Category: फिचर

  • ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार, के के समेटिए

    ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार, के के समेटिए

    १० वैशाख, काठमाडौं । आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ । मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रणनीति पेश गरिएको हो । गत चैत १३ गते मन्त्रिपरिषद्‍बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची अन्तर्गतको बुँदा ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्नेगरी ऊर्जामन्त्री श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए ।

    रणनीतिमा विद्युत्को आन्तरिक खपत उल्लेख्य रूपमा बढाउन जोड दिँदै खपतपछि बचत भएको विद्युत् निर्यात प्रवद्र्धन गर्ने दीर्घकालीन मार्ग चित्रसमेत प्रस्तुत गरिएको छ । शतप्रतिशत घरधुरीमा विद्युतीकरण गर्दै प्रसारण र वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।

    विद्युतीय घरायसी उपकरणको प्रयोगमा थप आकर्षित गर्ने, मिटर र ट्रान्सफर्मरको क्षमतामा सुधार गरी एलपी ग्यासको प्रयोग क्रमशः घटाउनुपर्नेमा रणनीतिले जोड दिइएको छ । हाल प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० किलोवाट आवर रहेकोमा आगामी १० वर्षभित्र १ हजार ५०० किलोवाट आवर पुर्‍याउन सकिने रणनीतिमा उल्लेख छ । त्यस्तै सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने, चार्जिङ स्टेसनहरूको नेटवर्क विस्तार गर्न सुझाव दिइएको छ । उद्योगहरूमा प्रयोग हुँदै आएको कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणालीमार्फत प्रतिस्थापन गर्ने नीति लिइएको छ ।

    ऊर्जा खपत वृद्धिका निम्ति विद्युत् महशुललाई उपभोक्ता मैत्री ‘सिजनल’ दर तय गर्नुपर्ने योजना पनि रणनीतिमा समेटिएको छ । यसले ऊर्जा उपयोगको दक्षता बढाउनुका साथै व्यापार घाटा घटाउन र विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    यसैगरी उत्पादनतर्फ जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाहरूको हिस्सा बढाएर सुक्खा र वर्षायाम बीचको उत्पादन असन्तुलन समाधान गर्ने लक्ष्य लिइएको छ । साथै, देशव्यापी प्रसारण प्रणाली विस्तारसँगै अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत निर्यात बढाउने योजना पनि अघि सारिएको छ । निर्यातलाई विशेषगरी उच्च माग हुने साँझको समयमा केन्द्रित गरी बढी आर्थिक लाभ लिने रणनीति बनाइएको छ । जसमा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने लक्ष्य लिइएको छ ।

    रणनीतिले सम्भावित जोखिमहरूको पहिचान गर्दै तिनको व्यवस्थापनका लागि स्पष्ट उपायहरू प्रस्ताव गरेको छ । यसका साथै, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने र नेपाल विद्युत प्राधिकरणमा संरचनात्मक सुधार गरी कार्यक्षमता अभिवृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

    रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन प्रणाली अपनाउने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ । गठित समितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्ण पन्थ, मन्त्रालयका कानुन हेर्ने सहसचिव जोख बहादुर डाँगी, विद्युत् नियमन आयोगका सचिव नविन राज सिंह, विद्युत् प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक राजन ढकाल, निर्देशक थर्कबहादुर थापा, मन्त्रालयका सीडीई द्वय राजु महर्जन र सञ्जिव राय सदस्य थिए ।

  • २०२५ मा एसिया प्रशान्त क्षेत्रमा एडीबीको लगानी २९ अर्ब ३० करोड डलर

    २०२५ मा एसिया प्रशान्त क्षेत्रमा एडीबीको लगानी २९ अर्ब ३० करोड डलर

    १० वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ मा आफ्नो लगानी प्रतिबद्धता २९ अर्ब ३० करोड अमेरिकी डलर बराबर पुर्‍याएको छ ।
    एडीबीले आफ्नो वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । एडीबीका अनुसार यो प्रतिबद्धता आफ्नो स्रोतबाट हुने लगानी हो ।


    एडीबीले सन् २०२५ लाई जटिल र अनिश्चितताले भरिएको वर्ष भनेको छ । यस्तो अवस्थामा पनि एडीबीले व्यापक सहायता प्रतिबद्धता गरेको हो । बैंकका अनुसार यो प्रतिबद्धता २०२४ को तुलनामा २० प्रतिशत बढी हो । ‘यसबाट ३३ लाखभन्दा धेरै रोजगारी सिर्जना हुने र १८ करोडभन्दा बढी जनसंख्या लाभान्वित हुने अपेक्षा छ,’ एडीबीले भनेको छ ।


    एडीबी अध्यक्ष मासातो कान्डाले एसिया प्रशान्त क्षेत्रको माग अनुसार सेवा पुर्‍याउन एडीबी सक्षम भएको बताएका छन् । एडीबीका अनुसार यो रकम सरकार र निजी क्षेत्रमा प्रवाह हुने ऋण, अनुदान, इक्विटी लगानी तथा प्राविधिक सहायता समेत हो । यस वर्ष निजी क्षेत्रका लागिमात्र एडीबीले ५ अर्ब ५० करोड डलर बराबर सहायता प्रतिबद्धता जनाएको छ ।

