख्याल राखिनेछ,’ डंगोलले भनेकी छन्, ‘सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गर्ने र कानुन र न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहनेछ।’

    सुकुम्वासी बस्ती र अनधिकृत संरचना हटाउने क्रममा त्रास सिर्जना हुने र झडपका घटनाहरू हुने गरेका छन्। यसै सन्दर्भमा कार्यवाहक मेयर डंगोलले कानुन र न्यायको प्रतिकूल नहुने गरी सुरक्षित र सम्मानजनक व्यवस्थापनमा जोड दिएकी हुन्। उनले सार्वजनिक र निजी जग्गा संरक्षणको यस कार्यलाई सफल र विवादरहित बनाउन आवश्यक सहयोग तथा समन्वयका लागि सरोकारवाला सम्पूर्ण निकाय, पदाधिकारी र सर्वसाधारणलाई हार्दिक अपिल समेत गरेकी छन् ।

  • भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति

    भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति

    काठमाडौँ, वैशाख १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन् । दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उनले भनेका छन्, “हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।”

    राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् । सन्देशमा भनिएको छ, ‘‘भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ ।’’

    नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने उनको भनाइ छ । नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उहाँले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई सन्देशमा धन्यवाद दिएका छन् । रासस