    बैंकका अनुसार मध्यपश्चिम एसियामा ८ अर्ब ३० करोड डलर, पूर्वी एसियामा १ अर्ब ४० करोड डलर र प्रशान्त क्षेत्रमा ६८ करोड डलर बराबर सहायता विनियोजन गरिएको छ । नेपाल समेत रहेको दक्षिण एसियामा भने ९ अर्ब ७० करोड डलर प्रतिबद्धता व्यक्त गरेको छ ।

    दक्षिण–पूर्वी एसियामा ९ अर्ब डलर विनियोजन गरिएको एडीबीको भनाइ छ । सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्यको स्वामित्व छ । जसमध्ये एसिया प्रशान्त क्षेत्रका ५० सदस्य छन् ।

  • वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

    वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

    १० वैशाख, काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी ‘पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंबाट लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ ।

    सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ । नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको छ ।

    यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको छ । यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ ।

    पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, ‘विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।’ अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरूको संख्या बढाउन सकिएको अवस्थामा यो अभियान थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्‍ने उनले बताए ।

    त्यसैगरी बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले पछिल्लो समय बढ्दो विश्‍वव्यापी द्वन्द्व र युद्धरत पक्षलाई नेपालको लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सकिएको अवस्थामा यसको महत्त्व थप बढ्ने विचार व्यक्त गरेका छन् । ‘टुर डे लुम्बिनी–पेडल फर पिस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।

  • बजेट अधिवेशन बोलाएको बैठक नबस्दै स्थगत

    बजेट अधिवेशन बोलाएको बैठक नबस्दै स्थगत

    १० वैशाख, काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । यसअघि सरकार गठनपछिको पहिलो अधिवेशन चैत २७ गते स्थगित भएको थियो । यो अधिवेशनमा सभामुखमा डीपी अर्याल, उपसभामुखमा रुबीकुमारी ठाकुर चयन गरेको थियो । त्यस्तै विभिन्न संसदीय समितिका सभापतिहरू पनि चयन भएका थिए ।

  • उद्योगपति गोल्छा कुन कसुरमा पक्राउ परे ?

    उद्योगपति गोल्छा कुन कसुरमा पक्राउ परे ?

    १० वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्न प्रयोग हुने गरेको प्रतिवेदन धितोपत्र बोर्डले तयार पारेको थियो । विवादित व्यवसायी दीपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गर्ने र तिनको मूल्य बढाएर विभिन्न बीमा कम्पनीलाई बिक्री गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।

    सोही अनुसन्धानले यस्तो गडबडीका प्रमुख पात्रका रूपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचान रहेको उल्लेख गरेको छ । उनीहरूले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजार प्रभावित पार्ने तथा जालसाजीयुक्त कारोबार सम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष छ । भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी हिरासतमा राखेको छ । चाचान भने पक्राउ परेका छैनन् ।

    त्यस्तै सोही कार्यमा सहयोगी भूमिका खेलेका हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । साथै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको बोर्डको अनुसन्धानले देखाएको छ ।

    बोर्डले यी व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो । शुभी अग्रवाल सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान क्रममा हाल हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती हुन् । सुलभ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत हुन् ।

  • काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ

    काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीले थाल्यो माइकिङ

    १० वैशाख, काठमाडौं । काठमाडौं सुकुमवासी बस्ती खाली गर्न आग्रह गर्दै प्रहरीले माइकिङ गरेको छ । आज बिहीबार साँझदेखि प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको जिल्ला प्रशासन कार्यालय स्रोत काठमाडौंले जानकारी दिएको छ । यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका थिए । उक्त बैठकले सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेको हो । उक्त छलफलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

    जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ (आज) थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरिरहेको छ । भोलि साँझ ७ बजेसम्म अतिक्रमित सुकुमवासी बस्ती खाली गराउने निर्णयअनुसार माइकिङ भइरहेको बताइएको छ । शुक्रबार साँझसम्म खाली नभए शनिबारबाट अतिक्रमित संरचनामा डोजर चल्छ । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुमवासी बस्तीमा डोजर चल्ने जनाएको छ ।

  • नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

    नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

    काठमाडौँ, वैशाख ९ गते । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । यहाँस्थित चिनियाँ दूतावासले आज साँझ यहाँ आयोजना गरेको ‘वसन्तको आवाज गीतसङ्गीतका साथ भित्री मङ्गोलियाको यात्रा’ कार्यक्रममा उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।


    अर्थमन्त्री डा वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चीन र नेपालबीचका भौगोलिक एवं सांस्कृतिक समानताका विविध पक्ष उल्लेख गरे । उनले भित्री मङ्गोलियाको सांस्कृतिक वैभव द्विदेशीय सांस्कृतिक आदानप्रदानका निम्ति महत्वपूर्ण भएको बताए । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चिनियाँ पक्षबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री डा वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपालले सिक्न चाहेको बताए ।


    “राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा चिनियाँ समृद्धि र त्यसबाट नेपालले पाठ सिक्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने विषय समावेश गरेको छ”, उनले भने । चिनियाँ सहयोगमा निर्मित चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौँ सडक, रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको अर्थमन्त्री डा वाग्लेले बताए ।

    नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारी रहेको बताउँदै उनले नेपालको चौतर्फी विकासका निम्ति दृढ सङ्कल्पका साथ क्रियाशील वर्तमान सरकारले सुशासन, आर्थिक र समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिए ।


    राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले एकचीन सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै पञ्चशीलका सिद्धान्तमा आधारित दुई देशबीचको यो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिइन् । उनले नेपालको भरपर्दो विकास साझेदार चीनबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरिन् । दुई देशबीचको विद्यमान सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष भण्डारीले सात दशक पुरानो नेपाल–चीन सम्बन्ध आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा पनि सघन हुँदै गएकामा प्रसन्नता प्रकट गरिन् ।


    नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपालमैत्री तथा सहयोगका निम्ति नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्दै नेपालको संस्कृति एवं प्राकृतिक सौन्दर्यबाट आफू मन्त्रमुग्ध भएको बताए । चीन–नेपाल रणनीतिक साझेदारीलाई अनन्तकालसम्म चिरस्थायी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले ‘बेल्ट एण्ड रोड’का माध्यमबाट नेपालको विकास प्रयासमा अझ सहयोग गर्ने चिनियाँ चाहना सुनाए । हालै चीनले पारित गरेको १५औँ पञ्चवर्षीय योजना चीनको विकासका निम्ति मात्र नभई छिमेकी राष्ट्रहरुको उन्नयनमा पनि सहयोगी हुने विश्वास राजदूत चाङले व्यक्त गरे ।

    जनस्तरको द्विदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने दृढता दोहो¥याउँदै उनले विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसअवसरमा भित्री मङ्गोलियाका लोक संस्कृति, गीतसङ्गीत भित्री मङ्गोलिया स्वायत्त प्रदेशका कलाकारहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, पूर्वसभामुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका चिनियाँ तथा समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।

  • प्रतिष्ठानमा कार्यान्वयन भएन श्रम कानुन

    प्रतिष्ठानमा कार्यान्वयन भएन श्रम कानुन

    काठमाडौँ, वैशाख १० गते । अधिकांश औद्योगिक प्रतिष्ठानले श्रम कानुन पालना नगरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हालै गरेको अनुगमनले त्यस्ता प्रतिष्ठानले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको, नियमित श्रम अडिट नगरेको र सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएकोलगायतका समस्या भेटिएको जनाएको छ । विभागका अनुसार स्वास्थ्यका ११ वटा रोजगारदाता कम्पनीको अनुगमन गर्दा यस्तो समस्या पाइएको हो । खास गरी चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीले न्यूनतम पारिश्रमिक नपाएको भन्ने गुनासोका आधारमा विभिन्न स्वास्थ्य संस्थासहितमा विभागले अनुगमन गरेको थियो ।

    विभागका निर्देशक मणिनाथ गोपेले श्रम कानुनको पालनामा कमजोरी देखिएका ती प्रतिष्ठानलाई कानुन पालना गर्दै तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिए । उनले ती प्रतिष्ठान अनुगमनका क्रममा केही प्रतिष्ठानमा गम्भीर समस्या पनि फेला परेको बताए । विभागले अनुगमनका क्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अवस्था, बालश्रमको अवस्था र सामाजिक सुरक्षा कोषमा आबद्धता जस्ता विषयमा निरीक्षण गरेको निर्देशक गोपेले बताए ।

    उनका अनुसार श्रमिकको हकहित र कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न विभागले नियमित रूपमा यस्ता अनुगमन कार्यलाई निरन्तर दिने योजना बनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघिल्लो साता मात्रै स्वास्थ्य प्रतिष्ठानलाई सरकारले तोके अनुसार पारिश्रमिक दिए वा नदिएको अनुगमन गर्न विभागलाई निर्देशन दिएको थियो ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १० वैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको छ ।

    मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

  • तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

    तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

    सियोल, वैशाख १० गते । विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ । प्रभावित पक्षका अनुसार यो घटना यस वर्षकै सबैभन्दा ठूलो ज्ञात क्रिप्टो डकैतीमध्ये एक हो, जसले डिजिटल वित्तीय प्रणालीको सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ ।

    यो घटनालाई उत्तर कोरियासँग जोडिएको पछिल्लो साइबर आक्रमणका रूपमा हेरिएको छ । संयुक्त राष्ट्रसङ्घको एक प्यानलका अनुसार उत्तर कोरियाले यस्ता परिष्कृत साइबर अपराधमार्फत चोरी गरिएको क्रिप्टोकरेन्सी आफ्नो आणविक हतियार कार्यक्रमलाई सघाउन प्रयोग गर्दै आएको छ । डिजिटल मुद्रा सम्बन्धी समाचार प्लेटफर्म कोइनडेस्कका अनुसार शनिबार अनलाइन लगानी प्लेटफर्म केल्पडीएओको भल्टमा भएको चोरी सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो शोषण हो ।

    मङ्गलबार सार्वजनिक गरिएको विवरण अनुसार, ह्याकका क्रममा लेयरजिरो नामक प्रविधि प्लेटफर्मले सञ्चालन गरेका दुई वटा ब्लकचेन सर्भरमा अनधिकृत पहुँच स्थापित गरिएको थियो । केल्पडीएओका अनुसार यस पहुँचले इथेरियमसँग सम्बन्धित क्रिप्टो टोकन प्रणालीबाट ‘निकाल्न’ सम्भव बनायो । लेयरजिरोले एक विज्ञप्तिमा अप्रिल १८, २०२६ मा करिब २९ करोड डलर बराबरको क्षति भएको पुष्टि गरेको छ ।

    उक्त आक्रमणबारे प्रारम्भिक सङ्केतले अत्यन्तै परिष्कृत राज्य–समर्थित समूह संलग्न भएको देखाएको भन्दै सम्भावित रूपमा उत्तर कोरियाको लाजरस समूह जिम्मेवार हुनसक्ने उल्लेख गरिएको छ । यद्यपि, प्रयोगकर्ताका अन्य सम्पत्ति वा प्रणालीमा कुनै असर नपरेको भन्दै कम्पनीले आश्वस्त पार्ने प्रयास गरेको छ । ब्लकचेन प्रविधिले सरकार वा बैंकजस्ता बिचौलियाविनै लेनदेन गर्न मिल्ने व्यवस्था दिन्छ, जसलाई विकेन्द्रीकृत वित्त (डेफी) भनिन्छ ।

    तर यही संरचनाको जटिलताले यस्ता साइबर आक्रमणलाई पहिचान र नियन्त्रण गर्न कठिन बनाउने विज्ञको भनाइ छ । नाइन ब्लक क्यापिटल म्यानेजमेन्टका सह(संस्थापक हेनरी अर्सलानियनका अनुसार यस्तो घटनाले नयाँ प्रयोगकर्तालाई डेफी क्षेत्रमा प्रवेश गर्न झनै डर पैदा गराउँछ । उनले यो आक्रमण उत्तर कोरियाको लाजरस समूहकै काम भएको दाबी गर्दै विश्वमै यस्तो स्तरको ह्याक गर्न सक्ने क्षमता सीमित समूहसँग मात्र रहेको उल्लेख गरे ।

    यसअघि सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको एक अध्ययनले उत्तर कोरियाले सन् २०१७ यता तीन अर्ब डलरभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको अनुमान सार्वजनिक गरेको थियो । त्यस्तै, गत वर्ष अमेरिकाले उत्तर कोरियामाथि एक अर्ब ५० करोड डलर बराबरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको थियो, जुन इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो डकैतीमध्ये एक मानिएको छ । निरन्तर दोहोरिँदै आएका यस्ता घटनाले साइबर सुरक्षाको अन्तर्राष्ट्रिय बहसलाई तीव्र बनाएको छ भने डिजिटल अर्थतन्त्रको भविष्यप्रति थप चिन्ता उत्पन्न गरेको देखिन्छ । रासस-एएफपी

  • युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

    युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

    बेरुत, वैशाख १० गते । युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरलाई लक्षित गरी भएको जनाइएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ । इजरायली सेनाले बेइट लाइफ सहरमा इजरायलले आक्रमण गरी सहरका घर नष्ट गरेको जनाइएको छ ।

    लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले आक्रमणका कारण दुई हजार ४५४ को मृत्यु हुनुका साथै सात हजार ६५८ जना घाइते भएको जनाएको छ । यसै गरी विभागले ३० हजार ८१५ परिवारका एक लाख १८ हजार ६२४ जना मानिस आक्रमणका कारण विस्थापित भई आश्रयमा रहेको उल्लेख गरेको छ । रासस-क्युएनए

  • होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

    होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

    दुबई, वैशाख १० गते । इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयास झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका-इरान वार्तालाई पुनः सुरु गर्ने प्रयासकै बिच भएको हो, जसले तनावलाई नयाँ मोडमा पुर्‍याएको छ ।

    इरानको अर्धसैनिक रिभोलुसनरी गार्डले बुधबार बिहान गरेको उक्त आक्रमणमा जहाजलाई क्षति पुगेको बताइएको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई अनिश्चितकालका लागि विस्तार गर्ने घोषणा गरेको केही समयपछि आएको हो । ट्रम्पले तेहरानलाई वार्ताका लागि ‘एकीकृत प्रस्ताव’ तयार गर्न समय दिन यस्तो निर्णय गरिएको बताउनुभएको थियो जस अनुसार युद्धविराम बुधबार समाप्त हुने तयारीमा थियो ।

    तर इरानले उक्त विस्तारलाई औपचारिकरूपमा स्वीकार गरेको छैन । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले वार्ता प्रक्रिया सहज बनाउन युद्धविराम विस्तारको स्वागत गर्दै कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनले पाकिस्तानलाई दिइएको विश्वासप्रति आभार व्यक्त गर्दै द्वन्द्व समाधानका लागि वार्तामार्फत प्रयास जारी रहने बताए ।


    अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राख्ने घोषणा गरेपछि इरानले त्यसलाई ‘अस्वीकार्य’ भनेको छ । यही कारणले इस्लामाबादमा प्रस्तावित वार्तामा अझै इरानको औपचारिक सहभागिता अनिश्चित रहेको बताइएको छ । घटनापछि रिभोलुसनरी गार्डले यस क्षेत्रमा रहेका शत्रुका सम्पत्तिमाथि अझ कठोर प्रतिक्रिया दिने चेतावनी दिएको छ । उनीहरूले ‘शत्रुको अनुमानभन्दा बाहिरको कडा जवाफ’ दिने घोषणा गरेका छन् ।

    इरानले भने जहाजमाथि गोली चलाउनु अघि चेतावनी दिइएको र त्यसलाई बेवास्ता गरिएको दाबी गरेको छ । नूर न्युजका अनुसार इरानी सशस्त्र बलले चेतावनी दिएपछि मात्र कारबाही गरिएको हो । फार्स समाचार एजेन्सीले यसलाई होर्मुज क्षेत्रमा कानुनी नियन्त्रण लागु गरिएको कदमका रूपमा वर्णन गरेको छ । तर बेलायतस्थित युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन सेन्टरले भने गार्डका गनबोटले कुनै प्रत्यक्ष चेतावनी बिना गोली चलाएको जनाएको छ ।

    उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही रणनीतिक जलमार्ग हुँदै जाने भएकाले होर्मुजको अवस्था विश्व ऊर्जा बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ । हाल इरानसँगको तनावका कारण ढुवानीमा अवरोध आएको र यसले तेल मूल्यमा तीव्र वृद्धि ल्याएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य युद्ध सुरु भएयता करिब ३० प्रतिशतभन्दा बढी बढेर ब्यारेलको करिब ९८ डलर नजिक पुगेको छ ।

    यसैबिच, पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउन कूटनीतिक प्रयास तीव्र बनाएको छ । पहिलो चरणको वार्ता अप्रिल ११ र १२ मा कुनै निष्कर्ष बिना सकिएको थियो । दोस्रो चरणका लागि अझै औपचारिक सहमति नभए पनि पाकिस्तानले इरानले प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरेको छ । अघिल्लो वार्तामा इरानको आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र होर्मुज जलमार्गका विषय प्रमुख विवादका विन्दु बनेका थिए ।

    हाल इरानले अमेरिकाबाट नयाँ प्रस्ताव प्राप्त भएको स्वीकार गरे पनि दुवै पक्षबिच अझै ठुलो दूरी कायम रहेको सङ्केत दिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराम विस्तारलाई सकारात्मक सङ्केतका रूपमा लिँदै कूटनीति र विश्वास निर्माणका लागि अवसर सिर्जना हुने आशा व्यक्त गरेका छन् ।
    यता, युद्ध सुरु भएयता विभिन्न क्षेत्रमा ठुलो मानवीय क्षति भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

    इरानमा करिब तीन हजार ३७५ जनाको मृत्यु भएको बताइएको छ भने लेबनानमा दुई हजार २९० भन्दा बढी, इजरायलमा २३ र खाडी अरब राज्यमा एक दर्जनभन्दा बढीको ज्यान गएको छ । साथै लेबनानमा १५ जना इजरायली सैनिक र १३ जना अमेरिकी सैनिक पनि मारिएका छन् । राससएपी

  • अमेरिका-इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

    अमेरिका-इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

    न्युयोर्क, वैशाख १० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् । महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबिच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताए ।


    उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यबाट टाढा रहन र स्थायी समाधानमा पुग्न रचनात्मक वार्तामा संलग्न हुन प्रोत्साहित गरे । डुजारिकले वार्तालाई सहज बनाउने पाकिस्तानको प्रयासलाई महासचिवको पूर्ण समर्थन रहेको पुष्टि गर्दै यो प्रयासले द्वन्द्वको स्थायी समाधानमा पुग्ने अवस्था सिर्जना गर्न योगदान पुर्‍याउने आशा व्यक्त गरे ।


    द्वन्द्व अन्त्य गर्ने र स्थायी समाधान खोज्ने उद्देश्यले अमेरिका र इरानबिच दोस्रो चरणको वार्ताका लागि पाकिस्तानी नेतृत्वको प्रयासको बिचमा राष्ट्रसङ्घको स्वागत आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानले स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेस नगरेसम्म इरानसँगको युद्धविराम विस्तार गर्ने बताएका छन् । राससक्युएनए

  • युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति

    युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति

    तेहरान, वैशाख १० गते । अमेरिका र इरानबिचको द्वन्द्वमा इरानका विद्यालय, यातायात नेटवर्कसहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मर्मत कार्य भई रहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरान समाचार एजेन्सीले रिपोर्टका गरेको छ । इरानका अनुसार युद्धमा २४ वटा पुललाई लक्षित गरी आक्रमण गरिएको थियो । यसैबिच, इरानका शिक्षामन्त्री अलिरेजा काजेमीले द्वन्द्वमा क्षतिग्रस्त भएका एक हजार ३०० विद्यालय मध्ये ७७५ वटा विद्यालयको मर्मत भइसकेको बताए । यसै गरी बाँकी धेरै क्षतिग्रस्त भएका विद्यालयको मर्मत अक्टोबरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए ।

    उनले मिनाबको शाजारेह तैयबेह बालिका विद्यालयमा भएको आक्रमणमा मारिएका १७० जनाको स्मरण र परामर्श सेवासहित प्रभावित विद्यार्थी र कर्मचारीका लागि आवाश्यक उपायबारे कार्य गरिरहेको प्रकाश पारे । इरानले वार्ताको प्रारम्भका पूर्व शर्त स्थापित गर्दैे अमेरिकाले आफ्नो सैनिक नाकाबन्दी समाप्त गरे पछि मात्र वार्तामा संलग्न हुन तयार रेहेको संयुक्त राष्ट्रका राजदूत अमिर सइद इरवानीले बताए ।


    यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जारी युद्धविराम बिचमा एकजुट हुन दवाव दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । रिपोर्टले ट्रम्पको निर्णयले तेहरानलाई छोटो समय सीमा दिई हालको युद्धविराम विस्तार गर्न चेतावनी दिइएको छ । ट्रम्पले इरानलाई आफ्नो कुरा एक साथ राख्नका लागि थप तीनदेखि पाँच दिनको युद्धविराम गर्न इच्छुक रहेको अमेरिकी स्रोतले जनाएको छ । राससएएनआई

  • शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान

    शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान

    कोलम्बो, वैशाख १० गते । श्रीलङ्कामा केसर रङका वस्त्रधारी बौद्ध भिक्षुले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् । पदयात्रामा उद्धार गरिएको बेवारिसे कुकुरको उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ ।

    भियतनामी भिक्षु पन्नकाराको नेतृत्वमा १३ सदस्यीय टोलीले राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर उत्तरमा रहेको ऐतिहासिक डम्बुला बौद्ध मन्दिरबाट बिहान आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो समूह यसअघि संयुक्त राज्य अमेरिकामा टेक्सासदेखि वासिङ्टन डिसीसम्म करिब तीन हजार ७०० किलोमिटर लामो १०८ दिनको पदयात्रा पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको थियो । त्यतिबेला उनीहरूले बरफले ढाकिएका सडक र कठोर मौसममा समेत यात्रा गर्दै शान्तिको सन्देश फैलाएका थिए ।

    यसपटक उनीहरू ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने श्रीलङ्काको अत्यधिक गर्मीमा नाङ्गो खुट्टा हिँडिरहेका छन् । भीषण गर्मीबिच पनि स्थानीय भक्तजनले उनीहरूको यात्रालाई समर्थन गर्दै सडकमा पानी छर्कने, हरियो केराका पात र फूल राख्ने तथा शीतलता प्रदान गर्ने प्रयास गरेका छन् । केहीले त भिक्षुलाई पानी छर्केर राहत दिन खोजिरहेका दृश्य पनि देखिएका छन् । यो पदयात्रा अप्रिल २८ मा राजधानी कोलम्बो पुग्ने अपेक्षा गरिएको छ ।

    त्यहाँ श्रीलङ्काका राष्ट्रपति अनुराकुमार दिसानायकले उनीहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । यस पदयात्राको विशेष आकर्षण बनेको छ अलोका नामको उद्धार गरिएको आवारा कुकुर । यो कुकुरले भिक्षुहरूको साथमा अन्तर्राष्ट्रिय यात्रादेखि नै ध्यान तानेको छ । भारतमा उद्धार गरिएको उक्त कुकुरले अमेरिकी यात्रामा समेत भिक्षुलाई साथ दिएको थियो र त्यसक्रममा ठुलो लोकप्रियता कमाएको थियो ।

    अलोका पहिले भारतका भिक्षुलाई पछ्याउँदै गर्दा कारको ठक्करबाट जोगिएको थियो र त्यसपछि उनीहरूकै साथमा यात्रा जारी राखेको थियो । पछि संयुक्त राज्य अमेरिकामा भएको पदयात्रामा पनि उसको उपस्थिति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । उक्त यात्राले प्राप्त गरेको ध्यान र दानले सम्पूर्ण अभियानलाई आर्थिक रूपमा सहयोग पुगेको बताइएको छ । स्थानीय एक भिक्षुका अनुसार टेक्सासदेखि कोलम्बोसम्म अलोकालाई ल्याउने हवाई खर्च सामान्य यात्रुको तुलनामा करिब दस गुणा बढी परेको थियो ।

    यसले अभियानको अन्तर्राष्ट्रिय पहुँच र लोकप्रियता झल्काएको छ । श्रीलङ्कामा अहिले अलोकाको सुरक्षाका लागि सेनाका कमान्डो परिचालन गरिएको छ । दुई जना कमान्डो लगातार कुकुरको दुवै छेउमा रहेर पदयात्रा अघि बढाइरहेका छन्, ताकि स्थानीय सडक कुकुरबाट कुनै जोखिम नहोस् । प्रहरीको केनेल विभागसमेत यसको सुरक्षामा खटाइएको छ । पदयात्राको दृश्यले स्थानीय सडकमा ठुलो आकर्षण सिर्जना गरेको छ, जहाँ भक्तजनले श्रद्धापूर्वक भिक्षुलाई अभिवादन गर्दै यात्रा अवलोकन गरिरहेका छन् ।

    यस अभियानको सामाजिक सञ्जालमा पनि व्यापक प्रभाव देखिएको छ । पिस वाकको फेसबुक पेजमा मात्रै ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने श्रीलङ्का यात्राको प्रत्यक्ष प्रसारण पहिलो पाँच घण्टामै ५१ हजारभन्दा बढी पटक हेरिएको आयोजकले जनाएका छन् । धार्मिक आस्था, सामाजिक सन्देश र एउटा उद्धार गरिएको कुकुरको उपस्थिति मिसिएको यो पदयात्रा अहिले श्रीलङ्कामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ध्यानको केन्द्र बनेको छ । रासस-एएफपी

  • कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी

    कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी

    काठमाडौँ, वैशाख ९ गते । कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानुनको कडाइका साथ पालना गर्ने सहमति भएको छ। बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद (डीपी) अर्यालको उपस्थितिमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूबिच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो। छलफलका क्रममा सभामुख अर्यालले राहदानीसम्बन्धी कुनै पनि निर्णय कानुनको सीमाभित्र रहेर मात्र गरिने स्पष्ट पारे ।


    उनले कूटनीतिक राहदानीको प्रयोगलाई उत्तरदायी बनाउन आवश्यक परेमा सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी कानुन संशोधनको प्रक्रिया अघि बढाउन सकिने धारणा व्यक्त गरे । विगतमा कूटनीतिक राहदानीको दुरुपयोग हुँदा राष्ट्रको छविमा नकारात्मक असर परेको भन्दै सहभागी सांसदहरूले यसलाई रोक्न कडा नियमन हुनुपर्नेमा जोड दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले हालको कानुनी व्यवस्थाको पूर्ण पालना हुनुपर्ने बताए । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले सुविधासँगै क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।


    नेकपा (एमाले)का सांसद गुरु प्रसाद बरालले राहदानी दुरुपयोगले देश बदनाम भएको भन्दै नीतिगत पुनरावलोकनको खाँचो औँल्याए । त्यस्तै, नेकपाका प्रमुख सचेतक युवराज दुलालले विशेष गरी प्रतिनिधिमण्डलसँग जाने व्यक्तिहरूबाट हुने दुरुपयोग रोक्न विशेष ध्यान दिनुपर्ने सुझाव दिए । संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेले सरकारी कामका लागि कूटनीतिक र निजी भ्रमणका लागि साधारण राहदानी प्रयोग गर्ने व्यवस्था स्पष्ट रहेको जानकारी दिए ।

    उनले तोकिएको प्रयोजनबाहेक अन्य क्षेत्रमा यस्तो राहदानी प्रयोग गर्न नहुने कुरामा जोड दिए । परराष्ट्र सचिव अमृत राईले राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार सरकारी कामका लागि मात्र कूटनीतिक राहदानी प्रयोग गर्न मिल्ने कानुनी प्रावधानबारे प्रष्ट पारे । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कूटनीतिक राहदानीको विषयमा पार्टीभित्र थप छलफल गर्ने र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर मात्र दीर्घकालीन निष्कर्षमा पुग्नुपर्ने धारणा राखेका छन्।
    छलफलले कूटनीतिक राहदानी प्रयोगको दायरा र मनोनयन प्रक्रियामा सुधार ल्याउन आवश्यक अध्ययनलाई निरन्तरता दिने सहमतिसमेत गरेको छ।

  • वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

    ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी रहेका छन् । नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लङ्घन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएपछि कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
    उनले भने, “मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गर्ने सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ । नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ ।” उनले पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएकाले ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिए ।
    सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उनको भनाइ छ । ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ ।

    साथै, आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
    वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला निकाय, सवारी धनी तथा सर्वसाधारण सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । रासस

  • हचुवाका भरमा समाचार प्रकाशन–प्रशारण नगर्न सञ्चार मन्त्रालयले गरायो सचेत

    हचुवाका भरमा समाचार प्रकाशन–प्रशारण नगर्न सञ्चार मन्त्रालयले गरायो सचेत

    ९ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन–प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाश तथा प्रशारण भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाश तथा प्रशारण गरिएको पाइएमा त्यसता समाचार वा सूचना प्रकाश गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरासमेत अवगत गराइन्छ ।’

  • सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    ९ वैशाख, काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।

    आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराए ।

    जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ ।

    आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

    आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ। कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।

    यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट (स्क्रिनिङ) गरिरहेको छ। आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

  • सहकारी पीडितको बचत फिर्ताबारे महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्री रावलको छलफल

    सहकारी पीडितको बचत फिर्ताबारे महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्री रावलको छलफल

    ९ वैशाख, काठमाडौँ । सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधबार बिहान मन्त्री प्रतिभा रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी हुन् । लगत्तै महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरिन् ।

    समस्याग्रस्त सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाका विषयमा महान्यायाधिवक्ता डा. कँडेलले मन्त्रीलाई जानकारी गराएका थिए । अनुसन्धानको अवस्थाबारे एआईजी केसीले ब्रिफिङ गरेका थिए । छलफलपछि महान्यायाधिवक्ता डा. कँडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    महान्यायाधिवक्ता डा. कँडेल बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले आवश्यक भूमिका खेल्ने बताए । ‘समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क नै स्थापना भएको छ, यसले अझै प्रभावकारी भूमिका खेल्ने छ’ उनले भने ।

    एआईजी केसीले सीआईबीले पनि आवश्यक समन्वय गर्ने बताए । एआईजी केसीले भने, ‘अनुसन्धानमा देखिएको केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ताका लागि सीआईबीले आवश्यक समन्वय गर्ने छ ।’ छलफलपछि मन्त्री रावलले सरकारले १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिनु पर्ने वातावरण सिर्जना नहोस् भन्ने ध्यान दिन आग्रह गरे ।

  • मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना

    मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना

    ९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने भएको छ । बुधबार बसेको मेयर्स फोरमको बैठकले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाईसमेत ध्यानमा राखी यस्तो निर्णय गरेको हो ।

    ‘नेपाल सरकारले हालै गरेको निर्देशनलाई समेत मध्यनजर गर्दै शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्नरगराउन काठमाडौं उपत्यका मेयर्स फोरमको मिति २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरियो,’ मेयर्स फोरमले जारी गरेको विज्ञप्तिमा छ ।

    साथै मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा इन्धनको थप संकट बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गरन फोरमले भनेको छ ।

    २२ चैतको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखदेखि र पठनपाठन २१ वैशाखदेखि सुरु गर्ने निर्णय गरेको थियो । यस निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोप्रति मेयर्स फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सरोकार निकायबाट प्राप्त गुनासो सम्तको विश्लेषण गरी विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्नका लागि सबै विद्यालयहरूङ्गा शैक्षिक सत्र सञ्चालनको भावना अनुरूप पठनपाठन सुरु गर्न आवश्यक रहेको मेयर्य फोरमको बुझाइ छ ।

  • राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

    राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

    ९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि–बजेट छलफलसमेत हुनेगर्छ । आजै सभामुख डिपी अर्याल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आगामी बजेट अधिवेशनको तयारीबारे छलफल समेत भएको छ ।

  • मन्त्रालयबाट बाहिरिनु अगाडी के भने सुधनले ?

    मन्त्रालयबाट बाहिरिनु अगाडी के भने सुधनले ?

    ९ वैशाख, काठमाडौं । सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताए ।

    ‘तपाईंहरुको क्षमतादेखि म निकै खुसी छु । तपाईंहरुको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ । यतिन्जेल मलाई सहयोग गरेकोमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईंहरु नै हकदार हो । तपाईंहरुको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ गुरुङले भने ।

    गुरुङले दिएको राजीनामालाई धेरैले स्वागत गरेका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुल्ला गर्नुलाई धेरैले राम्रो मानेका छन् । राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’

  • गृहमन्त्री गुरुङले दिए राजीनामा

    गृहमन्त्री गुरुङले दिए राजीनामा

    ९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । सम्पत्ति विवरण सार्वजनिक र दिपक भट्टको लगानी रहेको कम्पनीमा शेयर कारोबारको खुलासा पछि गुरुङमाथि प्रश्न उठिरहेको थियोे । भट्ट अहिले प्रहरी हिरासतमा छन् ।

    यस्तो छ गुरुङको स्टाटस

    म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
    मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
    त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
    मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
    For my country and For the respect of our security forces and For the youths of Nepal.

  • विद्युतीय गाडीले धेरै भाडा लिए कारवाही हुने

    विद्युतीय गाडीले धेरै भाडा लिए कारवाही हुने

    ९ वैशाख, काठमाडौँ । यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारी साधनको भाडा विद्युतीय सवारीको हकमा लागू नहुने स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै डिजेल इन्जिन प्रयोग हुने सवारी साधनको मात्र भाडा वृद्धि गरिएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणाली अनुसार गत चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरिएको थियो । तर, उक्त वृद्धि केवल डिजेलबाट चल्ने यात्रुवाहक तथा मालवाहक सवारीको हकमा मात्र भएको विभागले जनाएको छ ।

    सूचनामा भनिएको छ, ‘विद्युतीय सवारी साधनको हकमा उक्त भाडा वृद्धि लागू नहुने व्यहोरा अनुरोध गर्दछौँ । विद्युतीय सवारीमा साविककै भाडादर कायम रहेको छ ।’ पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा यातायात सेवा प्रदायकले बढेको भाडा असुल गरिरहेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो प्राप्त भएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो ।

    विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग साविककै भाडा लिन र अनिवार्य रूपमा टिकट प्रदान गर्न निर्देशन दिएको छ । यदि विभागको यस निर्देशन विपरीत बढी भाडा लिएको वा नियम पालना नगरेको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

  • कांग्रेसको निर्वाचन समिक्षा बैठक विराटनरमा, सभापति सहभागी हुने

    कांग्रेसको निर्वाचन समिक्षा बैठक विराटनरमा, सभापति सहभागी हुने

    ९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन्।

    पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।

    कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।

    पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव सङ्कलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।

    कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा सङ्गठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिइन् ।

  • कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदै

    कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदै

    ९ वैशाख, काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ । जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

    स्थापनाको ८ दशक पुग्न लाग्दा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

  • गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गरे मध्यरातीसम्म छलफल

    गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गरे मध्यरातीसम्म छलफल

    ९ वैशाख, काठमाडौं । सेयर कारोबारको विषयलाई लिएर तिव्र आलोचनाका बीच गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग मध्यरातीसम्म छलफल गरेका छन्। मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्। झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।


    छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले के विषयमा छलफल भएको भनेर सोधेका थिए। जबाफमा उनले भने, अब पछि भनौला’ उनले उल्टै पत्रकारलाई किन यति रातीसम्म दुख पाएको भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

  • कम्यूनिष्ट स्थापना दिवसमा प्रचण्ड प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरमा मोर्चा

    कम्यूनिष्ट स्थापना दिवसमा प्रचण्ड प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरमा मोर्चा

    ९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक भइरहेको भन्दै प्रचण्डले यो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दीमा पनि जोड दिएका छन् ।

    नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको जनाएका छन् र शुभकामना सन्देशमा लेखेका छन्, ‘सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’

    उनी थप लेख्छन्, ‘नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु ।’ सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि।सं। २००६ साल वैशाख ९ ९२२ अप्रिल १९४९० मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापना दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले आआफ्नै तरिकाले मनाउँदै आएका छन् ।

    प्रचण्डले शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेको भन्दै साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्णरूपमा स्थापित हुन नसकेको जनाएका छन् । त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहने उनले उल्लेख गरेका छन् । अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको भन्दै उनले लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेको उल्लेख गरेका छन् ।

    कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको प्रचण्डको भनाइ छ । तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको प्रचण्डले उल्लेख गरेका छन् । ‘इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ उनले भनेका छन् ।

    शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले लेखेका छन्, ‘विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन सबैमा पुन: आह्वान गर्दछु ।’

  • तराई र उपत्यकामा तातो दिन

    तराई र उपत्यकामा तातो दिन

    काठमाडौँ, वैशाख ९ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ ।

    महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

    कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस